05.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सुख शान्ति को वरदान एक बाबाबाट नै मिल्छ , कुनै देहधारीबाट मिल्दै न , बाबा आउनुभएको छ– तिमीलाई मुक्ति-जीवनमुक्तिको बाटो देखाउन।”

प्रश्न:–
बाबाको साथमा जान र सत्ययुगको आदिमा आउन के पुरुषार्थ गर्नुपर्छ?

उत्तर:–
बाबाको साथमा जानुछ भने पूर्ण पवित्र बन्नुछ। सत्ययुगको आदिमा आउनको लागि अरू सङ्ग बुद्धियोग तोडेर एक बाबाको यादमा रहनु छ। आत्म अभिमानी अवश्य बन्नुछ। एक बाबाको मतमा चल्यौ भने उच्च पदको अधिकार मिल्छ।

गीत:–
नयन हीन को राह दिखाओ...

ओम् शान्ति ।
यो गीत कसले गाए? बच्चाहरूले किनकि बाबा त एउटै हुनुहुन्छ, उहाँलाई नै रचयिता भनिन्छ। रचनाले रचयितालाई पुकार्छ। बाबाले सम्झाउनुभएको छ– भक्तिमार्गमा त तिम्रा दुई पिता छन्। एक लौकिक, अर्का हुन् पारलौकिक। सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ। एक पिता भएकोले सबै आत्माहरूले आफूलाई भाइ भाइ भन्छन्। ती पितालाई पुकार्छन् हे परमपिता परमात्मा, हे परमपिता दया गर्नुहोस्, क्षमा गर्नुहोस्! भक्तहरूका रक्षक एक भगवान् मात्रै हुनुहुन्छ। पहिला सुरुमा त यो सम्झाउनुपर्छ– हाम्रा दुई पिता हुनुहुन्छ। तर पारलौकिक पिता त सबैका एक हुनुहुन्छ। बाँकी लौकिक पिता हरेकका भिन्नाभिन्नै हुन्छन्। अब लौकिक पिता ठुला वा पारलौकिक पिता ठुला हुनुहुन्छ? लौकिक पितालाई त कहिल्यै भगवान् वा परमपिता भनिँदैन। आत्माका पिता एउटै परमपिता परमात्मा हुनुहुन्छ। आत्माको नाम कहिल्यै परिवर्तन हुँदैन। शरीरको नाम परिवर्तन हुन्छ। आत्माले भिन्न भिन्न शरीर लिएर पार्ट खेल्छ अर्थात् पुनर्जन्म लिन्छ। आखिर जम्मा कति जन्म मिल्छन्, त्यो बाबा नै आएर सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! तिमीलाई आफ्नो जन्महरूको बारेमा थाहा छैन। बाबा यहाँ नै आउनु हुन्छ, उहाँको नाम शिव हो। सम्झन्छन् पनि शिव परमात्मा हुनुहुन्छ। शिवजयन्ती वा शिवरात्रि पनि मनाउँछन्। उहाँ निराकार हुनुहुन्छ। जसरी आत्मा पनि निराकार छ, निराकारबाट साकारमा आउनुहुन्छ पार्ट खेल्न। तर निराकार शिव त शरीरबिना पार्ट खेल्न सक्नुहुन्न। मानिसहरूले यी कुराहरू केही पनि बुझ्दैनन्, नयनहीन छन्। यी शरीरका दुई नेत्र त सबैका छन्। आत्माको तेस्रो ज्ञानको नेत्र छैन, जसलाई दिव्यचक्षु पनि भनिन्छ। आत्माले आफ्नो पितालाई भुलेको छ, त्यसैले पुकार्छन् नयनहीनलाई मार्ग बताऊ। कहाँको मार्ग? शान्तिधाम र सुखधामको। सबैका सद्गतिदाता, सद्गुरु एउटै हुनुहुन्छ। मानिस, मानिसको गुरु बनेर सद्गति दिन सक्दैन। न आफैले सद्गति पाउँछन्, न अरूलाई दिन्छन्। एक बाबाले नै सबैलाई सद्गति दिनुहुन्छ। उहाँ बाबालाई नै याद गर्नुछ। बाबा सम्झाउनुहुन्छ– कुनै पनि मानिस मात्रले सदाकालको लागि मुक्ति-जीवनमुक्ति, सुख शान्ति दिन सक्दैनन्। सुखशान्तिको वरदान त एक बाबाले मात्रै दिन सक्नुहुन्छ। मानिसले, मानिसलाई सुखशान्ति दिन सक्दैनन्। यहाँका मानिसहरू सतोप्रधान थिए भने सत्ययुगी स्वर्गवासी थिए। आत्मा पवित्र थियो। भारतवर्षलाई स्वर्ग भनिन्छ जुनबेला आत्माहरू पवित्र, सतोप्रधान थिए।

तिमीलाई थाहा छ, अवश्य आजभन्दा ५ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग, सतोप्रधान थियो। यी लक्ष्मीनारायणको राज्य थियो। अहिले कलियुगको पनि अन्त्य हो, यसलाई नर्क भनिन्छ। यही भारतवर्ष स्वर्ग थियो, धेरै धनवान थियो। हिराजुहारतका महल थिए। बाबाले बच्चाहरूलाई याद दिलाउनुहुन्छ। सत्ययुग आदिमा यी लक्ष्मीनारायणको राजधानी थियो। त्यसलाई स्वर्ग वैकुण्ठ भनिन्छ। अहिले त स्वर्ग छैन, यो कुरा बाबाले सम्झाउनुहुन्छ। बाबा यहाँ नै आउनुहुन्छ। निराकार शिवको जयन्ती पनि मनाउँछन्, तर उहाँले के गर्नुहुन्छ, यो कुरा कसैलाई थाहा छैन। हामी आत्माहरूका पिता शिव हुनुहुन्छ, हामीले उहाँको जयन्ती मनाउँछौँ। बाबाको जीवनीलाई पनि जान्दैनन्। गायन गरिन्छ पनि– दुःखमा याद सबैले गर्छन्। पुकार्छन् हे परमपिता परमात्मा दया गर्नुहोस्! हामी धेरै दुःखी छौँ किनकि यो रावण राज्य हो। वर्ष वर्ष रावणलाई जलाउँछन् नि। तर यो कसैलाई थाहा छैन, १० शिर भएको रावण के चिज हो। हामीले त्यसलाई किन जलाउँछौँ, यो कुन दुस्मन हो जसको पुत्ला बनाएर जलाउँछन्। कसैलाई पनि बिल्कुलै थाहा छैन किनकि ज्ञानको तेस्रो नेत्र छैन त्यसैले त रामराज्य माग्छन्। ५ विकार स्त्रीमा, ५ विकार पुरुषमा हुन्छन् त्यसैले यिनीहरूलाई रावण सम्प्रदाय भनिन्छ। यो रावण ५ विकार नै ठुलोभन्दा ठुलो दुस्मन हो, जसको पुत्ला बनाएर जलाउँछन्। कसैलाई यो कुरा थाहा छैन, रावण के हो, जसलाई जलाउँछन्। यो रावण राज्य कहिलेदेखि सुरुभयो, यो पनि कसैलाई थाहा छैन। बाबा सम्झाउनुहुन्छ– रामराज्य– सत्ययुग, त्रेता। रावण राज्य– द्वापर, कलियुग। सत्ययुगमा यी लक्ष्मीनारायणको राज्य थियो, यिनीहरूलाई यो राज्य कहाँबाट, कसरी मिल्यो, यो कसैलाई पनि थाहा छैन। यी बुझ्ने कुराहरू हुन्। यसमा अटेन्सन दिनुपर्छ। बाबा परमप्रिय हुनुहुन्छ त्यसैले त उहाँलाई भक्तिमार्गमा पनि पुकार्छन्। भारतवर्षमा यिनीहरूको (लक्ष्मीनारायणको) राज्य हुँदा दुःखको नामै थिएन। अहिले दुःखधाम छ, कति अनेक धर्म छन्। सत्ययुगमा एक धर्म थियो, यति सबै आत्माहरू कहाँ जान्छन्, कसैलाई थाहा छैन किनकि नयनहीन छन्। शास्त्रहरूबाट ज्ञानको तेस्रो नेत्र कसैलाई मिल्दैन। ज्ञान नेत्र ज्ञान सागर परमपिता परमात्माले नै दिनुहुन्छ। आत्मालाई तेस्रो नेत्र मिल्छ। आत्माले भुलेको छ, हामीले कति जन्म लियौँ। सत्ययुगमा जुन देवीदेवताहरूको राज्य थियो, त्यो कहाँ गयो? गाउँछन् पनि मानिसले ८४ जन्म लिन्छन्। ८४ को चक्र भन्छन्। तर कुन आत्माले ८४ जन्म लिन्छ? जो पहिला यहाँ आउँछन् उनीहरू थिए देवीदेवता। फेरि ८४ जन्म भोगेर अन्त्यमा पतित बन्छन्। गाउँछन् पनि– हे पतितपावन! त्यसैले सिद्ध गर्छन् हामी पतित छौँ त्यसैले पुकार्छन्, हे पतितपावन हामीलाई पावन बनाउन आउनुहोस्! जो आफै पतित छन् उनीहरूले फेरि अरूलाई कसरी पावन बनाउँछन्!

बाबा सम्झाउनुहुन्छ आधाकल्प भक्तिमार्गमा रावण राज्य, ५ विकार भएको कारण संसारले यति दुःख पाएको छ। ८४ जन्म त लिन्छन् नै। त्यसको पनि हिसाब सम्झाउनुपर्छ। पहिला सुरुमा सत्ययुगमा हुन्छन् सतोप्रधान, फेरि त्रेतामा हुन्छन् सतो... आत्मामा खाद पर्छ। बाबा यहाँ नै आउनुहुन्छ। शिवजयन्ती हुन्छ नि। अरू सबै आत्माहरूले त गर्भमा जन्म लिन्छन्। बाबा भन्नुहुन्छ– म साधारण वृद्ध तनमा प्रवेश गर्छु, जसको यो धेरै जन्महरूको अन्त्यको जन्म हो। यो ज्ञान कुनै एक आत्मालाई मात्र दिइँदैन। यो गीता पाठशाला हो। मानिसलाई देवता बनाउनको लागि यो राजयोग सिकाइन्छ। तिमी यहाँ आएका छौ स्वर्गको बादसाही प्राप्त गर्न जुन बाबाले नै दिन सक्नुहुन्छ। गीता पढेर कोही राजा बन्दैनन् झन् रङ्क बन्दै जान्छन्। बाबाले गीताको ज्ञान सुनाएर राजा बनाउनुहुन्छ, अरूद्वारा गीता सुनेर रङ्क बनेका छौ। भारतवर्षमा यी लक्ष्मीनारायणको राज्य हुँदा पवित्रता, शान्ति, सम्पन्नता थियो, पवित्र गृहस्थ आश्रम थियो। त्यहाँ हिंसाको नाम थिएन फेरि द्वापरदेखि लिएर हिंसा सुरु भएको हो। काम कटारी चलाउँदा चलाउँदा आएर तिम्रो यो हालत भएको छ। सत्ययुगमा १०० पर्सेन्ट सम्पन्न थिए, सतोप्रधान थिए। यो राज कुनै पनि मानिस अथवा साधुसन्त आदिले जान्दैनन्। बाबा जो ज्ञानको सागर, पतितपावन हुनुहुन्छ उहाँले नै आएर सतोप्रधान बन्ने युक्ति बताउनुहुन्छ। हेर रावणको मतमा मानिसहरूको के हालत भएको छ। राजाहरू पनि, ती जो पवित्र राजाहरू थिए उनीहरूको चरणमा गएर पर्छन् र महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, हामी नीच पापी छौँ! हामीमा कुनै गुण छैन फेरि भन्छन्, हजुरले नै दया गर्नुहोस्! हामीलाई आएर मन्दिर लायक बनाउनुहोस्! कसैको पनि समझमा आउँदैन, बाबाले कसरी आएर फेरि देवीदेवता धर्मको स्थापना गराउनुहुन्छ। अब तिमीले बुझेका छौ हामी नै देवीदेवता धर्मका थियौँ। हामी नै क्षत्रिय, वैश्य, शूद्र बन्यौँ, यति जन्म लियौँ अब ८४ जन्म पूरा भएका छन्। फेरि दुनियाँको चक्र घुम्नुपर्छ त्यसैले फेरि तिमी यहीँ पावन बन्नुछ। पतित त सुखधाम, शान्तिधाममा जान सक्दैनन्। बाबा सम्झाउनुहुन्छ तिमी जो सतोप्रधान थियौ तिमीहरू नै तमोप्रधान बनेका छौ। सत्ययुगबाट फेरि कलियुगमा आएका छौ फेरि सत्ययुगी बन्नुछ त्यसपछि मुक्तिधाम, सुखधाममा जान सक्छौ। भारतवर्ष सुखधाम थियो। अहिले दुःखधाम छ। गीतमा पनि सुन्यौ– हामी नयनहीनलाई बाटो बताउनुहोस्.... हामी आफ्नो शान्तिधाममा कसरी जाऊँ। उनीहरूले त भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ, फलानो अवतार हो, परशुराम अवतार हो। तर बाबाले परशुराम बनेर कसलाई मार्नुहुन्छ र? हुनै सक्दैन। बाबा सम्झाउनुहुन्छ तिमीले यस चक्रमा कसरी ८४ जन्म लिएका छौ। अब म एकलाई याद गर। हे आत्माहरू देहीअभिमानी बन! देह अभिमानी बनेर तिमी बिल्कुलै दुःखी कङ्गाल, नर्कवासी बनेका छौ। स्वर्गवासी बन्नुछ भने आत्म अभिमानी अवश्य बन्नुछ। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। अहिले ८४ जन्म पूरा भएका छन् फेरि सत्ययुग आदिमा जानु छ। अब मलाई याद गर र अरूसँग बुद्धियोग तोड। बस्न त गृहस्थ व्यवहारमै बस, तर आफूलाई आत्मा निश्चय गर। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। अब देहीअभिमानी बन्नुछ, मलाई याद गरेमा खाद सबै जल्छ। तिमी पवित्र बन्छौ फेरि मैले सबै बच्चाहरूलाई लैजान्छु। मेरो मतमा चलेनौ भने त्यति उच्च पद पाउँदैनौ। यी लक्ष्मीनारायणको पद उच्च छ। यिनीहरूको राज्य भएको बेलामा अरू कुनै धर्म थिएन। द्वापरदेखि फेरि अरू धर्म आउँछन्। सत्ययुगमा मानिस पनि थोरै हुन्छन्। अब त धेरै धर्म भएका हुनाले कति दुःखी भएका छन्। उनै देवता धर्मका आत्माहरू अहिले फेरि पतित भएकाले आफूलाई देवता भन्दैनन्। हिन्दु नाम राखिदिएका छन्। बाबा सम्झाउनुहुन्छ तिमी देवीदेवता हुँदा सारा विश्वमा तिम्रै राज्य थियो, सबै सुखी थिए। अहिले दुःखी बनेका छन्। भारतवर्ष स्वर्ग थियो त्यो अहिले नर्क बनेको छ फेरि नर्कलाई स्वर्ग बाबा बाहेक अरू कसैले बनाउन सक्दैन। देवताहरूलाई सम्पूर्ण निर्विकारी भनिन्छ। यहाँका मानिस त सम्पूर्ण विकारी छन्, यिनीहरूलाई भनिन्छ पतित। भारतवर्ष शिवालय थियो, यसलाई शिवबाबाले स्थापना गर्नुभएको थियो। बाबाले स्वर्ग बनाउनुहुन्छ फेरि रावणले नर्क बनाउँछ। रावणले श्राप दिन्छ, बाबाले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। अब तिमी हरेकले बाबालाई नै याद गर, कुनै पनि देहधारीलाई होइन। देहधारीलाई भगवान् भनिँदैन। भगवान् त एउटै हुनुहुन्छ। बाबाले त बेहदको वर्सा दिनुहुन्छ फेरि रावणले श्रापित गरिदिन्छ। यस समयमा संसार श्रापित छ, धेरै दुःखी छ। अब यस रावणमाथि विजय पाउनु छ। गायन गरिन्छ पनि दे दान तो छूटे ग्रहण। जुन त्यो ग्रहण लाग्छ त्यो त पृथ्वीको छाया हो। अब बाबा भन्नुहुन्छ तिमीमाथि ५ विकाररूपी रावणको ग्रहण छ। यी ५ विकार दान दिनु छ। पहिला त यही दान देऊ– हामी कहिल्यै विकारमा जाँदैनौँ। यो कामकटारीले नै मानिसलाई पतित बनाउँछ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाले जुन ज्ञान दिनुहुन्छ त्यसलाई पूरा अटेन्सन दिएर पढ्नुछ। ज्ञानको तेस्रो नेत्रद्वारा आफ्ना ८४ जन्मलाई जानेर अब अन्तिम जन्ममा पावन बन्नुछ।

२) रावणको श्रापबाट बच्नको लागि एक बाबाको यादमा रहनु छ। ५ विकारहरूको दान दिनु छ। एक बाबाको मतमा चल्नुछ।

वरदान:–
ताज र तिलकलाई धारण गरेर बापदादाको मदतगार बन्ने दिलतख्तनस ि न भव

कोही तख्तमा बस्दा तिलक र ताज उनीहरूको निसानी हुन्छ। यस्ता जो दिल तख्तनसिन छन् उनीहरूको निधारमा सदैव अविनाशी आत्माको स्थितिको तिलक टाढाबाट नै चम्किरहेको देखिन्छ। सर्व आत्माहरूको कल्याणको शुभभावना उनीहरूको नयनबाट वा अनुहारबाट देखिन्छ। उनीहरूको हरेक सङ्कल्प, वचन र कर्म बाबासमान हुन्छ।

स्लोगन:–
सरल यादको लागि सरलताको गुण धारण गर, संस्कारहरूलाई सरल बनाऊ।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

जसले ड्रामाको ज्ञानको शक्ति प्राक्टिकल जीवनमा धारण गरेका छन् उनीहरू कहिल्यै पनि हलचलमा आउन सक्दैनन्। सदा एकरस, अचल अडोल बन्ने र बनाउने विशेष शक्ति यही ड्रामाको प्वइन्ट हो। यसलाई शक्तिको रूपमा धारण गर्नेहरूले कहिल्यै हार खान सक्दैनन्। यस कल्याणकारी ड्रामाको हरेक दृश्यमा कुनै न कुनै कल्याण समाहित छ, धैर्यवान् बनेर साक्षी भएर हेर्ने अभ्यास गरेमा अचल-अडोल रहन्छौ।