01.05.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले सिद्ध गरेर बताऊ बेहदको बाबा हाम्रो पिता पनि हुनुहुन्छ , टिचर पनि हुनुहुन्छ र सतगुरु पनि हुनुहुन्छ , उहाँ सर्वव्यापी हुन सक्नुहुन्न।”

प्रश्न:–
यस समय दुनियाँमा अति दु:ख किन छ? दु:खको कारण सुनाऊ?

उत्तर:–
सारा दुनियाँमा यस समयमा राहुको दशा छ, यसकारण दु:ख छ। वृक्षपति बाबा आएपछि सबै माथि बृहस्पतिको दशा हुन्छ। सत्ययुग-त्रेतामा बृहस्पतिको दशा हुन्छ, रावणको नाम-निसान हुँदैन त्यसैले त्यहाँ दु:ख हुँदैन। बाबा आउनु भएको छ सुखधामको स्थापना गर्न, त्यसमा दु:ख हुन सक्दैन।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनु हुन्छ किनकि सबै बच्चाहरूले जान्दछन्– हामी आत्मा हौं, हामी आफ्नो घर धेरै टाढादेखि यहाँ आउँछौं। आएर यस शरीरमा प्रवेश गर्छौं, पार्ट खेल्न। पार्ट आत्माले नै खेल्छ। यहाँ बच्चाहरू आफूलाई आत्मा सम्झेर बाबाको यादमा बसेका छन् किनकि बाबाले सम्झाउनु भएको छ यादबाट तिमी बच्चाहरूको जन्मजन्मान्तरको पाप भस्म हुन्छ। यसलई योग पनि भन्नुहुँदैन। योग त संन्यासीहरूले सिकाउँछन्। विद्यार्थीको टिचरसँग पनि योग हुन्छ, बच्चाहरूको पितासँग योग हुन्छ। यो हो आत्माहरू र परमात्माको अर्थात् बच्चाहरू र पिताको मेला। यो हो कल्याणकारी मिलन। बाँकी त सबै हुन् अकल्याणकारी। दुनियाँ पतित छ नि। तिमीले प्रदर्शनी वा म्युजियममा सम्झाउँदा आत्मा र परमात्माको परिचय दिनु ठिक छ। आत्माहरू सबै बच्चा हुन् र उहाँ हुनुहुन्छ परमपिता परम आत्मा, जो परमधाममा रहनुहुन्छ। कुनै पनि बच्चाहरूले आफ्नो लौकिक पितालाई परमपिता भन्दैनन्। परमपितालाई दु:खमा नै याद गर्छन्– हे परमपिता परम आत्मा! परम आत्मा रहनुहुन्छ नै परमधाममा। अब तिमीले आत्मा र परमात्माको ज्ञान सम्झायौ भने केवल यतिमात्र सम्झाउने होइन– दुई पिता हुनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ– यो अवश्य सम्झाउनु छ। हामी सबै भाइ भाइ हौं, उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। भक्तिमार्गमा सबैले भगवान बाबालाई याद गर्छन् किनकि भगवानबाट भक्तिको फल मिल्छ अथवा बाबासँग बच्चाहरूले वर्सा लिन्छन्। भगवानले बच्चाहरूलाई भक्तिको फल दिनुहुन्छ। के दिनुहुन्छ? विश्वको मालिक बनाउनु हुन्छ। तर तिमीले केवल पितालाई सिद्ध गर्नु छैन। उहाँ पिता पनि हुनुहुन्छ भने शिक्षा दिनेवाला पनि हुनुहुन्छ, सतगुरु पनि हुनुहुन्छ। यसरी सम्झायौ भने सर्वव्यापीको ख्याल उड्नेछ। यो कुरा थप। उहाँ बाबा ज्ञानको सागर हुनुहुन्छ। आएर राजयोग सिकाउनु हुन्छ। भन, उहाँ शिक्षा दिने टिचर पनि हुनुहुन्छ, त्यसैले फेरि सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? टिचर अवश्य भिन्न हुनुहुन्छ, विद्यार्थी भिन्न हुन्। जसरी पिता भिन्न हुन्, बच्चाहरू भिन्न हुन्। आत्माहरूले परमात्मा पितालाई याद गर्छन्, उहाँको महिमा पनि गर्छन्। बाबा नै मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। उहाँ आएर हामीलाई मनुष्य सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ। बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ, हामी स्वर्गवासी बन्छौं। साथसाथै यो पनि सम्झाउनु छ– दुई पिता हुनुहुन्छ। लौकिक पिताले पालना गर्छन् फेरि टिचरको पासमा पढ्नको लागि जानुपर्छ। ६० वर्षपछि वानप्रस्थ अवस्थामा जानको लागि गुरु बनाउनु पर्छ। पिता, टिचर, गुरु भिन्नाभिन्नै हुन्छन्। यहाँ बेहदका पिता त सबै आत्माहरूका पिता हुनुहुन्छ, ज्ञानसागर हुनुहुन्छ। मनुष्य सृष्टिको बीजरूप सत्-चित-आनन्द स्वरूप हुनुहुन्छ। सुखको सागर, शान्तिको सागर हुनुहुन्छ। उहाँको महिमा गर्न सुरु गरिदेऊ किनकि दुनियाँमा धेरै मतभेद छ नि। सर्वव्यापी भएको भए फेरि टिचर बनेर कसरी पढाउनु हुन्छ! फेरि सतगुरु पनि हुनुहुन्छ, सबैलाई गाइड बनेर लैजानुहुन्छ। शिक्षा दिनुहुन्छ अर्थात् याद सिकाउनु हुन्छ। भारतखण्डको प्राचीन राजयोगको पनि गायन छ। पुरानो भन्दा पुरानो हो सङ्गमयुग। नयाँ र पुरानो दुनियाँको बीच। तिमीले जान्दछौ– आज भन्दा ५ हजार वर्ष पहिला बाबाले आएर आफ्नो बनाउनु भएको थियो, हाम्रो टिचर-सतगुरु पनि बन्नु भएको थियो। उहाँ केवल हाम्रो बाबा हुनुहुन्न, उहाँ त ज्ञानको सागर अर्थात् टिचर पनि हुनुहुन्छ, हामीलाई शिक्षा दिनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ किनकि बीजरूप, वृक्षपति हुनुहुन्छ। उहाँ जब भारतवर्षमा आउनु हुन्छ तब भारतवर्षको बृहस्पतिको दशा हुन्छ। सत्ययुगमा सबै सदा सुखी देवी-देवताहरू हुन्छन्। सबैको बृहस्पतिको दशा हुन्छ। फेरि दुनियाँ तमोप्रधान भएपछि सबैको राहुको दशा हुन्छ। वृक्षपतिलाई कसैले पनि चिन्दैनन्। नचिनेपछि फेरि वर्सा कसरी मिल्न सक्छ?

तिमी यहाँ बस्दा अशरीरी भएर बस। यो ज्ञान त मिलेको छ– आत्मा भिन्न छ, घर भिन्न छ। ५ तत्त्वको पुतला बन्छ, त्यसमा आत्माले प्रवेश गर्छ। सबैको पार्ट निश्चित छ। सुरुमा मुख्य कुरा यो सम्झाउनु छ– बाबा सुप्रिम पिता हुनुहुन्छ, सुप्रिम टिचर हुनुहुन्छ। लौकिक पिता, टिचर, गुरुको भिन्नता बताएमा छिट्टै बुझ्नेछन्, विवाद गर्नेछैनन्। आत्माहरूको पितामा सारा ज्ञान छ। यो खुबी छ। उहाँले नै हामीलाई रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। पहिला ऋषिमुनि आदिले त भन्थे– हामीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनौं किनकि त्यस समयमा उनीहरू सतो थिए। हरेक चीज सतोप्रधान, सतो, रजो, तमोमा आउँछन्। नयाँबाट पुरानो अवश्य हुन्छ। तिमीलाई यस सृष्टि चक्रको अवधि पनि थाहा छ। मनुष्यहरूले यो भुलेका छन्– यसको अवधि कति छ। बाँकी यी शास्त्र आदि सबै भक्तिमार्गको लागि बनाउँछन्। धेरै गफ लेखिदिएका छन्। सबैको पिता त एक नै हुनुहुन्छ। सद्गतिदाता एक हुनुहुन्छ। गुरु अनेक छन्। सद्गति गर्ने सतगुरु एक नै हुन्छ। सद्गति कसरी हुन्छ– त्यो पनि तिम्रो बुद्धिमा छ। आदि सनातन देवी-देवता धर्मलाई नै सद्गति भनिन्छ। त्यहाँ थोरै मात्र मनुष्य हुन्छन्। अहिले त कति धेरै मनुष्यहरू छन्। त्यहाँ त केवल देवताहरूको राज्य हुन्छ फेरि राज्यवंश वृद्धि हुन्छ। लक्ष्मी-नारायण द फस्ट, सेकेन्ड, थर्ड चल्छ। लक्ष्मी-नारायण द फस्ट भएको बेलामा कति थोरै मनुष्य हुन्छन्। यो ख्यालात पनि केवल तिम्रो चल्छ। भगवान तिमी सबै आत्माहरूको पिता एक मात्र हुनुहुन्छ, यो तिमी बच्चाहरूले जान्दछौ। उहाँ हुनुहुन्छ बेहदका पिता। हदको पिताबाट हदको वर्सा मिल्छ, बेहदका पिताबाट बेहदको वर्सा मिल्छ– २१ पिँढी स्वर्गको बादसाही। २१ पिँढी अर्थात् जब वृद्ध हुन्छन् तब शरीर छोड्छन्। त्यहाँ आफूलाई आत्मा हुँ भन्ने जान्दछन्। यहाँ देह अभिमानी हुनाको कारण जान्दैनन्। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। अब देह अभिमानीहरूलाई आत्म अभिमानी कसले बनाउने? यस समयमा एक जना पनि आत्म अभिमानी छैनन्। बाबा नै आएर आत्म अभिमानी बनाउनु हुन्छ। त्यहाँ आत्माले एउटा ठुलो शरीर छोडेर गएर सानो बच्चा बन्छ भन्ने जान्दछन्। सर्पको पनि उदाहरण छ, यी सर्प, कुमालकोटी आदिको उदाहरण सबै यहाँको हो र यस समयको हो। जुन फेरि भक्तिमार्गमा पनि काममा आउँछ। वास्तवमा ब्राह्मणीहरू त तिमी हौ जसले विष्टाको कीरालाई भुँ भुँ गरेर मनुष्यबाट देवता बनाइदिन्छौ। बाबामा नलेज छ नि। उहाँ नै ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ। सबैले शान्ति मागिरहन्छन्। शान्ति देवा... कसलाई पुकार्छन्? जो शान्तिको दाता अथवा सागर हुनुहुन्छ, उहाँको महिमा गाउँछन् तर अर्थरहित। भनिदिन्छन्, बुझेका केही पनि छैनन्। बाबा भन्नुहुन्छ यी वेद, शास्त्र आदि सबै भक्तिमार्गका हुन्। ६३ जन्म भक्ति गर्नु नै छ। कति धेरै शास्त्रहरू छन्। म कुनै शास्त्र पढ्नाले मिल्दिनँ। मलाई पुकार्छन् पनि आएर पावन बनाउनुहोस् भनेर। यो हो तमोप्रधान फोहोरी दुनियाँ जुन कुनै कामको छैन। कति दु:ख छ। दु:ख कहाँबाट आयो? बाबाले त तिमीलाई धेरै सुख दिनु भएको थियो फेरि तिमी सिँढी कसरी उत्रियौ? गायन पनि छ ज्ञान र भक्ति। ज्ञान बाबाले सुनाउनु हुन्छ, भक्ति रावणले सिकाउँछ। देखिनमा न त बाबा आउनु हुन्छ, न रावण आउँछ। दुवैलाई यी आँखाहरूले देख्न सकिँदैन। आत्मालाई जानिन्छ। हामी आत्मा हौं भने आत्माको पिता पनि अवश्य हुनुहुन्छ। बाबा फेरि टिचर पनि बन्नुहुन्छ, अरू यस्तो कोही हुँदै हुँदैन।

अहिले तिमीले २१ जन्मको लागि सद्गति पाउँछौ, फेरि गुरु बनाउने आवश्यकता नै हुँदैन। बाबा सबैका पिता पनि हुनुहुन्छ भने पढाउने टिचर पनि हुनुहुन्छ। सबैको सद्गति गर्ने सतगुरु सुप्रिम गुरु पनि हुनुहुन्छ। तीनैलाई त सर्वव्यापी भन्न सकिदैन। उहाँले त सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य बताउनु हुन्छ। मनुष्यहरूले याद पनि गर्छन्– हे पतित-पावन आउनुहोस्, सर्वको सद्गतिदाता आउनुहोस्, सबैको दु:ख हर्नुहोस्, सुख दिनुहोस्! हे गड फादर, हे लिबरेटर! लैजानको लागि फेरि हाम्रो गाइड पनि बन्नुहोस्। यस रावण राज्यबाट मुक्त गर्नुहोस्। रावण राज्य कुनै लङ्कामा छैन। जुन यो सारा धरती छ यसैमा यस समयमा रावण राज्य छ। रामराज्य मात्र सत्ययुगमा नै हुन्छ। भक्तिमार्गमा मनुष्य कति अलमलिएका छन्।

अहिले तिमीलाई श्रीमत मिलिरहेको छ श्रेष्ठ बन्नको लागि। सत्ययुगमा भारतखण्ड श्रेष्ठाचारी थियो, पूज्य थियो। अहिलेसम्म पनि उनीहरूलाई पुज्छन्। भारतखण्डमा बृहस्पतिको दशा थियो तब सत्ययुग थियो। अहिले राहुको दशामा हेर भारतखण्डको के हाल भएको छ। सबै भ्रष्टाचारी बनेका छन्। बाबाले श्रेष्ठाचारी बनाउनु हुन्छ, रावणले भ्रष्टाचारी बनाउँछ। भन्छन् पनि रामराज्य चाहियो। त्यसैले रावण राज्यमा छन् नि। नर्कवासी छन्। रावण राज्यलाई नर्क भनिन्छ। स्वर्ग र नर्क आधा आधा हुन्छ। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ– रामराज्य केलाई र रावण राज्य केलाई भनिन्छ? त्यसैले सुरुमा यसमा निश्चय बुद्धि बनाउनु पर्छ। उहाँ हाम्रो पिता हुनुहुन्छ, हामी सबै आत्माहरू भाइ भाइ हौं। बाबाबाट सबैलाई वर्सा मिल्ने हक छ। पहिला पनि तिमीलाई मिलेको थियो। बाबाले राजयोग सिकेर सुखधामको मालिक बनाउनु भएको थियो। बाँकी सबै गए शान्तिधाम। यो पनि बच्चाहरूले जान्दछन्– वृक्षपति हुनुहुन्छ चैतन्य। सत्-चित-आनन्द स्वरूप हुनुहुन्छ। आत्मा सत्य पनि हो, चैतन्य पनि हो। बाबा पनि सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, वृक्षपति हुनुहुन्छ। यो उल्टो वृक्ष हो नि। यसको बीज माथि छ। बाबा नै आएर सम्झाउनु हुन्छ। जब तिमी तमोप्रधान बन्छौ तब बाबा सतोप्रधान बनाउन आउनु हुन्छ। इतिहास-भूगोल दोहोरिन्छ। अब तिमीले भन्छौ हिस्ट्री-ज्योग्राफी... अंग्रेजी शब्द नभन। हिन्दीमा (नेपालीमा) भनिन्छ इतिहास-भूगोल। अंग्रेजी त सबैले पढ्छन् नै। सम्झन्छन् भगवानले गीता संस्कृतमा सुनाउनुभयो। अब श्रीकृष्ण सत्ययुगको राजकुमार। त्यहाँ यो भाषा थियो, यस्तो त लेखिएको छैन। भाषा अवश्य हुन्छ। जुन जुन राजा हुन्छन् उनीहरूको भाषा आफ्नै हुन्छ। सत्ययुगी राजाहरूको भाषा आफ्नै हुन्छ। त्यहाँ संस्कृत हुँदैन। सत्ययुगको रसमरिवाज नै भिन्नै हुन्छ। कलियुगी मनुष्यहरूको रसमरिवाज भिन्न छ। तिमी सबै मीराहरू हौ, कलियुगी लोकलाज कुलको मर्यादा मन पराउँदैनौ। तिमीले कलियुगी लोकलाज छोड्छौ त्यसैले कति झगडा हुन्छ। तिमीलाई बाबाले श्रीमत दिनु भएको छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर। जगतजित बन्नेहरूको यो चित्र पनि सामुन्ने छ। तिमीलाई बेहदको बाबाबाट राय मिल्छ, विश्वमा शान्ति स्थापना कसरी हुन्छ? शान्तिदाता भन्नाले बाबाको नै याद आउँछ। बाबा नै आएर कल्प कल्प विश्वमा शान्ति स्थापना गर्नुहुन्छ। कल्पको अवधि लामो बनाइदिनाले मनुष्यहरू मानौं कुम्भकर्णको निद्रामा सुतिरहेका छन्।

सुरुमा त मनुष्यहरूलाई यो पक्का निश्चय गराऊ– उहाँ हाम्रो पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। टिचरलाई सर्वव्यापी कसरी भन्न सकिन्छ? तिमी बच्चाहरूले जान्दछौ– बाबा कसरी आएर हामीलाई पढाउनु हुन्छ। तिमीले उहाँको जीवनी जान्दछौ। बाबा आउनु हुन्छ नै नर्कलाई स्वर्ग बनाउन। टिचर पनि हुनुहुन्छ फेरि साथमा लिएर पनि जानुहुन्छ। आत्माहरू त अविनाशी छन्। आफ्नो पूरा पार्ट खेलेर उनीहरू घर जान्छन्। लैजाने गाइड पनि त चाहियो नि। दु:खबाट मुक्त गर्नुहुन्छ फेरि गाइड बनेर सबैलाई लैजानुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कलियुगी लोकलाज कुलको मर्यादालाई छोडेर ईश्वरीय कुलको मर्यादालाई धारण गर्नु छ। अशरीरी बाबाले जे सुनाउनु हुन्छ त्यो अशरीरी भएर सुन्ने अभ्यास पक्का बनाउनु छ।

२) बेहदका बाबा, पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सतगुरु पनि हुनुहुन्छ, यो भिन्नता सबैलाई सम्झाउनु छ। बेहदका पिता सर्वव्यापी हुनुहुन्न, यो सिद्ध गर्नु छ।

वरदान:–
हदका नखराबाट निस्केर रुहानी नसामा रहने प्रीतबुद्धि भव

कति बच्चाहरूले हदका स्वभाव, संस्कारका नखराहरू धेरै गर्छन्। जहाँ मेरो स्वभाव, मेरो संस्कार यो शब्द आउँछ त्यहाँ यस्ता नखरा सुरु हुन थाल्छन्। यो मेरो शब्दले नै चक्करमा ल्याउँछ। तर जो बाबा भन्दा भिन्न छ त्यो मेरो हुँदै होइन। मेरो स्वभाव बाबाको स्वभाव भन्दा भिन्न हुन सक्दैन, त्यसैले हदका नखराहरूबाट निस्केर रुहानी नसामा रहने गर। बरु प्रीत बुद्धि बनेर मोहब्बतको प्रीतको नसा राख।

स्लोगन:–
बाबासँग, सेवासँग र परिवारसँग मोहब्बत छ भने मेहनतबाट छुट्नेछौ।