02.06.24    Avyakt Bapdada     Nepali Murli    18.01.20     Om Shanti     Madhuban


ब्रह्माबाबा समान त्याग , तपस्या र सेवाको भाइब्रेशन विश्वमा फैलाऊ


आज समर्थ बापदादाले आफ्ना समर्थ बच्चाहरूलाई देखिरहनु भएको छ। आजको दिन स्मृति दिवस सो समर्थ दिवस हो। आजको दिन बच्चाहरूलाई सर्व शक्ति विल (वसियत) गरेको दिवस हो। दुनियाँमा अनेक प्रकारका विल हुन्छन् तर ब्रह्मा बाबाले बाबासँग प्राप्त भएका सर्व शक्तिहरूको विल बच्चाहरूलाई गर्नुभयो। यस्तो अलौकिक विल अरू कसैले पनि गर्न सक्दैन। बाबाले ब्रह्मा बाबालाई साकारमा निमित्त बनाउनुभयो र ब्रह्मा बाबाले बच्चाहरूलाई निमित्त भवको वरदान दिएर विल गर्नुभयो। यो विलले बच्चाहरूमा सहजै शक्तिहरूको अनुभूति गराइरहन्छ। एउटा हुन्छ आफ्नो पुरुषार्थको शक्ति र यो हो परमात्म विलद्वारा शक्तिहरूको प्राप्ति। यो प्रभु देन हो, प्रभु वरदान हो। यो प्रभु वरदानले चलाइरहेको छ। वरदानमा पुरुषार्थको मेहनत हुँदैन, यसले सहजै र स्वत: निमित्त बनाएर चलाइरहन्छ। सामुन्ने थोरै रहे तर बापदादाद्वारा, विशेष ब्रह्मा बाबाद्वारा विशेष बच्चाहरूलाई यो विल प्राप्त भएको छ र बापदादाले पनि देख्नुभयो– जुन बच्चाहरूलाई बाबाले विल गर्नुभयो, ती सबै बच्चाहरूले (आदि रत्नहरूले र सेवाको निमित्त बच्चाहरूले) त्यस प्राप्त विललाई राम्रोसँग कार्यमा लगाए। त्यस विलको कारण आज यो ब्राह्मण परिवार दिनप्रतिदिन बढ्दै गएको छ। बच्चाहरूको विशेषताको कारण यो वृद्धि हुनु थियो र भइरहेको छ।

बापदादाले देख्नुभयो– निमित्त बनेका र साथ दिने दुवै प्रकारका बच्चाहरूका दुई विशेषताहरू धेरै राम्रा छन्। पहिलो विशेषता– चाहे स्थापनाका आदि रत्न, चाहे सेवाका रत्न, दुवैमा सङ्गठनको एकता धेरै राम्रो छ। कसैमा पनि किन, के, कसरी... यो सङ्कल्प मात्र पनि रहेन। अर्को विशेषता– एकले भन्यो अर्कोले मान्यो। यो थप शक्तिको विलको वायुमण्डलमा विशेषता रहिरह्यो त्यसैले सर्व निमित्त बनेका आत्माहरूलाई बाबा बाबा नै देखिइरह्यो।

बापदादाले यस्ता समयमा निमित्त बनेका बच्चाहरूलाई दिलैदेखि प्यार दिइरहनु भएको छ। बाबाको कमाल त छ नै तर बच्चाहरूको कमाल पनि कम छैन। त्यस समयको सङ्गठन, एकता– हामी सबै एक हौं, त्यसले नै आज पनि सेवालाई बढाइरहेको छ। किन? निमित्त बनेका आत्माहरूको फाउण्डेसन पक्का रह्यो। बापदादाले पनि आजको दिन बच्चाहरूको कमाललाई गाइरहनु भएको थियो। बच्चाहरूले चारैतिरबाट प्यारको माला पहिराए र बाबाले बच्चाहरूको कमालको गुणगान गर्नुभयो। यति समय चल्नु छ, यो सोचेका थियौ? कति समय भयो? सबैको मुखबाट, दिलदेखि यही निस्किन्थ्यो, अब जानु छ, अब जानु छ.... तर बापदादालाई थाहा थियो– अझै अव्यक्त रूपको सेवा हुनु छ। साकारमा यति ठुलो हल बनाइएको थियो? बाबाका अति प्यारा डबल विदेशी आएका थिए? विशेष डबल विदेशीहरूको अव्यक्त पालनाद्वारा अलौकिक जन्म हुनु नै थियो, यतिका सबै बच्चाहरूलाई आउनु नै थियो। त्यसैले ब्रह्मा बाबाले आफ्नो साकार शरीर पनि छोड्नु पर्यो। डबल विदेशीहरूलाई नसा छ– हामी अव्यक्त पालनाका पात्र हौं?

ब्रह्मा बाबाको विशेष त्याग ड्रामामा निश्चित छ। आदिदेखि ब्रह्मा बाबाको त्याग र तिमी बच्चाहरूको भाग्य निश्चित छ। सबैभन्दा नम्बरवन त्यागको उदाहरण ब्रह्माबाबा बने। त्याग त्यसलाई भनिन्छ– जसले सबैथोक प्राप्त हुँदाहुँदै पनि त्याग गर्छ। समय अनुसार, समस्याहरू अनुसारको त्याग श्रेष्ठ त्याग होइन। सुरुदेखि नै हेर तन, मन, धन, सम्बन्ध, सर्व प्राप्ति हुँदाहुँदै पनि त्याग गरे। शरीरको पनि त्याग गरे, सबै साधन भएर पनि स्वयं पुरानोमा नै रहे। साधनहरूको आरम्भ भएको थियो। भएर पनि साधनामा अटल रहे। यो ब्रह्माको तपस्याले तिमी सबै बच्चाहरूको भाग्य बनायो। ड्रामा अनुसार यस्तो त्यागको उदाहरण रूप ब्रह्मा नै बने र यसै त्यागले सङ्कल्प शक्तिको सेवाको विशेष पार्ट बनायो। जो नयाँ नयाँ बच्चाहरू सङ्कल्प शक्तिद्वारा तीव्र रूपमा बढिरहेका छन्। सुन्यौ ब्रह्माको त्यागको कथा?

ब्रह्माको तपस्याको फल तिमी बच्चाहरूलाई मिलिरहेको छ। तपस्याको प्रभाव यस मधुबन भूमिमा समाहित छ। साथमा बच्चाहरू पनि छन्, बच्चाहरूको पनि तपस्या छ तर निमित्त त ब्रह्माबाबालाई भनिन्छ। जति पनि मधुबन तपस्वी भूमिमा आउँछन्, ती ब्राह्मण बच्चाहरूले पनि अनुभव गर्छन्– यहाँको वायुमण्डल, यहाँको भाइब्रेशनले सहजयोगी बनाइदिन्छ। योग लगाउने मेहनत हुँदैन, सजिलै लाग्छ। जस्तोसुकै आत्मा आए पनि उसले केही न केही अनुभव गरेर नै जान्छन्। ज्ञानलाई नबुझे पनि अलौकिक प्यार र शान्तिको अनुभव गरेर नै जान्छ। केही न केही परिवर्तन गर्ने सङ्कल्प गरेर नै जान्छ। यो हो ब्रह्मा र ब्राह्मण बच्चाहरूको तपस्याको प्रभाव। साथमा सेवाको विधि हेर– भिन्न-भिन्न प्रकारको सेवा बच्चाहरूद्वारा प्राक्टिकलमा गराएर देखाउनुभयो। त्यसै विधिलाई अहिले विस्तारमा ल्याइरहेका छौ। जसरी ब्रह्माबाबाको त्याग, तपस्या, सेवाको फल तिमीहरू सबै बच्चालाई मिलिरहेको छ, त्यसैगरी हरेक बच्चाले आफ्नो त्याग, तपस्या र सेवाको भाइब्रेशन विश्वमा फैलाउनु छ। जसरी साइन्सको बलले आफ्नो प्रभाव प्रत्यक्ष रूपमा देखाइरहेको छ, त्यसैगरी साइन्सको पनि रचयिता साइलेन्स बल हो। साइलेन्स बललाई अब प्रत्यक्ष देखाउने समय हो। साइलेन्स बलको भाइब्रेशन तीव्रगतिले फैलाउने साधन हो– मन बुद्धिको एकाग्रता। यो एकाग्रताको अभ्यास बढ्नु पर्छ। एकाग्रताको शक्तिद्वारा नै वायुमण्डल बनाउन सक्छौ। हलचलको कारण शक्तिशाली भाइब्रेशन बन्न पाउँदैन।

बापदादाले आज देखिरहनु भएको थियो– अहिले एकाग्रताको शक्ति धेरै चाहिन्छ। सबै बच्चाहरूको एउटै दृढ सङ्कल्प होस्– अब आफ्ना भाइ-बहिनीका दुःखका घटनाहरू परिवर्तन हुन्। दिलैदेखि दया इमर्ज होस्। के जब साइन्सको शक्तिले हलचल मच्चाउन सक्छ भने यतिका सबै ब्राह्मणहरूको साइलेन्सको शक्ति, रहमदिल भावनाद्वारा वा सङ्कल्पद्वारा हलचललाई परिवर्तन गर्न सक्दैन! जब गर्नु नै छ, हुनु नै छ भने यस कुरामा विशेष अटेन्सन देऊ। तिमी ग्रेट ग्रेट ग्रेन्ड फादरका बच्चाहरू हौ, तिम्रै सबै वंश हुन्, शाखा हुन्, परिवार हुन्, तिमी नै भक्तहरूको इष्टदेव हौ। हामी नै इष्ट देव हौँ, यो नशा छ? भक्त चिल्लाइरहेका छन्, तिमीले सुनिरहेका छौ! उनीहरूले पुकारिरहेका छन्– हे इष्ट देव भनेर। तिमीले केवल सुनिरहेका छौ, उनीहरूलाई जवाफ दिँदैनौ? बापदादा भन्नुहुन्छ– हे भक्तहरूका इष्टदेव! अब पुकार सुन, जवाफ देऊ, केवल नसुन। के जवाफ दिनेछौ? परिवर्तनको वायुमण्डल बनाऊ। तिम्रो जवाफ उनीहरूलाई मिलेन भने ती पनि सुस्त हुन्छन्। चिल्लाउँछन् अनि चुप लाग्छन्।

ब्रह्माबाबाको हर कार्यको उत्साहलाई त देखेकै छौ। जसरी सुरु सुरुमा उमङ्ग थियो, चाबी चाहियो। अहिले पनि ब्रह्माबाबाले शिवबाबासँग यही भन्नुहुन्छ– अब घरको ढोकाको चाबी दिनुहोस्। तर साथ जानेहरू पनि त तयार होउन्। एक्लैले के गर्ने! त्यसैले अब साथै जानु छ नि? कि पछि पछि जाने हो? साथै जानु छ हैन? ब्रह्माबाबा भन्नुहुन्छ– बच्चाहरूसँग सोध्नुहोला, यदि बाबाले चाबी दिनुभएमा तिमीहरू एवररेडी छौ? एवररेडी छौ कि रेडी छौ? रेडी होइन, एवररेडी। त्याग, तपस्या, सेवा– तीनै पेपरमा तयार भइसक्यौ? ब्रह्माबाबा मुस्कुराउनुहुन्छ– प्यारका आँसु धेरै बगाउँछन्, ब्रह्माबाबाले ती आँसुलाई मोती समान दिलमा राख्नुहुन्छ पनि तर एक सङ्कल्प अवश्य चल्छ– सबै एवररेडी कहिले बन्लान्! डेट दिउन्। तिमीले भन्छौ– म त एवररेडी छु, तर तिम्रा जुन साथी छन्, उनीहरूलाई पनि त बनाऊ कि उनलाई छोडेर जान्छौ? तिमीहरूले भन्छौ– ब्रह्माबाबा पनि त जानु भयो नि! तर उहाँलाई त यो रचना रच्नु थियो। उहाँको फास्ट वृद्धिको जिम्मेवारी थियो। त्यसोभए सबै एवररेडी छौ? एकजना मात्र होइन। सबैलाई साथ लिएर जानु छ नि, कि एक्ला एक्लै जानेछौ? सबै एवररेडी छौ कि हुनेछौ? भन। कम से कम ९ लाख त साथमा जाउन्। नत्र राज्य कोमाथि गर्छौ? आफैमाथि राज्य गर्छौ? त्यसैले ब्रह्माबाबाको सबै बच्चाहरूप्रति यही शुभकामना छ– एवररेडी बनेर अरूलाई एवररेडी बनाउन्।

आज वतनमा पनि सबै विशेष आदि रत्न र सेवाका आदि रत्न इमर्ज भए। एडभान्स पार्टीले भन्छन् हामी त तयार छौँ। कुन कुराको लागि तयार छन्? उनले भन्छन् यिनीहरूले प्रत्यक्षताको नगारा बजाएमा हामी सबै प्रत्यक्ष भएर नयाँ सृष्टिको रचनाको निमित्त बन्नेछौँ। हामीले त आह्वान गरिरहेका छौँ– नयाँ सृष्टिको रचना गर्नेहरू आऊ। अब सारा काम तिमीहरू माथि छ। नगारा बजाऊ। आउनुभयो, आउनुभयो...को नगारा बजाऊ। नगारा बजाउन आउँछ? बजाउनु त छ नि! अहिले ब्रह्माबाबाले भन्नुहुन्छ– डेट लिएर आऊ। तिमीहरूले पनि भन्छौ नि– डेट बिना काम हुँदैन। त्यसोभए यसको पनि डेट बनाऊ। डेट बनाउन सक्छौ? बाबाले त भन्नुहुन्छ तिमीहरूले बनाऊ। बाबा भन्नुहुन्छ– आजै बनाऊ। सम्मेलनको डेट फिक्स गरेका छौ, त्यस्तै यसको पनि सम्मेलन गर न! विदेशीहरूले के सम्झन्छौ, डेट फिक्स हुन सक्छ? डेट फिक्स गर्नेछौ? हुन्छ नि! अच्छा, दादी जानकीको साथमा राय लिएर गर्नु। अच्छा!

देश विदेशका चारैतिरका, बापदादाका अति समीप, अति प्यारा र न्यारा, बापदादा देखिरहनु भएको छ– सबै बच्चाहरू लगनमा मग्न भएर लभलीन स्वरूपमा बसिरहेका छन्। सुनिरहेका छन् र मिलनको झुलामा झुलिरहेका छन्। टाढा छैनन् बरू नयनको सम्मुखमा पनि होइन, समाहित छन्। यस्ता सम्मुख मिलन मनाउने र अव्यक्त रूपमा लभलीन बच्चाहरू, सदा बाबा समान त्याग, तपस्या र सेवाको सबुत देखाउने सपुत बच्चाहरू, सदा एकाग्रताको शक्तिद्वारा विश्वको परिवर्तन गर्ने विश्व परिवर्तक बच्चाहरू, सदा बाबा समान तीव्र पुरुषार्थद्वारा उड्ने डबल लाइट बच्चाहरूलाई बापदादाको धेरै धेरै याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

राजस्थान का सेवाधारी:– राजस्थानलाई सेवाको धेरै राम्रो चान्स मिल्यो। राजस्थानको जस्तो राजस्थान नाम छ, त्यस्तै राजस्थानबाट राजा क्वालिटी निकाल। प्रजा होइन, राजघरानाका राजा निकाल। तब जस्तो नाम राजस्थान छ, नाम जस्तै सेवाको क्वालिटी निस्किने छ। छन् कुनै छिपेका राजाहरू? कि अहिले बादलभित्र छन्? त्यसो त जो बिजनेसमेन हुन्, उनीहरूको सेवामा विशेष अटेन्सन देऊ। यी मन्त्री र सचिवहरू त फेरिइरहन्छन् तर बिजनेसमेन बाबासँग पनि बिजनेस गर्न अगाडि बढ्न सक्छन्। यसरी बिजनेसमेनको सेवा गरेमा उनको परिवारका माताहरू पनि सहजै आउन सक्छन्। एक्लै माताहरू चल्न सक्दैनन् तर यदि घरका स्तम्भ आए भने परिवार आफै बिस्तारै बिस्तारै बढ्दै जान्छन्। त्यसैले राजस्थानले राजा क्वालिटी निकाल्नु छ। यस्तो कोही छैन, यस्तो नभन। अलिकति खोज्नु पर्छ तर छन्। उनीहरूको लागि अलिकति समय दिनुपर्छ। बिजी रहन्छन् नि! कुनै यस्तो विधि बनाउनु पर्छ, जसबाट ती नजिक आउन्। बाँकी राम्रो छ, सेवाको चान्स लियौ, हरेक जोनले लिन्छ, यो धेरै राम्रो समीप आउने र आशीर्वाद लिने साधन हो। चाहे तिमीहरूलाई सबैले देखुन् कि नदेखुन्, चिनुन् कि नचिनुन्, तर जति राम्रो सेवा हुन्छ त्यति आशीर्वाद स्वत: निस्कन्छ र त्यो आशीर्वाद धेरै चाँडो पुग्छ। दिलको आशीर्वाद हो नि! त्यसैले दिलमा चाँडो पुग्छ। बापदादाले त भन्नुहुन्छ सबैभन्दा सहज पुरुषार्थ हो आशीर्वाद देऊ र आशीर्वाद लेऊ। आशीर्वादले खाता भरियो भने भरपुर खातामा मायाले पनि डिस्टब गर्दैन। जम्माको बल मिल्छ। राजी रहेर सबैलाई राजी बनाऊ। हरेकको स्वभावको राजलाई जानेर राजी गर। यस्तो नभन यो त हुन्छ नै नाराज। तिमी स्वयंले राजलाई जान, त्यसको नाडी छामेर फेरि आशीर्वादको दबाई देऊ। अनि सहज हुनेछ। ठीक छ नि राजस्थान! राजस्थानका टिचरहरू उठ। सेवाको बधाई छ। सहज पुरुषार्थ गर, आशीर्वाद दिँदै जाऊ। लिने सङ्कल्प नगर, दिँदै जाऊ अनि मिल्दै जानेछ। दिनु नै लिनु हो। ठीक छ नि! यस्तो हौ नि! दाताका बच्चाहरू हौ नि! कसैले दिएमा दिउँला, होइन। दाता बनेर दिदैँ गयौ भने आफै मिल्नेछ। अच्छा!

जो यस कल्पमा पहिलो पटक आएका छौ, उनीहरूले हात उठाऊ। आधा पहिलाका आउँछन्, आधा नयाँ आउँछन्। राम्रो। पछाडि बस्नेहरू, छेउमा बसेकाहरू सबै सहजयोगी हौ? सहज योगी हौ भने एक हात उठाऊ। अच्छा!

बिदाइको समय:– (बापदादालाई रथ यात्राको समाचार सुनाइयो) चारैतिरका यात्राका समाचार समय प्रति समय बापदादाको पासमा आइरहन्छ। राम्रो, सबैले उमङ्ग-उत्साहसँग सेवाको पार्ट खेलिरहेका छन्। भक्तहरूलाई आशीर्वाद मिलिरहेको छ र जुन भक्तहरूको भक्ति पूरा भयो, उनीहरूलाई बाबाको परिचय मिल्नेछ र परिचय पाएकाहरूबाट जो बच्चाहरू बन्ने छन्, ती पनि आउँदै जान्छन्। बाँकी सेवा राम्रो चलिरहेको छ र जति पनि साधन बनाएका छौ, ती साधनले सबैलाई राम्रो आकर्षित गरिरहेका छन्। अब रिजल्टमा को को कुन वर्गमा निस्कन्छन् त्यो थाहा हुनेछ तर भक्तहरूलाई पनि तिमीहरू सबैको नजर, दृष्टि मिल्यो, परिचय मिल्यो– यो पनि राम्रो साधन हो। अब अगाडि बढेर यिनीहरूको सेवा गरेर अगाडि बढाइरहनु। जति पनि रथ यात्रामा सेवा गरिहेका छन्, अथक बनेर सेवा गरिरहेका छन्, तिनीहरू सबैलाई याद-प्यार। बापदादाले सबैलाई देखिरहनु हुन्छ। सफलता त जन्म सिद्ध अधिकार हो। अच्छा!

मरीससमा हाम्रो ईश्वरीय विश्व विद्यालयलाई नेसनल युनिटी अवार्ड प्रधानमन्त्रीद्वारा मिलेको छ:– मरीससमा त्यसै पनि भी.आई.पी.को कनेक्सन राम्रो रहेको छ र प्रभाव पनि राम्रो छ त्यसैले गुप्त सेवाको फल मिलेको छ यसमा सबैलाई खास बधाई छ। अच्छा, ओम् शान्ति।

वरदान:–
श्वास श्वासमा याद र सेवाको सन्तुलनद्वारा आशीर्वाद प्राप्त गर्ने सदा प्रसन्नचित्त भव

जसरी यादको लिङ्क सदा जुटिरहोस् भनेर अटेन्सन राख्छौत्यसैगरी सेवामा पनि सदा लिङ्क जुटिरहोस्। श्वास श्वासमा याद अनि श्वास श्वासमा सेवा होस्,यसलाई भनिन्छ सन्तुलन,यस सन्तुलनद्वारा सदा आशीर्वादको अनुभव गरिरहनेछौ र यही आवाज दिलबाट निस्कनेछ– आशीर्वादद्वारा पालना लिइरहेको छु। मेहनतबाट,युद्धबाट छुट्नेछौ। के,किन,कसरी– यी प्रश्नहरूबाट मुक्त भएर सधैं प्रसन्नचित्त रहनेछौ। त्यसपछि सफलता जन्म सिद्ध अधिकारको रूपमा अनुभव हुनेछ।

स्लोगन:–
बाबाबाट इनाम लिनु छ भने स्वयंबाट र साथीहरूबाट निर्विघ्न रहेको सर्टिफिकेट साथमा हुनुपर्छ।