03.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यस बेहद नाटकलाई सदा स्मृतिमा राख्यौ भने अपार खुसी हुन्छ , यस नाटकमा जो राम्रा पुरुषार्थी हुन् र अनन्य छन् , उनीहरूको पूजा पनि अधिक हुन्छ।”

प्रश्न:–
कुनचाहिँ स्मृतिले दुनियाँका सबै दु:खहरूबाट मुक्त गरिदिन्छ, हर्षित रहने युक्ति के हो?

उत्तर:–
सदा स्मृति रहोस्– अब हामी भविष्य नयाँ दुनियाँमा जाँदैछौं। भविष्यको खुसीमा रह्यौ भने दु:ख भुल्छौ। विघ्नको दुनियाँमा विघ्न त आउँछन् तर स्मृति रहोस्– यस दुनियाँमा हामी बाँकी थोरै दिन मात्र छौं, तब हर्षित रहन्छौ।

गीत:–
जाग सजनियाँ जाग......।

ओम् शान्ति ।
यो गीत धेरै राम्रो छ। गीत सुन्नासाथ माथिबाट लिएर ८४ जन्मको रहस्य बुद्धिमा आउँछ। यो पनि बच्चाहरूलाई सम्झाइएको छ, तिमी माथिबाट आउँदा सूक्ष्मवतन हुँदै आउँदैनौ। अब सूक्ष्मवतन भएर जानु छ। सूक्ष्मवतन बाबाले अहिले नै देखाउनुहुन्छ। सत्ययुग-त्रेतामा यस ज्ञानको कुरा पनि हुँदैन। न कुनै चित्र आदि हुन्छन्। भक्तिमार्गमा त अथाह चित्र छन्। देवी आदिको पूजा पनि धेरै हुन्छ। दुर्गा, काली, सरस्वती सबै एउटै हुन् तर नाम कति राखेका छन्। जसले राम्रो पुरुषार्थ गर्छन्, अनन्य छन् उनीहरूको पूजा पनि बढी हुन्छ। तिमीले जानेका छौ– हामी नै पुज्यबाट पुजारी बनेर बाबाको र आफ्नो पूजा गर्छौं। यी बाबाले पनि नारायणको पूजा गर्थे नि। अचम्मको खेल छ। जसरी नाटक देख्दा खुसी हुन्छ नि, त्यसैगरी यो पनि बेहदको नाटक हो, यसलाई कसैले पनि जान्दैन। तिम्रो बुद्धिमा अब सारा ड्रामाको रहस्य छ। यस दुनियाँमा कति अथाह दु:ख छ। तिमीलाई थाहा छ– अब थोरै समय बाँकी छ, हामी नयाँ दुनियाँमा गइरहेका छौं। भविष्यको खुसी सम्झना रह्यो भने त्यसले यस दु:खलाई हटाइदिन्छ। लेख्छन् बाबा धेरै विघ्न पर्छन्, घाटा पर्छ। बाबा भन्नुहुन्छ– जस्तोसुकै विघ्न आओस्, आज लखपति छौ भोलि कखपति (कङ्गाल) बने पनि तिमी त भविष्यको खुसीमा रहनु छ नि। यो हो नै रावणको आसुरी दुनियाँ। चल्दा-चल्दै कुनै न कुनै विघ्न पर्छ। यस दुनियाँमा बाँकी थोरै दिन छन् फेरि हामी अथाह सुखमा जान्छौं। बाबा भन्नुहुन्छ नि– हिजो श्याम थिए, गाउँलेका छोरा थिए, अहिले बाबाले हामीलाई ज्ञान दिएर सुन्दर बनाइरहनुभएको छ। तिमीलाई थाहा छ– बाबा बीजरूप हुनुहुन्छ, सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँलाई परम आत्मा भनिन्छ। उहाँ उच्च भन्दा उच्च स्थानमा रहनुहुन्छ, पुनर्जन्ममा आउनुहुन्न। हामी सबै जन्ममरणमा आउँछौं, उहाँ रिजर्भमा रहनुहुन्छ। उहाँले त अन्त्यमा आएर सबैको सद्गति गर्नु छ। तिमीले भक्तिमार्गमा जन्मजन्मान्तर गाउँदै आएका छौ– बाबा हजुर आउनु भयो भने हामी हजुरकै बन्छौं। मेरो त एक बाबा दोश्रो न कोही। हामी बाबाको साथमा नै जान्छौं। यो हो दु:खको दुनियाँ। भारतवर्ष कति गरिब छ। बाबा भन्नुहुन्छ– मैले भारतवर्षलाई धनवान बनाएको थिएँ फेरि रावणले नर्क बनाएको छ। अहिले तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ। गृहस्थ व्यवहारमा पनि त धेरै रहन्छन्। सबैलाई यहाँ त बस्नुछैन। गृहस्थ व्यवहारमा रहेर रङ्गिन कपडा लगाऊ, कसले भन्छ सेतो लुगा लगाऊ। बाबाले कहिल्यै कसैलाई भन्नुभएको छैन। तिमीलाई अरू राम्रो लाग्दैन त्यसैले सेतो लुगा लगाएका हौ। हुन त तिमीले यहाँ सेतो लुगा लगाउँछौ, तर रङ्गिन कपडा लगाएर पनि त्यस ड्रेसमा पनि धेरैको कल्याण गर्न सक्छौ। माताहरूले आफ्ना पतिलाई पनि सम्झाउँछन्– भगवानुवाच छ पवित्र बन। देवताहरू पवित्र छन् त्यसैले त उनलाई ढोग्छन्। पवित्र बन्नु त राम्रो हो नि। अहिले तिमीलाई थाहा छ– सृष्टिको अन्त्य हुँदैछ। धेरै पैसा के गर्छौ। आजकाल कति डाँका लाग्छन्, कति घुसखोरी छ। यो अहिलेको लागि गायन छ– कसैको माटो मुनी दबिन्छ... सफल उसैको हुन्छ जसले ईश्वर अर्थ लगाउँछ। धनी त अहिले सम्मुख हुनुहुन्छ। समझदार बच्चाहरूले आफ्नो सबैथोक धनीको नाममा सफल गर्छन्।

सबै मनुष्यहरूले त पतितले पतितलाई नै दान गर्छन्। यहाँ त पुण्य आत्माहरूको दान लिनु छ। ब्राह्मण सिवाय अरू कसैसँग सम्बन्ध छैन। तिमी हौ पुण्य आत्माहरू। तिमीले पुण्यको नै काम गर्छौ। यी भवनहरू बनाउँछौ, त्यहाँ पनि तिमी नै बस्छौ। पापको त कुरा छैन। जे जति पैसा छ विश्वलाई स्वर्ग बनाउनमा नै खर्च गरिरहन्छन्। आफ्नो पेटमा पटुका कसेर पनि भन्छन्– बाबा मेरो एउटा इँट भए पनि यसमा लगाइदिनुभयो भने हामीलाई त्यहाँ महल मिल्छ। बच्चाहरू कति समझदार छन्। पत्थरको साटो सुन मिल्छ। समय नै अलिकति बाँकी छ। तिमीले कति सेवा गर्छौ। प्रदर्शनी मेला बढ्दै जान्छन्। केवल बच्चीहरू तीक्ष्ण होऊन्। बेहदका बाबाका बन्दैनन्, मोह छोड्दैनन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ, अब फेरि तिमीलाई स्वर्गको लागि तैयार गरिरहेको छु। यदि श्रीमतमा चल्यौ भने उच्च पद पाउने छौ। यी कुरा अरू कसैले सम्झाउन सक्दैन। सारा सृष्टिचक्र तिम्रो बुद्धिमा छ– मूलवतन, सूक्ष्मवतन र स्थूलवतन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! स्वदर्शन चक्रधारी बन, अरूलाई पनि सम्झाउँदै जाऊ। यो धन्दा हेर कस्तो छ। स्वयं नै धनवान, स्वर्गको मालिक बन्नु छ, अरूलाई पनि बनाउनु छ। बुद्धिमा यही रहनु छ– अरूलाई मार्ग कसरी बताऊँ? ड्रामा अनुसार जुन कुरा बित्यो, त्यो ड्रामा। सेकेण्ड बाई सेकेण्ड जे हुन्छ त्यसलाई हामी साक्षी भएर हेर्छौं। बच्चाहरूलाई बाबाले दिव्य दृष्टिले साक्षात्कार पनि गराउनुहुन्छ। पछि गएर तिमीले धेरै साक्षात्कार गर्नेछौ। मनुष्य दु:खमा त्राहि त्राहि गरिरहन्छन्, तिमीले खुसीले ताली बजाउने छौ। हामी मनुष्यबाट देवता बन्छौं त्यसैले अवश्य नयाँ दुनियाँ चाहिन्छ। त्यसको लागि यो विनाश तयार छ। यो त राम्रो हो नि। मनुष्यले सम्झन्छन्– आपसमा लडाइँ नगरुन्, शान्ति होस्। पुग्यो। तर यो त ड्रामामा निश्चित छ। दुई बाँदर आपसमा लड्छन् मखन बीचमा तेश्रोलाई मिल्छ। त्यसैले अब बाबा भन्नुहुन्छ– म बाबालाई याद गर, सबैलाई मार्ग देखाऊ। रहनु पनि साधारण छ, खानु पनि साधारण छ। कहिलेकाहीँ खातिरी पनि गरिन्छ। जुन भण्डाराबाट खान्छन्, भन्छन् बाबा यो सबै हजुरको हो। बाबा भन्नुहुन्छ– ट्रस्टी भएर सम्हाल। बाबा सबैथोक हजुरले दिनुभएको हो। भक्तिमार्गमा केवल भन्थ्यौ मात्रै। अहिले मैले तिमीलाई भन्छु– साक्षी बन। अहिले म सम्मुखमा छु। म पनि ट्रस्टी बनेर फेरि तिमीलाई ट्रस्टी बनाउँछु। जे गरे पनि सोधेर गर। बाबाले हरेक कुरामा राय दिनुहुन्छ। बाबा घर बनाऊँ, यसो गरुँ। बाबा भन्नुहुन्छ ठीकै छ गर। तर पाप आत्माहरूलाई दिनुछैन। बच्ची ज्ञानमा चल्दिनन्, विवाह गर्न चाहन्छिन् भने के नै गर्न सकिन्छ र। बाबाले त सम्झाउनुहुन्छ– तिमी किन अपवित्र बन्छयौ तर कसैको तकदिरमा छैन भने पतित बन्न पुग्छन्। अनेक प्रकारका घटनाहरू पनि भइरहन्छन्। पवित्र बन्दाबन्दै पनि मायाको थप्पड लाग्छ, बिग्रन पुग्छन्। माया धेरै प्रबल छ। उनीहरू पनि कामको बश हुन पुग्छन्, फेरि भनिन्छ ड्रामाको भावी। यस घडीसम्म जे जति भयो कल्प पहिला पनि भएको थियो। नयाँ केही पनि होइन। राम्रो काम गर्न लाग्दा विघ्न पार्छन्, नयाँ कुरा होइन। हामीले त तन-मन-धनले विश्वलाई अवश्य स्वर्ग बनाउनु छ। सबै कुरा बाबामा स्वाहा गर्छौं। तिमी बच्चाहरूलाई थाहा छ– हामीले श्रीमत अनुसार यस विश्वको रुहानी सेवा गरिरहेका छौं। तिम्रो बुद्धिमा छ– हामीले आफ्नो राज्य फेरि स्थापन गरिरहेका छौं। बाबा भन्नुहुन्छ– यो रुहानी हस्पिटल कम युनिभर्सिटी तीन पाइला पृथ्वीमा खोलिदेऊ, जसबाट मनुष्य सदा निरोगी, सम्पन्न बन्छन्। ३ पाइला पृथ्वी पनि कसैले दिँदैनन्। भन्छन् बी. के. ले जादु गर्छन्, भाइ-बहिनी बनाउँछन्। तिम्रो लागि ड्रामामा धेरै राम्रो युक्ति रचिएको छ। भाइ-बहिनीले कुदृष्टि राख्न सक्दैनन्। आजकाल त दुनियाँमा यति गन्दा छ, कुरै नसोध। जसरी बाबालाई दया आउँछ, त्यसैगरी तिमी बच्चाहरूलाई पनि दया आउनुपर्छ। जसरी बाबाले नर्कलाई स्वर्ग बनाइरहनुभएको छ, त्यसैगरी तिमी रहमदिल बच्चाहरू पनि बाबाको मदतगार बन्नु छ। पैसा छ भने हस्पिटल तथा विश्व विद्यालय खोल्दै जाऊ। यसमा धेरै खर्चको त कुरा छैन। केवल चित्र राख। जसले कल्प पहिला ज्ञान लिएका होलान् उनीहरूको ताला खुल्दैजान्छ। उनीहरू आइरहन्छन्। कति बच्चाहरू टाढा टाढाबाट आउँछन् पढ्नको लागि। बाबाले यस्ता पनि देख्नुभएको छ जो राती एउटा गाऊँबाट आउँछन्, सबेरै सेन्टरमा आएर झोली भरेर जान्छन्। झोली यस्तो पनि नहोस् जुन चुहिरहन्छ। उनीहरूले फेरि के पद पाउने छन्! तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। बेहदका बाबाले बेहदको वर्सा दिन हामीलाई पढाउनुहुन्छ। यो ज्ञान कति सहज छ। बाबाले सम्झाउनुहुन्छ जो विल्कुल पत्थरबुद्धि छन् उनलाई पारसबुद्धि बनाउनु छ। बाबालाई त धेरै खुसी हुन्छ। यी गुप्त छन् नि। ज्ञान पनि गुप्त छ। मम्मा-बाबा यस्ता लक्ष्मी-नारायण बन्छन् भने हामी फेरि किन कम बन्ने! हामीले पनि सेवा गर्छौं। त्यसैले यो नसा रहनुपर्छ। हामीले योगबलले आफ्नो राजधानी स्थापना गरिरहेका छौं। अहिले हामी स्वर्गको मालिक बन्छौं। त्यहाँ फेरि यो ज्ञान रहने छैन। यो ज्ञान अहिलेको लागि हो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) समझदार बनेर आफ्ना सबै कुरा धनीको नाममा सफल गर्नु छ। पतितलाई दान गर्नु छैन। ब्राह्मण सिवाय अरू कसैसँग पनि सम्बन्ध राख्नुछैन।

२) बुद्धिरूपी झोलीमा यस्तो कुनै पनि यस्तो छिद्र नहोस् जसले गर्दा ज्ञान चुहिरहन्छ। बेहदका बाबाले बेहदको वर्सा दिन पढाइ पढाइरहनु भएको छ, यस गुप्त खुसीमा रहनु छ। बाबासमान रहमदिल बन्नु छ।

वरदान:–
सम्पन्नताद्वारा सन्तुष्टताको अनुभव गर्ने सदा हर्षित , विजयी भव

जो सर्व खजानाहरूबाट सम्पन्न छन् उनै सदा सन्तुष्ट हुन्छन्। सन्तुष्टता अर्थात् सम्पन्नता। जसरी बाबा सम्पन्न हुनुहुन्छ, त्यसैले महिमामा सागर शब्द भन्छन्, त्यसैगरी तिमी बच्चाहरू पनि मास्टर सागर अर्थात् सम्पन्न बन्यौ भने सदा खुसीमा नाचिरहनेछौ। भित्र खुसी सिवाय अरू केही पनि आउनसक्दैन। स्वयं सम्पन्न हुनाको कारण कसैसँग पनि दिक्दार हुनेछैन। कुनै पनि प्रकारको उल्झन वा विघ्न एक खेल अनुभव हुन्छ, समस्या मनोरञ्जनको साधन बन्छ। निश्चयबुद्धि हुनाले सदा हर्षित र विजयी हुन्छौ।

स्लोगन:–
नाजुक परिस्थितिसँग नडराऊ, त्यसबाट पाठ सिकेर स्वयंलाई परिपक्व बनाऊ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

परमात्माले गुरु , टिचर , पिताको रूपमा भिन्न भिन्न सम्बन्धको वर्सा दिनुहुन्छ

हेर, परमात्माले तीन रूप धारण गरेर वर्सा दिनुहुन्छ। उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ भने गुरु पनि हुनुहुन्छ। अहिले पिताको साथमा पिताको सम्बन्ध छ, टिचरको साथमा टिचरको सम्बन्ध छ, गुरुद्वारा गुरुपनको सम्बन्ध छ। यदि पितासँग छोडपत्र लिएमा वर्सा कसरी मिल्छ? जब पास भएर टिचरद्वारा सर्टिफिकेट लिइन्छ तब टिचरको साथ मिल्छ। यदि बाबाको वफादार, फरमानदार बच्चा बनेर निर्देशनमा चलिएन भने भविष्य प्रारब्ध बन्दैन। फेरि पूर्ण सद्गति पनि प्राप्त गर्न सकिँदैन, न फेरि बाबासँग पवित्रताको वर्सा लिनसकिन्छ। परमात्माको प्रतिज्ञा छ यदि तिमीले तीव्र पुरुषार्थ गर्यौ भने तिमीलाई १०० गुना फाइदा दिने छु। केवल भन्ने मात्र होइन, उहाँसँग सम्बन्ध पनि गहिरो हुनुपर्छ। अर्जुनलाई पनि हुकुम गरिएको थियो– सबैलाई मार, निरन्तर मलाई याद गर। परमात्मा त समर्थ हुनुहुन्छ, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले आफ्नो वाचालाई अवश्य निभाउनुहुन्छ, तर बच्चाहरूले पनि जब बाबासँग तोड निभाउँछन्, जब सबैबाट बुद्धियोग तोडेर एक परमात्मासँग जोड्ने छन्, तब मात्रै उहाँबाट सम्पूर्ण वर्सा मिल्नेछ।