17.04.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
अनौठो पढाइ बेहदका बाबाले पढाउनु हुन्छ , बाबा र उहाँको पढाइमा कुनै पनि संशय आउनु
हुँदैन। पहिला निश्चय हुनुपर्छ– हामीलाई पढाउनेवाला को हुनुहुन्छ ?”
प्रश्न:–
तिमी
बच्चाहरूलाई निरन्तर यादको यात्रामा रहनको लागि किन श्रीमत मिल्छ?
उत्तर:–
किनकि माया दुस्मन अहिले पनि तिम्रो पछि लागेको छ, जसले तिमीलाई गिराएको थियो। अहिले
पनि उसले तिमीलाई पिछा गर्न छोड्दैन, त्यसैले लापर्बाही नगर। हुन त तिमी सङ्गमयुगमा
छौ, तर आधाकल्प उसैसँग रहेका हौ, त्यसैले छिट्टै छोड्दैन। याद गर्न बिर्सियौ भने
मायाले विकर्म गराउँछ। त्यसैले सावधान रहनु पर्छ। आसुरी मतमा चल्नु हुँदैन।
ओम् शान्ति ।
अहिले बच्चाहरू
पनि छन्, बाबा पनि हुनुहुन्छ। बाबा अनेक बच्चाहरूलाई भन्नुहुन्छ– ‘बच्चे!’। सबै
बच्चाहरूले फेरि भन्छन् ‘बाबा!’ धेरै बच्चाहरू छन्। तिमीले जान्दछौ– यो ज्ञान हामी
आत्माहरूको लागि नै हो। एक बाबाका कति धेरै सन्तान छन्। प्यारा बच्चाहरूले जानेका
छौ– बाबा पढाउन आउनु भएको छ। पहिला त उहाँ बाबा हुनुहुन्छ, फेरि टिचर हुनुहुन्छ, अनि
फेरि गुरु हुनुहुन्छ। अब बाबा त बाबा नै हुनुहुन्छ। फेरि पावन बनाउनको लागि यादको
यात्रा सिकाउनु हुन्छ। त्यस्तै यो पनि बच्चाहरूले जानेका छन्– यो पढाइ अनौठो छ।
ड्रामाको आदि-मध्य-अन्त्यको रहस्य बाबा सिवाय अरू कसैले बताउन सक्दैन, त्यसैले
उहाँलाई बेहदको बाबा भनिन्छ। यो निश्चय त तिमी बच्चाहरूलाई अवश्य हुन्छ, यसमा संशयको
कुरा उठ्न सक्दैन। यति बेहदको पढाइ, बेहदका बाबा सिवाय अरू कसैले पढाउन सक्दैन।
बोलाउँछन्– बाबा आउनुहोस्, हामीलाई पावन दुनियाँमा लैजानुहोस् किनकि यो हो पतित
दुनियाँ। पावन दुनियाँमा लैजानुहुन्छ बाबाले। त्यहाँ कहाँ भनिन्छ र, बाबा आउनुहोस्,
पावन दुनियाँमा लिएर जानुहोस्। बच्चाहरूले जान्दछन्– हामी आत्माहरूको उहाँ बाबा
हुनुहुन्छ। त्यसैले देहको भान टुट्छ। आत्माले भन्छ– उहाँ हाम्रो बाबा हुनुहुन्छ। अब
यो त निश्चय हुनुपर्छ– वास्तवमा बाबा बाहेक अरू कसैले यति ज्ञान दिन सक्दैन। पहिला
त यसमा निश्चय बुद्धि हुनुपर्छ। निश्चय पनि आत्मालाई बुद्धिमा हुन्छ। हाम्रो उहाँ
बाबा हुनुहुन्छ, आत्मालाई यो ज्ञान मिल्छ। बच्चाहरूलाई यसमा धेरै पक्का निश्चय
हुनुपर्छ। मुखबाट भन्नु केही पनि छैन। हामी आत्माले एक शरीर छोडेर अर्को लिन्छौं।
आत्मामा नै सबै संस्कार हुन्छन्।
अब तिमीलाई थाहा छ–
बाबा आउनु भएको छ, हामीलाई यसरी पढाउनु हुन्छ, कर्म सिकाउनु हुन्छ जसले गर्दा हामी
यस दुनियाँमा अब आउँदैनौं। ती मानिसहरूले त सम्झन्छन्– यस दुनियाँमा आउनु पर्छ।
तिमीले यस्तो सम्झिदैनौ। तिमी यो अमरकथा सुनेर अमरपुरीमा जान्छौ। अमरपुरी अर्थात्
जहाँ सधैँ अमर रहनेछौ। सत्ययुग त्रेता हो अमरपुरी। बच्चाहरू कति खुसी हुनुपर्छ। यो
पढाइ बाबा सिवाय अरू कसैले पढाउन सक्दैन। बाबाले हामीलाई पढाउनु हुन्छ, अरू जो
शिक्षक छन् ती साधारण मानिस हुन्। यहाँ तिमीले जसलाई पतित-पावन, दु:खहर्ता सुखकर्ता
भन्ने गर्छौ, उहाँ बाबाले अहिले सम्मुख पढाइरहनु भएको छ। सम्मुख नबसी राजयोगको पढाइ
कसरी पढाउने? बाबा भन्नुहुन्छ– तिमी मीठा बच्चाहरूलाई यहाँ पढाउन आउँछु। पढाउनको
लागि यिनमा प्रवेश गर्छु। वास्तवमा भगवानुवाच पनि छ, त्यसैले अवश्य उहाँलाई शरीर
चाहिन्छ। न केवल मुख, सारा शरीर चाहिन्छ। स्वयं भन्नुहुन्छ– मीठा प्यारा रुहानी
बच्चाहरू! म कल्प कल्प पुरुषोत्तम सङ्गमयुगमा साधारण तनमा आउँछु। धेरै गरिब पनि
होइन, धेरै धनवान् पनि होइन, साधारण छन्। यो त तिमी बच्चाहरूलाई निश्चय हुनुपर्छ,
उहाँ हाम्रो बाबा हुनुहुन्छ, हामी आत्मा हौं। हामी आत्माहरूको बाबा हुनुहुन्छ। सारा
दुनियाँका, जति पनि मनुष्य आत्माहरू छन्, ती सबैका बाबा हुनुहुन्छ। त्यसैले उहाँलाई
बेहदको बाबा भनिन्छ। शिवजयन्ती मनाउँछन्, यसको बारेमा पनि कसैलाई थाहा छैन। कसैसँग
पनि सोध्न सक्छौ– शिवजयन्ती कहिलेदेखि मनाउँदै आएका हौं? भन्नेछन्, परम्परादेखि।
त्यो पनि कहिलेबाट? कुनै मिति त हुनुपर्यो नि! ड्रामा त अनादि छ। तर एक्टिभिटी, जुन
ड्रामा हुन्छ त्यसको तिथि मिति त चाहिन्छ नि। यो त कसैले पनि जान्दैनन्। हाम्रो
शिवबाबा आउनु हुन्छ, यस्तो स्नेहले जयन्ती मनाउँदैनन्। नेहरूको जयन्ती त्यो स्नेहले
मनाउँछन्। आँसु पनि आउँछ। शिवजयन्तीको बारेमा कसैलाई पनि थाहा छैन। अहिले तिमी
बच्चाहरू अनुभवी छौ। अनेक मानिसहरू छन्, जसलाई केही पनि थाहा छैन। कति मेला लाग्छ।
त्यहाँ जो जान्छन् उनले बताउन सक्छन्– सत्य सत्य के हो? जसरी बाबाले अमरनाथको पनि
दृष्टान्त बताएका थिए, त्यहाँ गएर देखेँ– सत्य सत्य के हो? अरूले त जे अरूद्वारा
सुन्छन्, त्यही बताउँछन्। कसैले भने हिउँको लिङ्ग बन्छ, भन्नेछन् सत्य। अहिले तिमी
बच्चाहरूलाई अनुभव भएको छ– ठीक के हो, बेठीक के हो। अहिलेसम्म जे जति सुन्दै पढ्दै
आयौ, त्यो सबै थियो बेठीक। गायन पनि छ नि– झुटो काया... यो हो झुट खण्ड, त्यो हो सच
खण्ड। सत्ययुग, त्रेता, द्वापर बितिसक्यो, अहिले कलियुग चलिरहेको छ। यो पनि धेरै
कमले मात्रै जान्दछन्। तिम्रो बुद्धिमा सबै विचार हुन्छन्। बाबासँग सारा ज्ञान छ,
उहाँलाई भनिन्छ ज्ञानको सागर। उहाँसँग जुन ज्ञान छ, त्यो यस तनद्वारा दिएर हामीलाई
आफू समान बनाइरहनु भएको छ। जसरी टिचरले पनि आफू समान बनाउँछन्, त्यस्तै बेहदका
बाबाले पनि कोसिस गरेर आफू समान बनाउनु हुन्छ। लौकिक बुबाले आफू समान बनाउँदैनन्।
तिमी अहिले आएका छौ बेहदको बाबाको पासमा। उहाँले जान्नुहुन्छ– मैले बच्चाहरूलाई आफू
समान बनाउनु छ। जस्तै टिचरले आफू समान बनाउँछन्, तर नम्बरवार बन्छन्। यहाँ बाबाले
पनि यस्तै भन्नुहुन्छ, नम्बरवार बन्छन्। मैले जे पढाउँछु, त्यो हो अविनाशी पढाइ।
जसले जति पढ्छ, त्यो व्यर्थ जानेछैन। पछि गएर स्वयं भन्नेछन्– मैले ४ वर्ष पहिला, ८
वर्ष पहिला कोहीबाट ज्ञान सुनेको थिएँ, अब फेरि आएको छु। फेरि कोही त पूरै
राम्रोसँग लाग्छन्। शमा त हुनुहुन्छ, फेरि उहाँमाथि कोही त पुतली जस्तै भएर एकदम
स्वाहा हुन्छन्। कोही चक्कर लगाएर जान्छन्। सुरुमा बाबामा धेरै पुतलीहरू होमिए।
ड्रामाको योजना अनुसार भट्ठी बन्नु थियो। कल्प कल्प यस्तै हुँदै आएको छ। जे बित्यो,
कल्प पहिला पनि यस्तै भएको थियो। पछि फेरि पनि यस्तै हुन्छ। बाँकी यो पक्का निश्चय
राख कि हामी आत्मा हौं। बाबाले हामीलाई पढाइरहनु भएको छ। यस निश्चयमा पक्का होऊ,
नबिर्स। यस्तो कोही मनुष्य हुँदैन जसले आफ्नो पितालाई पिता नमानोस्। हुन सक्छ,
छोडिदेला, तर पनि बुझ्छ– मैले पितालाई छोडें। यहाँ त बेहदको पिता हुनुहुन्छ,
उहाँलाई त हामीले कहिल्यै पनि छोड्नेछैनौं। अन्तिमसम्म साथमा रहनेछौं। शिवबाबा त
सबैको सद्गतिदाता हुनुहुन्छ। ५ हजार वर्षपछि आउनु हुन्छ। यो पनि सम्झन्छन्,
सत्ययुगमा धेरै कम मानिस हुन्छन्। बाँकी सबै शान्तिधाममा रहन्छन्। यो ज्ञान पनि
बाबाले नै सुनाउनु हुन्छ, अरू कसैले सुनाउन सक्दैन। कसैको बुद्धिमा बस्न सक्दैन।
तिमी आत्माहरूको उहाँ पिता हुनुहुन्छ। उहाँ चैतन्य बीजरूप हुनुहुन्छ। के ज्ञान
दिनुहुन्छ? सृष्टिरूपी वृक्षको। रचयिताले अवश्य रचना कै ज्ञान दिनुहुन्छ। तिमीलाई
सत्ययुग कहिले थियो भन्ने कहाँ थाहा थियो र!
अहिले तिमी सम्मुख
बसेका छौ, बाबाले कुरा गरिरहनु भएको छ। पक्का निश्चय गर्छौ– यहाँ हामी सबै
आत्माहरूको बाबा हुनुहुन्छ, हामीलाई पढाइरहनु भएको छ। उहाँ कुनै जिस्मानी बाबा
हुनुहुन्न। यस शरीरमा पढाउनेवाला उहाँ निराकार शिवबाबा विराजमान हुनुहुन्छ। उहाँ
निराकार भएर पनि ज्ञानको सागर हुनुहुन्छ। मनुष्यले त भन्ने गर्छन्– उहाँको कुनै
आकार छैन। महिमा पनि गर्छन्– ज्ञानका सागर, सुखका सागर। तर बुझ्दैनन्। ड्रामा
अनुसार धेरै टाढा गएका छन्। बाबाले धेरै नजिक ल्याउनु हुन्छ। यो त ५ हजार वर्षको
कुरा हो। तिमीले जान्दछौ– हर ५ हजार वर्षपछि हामीलाई पढाउन बाबा आउनु हुन्छ। यो
ज्ञान अरू कसैबाट मिल्न सक्दैन। यो ज्ञान हो नै नयाँ दुनियाँको लागि। कुनै पनि
मानिसले दिन सक्दैन किनकि सबै तमोप्रधान छन्। उनीहरूले कसैलाई सतोप्रधान बनाउन
सक्दैनन्। तिनीहरू त तमोप्रधान हुँदै जान्छन्।
तिमीले अहिले जानेका
छौ– बाबाले हामीलाई यिनमा प्रवेश गरेर बताइरहनु भएको छ, अनि फेरि बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! लापर्बाही नगर। दुस्मन जसले नै तिमीलाई गिराएको हो, त्यो अहिले पनि
तिम्रो पछि छ। उसले अहिले तिम्रो पिछा गर्न छोड्दैन। छन त तिमी सङ्गमयुगमा छौ, तर
आधाकल्प तिमी उसको भएर रह्यौ, त्यसैले उसले यति छिट्टै छोड्नेछैन। सावधान हुँदैनौ,
याद गर्दैनौ भने फेरि अझै विकर्म गराइदिनेछ। फेरि केही न केही थप्पड लागिरहनेछ।
अहिले त हेर, मानिसहरू आफूले आफैलाई थप्पड मारिरहन्छन्। के के भन्ने गर्छन्! शिव
शङ्कर दुवैलाई एउटै भन्ने गर्छन्। शङ्करको कर्तव्य के हो, शिवको के हो? कति फरक छ।
शिव त हुनुहुन्छ उच्च भन्दा उच्च भगवान, शङ्कर देवता। फेरि शिव-शङ्कर दुवैलाई एउटै
कसरी भन्ने गर्छन्! दुवैको पार्ट नै अलग अलग छ। यहाँ पनि धेरैका यस्तै यस्तै नाम छन्–
राधेकृष्ण, लक्ष्मीनारायण, शिव-शङ्कर... स्वयंको दुवै नाम राख्ने गर्छन्। त्यसैले
बच्चाहरूले सम्झन्छन्– यस समयसम्म जे बाबाले सम्झाउनु भएको छ, त्यो फेरि दोहोरिनेछ।
बाँकी केही दिन मात्र छ। बाबा कहाँ बसिरहनुहुन्छ र। बच्चाहरू नम्बरवार पढेर पूरा
कर्मातीत बन्छन्। ड्रामा अनुसार माला पनि बन्छ। कुनचाहिँ माला? सबै आत्माहरूको माला
बन्छ, अनि फेरि फर्केर जान्छन्। तिम्रो माला त नम्बरवार छ। शिवबाबाको माला धेरै लामो
छ। त्यहाँबाट नम्बरवार पार्ट खेल्न आउँछन् । तिमीहरू सबैले बाबा बाबा भन्छौ। सबै
एउटै मालाका दाना हौ। सबैलाई विष्णुको मालाको दाना भनिदैन। यो बाबा बसेर पढाउनु
हुन्छ। सूर्यवंशी बन्नु नै छ। सूर्यवंशी चन्द्रवंशी जुन बितिसकेको छ, त्यो फेरि
बन्छ। त्यो पद प्राप्त हुन्छ नै पढाइबाट। बाबाको पढाइ विना यो पद मिल्न सक्दैन।
चित्र पनि छन्, तर कसैले पनि हामी यस्तै बन्न सक्छौं भनेर पुरुषार्थ गर्दैनन्। कथा
पनि सत्यनारायणको सुन्छन्। गरूड पुराणमा सबै यस्ता कुरा छन् जुन बसेर मानिसहरूले
सुनाउँछन्। बाबा भन्नुहुन्छ– यो विषय वैतरणी नदी, रौरव नर्क हो। खासगरी भारतवर्षलाई
भनिन्छ। बृहस्पतिको दशा पनि भारतवर्षलाई लागेको छ। वृक्षपतिले पनि यहाँ रहनेलाई नै
पढाउनु हुन्छ। बेहदका बाबा बसेर बेहदका कुरा सम्झाउनु हुन्छ। दशा लाग्छ। राहुको पनि
दशा हुन्छ, त्यसैले भन्ने गर्छन्– दे दान तो छुटे ग्रहण। बाबा पनि भन्नुहुन्छ– यस
कलियुगको अन्त्यमा सबैलाई राहुको दशा लागेको छ। अब म वृक्षपति आएको छु– बृहस्पतिको
दशा लगाउन। सत्ययुगमा बृहस्पतिको दशा थियो। अहिले छ राहुको दशा। यो बेहदको कुरा हो।
यो कुरा कुनै शास्त्र आदिमा छैन। यी पत्रिकामा लेखिएका कुरा आदि पनि उनीहरूकै समझमा
आउँछ जसले पहिला केही न केही बुझेका होलान्। पत्रिका पढेपछि फेरि ऊ धेरै बुझ्नको
लागि दौडिनेछ। अरूले त केही पनि बुझ्दैनन्। जसले अलिकति पढेर फेरि छोडिदिन्छन् भने
उनीहरूमा थोरै मात्र पनि ज्ञान घृत थपियो फेरि ब्युँझिनेछन्। ज्ञानलाई घृत पनि
भनिन्छ। निभ्न लागेको दीपकमा बाबा आएर ज्ञान घृत थप्नुहुन्छ। भन्नुहुन्छ– प्यारा
बच्चाहरू! मायाको तुफान आउँछ, दियोलाई निभाउन सक्छ। शमामाथि कुनै पुतली जलेर मर्छन्,
कुनै चक्कर लगाएर जान्छन्। त्यही कुरा अहिले यथार्थमा चलिरहेको छ। सबै पुतली
नम्बरवार छन्। सुरुमा एकदम घरबार छोडेर आए, परवाना बने। मानौं एकदम चिट्ठा नै मिल्यो।
जे बित्यो, तिमीले फेरि यस्तै गर्नेछौ। जान त गए, यस्तो नसम्झ स्वर्गमा आउने छैनन्।
परवाना बने, प्यारा बने फेरि मायाले हराइदियो, त्यसैले पद सानो पाउनेछन्। नम्बरवार
त हुन्छन् नै। यो कुरा अरू सत्सङ्गमा कसैको पनि बुद्धिमा हुँदैन। तिम्रो बुद्धिमा
छ। नयाँ दुनियाँको लागि नम्बरवार हामी सबैले बाबासँग आफ्नो पुरुषार्थ अनुसार
पढिरहेका छौं। हामी बेहदका बाबाको सम्मुख बसेका छौं। यो पनि जान्दछौं– आत्मा
देखिँदैन। त्यो त अव्यक्त चीज हो। त्यसलाई दिव्य दृष्टिद्वारा देखिन्छ। हामी आत्मा
पनि बिन्दी हौँ। तर देह अभिमान छोडेर आफूलाई आत्मा सम्झनु– यो हो उच्च पढाइ। त्यस
पढाइमा पनि जुन विषय कठिन हुन्छ, त्यसमा फेल पनि हुन्छन्। यो विषय त धेरै सहज छ, तर
कतिलाई कठिनाइ महसुस हुन्छ।
अब तिमीले बुझेका छौ–
शिवबाबा सम्मुख बस्नु भएको छ। तिमी पनि निराकार आत्माहरू हौ, तर शरीरको साथमा छौ।
यो सबै कुरा बेहदका बाबाले नै सुनाउनु हुन्छ, अरू कसैले सुनाउन सक्दैन। त्यसोभए
तिमीले के दिनेछौ? उहाँलाई धन्यवाद दिनेछौ। होइन। बाबा भन्नुहुन्छ– यो ड्रामा अनादि
बनेको छ। मैले कुनै नयाँ कुरा गर्दिनँ। ड्रामा अनुसार तिमीलाई पढाउँछु। धन्यवाद त
भक्तिमार्गमा दिन्छन्। टिचरले भन्ने गर्छन्– विद्यार्थीले राम्रोसँग पढेमा हाम्रो
नाम प्रसिद्ध हुन्छ। विद्यार्थीलाई धन्यवाद दिइन्छ। जसले राम्रोसँग पढ्नेछन्,
पढाउनेछन्, तिनलाई धन्यवाद दिइन्छ। विद्यार्थीहरूले फेरि टिचरलाई धन्यवाद दिन्छन्।
बाबा भन्नुहुन्छ– मीठे बच्चे, अमर भव। यस्तै प्रकारले सेवा गर्दै जाऊ। कल्प पहिला
पनि गरेका थियौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा नसा र
निश्चय रहनुपर्छ– हामीलाई पढाउने कोही जिस्मानी टिचर होइन। स्वयं ज्ञानसागर निराकार
बाबाले शिक्षक बनेर हामीलाई पढाइरहनु भएको छ। यस पढाइबाट नै हामी सतोप्रधान बन्नु
छ।
२) आत्मारूपी दीपकमा
दिनहुँ ज्ञानको घिउ थप्नु छ। ज्ञान घृतबाट सदा यस्तो प्रज्ज्वलित रहनु छ जसले गर्दा
मायाको कुनै पनि तुफानले हल्लाउन नसकोस्। पूरा पुतली बनेर शमा (ज्योति)मा स्वाहा
हुनु छ।
वरदान:–
सदा एक बाबाको
स्नेहमा डुबेको सहयोगी सो सहजयोगी आत्मा भव
जुन बच्चाहरूको
बाबासँग अति स्नेह छ, ती स्नेही आत्मा सदा बाबाको श्रेष्ठ कार्यमा सहयोगी हुन्छन् र
जो जति सहयोगी त्यती सहजयोगी बन्न पुग्छन्। बाबाको स्नेहमा डुबेका सहयोगी आत्मा
कहिल्यै मायाको सहयोगी हुन सक्दैनन्। उनको हरेक सङ्कल्पमा बाबा र सेवा नै हुन्छ
त्यसैले सुत्दा पनि त्यसमा धेरै आरामा मिल्छ, शान्ति र शक्ति मिल्छ। निद्रा, निद्रा
हुनेछैन, जस्तै कमाइ गरेर खुसीमा पल्टेका छन्, यत्तिका परिवर्तन हुन जान्छ।
स्लोगन:–
प्रेमको आँसु
दिलको डिब्बामा मोती बन्न पुग्नेछ।