03.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाको यादमा सदा हर्षित रहने गर , पुरानो देहको भान छोड्दै जाऊ किनकि तिमीले योगबलद्वारा वायुमण्डललाई शुद्ध पार्ने सेवा गर्नु छ।”

प्रश्न:–
छात्रवृत्ति लिन अथवा आफूले आफैलाई राजतिलक दिनको लागि कुनचाहिँ पुरुषार्थ चाहिन्छ?

उत्तर:–
राजतिलक तब मिल्छ जब यादको यात्राको पुरुषार्थ गर्नेछौ। आपसमा भाइ भाइ सम्झने अभ्यास गर्यौ भने नाम रूपको भान निस्किनेछ। फालतु कुरा कहिल्यै नसुन। बाबाले जे सुनाउनु हुन्छ त्यही सुन, अरू कुरामा कान बन्द गर। पढाइमा पूरा ध्यान दियौ भने छात्रवृत्ति मिल्न सक्छ।

ओम् शान्ति ।
बच्चाहरूले जानेका छौ– हामीले श्रीमत अनुसार आफ्नो लागि राजधानी स्थापना गरिरहेका छौं। जसले जति मनसा-वाचा-कर्मणा सेवा गर्छन्, त्यति आफ्नै कल्याण गर्छन्। यसमा हङ्गामा आदिको कुनै कुरा छैन। केवल यस पुरानो देहको भान छोड्दा छोड्दै तिमी त्यहाँ पुग्नेछौ। बाबालाई याद गर्नाले धेरै खुसी पनि हुन्छ। सदैव याद रह्यो भने खुसी नै खुसी हुनेछ। बाबालाई भुल्नाले उदासी आउनेछ। बच्चाहरू सदैव हर्षित रहनुपर्छ। हामी आत्मा हौं। हामी आत्माका बाबा यस मुखद्वारा बोल्नुहुन्छ, हामी आत्माले यी कानद्वारा सुन्छौं। यसरी यसरी आफ्नो आदत बसाल्नको लागि मेहनत गर्नुपर्छ। बाबालाई याद गर्दागर्दा फर्केर घर जानु छ। यो यादको यात्राले नै धेरै तागत दिन्छ। तिमीलाई यति तागत मिल्छ जसद्वारा तिमी विश्वको मालिक बन्छौ। बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। यस कुरालाई पक्का गर्नुपर्छ। अन्त्यमा यही वशीकरण मन्त्र काममा आउँछ। सबैलाई सन्देश पनि यही दिनु छ– आफूलाई आत्मा सम्झ, यो शरीर विनाशी छ। बाबाको आदेश छ– मलाई याद गर्यौ भने पावन बन्छौ। तिमी बच्चाहरू बाबाको यादमा बसेका छौ। साथमा ज्ञान पनि छ किनकि तिमीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई पनि जानेका छौ। स्व-आत्मामा सारा ज्ञान छ। तिमी स्वदर्शन चक्रधारी हौ नि। यहाँ बसी बसी तिम्रो धेरै कमाइ भइरहेको छ। तिम्रो दिनरात कमाइ नै कमाइ छ। तिमी यहाँ आउँछौ नै सच्चा कमाइ गर्नको लागि। सच्चा कमाइ अरू कहीँ पनि हुँदैन, जुन साथमा जान्छ। तिम्रो यहाँ अरू कुनै धन्दा आदि त छैन। वायुमण्डल पनि अनुकूल छ। तिमीले योगबलद्वारा वायुमण्डललाई पनि शुद्ध पार्छौ। तिमीहरूले धेरै सेवा गरिरहेका छौ। जसले आफ्नो सेवा गर्छन् उनीहरूले नै विश्वको सेवा गर्छन्। फेरि यो पुरानो दुनियाँ नै रहनेछैन। तिमीहरू पनि रहनेछैनौ। दुनियाँ नै नयाँ बन्छ। तिमी बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ। यो पनि जानेका छौ– कल्प पहिला जसले सेवा गरेका छन् उनीहरूले अहिले गर्नेछन्। दिनप्रतिदिन धेरैलाई आफूसमान बनाइ नै रहन्छन्। यस ज्ञानलाई सुनेर धेरै खुसी हुन्छन्। रोमाञ्च खडा हुन्छ। भन्नुहुन्छ– यो ज्ञान कहिल्यै कसैद्वारा सुनेका छैनन्। तिमी ब्राह्मणहरूद्वारा नै सुन्छन्। भक्तिमार्गमा त मेहनत केही पनि छैन। यसमा सारा पुरानो दुनियाँलाई भुल्नुपर्छ। यो बेहदको संन्यास बाबाले नै गराउनु हुन्छ। तिमी बच्चाहरूमा पनि नम्बरवार छन्। खुसी पनि नम्बरवार हुन्छ, समान होइन। ज्ञान योग पनि समान छैन। अरू सबै मनुष्य त देहधारीहरूको पासमा जान्छन्। यहाँ तिमी उहाँसँग आउँछौ जसको आफ्नो देह छैन। जति यादको पुरुषार्थ गरिरहन्छौ त्यति सतोप्रधान बन्दै जान्छौ। खुसी बढिरहनेछ। यो हो आत्मा र परमात्माको शुद्ध प्रेम। उहाँ हुनुहुन्छ नै निराकार। जति तिम्रो खिया उत्रिँदै जान्छ त्यति आकर्षण हुन्छ। तिमीले आफ्नो डिग्री देख्न सक्छौ– म कति खुसीमा रहन्छु? यसमा आसन आदि लगाउने कुरा छैन। यो हठयोग होइन। आरामसँग बसेर बाबालाई याद गरिराख। सुतेर पनि याद गर्न सक्छौ। बेहदका बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ र पाप भस्म हुँदै जान्छ। बेहदका बाबा जो तिम्रो शिक्षक पनि हुनुहुन्छ, सदगुरु पनि हुनुहुन्छ, उहाँलाई धेरै प्यारसँग याद गर्नुपर्छ। यसमा नै मायाले विघ्न ल्याउँछ। हेर्नुपर्छ– मैले बाबाको यादमा रहेर हर्षित भएर खाना खाएँ? प्रियतमालाई प्रियतम मिल्दा अवश्य खुसी हुन्छ नि। यादमा रहनाले तिम्रो धेरै जम्मा हुँदै जान्छ। लक्ष्य धेरै ठुलो छ। तिमी केबाट के बन्छौ! पहिला त बेसमझ थियौ, अहिले तिमीहरू धेरै समझदार बनेका छौ। तिम्रो लक्ष्य उद्देश्य कति फस्टक्लास छ। तिमीले जानेका छौ– हामीले बाबालाई याद गर्दागर्दै यस पुरानो शरीरलाई छोडेर नयाँ लिनेछौं। कर्मातीत अवस्था भएपछि यो शरीर छोडिदिनेछौ। नजिक आएपछि घरको याद आउँछ नि। बाबाको ज्ञान धेरै मीठो छ। बच्चाहरूलाई कति नसा चढ्नुपर्छ। भगवान यस रथमा बसेर तिमीहरूलाई पढाउनु हुन्छ। अहिले तिम्रो चढ्तीकला छ। तिम्रो उन्नति भएपछि नै सबैको भलो हुन्छ। तिमीहरूले कुनै नयाँ कुरा सुनिरहेका छैनौ। जानेका छौ– अनेक पटक हामीले सुनेका छौं, त्यही फेरि सुनिरहेका छौं। सुनेपछि भित्रभित्रै गद्गद् भइरहनेछौ। तिमी हौ गुप्त योद्धा तर प्रख्यात छौ। तिमीले सारा विश्वलाई स्वर्ग बनाउँछौ, त्यसैले देवीहरूको यति पूजा हुन्छ। गर्ने र गराउने दुवैको पूजा हुन्छ। बच्चाहरूले जानेका छौ– देवीदेवता धर्मावलम्बीहरूको कलमी लागिरहेको छ। यो परम्परा अहिलेबाट सुरुभएको हो। तिमीले आफैलाई तिलक लगाउँछौ। जसले राम्ररी पढ्छन् उनीहरूले आफूलाई छात्रवृत्तिको लायक बनाउँछन्। बच्चाहरूले यादको यात्राको धेरै पुरुषार्थ गर्नुपर्छ। आफूलाई भाइ भाइ सम्झियौ भने नाम रूपको भान निस्कँदै जान्छ, यसमा नै मेहनत छ। धेरै ध्यान दिनुपर्छ। फाल्तु कुरा कहिल्यै सुन्नुहुँदैन। बाबा भन्नुहुन्छ– मैले जे सुनाउँछु, त्यो सुन। फाल्तु कुरा नसुन। कान बन्द गर। सबैलाई शान्तिधाम र सुखधामको मार्ग बताइराख। जसले जति धेरैलाई मार्ग बताउँछ, त्यति उसलाई फाइदा मिल्छ। कमाइ हुन्छ। बाबा आउनु भएको छ सबैको शृङ्गार गर्न र घरमा लिएर जान। बाबा सदैव बच्चाहरूको मदतगार बन्नुहुन्छ। जो बाबाको मदतगार बनेका छन्, उनीहरूलाई बाबाले पनि प्यारसँग हेर्नुहुन्छ। जसले धेरैलाई मार्ग बताउँछन्, बाबाले पनि उनीहरूलाई धेरै याद गर्नुहुन्छ। उनीहरूलाई बाबाको यादमा आकर्षण हुन्छ। यादद्वारा नै विकार उत्रिँदै जान्छ, बाबालाई याद गर्नु भनेको घरलाई याद गर्नु हो। सदैव बाबा बाबा भनिराख। यो हो ब्राह्मणहरूको रुहानी यात्रा। परम आत्मालाई याद गर्दागर्दै घर पुग्नेछौ। जति देही अभिमानी बन्ने पुरुषार्थ गर्नेछौ त्यति कर्मेन्द्रिय वशमा हुँदै जान्छन्। कर्मेन्द्रिहरूलाई वश पार्ने एउटै उपाय हो, याद। तिमी हौ रुहानी स्वदर्शन चक्रधारी ब्राह्मण कुलभूषण। तिम्रो यो सर्वोत्तम श्रेष्ठ कुल हो। ब्राह्मण कुल देवताहरूको कुल भन्दा उच्च हो किनकि तिमीहरूलाई बाबाले पढाउनु हुन्छ। तिमी बाबाको बनेका छौ, बाबाबाट विश्वको बादसाहीको वर्सा लिनको लागि। बाबा भन्नेबित्तिकै वर्साको सुगन्ध आउँछ। शिवलाई सदैव बाबा बाबा भन्छन्। शिवबाबा हुनुहुन्छ नै सद्गतिदाता, अरू कसैले सद्गति दिन सक्दैन। सच्चा सदगुरु एउटै निराकार हुनुहुन्छ जसले आधा कल्पको लागि राज्य दिएर जानुहुन्छ। त्यसैले मूल कुरा हो यादको। अन्त्य कालमा कुनै शरीरको भान अथवा धन दौलत याद नआओस्। नत्र त पुनर्जन्म लिनुपर्ने हुन्छ। भक्तिमा काशी कलवट खान्छन्, तिमीले पनि काशी कलवट खाएका छौ अथवा बाबाको बनेका छौ। भक्तिमार्गमा पनि काशी कलवट खाएर सम्झन्छन् सबै पाप काटिएर गयो। तर फर्केर त कोही जान सक्दैन। सबै माथिबाट आइसकेपछि विनाश हुन्छ। बाबा पनि जानुहुन्छ, तिमी पनि जान्छौ। भन्ने गर्छन्– पाण्डव पहाडमा गले। उनीहरूले त आत्मघात गरेजस्तै हो। बाबाले राम्ररी सम्झाउनु हुन्छ। सबै बच्चाहरूको सद्गतिदाता एक म नै हुँ, कुनै देहधारीले तिम्रो सद्गति गर्न सक्दैन। भक्तिमा सिँढी उत्रिँदै आएका छौ, अन्त्यमा बाबा आएर जोडसँग चढाउनु हुन्छ। यसलाई भनिन्छ– अचानक बेहद सुखको चिट्ठा मिल्छ। त्यहाँ हुन्छ घोडादौड। यो हो आत्माको दौड। तर मायाको कारण दुर्घटना हुन्छ अथवा छोडि दिन्छन्। मायाले बुद्धियोग तोडिदिन्छ। कामसँग हार खायौ भने गरेको कमाइ खतम भएर जान्छ। काम ठुलो भूत हो, काममाथि विजय पाउनाले जगतजित बन्छौ। लक्ष्मी-नारायण जगतजित थिए। बाबा भन्नुहुन्छ– यो अन्तिम जन्ममा पवित्र अवश्य बन्नु छ, तब जित हुन्छ। नत्र त हार खानेछौ। यो हो मृत्युलोकको अन्तिम जन्म। अमरलोकका २१ जन्मको र मृत्युलोकका ६३ जन्मको रहस्य बाबाले नै सम्झाउनु हुन्छ। अब दिलसँग सोध– म लक्ष्मी-नारायण बन्न लायक छु? जति धारणा हुँदै जान्छ त्यति खुसी पनि हुन्छ। तर तकदिरमा छैन भने मायाले टिक्न दिँदैन। यस मधुवनको प्रभाव दिनप्रतिदिन धेरै बढ्दै जानेछ। मुख्य ब्याट्री यहाँ छ, जुन सेवाधारी बच्चाहरू छन्, उनीहरू बाबालाई धेरै प्यारा लाग्छन्। जुन राम्रो सेवाधारी बच्चाहरू छन् उनीहरूलाई चुनी चुनी बाबाले सर्चलाइट दिनुहुन्छ। उनीहरूले अवश्य बाबालाई याद गर्छन्। सेवाधारी बच्चाहरूलाई बापदादा दुवैले याद गर्नुहुन्छ, सर्चलाइट दिनुहुन्छ। भनिन्छ– याद गर्यौ भने यादको रिसपन्स मिल्छ। एकातर्फ सारा दुनियाँ छ, अर्कातर्फ तिमी सच्चा ब्राह्मणहरू। सर्वोच्च बाबा जो सबैको सद्गतिदाता हुनुहुन्छ, उहाँ बाबाका तिमी बच्चाहरू हौ। तिम्रो यो दिव्यजन्म हीरासमान छ। हामीलाई कौडीबाट हीरा पनि उहाँले नै बनाउनु हुन्छ। आधाकल्पको लागि यति धेरै सुख दिनुहुन्छ जसले गर्दा फेरि उहाँलाई याद गर्ने आवश्यक पर्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै भन्दा धेरै धन तिमीहरूलाई दिन्छु। तिमी सबै कुरा गुमाएर बसेका छौ। कति हीरा जुहारत मेरै मन्दिरमा लगाउँछौ। अब त हेर हीराको कति दाम छ! पहिला हीरामा पनि बोनस मिल्थ्यो, अहिले त सब्जीमा पनि मिल्दैन। तिमीहरूले जानेका छौ– कसरी राज्य लियौं, कसरी गुमायौं? अब फेरि लिइरहेका छौं। यो ज्ञान धेरै अनौठो छ। कसैको बुद्धिमा मुस्किलले रहन्छ। रजाइँ लिनु छ भने श्रीमतमा पूरा चल्नुपर्छ। आफ्नो मत काममा आउँदैन। जीवन छँदै वानप्रस्थमा जाने हो भने सबै कुरा उहाँलाई दिनुपर्छ। वारिस बनाउनुपर्छ। भक्तिमार्गमा पनि वारिस बनाउँछन्। दान गर्छन् तर अल्पकालको लागि। यहाँ त उहाँलाई वारिस बनाउनुपर्छ जन्मजन्मान्तरको लागि। गायन पनि छ फलो फादर। जसले फलो गर्छन् उनीहरूले उच्च पद पाउँछन्। बेहदका बाबाको बनेपछि नै बेहदको वर्सा पाउँछन्। शिवबाबा त हुनुहुन्छ दाता। यो भण्डारा उहाँको हो। भगवान अर्थ जसले दान गर्छन् उनीहरूलाई अर्को जन्ममा अल्पकालको सुख मिल्छ। त्यो भयो इन्डाइरेक्ट, यो हो डाइरेक्ट। शिवबाबाले २१ जन्मको लागि दिनुहुन्छ। कसैको बुद्धिमा आउँछ– हामीले शिवबाबालाई दिन्छौं। यो त बाबाको इन्सल्ट गरेजस्तै हो। दिन्छन् लिनको लागि। यो बाबाको भण्डारा हो। काल कण्टक दूर हुन्छ। बच्चाहरूले पढ्छन् अमरलोकको लागि। यो हो काँडाको जङ्गल। बाबाले फूलहरूको बगैँचामा लिएर जानुहुन्छ। त्यसैले बच्चाहरू धेरै खुसी हुनुपर्छ। दैवीगुण पनि धारण गर्नु छ। बाबाले बच्चाहरूलाई कति प्यारसँग फूलसमान बनाउनु हुन्छ। बाबाले धेरै प्रेमसँग सम्झाउनु हुन्छ। आफ्नो कल्याण गर्न चाहन्छौ भने दैवीगुण पनि धारणा गर। कसैको पनि अवगुण नदेख। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बेहदका बाबाबाट सर्च लाइट लिनको लागि उहाँको मदतगार बन्नु छ। मुख्य ब्याट्रीसँग आफ्नो कनेक्सन जोडिराख्नु छ। कुनै पनि कुरामा समय खेर फाल्नु हुँदैन।

२) सच्चा कमाइ गर्न वा विश्वको सच्चा सेवा गर्नको लागि एक बाबाको यादमा रहनु छ किनकि यादद्वारा वायुमण्डल शुद्ध हुन्छ, आत्मा सतोप्रधान बन्छ, अपार खुसीको अनुभव हुन्छ, कर्मेन्द्रियहरू वशमा हुन्छन्।

वरदान:–
स्व परिवर्तनबाट विश्व परिवर्तनको कार्यमा आफूलाई मनपर्ने सफलता प्राप्त गर्ने सिद्धिस्व रूप भव

हरेक स्व परिवर्तनद्वारा विश्व परिवर्तन गर्ने सेवामा लागिरहेका छौ। सबैको मनमा यही उमङ्ग-उत्साह छ– यो विश्वलाई परिवर्तन गर्नु नै छ अनि निश्चय पनि छ– परिवर्तन हुनु नै छ। जहाँ हिम्मत हुन्छ त्यहाँ उमङ्ग-उत्साह हुन्छ। स्व परिवर्तनबाट नै विश्व परिवर्तनको कार्यमा आफूलाई मनपर्ने सफलता प्राप्त हुन्छ। तर यो सफलता तब मिल्छ जब एउटै समयमा वृत्ति, भाइब्रेसन र वाणी तीनै शक्तिशाली हुन्छ।

स्लोगन:–
जब बोलीमा स्नेह र संयम हुन्छ तब वाणीको शक्ति (इनर्जी) जम्मा हुन्छ।