01.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यस समयमा
निराकार बाबा साकारमा आएर तिम्रो शृङ्गार गर्नुहुन्छ , एक्लै होइन।”
प्रश्न:–
तिमी बच्चाहरू
यादको यात्रामा किन बस्छौ?
उत्तर:–
१) किनकि
तिमीलाई थाहा छ– यस यादबाट नै हामीलाई लामो आयु मिल्छ, हामी निरोगी बन्छौं। २) याद
गर्नाले हाम्रो पाप काटिन्छ। हामी सच्चा सुन बन्छौं। आत्माबाट रजो-तमोको खाद
निस्केर जान्छ, कञ्चन बन्छ। ३) यादबाटै तिमी पावन दुनियाँको मालिक बन्छौ। ४) तिम्रो
शृङ्गार हुन्छ। ५) तिमी धेरै धनवान बन्छौ। यस यादले नै तिमीलाई पदमापदम भाग्यशाली
बनाउँछ।
ओम् शान्ति ।
रूहानी
बच्चाहरूलाई रूहानी बाबाले सम्झाइरहनु भएको छ। यहाँ बसेर तिमीले के गरिरहेका छौ?
यस्तो होइन, केवल शान्तिमा बस्नु छ। अर्थ सहित ज्ञानमय अवस्थामा बसेका छौ। तिमी
बच्चाहरूलाई ज्ञान छ– बाबालाई हामीले किन याद गर्छौं। बाबाले हामीलाई धेरै लामो आयु
दिनुहुन्छ। बाबालाई याद गर्नाले हाम्रो पाप काटिन्छ। हामी सच्चा सुन, सतोप्रधान
बन्छौं। तिम्रो कति शृङ्गार हुन्छ। तिम्रो आयु लामो हुन्छ। आत्मा कञ्चन हुन्छ। अब
आत्मामा खाद परेको छ। यादको यात्रामा त्यो सबै खाद, जुन रजो-तमोको परेको छ, त्यो सबै
निस्केर जान्छ। यति तिमीलाई फाइदा हुन्छ। फेरि आयु लामो हुन्छ। तिमी स्वर्गको निवासी
बन्छौ, धेरै धनवान बन्छौ। तिमी पदमापपदम भाग्यशाली बन्छौ, त्यसैले बाबा भन्नुहुन्छ–
मनमनाभव, म एकलाई याद गर। कोही देहधारीको लागि भन्नुहुन्न। बाबाको त शरीर छैन।
तिम्रो आत्मा पनि निराकार थियो। फेरि पुनर्जन्ममा आउँदा-आउँदा पारसबुद्धिबाट
पत्थरबुद्धि बनिसकेको छ। अब फेरि कञ्चन बन्नु छ। अहिले तिमी पवित्र बनिरहेका छौ।
पानीको स्नान त जन्म-जन्मान्तर गर्यौ। हामी यसबाट पावन बन्छौं भनेर सम्झन्थौ, तर
पावन बन्नुको सट्टा अझै पतित बनेर नोक्सानमा पर्यौ किनकि यो हो नै झुटो माया...
सबैको झुटो बोल्ने संस्कार छ। बाबा भन्नुहुन्छ– म तिमीलाई पावन बनाएर जान्छु, फेरि
तिमीलाई पतित कसले बनाउँछ? अहिले तिमीले फील गर्छौ नि। कति गङ्गा स्नान गर्दै आयौ,
तर पावन त बनेनौ। पावन बनेर त पावन दुनियाँमा जानुपर्छ। शान्तिधाम र सुखधाम हो
पावनधाम। यो त हो नै रावणको दुनियाँ, यसलाई दु:खधाम भनिन्छ। यो त सजिलै बुझ्ने कुरा
हो नि। यसमा कुनै कठिनाइ नै छैन। न कसैलाई सुनाउन मुस्किल छ। जब कोही मिले भने भन–
आफूलाई आत्मा सम्झेर बेहदका बाबालाई याद गर्नुहोस्। आत्माहरूका पिता हुनुहुन्छ
परमात्मा शिव। हरेकका शरीरका त अलग अलग पिता छन्। आत्माहरूका त एउटै पिता हुनुहुन्छ।
कति राम्ररी सम्झाउनु हुन्छ, हिन्दीमा नै सम्झाउनु हुन्छ। हिन्दी भाषा नै मुख्य हो।
तिमीले पदमापदम भाग्यशाली यी देवताहरूलाई भन्छौ नि। यी कति भाग्यशाली छन्। यी
स्वर्गका मालिक कसरी बन्छन्, यो कसैलाई पनि थाहा छैन। अहिले तिमीलाई बाबाले
सुनाइरहनु भएको छ। यस सहज योगद्वारा यस पुरुषोत्तम सङ्गमयुगमा नै यस्ता बन्छन्।
अहिले हो पुरानो दुनियाँ र नयाँ दुनियाँको सङ्गम। फेरि तिमी नयाँ दुनियाँको मालिक
बन्छौ। अहिले बाबाले केवल भन्नुहुन्छ– दुई शब्द अर्थ सहित याद गर। गीतामा छ मनमनाभव।
पढ्न त पढ्छन्, तर अर्थ बिल्कुल जानेका छैनन्। बाबा भन्नुहुन्छ– मलाई याद गर किनकि
म नै पतित-पावन हुँ, अरू कसैले यसरी भन्न सक्दैन। बाबाले नै भन्नुहुन्छ– मलाई याद
गर्यौ भने तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ। पहिला तिमी सतोप्रधान थियौ, फेरि
पुनर्जन्म लिँदै लिँदै तमोप्रधान बन्यौ। अब ८४ जन्मपछि फेरि तिमी नयाँ दुनियाँमा
देवता बन्छौ।
रचयिता र रचना
दुवैलाई तिमीले जानिसकेका छौ। त्यसैले अहिले तिमी आस्तिक बनेका छौ। पहिला
जन्मजन्मान्तर तिमी नास्तिक थियौ। यो कुरा जुन बाबाले सुनाउनु हुन्छ, अरू कसैले
जानेकै छैनन्। जहाँ गए पनि कसैले पनि तिमीलाई यो कुरा सुनाउँदैनन्। अहिले दुवै
बाबाले तिम्रो शृङ्गार गरिरहनु भएको छ। पहिला त बाबा एक्लै हुनुहुन्थ्यो। शरीर विना
हुनुहुन्थ्यो। माथि बसेर तिम्रो शृङ्गार गर्न सक्नुहुन्न। भन्ने गर्छन् नि– १ र २
मिलाएर १२ हुन्छ। बाँकी प्रेरणा वा शक्ति आदिको कुरा होइन। माथिबाट प्रेरणाद्वारा
मिल्न सक्दैन। निराकारले साकार शरीरको आधार लिएपछि मात्र तिम्रो शृङ्गार गर्नुहुन्छ।
सम्झन्छन् पनि, बाबाले हामीलाई सुखधाममा लिएर जानुहुन्छ। ड्रामाको योजना अनुसार,
बाबा बाँधिनुभएको छ। उहाँलाई ड्युटी मिलेको छ। हरेक ५ हजार वर्षपछि आउनु हुन्छ, तिमी
बच्चाहरूको लागि। यस योगबलबाट तिमी कति कञ्चन बन्छौ। आत्मा र काया दुवै कञ्चन बन्छन्,
फेरि फोहोरी बन्छौ। अहिले तिमीले साक्षात्कार गर्छौ– यस पुरुषार्थबाट हामी यस्तो
शृङ्गारधारी बन्छौं। त्यहाँ क्रिमिनल आइ हुँदैन, तापनि सबै अङ्ग ढाकिएको हुन्छ। यहाँ
त हेर, रावण राज्यमा फोहोरी कुरा सिक्छन्। यी लक्ष्मी-नारायणलाई हेर, ड्रेस आदि कति
राम्रो छ। यहाँ सबै छन् देह अभिमानी। उनीहरूलाई देह अभिमानी भनिदैन। तिनको नेचुरल
ब्युटी हुन्छ। बाबाले तिमीलाई यस्तो नेचुरल ब्युटीफुल (सुन्दर) बनाउनु हुन्छ। आजकाल
त सच्चा गहना कसैले लगाउन पनि सक्दैनन्। कसैले लगाए भने उनैलाई लुट्छन्। त्यहाँ त
यस्तो कुनै कुरा हुँदैन। यस्ता बाबा तिमीलाई मिल्नुभएको छ, उहाँ विना त तिमी बन्न
सक्दैनौ। धेरैले भन्ने गर्छन्– मैले त सीधै शिवबाबासँग लिन्छु। तर उहाँले दिनुहुन्छ
नै कसरी? ठीक छ, कोसिस गरेर हेर, सीधै माँग। हेर मिल्छ! यस्तो धेरैले भन्छन्– हामीले
त शिवबाबासँग वर्सा लिन्छौं। ब्रह्मासँग सोध्ने पनि के आवश्यकता छ। शिवबाबाले
प्रेरणाबाट केही दिनुहुन्छ र! राम्रा राम्रा पुराना बच्चाहरू! तिनलाई पनि मायाले
यसरी काट्छ। एकलाई मात्र मान्छन्, तर एक्लै के गर्नुहुन्छ? बाबा भन्नुहुन्छ– म एक्लै
कसरी आऊँ। मुख विना कुरा कसरी गर्न सक्छु? मुखको त गायन छ नि। गोमुखबाट अमृत लिनको
लागि कति धक्का खान्छन्। फेरि श्रीनाथ द्वारेमा गएर दर्शन गर्छन्। तर तिनको दर्शन
गरेर के हुन्छ? त्यसलाई भनिन्छ भूत पूजा। त्यसमा आत्मा त छैन। बाँकी ५ तत्त्वहरूको
पुतला बनेको छ, त्यसैले मायालाई याद गर्नु जस्तै हो। ५ तत्त्व प्रकृति हो नि।
त्यसलाई याद गरेर के हुन्छ? प्रकृतिको आधार त सबैलाई हुन्छ, तर त्यहाँ हुन्छ
सतोप्रधान प्रकृति। यहाँ छ तमोप्रधान प्रकृति। बाबाले सतोप्रधान प्रकृतिको आधार
कहिल्यै लिनुपर्दैन। यहाँ त सतोप्रधान प्रकृति मिल्न सक्दैन। यी जति पनि साधुसन्त
छन्, बाबा भन्नुहुन्छ– यी सबैको उद्धार मैले गर्नुपर्छ। म निवृत्ति मार्गमा आउँदै
आउँदिनँ। यो हो नै प्रवृत्ति मार्ग। सबैलाई भन्छु, पवित्र बन। त्यहाँ त नाम-रूप आदि
सबै परिवर्तन हुन्छ। बाबा सम्झाउनु हुन्छ– हेर, नाटक कस्तो बनेको छ। एकको अनुहार
अर्कोसँग मिल्दैन। यति करोडौं छन्, सबैको अनुहार भिन्नै छ। जसले जति गरे पनि एकसँग
अर्कोको अनुहार मिल्न सक्दैन। यसलाई भनिन्छ कुदरत (प्रकृतिको चमत्कार), आश्चर्य।
स्वर्गलाई आश्चर्य भनिन्छ नि। स्वर्ग कति सुन्दर हुन्छ। मायाका ७ आश्चर्य, बाबाको
एक आश्चर्य। त्यो ७ आश्चर्य तराजुको एकातर्फ राख, यो एक आश्चर्य अर्कातर्फ राख,
तापनि यो गह्रौं हुन्छ। एकातर्फ ज्ञान, अर्कातर्फ भक्तिलाई राख्यौ भने ज्ञानतर्फ नै
भारी हुन्छ। अहिले तिमीले जान्दछौ– भक्ति सिकाउनेहरू धेरै छन्। ज्ञान दिनेवाला एउटै
बाबा हुनुहुन्छ। बाबा बसेर बच्चाहरूलाई पढाउनु हुन्छ, शृङ्गार गर्नुहुन्छ। बाबा
भन्नुहुन्छ– पवित्र बन तर भन्छन्, हामी त फोहोरी नै बन्छौं। गरूड पुराणमा पनि विषय
वैतरणी नदी देखाउँछन् नि। बिच्छी, छेपारो, सर्प आदि सबैले एक अर्कालाई डसिरहन्छन्।
बाबा भन्नुहुन्छ– तिमी कति अनाथ बन्छौ। तिमी बच्चाहरूलाई नै बाबाले सम्झाउनु हुन्छ।
बाहिर कसैलाई यसरी सीधा भन्यौ भने रिसाउँछन्। धेरै युक्तिले सम्झाउनु पर्ने हुन्छ।
कति बच्चाहरूमा बातचित गर्ने अक्कल पनि हुँदैन। साना बच्चाहरू एकदम इनोसेन्ट हुन्छन्।
त्यसैले उनलाई महात्मा भनिन्छ। कहाँ श्रीकृष्ण महात्मा, कहाँ यी संन्यासी निवृत्ति
मार्गवाला महात्मा कहलाउँछन्। त्यो हो प्रवृत्ति मार्ग। उनीहरू कहिल्यै
भ्रष्टाचारबाट जन्मिदैनन्। उनलाई भनिन्छ नै श्रेष्ठाचारी। अहिले तिमी श्रेष्ठाचारी
बनिरहेका छौ। बच्चाहरूले जानेका छौ– यहाँ बापदादा दुवै एकसाथ हुनुहुन्छ। दुवैले
अवश्य शृङ्गार राम्रै गर्नुहुन्छ। सबैको दिल हुन्छ नि– जसले यी बच्चाहरूलाई यस्तो
शृङ्गार गराउनु हुन्छ, हामी किन उहाँको पासमा नजाऔं। तिमी यहाँ आउँछौ रिफ्रेस हुन।
मनले आकर्षित गर्छ, बाबाको पासमा आउन। जसलाई पूरा निश्चय हुन्छ, उनले त भन्छन्, चाहे
मार्नुहोस्, चाहे जेसुकै गर्नुहोस्, हामी कहिल्यै साथ छोड्ने छैनौं। कसैले त विना
कारण पनि छोडिदिन्छन्। यो पनि ड्रामाको खेल बनेको छ। छोडपत्र वा डिभोर्स दिन्छन्।
बाबालाई थाहा छ– यी
रावणका वंशका हुन्। कल्प कल्प यस्तै हुन्छ। कोही फेरि आउँछन्। बाबा सम्झाउनु हुन्छ–
हात छोडेमा पद सानो हुन्छ। सम्मुख आउँछन्, प्रतिज्ञा गर्छन्– मैले यस्ता बाबाको हात
कहिल्यै छोड्दिनँ। तर माया रावण पनि कम छैन। तुरुन्त आफूतिर खिच्छ। फेरि सम्मुख आए
भने उनलाई सम्झाइन्छ। बाबाले लट्ठी कहाँ लगाउनु हुन्छ र! बाबाले त फेरि पनि प्रेमले
नै सम्झाउनु हुन्छ, तिमीलाई माया गोहीले खाने थियो, ठीकै भयो, जसबाट बचेर आयौ। घायल
भयौ भने पद सानो हुन्छ। जो सदैव एकरस रहन्छन्, उनीहरू कहिल्यै हट्ने छैनन्। कहिल्यै
हात छोड्ने छैनन्। यहाँबाट बाबालाई छोडेर मर्छन् र माया रावणका बन्छन्। त्यसैले
उनलाई मायाले अझै जोडसँग खान्छ। बाबा भन्नुहुन्छ– तिमीलाई कति शृङ्गार गर्छु।
सम्झाइन्छ– ठीकसँग चल। कसैलाई दु:ख नदेऊ। रगतले पनि लेखेर दिन्छन्, फेरि जस्ताको
त्यस्तै रहन पुग्छन्। माया धेरै शक्तिशाली छ। नाक कानमा समातेर धेरै तड्पाउँछ। अब
तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन्छु, त्यसैले विकारी दृष्टि कहिल्यै जानु हुँदैन।
विश्वको मालिक बन्नु छ भने केही मेहनत त गर्नुपर्छ नि। अहिले तिम्रो आत्मा र शरीर
दुवै तमोप्रधान छन्। खाद परेको छ। यस खादलाई भस्म गर्नको लागि बाबा भन्नुहुन्छ–
मलाई याद गर। तिमीले बाबालाई याद गर्न सक्दैनौ, लाज लाग्दैन? याद गरेनौ भने मायाको
भूतले तिमीलाई निल्नेछ। तिमी कति फोहोरी बनेका छौ, रावण राज्यमा एकजना पनि यस्तो
छैन, जो विकारबाट पैदा नभएको होस्। त्यहाँ यस विकारको नाम हुँदैन, रावण नै हुँदैन।
रावण राज्य हुन्छ नै द्वापरबाट। पावन बनाउने एउटै बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! एक जन्म मात्रै पवित्र बन्नु छ, त्यसपछि त विकारको कुरै हुँदैन।
त्यो हो नै निर्विकारी दुनियाँ। तिमीलाई थाहा छ– यी पवित्र देवी-देवता थिए, फेरि ८४
जन्म लिँदै लिँदै तल आएका हुन्। अहिले छन् पतित, त्यसैले पुकार्छन्– शिवबाबा
हामीलाई यस पतित दुनियाँबाट छुटाउनुहोस्। अहिले बाबा आइसकेपछि मात्र तिमीले बुझेका
छौ, यो पतित काम हो। पहिला बुझ्दैनथ्यौ किनकि तिमी रावण राज्यमा थियौ। अब बाबा
भन्नुहुन्छ– सुखधाम जानु छ भने फोहोरी बन्न छोड। आधाकल्प तिमी पतित बन्यौ। शिरमा
पापको बोझ धेरै छ, अनि तिमीले गाली पनि धेरै गर्यौ। बाबालाई गाली गर्नाले धेरै पाप
चढ्छ, यो पनि ड्रामामा पार्ट छ। तिम्रो आत्मालाई पनि ८४ को पार्ट मिलेको छ, त्यो
अभिनय गर्नु नै छ। हरेकले आफ्नो पार्ट खेल्नु छ। फेरि तिमी रून्छौ किन! सत्ययुगमा
कोही रूँदैन। फेरि ज्ञानको स्थिति (दशा) पूरा हुन्छ अनि उही रुने, पिट्ने सुरु
हुन्छ। मोहजितको कथा पनि तिमीले सुनेका छौ। यो त एक झुटो दृष्टान्त बनाएका छन्।
सत्ययुगमा कसैको अकालमा मृत्यु हुँदैन। मोहजित बनाउनेवाला त एउटै बाबा हुनुहुन्छ।
तिमी परमपिता परमात्माका वारिस बन्छौ, जसले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ।
आफैसँग सोध– म आत्मा उहाँको वारिस हुँ? बाँकी जिस्मानी पढाइमा के नै छ र! आजकाल त
पतित मानिसहरूको अनुहार पनि देख्नु हुँदैन, न बच्चाहरूलाई देखाउनु छ। बुद्धिले सदैव
सम्झ, हामी सङ्गमयुगमा छौं। एक बाबालाई नै याद गर्छौं, अरू सबैलाई देखेर पनि
देख्दैनौं। हामीले नयाँ दुनियाँलाई देख्छौं। हामी देवता बन्छौं, ती नयाँ
सम्बन्धहरूलाई नै देख्छौं। पुरानो सम्बन्धलाई देखेर पनि देख्दैनौं। यो सबै भस्म
हुनेवाला छ। हामी एक्लै आएका थियौं, फेरि एक्लै जान्छौं। बाबा एकैपटक आउनु हुन्छ,
साथमा लिएर जान। यसलाई शिवबाबाको बरियाँत भनिन्छ। सबै शिवबाबाका बच्चा हुन्। बाबाले
विश्वको बादसाही दिनुहुन्छ, मनुष्यबाट देवता बनाउनु हुन्छ। पहिला विष पिउँथ्यौं, अब
अमृत पिउँछौं। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) स्वयंलाई सङ्गमयुग निवासी सम्झेर हिँड्नु छ। पुरानो सम्बन्धलाई देखेर पनि देख्नु
छैन। बुद्धिमा रहोस्– हामी एक्लै आएका थियौं, एक्लै जानु छ।
२) आत्मा र शरीर
दुवैलाई कञ्चन बनाउनको लागि ज्ञानको तेस्रो नेत्रले हेर्ने अभ्यास गर्नु छ। विकारी
दृष्टि खतम गर्नु छ। ज्ञान र योगले आफ्नो शृङ्गार गर्नु छ।
वरदान:–
मनमनाभव भएर
अलौकिक विधिले मनोरञ्जन मनाउने बाबा समान भव
सङ्गमयुगमा यादगार
मनाउनु अर्थात् बाबा समान बन्नु। यो सङ्गमयुगको आनन्द उत्सव हो। खुब मनाऊ, तर
बाबासँग मिलन मनाउँदै मनाऊ। केवल मनोरञ्जनको रूपमा होइन, मनमनाभव भएर मनोरञ्जन मनाऊ।
अलौकिक विधिले अलौकिकताको मनोरञ्जन अविनाशी हुन जान्छ। सङ्गमयुगी दीपावलीको विधि–
पुरानो खाता खतम गर्नु, हरेक सङ्कल्प, हर घडी नयाँ अर्थात् अलौकिक होस्। पुरानो
सङ्कल्प, संस्कार-स्वभाव, चालचलन यो रावणको कर्जा हो, यसलाई एक दृढ सङ्कल्पद्वारा
समाप्त गर।
स्लोगन:–
कुराहरूलाई
देख्नुको सट्टा स्वयंलाई अनि बाबालाई देख।