05.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाको
श्रीमतले तिमी मनुष्यबाट देवता बन्छौ , गीताको ज्ञान र राजयोगले तिमीलाई सम्पूर्ण
पावन बनाइदिन्छ।”
प्रश्न:–
सत्ययुगमा
हरेक चीज सबैभन्दा राम्रो सतोप्रधान हुन्छ किन?
उत्तर:–
किनकि त्यहाँ
मनुष्य सतोप्रधान हुन्छन्, मनुष्य राम्रा भएपछि सामग्री पनि राम्रो हुन्छ र मनुष्य
नराम्रा छन् भने सामग्री पनि हानिकारक हुन्छन्। सतोप्रधान सृष्टिमा कुनै पनि वस्तु
अप्राप्त हुँदैन, केही पनि कहीँबाट मगाउनु पर्दैन।
ओम् शान्ति ।
बाबाले यो
शरीरद्वारा सम्झाउनुहुन्छ। यसलाई जीव भनिन्छ, यसमा आत्मा पनि छ र तिमी बच्चाहरूलाई
थाहा छ– परमात्मा पनि यसैमा हुनुहुन्छ। यो त सबैभन्दा पहिला पक्का हुनुपर्छ त्यसैले
उहाँलाई दादा पनि भनिन्छ। यो त बच्चाहरूलाई निश्चय छ। यही निश्चयमा नै रमण गर्नुछ।
अवश्य बाबाले जसमा प्रवेश गर्नुभएको छ वा अवतार लिनुभएको छ, उहाँको लागि बाबा स्वयं
भन्नुहुन्छ– म यिनको धेरै जन्मको अन्त्यको पनि अन्त्यमा आउँछु। बच्चाहरूलाई
सम्झाइएको छ– यो हो सर्व शास्त्र शिरोमणि गीताको ज्ञान। श्रीमत अर्थात् श्रेष्ठ मत।
श्रेष्ठभन्दा श्रेष्ठ मत उच्चभन्दा उच्च भगवानको हो। जसको श्रीमतले तिमी मनुष्यबाट
देवता बन्छौ। तिमी भ्रष्ट मनुष्यबाट श्रेष्ठ देवता बन्छौ। तिमी आउँछौ नै त्यसैको
लागि। बाबा पनि स्वयं भन्नुहुन्छ– म आउँछु तिमीलाई श्रेष्ठाचारी, निर्विकारी मतवाला
देवीदेवता बनाउन। मनुष्यबाट देवता बन्नुको अर्थ पनि बुझ्नुछ। विकारी मनुष्यबाट
निर्विकारी देवता बनाउन बाबा आउनुहुन्छ। सत्ययुगमा मनुष्य हुन्छन् तर दैवीगुण भएका।
अहिले कलियुगमा छन् आसुरी अवगुण भएका मनुष्य। हो सारा मनुष्य सृष्टि, तर त्यो हो
ईश्वरीय बुद्धि, यो हो आसुरी बुद्धि। त्यहाँ ज्ञान, यहाँ भक्ति। ज्ञान र भक्ति
भिन्ना भिन्नै हुन् नि। भक्तिका पुस्तक कति छन् र ज्ञानका पुस्तक कति छन्। ज्ञानको
सागर बाबा हुनुहुन्छ। उहाँको पुस्तक पनि त एउटै हुनुपर्छ। जसले पनि धर्म स्थापना
गर्छन्, उनीहरूको पुस्तक एउटै हुनुपर्छ। त्यसलाई आध्यात्मिक पुस्तक भनिन्छ। पहिलो
आध्यात्मिक पुस्तक हो गीता। श्रीमद् भगवत् गीता। यो पनि बच्चाहरूलाई थाहा छ– पहिलो
आदि सनातन देवीदेवता धर्म हो, न कि हिन्दु धर्म। मानिसहरूले सम्झन्छन्– गीताबाट
हिन्दु धर्म स्थापना भयो र गीता गायन गर्नुभएको हो श्रीकृष्णले। कसैलाई सोध्यौ भने
भन्छन्– यो गीता परम्परादेखि श्रीकृष्णले गायन गर्नुभएको हो। कुनै शास्त्रमा शिव
भगवानुवाच छैन। श्रीमद् श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्, जसले गीता पढेका होलान्
उनीहरूले सहजै बुझ्नेछन्। अहिले तिमीले बुझेका छौ– यही गीता ज्ञानबाट मनुष्य देवता
बनेका हुन्, जुन ज्ञान अहिले बाबाले तिमीलाई दिइरहनुभएको छ। राजयोग सिकाइरहनुभएको
छ। पवित्रता पनि सिकाइरहनुभएको छ। काम महाशत्रु हो, यसैद्वारा नै तिमीले हार खाएका
हौ। अब फेरि त्यसमाथि विजय प्राप्त गरेर तिमी जगतजित अर्थात् विश्वको मालिक बन्छौ।
यो त धेरै सहज छ। बेहदका बाबा बसेर यिनीद्वारा तिमीलाई पढाउनुहुन्छ। उहाँ सबै
आत्माहरूका पिता हुनुहुन्छ। यहाँ फेरि हुनुहुन्छ बेहदका पिता मनुष्यहरूका। नाम नै छ
प्रजापिता ब्रह्मा। तिमीले कसैलाई पनि ब्रह्माका पिताको नाम बताउनुहोस् भनेर सोध्यौ
भने अलमलिनेछन्। ब्रह्मा-विष्णु-शङ्कर रचना हुन्। यी तीनैका कोही त पिता हुनुहुन्छ
होला नि। तिमीले देखाउँछौ– यी तीनैका पिता हुनुहुन्छ निराकार शिव।
ब्रह्मा-विष्णु-शङ्करलाई सूक्ष्मवतनका देवताका रूपमा देखाउँछन्। उनीहरूभन्दा माथि
हुनुहुन्छ शिव। बच्चाहरूलाई थाहा छ– जति पनि शिवबाबाका बच्चा आत्माहरू छन् उनीहरूको
आफ्नो शरीर त हुन्छ होला। उहाँ त सदैव निराकार परमपिता परमात्मा हुनुहुन्छ।
बच्चाहरूलाई थाहा भएको छ– निराकार परमपिता परमात्माका हामी बच्चाहरू हौँ। आत्माले
शरीरद्वारा भन्छ– परमपिता परमात्मा। कति सहज कुरा छन्। यसलाई भनिन्छ अल्फ बे। कसले
पढाउनुहुन्छ? गीताको ज्ञान कसले सुनाउनुभयो? निराकार बाबाले। उहाँको कुनै ताज आदि
छैन। उहाँ ज्ञानको सागर, बीजरूप, चैतन्य हुनुहुन्छ। तिमी पनि चैतन्य आत्मा हौ नि!
सबै वृक्षको आदि-मध्य-अन्त्यलाई तिमीले जानेका छौ। हुन त तिमी माली होइनौ तर जान्न
सक्छौ– कसरी बीउ रोप्छन्, त्यसबाट वृक्ष निस्कन्छ। त्यो त हो जड वृक्ष, यो हो
चैतन्य। तिम्रो आत्मामा ज्ञान छ, अरू कसैको आत्मामा ज्ञान हुँदैन। बाबा चैतन्य
मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। त्यसैले वृक्ष पनि मनुष्यहरूकै हुन्छ। यो हो
चैतन्य रचना। बीउ र रचनामा फरक त हुन्छ नि! आँपको बीउ रोपेपछि आँपै उम्रिन्छ, फेरि
वृक्ष कति ठुलो हुन्छ। त्यसैगरी मनुष्यको बीउबाट मनुष्य कति फलदायक हुन्छन्। जड
बीउमा कुनै ज्ञान हुँदैन। यो त चैतन्य बीजरूप हो। उहाँमा सारा सृष्टिरूपी वृक्षको
ज्ञान छ- कसरी उत्पत्ति, पालना फेरि विनाश हुन्छ । यो धेरै ठुलो वृक्ष समाप्त भएर
फेरि अर्को नयाँ वृक्ष कसरी ठडिन्छ! यो कुरा गुप्त छ। तिम्रो यो ज्ञान पनि गुप्त
मिल्छ। बाबा पनि गुप्त आउनुभएको छ। तिमीलाई थाहा छ– यो कलमी लागिरहेको छ। अहिले त
सबै पतित बनेका छन्। अच्छा, बीउबाट सबैभन्दा पहिलो नम्बरमा जुन पात निस्कियो त्यो
को हुनुहुन्थ्यो? सत्ययुगको पहिलो पात त श्रीकृष्णलाई नै भनिन्छ, लक्ष्मीनारायणलाई
होइन। नयाँ पात सानो हुन्छ। पछि ठुलो हुन्छ। त्यसैले यो बीउको कति महिमा छ। यो त
चैतन्य हो नि। फेरि पातहरू पनि निस्कन्छन्। उनीहरूको त महिमा हुन्छ। अहिले तिमी
देवीदेवता बनिरहेका छौ। दैवीगुण धारण गरिरहेका छौ। मूल कुरा नै यो हो– हामीले
दैवीगुण धारण गर्नुछ, उहाँहरू जस्तो बन्नुछ। चित्र पनि छन्। यी चित्र नभए बुद्धिमा
ज्ञान नै आउँदैनथ्यो। यी चित्र धेरै काममा आउँछन्। भक्तिमार्गमा यी चित्रहरूको पनि
पूजा हुन्छ र ज्ञानमार्गमा यी चित्रहरूबाट तिमीलाई यस्तो बन्नुछ भन्ने ज्ञान मिल्छ।
भक्तिमार्गमा यस्तो सम्झँदैनन्- हामी यस्तो बन्नुछ। भक्तिमार्गमा कति मन्दिर बन्छन्।
सबैभन्दा धेरै मन्दिर कसका होलान्? अवश्य शिवबाबाका हुन्छन् जो बीजरूप हुनुहुन्छ।
फेरि त्यसपछि पहिलो रचनाका मन्दिर हुन्छन्। पहिलो रचना लक्ष्मीनारायण हुनुहुन्छ।
शिवपछि उहाँहरूकै पूजा सबैभन्दा धेरै हुन्छ। माताहरूले त ज्ञान दिन्छन्, उनीहरूको
पूजा हुँदैन। उनीहरूले त पढाउँछन् नि। बाबाले तिमीलाई पढाउनुहुन्छ। तिमीले कसैको
पूजा गर्दैनौ। पढाउनेवालाको अहिले पूजा गर्न सक्दैनौ। तिमी पढेर फेरि अनपढ बनेपछि
मात्रै फेरि पूजा हुन्छ। तिमी सो देवीदेवता बन्छौ। तिमीलाई नै थाहा छ– जसले हामीलाई
यस्तो बनाउनुहुन्छ उहाँको पूजा हुन्छ फेरि हाम्रो पूजा हुन्छ नम्बरवार। फेरि गिर्दै
गिर्दै पाँच तत्त्वको पनि पूजा गर्न थाल्छन्। शरीर ५ तत्त्वको हो नि। ५ तत्त्वको
पूजा गर वा शरीरको गर, कुरा एउटै हो। यो ज्ञान त बुद्धिमा छ। यी लक्ष्मीनारायण सारा
विश्वका मालिक थिए। यी देवीदेवताहरूको राज्य नयाँ सृष्टिमा थियो। तर त्यो कहिले थियो?
यो कुरा जान्दैनन्, लाखौँ वर्ष भनिदिन्छन्। तर लाखौँ वर्षको कुरा त कहिल्यै कसैको
बुद्धिमा रहन सक्दैन। अहिले तिमीलाई स्मृति भएको छ– हामी आजभन्दा ५००० वर्ष पहिला
आदि सनातन देवीदेवता धर्मका थियौँ। देवीदेवता धर्मका मानिसहरू फेरि अरू धर्महरूमा
परिवर्तन भएका छन्। हाम्रो धर्म हिन्दु धर्म हो भन्न सक्दैनन्। तर पतित भएको कारणले
आफूलाई देवीदेवता भन्न सुहाउँदैन। अपवित्रलाई देवीदेवता भन्न सक्दैनन्। मानिसहरूले
पवित्र देवीहरूको पूजा गर्छन् भने अवश्य स्वयं अपवित्र छन् त्यसैले पवित्रको अगाडि
शिर झुकाउनुपर्छ। भारतवर्षमा खासगरी कन्याहरूलाई नमन गर्छन्। कुमारहरूलाई नमन
गर्दैनन्। महिलालाई नमन गर्छन्। पुरुषलाई नमन किन गर्दैनन्? किनकि यस समयमा ज्ञान
पनि पहिला माताहरूलाई मिल्छ। बाबा यिनमा प्रवेश गर्नुहुन्छ। यो पनि बुझेका छौ– यिनी
(ब्रह्मा) अवश्य ज्ञानको ठुलो नदी हुन्। ज्ञान नदी पनि हुन् फेरि पुरुष पनि हुन्।
यिनी हुन् सबैभन्दा ठुलो नदी। ब्रह्मपुत्र नदी सबैभन्दा ठुलो हो, जुन कलकत्तातिर
गएर सागरमा मिल्छ। मेला पनि त्यहाँ लाग्छ। तर उनीहरूलाई यो थाहा छैन- यो आत्माहरू र
परमात्माको मेला हो। त्यो त पानीको नदी हो, जसको नाम ब्रह्मपुत्र राखिएको छ।
उनीहरूले त ब्रह्म ईश्वरलाई भनेका छन् त्यसैले ब्रह्मपुत्रलाई धेरै पावन सम्झन्छन्।
ठुलो नदी हो भने पवित्र पनि त्यही हुन्छ। पतितपावन वास्तवमा गङ्गालाई होइन,
ब्रह्मपुत्रलाई भन्नुपर्छ। मेला पनि यिनको लाग्छ। यो पनि सागर र ब्रह्मा नदीको मेला
हो। ब्रह्माद्वारा गोदमा लिने कार्य (एडप्सन) कसरी हुन्छ– यी बुझ्नुपर्ने गुह्य कुरा
हुन्, जुन प्रायः लोप हुन्छन्। यो त बिल्कुल सहज कुरा हो नि।
भगवानुवाच– मैले
तिमीहरूलाई राजयोग सिकाउँछु, फेरि यो दुनियाँ नै समाप्त हुनेछ। शास्त्र आदि केही पनि
रहने छैनन्। फेरि भक्तिमार्गमा यी शास्त्र हुन्छन्। ज्ञानमार्गमा शास्त्र हुँदैनन्।
मानिसहरूले सम्झन्छन्– यी शास्त्र परम्परादेखि चल्दै आएका हुन्। ज्ञान त केही छैन।
कल्पको अवधि नै लाखौँ वर्ष भनिदिएका छन् त्यसैले परम्परा भनिदिन्छन्। यसलाई भनिन्छ
अज्ञान अन्धकार। अहिले तिमी बच्चाहरूलाई यो बेहदको पढाइ मिल्छ, जसबाट तिमीले
आदि-मध्य-अन्त्यको रहस्य सम्झाउन सक्छौ। तिमीलाई यी देवीदेवताहरूको इतिहास भूगोल
पूरै थाहा छ। यी पवित्र प्रवृत्तिमार्गका पूज्य थिए। अहिले पुजारी पतित बनेका छन्।
सत्ययुगमा हुन्छ पवित्र प्रवृत्तिमार्ग, यहाँ कलियुगमा अपवित्र प्रवृत्तिमार्ग छ।
फेरि पछि निवृत्तिमार्ग हुन्छ। त्यो पनि ड्रामामा छ। त्यसलाई संन्यास धर्म भनिन्छ।
घरबारको संन्यास गरेर जङ्गलमा जान्छन्। त्यो हो हदको संन्यास। बस्न त यही पुरानो
दुनियाँमा नै बस्छन् नि। अहिले तिमीले बुझेका छौ– हामी सङ्गमयुगमा छौँ फेरि नयाँ
दुनियाँमा जानेछौँ। तिमीलाई तिथि, मिति, सेकेन्डसहित सबै थाहा छ। उनीहरूले त कल्पको
अवधि नै लाखौँ वर्ष भनिदिन्छन्, यिनीहरूले पूरा हिसाब निकाल्न सक्छन्। लाखौँ वर्षको
कुरा त कसैले याद पनि गर्न सक्दैनन्। अहिले तिमीले बुझेका छौ– बाबा के हुनुहुन्छ,
कसरी आउनुहुन्छ, के कर्तव्य गर्नुहुन्छ? तिमीले सबैको कर्तव्यलाई, जन्मपत्रीलाई
जानेका छौ। बाँकी वृक्षका पात त धेरै हुन्छन्। त्यसको गणना कहाँ गर्न सक्छन् र। यो
बेहद सृष्टिरूपी वृक्षका कति पात छन्? ५००० वर्षमा यति धेरै करोड छन्। भने लाखौँ
वर्षमा कति अनगिन्ती मानिस होलान्। भक्तिमार्गमा देखाउँछन्– लेखिएको छ सत्ययुग यति
वर्षको हुन्छ, त्रेता यति वर्षको हुन्छ, द्वापर यति वर्षको हुन्छ। त्यसैले बाबा
बसेर तिमी बच्चाहरूलाई यी सबै रहस्य सम्झाउनुहुन्छ। आँपको बीउ देख्दा आँपको वृक्ष
अगाडि आउँछ नि! अहिले मनुष्य सृष्टिको बीजरूप तिम्रो अगाडि हुनुहुन्छ। तिमीलाई बसेर
वृक्षको रहस्य सम्झाउनुहुन्छ किनकि चैतन्य हुनुहुन्छ। बताउनुहुन्छ– हाम्रो यो उल्टो
वृक्ष हो। तिमीले सम्झाउन सक्छौ– जति पनि यो दुनियाँमा छन्, जड वा चैतन्य, हुबहु
रिपिट हुनेछन्। अहिले कति वृद्धि भइरहेका छन्। सत्ययुगमा यति हुन सक्दैन। भन्छन्–
फलानो चीज अस्ट्रेलियाबाट, जापानबाट आयो। सत्ययुगमा अस्ट्रेलिया, जापान आदि कहाँ
थिए र। ड्रामा अनुसार त्यहाँको चीज यहाँ आउँछ। पहिला अमेरिकाबाट गहुँ आदि आउँथ्यो।
सत्ययुगमा कहाँबाट आउँछ र। त्यहाँ त हुन्छ नै एक धर्म, सबै चीज भरपुर हुन्छन्। यहाँ
वृद्धि भइरहन्छन्, त्यसपछि त्यससँगै सबै चीज घट्दै जान्छन्। सत्ययुगमा कहीँबाट
मगाउँदैनन्। अहिले त हेर कहाँ कहाँबाट मगाउँछन्! पछि मानिस बढ्दै गएका हुन्,
सत्ययुगमा त अप्राप्त वस्तु कुनै हुँदैन। त्यहाँको हरेक चीज सतोप्रधान धेरै राम्रो
हुन्छ। मनुष्य नै सतोप्रधान हुन्छन्। मनुष्य राम्रा छन् भने सामग्री पनि राम्रो
हुन्छ। मनुष्य नराम्रा छन् भने सामग्री पनि हानिकारक हुन्छ।
विज्ञानको मुख्य चीज
हो आणविक बम, जसबाट यति धेरै विनाश हुन्छ। कसरी बनाउँछन् होला! बनाउने आत्मामा
पहिलादेखि नै ड्रामा अनुसार ज्ञान हुन्छ। समय आइसकेपछि उनीहरूमा त्यो ज्ञान आउँछ,
जसमा ज्ञान हुन्छ उनीहरूले नै काम गर्नेछन् र अरूलाई सिकाउनेछन्। कल्प कल्प जुन
पार्ट खेलेका छन् त्यही चलिरहन्छ। अहिले तिमी कति ज्ञानवान बन्छौ, यसभन्दा धेरै
ज्ञान हुँदैन। तिमी यो ज्ञानबाट देवता बन्छौ। यसभन्दा उच्च कुनै ज्ञान छैन। त्यो हो
मायाको ज्ञान, जसबाट विनाश हुन्छ। उनीहरू (वैज्ञानिकहरू) चन्द्रमामा जान्छन्,
खोज्छन्। तिम्रो लागि कुनै नयाँ कुरा होइन। यो सबै मायाको आडम्बर हो। धेरै सो गर्छन्,
अति गहिराइमा जान्छन्। धेरै बुद्धि लडाउँछन्। केही कमाल गरेर देखाऊँ। धेरै कमाल
गर्दा फेरि नोक्सान हुन्छ। के के बनाइरहन्छन्। बनाउनेलाई थाहा छ– यसबाट यो विनाश
हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) गुप्त ज्ञानको स्मरण गरेर हर्षित रहनुछ। देवताहरूको चित्रलाई अगाडि राखेर,
उनीहरूलाई नमन वन्दन गर्नुको सट्टा उनीहरूजस्तै बन्नको लागि दैवीगुण धारण गर्नुछ।
२) सृष्टिको बीजरूप
बाबा र उहाँको चैतन्य रचनालाई जानेर नलेजफुल बन्नुछ, यो ज्ञानभन्दा बढी अरू कुनै
ज्ञान हुन सक्दैन, यही नसामा रहनुछ।
वरदान:–
“एक बाबा
दोस्रो न कोही’ यस पाठको स्मृतिद्वारा एकरस स्थिति बनाउने श्रेष्ठ आत्मा भव
“एक बाबा दोस्रो न
कोही’ यो पाठ निरन्तर याद भयो भने स्थिति एकरस बन्छ किनकि ज्ञान त सबै मिल्यो, अनेक
प्वाइन्टहरू छन्, तर प्वाइन्टहरू हुँदाहुँदै प्वाइन्ट रूपमा रहनु– यो हो त्यस समयको
कमाल जुन समयमा केही कुराले तल तानिरहेको हुन्छ। कहिले कुनै कुराले तल तान्छ, कहिले
कुनै व्यक्तिले, कहिले कुनै चीजले, कहिले वायुमण्डलले..... यो त हुने नै छ। तर
सेकेन्डमा यो सबै विस्तार समाप्त भएर एकरस स्थिति रह्यो भने भनिन्छ श्रेष्ठ आत्मा
भवको वरदानी।
स्लोगन:–
ज्ञानको शक्ति
धारण गरेमा विघ्नले आक्रमण गर्नुको सट्टा हार खानेछ।
अव्यक्त इसारा:– यो
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
अहिले तिमीहरू सबै
यस्तो मुक्त बनेर मास्टर मुक्तिदाता बन, जसले गर्दा सर्व आत्माहरू, प्रकृति, भक्त
सबै मुक्त हुनेछन्। अहिले ब्रह्माबाबा यही एउटै कुरामा मितिप्रति सचेत हुनुहुन्छ,
मेरो एक एक बच्चा कहिले जीवनमुक्त बन्छ? यस्तो नठान, अन्त्यमा जीवनमुक्त बन्नेछौँ,
होइन। धेरै समयदेखिको जीवनमुक्त स्थितिको अभ्यासले धेरै समयको जीवनमुक्त राज्य
भाग्यको अधिकारी बनाउँछ।