07.06.26    Avyakt Bapdada     Nepali Murli    31.03.2010     Om Shanti     Madhuban


पूर्वज र पूज्यको स्वमानमा रहेर मनसा द्वारा सबैको पालना गर , पूरै वृक्षलाई सकाश देऊ


आज बापदादाले आफ्ना चारैतिरका पूर्वज र पूज्य आत्माहरूलाई देखिरहनुभएको छ। आफूलाई पूर्वज आत्मा सम्झन्छौ नि! पूज्य आत्माहरूको निवास कहाँ छ? आफ्नो वृक्षलाई सामुन्ने ल्याऊ, त्यसमा हेर तिम्रो स्थान कहाँ छ? जान्दछौ– तिमी पूर्वजहरूको स्थान जरामा छ। वृक्षको जरामा पनि छ, फेदमा पनि छ। त्यसैले जराद्वारा नै सारा वृक्षलाई पालना मिल्छ। तिमी यस सारा वृक्षको हाँगाबिँगा वा पातहरूको पालना गर्ने, सकाश दिने पूर्वज हौ। पूर्वजको साथै पूज्य पनि हौ। फेदद्वारा अन्तिम पातलाई पनि सकाश मिल्छ। त्यसैले आफूलाई सारा वृक्षलाई सकाश दिने आत्मा अनुभव गर्छौ? नसा हुन्छ– हामी पूर्वजले सबै आत्माहरू रूपी हाँगाबिँगा वा पातहरूलाई सकाश दिइरहेका छौँ! जसरी ब्रह्माबाबालाई ग्रेट ग्रेट ग्रेन्ड फादर (आदिपिता) भनिन्छ भने उहाँका तिमी साथी बच्चाहरू पनि मास्टर ग्रेट ग्रेट ग्रेन्ड फादर हौ। सारा वृक्षका आत्माहरूको तिमी पूर्वज आत्माहरूतिर आकर्षण छ। तिमी पूर्वज आत्माहरूले शक्तिहरूद्वारा उनीहरूको पालना गर्छौ। जसरी तिमी सबै पूर्वज आत्माहरूको पालना बाबाले गर्नुभयो भने बाबाले कसरी गर्नुभयो? शक्तिहरूद्वारा। त्यसरी नै तिमीहरू पनि पूर्वजका नाताले शक्तिहरूद्वारा उनीहरूको पालना गर्ने आत्माहरू हौ। आजकाल देख्छौ– सबै आत्माहरू दुःखी छन्, सबैले आआफ्ना देवी देवताहरूलाई, आउनुहोस् हाम्रो रक्षा गर्नुहोस्, हामीलाई शान्ति दिनुहोस्, हामीलाई शक्ति दिनुहोस्, हे क्षमाका सागर पूर्वजहरू हामीलाई पालना दिनुहोस् भनेर पुकारिरहेका छन्। त्यसोभए यो आवाज तिमी पूर्वज आत्माहरूले कानले सुनिरहेका छौ? अनुभव गर्छौ– हामी नै पूर्वज हौँ? सारा वृक्षमा हेर कोही अन्य धर्मका आत्माहरू रहेछन् भने पनि वृक्षका हाँगाबिँगा भएका हुनाले उनीहरूले पनि तिमीलाई त्यही नजरले हेर्छन्। उनीहरूका पूर्वज पनि तिमी नै हौ। कुनै पनि धर्मका आत्माहरूसँग तिमीले भेट्दा यो सम्झन्छौ– यिनीहरू पनि हाम्रै वृक्षका हाँगाबिँगा हुन्! उनीहरूले पनि तिमीसँग भेट्दा सम्झन्छन्– यिनीहरू आफ्ना हुन्! आफ्नोपनको अनुभव ती आत्माहरूलाई पनि भइरहेको छ र हुनुपर्छ। त्यसैले तिमीलाई यति नसा, यति रहम भित्रैबाट आउँछ? उनीहरू रहम गर्नुहोस्... भनेर कराइरहेका छन्। त्यसैले अहिले समय अनुसार तिमी सबै पूर्वज आत्माहरूले मनसाद्वारा शक्तिहरूको पालना गर्नुछ। उनीहरूलाई आवश्यक छ। त्यसैले जति तिमी आफ्नो पूर्वजको नसामा रहन्छौ त्यति नै तिमीद्वारा उनीहरूको पालना हुन्छ। त्यसो त हेर कसैको पनि पालना लौकिकमा पनि ठुलाबडाहरूबाट हुन्छ। उनीहरूले नै उनीहरूको शरीरको खाने, पिउने, पढाइ जे जति आम्दानीको स्रोत छ, त्यसको प्रबन्ध गर्छन्। जसरी बाबाले तिमी सबै बच्चाहरूको भिन्न भिन्न शक्तिहरूले पालना गर्नुभएको छ त्यसरी नै अहिले तिम्रो कार्य हो सारा वृक्षका हाँगाबिँगा र पातहरूको पालना गर्नु। तिमी पूर्वज आत्माहरूलाई यस्तो उमङ्ग आउँछ? यसको नसा छ? तिमी पूज्य पनि हौ। हेर, सारा ड्रामामा जति तिमी आत्माहरूको नियमपूर्वक पूजा हुन्छ त्यति पूजा कुनै पनि महात्मा, धर्म पिताको हुँदैन। तिम्रो पूजामा नियम प्रमाण आरती हुनु, भोग लाग्नु, यस्तो कसैको पनि हुँदैन। गायन हेर तिम्रो काइदा प्रमाण कीर्तन हुन्छ। कसैको पनि यस्तो गायन हुँदैन। त्यसैले तिमी पूर्वजको साथै पूज्य पनि हौ। ड्रामामा तिम्रोजस्तो पूजन र गायन अरू कसैको पनि छैन।

बापदादा यस्ता तिमी पूज्य र पूर्वज आत्माहरूलाई देखेर कति खुसी हुनुहुन्छ! बाबाको दिलबाट बारम्बार यो गीत बज्छ– वाह मेरा सर्व वृक्षका पूर्वज र पूज्य आत्माहरू वाह! त्यसैले आजकाल बापदादा तिमी सबै बच्चाहरूलाई जुन तिम्रो स्वमान छ, बाबासमान सम्पन्न सम्पूर्ण बन्ने, त्यही रूप देख्न चाहनुहुन्छ। त्यसको लागि एक कुरा बच्चाहरूले ध्यानमा राख्नुपर्छ, बापदादाले देख्नुभयो– सबै बच्चाहरूले धेरै राम्रो पुरुषार्थ पनि गर्छन् तर सदा शब्द हरेकले आफ्नो पुरुषार्थमा थप गर्नुछ। अटेन्सन दिनुछ। बापदादाले बच्चाहरूसँग सोध्नुहुन्छ– जसरी बापदादाले तिमी सबै बच्चाहरूलाई श्रेष्ठ स्वमानधारी आत्माको रूपबाट हेर्नुहुन्छ, त्यसरी नै तिमीले आफूलाई पनि यस्तो स्वमानधारी सम्झन्छौ?

बापदादाले देख्नुभयो– बच्चाहरूले पनि चाहन्छन्– हामी पनि अहिल्यै आफ्नो राज्यमा जाऊँ। “अब घर जानुछ”। यो गीत पनि मनमा गाइरहन्छन्– अब घर जानुछ, अब फिर्ती यात्रा गर्नुछ। यसको लागि बापदादाले पहिला नै भन्नुभयो– सारा समय आफूलाई कुनै न कुनै सेवामा व्यस्त राख। बापदादाले देख्नुभएको छ सेवाको रुचि, सेवाको उमङ्ग-उत्साह अहिले पनि बच्चाहरूमा छ। सेवाका राम्रा समाचार पनि बापदादाले सुन्नुहुन्छ। तर बापदादाले तीव्रगतिमा अगाडि बढ्नको लागि बच्चाहरूलाई विशेष अटेन्सन गराउनुहुन्छ– केवल एक वाचाको सेवा होइन, सेवा गर्छौ भने एकै समयमा तीन सेवाहरू सँगसँगै गर– मनसाद्वारा सकाश देऊ, वाचाद्वारा ज्ञान देऊ र कर्मणा अर्थात् आफ्नो सम्पर्कद्वारा, सम्बन्धद्वारा, चेहराद्वारा यस्तो सेवा गर जसबाट त्यसको प्रभाव पनि सेवामा सँगसँगै होस्। एक समयमा तीनै सेवा सँगसँगै गर किनकि अहिले आत्माहरूले सेवाको लागि चाहन्छन्, यसमा केही फरक होस्। केही परिवर्तन गर्नुपर्छ। त्यसैले एउटै समयमा तीनवटै सेवा गर्न सक्छौ? गर्न सक्छौ? चेक गरेका छौ– जुन समयमा वाणीको सेवा गर्छौ त्यस समयमा मनसाद्वारा र कर्मणा अर्थात् सम्पर्क-सम्बन्धद्वारा पनि सेवा भइरहेको छ! हुन्छ सँगसँगै? जसले सम्झन्छन्– हामी एउटै समयमा तीनवटै सेवा गर्छौं, तिमीहरूले हात उठाऊ। एउटै समयमा तीन सेवा। त्यसैले अब अटेन्सन देऊ। कहिलेकाहीँ होइन। यसमा के हुन्छ? सेवा त गर्छन् तर सेवाका सँगसँगै स्वयममा र साथीहरूमा सन्तुष्टता हुँदैन किनकि सेवाको फल हो सन्तुष्टता वा खुसी। चेक गर सेवा त गर्छौ तर पहिला पनि सुनाएको थिएँ– सेवाको खुसी त्यसबेला हुन्छ जुनबेला स्वयम्, साथी र वायुमण्डल सबै सन्तुष्टताको प्रकम्पनमा हुन्छन्। सेवाको सफलताका तीन विशेष कुरा सुनाएको थिएँ, त्यसको याद होला। पहिलो नम्बरको सेवा अर्थात् निमित्त भाव। दोस्रो– निर्माण भावना। तेस्रो– निर्मल वाणी। भाव, भावना र स्वभाव। यी सबै साथसाथै सेवामा रहेछन् भने स्वयं पनि सन्तुष्ट र साथी पनि सन्तुष्ट र जसको सेवा गर्छौ उनीहरू पनि अगाडि बढ्दै जान्छन्। निमित्त भाव भएकाहरूले बाबासँग सम्बन्ध जोड्छन्। निमित्त भाव छैन भने बाबाको नजिक त्यति आउँदैनन्। त्यसैले जहिले पनि सेवा गर्दा यो चेक गर– भाव, भावना र स्वभाव ठीक रह्यो? आजकाल बापदादाले देख्नुभयो– जुन मूल कुरा हो बापदादाको– हरेकलाई र आफूलाई चाहे जहाँ पनि सेवाको लागि जाँदा यो चेक गर– साथी सन्तुष्ट रहे? किनकि सेवाको सफलता हो– सन्तुष्टताको फल प्राप्त हुनु। खुसी प्राप्त हुनु। साथसाथै एक कुरा बापदादाले इसारा दिनुहुन्छ– हिँड्दाडुल्दा, सङ्गठनमा पनि रहँदा, कुनै न कुनैको साथ सेवामा हुन्छ नै, त्यसैले एकअर्कालाई आत्माको रूपमा देख। आत्माको रूपमा देख्छन् पनि, अभ्यास पनि गर्छन्, तर आत्मा देख्दा आत्माको निजी संस्कारबाट हेर्छौ? कि जति पनि मिश्रित संस्कार छन्, ती पनि देखा पर्छन्? आत्मा देख्न, यसमा पास छौ, तर कुन संस्कारबाट देख्छौ? के आत्माको निजी संस्कारबाट सम्पर्कमा आउँछौ? कि वर्तमान संस्कार पनि सामुन्ने आउँछन्? त्यसैले बाबा भन्नुहुन्छ– आजदेखि कसैलाई पनि एक त आत्मा रूपमा हेर तर आत्माका जुन निजी संस्कार छन् त्यस रूपमा हेर। त्यसैले कहिल्यै पनि आपसमा जुन कुरा कहिलेकाहीँ हुन्छन्, त्यो हुँदैन। अहिले आत्मा रूपमा देख्छौ तर साथै वर्तमान संस्कार पनि सामुन्ने आउँछ। आपसमा जस्तो सम्पूर्ण स्थिति हुनुपर्छ, त्यो टाढै हुन्छ। त्यसैले ओरिजिनल संस्कार भएको आत्मा देख। यसबाट यो जुन अहिले सङ्गठनमा रोकावट आउँछ त्यो रोकावट खतम हुन्छ।

यो ब्राह्मण परिवार श्रेष्ठ परिवार हो। यो परिवारको धेरै महिमा छ। यो ईश्वरीय परिवार बारम्बार मिल्दैन। कल्पमा एकैपटक यो ईश्वरीय परिवार मिलेको छ, यति ठुलो परिवार सारा कल्पमा कहिल्यै मिल्दैन। परिवारको विशेषतालाई पनि जान्नु र परिवारमा चल्नु, एक महान् विषय हो। पहिला पनि सुनाइएको थियो– यस ज्ञानको जग हो निश्चय र निश्चयमा चार कुरा छन्। बाबा, दादा साथमा हुनुहुन्छ नै र ज्ञानमा, ड्रामामा, परिवारमा सबैमा निश्चय हुनुछ। त्यसैले निश्चय बुद्धि होऊ, तिमी सहज पुरुषार्थी बन्छौ। जसरी बापदादामा निश्चय छ, त्यसरी नै परिवारमा पनि निश्चय आवश्यक छ। जसरी हेर तिमीले कुनै पनि कुराको प्याकिङ गर्दा के गर्छौ? चारैतिर कसिलो बनाउँछौ नि, एकातिर पनि टाइट बनाएनौ भने खुकुलो हुन्छ। त्यसरी नै बाबा, ज्ञान, ज्ञानमा पनि विशेष ड्रामा र परिवार। यदि चारै कुरा मजबुत छैनन् भने विघ्न आउँछन्। विघ्नहरूलाई पार गर्नमा अटेन्सन दिनुपर्छ त्यसैले परिवारको पहिचान, परिवारसँग प्यार, एकअर्कालाई बुझ्नु, यो धेरै आवश्यक छ।

पूर्वज हौ, पूज्य हौ, त्यसैले यी कुरा पनि आफूमा वा साथीहरूमा ल्याउनुछ। जेसुकै होस्, नम्बरवार त छौ नि! तर ब्राह्मण परिवारको विशेष कार्य हो आशीर्वाद दिनु, आशीर्वाद लिनु। कति बच्चाहरूले भन्छन्– अरू कोही रिसाउँछ भने उसले आशीर्वाद लिन्छ कसरी! उसले आशीर्वाद त लिँदैन, रिसाउँछ। बापदादा भन्नुहुन्छ– अच्छा, संस्कारवश उसले श्राप दिन्छ, तिमीले आशीर्वाद दिन चाहन्छौ तर उसले श्राप दिन्छ, तर उसले श्राप दियो, लिने को हो? लिने तिमी हौ कि ऊ हो? ऊ दिनेवाला हो, तिमी लिनेवाला हौ। त्यसैले उसको श्राप तिमीले लियौ किन? आत्मालाई उसको असली संस्कारबाट देख्यौ भने तिमीलाई रहम आउँछ। स्वयं पनि सुरक्षित होऊ, श्राप नलेऊ, लिनेवाला तिमी हौ। न श्राप देऊ, न लेऊ।

बापदादा आज सबै बच्चाहरूलाई गृहकार्य दिनुहुन्छ– जहिले पनि जसलाई पनि आत्मा रूपमा देख, वर्तमान संस्कारको रूपमा नहेर। आत्मा भन्यौ भने त्यस आत्माका जुन निजी संस्कार छन्, ती निजी संस्कारको रूपमा, सम्बन्धमा पनि आयौ र दृष्टिमा पनि त्यही दृष्टिले हेर्छौ भने यी जति विघ्न पर्छन् जसको कारण पुरुषार्थमा तीव्रता आउँदैन, त्यसैले अब वृत्ति परिवर्तन गर्छौ, दृष्टि परिवर्तन गर्छौ भने कुरा समाप्त हुन्छन् कसैको जेसुकै कुरा देखे पनि, बापदादाले पहिला पनि भन्नुभएको छ त्यसैले सदा तिमी ब्राह्मण परिवारको एक एकको कर्तव्य हो– शुभभावना, शुभकामना दिनु र शुभभावना, शुभकामना लिनु। त्यसै संस्कारबाट देख र चल। एउटा अर्को पनि कुरा बताउँछु– पहिला पनि बताएको छु कहीँ कहीँ सङ्गठनमा कहिलेकाहीँ परदर्शन, परचिन्तन र परमततिर आकर्षित हुन्छन्। अब यी तीन परलाई काटिदेऊ, एउटा पर राख– त्यो एउटा पर हो पर उपकार। पर उपकार गर्नुछ, तिमी पर उपकारी हौ। ब्राह्मणहरूको स्वभाव हो पर उपकारी। परदर्शन होइन, यो पर काटिदेऊ। यी तीनैले धेरै नोक्सान पार्छन्। सदा यही आफ्नो स्वमान याद राख– म ब्राह्मण आत्माको स्वमान नै हो “पर उपकारी’। अर्को सिजनमा बापदादा हरेक बच्चामा यो परिवर्तन हेर्न चाहनुहुन्छ। हुन सक्छ? बापदादा बधाई दिनुहुन्छ, एकअर्कालाई अटेन्सन दिलाइरहनुछ। के गर्ने? दिनहुँ बेलुकी सुत्नुभन्दा पहिला बापदादालाई गुडनाइट भन्नुभन्दा पहिला आफ्नो सारा दिनको पोतामेल दिनुछ। राम्रो गरेछौ वा नराम्रो गरेछौ? जे गरे पनि त्यसको पोतामेल बाबालाई दिएर, आफ्नो बुद्धिलाई खाली गरेर गुडनाइट भन्नु र बाबाको यादमा नै सुत्नु। त्यसपछि तिमीलाई धेरै राम्रो निद्रा पर्नेछ। पहिला आफूलाई खाली गर्नुछ, बुद्धिमा कुनै कुरा राख्नुछैन, बाबाको रूपमा उहाँलाई सच्चा दिलले सारा पोतामेल दियौ भने तिमीलाई धर्मराजपुरीमा जाने आवश्यकता पर्दैन। सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। त्यसैले गृहकार्य मिल्यो! एक त हिँड्दा डुल्दा पनि आफ्नो पूर्वज र पूज्य स्वरूपको सेवा गर्न सक्छौ। बाबाले देख्नुभयो यी जनक बच्चीले बिरामी हुँदा, कराँचीको सेवामा विशेष मनसा सकास दिइन्, चाहे निमित्त जोसुकै भए पनि यिनले व्यवहारमा सेवा गरिन्। त्यहाँका आत्माहरूलाई सकास मिल्यो। उमङ्गमा अगाडि-अगाडि बढिरहेका छन्। बापदादाले यस्तो व्यावहारिक उदाहरण देख्नुभयो। तिमीहरू सबैले पनि त्यसरी नै सेवा गर्न सक्छौ। दुःखीलाई, कराउनेलाई खुसीको लहर (प्रकम्पन) पठाउन सक्छौ। तिम्रा भक्तहरूले तिमीलाई नै पुकारिरहेका छन्– हाम्रा देवी, हाम्रा देवता कहिले आएर दया गर्नुहुन्छ। तिमीले सुन्दैनौ तर बाबाले धेरै सुन्नुहुन्छ। हरेकले इष्टदेवलाई पुकारिरहेका छन्। तिमीले जान्दैनौ– हाम्रा भक्तहरू को हुन् तर भक्तहरूले त जान्दछन् नि। उनीहरूले त पुकार्छन् र तिमी हरेक ब्राह्मण आत्माका भक्त छन्। चाहे अल्छी छन् वा होसियार छन्, भक्त तिम्रा पनि हुन् किनकि तिमी जरामा बसेका छौ नि, त्यसैले तिम्रो सकास दिने पार्ट छ। अब मनसा सेवालाई बढाऊ। जति व्यस्त रहन्छौ नि त्यति निर्विघ्न रहन्छौ। मनसा सेवा गर्न सक्छौ नि! मनसा सेवा गर्न जान्दछौ नि! अच्छा नियमित रूपमा गर्छौ कि कहिलेकाहीँ गर्छौ? कहिलेकाहीँ गर्छौ भने त्यसलाई नियमित रूपमा गर र यदि थोरै गर्छौ भने त्यसलाई अझै बढाऊ किनकि सारा कल्पको आधार अहिलेको सेवाको फल हो। चाहे पुजारी बन्छौ, चाहे राज्य अधिकारी बन्छौ दुवैको आधार अहिलेको सेवा, अहिलेको अवस्था, अहिलेको वचन, अहिलेको सम्बन्ध सम्पर्क हो त्यसैले बापदादा यही चाहनुहुन्छ– जति प्रतिशत अहिले छ, त्योभन्दा बढ्नुपर्छ। त्यसो त बापदादा पहिलादेखि नै भन्नुहुन्छ– सेवा गर्नुछ भने अहिल्यै गर। कहिले होइन। बापदादालाई कहिलेको गीत धेरै सुनाउँछन्। धेरै राम्रा राम्रा गीत बनाएर सुनाउँछन् तर बापदादालाई कहिलेको गीत राम्रो लाग्दैन। अहिलेको अहिल्यैको गीत राम्रो लाग्छ। तुरून्त दान महापुण्य। त्यसैले बुझ्यौ अब के गर्नु छ? अच्छा।

बापदादा सबै चारैतिरका बच्चाहरूलाई देखेर खुसी पनि हुनुहुन्छ किनकि बापदादाले बच्चाहरू विना एक्लै केही गर्न चाहनुहुन्न त्यसैले हरेक दिन बच्चाहरूको आह्वान गरिरहनुहुन्छ। तीव्र पुरुषार्थी बच्चाहरू, मीठा बच्चाहरू, प्यारा बच्चाहरू! अब हिँड जाऊँ। अच्छा।

चारैतिरका बच्चाहरूलाई बापदादालाई देखेर चाहे सम्मुख बसेका छन्, चाहे जहाँ पनि बसेका छन् तर सबैलाई बाबाको याद हुन्छ। बाबालाई पनि कसको याद छन्? चारैतिरका बच्चाहरूको याद हुन्छ किनकि बाबाले हरेक बच्चाहरूको लागि यही आशा राख्नुहुन्छ– हरेक बच्चा बाबासमान बन्नु नै छ। बाबाको हरेक बच्चामा जुन आशाहरू छन्, उहाँ जान्नुहुन्छ– नम्बरवार छन् तर पनि आफ्नो नम्बर अनुसार पनि सम्पन्न त बन्नु छ नि। हरेकको पुरुषार्थलाई पनि देख्नुहुन्छ के के गरिरहेका छन्, बाबालाई धेरै प्यार आउँछ, बच्चाहरूले जुनबेला मेहनत गर्छन् नि– बच्चाहरू मेहनतबाट छुटुन् भनेर त्यतिबेला बाबालाई धेरै प्यार आउँछ। बच्चाहरू प्यारमा लवलीन हुन्। प्यारमा धेरैजसो पास छन् तर कुरामा आए भने बाबालाई भुल्छन्।

चारैतिरका बच्चाहरूलाई बापदादाको पदमपदमगुणा प्यार र हृदयको स्नेह स्वीकार होस्। सबैलाई, मालिक बच्चाहरूलाई बाबा लाखौँ लाख बधाई दिइरहनुभएको छ। उड्दै जाऊ, उडाउँदै जाऊ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
स्वस्थितिद्वारा सर्व परिस्थितिहरूलाई पार गर्ने निराकारी , अलङ्कारी भव

जो अलङ्कारी छन् उनीहरू कहिल्यै देह अहङ्कारी बन्न सक्दैनन्। निराकारी र अलङ्कारी रहनु– यही हो मनमनाभव, मध्याजीभव। यस्तो स्वस्थितिमा सदा स्थित रहन्छौ भने सर्व परिस्थितिहरूलाई सहजै पार गरिदिन्छौ, यसबाट अनेक पुराना स्वभाव समाप्त हुन्छन्। स्वयंमा आत्माको भाव देखेमा भाव स्वभावका कुरा समाप्त हुन्छन् र सामना गर्ने सर्व शक्तिहरू स्वयंमा आउँछन्।

स्लोगन:–
सङ्कल्पको एक पाइला तिम्रो भयो भने सहयोगको हजार पाइला बाबाको।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

जसले आफ्नो वा अरूको बितेको कुरालाई हेर्दैनन्, सेकेन्डमा पूर्णविराम लगाउँछन् उनीहरू सरलचित्त हुन्छन् र जो सरलचित्त हुन्छन् उनीहरूको नयनबाट, मुखबाट, चालचलनबाट मधुरता वा हर्षितमुखता प्रत्यक्ष रूपमा देखिन्छ। यस्ता सरलचित्त स्थिति भएकाहरूले अरूलाई पनि सरलचित्त बनाइदिन्छन्। सरलचित्त अर्थात् जे कुरा सुन्छौ, हेर्छौ, गर्छौ, त्यो सारयुक्त होस् र तिमीले सारलाई नै लेऊ।