02.08.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो निजी संस्कार पवित्रता हो , तिमी रावणको सङ्गमा आएर पतित बन्यौ , अब फेरि पावन बनेर पावन दुनियाँको मालिक बन्नु छ।”

प्रश्न:–
अशान्तिको कारण र यसको निवारण के हो?

उत्तर:–
अशान्तिको कारण हो अपवित्रता। अब भगवान पितासँग प्रतिज्ञा गर– म पवित्र बनेर पवित्र दुनियाँ बनाउने छु, आफ्नो दृष्टिलाई पवित्र राख्छु, विकारी बन्ने छैन अनि मात्र अशान्ति हट्न सक्छ। तिमी शान्ति स्थापना गर्न निमित्त बनेका बच्चाहरूले कहिल्यै अशान्ति फैलाउन सक्दैनौ। तिमी शान्त रहनु पर्छ, मायाको गुलाम बन्नु छैन।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– गीताका भगवानले गीता सुनाउनु भयो। एकपटक सुनाएर फेरि जानु भयो। अहिले तिमी बच्चाहरूले गीताका भगवानसँग त्यही गीताको ज्ञान सुनिरहेका छौ र राजयोग पनि सिकिरहेका छौ। उनीहरूले त लेखिएको गीता पढेर कण्ठ गर्छन् फेरि मानिसहरूलाई सुनाइरहन्छन्। त्यो पनि फेरि शरीर छोडेर गएपछि अर्को जन्ममा बच्चा बनेर फेरि त सुनाउन सक्दैनन्। अहिले बाबाले तिमीलाई गीता सुनाइरहनु हुन्छ, जबसम्म तिमीले रजाइँ प्राप्त गर्दैनौ। लौकिक शिक्षकले पाठ पनि पढाइरहन्छन्। पाठ पूरा नभएसम्म सिकाइरहन्छन्। पाठ पूरा भएपछि फेरि हदको कमाइमा लाग्छन्। शिक्षकसँग पढ्यो, कमाइ गर्यो, वृद्ध भयो, शरीर छोड्यो, फेरि गएर अर्को शरीर लिन्छन्। उनीहरूले गीता सुनाउँछन्, अब यसबाट प्राप्ति के हुन्छ? यो त कसैलाई थाहा छैन। गीता सुनाएर फेरि अर्को जन्ममा बच्चा भएपछि सुनाउन सक्दैन। जब हुर्किन्छन्, पाको बन्छन्, गीतापाठी हुन्छन् अनि फेरि सुनाउँछन्। यहाँ बाबाले त एकै पटक शान्तिधामबाट आएर पढाउनु हुन्छ, फेरि गइहाल्नुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीलाई राजयोग सिकाएर म आफ्नो घर जान्छु। जसलाई पढाउँछु उनीहरूले फेरि आएर आफ्नो प्रारब्ध भोग्छन्। आफ्नो कमाइ गर्छन्, नम्बरवार पुरुषार्थ अनुसार धारणा गरेर फेरि जान्छन्। कहाँ? नयाँ दुनियाँमा। यो पढाइ हो नै नयाँ दुनियाँको लागि। पुरानो दुनियाँ खतम भएर नयाँ स्थापना हुन्छ, यो मनुष्यले जानेका छैनन्। तिमीलाई थाहा छ– हामीले राजयोग सिक्छौं नै नयाँ दुनियाँको लागि। फेरि न यो पुरानो दुनियाँ, न पुरानो शरीर हुन्छ। आत्मा त अविनाशी छ। आत्माहरू पवित्र बनेर फेरि पवित्र दुनियाँमा आउँछन्। नयाँ दुनियाँ थियो, जसमा देवी-देवताहरूको राज्य थियो, जसलाई स्वर्ग भनिन्छ। त्यो नयाँ दुनियाँ बनाउनेवाला भगवान नै हुनुहुन्छ। उहाँले एक धर्मको स्थापना गराउनु हुन्छ। कुनै देवताद्वारा गराउनुहुन्न। देवता त यहाँ छँदै छैनन्। अवश्य कोही मनुष्यद्वारा नै ज्ञान दिनुहुन्छ जो फेरि देवता बन्छन्। फेरि तिनै देवताहरू पुनर्जन्म लिँदा लिँदा अहिले ब्राह्मण बनेका छन्। यो रहस्य तिमी बच्चाहरूले नै जानेका छौ– भगवान त हुनुहुन्छ निराकार जसले नयाँ दुनियाँ रच्नुहुन्छ। अहिले त रावण राज्य हो। तिमीले सोध्छौ– कलियुगी पतित हुनुहुन्छ कि सत्ययुगी पावन हुनुहुन्छ? तर बुझ्दैनन्। अब बाबा बच्चाहरूलाई भन्नुहुन्छ– मैले ५ हजार वर्ष पहिला पनि तिमीलाई सम्झाएको थिएँ। म आउँछु नै तिमी बच्चाहरूलाई आधाकल्प सुखी बनाउन। फेरि रावण आएर तिमीलाई दु:खी बनाउँछ। यो सुख-दु:खको खेल हो। कल्पको अवधि ५ हजार वर्ष हो त्यसैले आधा-आधा गर्नु पर्ने हुन्छ। रावण राज्यमा सबै देह अभिमानी विकारी बन्छन्। यी कुरा पनि तिमीले अहिले बुझेका छौ, पहिला बुझ्दैनथ्यौ। कल्प कल्प जसले बुझेका थिए, उनैले बुझ्छन्। जो देवता बन्नेवाला छैनन्, ती आउँदा पनि आउँदैनन्। तिमीले देवता धर्मको कलमी लगाउँछौ। त्यो वृक्ष आसुरी तमोप्रधान बन्न पुग्छ अनि त्यसलाई दैवी वृक्षको भनिदैन। वृक्ष पनि नयाँ हुँदा सतोप्रधान थियो। हामी त्यसका पातहरू देवी-देवता थियौं, फेरि रजो, तमोमा आयौं, पुराना पतित शूद्र भयौं। पुरानो दुनियाँमा पुराना मानिसहरू नै हुन्छन्। पुरानोलाई फेरि नयाँ बनाउनु पर्ने हुन्छ। अब देवी-देवता धर्म नै प्राय: लोप भइसकेको छ। बाबा पनि भन्नुहुन्छ– जब-जब धर्मको ग्लानि हुन्छ, कुन धर्मको ग्लानि हुन्छ? अवश्य भन्नु पर्ने हुन्छ– आदि सनातन देवी-देवता धर्मको, जुन धर्म मैले स्थापना गरेको थिएँ। त्यो धर्म नै प्राय: लोप भएको छ। त्यसको सट्टा अधर्म भएको छ। जब धर्मको भन्दा अधर्मको वृद्धि हुँदै जान्छ, तब बाबा आउनु हुन्छ। यस्तो भनिदैन– धर्मको वृद्धि, धर्म त प्राय: लोप भइसकेको छ। बाँकी अधर्मको वृद्धि भएको छ। वृद्धि त सबै धर्मको हुन्छ। एक क्राइस्टद्वारा कति क्रिस्चियन धर्मको वृद्धि हुन्छ। बाँकी देवी-देवता धर्म प्राय: लोप भइसकेको छ। पतित बनेको कारण स्वयंले नै ग्लानि गर्छन्। धर्मबाट अधर्म पनि यही नै बन्छ। अरू त सबै ठीकै चलिरहेका छन्। सबै आ-आफ्ना धर्ममा कायम रहन्छन्। जुन आदि सनातन देवी-देवता धर्म निर्विकारी थियो, त्यो विकारी बनिसकेको छ। मैले पावन दुनियाँ स्थापना गरें, फेरि त्यही पतित, शूद्र बन्छ अर्थात् त्यस धर्मको ग्लानि हुन पुग्छ। अपवित्र बनेपछि आफ्नै ग्लानि गराउँछन्। विकारमा गएर पतित बन्छन्, आफूलाई देवता कहलाउन सक्दैनन्। स्वर्गबाट परिवर्तन भएर नर्क भयो। त्यसैले कोही पनि वाह! वाह! (पावन) छँदै छैनन्। तिमी कति फोहोरी पतित बनेका छौ। बाबा भन्नुहुन्छ– तिमीलाई वाह! वाह! फूल बनाएँ फेरि रावणले तिमीलाई काँडा बनाइदियो। पावनबाट पतित बन्न पुग्यौ। आफ्नै धर्मको हालत देख्नु छ। पुकार्छन् पनि, आएर हाम्रो हालत त हेर्नुहोस्, हामी कति पतित बनेका छौं। फेरि हामीलाई पावन बनाउनुहोस्। पतितबाट पावन बनाउन बाबा आउनु हुन्छ त्यसैले फेरि पावन बन्नुपर्छ। अरूलाई पनि बनाउनु पर्छ।

तिमी बच्चाहरूले आफैलाई हेर्दै जाऊ– म सर्वगुण सम्पन्न बनेको छु? मेरो चालचलन देवताहरूको जस्तो छ? देवताहरूको राज्यमा त विश्वमा शान्ति थियो। अब फेरि विश्वमा शान्ति कसरी स्थापना हुन सक्छ, यो तिमीलाई सिकाउन आएको छु। त्यसैले तिमी पनि शान्तिमा रहनु पर्छ। शान्त हुने युक्ति बताउँछु– मलाई याद गरेमा तिमी शान्त भएर, शान्तिधाममा जान्छौ। कुनै बच्चाहरूले त शान्तिमा रहेर अरूलाई पनि शान्तिमा रहन सिकाउँछन्। कसैले त अशान्ति गरिदिन्छन्। स्वयं अशान्त रहन्छन् त्यसैले अरूलाई पनि अशान्त बनाइदिन्छन्। शान्तिको अर्थ बुझ्दैनन्। यहाँ आउँछन् शान्ति सिक्न, फेरि यहाँबाट गएपछि अशान्त हुन्छन्। अशान्ति हुन्छ नै अपवित्रताबाट। यहाँ आएर प्रतिज्ञा गर्छन्– बाबा, हामी हजुरकै हौं। हजुरबाट विश्वको बादसाही लिनु छ। हामी पवित्र रहेर फेरि विश्वको मालिक अवश्य बन्छौं। फेरि घरमा गएपछि मायाले तुफानमा आउँछ। युद्ध हुन्छ नि, हैन? फेरि मायाको गुलाम (दास) बनेर पतित बन्न चाहन्छन्। अबलाहरूमाथि अत्याचार उनैले गर्छन्, जसले प्रतिज्ञा पनि गर्छन्– म पवित्र रहन्छु, फेरि मायाको आक्रमण भएपछि प्रतिज्ञा भुल्छन्। भगवानसँग प्रतिज्ञा गर्छन्–म पवित्र बनेर पवित्र दुनियाँको वर्सा लिन्छु, पवित्र दृष्टि राख्छु, कुदृष्टि राख्ने छैन, विकारमा जाने छैन, कुदृष्टि छोड्छु। फेरि पनि माया रावणसँग हार खान्छन्। जो निर्विकारी बन्न चाहन्छन्, उनलाई सताउँछन् त्यसैले भनिन्छ– अबलाहरूमाथि अत्याचार हुन्छ। पुरुष त बलवान हुन्छन्, स्त्री निर्बल हुन्छन्। लडाइँ आदिमा पनि पुरुष जान्छन् किनकि बलवान हुन्छन्। स्त्री नाजुक हुन्छन्। उनीहरूको कर्तव्य नै अलग हुन्छ, उनीहरूले घर सम्हाल्छन्, बच्चा जन्माउँछन्, तिनको पालना गर्छन्। यो पनि बाबाले सम्झाउनु हुन्छ– त्यहाँ हुन्छ नै एक बच्चा, त्यो पनि विकारको नाम हुँदैन। यहाँ त संन्यासीहरूले पनि कहिलेकाहिँ भनिदिन्छन्– एउटा बच्चा त अवश्य हुनुपर्छ, अपवित्र दृष्टिवाला ठगले यस्तै शिक्षा दिन्छन्। अब बाबा भन्नुहुन्छ– यस समयको बच्चा के कामको हुन्छ, जबकि विनाश सम्मुख खडा छ, सबै खतम हुन्छ। म आएको नै हुँ पुरानो दुनियाँको विनाश गर्न। त्यो भयो संन्यासीहरूको कुरा, उनीहरूलाई त विनाशको कुरा थाहै छैन। तिमीलाई बेहदका बाबाले सम्झाउनु हुन्छ, अब विनाश हुनु छ। तिम्रा बच्चाहरू वारिस (हकदार) बन्न सक्ने छैनन्। तिमीले सम्झन्छौ– हाम्रो कुलको निसानी रहोस् तर पतित दुनियाँको कुनै निसानी रहने छैन। तिमीले सम्झन्छौ– पावन दुनियाँ थियो, मनुष्यहरूले याद पनि गर्छन् किनकि पावन दुनियाँ थियो, जसलाई स्वर्ग भनिन्छ। तर अब तमोप्रधान हुनाको कारण बुझ्न सक्दैनन्। उनको दृष्टि अपवित्र छ। यसलाई भनिन्छ धर्मको ग्लानि। आदि सनातन धर्ममा यस्तो कुरा हुँदैन। पुकार्छन्– पतित-पावन आउनुहोस्, हामी पतित दु:खी छौं। बाबा सम्झाउनु हुन्छ– मैले तिमीहरूलाई पावन बनाएँ, फेरि माया रावणको कारण तिमी पतित बन्यौ। अब फेरि पावन बन। पावन बन्छौ, फेरि मायाको युद्ध चल्छ। बाबासँग वर्सा लिने पुरुषार्थ गरिरहेको थियो, तर फेरि कालो मुख पारिदियो भने वर्सा कसरी पाउने छ? बाबा आउनु हुन्छ नै गोरो बनाउन। देवताहरू जो गोरा थिए, उनै काला बनेका हुन्। देवताहरूको नै कालो शरीर बनाउँछन्, क्राइस्ट, बुद्ध आदिलाई कहिल्यै कालो देखेका छौ? देवी-देवताहरूको चित्र कालो बनाउँछन्। जो सर्वका सद्गतिदाता परमपिता परमात्मा, सबैका पिता हुनुहुन्छ, उहाँलाई भन्ने गर्छन्– परमपिता परमात्मा आएर मुक्त गर्नुहोस्, फेरि उहाँ कालो कसरी हुन सक्नुहुन्छ, उहाँ त सदैव गोरो, सदा पावन हुनुहुन्छ। कृष्णले त अर्को शरीर लिन्छन्, तापनि पवित्र त हुन्छन् नि। महान् आत्मा देवताहरूलाई भनिन्छ। श्रीकृष्ण त देवता थिए। अहिले त कलियुग हो, कलियुगमा महान् आत्मा कहाँबाट आउने? श्रीकृष्ण त सत्ययुगका प्रथम राजकुमार थिए। उनमा दैवी गुण थिए। अहिले त देवता आदि कोही छँदै छैनन्। साधु सन्त पवित्र बन्छन् तैपनि पुनर्जन्म विकारबाट लिन्छन्। फेरि संन्यास धारण गर्नु पर्ने हुन्छ। देवताहरू त सदैव पवित्र हुन्छन्। यो रावण राज्य हो। रावणका १० शिर देखाउँछन्– ५ स्त्रीका, ५ पुरुषका। यो पनि जान्दछन्– ५ विकार हरेकमा छन्, देवताहरूमा पनि हुन्छ त भनिदैन नि। त्यो त हो नै सुखधाम। त्यहाँ पनि रावण हुने हो भने फेरि दु:खधाम हुन्छ। मनुष्यले सम्झन्छन्– देवताहरूले पनि त बच्चा जन्माउँछन्, उनीहरू पनि त विकारी ठहरिए। उनलाई यो थाहै छैन– देवताहरूको गायन गरिन्छ सम्पूर्ण निर्विकारी। त्यसैले त उनीहरूको पूजा हुन्छ। संन्यासीहरूको पनि मिसन हुन्छ। केवल पुरुषहरूलाई संन्यास गराएर मिसन बढाउँछन्। बाबाले फेरि प्रवृत्ति मार्गको नयाँ मिसन बनाउनु हुन्छ। जोडीलाई नै पवित्र बनाउनु हुन्छ। फेरि तिमी गएर देवता बन्छौ। तिमी यहाँ संन्यासी बन्नको लागि आएका होइनौ। तिमी त आएका छौ विश्वको मालिक बन्न। उनीहरूले त फेरि गृहस्थमा जन्म लिन्छन्। फेरि निस्किन्छन्। तिम्रो संस्कार नै पवित्रताको हो। अब अपवित्र बनेका छौ फेरि पवित्र बन्नु छ। बाबाले पवित्र गृहस्थ आश्रम बनाउनु हुन्छ। पावन दुनियाँलाई सत्ययुग, पतित दुनियाँलाई कलियुग भनिन्छ। यहाँ कति पाप आत्माहरू छन्। सत्ययुगमा यी कुरा हुँदैनन्। बाबा भन्नुहुन्छ– जब जब धर्मको ग्लानि हुन्छ अर्थात् देवी-देवता धर्मावलम्बी पतित बन्छन्, आफ्नो ग्लानि गराउँछन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई पावन बनाएँ फेरि तिमी पतित बन्यौ, कुनै कामका रहेनौ। जब यस्तो पतित बन्छौ, तब फेरि पावन बनाउन म आउनु पर्छ। यो ड्रामाको चक्र हो, जुन घुमिरहन्छ। स्वर्गमा जानको लागि फेरि दैवी गुण पनि चाहिन्छ। क्रोध हुनु हुँदैन। क्रोध छ भने ऊ मानौँ असुर कहलाउने छ। अवस्था धेरै शान्तचित्त हुनुपर्छ। क्रोध गर्यौ भने भन्छन्, यसमा क्रोधको भूत छ। कसैमा कुनै पनि भूत छ भने ऊ देवता बन्न सक्दैन। नरबाट नारायण बन्न सक्दैन। देवता त हुन्छन् निर्विकारी, यथा राजा-रानी तथा प्रजा निर्विकारी हुन्छन्। भगवान बाबाले नै आएर सम्पूर्ण निर्विकारी बनाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबासँग पवित्रताको प्रतिज्ञा गरेका छौ त्यसैले मायाको आक्रमणबाट आफूलाई बचाइरहनु छ। कहिल्यै मायाको गुलाम बन्नु छैन। यस प्रतिज्ञालाई बिर्सिनु छैन किनकि अब पावन दुनियाँमा जानु छ।

२) देवता बन्नको लागि अवस्थालाई एकदमै शान्तचित्त बनाउनु छ। कुनै पनि भूत प्रवेश हुन दिनु छैन। दैवी गुण धारण गर्नु छ।

वरदान:–
फरिश्ता स्वरूपको स्मृतिद्वारा बाबाको छत्रछायाको अनुभव गर्ने विघ्नजित भव

अमृतबेला उठ्नासाथ स्मृतिमा ल्याऊ म फरिश्ता हुँ। ब्रह्माबाबालाई मन पर्ने यही उपहार देऊ, अनि हरेक दिन अमृतबेला बापदादाले तिमीलाई आफ्नो भुजामा समाहित गर्नुहुन्छ। अनुभव गर्नेछौ– बाबाको भुजामा, अतीन्द्रिय सुखमा झुलिरहेको छु। जो फरिश्ता स्वरूपको स्मृतिमा रहन्छन् उनीहरूको अगाडि कुनै परिस्थिति वा विघ्न आयो भने पनि बाबा उनीहरूको लागि छत्रछाया बन्नुहुन्छ। त्यसैले बाबाको छत्रछाया वा प्यारको अनुभव गर्दै विघ्नजित बन।

स्लोगन:–
सुख स्वरूप आत्माले स्व-स्थितिद्वारा परिस्थितिमाथि सहजै विजय प्राप्त गर्छ।