06.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाको यादबाट बुद्धि स्वच्छ बन्छ , दिव्य गुण आउँछन्। त्यसैले एकान्तमा बसेर आफूले आफैसँग सोध– दैवी गुण कति आएका छन् ?”

प्रश्न:–
सबै भन्दा ठुलो आसुरी अवगुण कुनचाहिँ हो, जुन बच्चाहरूमा हुन हुँदैन?

उत्तर:–
सबै भन्दा ठुलो अवगुण हो कसैसँग रफ कुरा गर्नु वा कटु वचन बोल्नु, यसलाई नै भूत भनिन्छ। कसैमा यो भूतले प्रवेश गर्यो भने धेरै नोक्सान पारिदिन्छ, त्यसैले उनीहरूबाट किनारा लाग्नुपर्छ। जति हुन सक्छ, अभ्यास गर– अब घर जानु छ, फेरि नयाँ राजधानीमा आउनु छ। यस दुनियाँमा सबै चीज देखेर पनि, केही नदेखियोस्।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, जानु त छ नै, शरीर छोडेर। यस दुनियाँलाई पनि भुल्नु छ। यो पनि एक अभ्यास हो। जब कसैको शरीरमा कुनै खटपट भयो भने शरीरलाई पनि कोसिस गरेर भुल्नु पर्ने हुन्छ, दुनियाँलाई पनि भुल्नु पर्ने हुन्छ। भुल्ने अभ्यास राम्रो हुन्छ, बिहानको समयमा। अब फर्केर जानु छ। यो ज्ञान त बच्चाहरूलाई मिलेको छ। सारा दुनियाँलाई छोडेर अब घर जानु छ। धेरै ज्ञानको आवश्यकता हुँदैन। कोसिस गरेर यसै धुनमा रहनु छ। ठिक छ, शरीरलाई जतिसुकै कष्ट भए पनि बच्चाहरूलाई सम्झाइएको छ– कसरी अभ्यास गर्ने? मानौँ तिमी छँदै छैनौ। यो पनि राम्रो अभ्यास हो। समय थोरै छ। घर जानु छ, फेरि बाबाको मदत मिल्छ वा यिनको मदत मिल्छ। मदत अवश्य मिल्छ, तर पुरुषार्थ पनि गर्नुपर्छ। यो जति पनि देखिन्छ, त्यो रहने छैन। अब घर जानु छ। त्यहाँबाट फेरि आफ्नो राजधानीमा आउनु छ। पछि गएर यिनै दुई कुरा रहन्छन्– जानु छ फेरि आउनु छ। देखिएको छ– यस यादमा रहेमा शरीरका रोगहरू जसले हैरान पार्छन्, ती पनि स्वत: सेलाएर जान्छन्। त्यो खुसी हुन्छ। खुसी जस्तो खुराक छैन, त्यसैले बच्चाहरूलाई पनि यो सम्झाउनु पर्ने हुन्छ। प्यारा बच्चाहरू! अब घर जानु छ, स्वीट होम जानु छ। यस पुरानो दुनियाँलाई बिर्सिनु छ। यसलाई भनिन्छ यादको यात्रा। यतिबेला नै बच्चाहरूलाई थाहा हुन्छ। बाबा कल्प कल्प आउनु हुन्छ, यही सुनाउनु हुन्छ, कल्पपछि फेरि मिल्नुहुन्छ। बाबा भन्नुहुन्छ– अहिले तिमीले जे सुन्छौ, फेरि कल्पपछि पनि यही सुन्ने छौ। यो त बच्चाहरूले जानेका छौ, बाबा भन्नुहुन्छ– म कल्प कल्प आएर बच्चाहरूलाई मार्ग बताउँछु। मार्गमा चल्ने बच्चाहरूको काम हो। बाबा आएर मार्ग बताउनु हुन्छ, साथमा लिएर जानु हुन्छ। केवल मार्ग बताउने मात्र होइन, साथमा लिएर पनि जानु हुन्छ। यो पनि सम्झाइन्छ– यी जुन चित्र आदि छन्, पछि गएर केही पनि काममा आउने छैनन्। बाबाले आफ्नो परिचय दिइसक्नु भएको छ। बच्चाहरूले बुझेका छौ, बाबाको वर्सा बेहदको बादसाही हो। जो हिजो मन्दिरमा जान्थे, महिमा गाउँथे, यी बच्चाहरूको (लक्ष्मी-नारायणको), बाबा त यिनलाई पनि बच्चे-बच्चे भन्नुहुन्छ नि, जसले उनीहरूको उच्चताको महिमा गर्थे, अब फेरि उच्च बन्ने पुरुषार्थ गर्दै छन्। शिवबाबाको लागि नयाँ कुरा होइन। तिमी बच्चाहरूको लागि नयाँ कुरा हो। युद्धको मैदानमा त बच्चाहरू छन्। सङ्कल्प विकल्पले पनि यिनलाई नै हैरान पार्छ। यो खोकी पनि यिनको कर्मको हिसाब किताब हो, यिनले भोग्नुपर्छ। बाबा त मौजमा हुनुहुन्छ, यिनलाई कर्मातीत बन्नु छ। बाबा त हुनुहुन्छ नै सदा कर्मातीत अवस्थामा। हामी बच्चाहरूलाई मायाको तुफान आदि कर्मभोग आउँछ। यो बुझ्नुपर्छ। बाबाले त मार्ग देखाउनु हुन्छ, बच्चाहरूलाई सबैथोक सम्झाउनु हुन्छ। यस रथलाई जे हुँदा पनि तिमीहरूलाई फिलिङ्ग आउँछ– दादालाई केही भएको छ। बाबालाई केही पनि हुँदैन, यिनलाई हुन्छ। ज्ञान मार्गमा अन्धश्रद्धाको कुरा हुँदैन। बाबा सम्झाउनु हुन्छ– म जुन तनमा आउँछु, धेरै जन्महरूको अन्तिमको पतित तनमा मैले प्रवेश गर्छु। दादाले पनि सम्झन्छन्– जसरी अरू बच्चाहरू छन्, म पनि त्यस्तै हुँ। दादा पुरुषार्थी हुन्, सम्पूर्ण बनेका छैनन्। तिमीहरू सबै प्रजापिता ब्रह्माका सन्तान ब्राह्मणहरूले पनि पुरुषार्थ गर्छौ, विष्णु पद प्राप्त गर्नको लागि। लक्ष्मी-नारायण भन, विष्णु भन, कुरा एउटै हो। बाबाले सम्झाउनु पनि भएको छ, पहिला जानेका थिएनौ। नत ब्रह्मा-विष्णु-शङ्करलाई, न आफ्नो पितालाई जानेका थियौ। अहिले त बाबालाई, ब्रह्मा-विष्णु-शङ्करलाई देख्नासाथ बुद्धिमा आउँछ– यी ब्रह्माले तपस्या गरिरहेका छन्। यही सेतो ड्रेस छ। कर्मातीत अवस्था पनि यहाँ हुन्छ। पहिला नै (इनएडभान्स) तिमीलाई साक्षात्कार हुन्छ– यी बाबा फरिस्ता बन्छन्। तिमीले पनि जानेका छौ– हामी कर्मातीत अवस्था प्राप्त गरेर फरिस्ता बन्छौं, नम्बरवार। जब तिमी फरिस्ता बन्छौ, तब सम्झन्छन् अब लडाइँ सुरु हुन्छ। मिरुआ मौत... यो धेरै उच्च अवस्था हो, बच्चाहरूले धारण गर्नु छ। हामीले चक्कर लगाउँछौं, यो पनि निश्चय छ। अरू कसैले पनि यी कुरालाई बुझ्न सक्दैनन्। यो नयाँ ज्ञान हो, पावन बनाउनको लागि बाबाले याद सिकाउनु हुन्छ। बाबासँग वर्सा मिल्छ, यो पनि जानेका छौ। कल्प कल्प बाबाका बच्चा बन्छौ, ८४ को चक्कर लगाएका छौ। जो कसैलाई पनि सम्झाउन सक्छौ– तपाईँ आत्मा हुनुहुन्छ, परमपिता परमात्मा बाबा हुनुहुन्छ, अब बाबालाई याद गर्नुहोस्। त्यसपछि उनीहरूको बुद्धिमा आउने छ– दैवी राजकुमार बन्नु छ भने यति पुरुषार्थ पनि गर्नुपर्छ। विकार आदि सबै छोडिदिनुपर्छ। बाबा सम्झाउनु हुन्छ– बहिनी-भाइ पनि होइन, भाइ भाइ सम्झ अनि बाबालाई याद गर, तब विकर्म विनाश हुन्छ। बाँकी कुनै तकलिफ छैन। पछि गएर अरू कुनै कुराको आवश्यकता पर्दैन। केवल बाबालाई याद गर्नु छ, आस्तिक बन्नु छ। यस्तो सर्वगुण सम्पन्न बन्नु छ। लक्ष्मी-नारायणको चित्र एकदम एक्युरेट छ। बाबालाई बिर्सेपछि दैवी गुण धारण गर्न पनि बिर्सिन्छन्। प्यारा बच्चाहरू! एकान्तमा बसेर विचार गर– बाबालाई याद गरेर म यस्तो (देवता) बन्नु छ, यो गुण धारण गर्नु छ। कुरा त धेरै सानो छ। बच्चाहरूले कति मेहनत गर्नु पर्ने हुन्छ। कति देह अभिमान आउँछ। बाबा भन्नुहुन्छ– देहीअभिमानी भव। बाबासँग नै वर्सा लिनु छ। बाबालाई याद गरेमा कचरा (फोहोर) निस्किन्छ।

बच्चाहरूलाई थाहा छ– अहिले बाबा आउनु भएको छ। ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– स्थापना भइरहेको छ। यति सहज कुरा पनि तिमीहरूबाट चिप्लिन्छ। एक अल्फ हुनुहुन्छ, बेहदका बाबासँग बादसाही मिल्छ। बाबालाई याद गरेपछि नयाँ दुनियाँ याद आउँछ। अबला वृद्धहरूले पनि राम्रो पद प्राप्त गर्न सक्छन्। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबाले त मार्ग बताउनु भएको छ। भन्नुहुन्छ– आफूलाई आत्मा निश्चय गर। बाबाको पहिचान त मिलिसक्यो। बुद्धिमा बसेको छ– अब ८४ जन्म पूरा भए, घर जान्छौं, फेरि आएर स्वर्गमा पार्ट खेल्ने छौं। कहाँ याद गरौं, कसरी गरौं? यो प्रश्न उठ्न सक्दैन। बुद्धिमा छ, बाबालाई याद गर्नु छ। बाबा जहाँ गए पनि, तिमी त उहाँका सन्तान हौ नि। बेहदका बाबालाई याद गर्नु छ। यहाँ बस्दा तिमीलाई आनन्द आउँछ। सम्मुख बाबासँग मिल्छौ। शिवबाबाको जयन्ती कसरी हुन सक्छ! मानिसहरू अलमलिन्छन्। शिवरात्रि किन भनिएको हो, यो पनि बुझ्दैनन्। श्रीकृष्णको लागि सम्झन्छन् नि, रातमा जन्मिए, तर यस रात्रिको कुरा होइन। त्यो आधा कल्पको रात पूरा हुन्छ, फेरि बाबा आउनु पर्छ नयाँ दुनियाँको स्थापना गर्न। छ धेरै सहज। बच्चाहरूले स्वयं सम्झन्छन्– सहज छ। दैवी गुण धारण गर्नु छ। नत्र सयगुणा पाप हुन्छ। मेरो निन्दा गराउनेले उच्च पद प्राप्त गर्न सक्दैन। बाबाको निन्दा गराए भने पद भ्रष्ट हुन्छ। धेरै मीठो बन्नुपर्छ। रफडफ कुरा गर्नु– यो दैवी गुण होइन। सम्झनुपर्छ– यो आसुरी अवगुण हो। प्रेमले सम्झाउनु पर्ने हुन्छ– यो तपाईँको दैवी गुण होइन। यो पनि बच्चाहरूलाई थाहा छ– अब कलियुग पूरा हुँदै छ, यो हो सङ्गमयुग। मनुष्यहरूलाई त केही थाहा छैन। कुम्भकर्णको निद्रामा सुतिरहेका छन्। सम्झन्छन् ४० हजार वर्ष बाँकी छ। हामी बाँचिरहन्छौं, सुख भोगिरहन्छौं। दिनप्रतिदिन अझै तमोप्रधान बन्छौं, यो सम्झदैनन्। तिमी बच्चाहरूले विनाशको साक्षात्कार पनि गरेका छौ! पछि गएर ब्रह्माको, श्रीकृष्णको पनि साक्षात्कार गरि रहनेछौ । ब्रह्माको पासमा गयौ भने तिमी स्वर्गको यस्तो राजकुमार बन्छौ, त्यसैले प्राय: ब्रह्मा र श्रीकृष्ण दुवैको साक्षात्कार हुन्छ। कसैलाई विष्णुको पनि साक्षात्कार हुन्छ। तर उनको साक्षात्कारबाट त्यति बुझ्दैनन्। नारायण भएको भए बुझ्न सक्छन्। यहाँ हामी जान्छौं नै देवता बन्नको लागि। त्यसैले अहिले सृष्टिको आदि, मध्य, अन्त्यको पाठ पढ्छौ। पाठ पढाइन्छ यादको लागि। पाठ आत्माले पढ्छ। देहको भान उत्रिन्छ। आत्माले नै सबैथोक गर्छ। राम्रो वा नराम्रो संस्कार आत्मामा नै हुन्छ।

तिमी मीठा प्यारा बच्चाहरू ५ हजार वर्षपछि आएर मिलेका छौ। तिमी त्यही हौ। अनुहार पनि त्यही हो, ५ हजार वर्ष पहिला पनि तिमी नै थियौ। तिमीले पनि भन्छौ– ५ हजार वर्षपछि फेरि हजुर नै आएर मिल्नुभएको छ, हामीलाई मनुष्यबाट देवता बनाउँदै हुनुहुन्छ। हामी देवता थियौं, फेरि असुर बनेका छौं। देवताहरूको गुण गाउँदै आयौं, आफ्नो अवगुण वर्णन गर्दै आयौं। अब फेरि देवता बन्नु छ किनकि दैवी दुनियाँमा जानु छ। त्यसैले अब राम्रोसँग पुरुषार्थ गरेर उच्च पद प्राप्त गर। शिक्षकले त सबैलाई भन्छन् नि, पढ। राम्रो अङ्क ल्याएर पास भयौ भने मेरो पनि नाम प्रख्यात हुन्छ र तिम्रो पनि नाम प्रख्यात हुन्छ। यस्तो धेरैले भन्ने गर्छन्– बाबा, हजुरको पासमा आएपछि केही पनि निस्किदैन, सबै कुरा बिर्सिन्छौं। आउनासाथ चुप हुन्छन्। यो दुनियाँ मानौं समाप्त भइसकेको छ। फेरि तिमी आउने छौ नयाँ दुनियाँमा। त्यो त धेरै सुन्दर (शोभनिक) नयाँ दुनियाँ हुन्छ। कसैले शान्तिधाममा विश्राम लिन्छन्। कसैलाई विश्राम मिल्दैन। अलराउण्ड पार्ट छ। तर तमोप्रधान दु:खबाट छुट्छन्। त्यहाँ शान्ति, सुख सबै मिल्छ। त्यसैले यस्तो राम्रोसँग पुरुषार्थ गर्नुपर्छ। यस्तो होइन, जे भाग्यमा होला। होइन, पुरुषार्थ गर्नुपर्छ। बुझेका छौ, राजधानी स्थापना भइरहेको छ। हामीले श्रीमतमा आफ्नो राजधानी स्थापना गरिरहेका छौं। बाबा जो श्रीमत दिनेवाला हुनुहुन्छ, उहाँ स्वयं राजा आदि बन्नु भएको छैन। उहाँको श्रीमतबाट हामी बन्छौं। नयाँ कुरा छ नि। कहिल्यै न कसैसँग सुन्यौ, न देख्यौ। अहिले तिमी बच्चाहरूले बुझेका छौ, श्रीमत अनुसार हामीले वैकुण्ठको बादसाही स्थापना गर्छौं। हामीले अनगिन्ती पटक रजाइँ स्थापना गरेका छौं। गर्छौं अनि गुमाउँछौं। यो चक्र घुमिरहन्छ। पादरीहरू चक्कर लगाउन निस्किँदा कसैलाई हेर्ने पनि मन गर्दैनन्। केवल क्राइस्टको नै यादमा रहन्छन्। शान्तिमा चक्कर लगाउँछन्। समझ हुन्छ नि। क्राइस्टको यादमा कति धेरै रहन्छन्। अवश्य क्राइस्टको साक्षात्कार भएको हुनुपर्छ। सबै पादरी यस्तै कहाँ हुन्छन् र। करोडौंमा कोही, तिमीहरूमा पनि नम्बरवार छन्। करोडौंमा कोही यसरी यादमा रहन्छन्। कोसिस गरेर हेर। अरू कसैलाई नहेर। बाबालाई याद गर्दै स्वदर्शन चक्र घुमाइराख। तिमीलाई अथाह खुसी हुन्छ। श्रेष्ठाचारी देवताहरूलाई भनिन्छ, मानिसहरूलाई भ्रष्टाचारी भनिन्छ। यस समयमा त देवता कोही छँदै छैनन्। आधाकल्प दिन, आधाकल्प रात– यो यहाँको नै कुरा हो। बाबा भन्नुहुन्छ– म आएर सबैको सद्गति गर्छु। बाँकी जति पनि अरू धर्म स्थापकहरू छन्, उनीहरू आएर आ-आफ्नो समयमा आफ्नो धर्म स्थापना गर्छन्। सबै आएर यो मन्त्र लिएर जान्छन्। बाबालाई याद गर्नु छ, जसले याद गर्छ, उसले आफ्नो धर्ममा उच्च पद पाउने छ।

तिमी बच्चाहरूले पुरुषार्थ गरेर रुहानी म्युजियम अथवा कलेज खोल्नुपर्छ। लेखिदेऊ– विश्वको अथवा स्वर्गको रजाइँ सेकेण्डमा कसरी मिल्न सक्छ, आएर बुझ्नुहोस्। बाबालाई याद गर्नुभयो भने वैकुण्ठको बादसाही मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) हिँड्दा-डुल्दा एक बाबाकै याद रहोस्, अरू जे देखे पनि ध्यान नजाओस्– यस्तो अभ्यास गर्नु छ। एकान्तमा आफ्नो जाँच गर्नु छ– ममा दैवी गुण कतिसम्म आएको छ?

२) यस्तो कुनै पनि कर्तव्य गर्नु छैन, जसबाट बाबाको निन्दा हुन्छ, दैवी गुण धारण गर्नु छ। बुद्धिमा रहोस्– घर जानु छ, फेरि आफ्नो राजधानीमा आउनु छ।

वरदान:–
सेवामा शुभभावनाको ए डि सनद्वारा शक्तिशाली फल प्राप्त गर्ने सफलतामूर्त भव

कुनै पनि सेवा गर्दा त्यसमा सबै आत्माहरूको सहयोगको भावना होस्, खुसीको भावना वा सद्भावना होस् अनि हरेक कार्य सहजै सफल हुन्छ। जसरी पहिलाको जमानामा कुनै कार्य गर्न जाँदा सारा परिवारको आशीर्वाद लिएर जाने गर्थे। त्यसैगरी वर्तमान सेवामा यो थप्न आवश्यक छ। कुनै पनि कार्य सुरु गर्नु भन्दा पहिला सबैको शुभभावना, शुभकामना लिने गर। सबैको सन्तुष्टताको बल भर, तब शक्तिशाली फल निस्कन्छ।

स्लोगन:–
जसरी बाबाले जी-हाजिर भन्नुहुन्छ, त्यसैगरी तिमीले पनि सेवामा जी-हाजिर, जी-हजुर गरेमा पुण्य जम्मा हुन्छ।