04.12.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सबै
कुरा यादमा आधारित छन् , यादबाट नै तिमी मीठो बन्छौ , यस यादमा नै मायाको युद्ध
चल्छ।”
प्रश्न:–
यो ड्रामामा
कुनचाहिँ रहस्य धेरै विचार गर्न योग्य छ, जुन तिमी बच्चाहरूले मात्रै जानेका छौ?
उत्तर:–
तिमीलाई थाहा
छ– ड्रामामा एउटा पार्ट अर्को पटक खेल्न सकिँदैन। सारा दुनियाँमा जुनसुकै पनि पार्ट
खेलिन्छ त्यो एक अर्को भन्दा नयाँ हुन्छ। तिमीले विचार गर्छौ– सत्ययुगदेखि लिएर
अहिलेसम्म कसरी दिन परिवर्तन हुन्छ। सारा क्रियाकलाप परिवर्तन हुन्छन्। आत्मामा ५
हजार वर्षका क्रियाकलापको रिकर्ड भरिएको छ, जुन कहिल्यै परिवर्तन हुन सक्दैन। यो
सानो कुरा तिमी बच्चाहरू बाहेक अरू कसैको बुद्धिमा आउन सक्दैन।
ओम् शान्ति ।
रूहानी बाबाले
रूहानी बच्चाहरूसँग सोध्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! तिमीले आफ्नो भविष्यको
पुरुषोत्तम मुख, पुरुषोत्तम चोला देख्छौ? यो पुरुषोत्तम सङ्गमयुग हो नि। तिमीले
महसुस गर्छौ– हामी फेरि नयाँ दुनियाँ सत्ययुगमा यिनको वंशावलीमा जान्छौं, जसलाई
सुखधाम भनिन्छ। त्यहाँको लागि नै तिमी अहिले पुरुषोत्तम बनिरहेका छौ। बसी बसी यो
विचार आउनु पर्छ। विद्यार्थीले पढ्दा उनीहरूको बुद्धिमा यो अवश्य हुन्छ– भोलि म यो
बन्नेछु। त्यस्तै तिमीले पनि यहाँ बस्दा जानेका छौ– हामी विष्णुको कुलमा जान्छौं।
तिम्रो बुद्धि अहिले अलौकिक छ। अरू कुनै मनुष्यको बुद्धिमा यो कुरा रमण हुन सक्दैन।
यो कुनै साधारण सत्सङ्ग होइन। यहाँ बसेका छौ, बुझ्छौ– सत्य बाबा जसलाई शिव भनिन्छ,
हामी उहाँको सङ्गतमा बसेका छौं। शिवबाबा नै रचयिता हुनुहुन्छ, उहाँले नै यस रचनाको
आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ। उहाँले नै यो ज्ञान दिनुहुन्छ। मानौं हिजोको कुरा
सुनाउनु हुन्छ। यहाँ बसेका छौ, यो त याद छ नि– हामी आएका हौं पूरा परिवर्तन हुन
अर्थात् यो शरीर परिवर्तन गरेर दैवी शरीर लिन। आत्माले भन्छ– यो हाम्रो तमोप्रधान
पुरानो शरीर हो। यसलाई परिवर्तन गरेर यस्तो (देवताको जस्तो) शरीर लिनु छ। कति सहज
लक्ष्य-उद्देश्य छ। पढाउनेवाला टिचर अवश्य पनि पढ्नेवाला विद्यार्थी भन्दा होसियार
हुनुहुन्छ नि। उहाँले पढाउनु हुन्छ, राम्रो कर्म पनि सिकाउनु हुन्छ। अहिले तिमीले
जान्दछौ– हामीलाई सर्वोच्च बाबाले पढाउनु हुन्छ। त्यसैले अवश्य पनि देवी-देवता नै
बनाउनु हुन्छ। यो पढाइ हो नै नयाँ दुनियाँको लागि। अरू कसैलाई नयाँ दुनियाँका बारेमा
अलिकति पनि थाहा छैन। यी लक्ष्मी-नारायण नयाँ दुनियाँका मालिक थिए। देवी-देवताहरू
पनि त नम्बरवार हुन्छन् नि। सबै समान त हुन पनि सक्दैनन् किनकि राजधानी हो नि। यो
ख्याल तिमीहरूमा चल्नुपर्छ। हामी आत्माहरूले पावन बन्नको लागि अहिले पावन बाबालाई
याद गर्छौं। आत्माले आफ्ना प्यारा बाबालाई याद गर्छ। बाबा स्वयं भन्नुहुन्छ– तिमीले
मलाई याद गर्यौ भने पावन सतोप्रधान बन्छौ। सारा कुरा यादको यात्रामा आधारित छ।
बाबाले अवश्य सोध्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई कति समय याद गर्छौ? यादको यात्रामा
नै मायाको युद्ध चल्छ? तिमीले युद्धलाई पनि बुझेका छौ। यो यात्रा होइन तर लडाइँ
जस्तै हो, यसमा नै धेरै होसियार रहनु पर्छ। ज्ञानमा मायाको तुफान आदिको कुरा हुँदैन।
बच्चाहरूले भन्छन् पनि– हामीले बाबाको याद गर्छौं, तर मायाको एउटै तुफानले तल
गिराइदिन्छ। पहिलो नम्बरको तुफान हो देह अभिमानको। फेरि हो काम, क्रोध, लोभ, मोहको।
बच्चाहरूले भन्छन्– बाबा, यादमा रहनको लागि हामीले धेरै कोसिस गर्छौं, कुनै विघ्न
नआओस् भनेर तर फेरि पनि तुफान आइहाल्छ। आज क्रोधको, भोलि लोभको तुफान आउँछ। बाबा आज
मेरो अवस्था धेरै राम्रो रह्यो, सारा दिन कुनै तुफान आएन। धेरै खुसी लाग्यो।
बाबालाई धेरै प्यारसँग याद गरेँ। स्नेहका आँसु पनि बगिरहे। बाबाको यादबाटै धेरै मीठा
बन्छौं।
यो पनि जानेका छौ–
हामी मायासँग हार खाँदा-खाँदा कहाँ आइपुगेका छौं। यो कसले कहाँ जान्दछन् र! मनुष्यले
त लाखौं वर्ष भनिदिन्छन् कि परम्परा भनिदिन्छन्। तिमीले भन्छौ– हामी फेरि मनुष्यबाट
देवता बनिरहेका छौं। यो ज्ञान बाबाले नै आएर दिनुहुन्छ। विचित्र (निराकार) बाबाले
नै विचित्र (अद्भुत) ज्ञान दिनुहुन्छ। विचित्र निराकारलाई भनिन्छ। निराकारले कसरी
यो ज्ञान दिनुहुन्छ? बाबाले स्वयं सम्झाउनु हुन्छ– म कसरी यस तनमा आउँछु, तैपनि
मनुष्य अल्मलिन्छन्। के एउटै, यसै तनमा मात्र आउनु हुन्छ! तर ड्रामामा यही तन
निमित्त बन्छ। अलिकति पनि परिवर्तन हुन सक्दैन। यो कुरा तिमीले नै बुझेर अरूलाई
बुझाउँछौ। आत्माले नै पढ्छ। आत्माले नै सिक्छ-सिकाउँछ। आत्मा एकदम महत्त्वपूर्ण छ।
आत्मा अविनाशी छ, केवल शरीर विनाश हुन्छ। हामी आत्माहरूले आफ्ना परमपिता
परमात्माबाट रचयिता र रचनाको आदि-मध्य-अन्त्यको, ८४ जन्मको ज्ञान लिइरहेका छौं।
ज्ञान कसले लिन्छ? हामी आत्माहरूले। तिमी आत्माले नै ज्ञानका सागर बाबाबाट मूलवतन,
सूक्ष्मवतनलाई जानेका छौ। मनुष्यहरूलाई हामीले आफूलाई आत्मा सम्झनुपर्छ भन्ने थाहै
छैन। मनुष्यहरूले त आफूलाई शरीर सम्झेर उल्टो झुन्डिएका छन्। गायन पनि छ– आत्मा सत्,
चित, आनन्द स्वरूप छ। सबैभन्दा धेरै महिमा परमात्माको छ। एक बाबाको कति महिमा छ। उहाँ
नै दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ। लामखुट्टे आदिको त यति महिमा गरिदैन– ऊ
दु:ख-हर्ता, सुख-कर्ता, ज्ञानको सागर हो? होइन, यो त हो बाबाको महिमा। तिमी बच्चाहरू
पनि मास्टर दु:खहर्ता सुखकर्ता हौ। तिमी बच्चाहरूलाई पनि यो ज्ञान थिएन, केटाकेटी
बुद्धि जस्तै थियौ। सानो बच्चामा ज्ञान हुँदैन, कुनै अवगुण पनि हुँदैन, त्यसैले
उनीहरूलाई महात्मा भनिन्छ किनकि पवित्र हुन्छन्। जति सानो बच्चा त्यति नम्बरवन फूल।
बिल्कुलै कर्मातीत अवस्था जस्तो हुन्छ। कर्म-अकर्म-विकर्मलाई केही पनि जानेका छैनन्,
त्यसैले तिनीहरू फूल हुन्। सबैलाई आकर्षित गर्छन्। जसरी एक बाबाले सबैलाई आकर्षित
गर्नुहुन्छ। बाबा आउनु भएको नै सबैलाई आकर्षित गरेर सुगन्धित फूल बनाउन हो। कति त
काँडाको काँडै रहन्छन्। ५ विकारहरूको वशीभूत हुनेलाई काँडा भनिन्छ। पहिलो नम्बरको
काँडा हो देह अभिमानको, जसबाट अरू काँडाको जन्म हुन्छ। काँडाको जङ्गलले धेरै दु:ख
दिन्छ। जङ्गलमा किसिम किसिमका काँडा हुन्छन् नि। त्यसैले यसलाई दु:खधाम भनिन्छ। नयाँ
दुनियाँमा काँडा हुँदैनन् त्यसैले त्यसलाई सुखधाम भनिन्छ। शिवबाबाले फूलको बगैँचा
लगाउनु हुन्छ, रावणले काँडाको जङ्गल लगाउँछ। त्यसैले रावणलाई काँडाद्वारा जलाउँछन्
र बाबालाई फूल चढाउँछन्। यी कुरा बाबालाई थाहा छ र बच्चाहरूले पनि जानेका छन्, अरू
कसैले जानेका छैनन्।
तिमी बच्चाहरूलाई थाहा
छ– ड्रामामा एउटा पार्ट अर्को पटक हुन सक्दैन। बुद्धिमा छ सारा दुनियाँमा जुन पार्ट
खेलिन्छ त्यो एकअर्को भन्दा नयाँ हुन्छ। तिमीले विचार गर– सत्ययुगदेखि लिएर
अहिलेसम्म कसरी समय परिवर्तन हुन्छ। सारा क्रियाकलाप नै परिवर्तन हुन्छ। ५ हजार
वर्षका क्रियाकलापको रिकर्ड आत्मामा भरिएको छ। त्यो कहिल्यै परिवर्तन हुन सक्दैन।
हरेक आत्मामा आ-आफ्नो पार्ट भरिएको छ। यो सानो कुरा पनि कसैको बुद्धिमा आउन सक्दैन।
यो ड्रामाको भूत, वर्तमान, भविष्यलाई तिमीले जानेका छौ। यो विद्यालय हो नि। पवित्र
बनेर बाबालाई याद गर्ने पढाइ बाबाले पढाउनु हुन्छ। यो कुरा कहिल्यै सोचेका थियौ–
बाबा आएर पतितबाट पावन बन्ने यस्तो पढाइ पढाउनु हुन्छ! यस पढाइबाटै हामी विश्वको
मालिक बन्छौं! भक्तिमार्गका पुस्तक भिन्नै हुन्, त्यसलाई कहिल्यै पढाइ भनिदैन।
ज्ञान विना सद्गति हुन्छ पनि कसरी? बाबा विना ज्ञान कहाँबाट आउँछ जसबाट सद्गति
हुन्छ। तिमी सद्गतिमा भएको बेला भक्ति गर्छौ? यस्तो हुँदैन, त्यहाँ हुन्छ नै अपार
सुख, फेरि भक्ति केको लागि गर्ने? यो ज्ञान अहिले मात्रै तिमीलाई मिल्छ। सबै ज्ञान
आत्मामा हुन्छ। आत्माको कुनै धर्म हुँदैन। आत्माले शरीर धारण गरेपछि मात्र भन्छन्
फलाना यो यो धर्मको हो। आत्माको धर्म के हो? एक त आत्मा बिन्दु जस्तै छ र शान्त
स्वरूप छ, शान्तिधाममा रहन्छ।
अहिले बाबाले सम्झाउनु
हुन्छ– बाबामा सबै बच्चाहरूको हक छ। धेरै बच्चाहरू छन् जो अरू अरू धर्ममा परिवर्तन
भएर गएका छन्। ती फेरि निस्किएर आफ्नो मूल धर्ममा आउने छन्। जो देवी-देवता धर्म
छोडेर अर्को धर्ममा गएका छन् ती सबै पातहरू (आत्माहरू) आफ्नो स्थानमा आउने छन्।
तिमीले सबैभन्दा पहिला त बाबाको परिचय दिनुपर्छ। यसै कुरामा सबै अल्मलिएका छन्। तिमी
बच्चाहरूलाई थाहा छ– अहिले हामीलाई कसले पढाउनु हुन्छ? बेहदका बाबाले। श्रीकृष्ण त
देहधारी हुन्, यिनलाई (ब्रह्मालाई) पनि दादा भनिन्छ। तिमीहरू सबै भाइ भाइ हौ नि।
फेरि हुन्छ पद अनुसार। भाइको शरीर कस्तो छ, बहिनीको शरीर कस्तो छ। आत्मा त एक सानो
सितारा हो। एक सानो सितारामा यति सारा ज्ञान हुन्छ। सिताराले शरीर बिना कुरा गर्न
पनि सक्दैन। सितारालाई पार्ट खेल्नको लागि यति धेरै इन्द्रियहरू मिलेका छन्। तिमी
सिताराहरूको दुनियाँ नै अलग छ। आत्माले यहाँ आएर फेरि शरीर धारण गर्छ। शरीर
सानो-ठुलो हुन्छ। आत्माले नै आफ्नो बाबालाई याद गर्छ। त्यो पनि जबसम्म शरीरमा हुन्छ।
घरमा आत्माले बाबालाई याद गर्छ र? गर्दैन। हामी कहाँ छौं! त्यहाँ केही पनि थाहा
हुँदैन। आत्मा र परमात्मा जब दुवै शरीरमा हुन्छन् तब आत्मा र परमात्माको मेला
भनिन्छ। गायन पनि छ– आत्मा-परमात्मा अलग रहे बहुकाल... कति समय अलग रहे? याद आउँछ–
कति समय अलग रहे? सेकेण्ड सेकेण्ड बित्दै ५ हजार वर्ष बित्यो। फेरि पहिलो नम्बरबाट
सुरु गर्नु छ, यो यथार्थ हिसाब हो। अहिले तिमीसँग यिनले कहिले जन्म लिए भनी कसैले
सोधेमा तिमीले यथार्थ बताउन सक्छौ। श्रीकृष्णले नै पहिलो नम्बरमा जन्म लिन्छन्।
शिवको जन्मको त कुनै मिनेट, सेकेण्ड निकाल्न सकिँदैन। श्रीकृष्णको लागि तिथि-मिति,
मिनेट-सेकेण्ड निकाल्न सक्छौ। मनुष्यको घडीमा फरक पर्न सक्छ। शिवबाबाको अवतरणमा त
बिल्कुल फरक पर्न सक्दैन। थाहै हुँदैन कहिले आउनु भयो? यस्तो पनि होइन, साक्षात्कार
भयो अनि आउनु भयो। होइन, अन्दाज लगाउन सक्छन्। मिनेट-सेकेण्डको हिसाब बताउन सक्दैनन्।
उहाँको अवतरण पनि अलौकिक छ, उहाँ आउनु हुन्छ नै बेहदको रातको समयमा। अरू जति पनि
अवतरण आदि हुन्छ, त्यो थाहा हुन्छ। आत्मा शरीरमा प्रवेश गर्छ। सानो चोला लिन्छ अनि
विस्तारै विस्तारै ठुलो हुन्छ। शरीरसँगै आत्मा बाहिर आउँछ। यी सबै कुराको विचार
सागर मन्थन गरेर फेरि अरूलाई सम्झाउनु पर्छ। कति धेरै मनुष्य छन्, एक अर्कोसँग
मिल्दैन। कति ठुलो मण्डप छ। मानौं ठुलो हल हो, जसमा बेहदको नाटक चल्छ।
तिमी बच्चाहरू आउँछौ–
नरबाट नारायण बन्नको लागि, बाबाले जुन नयाँ सृष्टि रचना गर्नुहुन्छ त्यसमा उच्च पद
लिनको लागि। बाँकी यो जुन पुरानो दुनियाँ छ त्यो त विनाश हुन्छ। बाबाद्वारा नयाँ
दुनियाँको स्थापना भइरहेको छ। बाबाले त फेरि पालना पनि गर्नुपर्छ। अवश्य जब यो शरीर
छोडिन्छ तब फेरि सत्ययुगमा नयाँ शरीर लिएर पालना गरिन्छ। त्यो भन्दा पहिला यो पुरानो
दुनियाँको विनाश पनि हुनु छ। सृष्टिलाई आगो लाग्छ। पछि यो भारतखण्ड मात्रै रहन्छ,
बाँकी सबै समाप्त हुन्छ। भारतखण्डमा पनि अलिकति बच्छन्। विनाश पछि फेरि सजाय खान
नपरोस् यसैका लागि तिमीले अहिले मेहनत गरिरहेका छौ–। यदि विकर्म विनाश भएन भने सजाय
पनि खानु पर्नेछ र पद पनि मिल्दैन। तिमीलाई कसैले तपाईँ कसका पासमा जानुहुन्छ भनी
सोधेमा भन– शिवबाबाको पासमा, जो ब्रह्मा तनमा आउनु भएको छ। यी ब्रह्मा कुनै शिव
होयनन्। जति बाबालाई चिनेका छौ त्यति बाबासँग प्यार पनि हुन्छ। बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! तिमीले अरू कसैसँग प्यार नगर, अरूसँग प्यार तोडेर एकसँग जोड। जसरी
प्रेमी-प्रेमिका हुन्छन् नि। यो पनि त्यस्तै हो। १०८ सच्चा प्रियतमा बन्छन्, त्यसमा
पनि ८ सच्चा-सच्चा बन्छन्। ८ को पनि माला छ नि। ९ रत्नको गायन छ। ८ दाना, नवौं बाबा।
मुख्य हुन् ८ देवताहरू, फेरि १६१०८ राजकुमार-राजकुमारीहरूको कुटुम्ब बन्छ त्रेता
अन्त्य तक। बाबाले त हत्केलामा स्वर्ग देखाउनु हुन्छ। तिमी बच्चाहरूलाई नसा छ– हामी
त सृष्टिको मालिक बन्छौं। बाबासँग यस्तो व्यापार गर्नु छ। भन्छन्– कुनै बिरलै
व्यापारीले यो व्यापार गर्न सक्छ। यस्तो कुनै व्यापारी कहाँ हुन्छ। त्यसैले प्यारा
बच्चाहरू यस्तो उमङ्गमा रहने गर, हामी जादैछौं बाबाको पासमा, माथि रहने बाबाको पासमा।
दुनियाँलाई थाहा छैन, उनीहरूले भन्छन्– त्यो त अन्त्यमा आउने छ। अहिले त्यही
कलियुगको अन्त्य हो। त्यही गीता, महाभारतको समय हो, तिनै यादव जसले मिसाइल
निकालिरहेका छन्। तिनै कौरवहरूको राज्य र उही तिमी पाण्डवहरू खडा छौ।
तिमी बच्चाहरूले अहिले
घर बसेर आफ्नो कमाइ गरिरहेका छौ। घरैमा भगवान आउनु भएको छ, त्यसैले बाबा भन्नुहुन्छ–
आफ्नो कमाइ गर। यो हीरा जस्तो जीवनलाई अनमोल भनी गायन गरिएको छ। अब यसलाई कौडीमा
परिवर्तन गरेर गुमाउनु हुँदैन। अहिले तिमीले यस पुरानो दुनियाँलाई रामराज्य बनाउँछौ।
तिमीलाई शिवबाबाबाट शक्ति मिलिरहेको छ। तर आजकाल कैयौंको अकालमा मृत्यु पनि हुन्छ।
बाबाले बुद्धिको ताला खोल्नुहुन्छ र मायाले बुद्धिको ताला बन्द गरिदिन्छ। अहिले तिमी
माताहरूलाई नै ज्ञानको कलश मिलेको छ। अबलाहरूलाई शक्ति दिनेवाला उहाँ हुनुहुन्छ। यही
ज्ञान अमृत हो। शास्त्रको ज्ञानलाई कुनै अमृत भनिदैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको आकर्षणमा रहेर सुगन्धित फूल बन्नु छ। आफ्ना प्यारा बाबालाई याद गरेर
देह अभिमानको काँडालाई जलाइदिनु छ।
२) यो हीरा तुल्य
जन्ममा अविनाशी कमाइ जम्मा गर्नु छ, कौडीको लागि यसलाई गुमाउनु छैन। एक बाबासँग
सच्चा प्यार गर्नु छ, एकको सङ्गतमा रहनु छ।
वरदान:–
ब्राह्मण
जीवनमा सदा खुसीको खुराक खाने र खुसी बाँड्ने भाग्यमानी भव
यस दुनियाँमा तिमी
ब्राह्मणहरू जस्तो भाग्यमानी कोही हुन सक्दैन किनकि यस जीवनमा नै तिमीहरू सबैलाई
बापदादाको दिलतख्त मिल्छ। सदा खुसीको खुराक खान्छौ र खुसी बाँड्छौ। यस समयमा
बेफिक्र बादसाह छौ। यस्तो बेफिक्र जीवन सारा कल्पमा अरू कुनै पनि युगमा हुँदैन।
सत्ययुगमा बेफिक्र हुनेछौ तर त्यहाँ ज्ञान हुँदैन, अहिले तिमीलाई ज्ञान छ, त्यसैले
दिलबाट निस्कन्छ– म जस्तो भाग्यमानी कोही छैन।
स्लोगन:–
सङ्गमयुगका
स्वराज्य अधिकारी नै भविष्यको विश्व राज्य अधिकारी बन्छन्।