21.04.24 Avyakt Bapdada Nepali Murli 30.03.99 Om Shanti Madhuban
तीव्र पुरुषार्थको
लगनलाई ज्वाला रूप बनाएर बेहदको वैराग्यको लहर फैलाऊ
आज बापदादाले हरेक
बच्चाको मस्तकमा तीन रेखाहरू देखिरहनु भएको छ। जसमा पहिलो रेखा हो– परमात्म पालनाको
भाग्यको रेखा। यो परमात्म पालनाको भाग्य सारा कल्पमा अहिले एकैपटक मिल्छ‚ यस
सङ्गमयुग सिवाए यो परमात्म पालना कहिल्यै पनि प्राप्त हुन सक्दैन। यो परमात्म पालना
धेरै कम बच्चाहरूलाई प्राप्त हुन्छ। दोस्रो रेखा हो– परमात्म पढाइको भाग्यको रेखा।
परमात्म पढाइ, यो कत्रो भाग्य हो, जहाँ स्वयं परम आत्मा शिक्षक बनेर पढाइरहनु भएको
छ। तेस्रो रेखा हो– परमात्म प्राप्तिहरूको रेखा। सोच– कति प्राप्तिहरू छन्! सबैलाई
याद छ नि– प्राप्तिहरूको लिस्ट कति लामो छ! हरेकको मस्तकमा यी तीन रेखा चम्किरहेका
छन्। आफूलाई यस्ता भाग्यवान आत्मा सम्झन्छौ? पालना‚ पढाइ र प्राप्तिहरू। साथसाथै
बापदादाले बच्चाहरूको निश्चयको आधारमा रुहानी नसालाई पनि देखिरहनु भएको छ। हरेक
परमात्म बच्चा कति रुहानी नसा भएका आत्मा हौ! सारा विश्वमा र सारा कल्पमा सबैभन्दा
हाइएस्ट पनि हौ‚ महान पनि हौ र होलिएस्ट पनि हौ। तिमीहरू जस्तो पवित्र आत्मा तनले
पनि‚ मनले पनि देव रूपमा सर्वगुण सम्पन्न‚ सम्पूर्ण निर्विकारी अरू कोही बन्दैनन्।
र, फेरि हाइएस्ट पनि हौ‚ होलिएस्ट पनि हौ साथसाथै रिचेस्ट पनि हौ। बापदादाले
स्थापनामा पनि बच्चाहरूलाई स्मृति दिलाउनु हुन्थ्यो र गर्वले पत्रिकाहरूमा पनि
छपाउनु भयो– “ओम मण्डली रिचेस्ट इन दि वर्ल्ड।” यो स्थापनाको समयको तिमीहरू सबैको
महिमा हो। एक दिनमा जतिसुकै ठुलो भन्दा ठुलो मल्टी-मल्टी मिलिनियर (करोडौं अरबौंपति)
होस् तर तिमीहरू जस्तो रिचेस्ट हुन सक्दैन। यति रिचेस्ट बन्ने साधन के हो? धेरै सानो
साधन छ। मानिसहरूले रिचेस्ट बन्नको लागि कति मेहनत गर्छन् र तिमी कति सहजै मालामाल
बन्दै जान्छौ। जानेका छौ नि साधन! केवल सानो बिन्दु लगाउनु छ, पुग्यो। बिन्दु लगायो‚
कमाइ भयो। आत्मा पनि बिन्दु‚ बाबा पनि बिन्दु र ड्रामा फुलस्टप लगाउनु‚ त्यो पनि
बिन्दु हो। यसरी बिन्दु आत्मालाई याद गर्यौ‚ कमाइ बढ्यो। त्यसो त लौकिकमा पनि हेर‚
बिन्दुले नै सङ्ख्या बढ्छ। एकको अगाडि बिन्दु लगायौ भने के हुनपुग्छ? १०‚ दुई बिन्दु
लगाऊ‚ तीन बिन्दु लगाऊ‚ चार बिन्दु लगाऊ‚ बढ्दै जान्छ। तिम्रो साधन कति सहज छ! “म
आत्मा हुँ”– यो स्मृतिको बिन्दु लगाउनु अर्थात् खजाना जम्मा हुनु। फेरि “बाबा”
बिन्दु लगाऊ अझै खजाना जम्मा। कर्ममा‚ सम्बन्ध-सम्पर्कमा ड्रामाको फुलस्टप लगाऊ‚
बितेकोलाई फुलस्टप लगायौ, खजाना बढ्छ। अब भन सारा दिनमा कति पटक बिन्दु लगाउँछौ? र,
बिन्दु लगाउन कति सहज छ! मुस्किल छ? बिन्दु चिप्लिन्छ र?
बापदादाले कमाइको
साधन केवल यही सिकाउनु भएको छ– बिन्दु लगाउँदै जाऊ‚ के सबैलाई बिन्दु लगाउन आउँछ?
यदि आउँछ भने एक हातको ताली बजाऊ। पक्का हो नि! वा कहिले चिप्लिन्छ‚ कहिले लाग्छ?
सबैभन्दा सहज बिन्दु लगाउनुमा छ। कोही यो आँखाले नदेख्ने पनि होस्‚ उसले पनि यदि
कागजमा पेन्सिल राखेमा बिन्दु लागिहाल्छ र तिमी त त्रिनेत्री हौ‚ त्यसैले यी तीन
बिन्दुहरूलाई सदा प्रयोग गर। प्रश्न चिह्न कति टेढो हुन्छ‚ लेखेर हेर‚ टेढो हुन्छ
नि? र, बिन्दु कति सहज छ त्यसैले बापदादाले भिन्न भिन्न रूपले बच्चाहरूलाई समान
बनाउने विधि सुनाइरहनु हुन्छ। विधि हो नै बिन्दु। अरू कुनै विधि छैन। यदि विदेही
बन्छौ भने पनि विधि हो– बिन्दु बन्नु। अशरीरी बन्छौ‚ कर्मातीत बन्छौ‚ सबैको विधि
बिन्दु हो त्यसैले बापदादाले पहिला पनि भन्नु भएको छ– अमृतवेला बापदादासँग मिलन
मनाउँदा‚ रुहरिहान गर्दा, काममा आउँदा, पहिला तीन बिन्दुहरूको तिलक मस्तकमा लगाऊ‚
त्यो रातो बिन्दीको तिलक लगाउन सुरु नगर्नु बरू स्मृतिको तिलक लगाऊ। चेक गर– कुनै
पनि कारणले यो स्मृतिको तिलक नमेटियोस्। यो तिलक अविनाशी‚ अमिट छ?
बापदादाले बच्चाहरूको
प्यार पनि देख्नुहुन्छ‚ कति प्यारले दौडी दौडी मिलन मनाउन आउँछन् र फेरि आज हलमा पनि
मिलन मनाउनको लागि कति मेहनतले‚ कति प्यारले निद्रा‚ प्यासलाई बिर्सेर पहिलो नम्बरमा
नजिक बस्ने पुरुषार्थ गर्छन्। बापदादाले सबै हेर्नुहुन्छ‚ के के गर्छन् त्यो सारा
ड्रामा हेर्नुहुन्छ। बापदादा बच्चाहरूको प्यारमा बलिहार पनि हुनुहुन्छ र यो पनि
बच्चाहरूलाई भन्नुहुन्छ– जसरी साकारमा मिल्नको लागि दौडी दौडी आउँछौ, त्यसैगरी बाबा
समान बन्नको लागि पनि तीव्र पुरुषार्थ गर। यसमा सोच्छौ नि सबैभन्दा अगाडिको नम्बर
मिलोस्। सबैलाई त अगाडिको सीट मिल्दैन‚ यहाँ यो साकारी दुनियाँ हो नि! त्यसैले
साकारी दुनियाँको नियम मान्नु नै पर्छ। बापदादाले त्यतिबेला सोच्नुहुन्छ– सबै अगाडि
अगाडि बसुन् तर यो हुन सक्छ र? भइ पनि रहेको छ‚ कसरी? पछाडि बस्नेहरूलाई बापदादाले
सदा नयनमा समाहित भएको देख्नुहुन्छ। सबैभन्दा समीप छ नयन। त्यसैले पछाडि बसेका छैनौ
बरू बापदादाको नयनमा बसेका छौ। नुरे रत्न हौ। पछाडि बसेकाले सुन्यौ? टाढा छैनौ‚
समीप छौ। शरीरले पछाडि बसेका छौ तर आत्मा सबैभन्दा समीप छ। बापदादाले त सबैभन्दा
धेरै पछाडि बस्नेहरूलाई हेर्नुहुन्छ। हेर, नजिक बस्नेहरूलाई यी स्थूल नयनले देख्ने
मौका छ र पछाडि बसेकालाई यी नयनले नजिक देख्ने मौका छैन त्यसैले बापदादाले नयनमा
समाहित गर्नुहुन्छ।
बापदादा मुस्कुराइरहनु
हुन्छ‚ दुई बजेपछि लाइन सुरु हुन्छ। बापदादाले सम्झनुहुन्छ– बच्चाहरू उभिँदा उभिँदा
थाक्छन् पनि, तर बापदादाले सबै बच्चाहरूलाई प्यारको मालिस गर्नुहुन्छ। गोडामा मालिस
हुन्छ। बापदादाको मालिस देखेका छौ नि– अति न्यारा र प्यारा छ। आज सबै यस सिजनको
अन्तिम चान्स लिनको लागि चारैतिरबाट दौडी दौडी आइसकेका छन्। धेरै राम्रो। बाबासँगको
मिलनको उमङ्ग-उत्साहले सदा अगाडि बढाउँछ। तर बापदादाले त बच्चाहरूलाई एक सेकेण्ड पनि
भुल्नु हुन्न। बाबा एक हुनुहुन्छ र बच्चाहरू अनेक छन् तर अनेक बच्चाहरूलाई पनि एक
सेकेण्ड पनि बिर्सिनुहुन्न किनकि सिकीलधे हौ। हेर कहाँ कहाँ देश विदेशका कुना
कुनाबाट बाबाले नै तिमीलाई खोज्नुभयो। तिमीले बाबालाई खोज्न सक्यौ? भट्किरह्यौ तर
मिल्न सकेनौ र बाबाले विभिन्न देश‚ गाउँ‚ बस्ती जहाँसुकै पनि बाबाका बच्चा छन्‚
त्यहाँबाट खोज्नुभयो। आफ्नो बनाउनुभयो। गीत गाउँछौ हैन– म बाबाको र बाबा मेरो। न
जाति देख्नुभयो‚ न देश देख्नुभयो‚ न रङ्ग देख्नुभयो‚ सबैको मस्तकमा एउटै रुहानी
रङ्ग देख्नुभयो– ज्योति बिन्दु। डबल विदेशीहरूले के सम्झन्छौ? बाबाले जाति देख्नुभयो?
कालो हो‚ गोरो हो‚ श्याम हो‚ सुन्दर हो? केही हेर्नु भएन। मेरो हो – यो देख्नुभयो।
त्यसोभए भन बाबाको प्यार छ वा तिम्रो प्यार छ? कसको छ? (दुवैको छ) बच्चाहरू पनि
उत्तर दिनमा होसियार छन्‚ भन्छन् बाबा हजुरले नै भन्नुहुन्छ– प्यारले प्यार खिच्छ‚
हजुरको प्यार छ भने हाम्रो पनि छ‚ तब त खिच्छ। बच्चाहरू पनि होसियार छन्, बाबालाई
खुसी छ– बच्चाहरू यति हिम्मत‚ उमङ्ग-उत्साह राख्नेवाला छन्।
बापदादाको पासमा १५
दिनको चार्टको धेरै बच्चाहरूको रिजल्ट आएको छ। एक कुरा त बापदादाले चारैतिरको
रिजल्टमा देख्नुभयो– अधिकांश बच्चाहरूको अटेन्सन रहेको छ। प्रतिशत जति स्वयंले
चाहन्छन् त्यति थिएन‚ तर अटेन्सन छ र जुन तीव्र पुरुषार्थी बच्चा छन्, उनीहरू आफ्नो
दिलैदेखिको प्रतिज्ञालाई पुरा गर्ने लक्ष्यले अगाडि बढिरहेका छन्। यसरी अगाडि बढ्दा
बढ्दै गन्तव्यमा अवश्य पुग्छन्। केही थोरैले अहिले पनि कहिले अलबेलापनमा र कहिले
आलस्यको वश भएर अटेन्सन कम दिइरहेका छन्। उनीहरूको एक विशेष स्लोगन छ– भइहाल्छ...
पुग्नेछौं। पुग्नेछौं, यस्तो भन्नु अलबेलापन हो। बन्नु नै छ, यो हो तीव्र पुरुषार्थ।
बापदादाले प्रतिज्ञा धेरै सुन्नुहुन्छ, बारम्बार धेरै राम्रा प्रतिज्ञा गर्छन्।
बच्चाहरूले प्रतिज्ञा यति राम्रो हिम्मतले गर्छन् जसले त्यतिबेला बापदादालाई पनि
बच्चाहरूले दिलखुश मिठाई खुवाइदिन्छन्। बाबाले पनि खानुहुन्छ। तर प्रतिज्ञा अर्थात्
पुरुषार्थमा धेरै भन्दा धेरै फाइदा हुन्छ। यदि फाइदा छैन भने वायदा (प्रतिज्ञा)
समर्थ छैन। प्रतिज्ञा ठीकै छ गर फेरि पनि दिलखुश मिठाई त खुवाउँछौ नि! साथसाथै
तीव्र पुरुषार्थको लगनलाई अग्नि रूपमा ल्याऊ। ज्वालामुखी बन। समय अनुसार रहेका जति
पनि मनका, सम्बन्ध-सम्पर्कका हिसाबकिताब छन्, तिनलाई ज्वाला स्वरूपद्वारा भस्म गर।
लगन छ, यसमा बापदादाले पनि पास गर्नुहुन्छ तर अब लगनलाई अग्नि रूपमा ल्याऊ।
विश्वमा एकातिर
भ्रष्टाचार, अत्याचारको अग्नि हुनेछ, अर्कातिर तिमी बच्चाहरूको शक्तिशाली योग
अर्थात् लगनको अग्नि ज्वाला रूपमा आवश्यक छ। यो ज्वाला रूपले यस भ्रष्टाचार,
अत्याचारको अग्निलाई समाप्त गर्नेछ र सर्व आत्माहरूलाई सहयोग दिनेछ। तिम्रो लगन
ज्वाला रूपको होस् अर्थात् शक्तिशाली योग होस्, अनि यो यादको अग्निले त्यस अग्निलाई
समाप्त गर्नेछ र अर्कोतिर आत्माहरूलाई परमात्म सन्देशको, शीतल स्वरूपको अनुभूति
गराउनेछ। बेहदको वैराग्य वृत्ति प्रज्वलित गराउने छ। एकातिर भस्म गर्छ, अर्कोतिर
शीतल पनि बनाउनेछ। बेहदको वैराग्यको लहर फैलाउनेछ। बच्चाहरूले भन्छन्– मेरो त योग
लाग्छ, बाबा सिवाए अरू कोही छैन, यो धेरै राम्रो हो। तर समय अनुसार अब ज्वाला रूप
बन। जुन यादगारमा शक्तिहरूको शक्ति रूप, महाशक्ति रूप, सर्व शस्त्रधारी देखाएका छन्,
अब त्यो महाशक्ति रूप प्रत्यक्ष गर। चाहे पाण्डव हौ, चाहे शक्तिहरू हौ, सबै सागरदेखि
निस्केका ज्ञान नदीहरू हौ, सागर होइनौ, नदी हौ। ज्ञान गङ्गा हौ। त्यसोभए ज्ञान
गङ्गाहरूले अब आत्माहरूलाई आफ्नो ज्ञानको शीतलताद्वारा पापहरूको आगोदेखि मुक्त गर।
यो हो वर्तमान समयको ब्राह्मणहरूको कार्य।
सबै बच्चाहरूले
सोध्छन्– यस वर्ष के सेवा गरौं? बापदादाले पहिलो सेवा यही बताउनुहुन्छ– अहिले समय
अनुसार सबै बच्चाहरू वानप्रस्थ अवस्थामा छौ, वानप्रस्थीहरू आफ्नो समय, साधन सबै
बच्चाहरूलाई दिएर स्वयं वानप्रस्थ हुन्छन्। त्यस्तै तिमीहरू सबैले पनि आफ्नो समयको
खजाना, श्रेष्ठ सङ्कल्पको खजाना अब अरू प्रति लगाऊ। आफू प्रति समय, सङ्कल्प कम लगाऊ।
अरू प्रति लगाउनाले स्वयं पनि त्यस सेवाको प्रत्यक्षफल खाने निमित्त बन्छौ। मनसा
सेवा, वाचा सेवा र सबैभन्दा ज्यादा– चाहे ब्राह्मण, चाहे अरू जति पनि
सम्बन्ध-सम्पर्कमा आउँछन्, उनीहरूलाई मास्टर दाता बनेर केही न केही दिँदै जाऊ।
नि:स्वार्थ बनेर खुसी देऊ, शान्ति देऊ, आनन्दको अनुभूति गराऊ, प्रेमको अनुभूति गराऊ।
दिनु छ र दिनु मतलब हो स्वत: लिनु। जति पनि जुन समयमा, जुन रूपमा सम्बन्ध सम्पर्कमा
आउँछन्, उनीहरूले केही लिएर जाउन्। तिमी मास्टर दाताको पासमा आएर खाली नजाउन्। जसरी
ब्रह्माबाबालाई देख्यौ– घुमफिर गर्दा पनि यदि कुनै पनि बच्चा सामुन्ने आयो भने केही
न केही अनुभूति बिना खाली जाँदैनथ्यो। यो चेक गर– जो पनि आए, मिले, केही दिएँ वा
खाली गयो? खजानाले जो भरपुर हुन्छ, ऊ नदिइ रहन सक्दैन। अखुट, अखण्ड दाता बन। कसैले
मागोस् र दिउँला, होइन। दाताले कहिल्यै यो देख्दैन– उसले मागोस् अनि दिनेछु। अखुट
महादानी, महादाताले स्वयं नै दिन्छ। त्यसैले पहिलो सेवा यस वर्षमा– महान् दाताको
सेवा गर। तिमीले दाताद्वारा मिलेको दिन्छौ। ब्राह्मण कुनै भिखारी होइनन्, बरू सहयोगी
हुन्। त्यसैले आपसमा ब्राह्मणले एक अर्कामा दान दिनु छैन, सहयोग दिनु छ। यो हो पहिलो
नम्बरको सेवा। साथसाथै बापदादाले विदेशको बच्चाहरूको खुशखबरी पनि सुन्नुभयो,
बापदादाले देख्नुभयो– जो यस सृष्टिको आवाज फैलाउने निमित्त छन्, बापदादाले जसलाई
माइक नाम दिनुभएको छ, ती विदेशका बच्चाहरूले आपसमा यो कार्य गरेका छौ र जब प्लान
बनेको छ भने यथार्थ हुनु नै छ। तर भारतमा पनि जुन १३ जोन छन्, हरेक जोनबाट कम से कम
एक यस्तो विशेष निमित्त सेवाधारी बनोस्, जसलाई माइक भन वा जेसुकै भन, आवाज फैलाउने
कुनै निमित्त बनाऊ, यो बापदादाले कम से कम भन्नुभएको छ तर यदि ठुला-ठुला देशमा यस्ता
निमित्त बन्नेहरू छन् भने केवल जोनवाला होइन, ठुला देशहरूबाट पनि यस्ता माइक तयार
गर्ने प्रोग्राम बनाउनु छ। बापदादाले विदेशका बच्चाहरूलाई मनै मनले बधाई दिनुभयो,
अहिले मुखबाट पनि दिइरहनु भएको छ– यथार्थमा ल्याउने प्लान पहिला बापदादाको सामुन्ने
ल्याए। त्यसो त बापदादाले जान्नुहुन्छ– भारतमा अझै सहज छ तर अब केही क्वालिटीको सेवा
गरेर सहयोगी समीप ल्याऊ। धेरै सहयोगी छन् तर सङ्गठनमा उनीहरूलाई अझै समीप ल्याऊ।
साथसाथै ब्राह्मण
आत्माहरूमा अझै पनि समीप ल्याउनको लागि, हरेक ठाउँमा वा मधुबनमा चारैतिर ज्वाला
स्वरूपको वायुमण्डल बनाउनको लागि, चाहे जसलाई भट्ठी भन्छौ त्यो गर, चाहे आपसमा
सङ्गठनमा रुहरिहान गरेर ज्वाला स्वरूपको अनुभव गराऊ र अगाडि बढाऊ। जब यस सेवामा
लाग्नेछौ अनि जुन साना-साना कुरा छन् नि– जसमा समय लाग्छ, मेहनत लाग्छ, निराश बन्छौ,
ती सबै यस्तो लाग्नेछ मानौं ज्वालामुखी, हाइएस्ट स्टेज र त्यसको अगाडि यो समय दिनु,
मेहनत गर्नु, एक गुडियाको खेल अनुभव हुन्छ। स्वत: सजिलै सेफ हुनेछौ। बापदादाले
भन्नुभयो नि– सबैभन्दा धेरै बापदादालाई दया तब लाग्छ, जब देख्नुहुन्छ– मास्टर
सर्वशक्तिमान बच्चाहरू भएर सानो सानो कुराको लागि मेहनत गर्छन्। ज्वालामुखी रूपको
मोहब्बत कम छ, तब मेहनत लाग्छ। त्यसैले अब मेहनतबाट मुक्त बन, अल्छी नबन्नु।
मेहनतबाट मुक्त हुनु। यस्तो नसोच्नु– मेहनत त गर्नु छैन त्यसैले आरामसँग सुतौं। तर
मोहब्बतद्वारा मेहनत खतम गर। लापरबाहीले होइन। बुझ्यौ! के गर्नु छ?
अब बापदादालाई आउनु त
छ नै। सोध्छन् अगाडि के होला? बापदादा आउनु हुन्छ या आउनुहुन्न? बापदादाले अस्वीकार
त गर्नुहुन्न, हुन्छ हजुर भन्नुहुन्छ। बच्चाहरूले भन्छन् हजुर, बाबा भन्नुहुन्छ– जी
हाजिर। अब बुझ्यौ के गर्नु छ, के गर्नु छैन। मेहनतलाई मोहब्बतद्वारा काटी देऊ। अहिले
मेहनतमुक्त वर्ष मनाऊ– मोहब्बतले, आलस्यले होइन। यो पक्का याद राख्नु आलस्यले होइन।
ठीक छ, सबै सङ्कल्प
पूरा भए? कुनै रहेको त छैन? जनकसँग (दादी जानकीजीसँग) सोधिरहेको छु– बाँकी छ र? दादी
त मुस्कुराइ रहेकी छिन्। खेल पूरा भयो? यो अपरेसन पनि के हो? खेलमा खेल हो। खेल
राम्रो रह्यो नि!
(ड्रिल) सेकेन्डमा
बिन्दु स्वरूप बनेर मन-बुद्धिलाई एकाग्र गर्ने अभ्यास पटक पटक गर। स्टप भन्यो,
सेकेन्डमा व्यर्थ देह भानदेखि मन-बुद्धि एकाग्र होस्। यस्तो नियन्त्रण शक्ति सारा
दिनमा प्रयोग गरेर हेर। यस्तो होइन, अर्डर गर– कन्ट्रोल, तर दुई मिनेट पछि कन्ट्रोल
होस्, ५ मिनेट पछि कन्ट्रोल होस्! त्यसैले बीच बीचमा नियन्त्रण शक्तिलाई प्रयोग
गरेर हेर्दै जाऊ। सेकेन्डमा हुन्छ, मिनेटमा हुन्छ, ज्यादा मिनेटमा हुन्छ, यो सबै
चेक गर्दै जाऊ। अहिले सबैले तीन महिनाको चार्ट अझै पक्का बनाउनु छ। सर्टिफिकेट लिनु
छ। पहिला स्वयंले स्वयंलाई सर्टिफिकेट दिनु त्यसपछि बापदादाले दिनु हुनेछ। अच्छा!
चारैतिरका परमात्म
पालनाका अधिकारी आत्माहरूलाई, परमात्म पढाइका अधिकारी श्रेष्ठ आत्माहरूलाई, परमात्म
प्राप्तिहरूले सम्पन्न आत्माहरूलाई, सदा बिन्दुको विधिले तीव्र पुरुषार्थी
आत्माहरूलाई, सदा मेहनतदेखि मुक्त रहने मोहब्बतमा समाहित बच्चाहरूलाई, ज्वाला
स्वरूप विशेष आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
शुद्ध र समर्थ
सङ्कल्पहरूको शक्तिबाट व्यर्थ भाइब्रेशनलाई समाप्त गर्ने सच्चा सेवाधारी भव
भनिन्छ सङ्कल्पले पनि
सृष्टि बनाउँछ। जब कमजोर र व्यर्थ सङ्कल्प गर्छौ, तब व्यर्थ वायुमण्डलको सृष्टि
बन्छ। सच्चा सेवाधारी ऊ हो, जसले आफ्नो शुद्ध शक्तिशाली सङ्कल्पबाट पुरानो
भाइब्रेसनलाई पनि समाप्त गरिदिन्छ। जसरी वैज्ञानिकहरूले शस्त्रद्वारा शस्त्रलाई
समाप्त गर्छन्। एक विमानद्वारा अर्को विमानलाई खसाउँछन्, त्यसैगरी तिम्रो शुद्ध
समर्थ सङ्कल्पको भाइब्रेशनले व्यर्थ भाइब्रेशनलाई समाप्त गरिदियोस्, अब यस्तो सेवा
गर।
स्लोगन:–
विघ्नरूपी
सुनको महिन धागोबाट मुक्त बन, मुक्ति बर्ष मनाऊ।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो, सबै ब्रह्मा वत्सहरूले सङ्गठित रूपमा साँझ ६:३०देखि
७:३० बजेसम्म पूज्य स्वरूपमा स्थित भएर विशेष योग अभ्यास गर्नु हुनेछ।