01.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– शान्ति चाहन्छौ भने अशरीरी बन , यो देहभानमा आउनाले नै अशान्ति हुन्छ। त्यसैले आफ्नो स्वधर्ममा स्थित होऊ।

प्रश्न:–
यथार्थ याद के हो? यादको समयमा कुन कुराको विशेष ध्यान हुनुपर्छ?

उत्तर:–
आफूलाई यस देहबाट भिन्न आत्मा सम्झेर बाबालाई याद गर्नु– यही यथार्थ याद हो। कुनै पनि देह याद नआओस्, यो ध्यान राख्न आवश्यक छ। यादमा रहनको लागि ज्ञानको नसा चढेको हुनुपर्छ, बुद्धिमा रहोस्– बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनुहुन्छ, हामी सारा समुद्र, सारा पृथ्वीको मालिक बन्छौं।

गीत:–
तुम्हें पाके हमने जहाँ पा लिया....।

ओम् शान्ति ।
ओमको अर्थ हो नै अहम्, म आत्मा। फेरि मानिसहरूले सम्झन्छन्– ओम् अर्थात् भगवान, तर यस्तो त हुँदैहोइन। ओम् अर्थात् म आत्मा, मेरो यो शरीर हो। ओम् शान्ति भन्ने गर्छन् नि। अहम् आत्माको स्वधर्म हो शान्ति। आत्माले आफ्नो परिचय दिन्छ। मानिसहरूले ओम् शान्ति त भन्छन् तर ओम्को अर्थ कसैले पनि जानेका छैनन्। ओम् शान्ति शब्द राम्रा छन्। हामी आत्मा हौं, हाम्रो स्वधर्म शान्ती हो। हामी आत्मा शान्तिधामका निवासी हौं। कति सरल अर्थ छ। कुनै लम्बाचौडा गफ छैन। यस बेलाका मानिसहरूले यति पनि जानेका छैनन्– अहिले नयाँ दुनियाँ हो वा पुरानो दुनियाँ हो? नयाँ दुनियाँ फेरि कहिले पुरानो हुन्छ, पुरानोबाट नयाँ दुनियाँ फेरि कहिले बन्छ– यो कसैले पनि जानेका छैनन्। दुनियाँ नयाँ कहिले हुन्छ र फेरि पुरानो कसरी हुन्छ, यो कसैसँग सोध्ने हो भने पनि कसैले बताउन सक्दैनन्। अहिले त कलियुग पुरानो दुनियाँ हो। नयाँ दुनियाँ सत्ययुगलाई भनिन्छ। नयाँलाई फेरि पुरानो बन्न कति वर्ष लाग्छ? यो पनि कसैले जानेका छैनन्। मानिस भएर यति पनि जानेका छैनन्। त्यसैले तिनलाई भनिन्छ– जनावरभन्दा पनि गए गुज्रेका। पशुले त आफूलाई केही पनि भन्दैनन्, मानिसले भन्छन्– हामी पतित हौं, हे पतित पावन आउनुहोस्। तर उहाँलाई कत्ति पनि चिनेका छैनन्। पावन शब्द कति राम्रो छ। पावन दुनियाँ स्वर्ग नयाँ दुनियाँ नै हुन्छ। चित्र पनि देवताहरूकै हुन् तर कसैले पनि बुझ्दैनन्, यी लक्ष्मी नारायण नयाँ पावन दुनियाँका मालिक हुन्। यी सबै कुरा बेहदका बाबाले नै बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। देवताहरूलाई भनिन्छ स्वर्गवासी। अहिले त यो पुरानो दुनियाँ हो नर्क। यहाँका मानिसहरू हुन् नर्कवासी। कोही मर्यो भने भनिन्छ स्वर्गवासी भयो, मतलब यहाँ नर्कवासी थियो। कुनै हिसाबले भनि पनि दिन्छन्। वास्तवमा यो नर्क ठहरियो तर ‘तिमी नर्कवासी हौ’ भन्ने हो भने रिसाउँछन्। बाबा सम्झाउनुहुन्छ– हेर्दा त मानिसै देखिन्छ, अनुहार मानिसकै छ तर स्वभाव बाँदरको जस्तो छ। यस्तो पनि गायन गरिएको छ नि। आफू पनि मन्दिरहरूमा गएर देवताहरूको अगाडि गाउँछन्– हजुर सर्व गुण सम्पन्न... आफ्नो लागि के भन्छन्? हामी पापी, नीँच हौं। तर सिधै ‘तिमी विकारी हौ’ भन्यो भने रिसाउँछन्। त्यसैले बाबाले केवल बच्चाहरूसँग मात्रै कुरा गर्नुहुन्छ, सम्झाउनुहुन्छ। बाहिरका मानिसहरूसँग कुरा गर्नुहुन्न किनकि कलियुगी मानिसहरू हुन् नर्कवासी। अहिले तिमीहरू हौ सङ्गमयुगवासी। तिमी पवित्र बनिरहेका छौ। जानेका छौ– हामी ब्राह्मणहरूलाई शिवबाबाले पढाउनुहुन्छ। उहाँ पतितलाई पावन बनाउनेवाला हुनुहुन्छ। हामी सबै आत्माहरूलाई लैजानको लागि बाबा आउनुभएको छ। कुरा कति सरल छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी आत्माहरू शान्तिधामबाट आएका हौ पार्ट खेल्न। यस दु:खधाममा सबै दु:खी छन्, त्यसैले भन्छन्– मनलाई शान्ति कसरी हुन्छ? यस्तो भन्दैनन्– आत्मालाई शान्ति कसरी हुन्छ? तिमीले त भन्छौ नि ओम् शान्ति। मेरो स्वधर्म हो शान्ति। फेरि शान्ति किन माग्छौ? आफू आत्मा हुँ भन्ने कुरा बिर्सेर देह अभिमानमा आउँछौ। आत्माहरू त शान्तिधामका निवासी हुन्। फेरि यहाँ शान्ति कहाँबाट पाइन्छ? अशरीरी भएमा नै शान्ति हुन्छ। शरीरको साथमा आत्मा छ भने त्यसलाई बोल्न र हिँडडुल पनि अवश्य गर्नैपर्छ। हामी आत्माहरू यहाँ शान्तिधामबाट पार्ट खेल्नको लागि आएका हौं। रावण नै हाम्रो दुस्मन हो, यो कसैले पनि बुझ्दैबुझ्दैन। यो रावण कहिलेदेखि दुस्मन बनेको हो। यो पनि कसैले जानेका छैनन्। ठुला ठुला विद्वान पण्डित आदि एउटैले पनि रावण को हो? यो कुरा जानेका छैनन्, जसको हामी पुतला बनाएर जलाउँछौं। जन्म जन्मान्तरदेखि जलाउँदै आएका छौं, फेरि पनि केही थाहा छैन। ‘रावण को हो?’ कसैसँग पनि सोध्ने हो भने भन्छन्– यी सबै त कल्पनाका कुरा हुन्। जानेकै छैनन् भने के उत्तर दिन्छन्? शास्त्रहरूमा पनि उल्लेख छ नि– हे रामजी संसार बनेकै छैन। यो सबै कल्पना हो। धेरैले यस्तो भन्छन्। अब कल्पनाको अर्थ के हो? भन्छन्– यो सबै सङ्कल्पको दुनियाँ हो। जसले जस्तो सङ्कल्प गर्छ त्यस्तै हुन्छ, यसको अर्थ बुझ्दैनन्। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। कसैले त राम्रोसँग बुझ्छन्, कसैले केही पनि बुझ्दैनन्। जसले राम्रोसँग बुझ्छन् उनीहरूलाई सहोदर भनिन्छ र जसले बुझ्दैनन् उनीहरू लगे अर्थात् सौतेनी भए। तर सौतेनीहरूलाई त वारिस बनाइदैन नि। बाबाको साथमा सहोदर पनि छन् र सौतेनी पनि छन्। सहोदर बच्चाहरू त बाबाको श्रीमत अनुसार पूरै चल्छन्, सौतेनीहरू चल्दैनन्। बाबा भन्नुहुन्छ– यिनीहरू मेरो मत अनुसार चल्दैनन्, रावणको मत अनुसार चल्छन्। राम र रावण दुई शब्द छन्, रामराज्य र रावण राज्य। अहिले हो सङ्गम। बाबा सम्झाउनुहुन्छ– यी सबै ब्रह्माकुमार-ब्रह्माकुमारीहरूले शिवबाबासँग वर्सा लिइरहेका छन्, तिमीले पनि लिन्छौ? श्रीमत अनुसार चल्छौ? भन्छन्– कुनचाहिँमत? बाबा श्रीमत दिनुहुन्छ– पवित्र बन। उनीहरूले भन्छन्– हामी त पवित्र रहन्छौं फेरि पतिले मानेनन् भने मैले कस्लाई मान्ने? उनी त हाम्रा पति परमेश्वर हुन् किनकि भारतवर्षमा पति नै तिम्रो गुरु, ईश्वर आदि सबैथोक हुन् भनेर सिकाइन्छ। तर यस्तो कसैले बुझ्दैनन्। त्यतिबेला त हुन्छ भन्छन्, तर केही पनि मान्दैनन्। फेरि पनि गुरुकहाँ र मन्दिरहरूमा गई नै रहन्छन्। पतिले भन्छन्– तिमी बाहिर नजाऊ, म रामको मूर्ति तिम्रो लागि घरमै ल्याएर राखिदिन्छु। फेरि उनलाई अयोध्या आदितिर गएर किन भट्किन्छौ भनियो भने मान्दै मान्दैनन्। यो हो भक्ति मार्गको धक्का। उनीहरूले अवश्य धक्का खान्छन्, कहिल्यै पनि मान्दैनन्। सम्झन्छन्– त्यो त उनीहरूको मन्दिर हो। अरे, तिमीलाई रामको याद गर्नु छ न कि मन्दिरको? तर कुरै बुझ्दैनन्। बाबा सम्झाउनुहुन्छ– भक्ति मार्गमा भन्छन् पनि– हे भगवान! आएर हामीलाई सद्गति दिनुहोस् किनकि उहाँ एउटै मात्र सबैका सद्गतिदाता हुनुहुन्छ। अच्छा, उहाँ कहिले आउनुहुन्छ, यो पनि कसैलाई थाहा छैन।

बाबा सम्झाउनु हुन्छ– रावण नै तिम्रो दुस्मन हो। रावण त अनौठो छ, जस्लाई जलाउँदै आइएको छ तर त्यो मर्दैमर्दैन। रावण के चिज हो, यो कसैले पनि जानेका छैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई बेहदका बाबाबाट वर्सा मिल्छ। शिवजयन्ती पनि मनाउँछन् तर शिवलाई कसैले पनि चिनेका छैनन्। सरकारलाई पनि तिमीले सम्झाउँछौ। शिव त भगवान हुनुहुन्छ, उहाँ नै कल्प कल्प आएर भारतखण्डलाई नर्कवासीवाट स्वर्गवासी, बेगरबाट प्रिन्स बनाउनुहुन्छ। पतितलाई पावन बनाउनुहुन्छ। उहाँ नै सबैका सद्गतिदाता हुनुहुन्छ। यतिबेला सबै मानिसहरू यहीँ छन्। क्राइस्टको आत्मा पनि कुनै न कुनै जन्ममा यहीँ छ। कोही पनि फर्केर जानसक्दैन। यिनीहरू सबैलाई सद्गति गर्ने एक मात्र शिवबाबा नै हुनुहुन्छ। उहाँ भारतखण्डमा नै आउनुहुन्छ। वास्तवमा भक्ति पनि जसले सद्गति दिनुहुन्छ उहाँको नै गर्नुपर्छ। उहाँ निराकार बाबा यहाँ त रहनुहुन्न। उहाँलाई सदा माथि नै सम्झेर याद गरिन्छ। कृष्णलाई माथि सम्झिइन्न। अरू सबैलाई यहाँ तल नै याद गरिन्छ। कृष्णलाई पनि यहीँ याद गरिन्छ। तिमी बच्चाहरूको हो यथार्थ याद। तिमीले आफूलाई यो देहदेखि अलग आत्मा सम्झेर बाबालाई याद गर्छौ। बाबा भन्नुहुन्छ– तिमीलाई कुनै पनि देह याद आउनुहुँदैन। यसमा अवश्य ध्यान दिनु छ। तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबाले हामीलाई सारा विश्वको मालिक बनाउनुहुन्छ। सारा समुद्र, सारा धरती, सारा आकाशको मालिक बनाउनुहुन्छ। अहिले त कति टुक्रा टुक्रा भएका छन्। एक-अर्कालाई सीमासम्म आउनै दिँदैनन्। त्यहाँ (सत्ययुगमा) यस्तो कुरा हुँदैन। भगवान त एक बाबा मात्र नै हुनुहुन्छ। यस्तो होइन, सबै बाबा नै बाबा हुन्। भन्ने पनि गर्छन्– हिन्दु चिनी भाइ भाइ। हिन्दु मुस्लिम भाइ भाइ तर अर्थ बुझ्दैनन्। यस्तो कहिल्यै भन्दैनन्– हिन्दु मुस्लिम बहिनी-भाइ। होइन, आत्माहरू सबै आपसमा भाइ भाइ हुन्। तर यो कुरालाई जानेका छैनन्। शास्त्र आदि सुनेर सत्य सत्य भनिरहन्छन्, अर्थ केही छैन। वास्तवमा हो असत्य, झुटो। सच खण्डमा सत्य नै बोलिन्छ। यहाँ झुटैझुटो छ। तिमीले कसैलाई झुटो बोल्नुभयो भनेमा रिसाउँछन्। तिमीले साँचो कुरा बताउँछौ तैपनि कसैले त गाली गर्न थाल्छन्। तर बाबालाई त तिमी ब्राह्मणले नै चिनेका छौ। तिमी बच्चाहरूले अहिले दैवीगुण धारण गर्दैछौ। तिमीलाई थाहा छ– अहिले पाँचै तत्त्वहरू तमोप्रधान छन्। आजकाल मानिसहरूले भूतहरूको पनि पूजा गर्छन्। भूतहरूकै याद हुन्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। भूतहरूको याद नगर। गृहस्थ व्यवहारमा रहेर पनि बुद्धिको योग बाबासँग मात्रै लगाऊ। अब देहीअभिमानी बन्नु छ। जति बाबालाई याद गर्छौ त्यति विकर्म विनाश हुँदैजान्छ। ज्ञानको तेस्रो नेत्र तिमीलाई मिल्छ।

अब तिमी विकर्माजित बन्नु छ। त्यो हो विकर्माजित संवत्। यो हो विकर्मी संवत्। तिमीले योगबलले विकर्महरूमाथि विजय प्राप्त गर्छौ। भारतखण्डको योग त प्रख्यात नै छ। मानिसहरूले जानेकै छैनन्। संन्यासीहरू विदेशमा गएर हामीले भारतखण्डको योग सिकाउन आएका हौं भन्छन्, उनीहरूलाई थाहै हुँदैन यो त हठयोगी हो। उनीहरूले राजयोग सिकाउन सक्दैनन्। तिमी राजऋषि हौ। उनीहरू त हुन् हदका संन्यासी, तिमी हौ बेहदको संन्यासी। रातदिनको फरक छ। तिमी ब्राह्मणहरूले सिवाय अरू कसैले पनि राजयोग सिकाउन सक्दैन। यी हुन् नयाँ कुरा। नयाँ कसैले बुझ्न सक्दैन, त्यसैले नयाँलाई कहिल्यै पनि प्रवेश गर्नै दिइन्न। यो इन्द्रसभा हो नि। यतिबेला सबै पत्थरबुद्धि छन्। सत्ययुगमा तिमी बन्छौ पारसबुद्धि। अहिले हो सङ्गमयुग। बाबा सिवाय अरू कसैले पनि पत्थरलाई पारस बनाउन सक्दैन। तिमी यहाँ पारसबुद्धि बन्नको लागि आएका हौ। निश्चय पनि भारतखण्ड सुनको चरी थियो। यी लक्ष्मी-नारायण विश्वका मालिक थिए। यिनीहरूले पनि कुनैबेला राज्य गर्थे, यो पनि कसैलाई थाहै छैन। आजभन्दा पाँच हजार वर्ष पहिला यिनीहरूकै राज्य थियो। फेरि यिनीहरू कहाँ गए? तिमीले बताउन सक्छौ– हामीले ८४ जन्म भोग्यौं। अहिले तमोप्रधान बनेका छौं, फेरि बाबाद्वारा सतोप्रधान बनिरहेका छौं, ततत्वम्। यो ज्ञान बाबा सिवाय अरू कुनै साधुसन्तहरूले दिन सक्दैनन्। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। तिमी बच्चाहरूसँग जुन राम्रा राम्रा गीतहरू छन् ती गीतहरू सुन्यौ भने तिमीहरू रोमान्चित हुन्छौ। एकदम खुसीको पारा चढ्छ। फेरि नसा स्थायी पनि रहनुपर्छ। यो हो ज्ञान अमृत। त्यो मदिरा पियो भने नसा चढ्छ। यहाँ यो त हो ज्ञान अमृत। तिम्रो नसा उत्रिनु हुन्न, सदा चढिरहनु पर्छ। तिमी यी लक्ष्मी-नारायणलाई देखेर कति खुसी हुन्छौ। थाहा छ, हामी श्रीमतद्वारा फेरि श्रेष्ठाचारी बनिरहेका छौं। यहाँ देखेर पनि बुद्धियोग बाबा र वर्सामा लागिरहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) विकर्माजित बन्नको लागि योगबलले विकर्महरूमाथि विजय प्राप्त गर्नु छ। यहाँ देखेर पनि बुद्धियोग बाबा र वर्सामाथि लागिरहोस्।

२) बाबाको वर्साको पूरा अधिकार प्राप्त गर्नको लागि सहोदर बन्नु छ। एक बाबाको श्रीमत अनुसार नै चल्नु छ। बाबाले जे सम्झाउनु हुन्छ त्यसलाई बुझेर अरूलाई पनि बुझाउनु छ।

वरदान:–
दिव्यबुद्धिको लिफ्टद्वारा तीनै लोकको सैर (भ्रमण) गर्ने सहज योगी भव

सङ्गमयुगमा सबै बच्चाहरूलाई दिव्यबुद्धिको लिफ्ट मिल्छ। यो अद्भूत लिफ्टद्वारा तीनै लोकमा जहाँ चाह्यो त्यहाँ पुग्न सक्छौ। केवल स्मृतिको स्वीच अन गर्यौ भने सेकेन्डमा पुग्नेछौ र जति समय जुन लोकको अनुभव गर्न चाहन्छौ त्यति त्यहाँ स्थित रहनसक्छौ। यस लिफ्टलाई उपयोग गर्नको लागि अमृतबेला होसियार बनेर स्मृतिको स्वीचलाई यथार्थ रीतिले सेट गर। अधिकारी बनेर यस लिफ्टलाई कार्यमा लगायौ भने सहज योगी बन्छौ। मेहनत समाप्त हुन्छ।

स्लोगन:–
मनलाई सदा मौजमा राख्नु– यही जीवन जीउने कला हो।