07.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
सङ्गदोषले धेरै नोक्सान पार्छ , त्यसैले सङ्गदोषबाट आफ्नो धेरै सम्हाल गरिराख , यो
धेरै खराब छ।”
प्रश्न:–
तीन प्रकारको
बचपन कुन हुन्? कुन बचपनलाई कहिल्यै पनि भुल्नुहुँदैन?
उत्तर:–
पहिलो बचपन–
लौकिक मातापिताकहाँ जन्मने बित्तिकै मिल्यो। अर्को बचपन– गुरुको शिष्य बन्दा भयो र
तेस्रो बचपन लौकिक मातापितालाई छोडेर अलौकिक मातापिताका बन्यौ। अलौकिक बचपन अर्थात्
ईश्वरका गोदका बच्चाहरू। ईश्वरका बच्चा बन्यौ अर्थात् मरजीवा बन्यौ। यस अलौकिक
बचपनलाई कहिल्यै पनि नभुल्नु। भुल्यौ भने धेरै रुनुपर्नेछ। रुनु अर्थात् मायाको चोट
खानु।
गीत:–
बचपन के दिन
भुला न देना...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीतको अर्थ बुझ्यौ। बाल्यावस्था ३ प्रकारका छन्। एक लौकिक
बाल्यावस्था, अर्को हो निवृत्तिमार्गको, त्यो पनि घरबार छोडेर जीवन छँदै मरेर गुरुका
अथवा संन्यासीहरूका बन्छन्। ती गुरु तिनीहरूका पिता होइनन्। तिनीहरू गुरुका बन्छन्,
उनीहरूसँगै बस्छन्। उनीहरू पनि जीवन छँदै मरेर गएर गुरुका बन्छन्, जङ्गलमा जान्छन्।
तेस्रो हो– तिम्रो हो तिम्रो यो अद्भुत मरजीवा जन्म बाल्यावस्था। एकथरी मातापितालाई
छोडेर अर्का मातापिताका बन्छौ। उहाँ हुनुहुन्छ रुहानी मातापिता। तिम्रो यो मरजीवा
जन्म हो। ईश्वरीय गोदमा रुहानी जन्म।अहिले तिमीसँग रुहानी बाबाले कुरा गरिरहनुभएको
छ। ती सबै जिस्मानी पिता हुन्। उहाँ रुहानी पिता हुनुहुन्छ त्यसैले भन्छन् बाबाका
बनेर, मरजीवा बनेपछि फेरि यो नभुल्नु। शिवबाबा हुनुहुन्छ उच्चभन्दा उच्च भगवान।
कसैले गीता आदिमा वादविवाद गर्छन् भने पहिला सुरुमा यो कुरा सोध्नुपर्छ– उच्चभन्दा
उच्च भगवान को हुनुहुन्छ? ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः भन्छन् फेरि भन्छन्
शिव परमात्मने नमः... उहाँ सबै धर्मका आत्माहरूका पिता हुनुहुन्छ। पहिला सुरुमा यो
कुरा सम्झाउनुपर्छ– उहाँ उच्चभन्दा उच्च पिता एक हुनुहुन्छ। ब्रह्मा, विष्णुलाई
कसैले परमपिता भन्दैनन्। पहिला यो निश्चय गराऊ– परमपिता एक हुनुहुन्छ, उहाँ निराकार
हुनुहुन्छ, जसलाई रचयिता पनि भनिन्छ। पतितपावन पनि भनिन्छ। बाबाबाट त अवश्य वर्सा
मिल्छ। यो विचार गर, बेहदको बाबाबाट वर्सा कसलाई मिल्यो। बाबा हुनुहुन्छ नयाँ
दुनियाँका रचयीता। उहाँको नाम हो शिव। शिव परमात्मने नमः भन्छन्, उहाँको जयन्ती पनि
मनाउँछन्। उहाँ नै पतितपावन, रचयिता, नलेजफुल, ज्ञानको सागर हुनुहुन्छ त्यसपछि
सर्वव्यापीको कुरा उड्छ। उहाँको कर्तव्यको महिमा छ। विगतमा जुन कर्तव्य गरेर जान्छन्,
त्यसैको लागि उनीहरूको महिमा गरिन्छ। उच्चभन्दा उच्च हुनुहुन्छ बाबा। उहाँलाई
मुक्तिदाता पनि भनिन्छ, रहमदिल, दुःखहर्ता सुखकर्ता पनि भनिन्छ, गाइड (मार्गदर्शक)
पनि भनिन्छ। कुनै नयाँ ठाउँमा गए भने गाइडलाई साथमा लैजान्छन्। वेलायतबाट आउँदा
उनीहरूलाई सबैथोक देखाउनको लागि यहाँको गाइड दिन्छन्। तीर्थ यात्रामा लैजाने
पण्डाहरू हुन्छन्। अब बाबालाई गाइड भनिन्छ भने अवश्य मार्गदर्शन गर्नुभएको होला।
सर्वव्यापी भन्दा सारा कुरा खतम हुन्छ। पहिला सुरुमा सम्झाऊ– सबैका पिता एक
हुनुहुन्छ। सर्वशास्त्रमयी शिरोमणि हो गीता, त्यो भगवानले गायन गर्नुभएको हो।
उहाँलाई सिद्ध गरेपछि उहाँका बालबच्चा सबै झुटा सिद्ध हुनेछन्। पहिला सुरुमा सच्चा
गीताको सार सुनाउनुपर्छ। शिव भगवानुवाच। शिवबाबाको चरित्र के होला? उहाँले त केवल
भन्नुहुन्छ, म यस शरीरको आधार लिएर तिमीहरूलाई पतितबाट पावन बन्ने बाटो देखाउँछु।
बच्चाहरूलाई राजयोग सिकाउन आउँछु, यसमा के चरित्र देखाउनुहुन्छ। यिनी त बुज्रुग हुन्।
आएर केवल बच्चाहरूलाई पढाउनुहुन्छ। पतितलाई पावन बनाउन राजयोग सिकाउनुहुन्छ। तिमीले
सत्ययुगमा गएर राज्य गर्नेछौ। तिमीलाई वर्सा मिल्छ, बाँकी सबै आत्माहरू मुक्तिधाम,
निराकारी दुनियाँमा हुनेछन्। यो एकदमै सहज कुरा हो। भारतवर्षमा देवीदेवताहरूको
राज्य थियो। एउटै धर्म थियो। अहिले कलियुगमा कति धेरै मानिसहरू छन्, त्यहाँ धेरै कम
देवीदेवताहरू हुन्छन्। परमपिता परमात्मा एक धर्मको स्थापना, अनेक धर्महरूको विनाश
गराउन आउनुहुन्छ। बाँकी सबै शान्तिधाममा जानेछन्। त्यहाँ अपवित्र आत्मा कोही बस्न
सक्दैन। उहाँको नाम हो नै पतितपावन, सर्वका सद्गतिदाता। यो कलियुग पुरानो दुनियाँ
हो। सत्ययुगलाई भनिन्छ सत्ययुग। जो देवताहरूका पुजारी हुन्, उनीहरूले सहजै सबैथोक
बुझ्नेछन्। जो पूज्य छन् उनीहरू नै पुजारी बन्छन्। त्यसैले पहिला बाबाको परिचय दिनु
छ, हामी उहाँका बच्चा हौँ, यो नभुल। भुल्यौ भने रुनुपर्नेछ। केही न केही मायाको चोट
लाग्नेछ। देहीअभिमानी बन्नु छ। हामी आत्माहरू फर्केर बाबाको समीप जानु छ। यति धेरै
मानिसहरू मर्नेछन् फेरि को कसको लागि रुनेछ? भारतवर्षमा सबैभन्दा बढी रुन्छन्। पहिला
१२ महिना रोइरहन्छन्। छाती पिटिरहन्छन्। यो मृत्युलोकको रसमरिवाज हो, तिमीलाई अब
सारा अमरलोकको रसमरिवाज सिकाइरहनुभएको छ। तिमीलाई अब सारा पुरानो दुनियाँबाट
वैराग्य छ।
बाबा भन्नुहुन्छ– म
एकलाई याद गर। यी सबै खतम हुनेवाला छन्। अब हामी फर्केर गइरहेका छौँ, नाटक पूरा
हुन्छ। नाटकमा सबै कलाकारहरू हुन्छन् फेरि मोह कसमाथि राख्छौ। बुझ्छन् यिनले गएर
अर्को पार्ट खेल्नु छ। रुन के आवश्यकता छ। हरेकको पार्ट पहिल्यै निश्चित छ। जसरी
बाबा ज्ञानको सागर, आनन्दको सागर, प्यारको सागर हुनुहुन्छ त्यसरी नै बाबालाई फलो
गरेर त्यस्तै बन्नु छ। सागरबाट नदीहरू निस्कन्छन्। सबै नम्बरवार छन्। कसैले राम्रो
वर्षा गर्छन्, खुब आफूसमान बनाउँछन्। अन्धाहरूका लट्ठी बन्छन्। बाबालाई त धेरै
मदतगार चाहिन्छ। बाबा भन्नुहुन्छ– तिमी अन्धाहरूको लट्ठी बन। सबैलाई बाटो देखाऊ,
केवल एक ब्राह्मणी कहाँ अन्धाहरूका लट्ठी बन्नु छ र। हामी सबै बन्नु छ। तिमीलाई
ज्ञानको तेस्रो नेत्र मिलेको छ, यसलाई भनिन्छ तेस्रो नेत्र मिल्ने कथा। दिव्य नेत्र
हुन्छ आत्माको लागि। मानिसहरूले त केही पनि बुझ्दैनन्। एकदमै तुच्छ बुद्धि भएका छन्।
यहाँका मानिसहरूलाई यो थाहै छैन– हाम्रो धर्म कसले स्थापन गर्नुभयो। बाबाको जन्म पनि
यहाँ नै हुन्छ। शिवजयन्ती पनि मनाउँछन्। फेरि बाबा सर्वव्यापी कसरी हुन सक्नुहुन्छ।
बाबा र रचनालाई दुनियाँमा कसैले जान्दैनन्। ऋषिमुनि सबैले नेती नेती भन्दै गए। एउटै
ठुलो भुल गरेका छन् जसबाट परमात्मालाई सर्वव्यापी भनिदिएका छन्। तिमीले सिद्ध गरेर
बताऊ– उहाँ सबैका पिता हुनुहुन्छ, पतितपावन, मुक्तिदाता हुनुहुन्छ। पुरानो
दुनियाँबाट नयाँ दुनियाँमा लैजानुहुन्छ। त्यहाँ दुःखको कुरा हुँदैन। शास्त्रहरूमा त
के के लेखिदिएका छन्। लक्ष्मीनारायणको लागि पनि भन्छन्– के त्यहाँ विकारबिना
उनीहरूको बच्चा जन्मन्छ? अरे भनिन्छ नै सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण
निर्विकारी, निर्विकारी दुनियाँ। यसलाई भनिन्छ विकारी दुनियाँ, फेरि कसरी भन्छौ
त्यहाँ पनि विकार हुन्छ। पहिला सुरुमा बाबालाई नचिनेसम्म केही बुझ्न सक्दैनन्।
सर्वव्यापी भन्नु धेरै ठुलो भुल हो। बाबालाई चिनेपछि मात्र त्यस भुलबाट निस्कन्छन्
। निश्चय गर्नुछ– बाबा हामी फेरि हजुरका बनेका छौँ, हजुरबाट राज्य भाग्य लिनको लागि।
शास्त्रहरूमा त के के लेखिदिएका छन्। लक्ष्मीनारायणलाई देखाउँछन् सत्ययुगमा अनि
बाल्यावस्थाका राधाकृष्णलाई फेरि द्वापरमा लगेका छन्। तर श्रीकृष्ण त थिए स्वर्गका
राजकुमार। फेरि श्रीकृष्णको जन्मैपिच्छे शारीरिक रूप त परिवर्तन हुँदैजान्छ। एउटै
अनुहार त कहिल्यै हुन सक्दैन। यस्तो कहाँ श्रीकृष्ण फेरि त्यही स्वरूप लिएर द्वापरमा
आउन सक्छन्, असम्भव छ।
तिमीलाई थाहा छ, हामी
वास्तवमा त्यहाँका (मूलवतनका) निवासी हौँ, त्यो हाम्रो स्विट साइलेन्स होम हो, जहाँ
जानको लागि भक्ति गर्छन्। भन्छन् हामीलाई शान्ति चाहिन्छ। आत्मालाई इन्द्रियहरू
मिलेका छन् पार्ट खेल्नको लागि, फेरि शान्तिमा कसरी रहन्छन्। शान्तिको लागि नै
हठयोग सिक्छन्, गुफाहरूमा जान्छन्। एक महिना कोही गुफामा बसे भने के उनीहरूको लागि
त्यो शान्तिधाम हो। तिमीलाई थाहा छ, अब हामी शान्तिधाममा गएर फेरि सुखधाममा आउनेछौँ,
पार्ट खेल्न। उनीहरूले भन्छन् यहाँ जो सुखी छन् उनीहरूको लागि स्वर्ग हो, जो दुःखी
छन् उनीहरूको लागि नर्क हो। तिमीलाई थाहा छ, स्वर्ग नयाँ दुनियाँ र नर्क पुरानो
दुनियाँलाई भनिन्छ। भगवानुवाच, यो भक्ति, यज्ञ, तप, दानपुण्य आदि गर्नु– यो सबै
भक्तिमार्ग हो, यसमा कुनै सार छैन। सत्ययुग त्रेतालाई ब्रह्माको दिन भनिन्छ।
ब्रह्माको दिन अर्थात् तिमी ब्राह्मणहरूको दिन, फेरि तिम्रो रात सुरु हुन्छ। तिमी
पहिला सुरुमा सत्ययुगमा जान्छौ फेरि तिमी नै चक्रमा आउँछौ। ब्राह्मण, देवता,
क्षत्रिय, वैश्य, शूद्र तिमी नै बन्छौ। तिमीले भन्छौ शिव भगवानुवाच र उनीहरूले
भन्छन् श्रीकृष्ण भगवानुवाच। यी दुबै मान्यतामा धेरै भिन्नता छ। तिमीहरूले पूरा ८४
जन्म लिन्छौ। तिमीहरूसँगै सारा सूर्यवंशी सम्प्रदायले पुनर्जन्म लिँदालिँदा अब फेरि
अन्त्यमा राज्य भाग्य लिइरहेका छौ। तिमी बच्चाहरू जसले बुझ्छौ, उनीहरूलाई नै मजा
आउँछ। नयाँलाई मजा आउँदैन। तिमीले कसैको निन्दा गर्दैनौ, बाबाले तिमीलाई कति सहजै
सम्झाउनुहुन्छ। यहाँ तिमी बाबाको सङ्गतमा बसेका छौ त्यसैले राम्रोसँग बुझ्छौ। बाहिर
जाँदा थाहा छैन कस्तो सङ्गतबाट के हाल होला। सङ्गतको दोष धेरै खराब छ। स्वर्गमा
यस्ता कुराहरू हुँदैनन्। त्यसको नाम नै हो स्वर्ग, वैकुण्ठ, सुखधाम। शास्त्रहरूमा त
लेखिदिएका छन्– त्यहाँ पनि असुर थिए। अब तिमीलाई थाहा भएको छ– हामी विश्वको मालिक
थियौँ, त्यहाँ जमिन-आकाश कुनैमा पनि विभाजन हुँदैन। अहिले त कति विभाजन छन्। आआफ्ना
सीमाहरू राख्दै जान्छन्। दुनियाँमा कति झगडा हुन्छन्। त्यसैले कोही पनि आउँदा पहिला
सुरुमा उनीहरूलाई सम्झाऊ– बाबा को हुनुहुन्छ, भगवान कसलाई भनिन्छ? ब्रह्मा, विष्णु,
शङ्कर हुन् देवताहरू। भगवान एक हुनुहुन्छ, १० हुँदैनन्। श्रीकृष्ण भगवान हुन
सक्दैनन्। भगवानले कसरी हिंसा सिकाउनुहुन्छ। भगवानुवाच– काम महाशत्रु हो, त्यसमाथि
विजय प्राप्त गर्नको लागि प्रतिज्ञा गर। राखी बाँध। यो अहिलेको कुरा हो। जे जति
वितेर गएको छ त्यो फेरि भक्तिमार्गमा हुनेछ। दीपावलीमा महालक्ष्मीको पूजा गर्छन्।
यो कसलाई थाहा छ र लक्ष्मीनारायण दुवै सँगसँगै हुन्छन्। लक्ष्मीलाई धन कहाँबाट
मिल्छ? कमाइ गर्ने त पुरुष हुन्छ नि। नाम लक्ष्मीको भनिएको छ। पहिला लक्ष्मी पछि
नारायण। उनीहरूले फेरि महालक्ष्मीलाई छुट्टै सम्झन्छन्। उनका ४ हात देखाउँछन्। दुई
स्त्रीका, दुई पुरुषका। तर उनीहरूले यी कुराहरूलाई जान्दैनन्। तिमीले अहिले
विस्तारमा जान्दछौ।
गीत सुन्यौ– बचपन के
दिन भुला न देना। आत्माले भन्छ– बाबा हामीलाई अब स्मृति आएको छ। सबेरै सबेरै उठेर
बाबासँग कुरा गर्नुपर्छ। अमृतवेला बाबालाई याद गर्नु राम्रो हो नि। साँझको बेला
एकान्तमा गएर बस। चाहे आपसमा स्त्रीपुरुष सँगै छौ तैपनि यिनै कुराहरू गरिराख।
शिवबाबाले ब्रह्माको तनबाट के भन्नुहुन्छ। हामी पूज्य बनिसकेपछि बाबालाई याद
गर्दैनथ्यौँ। पुजारी बनेपछि बाबालाई याद गर्छौँ। यस्ता यस्ता कुराहरू गर्नुपर्छ,
जसले कसैले सुन्यो भने आश्चर्य मान्छ। आधाकल्प हामी कामचितामा बसेर जलेर भष्म भएका
थियौँ, चिहानमा गाडिएका थियौँ। अब हामी ज्ञानचितामा बस्नु छ, स्वर्गमा जानु छ। यो
पुरानो दुनियाँ हो। यहाँका मानिसहरूले ठान्दछन् यो स्वर्ग हो। अरे स्वर्ग त
सत्ययुगमा हुन्छ। स्वर्गमा देवीदेवताहरूको राज्य थियो। यहाँ त मायाको तडकभडक छ। अब
बाबा भन्नुहुन्छ– सङ्गतको दोषमा आएर कहीँ मर्नु छैन। नत्र धेरै पछुताउनेछौ।
परीक्षाको रिजल्ट निस्किएपछि सबैलाई थाहा हुन्छ। पहिला बच्चीहरू ध्यानमा गएर सबैथोक
सुनाउँथे– यिनी रानी बन्नेछिन्, यिनी दासी। फेरि बाबाले बन्द गराउनुभयो। अन्त्यमा
सबैथोक थाहा हुनेछ– हामीले बाबाको कति सेवा गरेका छौँ! कतिलाई आफूसमान बनायौँ! त्यो
सबै याद आउनेछ, साक्षात्कार हुनेछ, बिना साक्षात्कार धर्मराजले पनि सजाय दिन
सक्दैनन्। बच्चाहरूलाई बारम्बार सम्झाइएको छ म एकलाई याद गर। बाबा आएर मीठा मीठा
वृक्षहरूको कलमी लगाउनुहुन्छ। त्यो सरकारले रूखहरूका कलमी लगाउँछ। उत्सव मनाउँछन्।
यहाँ नयाँ दुनियाँको कलमी लागिरहेको छ। त्यसैले यस्ता बाबालाई नभुल। बाबाको सेवामा
लाग, नत्र अन्त्यमा धेरै पछुताउनुपर्नेछ। अहिले वर्सा लिएनौ भने कल्प कल्पान्तरको
हिसाब हुनेछ, त्यसैले पूरा पुरुषार्थ गर्नु छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबा ज्ञानको, आनन्दको, प्यारको सागर हुनुहुन्छ त्यसरी नै बाबासमान बन्नु छ
र आफूसमान बनाउने सेवा गर्नु छ। सबैलाई ज्ञानको तेस्रो नेत्र दिनु छ।
२) यस्तो कुनै पनि
सङ्गत गर्नु छैन जसले पछुताउनुपरोस्। सङ्गतको दोष धेरै खराब छ त्यसैले आफ्नो सम्हाल
गर्नु छ। बाबाबाट वर्सा लिने पूरा पुरुषार्थ गर्नु छ।
वरदान:–
सन्तुष्टताको
विशेषता वा श्रेष्ठताद्वारा सबैको इष्ट बन्ने वरदानी मूर्त भव
जो सदा स्वयं र
सबैसँग सन्तुष्ट रहन्छन् उनीहरू नै अनेक आत्माहरूका इष्ट र अष्ट देवता बन्न सक्छन्।
सबैभन्दा ठुलो गुण भन, दान भन वा विशेषता वा श्रेष्ठता भन– त्यो सन्तुष्टता नै हो।
सन्तुष्ट आत्मा नै प्रभुप्रिय, लोकप्रिय र स्वयंप्रिय हुन्छ। यस्तो सन्तुष्ट आत्मा
नै वरदानी रूपमा प्रसिद्ध हुनेछन्। अहिले अन्त्यको समयमा महादानीभन्दा पनि बढी
वरदानी रूपद्वारा सेवा हुनेछ।
स्लोगन:–
विजयी रत्न उनै
हुन् जसको निधारमा सदा विजयको तिलक चम्किरहेको हुन्छ।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
पाण्डवहरूको गायन छ–
गलेर खतम भए। पहाडहरूमा होइन तर उच्च स्थितिमा गलेर आफूलाई तलबाट एकदमै माथि जुन
अव्यक्त स्थिति छ, त्यसमा गले अर्थात् त्यस अव्यक्त स्थितिमा सम्पूर्णता प्राप्त गरे,
यो तिमी पाण्डवहरूको नै यादगार हो।