01.10.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– देहीअभिमानी बन्ने अभ्यास गर , यस अभ्यासबाट नै तिमी पुण्य आत्मा बन्न सक्छौ।”

प्रश्न:–
कुन एउटा ज्ञानको कारणले तिमी बच्चाहरू सदा हर्षित रहन्छौ?

उत्तर:–
तिमीलाई ज्ञान मिलेको छ– यो नाटक धेरै अद्भुत बनेको छ, यसमा हरेक कलाकारको अविनाशी पार्ट निश्चित छ। सबैले आ-आफ्नो पार्ट खेलिरहेका छन्। त्यसैले तिमी सदा हर्षित रहन्छौ।

प्रश्न:–
कुनचाहिँ एक कला बाबासँग मात्र छ, अरूसँग छैन?

उत्तर:–
देहीअभिमानी बनाउने कला एक बाबासँग छ किनकि उहाँ स्वयं सदा देही हुनुहुन्छ, परम (सुप्रिम) हुनुहुन्छ। यो कला कुनै पनि मनुष्यलाई आउन सक्दैन।
 

ओम् शान्ति ।
रूहानी बच्चाहरू अर्थात् आत्माहरूलाई बाबा बसेर सम्झाउनु हुन्छ। आफूलाई आत्मा त सम्झिनुपर्छ नि। बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ सबैभन्दा पहिला यो अभ्यास गर– म आत्मा हुँ, शरीर होइन। जब आफूलाई आत्मा सम्झन्छौ तब नै परमपितालाई याद गर्न सक्छौ। आफूलाई आत्मा सम्झेनौ भने अवश्य लौकिक सम्बन्धी, धन्दा आदि नै याद आइरहन्छ, त्यसैले सबै भन्दा पहिला त यो अभ्यास हुनुपर्छ– म आत्मा हुँ, अनि रूहानी बाबाको याद रहन्छ। बाबाले यो शिक्षा दिनुहुन्छ– आफूलाई देह नसम्झ। यो ज्ञान सारा कल्पमा बाबाले एकै पटक दिनुहुन्छ। फेरि ५ हजार वर्षपछि यो समझ मिल्छ। आफूलाई आत्मा सम्झियौ भने बाबाको पनि याद आउने छ। आधा कल्प तिमीले आफूलाई देह सम्झियौ। अब आफूलाई आत्मा सम्झिनु छ। जसरी तिमी आत्मा हौ, म पनि आत्मा नै हुँ। तर परम (सुप्रिम) हुँ। म हुँ नै आत्मा, त्यसैले मलाई कुनै देह याद आउँदैन। यी दादा त शरीरधारी हुन् नि। उहाँ बाबा हुनुहुन्छ निराकार। यी प्रजापिता ब्रह्मा त साकारी भए। शिवबाबाको वास्तविक नाम हो नै शिव। उहाँ हुनुहुन्छ नै आत्मा। उहाँ नै सबै भन्दा उच्च अर्थात् परम आत्मा हुनुहुन्छ। केवल यसै समयमा आएर यस शरीरमा प्रवेश गर्नुहुन्छ। उहाँ कहिल्यै देह अभिमानी हुन सक्नुहुन्न। देह अभिमानी साकारी मनुष्य हुन्छन्, उहाँ त हुनुहुन्छ नै निराकार। उहाँले आएर यो अभ्यास गराउनु पर्छ। भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झ। म आत्मा हुँ, आत्मा हुँ– बसेर यो पाठ पढ। म आत्मा शिवबाबाको बच्चा हुँ। हरेक कुराको अभ्यास त हुनुपर्छ नि। बाबाले कुनै नयाँ कुरा सम्झाउनुहुन्न। तिमीले जब आफूलाई पक्का-पक्का आत्मा सम्झन्छौ तब बाबाको याद पनि पक्का रहन्छ। देह अभिमान भयो भने बाबाको याद गर्न सक्दैनौ। आधाकल्प तिमीलाई देहको अहङ्कार हुन्छ। अहिले तिमीलाई सिकाउँछु– आफूलाई आत्मा सम्झ। सत्ययुगमा यसरी कसैले आफूलाई आत्मा सम्झ भनेर सिकाउँदैनन्। शरीरको नाम त हुन्छ नै। नत्र एक अर्कालाई कसरी बोलाउने? यहाँ तिमीले बाबाबाट जे वर्सा पाएका छौ त्यही प्रारब्ध त्यहाँ पाउँछौ। तर बोलाउँछन् नामबाट नै। श्रीकृष्ण पनि त शरीरको नाम हो नि। नाम विना त कारोबार आदि चल्न सक्दैन। यस्तो होइन, त्यहाँ आफूलाई आत्मा सम्झ भनिन्छ। त्यहाँ त आत्म अभिमानी रहन्छन् नै। यो अभ्यास तिमीलाई अहिले गराइन्छ किनकि पाप धेरै चढेको छ। विस्तारै विस्तारै अलि अलि पाप चढ्दा-चढ्दै अहिले पूरा पाप आत्मा बनेका छौ। आधा कल्पमा जे जस्तो गर्यौ त्यो समाप्त पनि त हुन्छ नि। विस्तारै विस्तारै कम हुँदै जान्छ। सत्ययुगमा तिमी सतोप्रधान हुन्छौ, त्रेतामा सतो बन्छौ। वर्सा अहिले मिल्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नाले नै वर्सा मिल्छ। यो देहीअभिमानी बन्ने शिक्षा बाबाले अहिले नै दिनुहुन्छ। सत्ययुगमा यो शिक्षा मिल्दैन। आ-आफ्नो नाममा नै चल्छन्। यहाँ तिमी हरेकले यादको बलद्वारा पाप आत्माबाट पुण्य आत्मा बन्नु छ। सत्ययुगमा यस शिक्षाको आवश्यकता नै पर्दैन। न त तिमीले यो शिक्षा त्यहाँ लिएर जान्छौ। त्यहाँ त न यो ज्ञान, न योग लिएर जान्छौ। तिमी पतितबाट पावन अहिले नै बन्नु छ। फेरि विस्तार विस्तारै कला कम हुँदै जान्छ। जसरी चन्द्रमाको कला कम हुँदा हुँदा रेखा मात्र रहन्छ। त्यसैले यसमा अलमलमा नपर। केही पनि बुझेनौ भने सोध।

पहिला त यो पक्का निश्चय गर– म आत्मा हुँ। तिम्रो आत्मा नै अहिले तमोप्रधान बनेको छ। पहिला सतोप्रधान थियो, फेरि दिनप्रतिदिन कला कम हुँदै जान्छ। म आत्मा हुँ– यो पक्का नहुनाले नै तिमीले बाबालाई भुल्छौ। सबै भन्दा पहिला मूल कुरा नै यो हो। आत्म अभिमानी बनेपछि बाबाको याद आउँछ अनि वर्सा पनि याद आउँछ। वर्सा याद आयो भने पवित्र पनि रहन्छौ। दैवी गुण पनि हुन्छ। लक्ष्य-उद्देश्य त सामुन्ने छ। यो हो ईश्वरीय विश्व विद्यालय। भगवानले पढाउनु हुन्छ। देहीअभिमानी पनि उहाँले बनाउन सक्नुहुन्छ। अरू कसैले पनि यो कला जानेका छैनन्। एक बाबाले नै सिकाउनु हुन्छ। यी दादाले पनि पुरुषार्थ गर्छन्। बाबाले त कहिल्यै देह लिँदै लिनुहुन्न, जसले गर्दा देहीअभिमानी बन्ने पुरुषार्थ गर्नु परोस्। उहाँ केवल यसै समयमा आउनु हुन्छ, तिमीलाई देहीअभिमानी बनाउन। यो भनाइ छ– जिनके माथा मामला, वह कैसे नींद करे...। धन्दा आदि अति धेरै भयो भने फुर्सद नै मिल्दैन र जसलाई फुर्सद हुन्छ ऊ आउँछ बाबाको सामुन्ने पुरुषार्थ गर्न। कोही नयाँ पनि आउँछन्। सम्झन्छन्– ज्ञान त धेरै राम्रो छ। गीतामा पनि यी शब्द छन्– म बाबालाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। त्यसैले बाबाले यो सम्झाउनु हुन्छ। बाबाले कसैलाई दोष दिनुहुन्न। यो त जान्नुहुन्छ– तिमी पावनबाट पतित बन्नु नै छ, अनि मैले आएर पतितबाट पावन बनाउनु नै छ। यो बनिबनाऊ ड्रामा हो, यसमा कसैको निन्दाको कुरा छैन। तिमी बच्चाहरूले अहिले ज्ञानलाई राम्ररी जानेका छौ, अरू त कसैले पनि ईश्वरलाई जान्दै जानेका छैनन्। त्यसैले अनाथ, नास्तिक कहलाउँछन्। अहिले बाबा तिमी बच्चाहरूलाई कति समझदार बनाउनु हुन्छ। शिक्षकका रूपमा शिक्षा दिनुहुन्छ। कसरी यो सृष्टिको चक्र चल्छ, यो शिक्षा मिलेपछि तिमी पनि सुध्रिन्छौ। भारतवर्ष जुन शिवालय थियो त्यो अहिले वेश्यालय छ नि। यसमा ग्लानिको त कुरै छैन। यो खेल हो, जुन बाबाले सम्झाउनु हुन्छ। तिमी देवताबाट असुर कसरी बन्यौ, किन बन्यौ? यस्तो भनिँदैन? बाबा आउनु नै भएको छ बच्चाहरूलाई आफ्नो परिचय दिन, अनि सृष्टिको चक्र कसरी घुम्छ, यो ज्ञान दिनुहुन्छ। मनुष्यले नै त जानेका छन् नि। अब तिमीले जानेपछि देवता बन्छौ। यो पढाइ हो मनुष्यबाट देवता बन्ने, जुन बसेर बाबाले नै पढाउनु हुन्छ। यहाँ त सबै मनुष्य नै मनुष्य छन्। देवता त यस सृष्टिमा आउन सक्दैनन् जसले शिक्षक बनेर पढाउँछन्। पढाउनेवाला बाबालाई हेर कसरी पढाउन आउनु हुन्छ। गायन पनि छ– परमपिता परमात्माले कुनै रथ लिनुहुन्छ, कुनचाहिँ रथ लिनुहुन्छ? यो पूरा लेख्दैनन्। त्रिमूर्तिको रहस्य पनि कसैले बुझ्दैनन्। परमपिता अर्थात् परम आत्मा। उहाँ जो हुनुहुन्छ सो आफ्नो परिचय त दिनुहुन्छ नि। अहङ्कारको कुरा होइन। न बुझेका हुनाले भन्छन् यिनमा अहङ्कार छ। यी ब्रह्माले त भन्दैनन् म परमात्मा हुँ। यो त बुझ्ने कुरा हो, यो त बाबाको महावाक्य हो– सबै आत्माहरूका पिता एक हुनुहुन्छ। यिनलाई दादा भनिन्छ। यी त भाग्यशाली रथ हुन् नि। नाम पनि ब्रह्मा राखिएको छ किनकि ब्राह्मण त चाहिन्छ नि। आदिदेव प्रजापिता ब्रह्मा हुनुहुन्छ। प्रजाका पिता हुनुहुन्छ, तर प्रजा कुनचाहिँ? प्रजापिता ब्रह्मा शरीरधारी हुन्, त्यसैले गोद लिइएको हो नि। बच्चाहरूलाई शिवबाबाले सम्झाउनु हुन्छ मैले गोद लिन्न। तिमी सबै आत्माहरू त सदा मेरा बच्चाहरू नै हौ। मैले तिमीहरूलाई बनाउने होइन। म त तिमी आत्माहरूको अनादि पिता हुँ। बाबाले कति राम्ररी सम्झाउनु हुन्छ, फेरि पनि भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमीले सारा पुरानो दुनियाँको संन्यास गर्छौ। बुद्धिबाट जानेका छौ– सबै फर्केर जान्छन् यस दुनियाँबाट। यस्तो होइन, संन्यास गरेर जङ्गलमा जानु छ। सारा दुनियाँको संन्यास गरेर हामी आफ्नो घर जान्छौं। त्यसैले केवल एक बाबा सिवाय अरू कुनै पनि चीजको याद नआओस्। ६० वर्षको आयु भएपछि वाणीदेखि पर वानप्रस्थमा जाने पुरुषार्थ गर्नुपर्छ। यो वानप्रस्थको कुरा हो अहिलेको। भक्तिमार्गमा त वानप्रस्थको बारेमा कसैलाई पनि थाहा छैन। वानप्रस्थको अर्थ बताउन सक्दैनन्। वाणी भन्दा पर मूल वतनलाई भनिन्छ। त्यहाँ सबै आत्माहरू निवास गर्छन् त्यसैले सबैको वानप्रस्थ अवस्था हुन्छ, सबैलाई घर जानु छ।

शास्त्रमा देखाइन्छ– आत्मा भ्रृकुटीको बीचमा चम्किलो सितारा हो। कतिपयले सम्झन्छन्– आत्मा औंला जस्तै छ। औंला जस्तोलाई नै याद गर्छन्। तारालाई कसरी याद गर्ने? पूजा कसरी गर्ने? त्यसैले बाबाले सम्झाउनु हुन्छ– जब तिमी देह अभिमानमा आउँछौ तब पुजारी बन्छौ। भक्तिको समय सुरु हुन्छ, त्यसलाई भक्तिमार्ग भनिन्छ। ज्ञानमार्ग बेग्लै छ। ज्ञान र भक्ति सँगसँगै हुन सक्दैन। दिन र रात सँगसँगै हुन सक्दैन। दिन सुखलाई भनिन्छ र रात दु:ख अर्थात् भक्तिलाई भनिन्छ। भन्ने गरिन्छ– प्रजापिता ब्रह्माको दिन र रात। त्यसैले प्रजा र ब्रह्मा अवश्य दुवै सँगसँगै हुनुपर्छ नि। तिमीलाई थाहा छ– हामी ब्राह्मणले नै आधा कल्प सुख भोग्छौं फेरि आधा कल्प दु:ख। यो बुद्धिले सम्झने कुरा हो। यो पनि जानेका छौ– सबैले बाबालाई याद गर्न सक्दैनन् फेरि पनि बाबा स्वयं सम्झाइरहनु हुन्छ– आफूलाई आत्मा सम्झिएर मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। यो सन्देश सबैलाई पुर्याउनु छ। सेवा गर्नु छ। जसले सेवा नै गर्दैन उसलाई फूल मानिदैन। बगैँचाको मालिक (बागवान) बगैँचामा आउनु हुँदा उहाँलाई फूल नै सामुन्ने चाहिन्छ, जो सेवाधारी छन् धेरैको कल्याण गर्छन्। जसलाई देह अभिमान छ उनीहरू आफैले सम्झन्छन्– हामी त फूल होइनौं। बाबाको सामुन्ने त राम्रा राम्रा फूल बसेका छन्। त्यसैले बाबाको उनीहरू माथि नजर जान्छ। डान्स पनि राम्रो चल्छ। (नर्तकीको उदाहरण) विद्यालयमा शिक्षकले त जानेका हुन्छन् नि– को पहिलो नम्बर, को दोस्रो नम्बर, तेस्रोमा छन्। बाबाको पनि ध्यान सेवा गर्नेहरूतर्फ नै जान्छ। दिलमा पनि तिनै रहन्छन्। सेवामा डिससर्विस गर्नेहरू दिलमा कहाँ चढ्छन् र! बाबाले पहिला पहिला मुख्य कुरा सम्झाउनु हुन्छ– आफूलाई आत्मा निश्चय गर तब बाबाको याद रहन्छ। देह अभिमान भयो भने त बाबाको याद रहन सक्दैन। लौकिक सम्बन्धीतिर, घरधन्दातिर बुद्धि जान्छ। देहीअभिमानी भएपछि पारलौकिक बाबा नै याद आउने छ। बाबालाई त धेरै प्यारले याद गर्नुपर्छ। आफूलाई आत्मा सम्झन, यसमा मेहनत छ। एकान्त चाहिन्छ। ७ दिनको भट्ठीको कोर्स धेरै कडा छ। कसैको याद नआओस्। कसैलाई पत्र पनि लेख्न सक्दैनौ। यो तिम्रो सुरुको भट्ठी थियो। यहाँ त सबैलाई राख्न सकिँदैन, त्यसैले भनिन्छ घरमा रहेर अभ्यास गर। भक्तहरू पनि भक्तिको लागि बेग्लै कोठा बनाउँछन्। भित्र कोठामा बसेर माला जप्छन्, त्यसैगरी यस यादको यात्रामा पनि एकान्त चाहिन्छ। एक बाबालाई नै याद गर्नु छ। यसमा कुनै बोल्नु पर्ने पनि कुरा छैन। यस यादको अभ्यासमा फुर्सद चाहिन्छ।

तिमीलाई थाहा छ– लौकिक पिता हुन् हदका रचयिता, उहाँ हुनुहुन्छ बेहदका। प्रजापिता ब्रह्मा त बेहदका ठहरिए नि। बच्चाहरूलाई गोदमा लिन्छन्। शिवबाबाले गोद लिनुहुन्न। उहाँका त सदैव बच्चाहरू हुन् नै। तिमीले भन्छौ– शिवबाबाका हामी बच्चा आत्माहरू अनादि हौं नै। ब्रह्माले तिमीलाई गोद लिएका हुन्। हरेक कुरा राम्रोसँग बुझ्नु पर्ने हुन्छ। बाबा दिनदिनै बच्चाहरूलाई सम्झाउनु हुन्छ, भन्छन्– बाबा! याद रहँदैन। बाबा भन्नुहुन्छ– यसमा थोरै समय निकाल्नुपर्छ। कोही -कोही यस्ता हुन्छन् जसले बिल्कुलै समय दिन सक्दैनन्। बुद्धिमा धेरै काम हुन्छ, अनि यादको यात्रा कसरी हुन्छ? बाबा सम्झाउनु हुन्छ– मूल कुरा नै यो हो– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। म आत्मा हुँ शिवबाबाको बच्चा हुँ– यो त मनमनाभव भयो नि। यसमा मेहनत गर्नुपर्छ। आशीर्वादको कुरा छैन। यो त पढाइ हो यसमा कृपा वा आशीर्वाद चल्दैन। मैले कहिल्यै तिमी माथि हात राख्छु र? तिमीलाई थाहा छ– बेहदका बाबाबाट हामीले वर्सा लिइरहेका छौं। अमर भव, आयुष्मान् भव... यसमा सबै आउँछ। तिमीले पूरा आयु प्राप्त गर्छौ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। यो वर्सा कुनै साधु सन्त आदिले दिन सक्दैनन्। उनीहरूले भन्छन्– पुत्रवान् भव...। त्यसैले मनुष्यले सम्झन्छन् उनको कृपाबाट बच्चा भएको हो। पुगिहाल्यो, जसको बच्चा हुँदैन ऊ गएर उनको शिष्य बन्छ। ज्ञान त एकै पटक मिल्छ। यो हो अव्यभिचारी ज्ञान, जसको आधा कल्प प्रारब्ध चल्छ। फेरि हुन्छ अज्ञान। भक्तिलाई अज्ञान भनिन्छ। हरेक कुरा कति राम्ररी सम्झाइन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अहिले वानप्रस्थ अवस्था हो, त्यसैले बुद्धिबाट सबै कुराको संन्यास गरेर एक बाबाको यादमा रहनु छ। एकान्तमा बसेर अभ्यास गर्नु छ– म आत्मा हुँ... आत्मा हुँ।

२) सेवाधारी फूल बन्नु छ। देह अभिमानवश यस्तो कुनै कर्म गर्नु छैन, जसले गर्दा सेवामा डिससर्विस होस्। धेरैको कल्याणको निमित्त बन्नु छ। यादको लागि थोरै समय अवश्य निकाल्नु छ।

वरदान:–
परमात्म-ज्ञानको नवीनता ‘पवित्रता’ लाई धारण गर्ने सर्व लगावबाट मुक्त भव

यस परमात्म ज्ञानको नवीनता नै पवित्रता हो। नसाले भन्ने गर्छौ– आगो र कपास सँगै रहेर पनि आगो लाग्न सक्दैन। विश्वलाई तिमी सबैको यो चुनौती छ– पवित्रता विना योगी वा ज्ञानी आत्मा बन्न सकिँदैन। पवित्रता अर्थात् सम्पूर्ण लगावमुक्त। कुनै पनि व्यक्ति वा साधनहरूसँग पनि लगाव नहोस्। यस्तो पवित्रताद्वारा नै प्रकृतिलाई पावन बनाउने सेवा गर्न सक्नेछौ।

स्लोगन:–
पवित्रता तिम्रो जीवनको मुख्य आधार हो, कुनै पनि परिस्थितिमा धर्म नछोड।