24.04.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी बिहान अमिर बन्छौ , बेलुका फकिर बन्छौ। फकिरबाट अमिर , पतितबाट पावन बन्नको लागि दुई शब्द याद राख– मनमनाभव , मध्याजीभव।”

प्रश्न:–
कर्मबन्धनबाट मुक्त हुने युक्ति के हो?

उत्तर:–
१) यादको यात्रा तथा ज्ञानको स्मरण (२) एक बाबासँग सर्व सम्बन्ध रहोस्, अन्य कसैमा पनि बुद्धि नजाओस् (३) जो सर्वशक्तिमान् ब्याट्री हुनुहुन्छ, उहाँसँग योग लागिरहोस्। आफूमाथि पूरा ध्यान रहोस्, दैवी गुणहरूको पङ्ख लागिरहेको होस् तब कर्मबन्धनबाट मुक्त हुँदै जान्छौ।

ओम् शान्ति ।
बाबाले बसेर सम्झाउनु हुन्छ– यो हो बच्चाहरूको लागि कहानी। के कहानी छ? बिहानै अमिर हुन्छन्, बेलुका फकिर (भिखारी) हुन्छन्। यसको बारेमा पनि एउटा कहानी छ। बिहान अमिर हुन्थ्यो... यो कुरा तिमी जब अमिर हुन्छौ तब सुन्दैनौ। फकिर र अमिरको कुरा तिमी बच्चाहरूले सङ्गमयुगमा नै सुन्छौ। यो दिलमा धारण गर्नु छ। वास्तवमा भक्तिले फकिर बनाउँछ, ज्ञानले अमिर बनाउँछ। दिन र रात पनि बेहदको हो। फकिर र अमिर पनि बेहदको कुरा हो, अनि बनाउनेवाला पनि बेहदका बाबा हुनुहुन्छ। सबै पतित आत्माहरूको लागि एउटै ब्याट्री छ पावन बनाउने। यस्ता यस्ता कहानीहरू याद राख्यौ भने खुसी हुनेछौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी बिहान अमिर बन्छौ, फेरि बेलुका फकिर बन्छौ। कसरी बन्छौ– यो पनि बाबाले सम्झाउनु हुन्छ। फेरि पतितबाट पावन, फकिरबाट अमिर बन्ने युक्ति पनि बाबाले नै बताउनु हुन्छ। मनमनाभव, मध्याजीभव– यी दुई युक्तिहरू हुन्। यो पनि बच्चाहरूले जानेका छौ– यो पुरुषोत्तम सङ्गमयुग हो। तिमी जति पनि यहाँ बसेका छौ, ग्यारेन्टी छ तिमी स्वर्गको अमिर अवश्य बन्छौ, नम्बरवार पुरुषार्थ अनुसार, स्कुलमा पनि यस्तै हुन्छ। नम्बरवार क्लास ट्रान्सफर हुन्छन्। परीक्षा पूरा भएपछि त फेरि नम्बरवार गएर बस्नेछन्। त्यो भयो हदको कुरा, यो हो बेहदको कुरा। नम्बरवार रुद्र मालामा जान्छन्। माला अथवा वंशवृक्ष। बीज त वृक्षको नै हुन्छ। परमात्मा फेरि मनुष्य सृष्टिको बीज हुनुहुन्छ। कल्पवृक्ष कसरी वृद्धि हुँदै जान्छ, पुरानो कसरी हुन्छ, यो बच्चाहरूले जानेका छौ। पहिला यो तिमीले जानेका थिएनौ, बाबा आएर सम्झाउनु भएको छ। अहिले यो हो पुरुषोत्तम सङ्गमयुग। अहिले तिमी बच्चाहरूले पुरुषार्थ गर्नुपर्छ। दैवी गुणहरूको पङ्ख पनि धारण गर्नु छ। आफूलाई पूरा ध्यान दिनु छ। यादको यात्राबाटै तिमी पावन बन्छौ, अरू कुनै उपाय छैन। बाबा जो सर्वशक्तिमान् ब्याट्री हुनुहुन्छ, उहाँसँग पूरा योग लगाउनु छ। उहाँको ब्याट्री कहिल्यै सकिँदैन। उहाँ त सतो, रजो, तमोमा आउनुहुन्न किनकि उहाँको अवस्था सदा कर्मातीत हुन्छ। तिमी बच्चाहरू कर्मबन्धनमा आउँछौ। यो बन्धन कति कडा छ। यी कर्मबन्धनहरूबाट मुक्त हुने एउटै उपाय छ– यादको यात्रा। यो बाहेक अरू कुनै उपाय छैन। यो ज्ञान हो, यसले पनि राम्ररी नरम बनाउँछ। बनाउन त भक्तिले पनि नरम बनाउँछ। भन्छन्– यो विचरा भक्त हो, यसमा ठगी आदि केही पनि हुँदैन। तर भक्तहरूमा ठगी पनि हुन्छ। बाबा अनुभवी छन्। आत्माले शरीरद्वारा धन्दा आदि गर्दा यस जन्मको पनि सबै कुरा स्मृतिमा आउँछ। ४-५ वर्षको उमेरदेखि लिएर आफ्नो जीवन कहानी याद रहनुपर्छ। कसैले भने १०-२० वर्षको कुरा पनि बिर्सिन्छन्। जन्मजन्मान्तरको नाम रूप त याद रहन सक्दैन। एक जन्मको त केही बताउन सकिन्छ। फोटो आदि राख्छन्। आउने जन्मको त थाहा हुँदैन। हरेक आत्माले भिन्न नाम, रूप, देश, कालमा पार्ट खेल्छ। नाम, रूप सबै परिवर्तन भइरहन्छ। कसरी आत्माले एउटा शरीर छोडेर अर्को लिन्छ, यो त बुद्धिमा छ। अवश्य ८४ जन्म, ८४ नाम, ८४ पिता बने होलान्। अन्तिममा फेरि तमोप्रधान सम्बन्ध हुन पुग्छ। यस समयमा जति सम्बन्ध हुन्छन्, त्यति कहिल्यै हुँदैनन्। कलियुगी सम्बन्धहरूलाई बन्धन नै सम्झनुपर्छ। कति बच्चाहरू हुन्छन्, फेरि विवाह गर्छन्, फेरि बच्चा पैदा गर्छन्। यस समयमा सबै भन्दा धेरै बन्धन छ– चाचा, मामा, काकाको...। जति धेरै सम्बन्ध त्यति धेरै बन्धन। पत्रिकामा छापिएको थियो– पाँच बच्चाहरू एकैचोटि जन्मे, पाँचै जना तन्दुरुस्त छन्। हिसाब गर, कति धेरै सम्बन्ध बन्न पुग्छ। यस समयमा तिम्रो सम्बन्ध सबै भन्दा कम हुन्छ। केवल एक बाबासँग सर्व सम्बन्ध छ। एक बाबा सिवाय अरू कसैसँग पनि तिम्रो बुद्धियोग छैन। सत्ययुगमा फेरि यहाँ भन्दा धेरै हुन्छ। तिम्रो अहिलेको जन्म हीरा समान हो। सबै भन्दा उच्च बाबाले बच्चाहरूलाई गोदमा लिनुहुन्छ। जीवन छँदै वर्सा प्राप्त गर्नको लागि गोदमा जानु, त्यो अहिले नै हुन्छ। तिमी यस्तो बाबाको गोदमा आएका छौ, जसबाट तिमीलाई वर्सा मिल्छ। तिमी ब्राह्मण भन्दा उच्च अरू कोही छैन। सबैको योग एक बाबासँग छ। तिम्रो आपसमा पनि कुनै सम्बन्ध छैन। भाइ बहिनीको सम्बन्धले पनि गिराउन सक्छ। सम्बन्ध एकसँग हुनुपर्छ। यो हो नयाँ कुरा। पवित्र भएर घर फर्केर जानु छ। यस्तो विचारसागर मन्थन गरेमा तिमी धेरै रौनक (आकर्षण)मा आउँछौ। सत्ययुगी रौनक र कलियुगी रौनकमा रातदिनको अन्तर छ। भक्तिमार्गको समय हो नै रावण राज्य। अन्तिममा विज्ञानको कति धेरै घमण्ड हुन्छ। मानौं सत्ययुगसँग तुलना गर्छन्। एक बच्चीले समाचार लेखिन्, मैले प्रश्न सोधें– स्वर्गमा हुनुहुन्छ कि नर्कमा? त्यसपछि ४-५ जनाले भने– हामी स्वर्गमा छौं। बुद्धिमा रातदिनको अन्तर पर्न जान्छ। कसैले सम्झन्छन्– हामी त नर्कमा छौं, फेरि तिनलाई सम्झाउनुपर्छ– स्वर्गवासी बन्न चाहनुहुन्छ? स्वर्ग कसले स्थापना गर्नुहुन्छ? यी धेरै मीठा कुरा हुन्। तिमीले नोट गर्छौ, तर त्यो कापीमा नै रहन्छ, समयमा याद आउँदैन। पतितबाट पावन बनाउनेवाला परमपिता परमात्मा शिव हुनुहुन्छ। उहाँले भन्नुहुन्छ– केवल म एकलाई याद गर्यौ भने पाप काटिन्छ। यादबाट केही आम्दानी त हुन्छ नि। याद गर्ने चलन अहिले निस्केको हो। यादबाट नै तिमी कति उच्च स्वच्छ बन्छौ। जति जसले मेहनत गर्छन्, त्यति उच्च पद प्राप्त गर्नेछन्। बाबासँग पनि सोध्न सक्छौ। दुनियाँमा त सम्बन्ध र जायदातको लागि नै झगडा गर्छन्। यहाँ त कुनै सम्बन्ध छैन। एक बाबा, दोस्रो न कोही। बाबा हुनुहुन्छ बेहदको मालिक। कुरा त धेरै सहज छ। उता तर्फ छ स्वर्ग, अनि यता तर्फ छ नर्क। नर्कवासी राम्रो कि स्वर्गवासी राम्रो? जो समझदार होलान्, उनले भन्नेछन् स्वर्गवासी राम्रो। कसैले त भनिदिन्छन् नर्कवासी र स्वर्गवासी, यी कुरासँग हाम्रो कुनै मतलब छैन, किनकि बाबालाई नै चिन्दैनन्। कोही फेरि बाबाको गोदबाट निस्केर मायाको गोदमा जान्छन्। आश्चर्य छ नि। बाबा पनि अनौठो, ज्ञान पनि अनौठो, सबै अनौठो छ। यी आश्चर्यहरूलाई बुझ्नेहरू पनि यस्तै चाहिन्छ, जसको बुद्धि यी आश्चर्यमा नै लागिरहोस्। रावण त अनौठो छैन, न उसका रचना अनौठा छन्। रातदिनको अन्तर छ। शास्त्रहरूमा लेखिएको छ– कालीदहमा गए, सर्पले डस्यो, त्यसपछि कालो भए। अब तिमीले राम्रोसँग यी सबै कुरा बुझाउन सक्छौ। कृष्णको चित्रलाई कसैले उठाएर पढेमा रिफ्रेस हुन्छ। यो ८४ जन्मको कहानी हो। जस्तो कृष्णको त्यस्तै तिम्रो पनि। स्वर्गमा त तिमी आउँछौ नि। फेरि त्रेतामा पनि आउँदै जान्छौ। वृद्धि हुँदै जान्छ। यस्तो होइन, त्रेतामा जो राजा बन्छन् उनीहरू सीधै त्रेतामा नै आउने हुन्। पढेकाहरूको भारी नपढेकाले बोक्नुपर्छ। यो ड्रामाको रहस्य बाबाले नै जान्न सक्नुहुन्छ। अब तिमीले जानेका छौ– तिम्रा मित्र सम्बन्धी आदि सबै नर्कवासी हुन्। हामी पुरुषोत्तम सङ्गमयुगी हौं। अब पुरुषोत्तम बनिरहेका छौं। बाहिर रहनु र यहाँ ७ दिन आएर रहनुमा धेरै अन्तर पर्छ। हंसहरूको सङ्गतबाट निस्केर बकुल्लाहरूको सङ्गतमा जान्छन्। धेरै बिगार्नेहरू पनि छन्। धेरै बच्चाहरूले मुरलीको पर्बाह गर्दैनन्। बाबा सम्झाउनु हुन्छ– लापर्बाही नगर। तिमी सुगन्धित फूल बन्नु छ। केवल एउटा कुरा नै तिम्रो लागि पर्याप्त छ– यादको यात्रा। यहाँ तिमीलाई ब्राह्मणहरूको नै सङ्गत छ। कहाँ उच्च भन्दा उच्च, कहाँ नीच। बच्चाहरूले लेख्छन्– बाबा बकुल्लाहरूको हुलमा म एउटा हंसले के गर्ने? बकुल्लाहरूले टोक्छन्। कति मेहनत गर्नुपर्ने हुन्छ। बाबाको श्रीमतमा चलेमा पद पनि उच्च मिल्छ। सदैव हंस भएर रहने गर। बकुल्लाहरूको सङ्गतमा बकुल्ला नबनिहाल। गायन पनि छ– आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती....। अलिकति पनि ज्ञान छ भने स्वर्गमा आउँछन्। तर रातदिनको अन्तर पर्न जान्छ। धेरै कडा सजाय खानेछन्। बाबा भन्नुहुन्छ– मेरो मतमा चलेनौ, पतित बन्यौ भने सय गुणा दण्ड पर्नेछ। फेरि पद पनि सानो हुन्छ। यो रजाइँ स्थापना भइरहेको छ। यो कुरा बिर्सिन्छन्। यति मात्रै याद रहे पनि उच्च पद प्राप्त गर्ने पुरुषार्थ गर्ने थिए। यदि गर्दैनन् भने बुझिन्छ– एक कानले सुनेर अर्कोबाट निकालिदिन्छन्। बाबासँग योग छैन। यहाँ रहेर पनि बुद्धियोग बाल बच्चाहरूतर्फ हुन्छ। बाबा भन्नुहुन्छ– सबै कुरा बिर्सेर जानु छ, यसलाई भनिन्छ वैराग्य। यसमा पनि प्रतिशत छ। कहीँ न कहीँ ध्यान गइहाल्छ। एक अर्कामा प्रेम भयो भने पनि बुद्धि फस्छ। बाबाले दिनहुँ सम्झाउनु हुन्छ– यी आँखाले जे जति देख्छौ, ती सबै समाप्त हुनेछन्। तिम्रो बुद्धियोग नयाँ दुनियाँमा लागोस्, अनि बेहदको सम्बन्धीसँग बुद्धियोग राख्नु छ। उहाँ प्रियतम अनौठो हुनुहुन्छ। भक्तिमा गायन गर्छन्– हजुर जब आउनु हुन्छ, तब हजुर बाहेक अरू कसैलाई याद गर्नेछैनौं। अब म आएको छु, त्यसैले अब तिमीले सबै तर्फबाट बुद्धियोग हटाउनुपर्यो नि। यी सबै चीज माटोमा मिल्छन्। मानौँ तिम्रो माटोसँग बुद्धियोग छ। मसँग बुद्धियोग भएमा मालिक बन्छौ। बाबाले कति समझदार बनाउनु हुन्छ। मानिसहरूले जान्दैनन्, भक्ति के हो? ज्ञान के हो? अहिले तिमीलाई ज्ञान मिलेको छ, त्यसैले तिमीले भक्तिलाई पनि बुझेका छौ। अब तिमीलाई महसुस हुन्छ– भक्तिमा कति दु:ख हुन्छ। मनुष्यहरूले भक्ति गर्छन्, आफूलाई धेरै सुखी सम्झन्छन्। फेरि पनि भगवान आएर फल दिनुहुन्छ। अरू कसैलाई कहाँ फल दिनुहुन्छ र। उनीहरूले केही पनि बुझ्दैनन्। अब तिमीले जानेका छौ– बाबा भक्तिको फल दिन आउनु भएको छ। विश्वको राजधानीको फल जुन बाबाबाट मिल्छ, उहाँ बाबाले जे निर्देशन दिनुहुन्छ, त्यसमा चल्नुपर्छ। उहाँको मतलाई भनिन्छ उच्च भन्दा उच्च मत। मिल्न त मत सबैको लागि मिल्छ। फेरि कोही चल्न सक्छन्, कोही चल्न सक्दैनन्। बेहदको बादसाही स्थापना हुनु छ। तिमीले अहिले जान्दछौ– म के थिएँ, अब मेरो के हालत भएको छ। मायाले एकदम खतम गरिदिन्छ। यो त मानौं मुर्दाहरूको दुनियाँ हो। भक्तिमार्गमा तिमीले जे जति सुन्थ्यौ, त्यो सबै सत् सत् भन्थ्यौ। तर तिमीले जानेका छौ– सत् त एउटै बाबाले नै सुनाउनु हुन्छ। यस्तो बाबालाई याद गर्नुपर्यो नि। यहाँ कोही नयाँ व्यक्ति आएर बस्यो भने केही पनि बुझ्दैन। भन्नेछ– थाहा छैन, यिनीहरूले के सुनाउँछन्! सारा दुनियाँले भन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ, अनि यिनीहरूले भन्छन् उहाँ त हाम्रो पिता हुनुहुन्छ। टाउको हल्लाएर होइन होइन भनिरहन्छन्। तिम्रो मनले यो त सत्य हो भन्ने निस्किरहन्छ। त्यसैले नयाँ कसैलाई यहाँ बस्ने अनुमति दिइँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सुगन्धित फूल बन्नको लागि सङ्गतको धेरै सम्हाल गर्नु छ। हंसहरूको सङ्गत गर्नु छ, हंस भएर रहनु छ। मुरलीमा कहिल्यै बेपर्बाह बन्नु छैन। लापर्बाही गर्नु छैन।

२) कर्मबन्धनबाट मुक्त हुनको लागि सङ्गमयुगमा आफ्नो सर्व सम्बन्ध एक बाबासँग राख्नु छ। आपसमा कुनै सम्बन्ध राख्नु छैन। कुनै हदको सम्बन्धमा प्यार राखेर बुद्धियोग फसाउनु छैन। एकलाई नै याद गर्नु छ।

वरदान:–
परमात्म लभमा लीन हुने वा मिलनमा मग्न हुने सच्चा स्नेही भव

स्नेहको निसानी गायन गरिन्छ– दुई भएर पनि दुई नभई मिलेर एउटै हुनु, यसैलाई समाहित हुनु भनिन्छ। भक्तहरूले यसै स्नेहको स्थितिलाई समाहित हुनु वा लीन हुनु भनिदिएका छन्। लभमा लीन हुनु– यो स्थिति हो तर स्थितिको सट्टा उनीहरूले आत्माको अस्तित्व सदाको लागि समाप्त हुनु सम्झिएका छन्। तिमी बच्चाहरू बाबाको वा रुहानी प्रियतमको मिलनमा मग्न भयौ भने समान बन्छौ।

स्लोगन:–
अन्तर्मुखी ऊ हो जसले व्यर्थ सङ्कल्पहरूबाट मनको मौन राख्छ।