08.11.26    Avyakt Bapdada     Nepali Murli    18.10.2071     Om Shanti     Madhuban


विशेष दीपावलीका लागि अव्यक्त बापदादाका मधुर महावाक्य


आज बापदादाले के देखिरहनुभएको छ? तिमीहरू दीपकहरूको माला हेर्नको लागि आएका छौ। जुन दीपावलीको यादगार दिवस मानिसहरूले मनाउँछन् तर बापदादाले चैतन्य दीपकहरूको मालालाई देखिरहनुभएको छ। तिमीहरू सबैले पनि दीपावलीको दिन बलेका दीपकहरूलाई देख्दा, हेर्दा यो खुसी हुन्छ– हाम्रै यादगार मनाइरहेका छन्? जसरी बलेको दीपक प्यारो लाग्छ त्यसरी नै आफ्नो यादगारलाई देखेर स्मृति आएमा तिमीहरू सबै पनि विश्वका पिता र सारा विश्वका आत्माहरूलाई प्यारा लाग्छौ। त्यसैले आज यादगार रूपलाई प्रत्यक्ष रूपमा हेर्न आएका छौ। मालामा एउटा दाना मात्रै हुँदैन, अनेकौँको माला बन्छ। एउटा दीपक छुट्टै बलेको छ भने त्यसलाई दीपकहरूको माला भनिँदैन। यसरी नै अनेक दीपक बलेका मालाका रूपमा देखिन्छन्। हरेकले आफूलाई यस दीपावलीको बीचमा उनिएको, बलेको दीपक सम्झन्छौ? वा तिमीहरू पनि अनेक बलेका दीपकहरूको मालालाई देखेर हर्षित हुन्छौ? आज दीपावलीको दिन तिमीहरू सबैले दीपावली मनायौ? आज विशेष रूपले दीपावली मनायौ? हुन त सदैव बलेका दीपक हौ, तर विशेष यादगारको दिवसमा विशेष आत्माहरूले के गर्नुपर्छ? विशेष आत्माहरू जो विशेष रूपले निमित्त बन्छौ, तिमीहरूले कुन विशेष सेवा गर्नु छ? विशेष आत्माहरूले त अरूभन्दा विशेष कार्य गर्नु छ नि किनकि जुन अरू आत्माहरूले पनि गर्न सक्छन् र गरिरहेका छन् त्यो गर्ने हो भने बाँकी फरक के भयो? विशेष आत्माहरूले विशेष कार्य गर्नु छ। बापदादाले विशेष दिनहरूमा विशेष रूपले बच्चाहरूको र भक्तहरूको तीनै रूपबाट सेवा गर्नुहुन्छ। विशेष आत्माहरूले खास गरी आफ्नो यादगारको दिन साक्षात्कार मूर्त बनेर, साक्षात् बापदादासमान आत्माहरूप्रति आफ्नो कल्याणको भावनाद्वारा, आफ्नो रुहानी स्नेहको स्वरूपद्वारा, आफ्ना सूक्ष्म शक्तिहरूद्वारा आत्माहरूमा बल भर्नुपर्छ। जसरी अव्यक्त रूपमा बापदादाले चारैतिर बच्चाहरूको सेवा गर्नुहुन्छ। उनीहरूले सम्झन्छन्– बापदादाले मसँग भेटघाट गर्नुभयो, मेरो यादको प्रत्यूत्तर दिनुभयो वा मेरो यादको प्रत्यक्ष फल मैले अनुभव गरेँ अथवा भक्तहरूले पनि अनुभव गर्छन्– हाम्रो प्यार वा भावनाको फल भगवानले पूरा गर्नुभयो, यो अनुभव यथार्थ रूपमा भइरहन्छ।

यसरी विशेष आत्माहरूले आफ्नो अव्यक्त स्थितिमा स्थित भएर, आफ्नो रुहानी लाइट र माइटको स्थितिद्वारा लाइट हाउस र माइट हाउस बनेर एक स्थानमा रहेर पनि चारैतिर अलौकिक रुहानी सेवाको भावना र वृत्तिद्वारा सेवा गर्नुपर्छ, यसलाई भनिन्छ बेहदको सेवा। यस्तो अनुभव वा महसुस हुनुपर्छ– मेरा प्रजा वा भक्तहरूले आज विशेष रूपले यादगारको दिन म विशेष आत्मालाई याद गरिरहेका छन्। अल्पकालका रिद्धि सिद्धिवालाहरूले एक स्थानमा बसेर आफ्ना भक्तहरूलाई आफ्नो रूपको प्रत्यक्ष साक्षात्कार गराउन सक्छन् भने के विशेष आत्माहरूले आफ्नो लाइट र माइटद्वारा भक्तहरूलाई वा प्रजालाई आफ्नो सेवाद्वारा अनुभव गराउन सक्दैनौ? त्यसैले यस्ता विशेष यादगारका दिन आउँदा विशेष आत्माहरूले यस्तो विशेष सेवाको अनुभव गर्नुपर्छ। यस्तो सेवा गरेका छौ? अच्छा यो भयो सेवा। अनि दीपावलीको दिन आफूप्रति विशेष अटेन्सन रह्यो? आजको दिनमा आफ्ना आत्माका संस्कारहरूमा सदाको लागि परिवर्तन ल्याउन विशेष अटेन्सन दियौ? यादगारका रूपमा आजको दिनमा पुरानो खाता खतम गर्ने रीतिको रूपमा चल्दै आइरहेको छ त्यो अवश्य प्रत्यक्ष रूपमा तिमी आत्माहरूले गरेका छौ त्यसैले त यादगार चल्दै आएको छ। त्यसोभए आजको दिनमा आफ्ना पुरानो संस्कारहरूको अलिकति पनि बाँकी रहेको खाता खतम गरिदियौ? खतम गर्नुभन्दा पहिला आफ्नो खातालाई चेक गरिन्छ। रिजल्ट निकालिन्छ। यसरी तिमीहरू सबैले आफ्नो चार्ट चेक गरेका छौ? के चेक गर्नु छ? आजको दिनसम्म जे जति पुरुषार्थ भयो त्यसको रिजल्टमा अहिलेसम्म कुन कुरामा र कति प्रतिशत सफलतामूर्त बन्यौ? पहिला आफ्ना मनसा सङ्कल्पहरूको चार्टलाई चेक गर– अहिलेसम्म सम्पूर्ण श्रेष्ठ सङ्कल्पहरूको पुरुषार्थमा कहाँसम्म सफलता प्राप्त भएको छ? व्यर्थ सङ्कल्पहरू वा विकल्पहरूमाथि कहाँसम्म विजयी बनेका छौ? अनि वाणीद्वारा कहाँसम्म आत्माहरूलाई बाबाको परिचय दिन सक्छौ, कति आत्माहरूलाई बाबाको स्नेही वा सहयोगी बनाउन सक्छौ? वाचामा कहाँसम्म रुहानियत वा अलौकिकता वा आकर्षण आएको छ? यसरी नै कर्मणाद्वारा सदा न्यारा र प्यारा, अलौकिक, असाधारण कर्म कहाँसम्म गर्न सक्छौ? कर्महरूमा कहाँसम्म कर्मयोगीको, योगयुक्त, युक्तियुक्त, स्नेहयुक्त रूप ल्याएका छौ? आफ्ना संस्कारहरू र स्वरूपहरूमा अर्थात् अनुहारमा कहाँसम्म बाबासमान आकर्षण रूप, स्नेही रूप, सहयोगी रूप बन्यौ? यसरी आफ्नो चार्ट चेक गरेर अहिलेसम्म जुन कमी वा कमजोरी रहेको छ त्यसलाई समाप्त गरेर नयाँ खाता सुरु गर्न सक्छौ? यसरी आफ्नो चार्ट चेक गर।

यसलाई भनिन्छ दीपावली मनाउनु अथवा आफूलाई सम्पूर्ण बनाउने दृढ सङ्कल्प गर्नु नै मनाउनु हो। यसरी दीपावली मनाएका छौ कि केवल मिलन मनायौ? मिलन मनाएको यादगार मालाको रूपमा छ तर दृढ सङ्कल्पहरूको यादगार दीपकको ज्योति रूपको हो। त्यसैले दुवै रूपबाट मनायौ? नयाँ वस्त्र लगायौ? आत्मालाई नयाँ चोला कुन आधारबाट मिल्छ? संस्कारहरूको आधारबाट मिल्छ नि। आत्माको जस्तो संस्कार हुन्छ त्यसै अनुसार नै चोला तयार हुन्छ। त्यसैले नयाँ चोला वा नयाँ वस्त्र कुन लगाउनेछौ? आत्मामा नयाँ युगको संस्कार वा नयाँ युगका स्थापक बाबाजस्तै सम्पूर्ण संस्कारहरूलाई धारण गर्नु– यही नयाँ वस्त्र लगाउनु हो। शरीरमा जतिसुकै नयाँ वस्त्र लगाऊ तर आजको पुरानो दुनियाँको नयाँ वस्तु पनि नयाँ दुनियाँको अगाडि पुरानो हो किनकि ती बस्तुहरू जीर्ण अवस्थामा पुगिसकेका छन् त्यसैले नयाँ वस्त्र लगायौ भने पनि नयाँ भनिनेछैन। सतोप्रधान दुनियाँमा नै सबैथोक नयाँ हुन्छ। तमोप्रधान दुनियाँका चीजहरू सबै पुराना हुन्। असार छन्। तिनलाई नयाँ भनिन्छ र? नयाँ वस्त्र अर्थात् आफ्नो आत्माको नयाँ संस्कार, श्रेष्ठ संस्कार धारण गर्नु हो। अनि के गर्नेछौ? नयाँ संस्कार धारण गरेका छौ भने पोतामेल (चार्ट) राखेमा पोताइ हुनेछ नि। त्यसैले पोतामेल राख्नु यही पोताइ अर्थात् सफाइ, स्वच्छता हो। जसरी पोताइ गर्छन् त्यसपछि जति पनि फोहोर वा कीटाणु हुन्छन् ती स्वतः नै खतम हुन्छन्। त्यसैले यसरी चार्ट चेक गरेमा जुन पनि कमजोरी हुन्छ त्यो स्वतः नै खतम हुनेछ। एकअर्कामा आफ्नो मधुर बचनद्वारा के लेनदेन गर्नेछौ? जसरी दीपावलीमा एकअर्कासँग खर्चपर्च (खर्ची) लिन्छन् नि। तिमीहरूले एकअर्कालाई कुन खर्चपर्च दिनेछौ? तिमीहरूसँग कुन चीज छ जुन एकअर्कालाई खर्चपर्च दिनेछौ? (स्नेहको खर्चपर्च) एकअर्काको स्नेही त सदाको लागि हौ, कि आजको दिनमा मात्र खास स्नेही बन्छौ? स्नेही त हौ र यही स्नेहको निसानी, एकअर्काको समीपताको निसानीलाई दीपावली भनिन्छ। विशेष दिनहरूमा कुन विशेष खर्चपर्च दिनु छ? जुन अहिलेसम्म आफ्नो पुरुषार्थद्वारा सहज सफलता प्राप्त भएको हुन्छ वा अनुभव भएको हुन्छ, यसरी आफ्ना अनुभवका ज्ञान रत्न, जसद्वारा यथार्थ अनुभवी बनेर अनुभवी बनाउन सक्छौ, यस्ता रत्न एकअर्कालाई खर्चपर्चको रूपमा विशेष रूपले दिनुपर्छ। बुझ्यौ? बाबाका जुन खजानालाई आफ्नो अनुभवद्वारा आफ्नो बनायौ यस्ता आफ्ना बनाएका ज्ञान रत्न एकअर्कालाई दिनुपर्छ जसबाट त्यो आत्मा पनि यसबाट सहज अनुभवी बन्छ, यो हो खर्चपर्च। त्यसैले एकअर्कालाई यस्तो खर्चपर्च दिनुपर्छ जुन सदाको लागि याद रूप बनोस्। यस्तो रत्न कसैलाई दिँदा सदाको लागि त्यस आत्मालाई बाबाको साथै तिमीले दिएको रत्नको याद अवश्य हुनेछ। त्यसैले कसैलाई सदाको लागि सम्पन्न गर्ने खर्चपर्च दिनुपर्छ। यस्तो दीपावली मनाऊ र यसरी नै श्रेष्ठ आत्मा बनेर अरू आत्माहरूको श्रेष्ठ सेवा गर।

आजको दिनमा सबै आत्माहरू धनका प्यासी छन्। त्यसैले यस्ता प्यासी आत्माहरूलाई यस्तो रुहानी धन देऊ जसबाट कहिल्यै पनि आत्मालाई धन माग्ने आवश्यकता नै नरहोस्। धन कसले माग्छन्? भिखारीले। आजको दिनमा आत्मा भिखारी बनेको छ। रोयल भिखारी भन। जतिसुकै करोडपति हुन्, तर आजको दिनमा भिखारी बन्छन्। यस्ता भिखारी आत्मालाई भिखारीपनबाट छुटाऊ, यो हो बेहदको सेवा। दाताका बच्चा हौ नि। त्यसैले दाताका बच्चा, वरदाताका बच्चाले, आफ्नो वरदानको शक्तिद्वारा, ज्ञान दानको शक्तिद्वारा भिखारीहरूलाई मालामाल बनाऊ। आजको दिनमा यी भिखारी आत्माहरूमाथि विधाता र वरदाताका बच्चाहरूलाई दया लाग्नुपर्छ। जुन आत्माहरूलाई यस्तो दया लाग्छ, उनीहरूलाई नै माया र विश्वका यस्ता आत्माहरूले नमस्कार गर्छन् त्यसैले अहिलेसम्म पनि दीपक बाल्छन्। बत्ती बाल्दा नमस्कार अवश्य गर्छन्। त्यसैले यस्ता बलेका आत्माहरूको यादगार ज्योति अहिलेसम्म पनि कायम छ। निभेको दीपकलाई नमस्कार गर्दैनन् त्यसैले सदा बलेको ज्योति बन। यस्ता आत्माहरूलाई बापदादाले पनि नमस्ते गर्नुहुन्छ।

( महाराष्ट्र जोनका भाइबहिनीहरूप्रति अव्यक्त बापदादाका महावाक्य– रिभाइज– २०-०३-१२)

यस जोनको सङ्ख्या धेरै छ। नाम हो महाराष्ट्र। त्यसैले महा होलान् नि! जस्तो नाम छ त्यस्तै सङ्ख्या पनि महान् छ। मुम्बइ र दिल्ली दुवैतिरका बच्चाहरूले सेवा त राम्रो गरिरहेका छौ, त्यो त भन्ने कुरै भएन। राम्रो गरिरहेका छौ, गरिरहनेछौ तर बापदादा दिल्ली र मुम्बइबाट यही चाहनुहुन्छ– जो तिम्रो सम्बन्ध सम्पर्कमा आएका विशेष आत्माहरू जो माइक पनि बन्न सक्छन् र फेरि वारिस पनि बन्न सक्छन्, त्यस्तो कुनै ग्रुप निकाल किनकि लिस्ट सबै वर्गहरूका अधिकांशले बापदादालाई पठाएका थिए। हेरेका छौ त्यो लिस्ट। लिस्टमा राम्रा राम्रा आत्माहरू छन् जसले नाम प्रख्यात गर्न सक्छन्। अब उनीहरूलाई प्रत्यक्ष गर। तिमीहरूको सट्टा उनीहरूले भाषण गरून्। तिम्रो अनुभव सुनाउन्, ज्ञान के हो, हाम्रो जीवनमा के अन्तर आएको छ, त्यो वर्णन गरून्। कार्यक्रम हुँदा, अहिले पनि त कतिले आफ्ना राम्रा राम्रा अनुभव सुनाउँछन् पनि तर त्यो त कार्यक्रममा सुनाए, तर लगातार जीवनको अनुभव गरून्। यसमा अटेन्सन दियौ भने त्यस्ता आत्माहरू निस्कनेवाला छन्। कति योग्य छन् तर केही पुरुषार्थ गरेर उनीहरूलाई अगाडि बढाऊ। हरेक वर्ग (विङ् ) ले वास्तवमा यो लिस्ट प्रत्यक्ष रूपमा परिवार र बाबाको अगाडि ल्याउनुपर्छ। वर्गहरूले कार्य गरेका छौ । बापदादाले देख्नुभएको छ कार्य गरेका छौ तर धेरै समयदेखि गरिरहेका छौ, अझै कुनै नवीनता ल्याऊ। नवीनता यो हो वारिस बनाऊ। कम्तीमा जो सम्पर्कमा छन् उनीहरू सम्बन्धमा आउन्, सम्बन्धपछि सेवामा लागुन्। सम्बन्ध यो होइन, आउनेजाने सम्बन्ध होइन तर बाबा र परिवारको साथी बनुन्। यो पनि हुनु छ, अहिले बापदादाले देख्नुभएको छ– ब्राह्मणहरू मिलेर कुनै पनि एक सङ्कल्प गरे भने भइ नै हाल्ने छ तर सबैको एउटै सङ्कल्प हुनुपर्छ किनकि अहिले वायुमण्डल परिवर्तन भएको छ। त्यसैले बापदादा यस्ता माइक स्तरका बच्चाहरूको सङ्गठन गराउन चाहनुहुन्छ। मधुबनमा भेट्न आउँछन् त्यो कुरा छुट्टै हो तर परिवारको बनेर आउन् किनकि सेवामा कुनै न कुनै नवीनता त हुनुपर्छ नि! अच्छा। बाँकी बापदादाको एउटा आशा अझै पनि जोनवालाहरूप्रति रहेको छ। त्यो कुन हो? हरेक सेन्टरले यो खुसीको खबर लेखोस्– हाम्रो सेन्टर निर्विघ्न छ, मिलनसार छ। सबै बाबाका बच्चाहरू नियमित (एक्युरेट), जुन कार्यक्रम बनेको छ त्यतैतिर व्यस्त छन्, निर्विघ्न छन्। अहिलेसम्म कुनै जोनको यो समाचार आएको छैन। महाराष्ट्रले त महान् कार्य गर्छन् नि! कुनै पनि जोनले अहिलेसम्म यो खुसीको खबर पठाएको छैन। बन्नु छ, बन्नु त तिमीहरूलाई नै छ अरू को बन्छन्! तिमीहरूको तपस्या कम छैन। चाहे टिचर हौ, चाहे स्टुडेन्ट हौ, दुनियाँको हिसाबले हरेक महान् आत्माहरू हौ। अहिलेको अहिल्यै हेर्नु तिमीहरूले यो निर्विघ्नको सेवा अलिकति गरेमा सबैले तिमीहरूलाई जसरी तिम्रो जड चित्रमा शुभ भावनाले हेर्छन्, त्यसरी नै तिमीहरूलाई चैतन्य रूपमा देवीहरूको रूपमा, देवताहरूको रूपमा हेर्नेछन्। बाँकी सेवा सबैले राम्रो सेवा गरेका छन्। त्यसको लागि बापदादाले बधाइ दिइरहनुभएको छ। अच्छा।

वरदान:–
दिव्य गुणहरूको आह्वानद्वारा अवगुणहरूलाई समाप्त गर्ने दिव्यगुणधारी भव

जसरी दीपावलीमा श्रीलक्ष्मीको आह्वान गर्छन् त्यसरी नै तिमी बच्चाहरूले स्वयंमा दिव्य गुणहरूको आह्वान गरेमा अवगुण आहुति रूपमा खतम हुँदै जानेछन्। फेरि नयाँ संस्कारहरूरूपी नयाँ वस्त्र धारण गर्नेछौ। अब पुराना वस्त्रहरूसँग अलिकति पनि प्रीत नहोस्, जुन पनि कमजोरीहरू, कमीहरू, निर्बलता, कोमलता रहेको छ– ती सबै पुराना खाताहरू आजैदेखि सदाकालको लागि समाप्त गर अनि दिव्यगुणधारी बन्नेछौ र भविष्यमा राज्याभिषेक (ताजपोसी) हुनेछ। त्यसैको यादगार नै यो दीपावली हो।

स्लोगन:–
स्वराज्य अधिकारी बन्नु छ भने मनरूपी मन्त्रीलाई आफ्नो सहयोगी बनाऊ।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

“बिन्दु र सिन्धु” यी दुई शब्द याद राख्यौ भने पनि सम्पूर्णता सहजै आउन सक्छ। एक बिन्दुको याद र एकरस अवस्था, एकको नै मत र एकको नै कर्तव्यमा मदतगार। केवल बिन्दु र एक, त्यसभन्दा अगाडि विस्तारमा जाने आवश्यकता छैन। विस्तारमा जानु छ भने केवल सेवाप्रति। त्यसभन्दा अगाडि आफ्नो बुद्धिलाई चलाउने आवश्यकता छैन।