04.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो काम धन्दा हो मानिसहरूलाई जागृत गराउनु , बाटो बताउनु , जति तिमी देहीअभिमानी बनेर बाबाको परिचय सुनाउँछौ , त्यति कल्याण हु नेछ ।”

प्रश्न:–
गरिब बच्चाहरू आफ्नो कुन विशेषताको आधारमा धनवानभन्दा अगाडि जान्छन्?

उत्तर:–
गरिबहरूमा दानपुण्यको धेरै श्रद्धा हुन्छ। गरिबले भक्ति पनि लगनले गर्छन्। साक्षात्कार पनि गरिबहरूलाई हुन्छ। धनवानहरूलाई आफ्नो धनको नसा हुन्छ, पाप धेरै हुन्छ त्यसैले गरिब बच्चाहरू उनीहरूभन्दा अगाडि जान्छन्।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
हजुर नै माता, हजुर नै पिता हुनुहुन्छ, हामी हजुरका बालक... यो त अवश्य परमपिता परमात्माको महिमा गायन गरिएको हो। यो त स्पष्ट महिमा हो किनकि उहाँ रचयिता हुनुहुन्छ। लौकिक आमाबुबा पनि बच्चाका रचयिता हुन्। पारलौकिक बाबालाई पनि रचयिता भनिन्छ। बन्धु, सहायक... धेरै महिमा गाउँछन्। लौकिक पिताको त्यति महिमा छैन। परमपिता परमात्माको महिमा नै भिन्नै छ। बच्चाहरूले पनि बाबाको महिमा गर्छन्– बाबा ज्ञानको सागर हुनुहुन्छ, ज्ञानस्वरूप हुनुहुन्छ। उहाँमा सारा ज्ञान छ। ज्ञान कुनै शरीर निर्वाहको पढाइको होइन। उहाँलाई ज्ञानको सागर, ज्ञानस्वरूप भनिन्छ। त्यसोभए अवश्य उहाँसँग ज्ञान छ तर कुन ज्ञान छ? यो सृष्टि चक्र कसरी घुम्छ, त्यसको ज्ञान छ। त्यसैले उहाँ नै ज्ञान सागर, पतितपावन हुनुहुन्छ। श्रीकृष्णलाई कहिल्यै पतितपावन वा ज्ञानको सागर भनिँदैन। उहाँको महिमा बिल्कुलै भिन्नै छ। बाबा र श्रीकृष्ण दुवै भारतवर्षका निवासी हुनुहुन्छ। शिवबाबाको पनि भारतवर्षमा महिमा छ। शिवजयन्ती पनि यहीँ मनाउँछन्। श्रीकृष्णको जयन्ती पनि मनाउँछन्। गीताको पनि जयन्ती मनाउँछन्। ३ जयन्ती मुख्य छन्। अब प्रश्न उठ्छ– पहिला जयन्ती कसको भयो होला? शिवको वा श्रीकृष्णको? मानिसहरूले त बिल्कुलै बाबालाई बिर्सिएका छन्। श्रीकृष्णको जयन्ती धेरै धुमधामले, प्रेमले मनाउँछन्। शिवजयन्तीको बारेमा त्यति कसैलाई थाहा छैन, न गायन छ। शिवले आएर के गर्नुभयो? उहाँको जीवनी कसैलाई थाहा छैन। श्रीकृष्णको विषयमा त धेरै कुरा लेखिदिएका छन्। गोपिनीहरूलाई भगाए, यो गरे। श्रीकृष्णको चरित्रको खास एउटा पत्रिका पनि निस्कन्छ। शिवको चरित्र आदिको केही छैन। श्रीकृष्णको जयन्ती कहिले भयो, फेरि गीताको जयन्ती कहिले भयो? श्रीकृष्ण ठुला भए पछि मात्र ज्ञान सुनाउन सक्लान्। श्रीकृष्णको बाल्यकाललाई त देखाउँछन्, टोकरीमा राखेर पारी लगे। ठुलो हुँदाको देखाउँछन्, रथमा उभिएका देखाउँछन्। चक्र चलाउँछन्। १६-१७ वर्षका होलान्। बाँकी चित्र सानै छँदाका देखाएका छन्। तर गीता कहिले सुनाउनु भयो! त्यही समयमा त सुनाउनु भएन होला, जुनबेला लेख्छन्– फलानीलाई भगाए, यो गरे। त्यो समयमा त ज्ञान सुनाउने कुरा सुहाउँदैन पनि। ज्ञान त बुज्रुग भएपछि सुनाउँछन्। गीता पनि केही समयपछि सुनाए होलान्। अब शिवले के गर्नुभयो, कसैलाई केही थाहा छैन। अज्ञान निद्रामा सुतेका छन्। बाबा भन्नुहुन्छ– मेरो जीवनी कसैलाई थाहा छैन। मैले के गरेँ? मलाई नै पतितपावन भन्छन्। म आउँदा साथमा गीता हुन्छ। म साधारण वृद्ध अनुभवी तनमा आउँछु। शिवजयन्ती तिमीहरूले भारतवर्षमा नै मनाउँछौ। श्रीकृष्ण जयन्ती, गीता जयन्ती, यी ३ मुख्य छन्। रामको जयन्ती त पछि हुन्छ। यस समयमा जे जे हुन्छ, त्यो पछि मनाइन्छ। सत्ययुग त्रेतामा जयन्ती आदि हुँदैन। सूर्यवंशीबाट चन्द्रवंशीले वर्सा लिन्छन्, अरू कसैको महिमा छैन। केवल राजाहरूको राज्याभिषेक मनाउँछन् होला। बर्थ डे त आजकाल सबैले मनाउँछन्। त्यो त साधारण कुरा भयो। श्रीकृष्णले जन्म लिए, ठुला भएर राजधानी चलाए, त्यसमा महिमाको त कुरा नै छैन। सत्ययुग त्रेतामा सुखको राज्य चल्दै आएको छ। त्यो राज्य कहिले, कसरी स्थापना भयो! यो तिमी बच्चाहरूको बुद्धिमा छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु। कलियुगको अन्त्य हो पतित दुनियाँ। सत्ययुग आदि पावन दुनियाँ। म बाबा पनि हुँ। तिमी बच्चाहरूलाई वर्सा पनि दिन्छु। कल्प पहिला पनि तिमीलाई वर्सा दिएको थिएँ त्यसैले तिमीले शिव जयन्ती मनाउँदै आएका छौ। तर नाम बिर्सनाले श्रीकृष्णको नाम राखिदिएका छन्। ठुलोभन्दा ठुलो शिव हुनुहुन्छ नि। पहिला जुनबेला उहाँको जयन्ती हुन्छ, त्यतिबेला फेरि साकार मानिसको जयन्ती हुन्छ। आत्माहरू त वास्तवमा सबै माथिबाट ओर्लन्छन्। मेरो पनि अवतरण हो। श्रीकृष्णले माताको गर्भबाट जन्म लिए, पालना लिए। सबैलाई पुनर्जन्ममा आउनु नै छ। शिवबाबाले पुनर्जन्म लिनुहुन्न। आउनु त हुन्छ नि। त्यसैले यो सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। ब्रह्मा, विष्णु, शङ्करको त्रिमूर्ति देखाउँछन् नि। ब्रह्माद्वारा स्थापना, किनकि शिवको त आफ्नो शरीर छैन। स्वयं बसेर बताउनुहुन्छ– म यिनको वृद्ध तनमा आउँछु। यिनले आफ्ना जन्महरूलाई जान्दैनन्। यिनको धेरै जन्मको अन्त्यको यो जन्म हो। त्यसैले पहिला सुरुमा सम्झाउनुपर्छ। शिवजयन्ती ठुलो हो वा श्रीकृष्ण जयन्ती ठुलो हो? श्रीकृष्णले गीता सुनाए भने गीता जयन्ती त श्रीकृष्णको धेरै वर्षपछि हुन सक्छ, जबकि श्रीकृष्ण ठुला हुन्छन्। यो सबै बुझ्नुपर्ने कुरा हो नि। तर वास्तवमा शिवजयन्तीपछि तुरुन्तै गीता जयन्ती भयो। यो प्वइन्ट पनि बुद्धिमा राख्नुपर्छ। प्वइन्ट त धेरै छन्। नोट नगरी याद रहन सक्दैन। बाबा यति नजिक हुनुहुन्छ, यिनी उहाँको रथ हुन्, यिनले पनि भन्छन्– सबै प्वइन्ट समयमा याद आउन मुस्किल हुन्छ। बाबाले सम्झाउनुभएको छ– सबैलाई दुई बाबाको रहस्य सम्झाऊ। शिवबाबाको जयन्ती मनाउँछन्, अवश्य आउनुहुन्छ होला। जसरी क्राइस्ट, बुद्ध आदि आएर आफ्नो धर्म स्थापना गर्छन्। तिनीहरूले पनि आत्मा आएर प्रवेश गरेपछि धर्म स्थापना गर्छन्। उहाँ हुनुहुन्छ स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा, सृष्टिका रचयिता। त्यसैले अवश्य नयाँ सृष्टि रच्नुहुन्छ। पुरानो कहाँ रच्नुहुन्छ र! नयाँ सृष्टिलाई स्वर्ग भनिन्छ, अहिले हो नर्क। बाबा भन्नुहुन्छ– म कल्प कल्पको सङ्गममा आएर तिमी बच्चाहरूलाई राजयोगको ज्ञान दिन्छु। यो हो भारतवर्षको प्राचीन योग। यो राजयोग कसले सिकाउनुभयो? शिवबाबाको नाम त गायब गरिदिएका छन्। एकातिर भन्छन् गीताका भगवान श्रीकृष्ण, अर्कातिर विष्णु आदिको नाम राखिदिन्छन्। शिवबाबाले राजयोग सिकाउनुभएको थियो। यो कुरा कसैलाई थाहा छैन। शिवजयन्ती भनेर निराकारको जयन्ती नै देखाउँछन्। उहाँ कसरी आउनुभयो, आएर के गर्नुभयो? उहाँ त सबैका सदगतिदाता, मुक्तिदाता, गाइड हुनुहुन्छ। अहिले सबै आत्माहरूलाई परमात्मा गाइड चाहिन्छ। उहाँ पनि आत्मा हुनुहुन्छ। जसरी मानिसहरूको गाइड पनि मानिस हुन्छ, त्यसैगरी आत्माहरूको गाइड पनि आत्मा चाहिन्छ। उहाँलाई त सुप्रिम आत्मा नै भनिन्छ। मानिस त सबै पुनर्जन्म लिएर पतित बन्छन्। फेरि पावन बनाएर फिर्ता कसले लैजानुहुन्छ? बाबा भन्नुहुन्छ– मैले नै आएर पावन बन्ने युक्ति बताउँछु। तिमीले मलाई याद गर। श्रीकृष्णले त भन्न सक्दैनन्– देहका सम्बन्धलाई छोड। उनले त ८४ जन्म लिन्छन्। उनी सबै सम्बन्धमा आउँछन्। बाबाको आफ्नो शरीर छैन। बाबाले तिमीलाई यो रुहानी यात्रा सिकाउनुहुन्छ। यो हो रुहानी बाबाको रुहानी बच्चाहरूको लागि रुहानी ज्ञान। श्रीकृष्ण कसैका रुहानी बाबा कहाँ हुन् र! सबैको रुहानी बाबा म हुँ। म नै गाइड बन्न सक्छु। मुक्तिदाता, गाइड, आनन्दस्वरूप, शान्तिस्वरूप, सदा पवित्र सबै मेरो लागि भन्छन्। अहिले मैले तिमी आत्माहरूलाई ज्ञान दिइरहेको छु। बाबा भन्नुहुन्छ– मैले यो शरीरद्वारा तिमीलाई ज्ञान दिइरहेको छु। तिमीले पनि शरीरद्वारा ज्ञान लिइरहेका छौ। उहाँ हुनुहुन्छ परमपिता परमात्मा। उहाँको रूप पनि बताइएको छ। जस्तो आत्मा बिन्दु छ, त्यस्तै परमात्मा पनि बिन्दु हुनुहुन्छ। यो कुदरत (प्रकृति) हो नि। वास्तवमा ठुलो कुदरत त यो हो। यति सानो स्टारमा ८४ जन्मको पार्ट छ। यो हो कुदरत। बाबाको पनि ड्रामामा पार्ट छ। भक्तिमार्गमा पनि बाबाले तिम्रो सेवा गर्नुहुन्छ। तिम्रो आत्मामा ८४ जन्मको अविनाशी पार्ट छ, यसलाई भनिन्छ कुदरत, यसको वर्णन कसरी गर्ने! यति सानो आत्मा छ। यी कुरा सुनेर अनौठो मान्छन्। आत्मा छ पनि स्टार जस्तो। ८४ जन्म एक्युरेट भोग्छ। सुख पनि उसले एक्युरेट भोग्छ। यो हो कुदरत। बाबा पनि आत्मा हुनुहुन्छ, परम आत्मा। उहाँमा सारा ज्ञान भरिएको छ, जुन बच्चाहरूलाई सम्झाउनुहुन्छ। यी हुन् नयाँ कुरा, नयाँ मानिसले सुनेर भन्छन्– यिनको ज्ञान त कुनै शास्त्र आदिमा पनि छैन। फेरि पनि जसले कल्प पहिला सुनेका छन्, वर्सा लिएका छन्, उनीहरू नै वृद्धि हुँदै जान्छन्। टाइम लाग्छ। प्रजा धेरै बन्छन्। त्यो त सहज छ। राजा बन्नमा मेहनत छ। मानिस जसले धेरै धन दान गर्छन्, उनीहरूले राजघरानामा जन्म लिन्छन्। गरिबले पनि आफ्नो हिम्मत अनुसार जे जति दान गर्छन्, उनीहरू पनि राजा बन्छन्। जो पूरा भक्त हुन्छन्, उनीहरूले पनि दानपुण्य गर्छन्। धनवानहरूबाट पाप धेरै हुन्छ होला। गरिबहरूमा श्रद्धा धेरै हुन्छ। उनीहरूले धेरै प्रेमले थोरै दान गरे भने पनि धेरै मिल्छ। गरिबले भक्ति पनि धेरै गर्छन्। दर्शन दिनुहोस् नत्र हामी घाँटी काटिदिन्छौँ। धनवानले यसो गर्दैनन्। साक्षात्कार पनि गरिबहरूलाई हुन्छ। उनीहरूले नै दानपुण्य गर्छन्, राजाहरू पनि तिनीहरू नै बन्छन्। पैसावालाहरूलाई अहङ्कार हुन्छ। यहाँ पनि गरिबहरूलाई २१ जन्मको सुख मिल्छ। गरिब धेरै छन्। धनवान पछाडि आउँछन्। त्यसैले भारतवर्ष जुन यति उच्च थियो, त्यो फेरि यति गरिब कसरी भयो, यो कुरा तिमीले बुझेका छौ। भूकम्प आदिमा सबै महल आदि नष्ट हुन्छन्, त्यसपछि गरिब हुन्छन्। रावण राज्य भइसकेपछि हाहाकार हुन्छ, त्यसपछि फेरि यस्ता चीज रहन सक्दैनन्। हरेक चीजको आयु त हुन्छ नि। त्यहाँ जसरी मानिसहरूको आयु लामो हुन्छ, त्यसरी नै घरको आयु पनि लामो हुन्छ। सुनका, मार्बलका ठुला ठुला घर बन्दै जान्छन्। सुनका त झन् मजबुत हुनेछन्। नाटकमा पनि देखाउँछन् नि– लडाइँ हुन्छ, घर टुटफुट हुन्छन्। फेरि बन्छन्। उनीहरूको बनावट त्यस्तै हुन्छ। यी जुन स्वर्गका महल आदि बनाउँछन्, यस्तो त देखाउँदैनन्– मिस्त्रीहरूले कसरी घर बनाउँछन्। हो, उनीहरूले जान्दछन्– तिनै घर हुन्छन्। पछि गएर तिमीलाई साक्षात्कार हुनेछ। विवेकले यस्तो भन्छ। यी कुराहरूसँग बच्चाहरूको सम्बन्ध छैन। बच्चाहरूले त पढाइ पढ्नुछ। स्वर्गको मालिक बन्नुछ। स्वर्ग र नर्क अनेकपटक बितेका छन्। अहिले दुवै बितेका छन्। अहिले हो सङ्गम। सत्ययुगमा यो ज्ञान हुँदैन। यस समयमा तिमी बच्चाहरूलाई पूरा ज्ञान छ। लक्ष्मीनारायणलाई यो राज्य कसले दिनुभएको थियो! अहिले तिमी बच्चाहरूलाई थाहा छ। यिनीहरूले यो वर्सा कसबाट पाए! यहाँ पढाइ पढेर स्वर्गका मालिक बन्छन्। फेरि त्यहाँ गएर महल आदि बनाउँछन्। सर्जनले पनि ठुला ठुला हस्पिटल बनाउँछन् नि।

बाबाले तिमी बच्चाहरूलाई दिनप्रतिदिन राम्रा राम्रा प्वइन्ट सुनाइरहनुभएको छ। तिम्रो कामधन्दा नै हो– मानिसहरूलाई जागृत गराउनु, बाटो बताउनु। जसरी बाबाले कति प्रेमले बसेर सम्झाउनुहुन्छ। देह अभिमानको आवश्यकता छैन। बाबालाई कहिल्यै देह अभिमान हुन सक्दैन। तिमीलाई देहीअभिमानी बन्नमा नै सारा मेहनत लाग्छ। जो बसेर देहीअभिमानी बनेर बाबाको परिचय दिन्छन्, उनीहरूले धेरैको कल्याण गर्छन्। पहिला देह अभिमान आएपछि फेरि अरू विकार आउँछन्। लडाइँझगडा गर्नु, नवाफी पाराले चल्नु, यो देह अभिमान हो। हुन त हाम्रो राजयोग हो, तैपनि धेरै साधारण रहनुछ। थोरै चीजमा अहङ्कार आउँछ। फेसनेबल घडी देख्यौ भने यो लगाऊँ भन्ने मन हुन्छ। ख्याल चलिरहन्छ। यसलाई पनि देह अभिमान भनिन्छ। राम्रो उच्च चीज रहेछ भने सम्हाल्नुपर्छ। हरायो भने चिन्ता हुन्छ। अन्त्य समयमा केही पनि याद आयो भने पद भ्रष्ट हुन्छ। यी देह अभिमानका चालचलन हुन्। फेरि सर्भिसको सट्टा डिससर्भिस पनि अवश्य गर्छन्। रावणले तिमीलाई देह अभिमानी बनाएको छ। देखेका छौ, बाबा कति साधारण तरिकाले चल्नुहुन्छ। हरेकको सेवा हेरिन्छ। महारथी बच्चाहरूले आफ्नो शो गर्नुछ। महारथीहरूलाई नै लेखिन्छ– तिमी फलानो ठाउँमा गएर भाषण गर। एक-अर्कालाई बोलाउँछन्। तर बच्चाहरूमा धेरै देह अभिमान हुन्छ। भाषण राम्रा गरेपनि आपसमा रुहानी स्नेह हुँदैन। देह अभिमानले नुनपानी बनाइदिन्छ। कुनै कुरामा झट्ट रिसाउनु, यो पनि हुनुहुँदैन। त्यसैले बाबा भन्नुहुन्छ– कसैलाई केही सोध्नुछ भने बाबासँग आएर सोध। कसैले भन्यो– बाबा, हजुरका कति बच्चाहरू छन्? भन्छु– बच्चाहरू त अनगिन्ती छन् तर कोही कपुत, कोही सपुत राम्रा राम्रा छन्। यस्ता बाबाको त आज्ञाकारी, वफादार बन्नुपर्छ नि। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) देह अभिमानमा आएर कुनै पनि प्रकारको फेसनेबुल पहिरन गर्नुछैन। धेरै सोख राख्नुछैन। धेरै धेरै साधारण भएर चल्नुछ।

२) आपसमा धेरै धेरै रुहानी स्नेहले चल्नुछ, कहिल्यै पनि नुनपानी हुनुछैन। बाबाको सपुत बच्चा बन्नुछ। अहङ्कारमा कहिल्यै आउनुछैन।

वरदान:–
आफ्नो भाग्य र भाग्यविधाताको गुण गाउने सदा प्रसन्नचित भव

सबै ब्राह्मण बच्चाहरूलाई जन्मदेखि नै ताज, तख्त, तिलक जन्मसिद्ध अधिकारको रूपमा प्राप्त हुन्छ। त्यसैले यो भाग्यको चम्किलो सितारालाई हेरेर आफ्नो भाग्य र भाग्यविधाताको गुण गाइराख, त्यसपछि गुणसम्पन्न बन्छौ। आफ्नो कमजोरीको गुण नगाऊ, भाग्यको गुण गाइराख, प्रश्नहरूबाट पार रह्यौ भने सदा प्रसन्नचित रहने वरदान प्राप्त हुन्छ। फेरि अरूलाई पनि सहजै प्रसन्न पार्न सक्छौ।

स्लोगन:–
एकनामी र इकोनोमीले चल्नु नै ब्राह्मण जीवनमा सफलताको आधार हो।

अव्यक्त इसारा:– “निश्चयको जगलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त ह ोऊ ।”

निश्चयले सधैँ नै निश्चिन्त बनाउँछ र जसले निश्चिन्त स्थितिमा रहेर कुनै पनि कार्य गर्छ, ऊ त्यसमा सफल अवश्य हुन्छ किनकि निश्चिन्त स्थितिमा बुद्धिले यथार्थ जजमेन्ट गर्छ। यथार्थ निर्णयको आधार हो– निश्चयबुद्धि, निश्चिन्त स्थिति। त्यसमा सोच्ने पनि आवश्यकता छैन।