04.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– जसले सुरुदेखि भक्ति गरेका छन् , ८४ जन्म लिएका छन् , उनैले तिम्रो ज्ञानलाई धेरै रुचिले सुन्नेछन् , इसाराले बुझ्नेछन् । ”

प्रश्न:–
देवी-देवता घरानाका नजिकका आत्माहरू हुन् कि परका हुन्, त्यसको परख के हुन्छ?

उत्तर:–
जो तिम्रा देवता घरानाका आत्माहरू होलान्, उनलाई ज्ञानको सबै कुरा सुन्नासाथ ठिक लाग्छ, उनीहरू अलमलिँदैनन्। जति धेरै भक्ति गरेका छन्, त्यति धेरै सुन्ने कोसिस गर्नेछन्। त्यसैले बच्चाहरूले लक्षण हेरेर सेवा गर्नुपर्छ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। रुहानी बाबा हुनुहुन्छ निराकार, बसेर यस शरीरद्वारा सम्झाउनुहुन्छ। हामी आत्मा पनि निराकार हौं, यस शरीरद्वारा सुन्छौं– यो त बच्चाहरूले बुझिसकेका छौ। अहिले दुई बाबा सँगसँगै हुनुहुन्छ नि। बच्चाहरूले चिनेका छौ– दुवै बाबा यहाँ हुनुहुन्छ। तेस्रो पितालाई त चिनेका छौ, तर उनीभन्दा फेरि पनि यी राम्रा छन्, यिनी भन्दा फेरि उहाँ असल हुनुहुन्छ, नम्बरवार छ नि। त्यसैले ती लौकिकबाट सम्बन्ध हटाएर बाँकी यी दुवैसँग सम्बन्ध हुन्छ। बाबा बसेर सम्झाउनुहुन्छ, मानिसहरूलाई कसरी सम्झाउनुपर्छ। तिम्रो पासमा मेला, प्रदर्शनीमा त धेरै आउँछन्। यो पनि तिमीले जानेका छौ– ८४ जन्म सबैले लिँदैनन्। यो ८४ जन्म लिनेवाला हो कि १० जन्म लिनेवाला हो वा २० जन्म लिनेवाला हो– यो कसरी थाहा हुन्छ? अहिले तिमी बच्चाहरूलाई थाहा छ– जसले सुरुदेखि लिएर धेरै भक्ति गरेका होलान्, त्यसको फल पनि उनलाई त्यति नै छिटो र राम्रो मिल्छ। अलिकति भक्ति गरेको भए, ढिलो भक्ति गरेको भए फल पनि त्यति नै अलिकति र पछिबाट मिल्छ। यो कुरा बाबाले सेवा गर्ने बच्चाहरूलाई सम्झाउनुहुन्छ। भन, तपाईँहरूले देवी-देवताहरूलाई मान्नुहुन्छ? यहाँ यी लक्ष्मी-नारायणको राज्य थियो नि। जसले ८४ जन्म लिनेवाला होला, सुरुदेखि भक्ति गरेको भए उसले तुरुन्तै बुझ्छ– वास्तवमा आदि सनातन देवी-देवता धर्म थियो, र रुचिले सुन्न थाल्छ। कोही त त्यत्तिकै देखेर आउँछन्, केही सोध्दा पनि सोध्दैनन्, मानौं उनको बुद्धिमा बस्दैन। उनको लागि सम्झनुपर्छ, यो अहिलेसम्म यहाँको होइन। पछि गएर बुझ्न पनि सक्छ। कसैले सम्झायो भने तुरुन्त शिर हल्लाउँछ। वास्तवमा यस हिसाबले त ८४ जन्म ठिक हो। यदि भन्छ, मैले कसरी जानुँ– पूरा ८४ जन्म लिएको हुँ? ठिक छ, ८४ नभए ८२, देवता धर्ममा त आएको हुँला। हेर, बुद्धिमा त्यति ठिक लाग्दैन भने बुझ यो ८४ जन्म लिनेवाला होइन। पछि आउनेले कम पढ्छन्। जति धेरै भक्ति गरेको छ, उसले त्यति पढ्ने कोसिस गर्छ। तुरुन्तै बुझ्छ। कम बुझ्यो भने सम्झ ऊ पछि आउनेवाला हो। भक्ति पनि पछिबाट गरेको हुनुपर्छ। धेरै भक्ति गर्नेले इसाराबाट बुझ्छ। ड्रामा दोहोरिन्छ नि। सारा भक्तिमा आधारित छ। यी बाबाले सबैभन्दा नम्बरवन भक्ति गरेका हुन् नि। कम भक्ति गरेको भए फल पनि कम मिल्छ। यी सबै बुझ्ने कुरा हुन्। मोटो बुद्धि हुनेले धारणा गर्न सक्दैन। यी मेला प्रदर्शनीहरू त भइरहन्छन्। सबै भाषाहरूमा निस्कनेछन्। सारा दुनियाँलाई सम्झाउनु छ नि। तिमी हौ सच्चा सच्चा पैगम्बर र मेसेन्जर। ती धर्म स्थापकहरूले त केही पनि गर्दैनन्। न ती गुरु हुन्। गुरु भन्छन् तर ती कुनै सद्गतिदाता कहाँ हुन् र। उनीहरू आउँदा, उनको संस्था नै हुँदैन भने सद्गति कसको गर्ने? गुरु उहाँ हुनुहुन्छ जसले सद्गति दिनुहुन्छ, दु:खको दुनियाँबाट शान्तिधाम लिएर जानुहुन्छ। क्राइस्ट आदि गुरु होइनन्, उनीहरू त केवल धर्म स्थापक हुन्। उनीहरूको अरू कुनै पोजिसन छैन। पोजिसन त उनीहरूको हुन्छ, जो पहिला सुरुमा सतोप्रधानमा, फेरि सतो, रजो, तमोमा आउँछन्। उनीहरूले त केवल आफ्नो धर्म स्थापना गरेर पुनर्जन्म लिइरहन्छन्। जब फेरि सबैको तमोप्रधान अवस्था हुन्छ, तब बाबा आएर सबैलाई पवित्र बनाएर लैजानुहुन्छ। पावन बनेपछि फेरि पतित दुनियाँमा रहन सकिँदैन। पवित्र आत्माहरू जान्छन् मुक्तिमा, फेरि जीवनमुक्तिमा आउनेछन्। भन्ने पनि गर्छन्– उहाँ मुक्तिदाता हुनुहुन्छ, गाइड हुनुहुन्छ, तर यसको पनि अर्थ बुझेका छैनन्। अर्थ बुझेको भए त उहाँलाई चिन्ने थिए। सत्ययुगमा भक्तिमार्गका शब्द पनि हुँदैनन्।

यो पनि ड्रामामा निश्चित छ, जसमा सबैले आ-आफ्नो पार्ट खेलिरहन्छन्। कसैले पनि सद्गति प्राप्त गर्न सक्दैन। अहिले तिमीलाई यो ज्ञान मिलिरहेको छ। बाबाले पनि भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु। यसलाई भनिन्छ कल्याणकारी सङ्गमयुग, अरू कुनै युग कल्याणकारी छैन। सत्ययुग र त्रेताको सङ्गमको कुनै महत्त्व छैन। सूर्यवंशी पछि फेरि चन्द्रवंशी राज्य चल्छ। फेरि चन्द्रवंशीपछि वैश्यवंशी बन्छन्, चन्द्रवंशी विगत (पास्ट) हुन्छ। उनीहरू पछि के बन्छन्, यो थाहा नै हुँदैन। चित्र आदि रहेका भए सम्झने थिए– यी सूर्यवंशी हाम्रा अग्रज थिए, यी चन्द्रवंशी थिए। उनीहरू महाराजा, ती राजा। उनीहरू धेरै धनवान थिए। यिनीहरू फेरि पनि फेल भएका हुन् नि। यी कुरा कुनै शास्त्र आदिमा छैनन्। अब बाबा बसेर सम्झाउनुहुन्छ। सबैले भन्छन्– हामीलाई मुक्त गर्नुहोस्, पतितबाट पावन बनाउनुहोस्। सुखको लागि भन्दैनन् किनकि शास्त्रहरूमा सुखको निन्दा गरिएको छ। सबैले भन्छन्– मनको शान्ति कसरी मिल्छ? अहिले तिमी बच्चाहरूलाई थाहा छ– तिमीलाई सुख-शान्ति दुवै मिल्छ, जहाँ शान्ति हुन्छ त्यहाँ सुख हुन्छ। जहाँ अशान्ति हुन्छ, त्यहाँ दु:ख हुन्छ। सत्ययुगमा सुख-शान्ति हुन्छ, यहाँ दु:ख-अशान्ति छ। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। तिमीलाई माया रावणले कति तुच्छ बुद्धि बनाएको छ, ड्रामा यस्तो पनि बनेको छ। बाबा भन्नुहुन्छ– म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। मेरो पार्ट नै अहिले हो, जुन खेलिरहेको छु। भन्ने पनि गर्छन्– बाबा कल्प कल्प हजुर नै आएर भ्रष्टाचारी पतितबाट श्रेष्ठाचारी पावन बनाउनुहुन्छ। भ्रष्टाचारी बनेका हौ रावणद्वारा। अहिले बाबा आएर मनुष्यबाट देवता बनाउनुहुन्छ। यो जुन गायन छ, त्यसको अर्थ बाबाले नै आएर सम्झाउनुहुन्छ। त्यस अकाल तख्तमा बस्नेले पनि यसको अर्थ बुझ्दैनन्। बाबाले तिमीलाई सम्झाउनुभएको छ– आत्माहरू अकालमूर्त हुन्। आत्माको यो शरीर हो रथ, यसमा अकाल अर्थात् जसलाई कालले खाँदैन, त्यो आत्मा विराजमान छ। सत्ययुगमा तिमीलाई कालले खाँदैन। कहिल्यै अकालमा मृत्यु हुँदैन। त्यो हो नै अमरलोक, यो हो मृत्युलोक। अमरलोक, मृत्युलोकको पनि अर्थ कसैले बुझ्दैनन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई एकदम सरल तरिकाले सम्झाउँछु– केवल म एकलाई याद गर्यौ भने तिमी पावन बन्छौ। साधुसन्त आदिले पनि गायन गर्छन्– पतित-पावन...। पतित-पावन बाबालाई बोलाउँछन्, जहाँ गए भने पनि यो अवश्य भन्छन्– पतित-पावन...। सत्य त कहिल्यै छिप्नसक्दैन। तिमीले चिनेका छौ– अहिले पतित-पावन बाबा आउनुभएको छ। हामीलाई मार्ग बताइरहनुभएको छ। कल्प पहिला पनि भन्नुभएको थियो– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ। तिमीहरू सबै प्रियतमा हौ म प्रियतमको। ती प्रियतमा-प्रियतम त एक जन्मको लागि हुन्छन्, तिमी जन्मजन्मान्तरका प्रियतमा हौ। हे प्रभु भनेर याद गर्दै आयौ। दाता त एक बाबा मात्रै हुनुहुन्छ नि। बच्चाहरू सबैले पितासँग नै माग्छन्। आत्मा दु:खी भएपछि नै बाबालाई याद गर्छ। सुखमा कसैले याद गर्दैनन्, दु:खमा याद गर्छन्, भन्छन्– बाबा आएर सद्गति दिनुहोस्। जसरी गुरुको पासमा जान्छन्, हामीलाई बच्चा दिनुहोस् भन्छन्। बच्चा मिल्यो भने धेरै खुसी हुन्छन्। बच्चा भएन भने भन्छन् ईश्वरको भावी। ड्रामालाई त उनले जान्दै जानेका छैनन्। यदि उनले ड्रामालाई जानेको भए त सबै जान्ने थिए। तिमीले ड्रामालाई जानेका छौ, अरू कसैले जानेका छैनन्। न कुनै शास्त्रहरूमा नै छ। ड्रामा मतलब नाटक। यसको आदि, मध्य, अन्त्यको बारेमा थाहा हुनुपर्छ। बाबा भन्नुहुन्छ– म ५-५ हजार वर्षपछि आउँछु। यी ४ युग बिल्कुल बराबर छन्। स्वस्तिकको पनि महत्त्व छ नि। व्यापारीहरूले जुन खाता बनाउँछन् त्यसमा स्वस्तिक बनाउँछन्। यो पनि खाता हो नि। हामीलाई फाइदा कसरी हुन्छ, फेरि घाटा कसरी पर्छ। घाटा पर्दा पर्दा अहिले पूरै घाटा भएको छ। यो हारजितको खेल हो। पैसा छ र स्वास्थ्य पनि छ भने सुख हुन्छ, पैसा छ तर स्वास्थ्य छैन भने सुख हुँदैन। तिमीलाई स्वास्थ्य-सम्पत्ति दुवै दिन्छु। त्यसपछि त खुसी हुन्छ नै।

कसैले शरीर छोड्यो भने मुखले त भन्छन् फलानो स्वर्गवासी भयो। तर भित्र मन दु:खी भइरहन्छन्। यसमा त अझै खुसी हुनुपर्ने हो, फेरि उसको आत्मालाई नर्कमा किन बोलाउँछन्? केही पनि बुझ्दैनन्। अहिले बाबा आएर यी सबै कुरा सम्झाउनुहुन्छ। बीज र वृक्षको रहस्य सम्झाउनुहुन्छ। यस्तो वृक्ष अरू कसैले बनाउन सक्दैन। यो कुनै यिनले बनाएका होइनन्। यिनका कुनै गुरु थिएनन्। यदि भएको भए त अरू पनि शिष्य हुने थिए नि। मानिसहरूले सम्झन्छन्– यिनलाई कुनै गुरुले सिकाएको हुनुपर्छ कि त भन्छन् परमात्माको शक्ति प्रवेश हुन्छ। अरे, परमात्माको शक्ति कसरी प्रवेश हुन्छ! विचराहरूले केही पनि जानेका छैनन्। बाबा स्वयं बसेर बताउनु हुन्छ– मैले भनेको थिएँ, म साधारण वृद्ध तनमा आउँछु, आएर तिमीलाई पढाउँछु। यिनले पनि सुन्छन्, ध्यान त मतर्फ जान्छ। यी पनि विद्यार्थी हुन्। यिनले आफूलाई बढी केही पनि भन्दैनन्। प्रजापिता, उनी पनि विद्यार्थी हुन्। हुन त यिनले विनाश पनि देखे, तर केही पनि बुझेनन्। विस्तारै विस्तारै बुझ्दै गए। जसरी तिमीले बुझ्दैछौ। बाबाले तिमीलाई सम्झाउनुहुन्छ, बीचमा यिनले पनि सम्झन्छन्, पढिरहन्छन्। हरेक विद्यार्थीले पढ्ने पुरुषार्थ गर्छन्। ब्रह्मा-विष्णु-शङ्कर त हुन् सूक्ष्मवतनवासी। उनीहरूको पार्ट के छ, यो पनि कसैले जानेका छैनन्। बाबाले हरेक कुरा स्वयं बताउनुहुन्छ। तिमी कसैले प्रश्न सोध्नसक्दैनौ। माथी हुनुहुन्छ शिव परमात्मा, फेरि देवताहरू। उनलाई एउटै कसरी भन्न मिल्छ? अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबा यिनमा आएर प्रवेश गर्नुहुन्छ, त्यसैले भनिन्छ बापदादा। बाबा अलग हुनुहुन्छ, दादा अलग हुनुहुन्छ। बाबा शिव, दादा ब्रह्मा हुनुहुन्छ। वर्सा शिवबाबाबाट मिल्छ, यिनीद्वारा। ब्राह्मण भए ब्रह्माका बच्चाहरू। ड्रामा योजना अनुसार बाबाले एडप्ट गर्नुभएको छ। बाबा भन्नुहुन्छ– नम्बरवन भक्त यी हुन्। ८४ जन्म पनि यिनले लिएका छन्। श्याम र सुन्दर पनि यिनलाई भन्छन्। श्रीकृष्ण सत्ययुगमा सुन्दर थिए, कलियुगमा श्याम छन्। पतित छन्, फेरि पावन बन्छन्। तिमी पनि त्यस्तै बन्छौ। यो हो तमोप्रधान दुनियाँ, त्यो हो सतोप्रधान दुनियाँ।

सिँढीको बारेमा कसैलाई थाहा छैन। जो पछि आउँछन्, उनले ८४ जन्म कहाँ लिन्छन् र। उनीहरूले अवश्य कम जन्म लिन्छन्, फेरि उनलाई सिँढीमा देखाउन कसरी सकिन्छ? बाबाले सम्झाउनुभएको छ– सबैभन्दा धेरै जन्म कसले लिन्छन्? सबैभन्दा कम जन्म कसले लिन्छन्? यो हो ज्ञान। बाबा ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। आदि, मध्य, अन्त्यको ज्ञान सुनाइरहनुभएको छ। उनीहरू सबैले नेति नेति भन्दै आए। आफ्नो आत्मालाई नै चिनेका छैनन् भने फेरि बाबालाई कसरी चिन्न सक्छन्? केवल भनि मात्र दिन्छन्, आत्मा के चीज हो, केही पनि जानेका छैनन्। तिमीले अहिले जानेका छौ– आत्मा अविनाशी हो, त्यसमा ८४ जन्महरूको अविनाशी पार्ट भरिएको हुन्छ। यति सानो आत्मामा कति पार्ट भरिएको छ, यो कुरा कसैले राम्ररी सुन्छ र बुझ्छ भने सम्झनुपर्छ यो नजिकको हो। बुद्धिमा बस्दैन भने पछि आउने आत्मा हुनुपर्छ। सुनाउँदा लक्षण (नब्ज) हेरिन्छ। सम्झाउनेहरू पनि नम्बरवार छन् नि। तिम्रो यो पढाइ हो, राजधानी स्थापना भइरहेको छ। कसैले त उच्चभन्दा उच्च राज्यभाग्य पद प्राप्त गर्छन्, कोही त प्रजामा नोकरचाकर बन्छन्। बाँकी, हो, सत्ययुगमा कुनै दु:ख हुँदैन। त्यसलाई भनिन्छ सुखधाम, बहिश्त। बितेर गइसक्यो, त्यसैले त याद गर्छन् नि। मानिसहरूले सम्झन्छन्– स्वर्ग कुनै माथितिर छतमा हुनुपर्छ। देलवाडा मन्दिरमा तिम्रो पूरा यादगार खडा छ। आदि देव, आदि देवी अनि बच्चाहरू तल योगमा बसेका छन्। माथि राज्यभाग्य खजाना छ। मानिसहरूले त दर्शन गर्छन्, पैसा राख्छन्। तर केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, तिमीले सबैभन्दा पहिला त बाबाको कर्तव्यको बारेमा जान्यौ, बाँकी के चाहियो? बाबालाई चिनेपछि सबै कुरा समझमा आइहाल्छ। त्यसैले खुसी हुनुपर्छ। तिमीले जानेका छौ– अब हामी सत्ययुगमा गएर सुनको महल बनाउने छौं, राज्य गर्छौं। जो सेवाधारी बच्चाहरू छन्, उनीहरूको बुद्धिमा हुन्छ– यो रुहानी ज्ञान, रुहानी बाबाले दिनुहुन्छ। रुहानी पिता भनिन्छ आत्माहरूका पितालाई। उहाँ नै सद्गतिदाता हुनुहुन्छ। उहाले नै सुख-शान्तिको वर्सा दिनुहुन्छ। तिमीले सम्झाउन सक्छौ– यो सिँढी हो हाम्रो, जसले ८४ जन्म लिन्छन्। तपाईँहरू आउनुहुन्छ नै आधामा, त्यसैले तपाईँहरूको ८४ जन्म कसरी हुनसक्छ? सबैभन्दा धेरै जन्म हामीले लिन्छौं। यो धेरै बुझ्नुपर्ने कुरा छ। मुख्य कुरा नै हो पतितबाट पावन बन्नको लागि बुद्धियोग लगाउनु छ। पावन बन्ने प्रतिज्ञा गरेर फेरि यदि पतित बने भने एकदम हाडखोर टुट्छ, मानौं ५ तलाबाट गिर्छ। बुद्धि नै म्लेच्छ (अस्वच्छ) हुन्छ, दिल भित्र खाइरहन्छ। मुखबाट केही निस्किँदैन। त्यसैले बाबा भन्नुहुन्छ– सावधान होऊ। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस ड्रामालाई यथार्थ रीति बुझेर मायाको बन्धनबाट मुक्त हुनु छ। स्वयंलाई अकालमूर्त आत्मा सम्झेर, बाबालाई याद गरेर पावन बन्नु छ।

२) सच्चा सच्चा पैगम्बर र मेसेन्जर बनेर सबैलाई शान्तिधाम, सुखधामको मार्ग बताउनु छ। यस कल्याणकारी सङ्गमयुगमा सबै आत्माहरूको कल्याण गर्नु छ।

वरदान:–
बाबा र सेवाको स्मृतिबाट एकरस स्थितिको अनुभव गर्ने सर्व आकर्षणमुक्त भव

जसरी नोकरलाई सदा सेवा र मालिक याद रहन्छ। त्यसैगरी विश्व सेवाधारी, सच्चा सेवाधारी बच्चाहरूलाई पनि बाबा र सेवा सिवाय अरू केही पनि याद रहँदैन, यसबाट नै एकरस स्थितिमा रहने अनुभव हुन्छ। उनीहरूलाई एक बाबाको रसको सिवाय सबै रस नीरस लाग्छ। एक बाबाको रसको अनुभव हुनाको कारण कहीँ पनि आकर्षण जान सक्दैन, यो एकरस स्थितिको तीव्र पुरुषार्थले नै सर्व आकर्षणहरूबाट मुक्त बनाइदिन्छ। यो नै श्रेष्ठ गन्तव्य हो।

स्लोगन:–
नाजुक परिस्थितिहरूको परीक्षामा पास हुनु छ भने आफ्नो स्वभावलाई शक्तिशाली बनाऊ।