01.06.25 Avyakt Bapdada Nepali Murli 21.10.2005 Om Shanti Madhuban
सम्पूर्ण र सम्पन्न
बन्ने मिति निश्चित गरेर समय अनुसार अब एभररेडी बन
आज बापदादा चारैतिरका
बच्चाहरूका तीन रूप देखिरहनुभएको छ। जसरी बाबाका विशेष तीन सम्बन्ध याद रहन्छन्,
त्यसैगरी बच्चाहरूका पनि तीन रूप देखेर हर्षित हुनुभएको छ। आफ्ना तीनै रूप जान्दछौ
नि! यस समयमा सबै बच्चाहरू ब्राह्मण रूपमा छन् र ब्राह्मणहरूको अन्तिम अवस्था,
ब्राह्मण सो फरिस्ता हो, फेरि फरिस्ता सो देवता हो। सबैभन्दा विशेष वर्तमान
ब्राह्मण जीवन हो। ब्राह्मण जीवन अमूल्य छ। ब्राह्मण जीवनको विशेषता हो पवित्रता।
पवित्रता नै ब्राह्मण जीवनको वास्तविकता हो। पवित्रता नै ब्राह्मण जीवनको
व्यक्तित्व हो। पवित्रता नै सुख शान्तिको जननी हो। जति पवित्रता हुन्छ, त्यति सुख र
शान्ति जीवनमा नेचुरल नेचर ( स्वाभाविक र स्वभाव) बन्छ। पवित्र आत्माहरूको लक्ष्य
ब्राह्मण सो देवता होइन तर पहिला फरिस्ता बन्ने हो, फरिस्ता सो देवता हो। त्यसैले
ब्राह्मण सो फरिस्ता, फरिस्ता सो देवता–बापदादाले सबै बच्चाहरूको यी तीन रूप
देखिरहनुभएको छ। तिमीहरू सबैको आफ्नो तीनै रूप सामुन्ने आए? आए? ब्राह्मण त बन्यौ,
अहिले लक्ष्य हो फरिस्ता बन्ने। यही लक्ष्य हो नि! फरिस्ता बन्नु नै छ, जाँच गर
फरिस्तापनका विशेषताहरू जीवनमा कति देखिन्छन्? फरिस्ता अर्थात् जसको पुरानो संसार र
पुरानो संस्कारसँग कुनै नाता छैन। फरिस्ता अर्थात् केवल समस्याको समयमा डबल लाइट
होइन, तर सदा मनसा-वाचा, सम्बन्ध-सम्पर्कमा डबल लाइट, हलुका। हलुका चीज राम्रो
लाग्छ वा बोझिलो चीज राम्रो लाग्छ, के राम्रो लाग्छ? हलुका मन पर्छ नि? फरिस्ता
अर्थात् जो सबैको, थोरैको होइन, सबैको प्यारा र न्यारा होस्। केवल प्यारो होइन, जति
प्यारा त्यति नै न्यारा होस्। फरिस्ताको निसानी हो– ऊ सबैको प्रिय हुन्छ, जसले पनि
देख्छन्, जसले पनि भेट्छन्, जो पनि सम्बन्धमा आउँछन्, सम्पर्कमा आउँछन्, उनीहरूले
अनुभव गर्छन्– यो मेरो हो। जसरी बाबाको लागि सबैले अनुभव गर्छन्, मेरो हुनुहुन्छ।
अनुभव गर्छौ नि? त्यसैगरी फरिस्ता अर्थात् हरेकले अनुभव गरोस्– यो मेरो हो।
आत्मीयताको अनुभव होस् किनकि हलुका हुन्छ नि त, हलुकापनले सबैको प्रिय बनाइदिन्छ।
सारा ब्राह्मण परिवारले अनुभव गरोस्– यो मेरो हो। बोझिलोपन नहोस् किनकि फरिस्ताको
अर्थ नै हो डबल लाइट। फरिस्ता अर्थात् सङ्कल्प, बोली, कर्म, सम्बन्ध, सम्पर्कमा
बेहद होस्। हद नहोस्। सबै आफ्ना हुन् र म सबैको हुँ। जहाँ धेरै आत्मीयता हुन्छ नि,
त्यहाँ हलुकापन हुन्छ। संस्कारमा पनि हलुकापन, त्यसैले जाँच गर– कति प्रतिशत फरिस्ता
अवस्थासम्म पुगेका छौ? जाँच गर्न आउँछ? चेकर पनि बनेका छौ, मेकर पनि बनेका छौ। बधाई
छ।
बापदादाको यही शुभ आशा
छ– अब समयलाई हेरेर जसले आफूलाई महारथी सम्झन्छन्, उनीहरूको अवस्था त ९५ प्रतिशत
हुनुपर्छ। हुनुपर्छ नि! (कसैले भने ९८ प्रतिशत भइन्छ) बधाई छ, मुखमा गुलाबजामुन खाऊ,
किनकि देखिरहेका छौ, जान्दछौ पनि, हुनु नै छ। भइन्छ होइन, हुनु नै छ। ला, ला नभन,
होला, हेरौँला... कोसिस गरौँला... अब यो भाषा परिवर्तन गर। जसुकै पनि सङ्कल्प गर्छौ,
जाँच गर कति प्रतिशत निश्चय र सफलतापूर्वक छ? अब जाँच गर्ने गति तीव्र बनाऊ। पहिला
जाँच गर फेरि कर्ममा आऊ। यस्तो होइन– जेसुकै पनि सङ्कल्प आयो, जेसुकै पनि बोलीमा आयो,
जेसुकै पनि सम्बन्ध सम्पर्कमा भयो, होइन। जो अति विशिष्ट (भी.भी.आई.पी.) हुन्छन्,
उनीहरूको कति जाँच हुन्छ, थाहा छ नि। हरेक चीज पहिला जाँच हुन्छ फेरि कदम राख्छन्।
त्यसैले अब दुई घण्टा चार घण्टापछि जाँच चल्दैन। पहिला जाँच फेरि कदम किनकि जो
आजकालका अति विशिष्ट छन्, उनीहरू त एक जन्मका हुन्। त्यो पनि थोरै समयका लागि हुन्
र तिमीहरू त सृष्टि ड्रामाका ब्राह्मण सो फरिस्ता, जति पनि भी.भी. लगाऊ, त्यति हौ।
हेर, तिमीहरूले आफ्नो अगाडि भी.भी.भी. लगाउँदै जाऊ। तिमीहरूले आफ्ना चित्र त देखेका
छौ नि जुन पुजिन्छन्, ती देखेका छौ नि। ठीकै छ, मन्दिर देखेका छैनौ भने तस्बिर त
देखेका छौ, अहिले पनि तिनको कति महत्त्व छ। कति ठुला ठुला मन्दिर बनाउँछन् र तिम्रो
जुन चित्र छ, त्यो त तीन फुटमा आउँछ, त्यसैले तिम्रो कति महत्त्व छ। जड चित्रको पनि
महत्त्व छ। महत्त्व छ नि! तिम्रो चित्रको दर्शन गर्नका लागि कति पङ्क्ति लाग्छ।
चैतन्यमा कति विशिष्ट व्यक्ति हौ। त्यसैले कदम उठाउनु अघि जाँच गर, काम गरेपछि जाँच
गर्यौ, त्यो कदम त गयो। त्यो कदम फेरि तिम्रो हातमा आउँदैन। अज्ञानकालमा पनि भनिन्छ,
सोचेर बुझेर काम गर। काम गरेर नसोच। पहिला सोच फेरि गर। त्यसैले आफ्नो स्वमानको
सिटमा बस। जति पोजिसनमा रहन्छौ, त्यति अपोजिसन हुन सक्दैन। मायाको अपोजिसन तब हुन्छ
जब पोजिसनमा रहँदैनौ। त्यसैले अहिले बापदादाको प्रश्न छ, सबैको लक्ष्य त छ सम्पूर्ण
बन्ने, सम्पन्न बन्ने। यस्तो लक्ष्य छ कि अलि अलि बन्ने लक्ष्य छ? सम्पन्न बन्ने
लक्ष्य छ? सबैको लक्ष्य छ भने हात उठाऊ। सम्पूर्ण बन्नुछ? अच्छा। कहिलेसम्म बन्नुछ?
तिमीहरूले अरूलाई प्रश्न गर्छौ नि, विद्यार्थीहरूलाई पनि टिचरहरूले प्रश्न गर्छन्
नि– तिम्रो लक्ष्य के हो? त्यसैले आज बापदादाले विशेष टिचरहरूलाई सोध्नुहुन्छ। ३०
वर्षवाला बसेका छन् नि। त्यसैले ३० वर्षवालाहरूले भोलि नै आपसमा बसेर कार्यक्रम
बनाउनुपर्छ। मिटिङ् त धेरै गर्छौ। बापदादाले देख्नुहुन्छ मिटिङ् सिटिङ्, मिटिङ्
सिटिङ् (बैठक अनि बसाइ, बैठक अनि बसाइ)। तर अब कहिलेसम्म सम्पन्न बन्छौ, यस्तो
मिटिङ्क गर। अरू सबै कार्यक्रम मनाउँछौ, मिति निश्चित गर्छौ, फलानो कार्यक्रम फलानो
मिति, यसको मिति छैन? जति वर्ष चाहिन्छ त्यति बताऊ। किन? बापदादाले किन भन्नुहुन्छ?
किनकि कहिलेसम्म विनाश गरौँ भनेर बाबासँग प्रकृतिले सोध्छ। त्यसैले बापदादाले के
जवाफ दिने। बापदादाले बच्चाहरूसँग नै सोध्नुहुन्छ नि। कहिलेसम्म? आजको विशेष टपिक
हो कहिलेसम्म? डबल विदेशी बसेका छन् नि, त्यसैले डबल पुरुषार्थ हुन्छ होला नि। कमाल
गर। विदेशी उदाहरण बन– बस्, ब्राह्मण परिवारको अगाडि, विश्वको अगाडि सम्पन्न र
सम्पूर्ण। सर्व शक्तिहरू, सर्व गुणले सम्पन्न अर्थात् सम्पूर्ण, सर्व हौ। मनसा, वाचा,
सम्बन्ध, सम्पर्क चारैमा, चारमध्ये यदि एउटामा पनि कमजोर रह्यौ भने सम्पन्न भनिँदैन।
चार कुरा याद छन् नि– मनसा, वाचा, सम्बन्ध, सम्पर्कमा कर्म आयो, चारै कुरामा। यस्तो
होइन– मनसा वाचामा त हामी ठीक छौँ, सम्बन्ध, सम्पर्कमा कमी छ। सुनाउनुभयो नि– जसको
पनि अगाडि जाऊ, चाहे जसको पनि सम्पर्कमा जाऊ, उसले अनुभव गरोस्– यो मेरो हो।
मेरोमाथि अधिकार हुन्छ नि। अर्काको माथि त्यति हलुकापन हुँदैन, थोरै भारी हुन्छ तर
आफ्नो माथि हलुकापन हुन्छ। त्यसैले सबैसँग हलुका, यस्तो होइन केवल आफ्नो क्षेत्रमा
हलुका, आफ्नो केन्द्रमा हलुका, होइन। यदि क्षेत्रमा हलुका वा केन्द्रमा हलुका, यति
मात्र भएमा विश्व राजन कसरी बन्छौ? न विश्व कल्याणकारी बन्न सक्छौ, न विश्व राजन
बन्न सक्छौ। राजनको अर्थ यो होइन कि तख्तमा मात्र बस्ने, राजधानीमा रोयल परिवारमा
पनि राज्य अधिकार हुन्छ, राज्यको। त्यसैले के गर्छौ? कहिलेसम्मको प्रश्नको उत्तर
दिन्छौ नि! मिटिङ् गर्छौ! मिटिङ गरेर फाइनल गर्नु। ठीक छ? अच्छा।
सबै ठीक छौ, उमङ्ग
आउँछ कि गर्नु नै छ, हुनु नै छ? बापदादाले उमङ्ग-उल्लास दिलाउनुहुन्छ। मायाले हेर्छ
उमङ्ग-उल्लासमा छन् भने केही न केही गरिहाल्छ किनकि उसको पनि अहिले अन्तिम काल नजिक
छ नि। त्यसैले उसले जे जति आफ्न अस्त्र शस्त्र छन्, ती प्रयोग गर्छ र यस्तो पालना
गर्छ जुन बुझ्न सक्दैनन्– यो मायाको पालना हो, मायाको मत हो वा बाबाको मत हो, त्यसमा
मिक्स गरिदिन्छन्। यो फरिस्तापनमा वा पुरुषार्थमा विशेष जुन रोकावट हुन्छ, त्यसका
दुई शब्द नै छन्– जुन सामान्य शब्द छन्, मुस्किल पनि छैनन् र सबैले अनेक पटक प्रयोग
पनि गर्छन्। त्यो के हो? म र मेरो। बापदादाले धेरै सहज विधि पहिला पनि बताउनुभएको
छ, यो म र मेरोलाई परिवर्तन गर्ने, याद छ? हेर, जुन समयमा तिमीले म शब्द भन्छौ नि,
त्यस समयमा अगाडि आओस्– म हुँ नै आत्मा, म शब्द भन्दा अगाडि आत्मा रूपलाई ल्याऊ। म
शब्द यसै नभन, म, आत्मा। यो स्वाभाविक स्मृतिमा ल्याऊ। म शब्दको पछाडि आत्मा
जोडिदेऊ। म आत्मा। जब मेरो शब्द भन्छौ, तब पहिला भन मेरो बाबा, मेरो रुमाल, मेरो
साडी... मेरो यो। तर पहिला मेरो बाबा। मेरो शब्द भन्यौ, बाबा अगाडि आउनुआयो। म शब्द
भन्यौ आत्मा अगाडि आयो, यो स्वभाव अझै स्वाभाविक बनाऊ, सहज छ नि वा मुस्किल छ?
जानेकै छौ म आत्मा हुँ। केवल त्यस समयमा मान्दैनौ। जान्नु १०० प्रतिशत छ, मान्नु
प्रतिशतमा छ। देह अभिमान स्वाभाविक भयो, याद गर्नुपर्छ र– म शरीर हुँ, स्वाभाविक
याद छ नि। त्यसैले म शब्द मुखभन्दा पहिला त सङ्कल्पमा आउँछ नि। त्यसैले सङ्कल्पमा
पनि म शब्द आउँदा तुरुन्त आत्मा स्वरूप अगाडि आओस्। यो अभ्यास गर्न सहज छैन? केवल म
शब्द नभन्नु, आत्माको साथमा भन्नु, पक्का हुन्छ। जसरी शरीरको नाम पक्का छ नि।
अर्कोले कसैलाई बोलायो भने तिमीले यसो यसो गर्छौ। त्यसैले म आत्मा हुँ। आत्माको
संसार बापदादा, आत्माको संस्कार ब्राह्मण सो फरिस्ता, फरिस्ता सो देवता। त्यसैले के
गर्छौ? यो मनको ड्रिल गर। आजकाल डाक्टरहरूले पनि भन्छन् ड्रिल गर, ड्रिल गर।
एक्सरसाइज गर। त्यसैले यो एक्सरसाइज गर। म आत्मा, मेरो बाबा किनकि समयको गतिलाई
ड्रामा अनुसार स्लो गर्नुपर्ने हुन्छ। हुनुपर्ने हो क्रियेटरलाई तीव्र, क्रियेसनलाई
होइन तर अहिले बेला अनुसार समय तेज गइरहेको छ। प्रकृति एभररेडी छ केवल अर्डरको लागि
रोकिएको छ। ड्रामालाई समयले नै अर्डर गर्छ नि। स्थापनावाला एभररेडी हुँदैनन् भने
विनाशपछि के प्रलय हुन्छ? हुनुछ प्रलय? कि विनाशपछि स्थापना हुनु नै छ? त्यसैले
स्थापनाका निमित्त बनेकाहरू अहिले समय अनुसार एभररेडी हुनुपर्छ। बापदादा यही हेर्न
चाहनुहुन्छ, जसरी ब्रह्माबाबा अर्जुन बने नि, उदाहरण बने नि! त्यसैगरी
ब्रह्माबाबालाई फलो गर्ने को बन्छन्? स्वयंलाई पनि हेर, समयलाई पनि हेर।
बापदादाले पहिला पनि
भन्नुभयो– वर्तमान समयमा तिमीहरू सबै ब्राह्मण सो फरिस्ता आत्माहरूलाई निमित्त भाव
र निर्मान भाव, यी दुई शब्दलाई अण्डरलाइन गर्नुछ। यसमा देह अभिमानको मैपन समाप्त
हुन्छ। मेरोपन पनि समाप्त हुन्छ। निमित्त हुँ र निर्मान स्वभाव। जति निर्मान हुन्छौ
नि, त्यति मान मिल्छ किनकि जो निर्मान हुन्छ, ऊ सबैको प्यारो बन्छ। र, जब प्यारो
बन्छ, तब मान त स्वत: मिल्छ। त्यसैले निमित्त र निर्मान भाव र भावना, शुभभावना। भाव
र भावना दुई चीज हुन्छन्। त्यसैले निमित्त र निर्मान भाव र भावना हरेकप्रति शुभभावना,
शुभकामना। जस्तो सुकै होस्, तिम्रो निमित्त निर्मान भाव र शुभभावनाले वायुमण्डल
यस्तो बनाउँछ, जसले गर्दा अगाडिको व्यक्ति पनि भाइब्रेसनले परिवर्तन हुन्छ। कति
बच्चाहरूले रुहरिहान गर्छन् नि, त्यतिबेला भन्छन् हामीले एक महिनादेखि शुभभावना
राख्यौँ, ऊ परिवर्तन हुँदै हुँदैन। फेरि थाक्छन्, निराश हुन्छन्। अब त्यो बिचराको
जुन वृत्ति छ वा दृष्टि छ, त्यो छँदै छ पत्थर जस्तो, त्यसमा अलिकति समय त लाग्छ नि।
ठीक छ मानौँ ऊ परिवर्तन भएन भने तिमीले आफूलाई त ठीक राख न। तिमी त आफ्नो पोजिसनमा
बस न। तिमी किन निराश हुन्छौ। निराश नहोऊ। ठीक छ ऊ परिवर्तन भएन भने म त उसँगै
परिवर्तन नहोऊ। यदि तिमी निराश भयौ भने ऊ शक्तिशाली भयो जसले तिमीलाई परिवर्तन
गरिदियो। तिमीले आफ्नो स्वमानको सिट किन छोड्छौ? व्यर्थ सङ्कल्प पनि उठ्नुहुँदैन,
किन? किन भन्यौ कि व्यर्थ सङ्कल्पको ढोका खुल्यो। त्यो ढोका बन्द गर्न धेरै मुस्किल
हुन्छ। त्यसैले किन नसोच, दयालु भएर भाइब्रेसन दिइराख। तिमी आफ्नो सिट छोडेर किन
निराश हुन्छौ? याद राख्यौ नि– पोजिसनबाट तल नआऊ, फेरि धेरै अपोजिसन हुन्छ। व्यक्ति
व्यक्तिमा अपोजिसन हुन्छ, स्वभाव संस्कारमा अपोजिसन हुन्छ, विचारहरूमा अपोजिसन
हुन्छ, त्यसैले पोजिसनमा बस। त्यसैले भोलि के गर्नेछौ? याद छ? बापदादाको प्यार छ
नि, त्यसोभए बापदादाले सम्झनुहुन्छ सबै ब्रह्माबाबासमान बनुन्। के बाबाको अगाडि
अपोजिसन आएन, ब्रह्माबाबाको अगाडि अपोजिसन भएन, मायाको पनि भयो, आत्माहरूको पनि भयो,
प्रकृतिको पनि भयो, तर ब्रह्माबाबाले पोजिसन छोड्नुभयो? छोड्नुभएन नि। त्यसैले त
फरिस्ता बन्नुभयो नि। त्यसैले अहिले आफूलाई त फरिस्ता सम्झेर चल, म फरिस्ता हुँ...
तर एक अर्कालाई पनि फरिस्ता रूपमा हेर, सबै फरिस्ता हुन्। न मेरो पुरानो संसारसँग
नाता, न पुरानो संस्कारसँग नाता, न यी कुनै ब्राह्मणहरूसँग। बस्, खतम। यो पनि
फरिस्ता, त्यो पनि फरिस्ता, त्यही नजरले हेर। वायुमण्डल फैलाऊ। अच्छा। अब एक मिनेट
विश्वका आत्माहरूलाई यस्तो शक्तिशाली सर्व शक्ति सम्पन्न किरण देऊ जसबाट चारैतिर
विश्वमा तिम्रो शक्तिहरूको भाइब्रेसन फैलियोस्। (गहन शान्ति) अच्छा!
चारैतिरका ब्राह्मण
सो फरिस्ता बच्चाहरूलाई, सदा स्वदर्शनद्वारा स्वलाई जाँचेर परिवर्तन गर्ने,
ब्रह्माबाबालाई फलो गर्ने आज्ञाकारी बच्चाहरूलाई, सदा डबल लाइट बनेर सेवा र
पुरुषार्थ गर्ने फरिस्ता आत्माहरूलाई, सदा आफ्नो पोजिसनको सिटमा सेट भएर अपोजिसनलाई
समाप्त गर्ने मास्टर सर्वशक्तिमान बच्चाहरूलाई, सङ्गमयुगको प्रत्यक्ष फल अनुभव गर्ने
बाबाका समीप बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी
बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
प्रत्यक्षताको
समयलाई समीप ल्याउने सदा शुभचिन्तक र स्वचिन्तक भव
सेवामा सफलताको आधार
हो शुभचिन्तक वृत्ति किनकि तिम्रो यो वृत्तिले आत्माहरूको ग्रहण शक्ति वा
जिज्ञासालाई बढाउँछ, यसबाट वाणीको सेवा सहजै सफल हुन्छ र स्वप्रति स्वचिन्तन गर्ने
स्वचिन्तक आत्मा सदा माया प्रुफ, कसैको पनि कमजोरीलाई ग्रहण गर्नबाट, व्यक्ति वा
वैभवको आकर्षणबाट प्रुफ हुन्छ। त्यसैले जब यी दुवै वरदान व्यावहारिक जीवनमा ल्याउँछौ
तब प्रत्यक्षताको समय समीप आउँछ।
स्लोगन:–
आफ्नो
सङ्कल्पलाई पनि अर्पण गरिदियौ भने सर्व कमजोरीहरू स्वत: हटनेछन्।