01.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो यो जीवन देवताहरूको भन्दा पनि उत्तम छ किनकि तिमी अहिले रचयिता र रचनालाई यथार्थमा जानेर आस्तिक बनेका छौ।”

प्रश्न:–
सङ्गमयुगी ईश्वरीय परिवारको विशेषता के हो, जुन सारा कल्पमा हुँदैन?

उत्तर:–
यस समयमा स्वयं ईश्वर पिता बनेर बच्चाहरूलाई सम्हाल्नु हुन्छ, शिक्षक बनेर पढाउनु हुन्छ अनि सतगुरु बनेर तिमीलाई फूल बनाएर साथमा लैजानु हुन्छ। सत्ययुगमा दैवी परिवार हुन्छ तर त्यहाँ यस्तो ईश्वरीय परिवार हुन सक्दैन। तिमी बच्चाहरू अहिले बेहदका संन्यासी पनि हौ, राजयोगी पनि हौ, रजाइँको लागि पढिरहेका छौ।

ओम् शान्ति ।
यो स्कुल वा पाठशाला हो। कसको पाठशाला? आत्माहरूको पाठशाला। निश्चय नै आत्माले शरीर विना केही पनि सुन्न सक्दैन। आत्माहरूको पाठशाला भनिन्छ भने सम्झनुपर्छ– आत्माले शरीर विना त बुझ्न सक्दैन। फेरि भन्नुपर्ने हुन्छ, जीव आत्मा। जीव आत्माहरूका पाठशाला त सबै हुन्, त्यसैले भनिन्छ– यो हो आत्माहरूको पाठशाला जहाँ परमपिता परमात्मा आएर पढाउनु हुन्छ। त्यो हो जिस्मानी पढाइ, यो हो रुहानी पढाइ, जुन बेहदका बाबाले पढाउनु हुन्छ। त्यसैले यो भयो परमपिताको विश्व विद्यालय। भगवानुवाच हो नि। यो भक्तिमार्ग होइन, यो पढाइ हो। स्कुलमा पढाइ हुन्छ। भक्ति त मन्दिर, धार्मिक स्थल आदिमा हुन्छ। त्यहाँ कसले पढाउँछ? भगवानुवाच। अरू कुनै पनि पाठशालामा भगवानुवाच हुँदैहुँदैन। केवल यो एउटै स्थान हो जहाँ भगवानुवाच छ। उच्च भन्दा उच्च भगवानलाई नै ज्ञानसागर भनिन्छ, उहाँले नै ज्ञान दिनुहुन्छ। बाँकी सबै हो भक्ति। भक्तिको लागि बाबाले सम्झाउनु भएको छ– त्यसबाट कुनै सद्गति हुँदैन। सबैको सद्गतिदाता एक परमात्मा हुनुहुन्छ, उहाँ आएर राजयोग सिकाउनु हुन्छ। आत्माले सुन्छ शरीरद्वारा। अरू कुनै पनि ज्ञान आदिमा भगवानुवाच छँदैछैन। यो भारतवर्ष नै हो जहाँ शिवजयन्ती पनि मनाइन्छ। भगवान त निराकार हुनुहुन्छ, फेरि शिवजयन्ती कसरी मनाउने? जयन्ती त तब हुन्छ, जब बाबाले शरीरमा प्रवेश गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म त कहिल्यै गर्भमा प्रवेश गर्दिनँ। तिमी सबै गर्भमा प्रवेश गर्छौ। ८४ जन्म लिन्छौ। सबै भन्दा धेरै जन्म यी लक्ष्मी-नारायणले लिन्छन्। ८४ जन्म लिएर फेरि कालो, गाउँलेको छोरा बन्छन्। लक्ष्मी-नारायण भन या राधे-कृष्ण भन। राधे-कृष्ण हुन् बचपनका। उनले जन्म लिँदा स्वर्गमा लिन्छन्, जसलाई वैकुण्ठ पनि भनिन्छ। पहिलो नम्बर जन्म यिनको हो। त्यसैले ८४ जन्म पनि यिनैले लिन्छन्। श्याम अनि सुन्दर, सुन्दर अनि फेरि श्याम। कृष्ण सबैलाई प्यारो लाग्छ। कृष्णको जन्म त हुन्छ नै नयाँ दुनियाँमा। फेरि पुनर्जन्म लिँदा लिँदा पुरानो दुनियाँमा आइपुग्छन्, त्यसपछि श्याम बन्न पुग्छन्। यो खेल नै यस्तै छ। दुनियाँ पहिला सतोप्रधान सुन्दर थियो, अहिले श्याम बनेको छ। बाबा भन्नुहुन्छ– यति सबै आत्माहरू मेरा सन्तान हुन्। अहिले सबै काम चितामा जलेर कालो भएका छन्। म आएर सबैलाई फर्काएर लैजान्छु। यो सृष्टिको चक्र नै यस्तै छ। त्यो फूलहरूको बगैँचा फेरि काँडाको जङ्गल बन्नपुग्छ। बाबा सम्झाउनु हुन्छ– तिमी बच्चाहरू कति सुन्दर विश्वका मालिक थियौ, अब फेरि बनिरहेका छौ। यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। यी ८४ जन्म भोगेर फेरि यस्तै बनिरहेका छन् अर्थात् उनका आत्माहरूले अहिले पढिरहेका छन्। तिमीले जानेका छौ– सत्ययुगमा अपार सुख हुन्छ, त्यसैले कहिल्यै बाबालाई याद गर्नुपर्ने आवश्यकता हुँदैन। गायन पनि छ– दु:खमा स्मरण सबैले गर्छन्... कसको स्मरण? बाबाको। यति सबैको स्मरण गर्नु छैन। भक्तिमा कति स्मरण गर्छन्, जान्न चाहिँ केही पनि जान्दैनन्। कृष्ण कहिले आए, उनी को हुन्– केही पनि जान्दैनन्। कृष्ण र नारायणको भिन्नतालाई पनि जान्दैनन्। शिवबाबा हुनुहुन्छ सबै भन्दा उच्च। फेरि उहाँ भन्दा तल छन् ब्रह्मा, विष्णु, शङ्कर...। उनीहरूलाई देवता भनिन्छ। मानिसहरूले सबैलाई भगवान भनिरहन्छन्। सर्वव्यापी पनि भन्ने गर्छन्। बाबा भन्नुहुन्छ– सर्वव्यापी त माया ५ विकार छ जुन एक एक भित्र छ। सत्ययुगमा कुनै विकार हुँदैन। मुक्तिधाममा पनि आत्माहरू पवित्र रहन्छन्। अपवित्रताको कुनै कुरा हुँदैन। त्यसैले रचयिता बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ, आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ, जसबाट तिमी आस्तिक बन्छौ। तिमी एकैपटक आस्तिक बन्छौ। तिम्रो यो जीवन देवताहरूको भन्दा पनि उत्तम छ। गायन गरिन्छ– मनुष्य जीवन दुर्लभ छ। जब पुरुषोत्तम सङ्गमयुग हुन्छ तब हीरासमान जीवन बन्छ। लक्ष्मी-नारायणलाई हीरासमान भनिदैन। तिम्रो जन्म हीरा जस्तो हो। तिमी हौ ईश्वरीय सन्तान, ती हुन् दैवी सन्तान। यहाँ तिमीले भन्छौ– हामी ईश्वरीय सन्तान हौं, ईश्वर हाम्रो बुबा हुनुहुन्छ, उहाँले हामीलाई पढाउनु हुन्छ किनकि ज्ञानसागर हुनुहुन्छ नि, राजयोग सिकाउनु हुन्छ। यो ज्ञान एकैपटक पुरुषोत्तम सङ्गमयुगमा मिल्छ। यो हो उत्तम पुरुष बन्ने युग, जसलाई दुनियाँले जान्दैनन्। सबै कुम्भकर्णको अज्ञान निद्रामा सुतिरहेका छन्। सबैको विनाश सामुन्ने खडा छ, त्यसैले अब कसैसँग पनि तिमी बच्चाहरूले सम्बन्ध राख्नु छैन। भनिन्छ– अन्तकाल जो स्त्री सिमरे...। अन्त्य समयमा शिवबाबालाई स्मरण गरेमा नारायण योनिमा आउँछौ। यो सिँढी धेरै राम्रो छ। लेखिएको छ– हामी नै देवता, फेरि हामी नै क्षत्रिय आदि। यस समयमा छ रावणराज्य, जबकि आफ्नो आदि सनातन देवीदेवता धर्मलाई भुलेर अन्य धर्महरूमा फसेका छन्। यो सारा दुनियाँ लङ्का हो। बाँकी कुनै सुनको लङ्का थिएन। बाबा भन्नुहुन्छ– तिमीले आफू भन्दा पनि धेरै मेरो ग्लानि गरेका छौ, आफ्नो ८४ लाख अनि मलाई चाहिँ कण-कणमा भनिदिएका छौ। यस्ता अपकारीहरूमाथि पनि मैले उपकार गर्छु। बाबा भन्नुहुन्छ– तिम्रो पनि दोष छैन, यो ड्रामाको खेल हो। सत्ययुगको सुरुदेखि लिएर कलियुगको अन्त्यसम्मको यो खेल हो, जसलाई दोहोरिनु नै छ। यसलाई बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। तिमी सबै ब्रह्माकुमार कुमारीहरू हौ। तिमी ब्राह्मण हौ ईश्वरीय सन्तान। तिमी ईश्वरीय परिवारमा बसेका छौ। सत्ययुगमा हुन्छ दैवी परिवार। यस ईश्वरीय परिवारमा बाबाले तिमीलाई सम्हाल्नु पनि हुन्छ, पढाउनु पनि हुन्छ फेरि फूल बनाएर साथमा पनि लैजानुहुन्छ। तिमीले पढ्छौ मनुष्यबाट देवता बन्नको लागि। ग्रन्थमा पनि छ– मनुष्यबाट देवता बनाउन समय लाग्दैन... त्यसैले परमात्मालाई जादुगर पनि भनिन्छ। नर्कलाई स्वर्ग बनाउनु, जादुको खेल भयो नि! स्वर्गबाट नर्क बन्न ८४ जन्म, फेरि नर्कबाट स्वर्ग सेकेन्डमा बन्छ। एक सेकेन्डमा जीवनमुक्ति। म आत्मा हुँ, आत्मालाई चिनेपछि बाबालाई पनि चिन्यौ। अरू कुनै मानिसहरूले यो जानेका छैनन्– आत्मा के हो? गुरु अनेक छन्, सतगुरु एक हुनुहुन्छ। भन्छन्– सतगुरु अकाल। परमपिता परमात्मा एउटै सतगुरु हुनुहुन्छ। तर गुरु चाहिँ धेरै छन्। निर्विकारी कोही छैनन्। सबैले विकारबाटै जन्म लिन्छन्। अहिले राजधानी स्थापना भइरहेको छ। तिमी सबैले यहाँ रजाइँको लागि पढिरहेका छौ, तिमीहरू राजयोगी हौ, बेहदका संन्यासी हौ। ती हठयोगी हुन् हदका संन्यासी। बाबा आएर सबैको सद्गति गरेर सुखी बनाउनु हुन्छ। मलाई नै सतगुरु अकालमूर्त भन्छन्। त्यहाँ हामीले घरी घरी शरीर छोड्दै लिँदै गर्दैनौं। कालले खाँदैन। तिम्रो आत्मा पनि अविनाशी छ, तर पतित अनि पावन बन्छ, निर्लेप छैन। ड्रामाको रहस्य पनि बाबाले नै सम्झाउनु हुन्छ। रचयिताले नै रचनाको आदि-मध्य– अन्त्यको रहस्य सम्झाउनु हुन्छ नि। ज्ञानका सागर उहाँ एक बाबा नै हुनुहुन्छ। उहाँले नै मनुष्यबाट देवता डबल सिरताज बनाउनु हुन्छ। तिम्रो जन्म कौडीजस्तो थियो। अब तिमी हीरा जस्तो बनिरहेका छौ। बाबाले “हम सो, सो हम” को मन्त्र पनि सम्झाउनु भएको छ। उनीहरूले भन्ने गर्छन्– आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। हम सो, सो हम। बाबा भन्नुहुन्छ– आत्मा नै परमात्मा कसरी बन्न सक्छ! बाबाले तिमीलाई सम्झाउनु हुन्छ– तिमी आत्मा यस समयमा ब्राह्मण हौ, फेरि तिमी आत्मा ब्राह्मण सो देवता बन्छौ, फेरि क्षत्रिय बन्छौ, फेरि शूद्र सो ब्राह्मण। सबै भन्दा उच्च जन्म तिम्रो हो। यो हो ईश्वरीय घर। तिमी कसको साथमा बसेका छौ? माता-पिताको साथमा। सबै भाइ-बहिनी हुन्। बाबाले आत्माहरूलाई शिक्षा दिनुहुन्छ। तिमी सबै मेरा सन्तान हौ, वर्साको हकदार हौ, त्यसैले परमात्मा बाबासँग हर एकले वर्सा लिन सक्छ। वृद्ध, साना, ठुला सबैलाई हक छ बाबासँग वर्सा लिने। त्यसैले साना बच्चाहरूलाई पनि सम्झाऊ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा पाप काटिन्छ। भक्तहरूले यी कुरालाई केही पनि बुझ्दैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

रात्रि क्लास:–

प्यारा बच्चाहरूले बाबालाई चिनेका पनि छन्, सम्झन्छन्– बाबाले पढाइरहनु भएको छ, उहाँबाट बेहदको वर्सा मिल्छ। तर मायाले भुलाइदिने भएकोले यो मुस्किल छ। बच्चाहरू डराऊन् भनेर कुनै न कुनै विघ्न पार्छ। त्यसमा पनि पहिलो नम्बरमा विकारमा गिर्छन्। आँखाले धोका दिन्छ। आँखा कुनै निकाल्ने कुरा होइन। बाबाले ज्ञानको नेत्र दिनुहुन्छ। ज्ञान र अज्ञानको लडाइँ चल्छ। ज्ञान हुनुहुन्छ बाबा, अज्ञान हो माया। यिनीहरूको लडाइँ तीव्र छ। गिरेपछि समझमा आउँदैन। फेरि पछि सम्झन्छन्– म गिरेँ, मैले आफ्नो धेरै अकल्याण गरें। मायाले एक पटक हराएपछि फेरि चढ्न मुस्किल हुन्छ। धेरै बच्चाहरूले भन्छन्– हामी ध्यानमा जान्छौं, तर त्यसमा पनि माया प्रवेश गर्छ। थाहै हुँदैन। मायाले चोरी गराउँछ, झुटो बोल्न लगाउँछ। मायाले के के गर्दैन! कुरै नसोध। गन्दा (विकारी) बनाइदिन्छ। फूलजस्तो बन्दाबन्दै फेरि छि: छि: बन्न पुग्छन्। माया यस्तो जबरजस्त छ जसले घरी घरी गिराइदिन्छ। बच्चाहरूले भन्छन्– बाबा हामीले घरी घरी भुल्छौं। पुरुषार्थ गराउनेवाला त एउटै बाबा हुनुहुन्छ। तर कसैको भाग्यमा छैन भने पुरुषार्थ पनि गर्न सक्दैनन्। यसमा कसैले केही खातिरी गर्न सक्दैन। न एक्स्ट्रा पढाउनु हुन्छ। त्यस पढाइमा त एक्स्ट्रा पढ्नको लागि शिक्षकलाई बोलाउँछन्। यहाँ त तकदिर बनाउनको लागि सबैलाई एकरस पढाउनु हुन्छ। एक एकलाई अलग कहाँसम्म पढाउने? कति धेरै बच्चाहरू छन्! त्यस पढाइमा त कोही ठुला मान्छेका बच्चा हुन्छन्, धेरै खर्च गर्न सक्छन् भने उनलाई एक्स्ट्रा पनि पढाउँछन्। शिक्षकले जानेका छन्– यो बुद्धु छ त्यसैले पढाएर यसलाई स्कलरसिप लायक बनाउँछु। बाबाले यहाँ यस्तो गर्नुहुन्न। यहाँ त सबैलाई एकरस पढाउनु हुन्छ। त्यो भयो टिचरलाई एक्स्ट्रा पुरुषार्थ गराउनु। यहाँ त बाबाले अलग्गै कसैलाई एक्स्ट्रा पुरुषार्थ गराउनु हुन्न। एक्स्ट्रा पुरुषार्थको मतलब नै हो शिक्षकले केही कृपा गर्छन्। हुन त केही पैसा लिन्छन्। खास टाइम दिएर पढाउँछन्, जसबाट ऊ बढी पढेर होसियार बन्न सक्छ। यहाँ धेरै पढ्ने कुरा केही छैन। बाबाको त एउटै कुरा छ, एउटै महामन्त्र दिनुहुन्छ– मनमनाभवको। यादबाट के मिल्छ, यो त तिमी बच्चाहरूले जान्दछौ। बाबा नै पतित-पावन हुनुहुन्छ, जानेका छौ– उहाँलाई याद गरियो भने नै हामी पावन बन्नेछौं। अच्छा! गुडनाइट।

धारणाको लागि मुख्य सारः–
१) सारा दुनियाँ अब चिहान हुनु छ। विनाश सामुन्ने छ, त्यसैले कसैसँग पनि सम्बन्ध राख्नु छैन। अन्त्यकालमा एक बाबाको नै याद रहोस्।

२) यो पुरुषोत्तम सङ्गमयुग श्यामबाट सुन्दर, पतितबाट पावन बन्ने युग हो। यही समय हो उत्तम पुरुष बन्ने– सधैँ यसै स्मृतिमा रहेर स्वयंलाई कौडीबाट हीरा जस्तो बनाउनु छ।

वरदान:–
ज्ञान धनद्वारा प्रकृतिका सबै साधन प्राप्त गर्ने पदमापदमपति भव

ज्ञान धनले स्थूल धनको प्राप्ति स्वत: गराउँछ। जहाँ ज्ञान धन छ त्यहाँ प्रकृति स्वत: दासी बन्न जान्छ। ज्ञान धनबाट प्रकृतिका सबै साधन स्वत: प्राप्त हुन जान्छन् त्यसैले ज्ञान धन सबै धनको राजा हो। जहाँ राजा हुन्छन् त्यहाँ सबै पदार्थ स्वत: प्राप्त हुन्छन्। यो ज्ञान धन नै पदमापदमपति बनाउनेवाला हो, परमार्थ र व्यवहारलाई स्वत: सिद्ध गर्छ। ज्ञान धनमा यति शक्ति छ जसले अनेक जन्मको लागि राजाहरूको राजा बनाइदिन्छ।

स्लोगन:–
“कल्प-कल्पको विजयी हुँ”– यो रुहानी नसा इमर्ज भयो भने मायाजित बन्छौ।