09.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले सत्य बाबाद्वारा सत्य कुराहरू सुनेर उज्यालोमा आएका छौ त ्यसैले तिम्रो कर्तव्य हो सबैलाई अन्धकार बाट निकालेर उज्यालोमा ल्याउनु।”

प्रश्न:–
तिमी बच्चाहरूले जसलाई पनि ज्ञान सुनाउँदा कुन चाहिँ एक कुरा अवश्य याद राख्नुछ?

उत्तर:–
मुखबाट बारम्बार बाबा बाबा भनिराख, यसबाट मैँपन समाप्त हुन्छ। वर्सा पनि याद रहनेछ। बाबा भनेमा सर्वव्यापीको ज्ञान पहिला नै समाप्त हुन्छ। भगवान सर्वव्यापी हुनुहुन्छ भनेर कसैले भन्छ भने भन– पिता सबै भित्र कसरी हुन सक्नुहुन्छ!

गीत:–
आज अन्धेरे में है इंसान...

ओम् शान्ति ।
बच्चाहरूले के भने र कसलाई पुकारे? हे ज्ञानको सागर! अथवा हे ज्ञान सूर्य बाबा....! भगवानलाई बाबा भनिन्छ नि। भगवान पिता हुनुहुन्छ भने तिमी सबै बच्चाहरू हौ। बच्चाहरूले भन्छन्– हामी अन्धकारमा आइपुगेका छौँ। हजुरले हामीलाई उज्यालोमा लैजानुहोस्! बाबा भन्नाले सिद्ध हुन्छ, बाबालाई पुकार्छन्। बाबा शब्द भन्दा बाबाप्रति प्रेम उत्पन्न हुन्छ किनकि बाबाबाट वर्सा लिइन्छ। केवल ईश्वर वा प्रभु भन्दा बाबाको वर्साको मजा आउँदैन। बाबा भन्दा वर्सा याद आउँछ। तिमीले पुकार्छौ– बाबा हामी अन्धकारमा आइपुगेका छौँ, हजुरले अहिले फेरि ज्ञानद्वारा हाम्रो दियो बाल्नुहोस् किनकि आत्माहरूको दियो निभ्नै लागेको छ। मानिसहरू मरे भने १२ दिन दियो बाल्छन्। कतै दियो ननिभोस् भनेर एक जना घिउ थप्नको लागि बसिरहन्छ। बाबा सम्झाउनुहुन्छ– तिमीहरू उज्यालोमा अर्थात् दिनमा थियौ। अहिले रातमा छौ। १२ घण्टा दिन, १२ घण्टा रात। त्यो हो हदको कुरा। यो त बेहदको दिन र बेहदको रात हो, जसलाई भनिन्छ ब्रह्माको दिन– सत्ययुग त्रेता, ब्रह्माको रात– द्वापर कलियुग। रातमा अन्धकार हुन्छ। मानिसहरूले ठक्कर खाइरहन्छन्। भगवानलाई खोज्नको लागि चारैतर्फ चक्कर लगाउँछन्, तर परमात्मालाई पाउन सक्दैनन्। परमात्मालाई पाउनको लागि नै भक्ति गर्छन्। द्वापरबाट भक्ति सुरु हुन्छ अर्थात् रावण राज्य सुरु हुन्छ। विजया दशमीको पनि एउटा कथा बनाएका छन्। कथा सदैव काल्पनिक बनाउँछन्, जसरी चलचित्र, नाटक आदि बनाउँछन्। श्रीमद् भगवत् गीता नै हो सत्य। परमात्माले बच्चाहरूलाई राजयोग सिकाउनुभयो, राज्य भाग्य दिनुभयो। अनि भक्तिमार्गमा बसेर कथा बनाउँछन्। व्यासले गीता बनाए अर्थात् कथा बनाए। सत्य कुरा त बाबाद्वारा तिमीले अहिले सुनिरहेका छौ। सदैव बाबा बाबा भनिराख्नुपर्छ। परमात्मा हाम्रो बाबा हुनुहुन्छ, नयाँ दुनियाँको रचयिता हुनुहुन्छ। त्यसैले अवश्य उहाँबाट हामीलाई स्वर्गको वर्सा मिल्नुपर्छ। अहिले त ८४ जन्म भोगेर हामी नर्कमा आइपुगेका छौँ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू सूर्यवंशी, चन्द्रवंशी थियौ, विश्वका मालिक थियौ, अर्को कुनै धर्म थिएन, त्यसलाई स्वर्ग अथवा कृष्णपुरी भनिन्छ। अहिले यहाँ छ कंसपुरी। बापदादाले याद दिलाउनुहुन्छ, लक्ष्मीनारायणको राज्य थियो। बाबा नै ज्ञानको सागर, शान्तिको सागर, पतितपावन हुनुहुन्छ, न कि पानीको गङ्गा। सबै बेहुलीहरूका एउटै भगवान बेहुला हुनुहुन्छ– यो मानिसहरूलाई थाहा छैन, त्यसैले सोधिन्छ– आत्माको पिता को हुनुहुन्छ? अनि अलमलिन्छन्। भन्छन्– हामीलाई थाहा छैन। हे आत्माहरू! तिमीहरूले आफ्नो पितालाई चिन्दैनौ? भन्छन्– परमपिता परमात्मा, अनि सोधिन्छ– उहाँको नाम रूप के हो? परमपिता परमात्मालाई चिन्छौ? अनि भनिदिन्छन्– उहाँ त सर्वव्यापी हुनुहुन्छ। अरे बच्चाहरूको पिता कहिल्यै सर्वव्यापी हुन्छ र? रावणको आसुरी मतमा कति बेसमझ बन्छन्। देह अभिमान हो नम्बरवन। आफूलाई आत्मा निश्चय गर्दैनन्। भनिदिन्छन्– म फलानो हुँ। यो त भयो शरीरको कुरा। वास्तवमा स्वयं को हुन्– यो जान्दैनन्। म जज हुँ, म यो हुँ.... ‘म’ ‘म’ भनिरहन्छन्, तर यो गलत हो। म र मेरो यी दुई चिज हुन्। आत्मा अविनाशी छ, शरीर विनाशी छ। नाम शरीरको राखिन्छ। आत्माको कुनै नाम राखिँदैन। बाबा भन्नुहुन्छ– मेरो नाम शिव नै हो। शिवजयन्ती पनि मनाउँछन्। अब निराकारको जयन्ती कसरी हुन सक्छ? उहाँ कसमा आउनुहुन्छ, यो कसैलाई थाहा छैन। सबै आत्माहरूको नाम आत्मा नै हो। परमात्माको नाम हो शिव। बाँकी सबै हुन् सालिग्राम। आत्मा बच्चाहरू हुन्। एक शिव सबै आत्माहरूको पिता हुनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदको बाबा। उहाँलाई सबैले पुकार्छन्, आएर हामीलाई पावन बनाउनुहोस्! हामी दुःखी छौँ। आत्माले पुकार्छ, दुःखमा सबै बच्चाहरूले याद गर्छन् अनि फेरि यिनै बच्चाहरू सुखमा गए भने कसैले पनि याद गर्दैनन्। दुःखी बनाएको हो रावणले।

बाबा सम्झाउनुहुन्छ– यो रावण तिम्रो पुरानो दुस्मन हो। यस्तो पनि ड्रामाको खेल बनेको छ। अहिले सबै अन्धकारमा छन् त्यसैले पुकार्छन्– हे ज्ञान सूर्य आउनुहोस्, हामीलाई उज्यालोमा लैजानुहोस्! भारतवर्ष स्वर्ग हुँदा कसैले पुकार्दैनथे। कुनै अप्राप्त वस्तु थिएन। यहाँ त हे शान्तिदाता भनेर कराइरहन्छन्! बाबा आएर सम्झाउनुहुन्छ– शान्ति त तिम्रो स्वधर्म हो। गलाको हार हो। आत्मा शान्तिधामनिवासी हो। शान्तिधामबाट फेरि आत्मा सुखधाममा जान्छ। त्यहाँ त सुख नै सुख हुन्छ। तिमीले कराउनु पर्दैन। दुःखमा नै कराउँछन्– रहम गर्नुहोस्, दुःखहर्ता सुखकर्ता बाबा आउनुहोस्! शिवबाबा, मीठा बाबा फेरि आउनुहोस्! आउन त अवश्य आउनुहुन्छ त्यसैले त शिवजयन्ती मनाउँछन्। श्रीकृष्ण हुन् स्वर्गका राजकुमार। उनको पनि जयन्ती मनाउँछन्। तर श्रीकृष्ण कहिले आए, यो कसैलाई थाहा छैन। राधेकृष्ण नै स्वयंवरपछि लक्ष्मीनारायण बन्छन्। यो कसैलाई पनि थाहा छैन। मानिसहरूले नै पुकारिरहन्छन्– ओ परमपिता परमात्मा... ! अच्छा त्यसोभए उहाँको नाम रूप के हो भनेमा भनिदिन्छन्– उहाँ नाम रूपबाट न्यारा हुनुहुन्छ। अरे, तिमीले भन्छौ परमपिता परमात्मा अनि नाम रूपबाट न्यारा भनिदिन्छौ। आकाश पोलार (शून्य) छ, त्यसको पनि नाम छ आकाश। तिमीले भन्छौ– हामीले बाबाको नाम, रूप आदिलाई जान्दैनौँ, अच्छा आफूलाई चिन्छौ? हो हामी आत्मा हौँ। अच्छा आत्माको नाम रूप बताऊ। अनि भनिदिन्छन्– आत्मा सो परमात्मा हो। आत्मा नाम रूपबाट न्यारा त हुन सक्दैन। आत्मा एक बिन्दी स्टारजस्तै हो। भृकुटीको बीचमा रहन्छ। जुन सानो आत्मामा ८४ जन्मको पार्ट पहिल्यै निश्चित गरिएको हुन्छ। यो धेरै बुझ्ने कुरा हो त्यसैले ७ दिने भट्टी गायन गरिएको छ। द्वापरबाट रावणराज्य सुरु भएको हो, त्यतिबेलादेखि विकारहरू प्रवेश भएका हुन्। सिँढी ओर्लंदै आएका छौँ। अब सबैलाई ग्रहण लागेको छ, काला भएका छन् त्यसैले पुकार्छन्– हे ज्ञान सूर्य आउनुहोस्, आएर हामीलाई उज्यालोमा लैजानुहोस्! ज्ञान अञ्जन सद्गुरु दिया, अज्ञान अन्धेर विनाश... बुद्धिमा बाबा आउनुहुन्छ। यस्तो होइन– ज्ञान अञ्जन गुरु दिया... गुरु त धेरै छन्, उनीहरूमा ज्ञान कहाँ छ। उनीहरूको कहाँ गायन छ र। ज्ञानसागर, पतितपावन, सबैको सद्गतिदाता एउटै बाबा हुनुहुन्छ। फेरि अरू कसैले कसरी ज्ञान दिन सक्छ। साधुहरूले भनिदिन्छन्– भगवानसँग मिल्ने अनेक बाटाहरू छन्। शास्त्र पढ्नु, यज्ञ, तप आदि गर्नु– यी सबै भगवानसँग मिल्ने बाटा हुन् तर पतित फेरि पावन दुनियाँमा जान कसरी सक्छन्। बाबा भन्नुहुन्छ– म स्वयं आउँछु। भगवान त एउटै हुनुहुन्छ ब्रह्मा-विष्णु-शङ्कर पनि देवता हुन्, उनीहरूलाई भगवान भनिँदैन। उनीहरूका पिता पनि शिव हुनुहुन्छ। प्रजापिता ब्रह्मा त यहाँ नै हुन्छन् नि। प्रजा यहाँ छन्। नाम पनि लेखिएको छ– प्रजापिता ब्रह्माकुमारी संस्था। त्यसैले बच्चाहरू ठहरियौ। धेरै बी.के. छन्। वर्सा शिवबाट मिल्छ, न कि ब्रह्माबाट। वर्सा हजुरबुबाबाट मिल्छ। बसेर ब्रह्माद्वारा स्वर्गमा जाने योग्य बनाउनुहुन्छ। ब्रह्माद्वारा बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। बच्चाहरूले पनि भन्छन्– बाबा हामी हजुरकै हौँ, हजुरबाट वर्सा लिन्छौँ। ब्रह्माद्वारा स्थापना हुन्छ विष्णुपुरीको। शिवबाबाले राजयोग सिकाउनुहुन्छ। श्रीमत अथवा श्रेष्ठभन्दा श्रेष्ठ भगवानको गीता हो। भगवान एउटै निराकार हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– तिमी बच्चाहरूले ८४ जन्म लिएका छौ। आत्मा परमात्मा अलग रहे बहुकाल... बहुकालदेखि भिन्नै त यहाँका नै थिए। अर्को कुनै धर्म थिएन। उनीहरू नै पहिला सुरुमा छुट्टिएका हुन्। बाबाबाट छुट्टिएर यहाँ पार्ट खेल्न आएका छन्। बाबा भन्नुहुन्छ– हे आत्माहरू! अब म बाबालाई याद गर। यो हो यादको यात्रा अथवा योग अग्नि। तिम्रो शिरमा जुन पापहरूको बोझ छ, त्यो यस योग अग्निबाट भस्म हुनेछ। हे प्यारा बच्चाहरू! तिमी सत्ययुगबाट कलियुगमा आएका छौ। अब मलाई याद गर। यो बुद्धिको काम हो नि। देहसहित देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। तिमी आत्मा हौ नि। यो तिम्रो शरीर हो। म, म आत्माले भन्छ। तिमीलाई रावणले पतित बनाएको छ। यो खेल यस्तै बनेको छ। पावन संसार र पतित संसार। पतित बनेपछि मात्र बाबालाई पुकार्छन्। रामराज्य चाहिन्छ। भन्छन् पनि, तर अर्थ बुझ्दैनन्। ज्ञान दिने ज्ञानको सागर त एउटै बाबा हुनुहुन्छ। बाबाले नै आएर सेकेन्डमा वर्सा दिनुहुन्छ। अहिले तिमी बाबाका बनेका छौ, बाबाबाट सूर्यवंशी, चन्द्रवंशी वर्सा लिन। अनि सत्ययुग, त्रेतामा तिमी अमर बन्नेछौ। त्यहाँ यस्तो भनिँदैन, फलानो मरेर गयो। सत्ययुगमा अकालमा मृत्यु हुँदैन। तिमीले कालमाथि विजय पाउँछौ। दुःखको नाम हुँदैन। त्यसलाई भनिन्छ सुखधाम। बाबा भन्नुहुन्छ– मैले त तिमीलाई स्वर्गको बादसाही दिन्छु। त्यहाँ त धेरै वैभव हुन्छ। भक्तिमार्गमा मन्दिर बनाएका छन् त्यस समयमा पनि कति धन थियो। भारतवर्ष के थियो! बाँकी अरू सबै आत्माहरू निराकारी दुनियाँमा थिए। बच्चाहरूले जानेका छौ– उच्चभन्दा उच्च बाबाले अहिले स्वर्गको स्थापना गरिरहनुभएको छ। उच्चभन्दा उच्च शिवबाबा हुनुहुन्छ, त्यसपछि हुन्छन् सूक्ष्मवतनवासी ब्रह्मा-विष्णु-शङ्कर । अनि यो दुनियाँ। ज्ञानबाट नै तिमी बच्चाहरूको सद्गति हुन्छ। गायन गरिन्छ पनि-ज्ञान, भक्ति र वैराग्य। पुरानो दुनियाँसँग वैराग्य आउँछ, किनकि अब सत्ययुगको बादसाही मिल्छ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एकलाई याद गर। मलाई याद गर्दागर्दै तिमी मकहाँ आउनेछौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) शिरमा जुन पापको बोझ छ त्यसलाई योग अग्निद्वारा भस्म गर्नुछ। बुद्धिबाट देहसहित देहका सबै सम्बन्ध छोडेर एक बाबालाई याद गर्नुछ।

२) पुकार्नु वा कराउनुको सट्टा आफ्नो शान्त स्वधर्ममा स्थित रहनुछ, शान्ति गलाको हार हो। देह अभिमानमा आएर “म” र “मेरो” शब्द भन्नुछैन, स्वयंलाई आत्मा निश्चय गर्नुछ।

वरदान:–
आफ्नो सतोगुणी दृष्टिद्वारा अन्य आत्माहरूको दृष्टि , वृत्ति लाई परिवर्तन गर्ने साक्षात्कारमूर्त भव

भनाइ छ दृष्टिबाट सृष्टि परिवर्तन हुन्छ। त्यसैले तिम्रो दृष्टि यस्तो सतोगुणी होस् जसले गर्दा जस्तोसुकै तमोगुणी वा रजोगुणी आत्माको दृष्टि, वृत्ति र उनीहरूको स्थिति परिवर्तन होस्। जति पनि तिम्रो सामुन्ने आउँछन् उनीहरूलाई दृष्टिद्वारा तीनै लोकको र आफ्नो पूरै जीवन कहानीको विषयमा थाहा होस्– यही हो नजरले निहाल गर्नु। अन्त्यमा ज्ञानको सेवा हुँदैन त्यसपछि यो सेवा चल्नेछ।

स्लोगन:–
पवित्रताको प्राक्टिकलस्वरूप सत्यता अर्थात् दिव्यता हो।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

मधुरता र नम्रताको गुणले झुक्न सिकाउँछ। जति अहिले तिमी संस्कारहरूमा, सङ्कल्पहरूमा झुक्नेछौ त्यति विश्व तिम्रो अगाडि झुक्नेछ। झुक्नु अर्थात् झुकाउनु। संस्कारमा पनि झुक्नु। यो सङ्कल्प पनि नहोस्– अरू हाम्रो अगाडि पनि त कोही झुकुन्! हामी झुक्यौँ भने सबै झुक्नेछन्। जो सच्चा सेवाधारी हुन्छन् उनीहरू जति सबैको अगाडि झुक्नेछन् त्यति सेवा गर्न सक्नेछन्।