09.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– जसरी बाबाको पार्ट सबैको कल्याण गर्न ु हो , त्य सैगरी बाबा समान कल्याणकारी बन , आफ्नो र सबैको कल्याण गर।”

प्रश्न:–
बच्चाहरूको कुन एउटा विशेषतालाई देखेर बापदादा धेरै खुसी हुनुहुन्छ?

उत्तर:–
गरिब बच्चाहरूले बाबाको यज्ञमा ८ आना, एक रुपैयाँ पठाइदिन्छन्। भन्छन्– बाबा यसको सट्टा हामीलाई महल दिनुहोस्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो एक रुपैयाँ पनि शिवबाबाको खजानामा जम्मा भयो। तिमीलाई २१ जन्मको लागि महल मिल्नेछ। सुदामाको उदाहरण छ नि। एक कौडी पनि खर्च नगरी तिमी बच्चाहरूलाई विश्वको बादसाही मिल्नेछ। बाबा गरिब बच्चाहरूको यो विशेषतामा धेरै खुसी हुनुहुन्छ।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
मीठा प्यारा बच्चाहरूले बुझेका छौ– बाबाबाट अहिले बेहदको वर्सा लिइरहेका छौँ। बच्चाहरूले भन्छन्– बाबा हजुरको श्रीमत अनुसार हामीले हजुरबाट फेरि बेहदको वर्सा पाइरहेका छौँ। यो कुनै नयाँ कुरा होइन। बच्चाहरूलाई ज्ञान मिलेको छ। बच्चाहरूलाई थाहा छ– हामीले कल्प कल्प सुखधामको वर्सा पाइरहन्छौँ। कल्प कल्प ८४ जन्म त लिनैपर्छ। अवश्य हामीले बेहदका बाबाबाट २१ जन्मको वर्सा पाउँछौँ फेरि बिस्तारै बिस्तारै गुमाउँछौँ। बाबाले सम्झाउनुभएको छ– यो अनादि बनिबनाउ खेल हो। तिमी बच्चाहरूको खातिरी हुँदैजान्छ। यो पनि थाहा छ– ड्रामामा सुख धेरै छ। अन्त्यमा आएर रावणद्वारा दुःख पाउँछौँ। अहिले तिमीहरू अझै थोरै छौ, पछि गएर धेरै वृद्धि हुँदै जानेछौ। मानिसबाट देवता बन्नेछौ। अवश्य दिलमा सम्झन्छौ– हामीले कल्प कल्प बाबाबाट वर्सा पाउँछौँ। जो जो आएर ज्ञान लिन्छन् उनीहरूले सम्झन्छन्– अहिले ज्ञान सागर बाबाबाट सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान पाएका छौँ। ज्ञानको सागर बाबाले नै पतितहरूलाई पावन बनाउनुहुन्छ अर्थात् मुक्ति-जीवनमुक्तिमा लैजानुहुन्छ। यो पनि तिमीले अहिले बुझेका छौ। गुरु त धेरैले बनाएका छन् नि। अन्त्यमा गुरुहरूलाई पनि छोडेर यहाँ आएर ज्ञान लिनेछन्। तिमीलाई पनि अहिले यो ज्ञान मिलेको छ। तिमीलाई थाहा छ– यसभन्दा पहिला अज्ञानी थियौ। सृष्टिको चक्र कसरी घुम्छ। शिवबाबा, ब्रह्मा, विष्णु, शङ्कर को हुनुहुन्छ, यो केही पनि थाहा थिएन। अब थाहा भयो– हामी विश्वका मालिक थियौँ, त्यसैले तिम्रो बुद्धिमा धेरै राम्रो नसा चढिरहनुपर्छ। बाबालाई र सृष्टि चक्रलाई याद गरिरहनुपर्छ। अल्फ र बे। बाबा सम्झाउनुहुन्छ– यसभन्दा पहिला तिमीले केही पनि जानेका थिएनौ नि। न बाबालाई, न उहाँको रचनालाई जानेका थियौ। सारा सृष्टिका मनुष्य मात्रले न बाबालाई, न रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछन्। अहिले तिमी शूद्रबाट ब्राह्मण बनेका छौ। बाबाले सबै बच्चाहरूसँग कुरा गरिरहनुभएको छ। कति धेरै बच्चाहरू छन्। सेन्टरहरू कति छन्। अब त अरू सेन्टरहरू पनि खुल्नेछन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– पहिला तिमीले केही पनि जानेका थिएनौ। अब नम्बरवार पुरुषार्थ अनुसार जानिसकेका छौ। तिमीलाई यो पनि थाहा भएको छ– अहिले हामी बाबाद्वारा पतितबाट पावन बनिरहेका छौँ। अरूले त पुकारिरहन्छन्, तिमी गुप्त छौ। ब्रह्माकुमार-कुमारी भन्छन् तर चिन्दैनन्– यिनीहरूलाई पढाउने को हुनुहुन्छ? शास्त्रहरूमा कहीँ लेखिएको छैन। उहाँ गीताका भगवान शिवले आएर बच्चाहरूलाई राजयोग सिकाउनुभएको छ। यो तिम्रो बुद्धिमा आउँछ नि। गीता पनि तिमीले पढेका हौला। यो पनि अहिले बुझेका छौ– ज्ञानमार्ग बिल्कुल अलग छ। विद्वत मण्डलीबाट जसले शास्त्र आदि पढेर टाइटल लिन्छन्, ती सबै भक्तिमार्गका शास्त्र हुन्। यो ज्ञान उनीहरूमा छैन। यहाँ त बाबाले नै आएर रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। यहाँ त बाबाले आएर तिम्रो बुद्धिको ताला खोल्नुभएको छ।

तिमीलाई थाहा छ– पहिला हामी के थियौँ, अब के बनेका छौँ! बुद्धिमा सारा चक्र आएको छ। सुरुमा कहाँ जान्दथ्यौ र! दिनप्रतिदिन ज्ञानको तेस्रो नेत्र राम्रोसँग खुल्दै जानेछ। यो पनि कसैलाई थाहा छैन– भगवान कहिले आउनुभयो, उहाँ को हुनुहुन्थ्यो– जसले आएर गीताको ज्ञान सुनाउनुभयो। तिमी बच्चाहरूले अहिले जानिसकेका छौ। बुद्धिमा सारा चक्रको ज्ञान छ। कहिलेदेखि हामीले हार खान्छौँ र कसरी वाममार्गमा जान्छौँ, कसरी सिँढी ओर्लिन्छौँ। यो कुरा चित्रमा कति सहजै सम्झाइएको छ। सिँढी ८४ जन्मको छ। कसरी ओर्लिन्छन् फेरि चढ्छन्। पतितपावन को हुनुहुन्छ? पतित कसले बनायो? यी कुरा तिमीले अहिले जान्दछौ, उनीहरूले त केवल गाइरहन्छन्– पतितपावन। यो कहाँ जान्दछन् र– रावण राज्य कहिलेदेखि सुरु हुन्छ? पतित कहिलेदेखि बने? यो ज्ञान आदि सनातन देवीदेवता धर्मका मानिसहरूको लागि नै हो। बाबा भन्नुहुन्छ– मैले नै आदि सनातन देवीदेवता धर्मको स्थापना गरेको थिएँ। यो विश्वको इतिहास भूगोल बाबाबाहेक अरू कसैले सम्झाउन सक्दैन। तिम्रो लागि यो एक कहानीजस्तै हो। कसरी राज्य पाउँछौ, कसरी गुमाउँछौ। त्यो इतिहास भूगोल हामीले पढ्छौँ। यो हो बेहदको कुरा। हामीले ८४ को चक्कर कसरी लगाउँछौँ, हामी विश्वका मालिक थियौँ फेरि रावणले राज्य छिन्यो, यो ज्ञान बाबाले दिनुभएको छ। मनुष्यले विजयादशमी आदि चाडपर्व मनाउँछन् तर त्यसको केही पनि ज्ञान हुँदैन। जसरी तिमीलाई यो ज्ञान थिएन, अब ज्ञान मिलिरहेको छ, त्यसैले तिमी खुसीमा रहन्छौ। ज्ञानले खुसी दिन्छ। तिम्रो बुद्धिमा बेहदको ज्ञान छ। बाबाले तिम्रो झोली भरिरहनुभएको छ। भन्छन् नि– झोली भरिदेऊ। कसलाई भन्छन्? साधुसन्त आदिलाई भन्दैनन्। भोलानाथ शिवलाई भन्छन्, उहाँसँग नै भीख माग्छन्। तिम्रो त अब खुसीको पारावार (लेखाजोखा) नै छैन। तिमीलाई धेरै खुसी हुनुपर्छ। बुद्धिमा कति ज्ञान आएको छ। बेहदका बाबाबाट बेहदको वर्सा मिल्छ। त्यसैले अब आफ्नो र अरूको पनि कल्याण गर्नुछ। सबैको कल्याण गर्नुछ। पहिला त एकअर्काको अकल्याण नै गर्थ्यौ किनकि आसुरी मत थियो। अहिले तिमी श्रीमतमा छौ, त्यसैले आफ्नो पनि कल्याण गर्नुछ।

तिम्रो दिल हुन्छ– यो बेहदको पढाइ सबैले पढुन्, सेन्टरहरू खुल्दै जाऊन्। भन्छन्– बाबा प्रदर्शनीका सामग्री दिनुहोस्, प्रोजेक्टर दिनुहोस्, हामीले सेन्टर खोल्छौँ। हामीलाई जुन ज्ञान मिलेको छ, जसबाट बेहदको खुसीको पारा चढेको छ, त्यो अरूलाई पनि अनुभव गराऊँ। ड्रामा अनुसार यो पुरुषार्थ पनि चलिरहन्छ। बाबा आउनुभएको छ– विश्वलाई फेरि स्वर्ग बनाउन। तिमीलाई थाहा छ– हामी पहिला नर्कवासी थियौँ, अब स्वर्गवासी बनिरहेका छौँ। यो चक्र तिम्रो बुद्धिमा सदैव घुमिरहनुपर्छ, जसबाट सदैव तिमी खुसीमा रहन्छौ। अरूलाई सम्झाउने पनि नसा हुनुपर्छ। हामीले बाबाबाट ज्ञान लिइरहेका छौँ। तिम्रा अरू भाइ-बहिनी जसले जान्दैनन्, उनीहरूलाई पनि बाटो देखाउनु तिम्रो धर्म हो। जसरी बाबाको पार्ट छ सबैको कल्याण गर्नु, त्यसरी नै हाम्रो पनि पार्ट छ– सबैको कल्याणकारी बन्नु। बाबाले कल्याणकारी बनाउनुभएको छ, त्यसैले आफ्नो पनि कल्याण गर्नुछ, अरूको पनि कल्याण गर्नुछ। बाबा भन्नुहुन्छ– तिमी फलानो सेन्टरमा जाऊ, गएर सेवा गर। एक ठाउँमा मात्रै बसेर सेवा गर्नुछैन। जो जति होसियार छ, उसलाई त्यति नै सोख हुन्छ– गएर हामीले सेवा गरौँ। फलानो नयाँ सेन्टर खुलेको छ, यो त थाहा छ– को को सेवाधारी छन्, को को आज्ञाकारी, वफादार, फरमानबरदार छन्। अज्ञानकालमा पनि कपुत बच्चाहरूसँग बाबा रिसाउनुहुन्छ। यहाँ बेहदका बाबाले त भन्नुहुन्छ– मैले बिल्कुल साधारण रीतिले सम्झाउँछु, यसमा डराउने कुनै कुरा छैन। यहाँ त जसले गर्छ उसले पाउँछ। श्राप वा रिसाउने कुरा छैन। बाबा सम्झाउनुहुन्छ– किन राम्रो सेवा गरेर आफ्नो पनि र अरूको पनि कल्याण गर्दैनौ। जसले जति धेरैको कल्याण गर्छन्, बाबा पनि त्यति नै खुसी हुनुहुन्छ। बगैँचामा बाबाले हेर्नुहुन्छ– यो फूल कति राम्रो छ। यो सारा बगैँचा हो। बगैँचा हेर्नको लागि भन्छन्– बाबा हामीले सेन्टरको चक्कर लगाऊँ, कस्ता कस्ता फूल छन्! कसरी सेवा गरिरहेका छन्! जाँदा थाहा हुन्छ। कसरी खुसीमा नाचिरहन्छन्। बाबालाई पनि आएर भन्थे– बाबा फलानोलाई हामीले यसरी सम्झायौँ। आज आफ्नै पतिलाई, भाइलाई लिएर आएकी छु। सम्झाएकी छु– बाबा आउनुभएको छ, उहाँले कसरी जीवन हीरासमान बनाउनुहुन्छ। यो कुरा सुने भने चाहनेछन्– हामीले पनि हेरौँ। त्यसैले बच्चाहरूमा उमङ्ग आउँछ र लिएर आउँछन्। विश्वको इतिहास भूगोललाई जान्नुपर्छ। भारतवर्ष सारा विश्वको मालिक थियो, यो कुरा बुझ्न सक्छौ। अहिले त के हालत छ। सत्ययुग-त्रेतामा कति सुख थियो। अब फेरि बाबाले विश्वको मालिक बनाइरहनुभएको छ। यो पनि तिमीलाई थाहा छ– दुनियाँमा अन्त्यमा धेरै होहल्ला हुनेछ। लडाइँ कहाँ बन्द हुन्छ र! कहीँ न कहीँ लडाइँ भइरहन्छ। जहाँ हेरे पनि त्यहाँ झगडा नै हुन्छ। कति घमासान मच्चिएको छ। बेलायतमा के के भइरहेको छ। मानिसले बुझ्दैनन्– हामीले के गरिरहेका छौँ। कति तुफान आइरहन्छन्। मानिस पनि मरिरहन्छन्। यो कति दुःखको दुनियाँ हो। तिमी बच्चाहरूलाई थाहा छ– यो दुःखको दुनियाँबाट अब जसरी पनि गइन्छ। बाबाले त धैर्यता दिइरहनुभएको छ। यो फोहोरी दुनियाँ हो। केही दिनमा हामीले विश्वमा शान्तिसँगले राज्य गर्नेछौँ। यसमा त खुसी हुनुपर्छ नि। सेन्टरहरू खुलिरहन्छन्। अब हेर, सेन्टर खुल्छन्, बाबा लेख्नुहुन्छ– अब राम्रा राम्रा बच्चाहरू सेवामा जानुछ। जो दिलमा चढेका छन् उनीहरूको नाम पनि लेखिदिन्छु। धेरैको कल्याण हुन्छ। यस्तो धेरैले लेख्छन्– बाबा हामी त बाँधेली हौँ। अच्छा, सेन्टर खुल्यो भने धेरै आएर वर्सा पाउनेछन्। यो पनि थाहा छ– यो सबै विनाश हुनुछ, त्यसैले किन धेरैको कल्याणको लागि काममा नलगाउने। ड्रामामा उनीहरूको यस्तै पार्ट छ। हरेकले आआफ्नो पार्ट खेलिरहेका छन्। दया लाग्छ। अरूलाई पनि बन्धनमुक्त गर्न केही मदत त गरौँ। उनीहरूले पनि वर्सा लिऊन्। बाबालाई कति फिक्र हुन्छ। सबै काम चितामा जलेर मरेका छन्। सारा कब्रिस्तान (चिहान) भएको छ। भन्छन् पनि– अल्लाह आएर कब्रिस्तानबाट जगाएर सबैलाई लैजानुहुन्छ।

तिमीले अहिले बुझेका छौ– रावणले कसरी हराएको छ। पहिला कहाँ जान्दथ्यौ र! हामी जौहरी लखपति हौँ, यति बच्चाहरू छन्, नसा त हुन्छ नि। अहिले जान्दछौँ– हामी पूरा पतित थियौँ। चाहे पुरानो दुनियाँमा जति पनि लखपति, करोडपति छन् तर यी सबै कौडीसमान छन्। अब जसरी पनि गइन्छ। माया पनि कति प्रबल छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सेन्टर खोल, धेरैको कल्याण हुन्छ। गरिब छिट्टै जाग्छन्, धनवान अलि मुस्किलले जाग्छन्। आफ्नो खुसीमा नै मस्त रहन्छन्। मायाले एकदम आफ्नो वशमा पारेको छ। सम्झाउँदा सम्झन्छन् पनि तर छोड्ने कसरी? उनीहरूलाई डर लाग्छ– यिनीहरूले भने अनुसार सबै छोड्नुपर्छ। तकदिरमा छैन भने चल्न सक्दैनन्। मानौँ छुटकारा पाउनै मुस्किल छ। त्यस समयमा वैराग्य आउँछ– अवश्य फोहोरी दुनियाँ हो। फेरि जहाँको त्यहीँ रह्यो। करोडौँमा कोही निस्कन्छन्। मुम्बईमा सयौँ आउँछन्, कोही कोहीलाई रङ्ग लाग्छ। उनीहरूले सम्झन्छन्– भविष्यको लागि केही बनाऊँ। कौडीको सट्टा हामीलाई हीरा मिल्छ। बाबाले सम्झाउनुहुन्छ नि– सबैथोक स्वर्गमा ट्रान्सफर गर। त्यहाँ २१ जन्मको लागि तिमीलाई राज्यभाग्य मिल्नेछ। कसै-कसैले एक रुपैयाँ, ८ आना पनि पठाइदिन्छन्। बाबा भन्नुहुन्छ– तिम्रो एक रुपैयाँ पनि शिवबाबाको खजानामा जम्मा भयो। तिमीलाई २१ जन्मको लागि महल मिल्नेछ। सुदामाको उदाहरण छ नि। यस्ता बच्चाहरूलाई देखेर बाबालाई धेरै खुसी लाग्छ। कुनै खर्च बिना तिमी बच्चाहरूलाई विश्वको बादसाही मिल्छ। लडाइँ आदि केही पनि हुँदैन। उनीहरू त सानो टुक्राको लागि पनि कति लड्छन्। तिमीलाई केवल भन्नुहुन्छ– मनमनाभव। बस, यहाँ बस्ने आवश्यकता छैन, हिँड्दाडुल्दा बाबालाई र वर्सालाई याद गर। खुसीमा रहनुछ। खानपान पनि शुद्ध हुनुछ। तिमीलाई थाहा छ– हाम्रो आत्मा कहाँसम्म पवित्र बनेको छ, जसलेगर्दा फेरि गएर राजकुमारको जन्म लिन्छौँ। पछि गएर दुनियाँको हालत बिल्कुल बिग्रनेछ। खानको लागि अन्न मिल्दैन, अनि घाँस खान थाल्नेछन्। फेरि यस्तो कहाँ भन्छन् र– मखन बिना हामी रहन सक्दैनौँ। केही पनि मिल्नेछैन। अहिले पनि कति ठाउँमा मानिसहरूले कन्दमुल खाएर गुजारा गरिरहेका छन्। तिमी त बाबाको घरमा धेरै मोजमा बसेका छौ। घरमा बाबाले पहिला बच्चाहरूलाई खुवाउनुहुन्छ नि। जमाना धेरै नराम्रो छ। यहाँ तिमी धेरै सुखसँग बसेका छौ। केवल बाबालाई र वर्सालाई याद गरिरहनुछ। आफ्नो र अरूको पनि कल्याण गर्नुछ। पछि गएर आफै आउनेछन्, तकदिर जाग्नेछ। जाग्नु त छ नि। बेहदको राजधानी स्थापना हुनुछ। हरेकले कल्प पहिलाजस्तै पुरुषार्थ गर्छन्। बच्चाहरू त धेरै खुसीमा रहनुपर्छ। बापदादाको चित्र देख्ने बित्तिकै खुसीले रोमाञ्चित हुनुपर्छ। त्यो खुसीको पारा स्थायी रहनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सदा अपार खुसीमा रहनको लागि बेहदको ज्ञान बुद्धिमा राख्नुछ। ज्ञान रत्नले आफ्नो झोली भरेर आफ्नो र सबैको कल्याण गर्नुछ। ज्ञानमा धेरै धेरै होसियार बन्नुछ।

२) भविष्य २१ जन्मको राज्य भाग्यको अधिकार लिनको लागि आफ्नो सबैथोक ट्रान्सफर गरिदिनुछ। यो फोहोरी दुनियाँबाट छुटकारा पाउने युक्ति रच्नुछ।

वरदान:–
एक बाबाको ल व मा लवलीन रहेर स दा चढ्तीकलाको अनुभव गर्ने सफलतामूर्त भव

सेवामा वा स्वयंको चढ्तीकलामा सफलताको मुख्य आधार हो– एक बाबासँग अटुट प्यार। बाबा सिवाय अरू केही नदेखियोस्। सङ्कल्पमा पनि बाबा, बोलीमा पनि बाबा, कर्ममा पनि बाबाको साथ रहोस्। यस्तो लवलीन आत्माले एक शब्द बोल्यो भने पनि उसको स्नेहको बोलीले अर्को आत्मालाई पनि स्नेहमा बाँधिदिन्छ। यस्तो लवलीन आत्माको एक बाबा शब्दले नै जादुको काम गर्छ। ऊ रुहानी जादुगर बन्छ।

स्लोगन:–
योगी आत्मा त्यो हो जो अन्तर्मुखी बनेर लाइट माइट रूपमा स्थित रहन्छ।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”

तिमीलाई जुन पनि ड्युटी मिलेको छ, त्यसमा सदा एक्युरेट होऊ, जो ड्युटीमा एक्युरेट रहन्छ उसलाई सबैले इमान्दार वा फेथफुल नजरले हेर्छन्। यहाँ पनि जो एक्युरेट सेवामा रहन्छन्, उनीहरू नै बाबाका विश्वासी हुन्। एक हुन्छ बाबामा पूरा विश्वास, अर्को हो बाबाको साथ सेवामा पनि विश्वासी। यस्ता विश्वासी निश्चयबुद्धि बच्चाहरू सदा विजयी र निश्चिन्त रहन्छन्।