02.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी यहाँ यादमा रहेर पाप दग्ध गर्नको लागि आएका छौ। त्यसैले बुद्धियोग निष्फल नजाओस् , यस कुराको पूरा ध्यान रा ख्नु छ ।”

प्रश्न:–
कुनचाहिँ सूक्ष्म विकारले पनि अन्त्यमा कठिनाइ खडा गरिदिन्छ?

उत्तर:–
यदि सूक्ष्ममा लालचको विकार छ, कुनै कुरा लालचको कारण जम्मा गरेर आफूसँग राख्यौ भने त्यही अन्त्यमा कठिनाइको रूपमा याद आउँछ, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूसँग केही पनि नराख। तिमीले सबै सङ्कल्पलाई समेटेर बाबाको यादमा रहने आदत बसाल्नुपर्छ, त्यसैले देहीअभिमानी बन्ने अभ्यास गर।

ओम् शान्ति ।
बाबा बच्चाहरूलाई दिनदिनै याद दिलाउनु हुन्छ– देहीअभिमानी बन किनकि बुद्धि यताउता जान्छ। अज्ञानकालमा पनि कथा वार्ता सुन्दा बुद्धि बाहिर भट्किन्छ। यहाँ पनि भट्किन्छ, त्यसैले दिनदिनै भन्नुहुन्छ– देहीअभिमानी बन। उनीहरूले त भन्छन्– हामीले जे भन्छौं त्यसमा ध्यान देऊ, धारण गर। शास्त्रले जे भन्छ त्यो वचन ध्यानमा राख। यहाँ त बाबा आत्माहरूलाई सम्झाउनु हुन्छ– तिमी सबै विद्यार्थीहरू देहीअभिमानी भएर बस। शिवबाबा आउनु हुन्छ पढाउनको लागि। यस्तो कुनै कलेज छैन, जहाँ सम्झिन्छन्– शिवबाबा पढाउन आउनु हुन्छ। यस्तो स्कुल हुनुपर्छ नै पुरुषोत्तम सङ्गमयुगमा। विद्यार्थी बसेका छन् र यो पनि जान्दछन्– परमपिता परमात्मा आउनु हुन्छ हामीलाई पढाउन। शिवबाबा आउनु हुन्छ हामीलाई पढाउन। सबै भन्दा पहिलो कुरा सम्झाउनु हुन्छ– तिमीहरू पावन बन्नु छ, त्यसैले म एकलाई याद गर तर मायाले घरी घरी भुलाइदिन्छ, त्यसैले बाबाले सावधान गर्नुहुन्छ। कसैलाई सम्झाउनु छ भने पनि पहिलो मुख्य कुरा सम्झाऊ– भगवान को हुनुहुन्छ? भगवान जो पतित-पावन दु:खहर्ता सुखकर्ता हुनुहुन्छ, उहाँ कहाँ हुनुहुन्छ? उहाँलाई त याद सबैले गर्छन्। कुनै आपत्ति आयो भने भन्छन् हे भगवान! दया गर्नुहोस्। कसैलाई बचाउनु छ भने पनि भन्छन्– हे भगवान, ओ गड हामीलाई दु:खबाट मुक्त गर्नुहोस्! दु:ख त सबैलाई छ। यो त राम्रोसँग थाहा छ– सत्ययुगलाई सुखधाम भनिन्छ, कलियुगलाई दु:खधाम भनिन्छ। यो बच्चाहरूले जानेका छौ फेरि पनि मायाले भुलाइदिन्छ। यो यादमा बसाउने चलन पनि ड्रामामा छ किनकि धेरै छन् जसले सारा दिन याद गर्दैनन्, एक मिनेट पनि याद गर्दैनन् फेरि याद दिलाउनको लागि यहाँ बसाइन्छ। पक्का बनुन् भनेर याद गर्ने युक्ति बताइन्छ। बाबाको यादद्वारा नै हामी सतोप्रधान बन्नु छ। बाबाले सतोप्रधान बन्ने फस्टक्लास रियल युक्ति बताउनु भएको छ। पतित-पावन त एउटै हुनुहुन्छ, उहाँ आएर युक्ति बताउनु हुन्छ। यहाँ तिमी बच्चाहरू शान्तिमा तब बस्छौ जब बाबासँग योग हुन्छ। यदि बुद्धिको योग यताउता गयो भने शान्तिमा छैनौ, मतलब अशान्त छौ। जति समय यताउता बुद्धियोग गयो, त्यो निष्फल भयो किनकि पाप त काटिँदैन। दुनियाँले यो जानेका छैनन्– पाप कसरी काटिन्छ! यो धेरै सूक्ष्म कुरा हो। बाबाले भन्नुभएको छ, मेरो यादमा बस, जबसम्म यादको तार जुटिरहन्छ, त्यति समय सफल भयो। अलिकति पनि बुद्धि यताउता गयो भने त्यो समय व्यर्थ गयो, निष्फल भयो। बाबाको निर्देशन छ नि– मलाई याद गर, यदि याद गरेनौ भने निष्फल भयो। यसबाट के हुन्छ? तिमीहरू छिटै सतोप्रधान बनेनौ भने फेरि आदत पर्नेछ– यो भइरहन्छ। आत्माले यस जन्मको पापलाई त जान्दछ। हुन त कसैले भन्छन्– हामीलाई याद छैन, तर बाबा भन्नुहुन्छ– ३-४ वर्षदेखि लिएर सबै कुरा याद रहन्छ। सुरु मा यति पाप हुँदैन, जति पछि हुन्छ। दिनप्रतिदिन आँखा विकारी बन्दै जान्छन्, त्रेतामा दुई कला कम हुन्छन्। चन्द्रमाको २ कला कसरी कम हुन्छन्? बिस्तारै बिस्तारै कम हुँदै जान्छ फेरि १६ कला सम्पूर्ण पनि चन्द्रमालाई भनिन्छ, सूर्यलाई भनिदैन। चन्द्रमाको हो एक महिनाको कुरा, यो फेरि हो कल्पको कुरा। दिनप्रतिदिन तल उत्रिदै जान्छन्। फेरि यादको यात्राद्वारा माथि चढ्न सक्छन्। त्यसपछि आवश्यक हुँदैन जसकारण याद गरेर माथि चढौं। सत्ययुगपछि फेरि उत्रिनु छ। सत्ययुगमा पनि याद गर्ने हो भने त तल झर्ने थिएनौ। ड्रामा अनुसार उत्रिनु नै छ, त्यसैले याद नै गर्दैनौ। उत्रिनु पनि अवश्य पर्छ फेरि याद गर्ने उपाय बाबाले नै बताउनु हुन्छ किनकि माथि जानु छ। सङ्गममा नै आएर बाबाले सिकाउनु हुन्छ– अब चढ्ती कला सुरु हुन्छ। हामी फेरि आफ्नो सुखधाममा जानु छ। बाबा भन्नुहुन्छ– अब सुखधाममा जानु नै छ भने मलाई याद गर। यादद्वारा तिम्रो आत्मा सतोप्रधान बन्छ।

तिमीहरू दुनियाँ भन्दा निराला छौ, वैकुण्ठ दुनियाँ भन्दा बिलकुल न्यारा छ। वैकुण्ठ थियो, अहिले छैन। कल्पको आयु लामो बनाइदिएको कारण भुलेका छन्। अहिले तिमी बच्चाहरूलाई त वैकुण्ठ धेरै नजिक देखिनमा आउँछ। बाँकी थोरै समय छ। यादको यात्रामा नै कमी छ, त्यसैले सम्झन्छन् अझै समय छ। यादको यात्रा जति हुनुपर्ने हो त्यति छैन। तिमीले सन्देश पुर्याउँछौ ड्रामा योजना अनुसार। कसैलाई सन्देश दिएनौ मतलब सेवा गरेनौ। सारा दुनियाँमा सन्देश पुर्याउनु छ– बाबा भन्नुहुन्छ– म एकलाई याद गर। गीता पढ्नेले जानेका छन्, एउटै गीताशास्त्र छ, जसमा यो महावाक्य छ। तर त्यसमा कृष्ण भगवानुवाच लेखिदिएका छन्, त्यसैले याद कसलाई गर्ने? गर्न त शिवको भक्ति गर्छन् तर यथार्थ ज्ञान छैन जसकारण श्रीमत अनुसार चल्छन्। अहिले तिमीहरूलाई मिल्छ ईश्वरीय मत, यो भन्दा पहिला थियो मानव मत। दुवैमा रातदिनको फरक छ। मानव मतले भन्छ– ईश्वर सर्वव्यापी हुनुहुन्छ। ईश्वरीय मतले भन्दैन। बाबा भन्नुहुन्छ– म आएको छु स्वर्गको स्थापना गर्न, त्यसैले अवश्य यो नर्क हो। यहाँ ५ विकार सबैमा प्रवेश छन्। दुनियाँ विकारी छ तब त म आउँछु निर्विकारी बनाउनको लागि। जो ईश्वरका बच्चाहरू बन्छन् उनीहरूसँग विकार त हुन सक्दैन। रावणको चित्र १० शिर भएको देखाउँछन्। कहिल्यै कसैले भन्न सकेनन्– रावण सृष्टि निर्विकारी थियो। तिमीलाई थाहा छ– अहिले रावण राज्य हो, सबैमा ५ विकार छन्। सत्ययुगमा हुन्छ रामराज्य, कुनै पनि विकार हुँदैन। अहिले मनुष्य कति दु:खी छन्। शरीरलाई कति दु:ख हुन्छ, यो हो दु:खधाम, सुखधाममा त शारीरिक दु:ख पनि हुँदैन। यहाँ त कति हस्पिटलहरू भरिएका छन्, यसलाई स्वर्ग भन्नु पनि ठुलो भुल हो। त्यसैले बुझेर अरूलाई बुझाउनु छ, त्यो पढाइ कसैलाई बुझाउनको लागि होइन। परीक्षा पास गर्यो अनि नोकरीमा गयो। यहाँ त तिमीहरूले सबैलाई सन्देश दिनु छ। केवल एक बाबाले कहाँ दिनु हुन्छ र! जो धेरै होसियार छन् उनीहरूलाई टिचर भनिन्छ, कम होसियार छन् भने उनीहरूलाई विद्यार्थी भनिन्छ। तिमीहरू सबैले सन्देश दिनु छ, सोध्नु छ भगवानलाई चिन्नु भएको छ? उहाँ त सबैको पिता हुनुहुन्छ। त्यसैले मुख्य कुरा हो बाबाको परिचय दिनु किनकि कसैले चिनेका छैनन्। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ, सारा विश्वलाई पावन बनाउनेवाला हुनुहुन्छ। सारा विश्व पावन थियो, जसमा भारतवर्ष मात्रै थियो। अरू कुनै धर्मकाले भन्न सक्दैनन्– हामी नयाँ दुनियाँमा आएका छौं। उनीहरूले त सम्झन्छन्– हामी भन्दा अघि कोही थिए र गए। क्राइस्ट पनि अवश्य कसैमा आउँछन्। उनी भन्दा अगाडि अवश्य कोही थिए। बाबा बसेर सम्झाउनु हुन्छ– म यस ब्रह्मा तनमा प्रवेश गर्छु। ब्रह्माको तनमा आउनु हुन्छ– यो पनि कसैले मान्दैनन्। अरे, ब्राह्मण त अवश्य चाहिन्छ। ब्राह्मण कहाँबाट आउँछन्। अवश्य ब्रह्माद्वारा नै आउँछन् नि। ब्रह्माको पिता को हुनुहुन्छ, कहिल्यै सुनेका छौ? उहाँ हुनुहुन्छ ग्रेट-ग्रेट ग्र्यान्ड फादर। उहाँको साकार पिता कोही छैन। ब्रह्माको साकार पिता को हो? कसैले बताउन सक्दैन। ब्रह्मा भनेर त गायन गरिएको छ। प्रजापिता पनि छन्। जसरी निराकार शिवबाबा भन्नुहुन्छ– उहाँको पिता को हुन् बताउनुहोस्? फेरि साकार प्रजापिता ब्रह्माको पिता को हुन् बताउनुहोस्? शिवबाबालाई त कसैबाट एडप्ट गरिएको होइन। यी एडप्ट गरिएका हुन्। विष्णुलाई शिवबाबाले एडप्ट गर्नुभएको हो, यस्तो भनिदैन। यो त तिमीलाई थाहा छ– ब्रह्मा सो विष्णु बन्छन्। एडप्ट त भएनन्। शङ्करको लागि पनि बताइएको छ, उनको कुनै पार्ट छैन। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा यो ८४ को चक्र हो। शङ्कर फेरि कहाँबाट आए। उनको रचना कहाँ छ। बाबाको त रचना छ, उहाँ सबै आत्माहरूको बाबा हुनुहुन्छ र ब्रह्माका रचना हुन् सबै मनुष्य। शङ्करको रचना कहाँ छ? शङ्करद्वारा कुनै मनुष्य दुनियाँ रचिदैन। बाबा आएर यो सबै कुरा सम्झाउनु हुन्छ फेरि पनि बच्चाहरूले घरी घरी भुल्छन्। हरेकको बुद्धि नम्बरवार छ नि। जति बुद्धि त्यति टिचरको पढाइ धारण गर्न सक्छौ। यो हो बेहदको पढाइ। पढाइ अनुसार नै नम्बरवार पद पाउँछौ। हुन त पढाइ एउटै छ मनुष्यबाट देवता बन्ने तर डिनायस्टी (घराना) बन्छ नि। यो पनि बुद्धिमा आउनु पर्छ– मैले कुनचाहिँ पद पाउने छु? राजा बन्नु त मेहनतको काम हो। राजाहरूको साथमा दास-दासी पनि चाहिन्छन्। दास-दासी को बन्छ, यो पनि तिमीले बुझ्न सक्छौ। नम्बरवार पुरुषार्थ अनुसार हरेकलाई दासीहरू मिल्छन्। त्यसैले यस्तो पढ्नु छैन जसकारण दास-दासी बन्नु परोस्। पुरुषार्थ गर्नु छ उच्च बन्ने।

सच्चा शान्ति बाबाको यादमा छ, अलिकति पनि बुद्धि यताउता गयो भने समय व्यर्थ जान्छ। कमाइ कम हुन्छ। सतोप्रधान बन्न सक्दैनौ। यो पनि सम्झाइएको छ– हातद्वारा काम गरिराख, दिलले बाबालाई याद गर। शरीरलाई स्वस्थ राख्नको लागि घुम्नु फिर्नु गरे पनि बुद्धिमा बाबाको याद रहोस्। यदि साथमा कोही छ भने फाल्तु कुरा गर्नु छैन। यो त हरेकको दिलले गवाही (प्रमाण) दिन्छ। बाबाले सम्झाउनु हुन्छ– यस्तो अवस्थामा चक्कर लगाऊ, जसरी पादरीहरू एकदम शान्तिमा जान्छन्। तिमीहरूले सारा समय ज्ञानको कुरा त गर्दैनौ, त्यसैले शान्तिमा रहेर शिवबाबाको यादमा दौडनु पर्छ। जसरी खाने समयमा बाबा भन्नुहुन्छ– यादमा बसेर खाऊ, आफ्नो चार्ट हेर। बाबाले आफ्नो कुरा बताउँछन्– मैले भुल्छु। कोसिस गर्छु, बाबालाई भन्छु– बाबा म पूरा समय यादमा रहन्छु। हजुरले मेरो खोकी बन्द गरिदिनु होस्। सुगर घटाइदिनु होस्। आफूले जुन मेहनत गर्छु, त्यो बताउँछु। तर म स्वयंले नै भुल्छु भने खोकी कसरी कम हुन्छ। जुन कुरा बाबासँग गर्छु, त्यो सही सुनाउँछु। बाबाले बच्चाहरूलाई बताउँछन्, तर बच्चाहरूले बाबालाई सुनाउँदैनन्, लाज लाग्छ। कुचो लगाउँदा, खाना बनाउँदा पनि शिवबाबाको यादमा बनायौ भने तागत आउँछ। यो पनि युक्ति चाहिन्छ, यसमा तिम्रो नै कल्याण हुन्छ फेरि तिमी यादमा बस्यौ भने अरूलाई पनि आकर्षण हुन्छ। एक अर्कामा आकर्षण त हुन्छ नि। जति तिमी धेरै यादमा रहन्छौ त्यति गहिरो सन्नाटा छाउँछ। ड्रामा अनुसार एक अर्काको प्रभाव पर्छ। यादको यात्रा त धेरै कल्याणकारी छ, यसमा झुटो बोल्ने आवश्यकता छैन। सच्चा बाबाका बच्चा हौ त्यसैले सच्चा भएर चल्नु छ। बच्चाहरूलाई सबै कुरा मिल्छ। विश्वको बादसाही मिल्छ भने फेरि लोभ गरेर १०-२० साडीहरू किन जम्मा गर्छौ। यदि धेरै चीज जम्मा गरिरहन्छौ भने मर्ने बेलामा पनि याद आउने छ। त्यसैले उपमा दिइन्छ– स्त्रीले उनको पतिलाई भनिन् लट्ठी पनि छोडिदिनुहोस्, नत्र यो पनि याद आउने छ। केही पनि याद हुनु हुँदैन। नत्र आफैलाई समस्या हुन्छ। झुटो बोल्नाले सय गुणा पाप चढ्छ। शिवबाबाको भण्डारा सदैव भरपुर रहन्छ, धेरै राख्ने पनि आवश्यक के छ र। जसको चोरी हुन्छ उसलाई सबै कुरा दिइन्छ। तिमी बच्चाहरूलाई बाबाबाट रजाइँ मिल्छ भने के कपडा आदि नमिल्ला। केवल फाल्तु खर्च गर्नु हुँदैन किनकि स्वर्गको स्थापनामा अबलाहरूले नै मदत गर्छन् । उनीहरूको पैसा यत्तिकै बर्बाद पनि गर्नु हुँदैन। उनीहरूले तिम्रो पालना गर्छन् भने तिम्रो काम हो उनीहरूलाई पालना गर्नु। नत्र शिरमा सय गुणा पाप चढ्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एक बाबाको यादमा बस्दा अलिकति पनि बुद्धि यताउता भट्किनु हुँदैन। सदा कमाइ जम्मा भइरहनु छ। याद यस्तो हुनु छ जसबाट सन्नाटा छाओस्।

२) शरीरलाई स्वस्थ राख्नको लागि घुम्न फिर्न जाँदा आपसमा परचिन्तन गर्नु छैन। जिभ्रोलाई शान्त राखेर बाबालाई याद गर्ने रेस गर्नु छ। भोजन पनि बाबाको यादमा खानु छ।

वरदान:–
निश्चयबुद्धि बनेर कमजोर सङ्कल्पको जाललाई समाप्त गर्ने सफलता सम्पन्न भव

अहिलेसम्म धेरै बच्चाहरूले कमजोर सङ्कल्पलाई स्वयं नै इमर्ज गर्छन्। सोच्छन्– खै, होला कि नहोला, के होला.... यी कमजोर सङ्कल्प नै पर्खाल बन्छन् र सफलता त्यस पर्खालभित्र हराउँछ। मायाले कमजोर सङ्कल्पको जालो फिजाइदिन्छ, त्यही जालमा फस्छन्। त्यसैले म निश्चयबुद्धि विजयी हुँ, सफलता मेरो जन्मसिद्ध अधिकार हो– यस स्मृतिबाट कमजोर सङ्कल्पलाई समाप्त गर।

स्लोगन:–
तेस्रो, ज्वालामुखी नेत्र खुल्ला रह्यो भने माया शक्तिहीन बन्छ।