01.08.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी पवित्र नबनेसम्म फर्केर जान सक्दैनौ त्यसैले बाबाको यादद्वारा आत्माको ब्याट्रीलाई चार्ज गर , नेचुरल पवित्र बन।”

प्रश्न:–
बाबाले तिमी बच्चाहरूलाई घर जानु भन्दा पहिला कुनचाहिँ कुरा सिकाउनु हुन्छ?

उत्तर:–
प्यारा बच्चाहरू! घर जानु भन्दा पहिला जीवन छँदै मर्नु छ त्यसैले बाबाले तिमीहरूलाई पहिलादेखि नै देहको भानबाट पर लिएर जाने अभ्यास गराउनुहुन्छ अर्थात् मर्न सिकाउनुहुन्छ। माथि जानु अर्थात् मर्नु। जाने र आउने ज्ञान अहिले तिमीहरूलाई मिलेको छ। तिमीहरूले जानेका छौ– हामी आत्मा माथिबाट आएका हौं, यस शरीरद्वारा पार्ट खेल्न। हामी वास्तवमा त्यहाँका निवासी हौं, अब त्यहाँ नै फर्केर जानु छ।

ओम् शान्ति ।
आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नमा कुनै तकलिफ छैन, अलमलिनु छैन । यसलाई भनिन्छ– सहज याद। सबैभन्दा पहिला आफूलाई आत्मा नै सम्झनु छ। आत्माले नै शरीर धारण गरेर पार्ट खेल्छ। संस्कार पनि सबै आत्मामा नै हुन्छ। आत्मा त स्वतन्त्र छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। यो ज्ञान अहिले नै तिमीहरूलाई मिल्छ, फेरि मिल्दैन। तिम्रो यो शान्त भएर बस्ने कुरा दुनियाँले जान्दैन, यसलाई भनिन्छ नेचुरल (स्वाभाविक) शान्ति। हामी आत्मा माथिबाट आएका हौं, यस शरीरद्वारा पार्ट खेल्न। हामी आत्मा वास्तवमा त्यहाँका निवासी हौं। यो ज्ञान बुद्धिमा छ। बाँकी यसमा हठयोगको कुनै कुरा छैन, यो बिलकुल सहज छ। अब हामी आत्माहरू घर जानु छ तर पवित्र नबनी जान सकिँदैन। पवित्र हुनको लागि परमात्मा बाबालाई याद गर्नु छ। याद गर्दा गर्दै पाप मेटिन्छ। तकलिफको त कुनै कुरै छैन। तिमी पैदल हिँड्न गयौ भने बाबाको यादमा जाऊ। अहिले नै यादबाट पवित्र बन्न सक्छौ। त्यहाँ त हुन्छ नै पवित्र दुनियाँ। त्यहाँ त्यस पवित्र दुनियाँमा यस ज्ञानको कुनै आवश्यकता हुँदैन किनकि त्यहाँ कुनै विकर्म हुँदैन। यहाँ यादद्वारा विकर्म विनाश गर्नु छ। त्यहाँ त तिमी नेचुरल रूपमा हिँड्छौ, जसरी यहाँ हिँड्छौ। फेरि अलिअलि तल उत्रिन्छौ। यस्तो होइन कि त्यहाँ पनि तिमीले यो अभ्यास गर्नुपर्छ। अभ्यास अहिले नै गर्नु छ। अब ब्याट्री चार्ज गर्नु छ फेरि बिस्तारै बिस्तारै ब्याट्री डिस्चार्ज हुनु नै छ। ब्याट्री चार्ज हुने ज्ञान अहिले एकै पटक तिमीहरूलाई मिल्छ। सतोप्रधानबाट तमोप्रधान बन्नमा तिमीहरूलाई कति समय लाग्छ! सुरुदेखि लिएर अलिअलि गर्दै ब्याट्री कम हुँदै जान्छ। मूलवतनमा त हुन्छन् नै आत्माहरू। शरीर त हुँदैन। त्यसैले नेचुरल उत्रने अर्थात् ब्याट्री कम हुने कुरै हुँदैन। मोटर चलेपछि नै ब्याट्री कम हुँदै जान्छ। मोटर रोकिएको छ भने ब्याट्री कहाँ चालु हुन्छ र! मोटर चलेपछि ब्याट्री चालु हुन्छ। हुन त मोटरमा ब्याट्री चार्ज भइरहन्छ तर तिम्रो ब्याट्री एकै पटक अहिले चार्ज हुन्छ। जब तिमीले यहाँ शरीरद्वारा कर्म गर्छौ फेरि कहाँ ब्याट्री कम हुँदै जान्छ र! पहिला त सम्झिनु छ– उहाँ हुनुहुन्छ सुप्रिम फादर, जसलाई सबै आत्माहरूले याद गर्छन्। हे भगवान! भन्छन्, उहाँ बाबा हुनुहुन्छ, हामी बच्चाहरू हौं। यहाँ तिमी बच्चाहरूलाई सम्झाइन्छ– कसरी ब्याट्री चार्ज गर्ने। घुम्दा फिर्दा पनि बाबालाई याद गर्यौ भने सतोप्रधान बन्छौ। कुनै पनि कुरा बुझेनौ भने सोध्न सक्छौ। छ बिलकुल सहज। ५ हजार वर्षपछि हाम्रो ब्याट्री डिस्चार्ज हुन्छ। बाबा आएर सबैको ब्याट्री चार्ज गरिदिनुहुन्छ। विनाशको समयमा सबैले ईश्वरलाई याद गर्छन्। मानौं बाढी आयो भने पनि जो भक्त छन् उनीहरूले भगवानलाई नै याद गर्नेछन् तर त्यस समयमा भगवानको याद आउन सक्दैन। मित्र-सम्बन्धी, धन दौलत नै याद आइहाल्छ। भन्न त ‘हे भगवान!’ भन्छन् तर त्यो पनि भन्न मात्र। भगवान बाबा हुनुहुन्छ, हामी उहाँका सन्तान हौं, यो त जानेकै छैनन्। उनलाई सर्वव्यापीको उल्टो ज्ञान मिल्छ। बाबा आएर सुल्टो ज्ञान दिनुहुन्छ। भक्तिको विभाग नै अलग छ। भक्तिमा ठक्कर खानुपर्ने हुन्छ। ब्रह्माको रात नै ब्राह्मणहरूको रात हुन्छ। ब्रह्माको दिन नै ब्राह्मणहरूको दिन हुन्छ। यस्तो त भन्दैनन्– शूद्रहरूको दिन, शूद्रहरूको रात। यो रहस्य बाबाले बसेर सम्झाउनु हुन्छ। यो हो बेहदको रात वा दिन। अहिले तिमी दिनमा जान्छौ, रात पूरा हुन्छ। यी शब्दहरू शास्त्रमा छन्। ब्रह्माको दिन, ब्रह्माको रात भन्छन् तर केही जानेका छैनन्। तिम्रो बुद्धि अब बेहदमा गएको छ। हुन त देवताहरूलाई पनि भन्न सक्छन्– विष्णुको दिन, विष्णुको रात किनकि विष्णु र ब्रह्माको सम्बन्ध पनि सम्झाइन्छ। त्रिमूर्तिको कर्तव्य के हो– अरू कसैले त बुझ्न सक्दैन। उनीहरूले त भगवानलाई नै कच्छ-मच्छमा वा जन्ममरणको चक्रमा लिएर गएका छन्। राधा-कृष्ण आदि पनि मनुष्य हुन्, तर दैवी गुणवाला। अहिले तिमीहरू यस्तो बन्नु छ। अर्को जन्ममा देवता बन्छौ। ८४ जन्मको जो हिसाबकिताब थियो त्यो अब पूरा भयो। फेरि दोहोरिन्छ। अहिले तिमीहरूलाई यो शिक्षा मिलिरहेको छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा निश्चय गर। भन्छन् पनि– हामी पार्टधारी हौं। तर हामी आत्माहरू माथिबाट कसरी आउँछौं यो जानेका छैनन्। आफूलाई देहधारी नै सम्झन्छन्। हामी आत्मा माथिबाट आउँछौं फेरि कहिले जान्छौं? माथि जानु भनेको मर्नु, शरीर छोड्नु हो। मर्न कसले चाहन्छ? यहाँ त बाबाले भन्नुभएको छ– तिमीले यस शरीरलाई भुल्दै जाऊ। जीवन छँदै मर्न तिमीहरूलाई सिकाउनु हुन्छ, जो अरू कसैले सिकाउन सक्दैन। तिमीहरू आएका छौ नै आफ्नो घर जानको लागि। घर कसरी जानु छ– यो ज्ञान अहिले नै मिल्छ। तिम्रो यस मृत्युलोकको यो अन्तिम जन्म हो। अमरलोक सत्ययुगलाई भनिन्छ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– हामी छिटो छिटो जाऊँ। सबैभन्दा पहिला त घर मुक्तिधाममा जानुपर्छ। यो शरीररूपी कपडा यहाँ नै छोड्नु छ फेरि आत्मा जान्छ घर। जसरी हदको नाटकका पात्रहरू हुन्छन्, नाटक पूरा भएपछि कपडा त्यहाँ नै छोडेर घरको कपडा लगाएर घर जान्छन्। तिमीहरूले पनि अब यो चोला छोडेर जानु छ। सत्ययुगमा त थोरै देवताहरू हुन्छन्। यहाँ त कति अनगिन्ती मनुष्य छन्। त्यहाँ त हुन्छ नै एक आदि सनातन देवी-देवता धर्म। अहिले त आफूलाई हिन्दु भनिदिन्छन्। आफ्नो श्रेष्ठ धर्म, कर्मलाई भुलेका छन् त्यसैले दु:खी भएका छन्। सत्ययुगमा तिम्रो श्रेष्ठ कर्म, धर्म थियो। अहिले कलियुगमा धर्म भ्रष्ट छ। बुद्धिमा आउँछ– हामी कसरी गिरेका हौं? अहिले तिमीले बेहदका बाबाको परिचय दिन्छौ। बेहदका बाबाले नै आएर नयाँ दुनियाँ स्वर्ग रच्नुहुन्छ। भन्नुहुन्छ– मनमनाभव। यो गीताको नै शब्द हो। सहज राजयोगको ज्ञानको नाम राखिन्छ– गीता। यो तिम्रो पाठशाला हो। बच्चाहरूले आएर पढे भने भन्छन्– हाम्रो बाबाको पाठशाला हो। जस्तै कुनै बच्चाका पिता प्रिन्सिपल छन् भने भन्छन् मैले मेरो पिताको कलेजमा पढ्छु। उनकी आमा पनि प्रिन्सिपल छन् भने भन्छ– मेरी माता पिता दुवै प्रिन्सिपल हुनुहुन्छ। दुवैले पढाउनु हुन्छ। यो मेरा माता पिताको कलेज हो। तिमीले भन्छौ– हाम्रो मम्मा बाबाको पाठशाला हो। दुवैले नै पढाउनु हुन्छ। दुवैले यो रूहानी कलेज वा युनिवर्सिटी खोल्नुभएको छ। दुवैले सँगै पढाउनु हुन्छ। बाबाले बच्चाहरूलाई एडप्ट गर्नुभएको हो। यो धेरै गोपनीय ज्ञानको कुरा हो। बाबाले कुनै नयाँ कुरा सम्झाउनुहुन्न। यो त कल्प पहिला पनि सम्झाइएको थियो। हो, यति ज्ञान छ जो दिनप्रतिदिन गुह्य हुँदै जान्छ। हेर अहिले तिमी आत्माहरूलाई कसरी ज्ञान मिल्छ। यति सानो आत्मामा ८४ जन्मको पार्ट भरिएको छ। त्यो कहिल्यै विनाश हुँदैन। आत्मा अविनाशी छ त्यसैले त्यसमा पार्ट पनि अविनाशी छ। आत्माले कानद्वारा सुन्यो। शरीर छ त्यसैले पार्ट छ। शरीरबाट आत्मा अलग भएर गएपछि जवाफ मिल्दैन। अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू फर्केर घर जानु छ। यो पुरुषोत्तम युग आएपछि नै फर्केर जानुपर्ने हुन्छ, यसमा पवित्रता नै मुख्य चाहिन्छ। शान्तिधाममा त पवित्र आत्माहरू नै रहन्छन्। शान्तिधाम र सुखधाम दुवै नै पवित्र धाम हुन्। त्यहाँ शरीर हुँदैन। आत्मा पवित्र हुन्छ, त्यहाँ ब्याट्री डिस्चार्ज हुँदैन। यहाँ शरीर धारण गरेपछि मोटर (शरीर) चल्छ। मोटर रोकिँदा पेट्रोल कहाँ घट्छ र! अहिले तिमी आत्माहरूको ज्योति धेरै कम भएको छ। एकदम निभिहाल्दैन। जब कोही मर्यो भने दियो जलाउँछन्। फेरि ननिभोस् भनेर सम्हाल गर्छन्। आत्माको ज्योति कहिल्यै निभ्दैन, त्यो त अविनाशी छ। यी सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ। बाबालाई थाहा छ– यी सबै धेरै प्रिय बच्चा हुन्, यी सबै काम चितामा जलेर भस्म भएका छन्। फेरि यिनीहरूलाई जगाउँछु। बिलकुलै तमोप्रधान मुर्दा बनेका छन्। बाबालाई चिन्दै चिनेका छैनन्। मनुष्य कुनै कामका रहेनन्। मानिसको माटो कुनै कामको रहँदैन। यस्तो होइन ठुला मानिसको माटो कुनै कामको हुन्छ, गरिबको हुँदैन। जोसुकै भए पनि माटो त माटोमै मिल्छ। कसैले जलाउँछन्, कसैले चिहानमा दफन गर्छन्, फारसीहरूले कुवामा राखिदिन्छन् अनि पन्छीले मासु खान्छन्। हाडखोर गएर तल रहन्छन्। ती फेरि पनि काममा आउँछन्। दुनियाँमा धेरै मनुष्य मर्छन्। अहिले तिमीहरूले त आफै शरीर छोड्नु छ। तिमी यहाँ आएका हौ नै शरीर छोडेर फर्केर घर जान अर्थात् मर्न। तिमी खुसीसँग जान्छौ– हामी जीवनमुक्तिमा जान्छौं।

जसले जुन पार्ट खेलेको छ, अन्त्यसम्म त्यही खेल्ने छ। बाबा पुरुषार्थ गराइरहनु हुन्छ, साक्षी भएर हेर्दै जानुहुन्छ। यो त बुझ्नुपर्ने कुरा हो, यसमा डराउने कुनै कुरा छैन। हामी स्वर्गमा जानको लागि स्वयंले नै पुरुषार्थ गरेर शरीर छोडिदिन्छौं। बाबालाई नै याद गरिरह्यौं भने अन्त मति सो गति हुन्छ, यसमा मेहनत छ। सबै पढाइमा मेहनत छ। भगवानले आएर पढाउनु पर्छ। अवश्य पढाइ महान हुनुपर्छ, यसमा दैवीगुण पनि चाहिन्छ। यस्ता लक्ष्मी-नारायण बन्नु छ नि। यी सत्ययुगमा थिए। अब फेरि तिमी सत्ययुगी देवता बन्न आएका छौ। लक्ष्य उद्देश्य कति सहज छ। त्रिमूर्तिमा स्पष्ट छ। यी ब्रह्मा, विष्णु, शङ्कर आदिका चित्र नहुने हो भने हामीले कसरी सम्झाउन सक्थ्यौं। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। ब्रह्माका ८ हात, १०० हात देखाएका छन् किनकि ब्रह्माका कति धेरै बच्चाहरू हुन्छन्। त्यसैले उनीहरूले फेरि त्यो चित्र बनाइदिएका छन्। तर मनुष्य कोही यति हातभएका कहाँ हुन्छन् र? रावणको १० शिरको पनि अर्थ छ, यस्ता मनुष्य हुँदैनन्। यो कुरा बाबा नै बसेर सम्झाउनु हुन्छ, मनुष्यले त केही पनि जानेका छैनन्। यो पनि खेल हो, यो कसैलाई थाहा छैन– यो कहिलेदेखि सुरु भएको हो? परम्परा भनिदिन्छन्। अरे, त्यो पनि कहिलेदेखि? त्यसैले मिठा प्यारा बच्चाहरूलाई बाबाले पढाउनु हुन्छ, उहाँ शिक्षक पनि हुनुहुन्छ भने गुरु पनि हुनुहुन्छ। त्यसैले बच्चाहरूलाई कति खुसी हुनुपर्छ।

यो म्युजियम आदि कसको निर्देशनमा खोल्छन्? यहाँ छन् नै माता, पिता र बच्चाहरू। धेरै बच्चाहरू छन्। श्रीमत अनुसार खोलिरहन्छन्। मानिसहरूले भन्छन्– तिमीहरूले भगवानुवाच भन्छौ भने रथद्वारा हामीलाई साक्षात्कार गराऊ। अरे, तपाईले आत्माको साक्षात्कार गर्नुभएको छ? यति सानो बिन्दुको साक्षात्कार तपाईले कसरी गर्न सक्नुहुन्छ! आवश्यकता नै छैन। यो त आत्माले जान्नुपर्ने हुन्छ। आत्मा भृकुटीको बीचमा रहन्छ, जसको आधारमा नै यति ठुलो शरीर चल्छ। अहिले तिमिसँग न लाइटको, न रत्न जडित ताज छ। दुवै ताज लिनको लागि फेरि तिमीले पुरुषार्थ गरिरहेका छौ। कल्प कल्प तिमीले बाबाबाट वर्सा लिन्छौ। बाबा सोध्नुहुन्छ– पहिला कहिले मिलेका थियौ? तब भन्छन्– हो बाबा, कल्प कल्प मिल्दै आएका छौं। किन? यी लक्ष्मी-नारायण बन्नको लागि। यी सबैले एउटै कुरा भन्छन्। बाबा भन्नुहुन्छ– ठीक छ, शुभ बोली बोल्छौ, अब पुरुषार्थ गर। सबै त नरबाट नारायण बन्दैनन्, प्रजा पनि त चाहिन्छन्। कथा पनि हुन्छ सत्यनारायणको। उनीहरूले कथा सुनाउँछन्, तर बुद्धिमा केही पनि आउँदैन। तिमी बच्चाहरूले सम्झन्छौ– त्यो हो शान्तिधाम, निराकारी दुनियाँ। फेरि त्यहाँबाट सुखधाम जान्छौ। सुखधाममा लिएर जाने एउटै बाबा हुनुहुन्छ। तिमीहरूले जसलाई सम्झाउँछौ, उनीहरूलाई भन– अब फर्केर घर जान्छौं। आत्मालाई आफ्नो घर त अशरीरी बाबाले नै लिएर जानुहुन्छ। अहिले बाबा आउनु भएको छ, उहाँलाई चिनेका छैनन्। बाबा भन्नुहुन्छ– म जुन तनमा आएको छु, उनलाई पनि चिनेका छैनन्। रथ पनि त छ नि। हरेक रथमा आत्मा प्रवेश गर्छ। सबैको आत्मा भृकुटीको बीचमा रहन्छ। बाबा आएर भृकुटीको बीचमा बस्नुहुन्छ। सम्झाउन त धेरै सहजै सम्झाउनु हुन्छ। पतित-पावन त एउटै बाबा हुनुहुन्छ, बाबाका सबै बच्चाहरू समान छन्। त्यसमा हर एकको आ-आफ्नो पार्ट छ, यसमा कसैले हस्तक्षेप गर्न सक्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस शरीर रूपी कपडाबाट ममत्व निकालेर जीवन छँदै मर्नु छ अर्थात् आफ्नो सबै पुरानो हिसाबकिताब चुक्ता गर्नु छ।

२) डबल ताजधारी बन्नको लागि पढ्ने मेहनत गर्नु छ। दैवी गुण धारण गर्नु छ। जस्तो लक्ष्य छ, शुभ बोली छ, त्यस्तै पुरुषार्थ गर्नु छ।

वरदान:–
अकल्याणको सङ्कल्पलाई समाप्त गरेर अपकारीहरू माथि उपकार गर्ने ज्ञानी आत्मा भव

कसैले तिम्रो दिनहुँ ग्लानि गरोस्, अकल्याण गरोस्, गाली गरोस् तैपनि उसप्रति मनमा घृणा भाव नआओस्, अपकारीमाथि पनि उपकार– यही ज्ञानी आत्माको कर्तव्य हो। जसरी तिमी बच्चाहरूले बाबालाई ६३ जन्म गाली गर्यौ तैपनि बाबाले कल्याणकारी दृष्टिद्वारा देख्नुभयो, त्यसैले बाबालाई अनुसरण गर। ज्ञानी आत्माको अर्थ हो नै सबैप्रति कल्याणको भावना। अकल्याण सङ्कल्प मात्र पनि नहोस्।

स्लोगन:–
मनमनाभवको स्थितिमा स्थित रह्यौ भने अरूको मनको भावलाई जान्नेछौ।