04.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– भाइ-बहिनीको भानबाट निस्केर भाइ भाइ सम्झियौ भने पवित्र दृष्टि बन्छ , आत्मा जब पवित्र बन्छ तब कर्मातीत बन्न सक्छ।”

प्रश्न:–
आफ्ना कमीहरूलाई निकाल्नको लागि कुनचाहिँ युक्ति रच्नुपर्छ?

उत्तर:–
आफ्नो चरित्रको रजिष्टर राख। त्यसमा हरेक दिनको चार्ट नोट गर। रजिष्टर राख्यौ भने आफ्ना कमीहरू थाहा हुन्छ फेरि सहजै त्यसलाई निकाल्न सक्छौ। कमीलाई निकाल्दै निकाल्दै एक बाबा सिवाय अरू कसैको याद नरहोस्, यस अवस्थासम्म पुग्नु छ। कुनै पनि पुराना चीजमा ममत्व नरहोस्। भित्र केही पनि माग्ने इच्छा नरहोस्।

ओम् शान्ति ।
एक हुन्छ मानव बुद्धि, अर्को हुन्छ ईश्वरीय बुद्धि, फेरि हुन्छ दैवी बुद्धि। मानव बुद्धि हो आसुरी बुद्धि। अपवित्र दृष्टि (क्रिमिनल आइज्ड) छ नि। एक हुन्छ पवित्र दृष्टि (सिभिल आइज्ड), अर्को हुन्छ अपवित्र दृष्टि। देवताहरू हुन्छन् निर्विकारी, पवित्र दृष्टिवाला र यहाँ कलियुगी मनुष्य छन् विकारी, अपवित्र दृष्टिवाला। तिनका विचार पनि विकारी हुन्छन्। अपवित्र दृष्टि भएका मनुष्य रावणको जेलमा परिरहन्छन्। रावण राज्यमा सबै छन् अपवित्र दृष्टि भएका, एक जना पनि पवित्रदृष्टि भएका छैनन्। अहिले तिमी छौ पुरुषोत्तम सङ्गम युगमा। अहिले बाबाले तिमीलाई अपवित्र दृष्टिबाट परिवर्तन गरेर पवित्र दृष्टिवाला बनाइरहनु भएको छ। अपवित्र दृष्टिमा पनि अनेक प्रकारका हुन्छन्– कोही आधा, कोही कस्ता। जब पवित्र दृष्टिवाला बन्छौ तब कर्मातीत अवस्था हुन्छ। अनि भाइ भाइको दृष्टि बन्छ। आत्माले आत्मालाई देख्छ, शरीर नै रहँदैन भने अपवित्र दृष्टि कसरी हुन्छ? त्यसैले बाबा भन्नुहुन्छ– आफूलाई भाइ-बहिनीको भानबाट निकाल्दै जाऊ। भाइ भाइ सम्झ। यो पनि धेरै गुप्त कुरा हो। कहिल्यै कसैको बुद्धिमा आउन सक्दैन। पवित्र दृष्टिको अर्थ पनि कसैको बुद्धिमा आउन सक्दैन। यदि आयो भने उच्च पद पाउँछन्। बाबा सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झ, शरीरलाई भुल्नु छ। यो शरीरलाई पनि बाबाको यादमा छोड्नु छ। म आत्मा बाबाको पासमा जाँदै छु। देहको अभिमान छोडेर, पवित्र बनाउने बाबाको यादमा शरीर छोड्नु छ। अपवित्र दृष्टि भयो भने भित्र अवश्य दिल खाइरहन्छ। लक्ष्य धेरै उच्च छ। असल बच्चामा पनि केही न केही भुल त अवश्य हुन्छ किनकि माया छ नि। कर्मातीत त कोही पनि हुन सक्दैन। कर्मातीत अवस्था अन्त्यमा प्राप्त गर्छौ तब पवित्र दृष्टि हुन सक्छ। फेरि त्यो रुहानी भाइ भाइको स्नेह हुन्छ। रुहानी भाइ भाइको स्नेह धेरै राम्रो हुन्छ, फेरि अपवित्र दृष्टि हुँदैन, तब उच्च पद पाउन सक्छौ। बाबाले लक्ष्य-उद्देश्य त पूरा बताउनु हुन्छ। बच्चाहरूले सम्झन्छन्, हामीमा यो यो कमी छ। रजिष्टर राखेपछि मात्र कमी थाहा हुन्छ। हुन सक्छ, कोही रजिष्टर नराखेर पनि सुध्रिन सक्छन्। तर जो कच्चा छन् उनले रजिष्टर अवश्य राख्नुपर्छ। कच्चा त धेरै छन्, कसै कसैलाई त लेख्न पनि आउँदैन। तिम्रो अवस्था यस्तो हुनुपर्छ जसबाट अरू कसैको याद नआओस्। हामी आत्मा विना शरीर आयौं, अब अशरीरी बनेर जानु छ। यसमा एक कहानी छ– उसले भन्यो तिमीले लट्ठी पनि नउठाऊ, त्यो पनि अन्त्यमा याद आउने छ। कुनै पनि चीजमा ममत्व राख्नु छैन। धेरैको ममत्व पुरानो वस्तुमा हुन्छ। केही पनि याद नआओस्, केवल बाबाको याद रहोस्। लक्ष्य कति उच्च छ। कहाँ पाई पैसाका कुरा, कहाँ शिवबाबाको याद। माग्ने इच्छा हुनु हुँदैन। हरेकले कम से कम ६ घण्टा सेवा अवश्य गर्नुपर्छ। हुन त सरकारको सेवा ८ घण्टा हुन्छ तर पाण्डव सरकारको सेवा कम्तीमा ५-६ घण्टा अवश्य गर। विकारी मनुष्यले कहिल्यै बाबाको याद गर्न सक्दैनन्। सत्ययुगमा हुन्छ निर्विकारी दुनियाँ। देवी देवताहरूको महिमाको गायन छ– सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... तिमी बच्चाहरूको अवस्था कति उपराम हुनु पर्छ। कुनै पनि छि :छि: चीजमा ममत्व रहनु हुँदैन। शरीरमा पनि ममत्व नरहोस्, यस प्रकारको योगी बन्नु छ। जब सच्चा सच्चा यस्तो योगी हुन्छौ तब फ्रेस रहन्छौ। जति तिमी सतोप्रधान बन्दै जान्छौ, त्यति खुसीको पारा चढ्दै जान्छ। ५ हजार वर्ष पहिला पनि यस्तो खुसी थियो। सत्ययुगमा पनि त्यही खुसी हुन्छ। यहाँ पनि खुसी हुन्छ फेरि यही खुसी साथमा लिएर जान्छौ। अन्त मति सो गति भनिन्छ नि। अहिलेको मति हो फेरि गति सत्ययुगमा हुन्छ। यो राम्ररी विचार सागर मन्थन गर्नु पर्ने हुन्छ।

बाबा त हुनुहुन्छ नै दु:खहर्ता, सुखकर्ता। तिमीले भन्छौ– हामी बाबाका बच्चा हौं, त्यसैले कसैलाई पनि दु:ख दिनु हुँदैन। सबैलाई सुखको मार्ग बताउनु पर्छ। यदि सुख दिएनौ भने अवश्य दु:ख दिन्छौ। यो पुरुषोत्तम सङ्गमयुग हो, जबकि तिमी पुरुषार्थ गरिरहेका छौ सतोप्रधान बन्नको लागि। पुरुषार्थी पनि नम्बरवार हुन्छन्। जब बच्चाहरूले राम्रो सेवा गर्छन्, अनि बाबाले उनको महिमा गर्नुहुन्छ– यो फलानो बच्चा योगी छ। जुन बच्चा सेवाधारी छन् ती निर्विकारी जीवनमा छन्। जसलाई अलिकति पनि यस्तो उस्तो ख्याल आउँदैन उनैले अन्त्यमा कर्मातीत अवस्था प्राप्त गर्नेछन्। तिमी ब्राह्मण नै पवित्र दृष्टिवाला बनिरहेका छौ। मनुष्यलाई कहिल्यै पनि देवता भन्न सकिँदैन। जो अपवित्र दृष्टिवाला हुन्छ उसले अवश्य पाप गर्नेछ। सत्ययुगी दुनियाँ पवित्र दुनियाँ हो। यो हो पतित दुनियाँ। यसको अर्थ पनि बुझ्दैनन्। ब्राह्मण बनेपछि नै बुझ्न सक्छन्। भन्छन् ज्ञान त धेरै राम्रो छ, जब फुर्सद हुन्छ तब आउने छु। बाबा सम्झनु हुन्छ– कहिल्यै पनि आउँदैन। यो त बाबाको अपमान भयो। मनुष्यबाट देवता बनिन्छ त्यसैले छिट्टै गर्नुपर्छ नि। भोलिको लागि छोड्यो भने मायाले नाकमा समातेर नालीमा खसाइदिन्छ। कल कल (भोलि भोलि) भन्दा भन्दै कालले खान्छ। शुभ कार्यमा ढिलाइ गर्नु हुँदैन। काल त शिरमाथि खडा छ। कति मनुष्य अचानक मर्छन्। अहिले बम खस्यो भने कति मनुष्य मर्छन्! भूकम्प आउँछ नि, पहिला कहाँ थाहा हुन्छ र! ड्रामा अनुसार प्राकृतिक प्रकोप पनि हुनु नै छ, जसलाई कसैले पनि जान्न सक्दैनन्। धेरै नोक्सान हुन्छ। फेरि सरकारले रेलको भाडा आदि बढाइदिन्छ। मानिसहरूलाई त जानै पर्छ। विचार गरिरहन्छन्—कसरी आम्दानी बढाऔँ जुन मनुष्यले दिन सक्छन्। अन्न कति महँगो भइसकेको छ। त्यसैले बाबाले बसेर सम्झाउनु हुन्छ– सिविल आइज्डलाई भनिन्छ पवित्र आत्मा। यो दुनियाँमा त सबैको दृष्टि अपवित्र भएको छ। अहिले तिमी पवित्र दृष्टिवाला बन्छौ। मेहनत छ, उच्च पद पाउनु साधारण कुरा होइन। जो सम्पूर्ण पवित्र आत्मा बन्छन् तिनैले उच्च पद पाउँछन्। तिमी त यहाँ आएका छौ नरबाट नारायण बन्नको लागि। तर जो पवित्र आत्मा बन्दैनन्, ज्ञान धारण गर्न सक्दैनन्, तिनीहरूले पद पनि सानो पाउँछन्। यस समयमा सबै मनुष्यको अपवित्र दृष्टि छ। सत्ययुगमा हुन्छ पवित्र दृष्टि।

बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमी देवी-देवताहरू स्वर्गको मालिक बन्न चाहन्छौ भने सम्पूर्ण पवित्र बन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर तब १०० प्रतिशत आत्म अभिमानी बन्न सक्छौ। कसैलाई पनि अर्थ सम्झाउन सक्छौ। सत्ययुगमा पापको कुनै कुरा नै हुँदैन। त्यो हो नै सर्व गुण सम्पन्न, सम्पूर्ण सिविल आइज्ड। चन्द्रवंशीको पनि दुई कला कम हुन्छ। चन्द्रमाको पनि अन्त्यमा गएर केवल रेखा मात्र रहन्छ। एकदम निल हुँदैन। भनिन्छ प्राय: लोप भयो। बादलमा देखिदैन। बाबा भन्नुहुन्छ– तिम्रो ज्योति पनि पूरै निभ्दैन, केही न केही लाइट रहन्छ। सुप्रिम ब्याट्रीबाट फेरि तिमीले पावर लिन्छौ। स्वयं नै आएर सिकाउनु हुन्छ– मसँग तिमीले कसरी योग राख्न सक्छौ। शिक्षकले पढाउनु हुन्छ, त्यसैले बुद्धियोग शिक्षकको साथमा रहनु पर्छ नि। शिक्षकले जुन मत दिनु हुन्छ त्यही पढ्छन्। हामी पनि पढेर टिचर वा ब्यारिस्टर बन्ने छौं, यसमा कृपा वा आशीर्वाद आदिको कुरा नै हुँदैन। शिर झुकाउनु पनि आवश्यक छैन। हो, कसैले हरिओम् वा राम राम भन्छन् भने जवाफमा तिमीले पनि भन्नुपर्छ। इज्जत दिनु पर्ने हुन्छ। अहङ्कार देखाउनु हुँदैन। तिमीलाई थाहा छ– हामीले त एक बाबालाई नै याद गर्नु छ। कसैले भक्ति छोडे भने पनि हङ्गामा हुन्छ। भक्ति छोड्नेलाई नास्तिक सम्झन्छन्। उनीहरूले नास्तिक भन्नु र तिम्रो भन्नुमा कति फरक छ। तिमीले भन्छौ उनीहरूले बाबालाई चिनेका छैनन् त्यसैले नास्तिक, अनाथ हुन्, सबै आपसमा लडाइँ झगडा गरिरहन्छन्। घर घरमा झगडा अशान्ति छ। क्रोधको निसानी हो अशान्ति। त्यहाँ कति अपार शान्ति हुन्छ। मानिसहरूले भन्छन् भक्तिमा धेरै शान्ति मिल्छ, तर त्यो हो अल्पकालको लागि। सदाको लागि शान्ति चाहिन्छ नि। तिमी धनवानबाट निर्धन बन्छौ तब शान्तिबाट फेरि अशान्तिमा आउँछौ। बेहदका बाबाले बेहद सुखको वर्सा दिनु हुन्छ। हदका पिताबाट हदको सुखको वर्सा मिल्छ। त्यो वास्तवमा हो दु:खको, काम कटारीको वर्सा, जसमा दु:ख नै दु:ख छ। त्यसैले बाबा भन्नुहुन्छ– तिमीले आदि मध्य अन्त्य दु:ख पाउँछौ।

बाबा भन्नुहुन्छ– म पतित-पावन बाबालाई याद गर, यसलाई भनिन्छ सृष्टि चक्रको सहज याद र सहज ज्ञान। तिमीले आफूलाई आदि सनातन देवी-देवता धर्मका सम्झियौ भने अवश्य स्वर्गमा आउने छौ। स्वर्गमा सबै सिविल आइज्ड थिए, देह अभिमानीलाई क्रिमिलन आइज्ड भनिन्छ। सिविल आइज्डमा कुनै विकार हुँदैन। बाबाले कति सरल बनाएर सम्झाउनु हुन्छ तर बच्चाहरूलाई यो पनि याद रहँदैन किनकि क्रिमिनल आइज्ड छन्। त्यसैले फोहोरी दुनियाँ नै उनीहरूलाई याद आउँछ। बाबा भन्नुहुन्छ– यस दुनियाँलाई भुल। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस्तो योगी बन्नु छ जसले गर्दा शरीरमा अलिकति पनि ममत्व रहनु छैन। कुनै पनि फोहोरी चिजमा आसक्ति जानु छैन, अवस्था यस्तो उपराम रहनु छ। खुसीको पारा चढेको हुनु पर्छ।

२) काल शिरमाथि खडा छ, त्यसैले शुभ कार्यमा ढिला गर्नु हुँदैन। भोलिको लागि छोड्नु छैन।

वरदान:–
चतुरसुजान बाबासँग चतुराइ गर्नुको सट्टा महसुसताको शक्तिद्वारा सबै पापहरूबाट मुक्त भव

कति बच्चाहरू चतुरसुजान (बुद्धिमान) बाबासँग पनि चतुराइ गर्छन्– आफ्नो काम सिद्ध गर्नको लागि, आफ्नो नाम राम्रो देखाउनको लागि त्यस समयमा महसुस गर्छन् तर त्यस महसुसतामा शक्ति हुँदैन त्यसैले परिवर्तन हुँदैन। कति छन् जसले सम्झन्छन् यो ठिक होइन तर सोच्छन् कतै नाम खराब नहोस्, त्यसैले आफ्नो विवेकको हत्या गर्छन्, यो पनि पापको खातामा जम्मा हुन्छ। त्यसैले चतुराइलाई छोडेर सच्चा दिलको महसुसताद्वारा स्वयंलाई परिवर्तन गरेर पापहरूबाट मुक्त बन।

स्लोगन:–
जीवनमा छँदै भिन्न भिन्न बन्धनहरूबाट मुक्त रहनु नै जीवनमुक्त स्थिति हो।