09.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– सच्चा बाबासँग भित्र बाहिर सच्चा बन , तब देवता बन्न सक्छौ। तिमी ब्राह्मणहरू नै फरिस्ता सो देवता बन्छौ।”

प्रश्न:–
यस ज्ञानलाई सुन्ने वा धारण गर्ने अधिकारी को हुन सक्छ?

उत्तर:–
जसले अलराउन्ड पार्ट खेलेको छ, जसले सबै भन्दा धेरै भक्ति गरेको छ, ऊ नै ज्ञानलाई धारण गर्नमा धेरै तीव्र गतिले अगाडि बढ्छ। उच्च पद पनि उसैले पाउने छ। तिमी बच्चाहरूसँग कसै कसैले सोध्छन्– तिमीहरूले शास्त्रलाई मान्दैनौ? भन– जति हामीले शास्त्र पढेका छौं, भक्ति गरेका छौं, त्यति दुनियाँमा अरू कसैले गर्दैन। हामीलाई अहिले भक्तिको फल मिलेको छ, त्यसैले अब भक्तिको आवश्यकता छैन।

ओम् शान्ति ।
बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनु हुन्छ, सबै आत्माहरूका पिताले सबै आत्माहरूलाई सम्झाउनु हुन्छ किनकि उहाँ सबैको सद्गतिदाता हुनुहुन्छ। जति पनि आत्माहरू छन्, तिनलाई जीवात्मा नै भनिन्छ। शरीर नहुने हो भने आत्मालाई देख्न सकिँदैन। हुन त ड्रामा योजना अनुसार बाबाले स्वर्गको स्थापना बाबाले गरिरहनु भएको छ तर बाबा भन्नुहुन्छ– मैले स्वर्ग देख्दिन। जसको लागि हो उनीहरूले नै देख्न सक्छन्। तिमीहरूलाई पढाएर फेरि मैले त कुनै शरीर धारण गर्दिन। त्यसैले विना शरीर देख्न कसरी सक्छु? यस्तो होइन जहाँतहीँ उपस्थित हुन्छु। सबै कुरा देख्छु। होइन, बाबाले केवल तिमी बच्चाहरूलाई देख्नुहुन्छ, जसलाई फूल बनाएर यादको यात्रा सिकाउनु हुन्छ। ‘योग’ शब्द भक्तिको हो। ज्ञानदाता एक ज्ञानका सागर हुनुहुन्छ, उहाँलाई नै सद्गुरु भनिन्छ। बाँकी सबै हुन् गुरु। सत्य बोल्ने, सत्यखण्ड स्थापना गर्ने उहाँ नै हुनुहुन्छ। भारत सत्यखण्ड थियो, त्यहाँ सबै देवी-देवता निवास गर्थे। तिमी अहिले मनुष्यबाट देवता बनिरहेका छौ। त्यसैले बच्चाहरूलाई सम्झाउनु हुन्छ– सत्य बाबासँग भित्र बाहिर सच्चा बन्नु छ। पहिला त कदम कदममा झुटो नै थियौ, यदि स्वर्गमा उच्च पद पाउन चाहन्छौ भने त्यो सबै छोड्नुपर्छ। जान त स्वर्गमा धेरै जान्छन् तर बाबालाई चिनेर पनि विकर्म विनाश गरेनौ भने सजाय खाएर हिसाबकिताब चुक्ता गर्नुपर्छ, फेरि पद पनि धेरै सानो मिल्छ। राजधानी स्थापना भइरहेको छ पुरुषोत्तम सङ्गमयुगमा। राजधानी न सत्ययुगमा स्थापना हुन सक्छ न कलियुगमा किनकि बाबा सत्ययुग र कलियुगमा आउनुहुन्न। यस युगलाई भनिन्छ– पुरुषोत्तम कल्याणकारी युग। यसमा नै बाबा आएर सबैको कल्याण गर्नुहुन्छ। कलियुगपछि सत्ययुग आउनु छ, त्यसैले सङ्गमयुग पनि अवश्य चाहिन्छ। बाबाले बताउनु भएको छ– यो पतित पुरानो दुनियाँ हो। गायन पनि छ– दूर देश का रहनेवाला... त्यसैले पराइ देशमा आफ्ना बच्चा कसरी भेटिन्छन्। पराइ देशमा फेरि पराइ बच्चाहरू नै भेटिन्छन्। उनीहरूलाई राम्ररी सम्झाउँछु– म कसमा प्रवेश गर्छु। आफ्नो पनि परिचय दिन्छु र जसमा प्रवेश गर्छु उनलाई पनि सम्झाउँछु। यो तिम्रो धेरै जन्मको अन्त्यको जन्म हो। कति स्पष्ट छ।

अहिले तिमी यहाँ पुरुषार्थी हौ, सम्पूर्ण पवित्र छैनौ। सम्पूर्ण पवित्रलाई फरिस्ता भनिन्छ। जो पवित्र छैन उसलाई पतित नै भनिन्छ। फरिस्ता बनेपछि फेरि देवता बन्छौ। सूक्ष्मवतनमा तिमीले सम्पूर्ण फरिस्ता देख्छौ, उनीहरूलाई फरिस्ता भनिन्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! एक अल्फलाई नै याद गर्नु छ। अल्फ मतलब बाबा, उहाँलाई अल्लाह पनि भन्छन्। बच्चाहरूले जानेका छौ– बाबाबाट स्वर्गको वर्सा मिल्छ। स्वर्ग कसरी रच्नुहुन्छ? यादको यात्रा र ज्ञानबाट। भक्तिमा ज्ञान हुँदैन। ज्ञान केवल एउटै बाबाले दिनु हुन्छ ब्राह्मणहरूलाई। ब्राह्मण चोटी हुन् नि। अहिले तिमी ब्राह्मण हौ फेरि बाजोली खेल्छौ। ब्राह्मण, देवता, क्षत्रिय... यसलाई भनिन्छ विराट् रूप। विराट् रूप कुनै ब्रह्मा, विष्णु, शङ्करलाई भनिदैन। त्यसमा चोटी ब्राह्मण त छैनन्। बाबा ब्रह्मा तनमा आउनु हुन्छ– यो त कसैले जान्दैन। ब्राह्मण कुल नै सर्वोत्तम कुल हो, जब बाबा आएर पढाउनु हुन्छ। बाबाले शूद्रहरूलाई त पढाउनुहुन्न नि। ब्राह्मणहरूलाई नै पढाउनु हुन्छ। पढाउनमा पनि समय लाग्छ, राजधानी स्थापना हुनु छ। तिमी उच्च भन्दा उच्च पुरुषोत्तम बन। नयाँ दुनियाँ कसले रच्नुहुन्छ? बाबाले नै रच्नुहुन्छ। यो नभुल। मायाले तिमीलाई भुलाउँछ, त्यसको त धन्दा नै यही हो। ज्ञानमा यति हस्तक्षेप गर्दैन, यादमा नै गर्छ। आत्मामा धेरै कचरा भरिएको छ, त्यो बाबाको याद विना सफा हुन सक्दैन। योग शब्दसँग बच्चाहरू धेरै अलमिलन्छन्। भन्छन्– बाबा हाम्रो योग लाग्दैन। वास्तवमा ‘योग’ शब्द ती हठ योगीहरूको हो। संन्यासीले भन्छन्– ब्रह्मसँग योग लगाउनु छ। अब ब्रह्म तत्त्व त धेरै विशाल, लम्बाचौडा छ, जसरी आकाशमा ताराहरू देखिन्छन्, त्यसैगरी त्यहाँ पनि साना-साना ताराजस्तै आत्माहरू छन्। त्यो हो आकाश भन्दा पर, जहाँ सूर्य-चन्द्रमाको प्रकाश हुँदैन। अब हेर तिमी आत्माहरू कति साना साना रकेट हौ। त्यसैले बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला आत्माको ज्ञान दिनुपर्छ। त्यो त एक भगवानले नै दिन सक्नुहुन्छ। यस्तो होइन, केवल भगवानलाई मात्रै चिनेका छैनन् तर आत्मालाई पनि चिनेका छैनन्। यति सानो आत्मामा ८४ को चक्रको अविनाशी पार्ट भरिएको छ, यसैलाई कुदरत (प्रकृतिको लीला) भनिन्छ, अरू केहीलाई भन्न सकिँदैन। आत्माले ८४ को चक्र लगाइरहन्छ। हर ५ हजार वर्षपछि यो चक्र घुमि नै रहन्छ। यो ड्रामामा निश्चित छ। दुनियाँ अविनाशी छ, कहिल्यै विनाश हुँदैन। उनीहरूले देखाउँछन्– महाप्रलय हुन्छ फेरि श्रीकृष्ण अङ्गुली चुस्दै पीपलको पातमा आउने छन्। तर यस्तो कहाँ हुन्छ र! यो त बेकाइदा हो। महाप्रलय कहिल्यै हुँदैन। एक धर्मको स्थापना र अनेक अधर्महरूको विनाश चलि नै रहन्छ। यो समयमा मुख्य तीन धर्म छन्। यो त कल्याणकारी सङ्गमयुग हो। पुरानो दुनियाँ र नयाँ दुनियाँमा रातदिनको फरक छ। हिजो नयाँ दुनियाँ थियो, आज पुरानो छ। हिजोको दुनियाँमा के थियो– यो तिमीले बुझ्न सक्छौ। जो जुन धर्मको छ, उसले त्यसै धर्मको स्थापना गर्छ। ती धर्म स्थापक त केवल एक जना आउँछन्, धेरै हुँदैनन्। फेरि विस्तारै विस्तारै वृद्धि हुन्छ।

बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई कुनै तकलिफ दिन्नँ। बच्चाहरूलाई तकलिफ कसरी दिने! बाबा परमप्रिय (मोस्ट बिलभेड) हुनुहुन्छ नि। भन्नुहुन्छ– म तिम्रो सद्गतिदाता, दु:खहर्ता, सुखकर्ता हुँ। याद पनि म एकलाई गर्छन्। भक्तिमार्गमा के गरिदिएका छन्, मलाई कति गाली गर्छन्! भन्छन्– परमात्मा एक हुनुहुन्छ (गड इज वन)। सृष्टि चक्र पनि एउटै छ, यस्तो होइन, आकाशमा कुनै दुनियाँ छ। आकाशमा ताराहरू छन्। मनुष्यले त सम्झन्छन्– एक एक तारामा सृष्टि छ। तल पनि दुनियाँ छ। यी सबै हुन् भक्तिमार्गका कुरा। उच्च भन्दा उच्च भगवान एक हुनुहुन्छ। भन्छन् पनि– सारा सृष्टिका आत्माहरू हजुरमा उनिएका छन्, यो माला जस्तै हो। यसलाई बेहदको रुद्र माला पनि भन्न सकिन्छ। सूत्रमा बाँधिएका छन्। महिमा गर्छन् तर केही बुझ्दैनन्। बाबा आएर सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! मैले तिमीहरूलाई अलिकति पनि कष्ट दिन्नँ। यो पनि बताउनु भएको छ, जसले पहिला सुरुमा भक्ति गरेका छन्, उनीहरू नै ज्ञानमा तीव्र गतिले अगाडि बढ्छन्। धेरै भक्ति गरेका रहेछन् भने उनीहरूलाई फल पनि धेरै मिल्नुपर्छ। भन्छन्– भक्तिको फल भगवानले दिनु हुन्छ, उहाँ हुनुहुन्छ ज्ञानका सागर। त्यसैले अवश्य ज्ञानद्वारा नै फल दिनु हुन्छ। भक्तिको फलको बारेमा कसैलाई पनि थाहै छैन। भक्तिको फल हो ज्ञान, जसबाट स्वर्गको वर्सा सुख मिल्छ। त्यसैले एक बाबाले फल दिनु हुन्छ अर्थात् नर्कवासीबाट स्वर्गवासी बनाउनु हुन्छ । रावणको बारेमा पनि कसैलाई थाहै छैन। भन्छन् पनि– यो पुरानो दुनियाँ हो। कहिले देखि पुरानो हुन्छ, उनीहरूले हिसाब निकाल्न सक्दैनन्। बाबा हुनुहुन्छ मनुष्य सृष्टिरूपी वृक्षको बीजरूप, सत्य हुनुहुन्छ। त्यसको कहिल्यै विनाश हुँदैन, यसलाई उल्टो वृक्ष भनिन्छ। बाबा माथि हुनुहुन्छ, आत्माहरूले बाबालाई माथि देखेर बोलाउँछन्, शरीरले त बोलाउन सक्दैन। आत्मा त एउटा शरीरबाट निस्किएर अर्कोमा जान्छ। आत्मा न घट्छ, न बढ्छ, न कहिल्यै मृत्यु हुन्छ। खेल यस्तो बनेको छ। सारा खेलको आदि, मध्य, अन्त्यको रहस्य बाबाले बताउनु भएको छ। आस्तिक पनि बनाउनु भएको छ। यो पनि बताइएको छ– यी लक्ष्मी-नारायणमा यो ज्ञान हुँदैन। त्यहाँ त आस्तिक-नास्तिक भन्ने थाहै हुँदैन। यस समयमा बाबाले नै अर्थ सम्झाउनु हुन्छ। नास्तिक उनीहरूलाई भनिन्छ जसले न बाबालाई, न रचनाको आदि मध्य अन्त्यलाई, न अवधिलाई जानेका छन्। अहिले तिमीहरू आस्तिक बनेका छौ। त्यहाँ यी कुरा हुँदैनन्। खेल हो नि। जुन कुरा एक सेकेन्डमा हुन्छ त्यो फेरि अर्को सेकेन्डमा हुँदैन। ड्रामामा टिक टिक भइरहन्छ। जे पास्ट भयो त्यही चक्र घुम्दै जान्छ। जसरी सिनेमा हुन्छ, दुई घण्टा वा तीन घण्टापछि फेरि त्यही सिनेमा हुबहु दोहोरिन्छ हुन्छ। भवन आदि भत्काइदिन्छन् फेरि बनेको देखिन्छ। त्यही हुबहु रिपिट हुन्छ। यसमा अलमलिने कुरै छैन। मुख्य कुरा हो आत्माहरूका बाबा परमात्मा हुनुहुन्छ। आत्मायें परमात्मा अलग रहे बहुकाल... अलग हुन्छन्, यहाँ आउँछन् पार्ट खेल्न। तिमीहरू पूरै ५ हजार वर्ष अलग रहेका हौ। तिमी प्यारा बच्चाहरूलाई अलराउन्ड पार्ट मिलेको छ, त्यसैले तिमीहरूलाई नै सम्झाउनु हुन्छ। तिमीहरू ज्ञानका पनि अधिकारी हौ। सबै भन्दा धेरै भक्ति जसले गरेको छ, ज्ञानमा पनि ऊ नै तीव्र गतिमा अगाडि बढ्छ, पद पनि उच्च पाउने छ। पहिला सुरुमा एक शिवबाबाको भक्ति हुन्छ फेरि देवताहरूको। फेरि ५ तत्त्वको पनि भक्ति गर्छन्, व्यभिचारी बन्छन्। अहिले बेहदका बाबाले तिमीहरूलाई बेहदमा लिएर जानु हुन्छ, उनीहरूले फेरि बेहदको भक्तिको अज्ञानमा लिएर जान्छन्। अब बाबा तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झिएर म एक बाबालाई याद गर। फेरि पनि यहाँबाट बाहिर जाने बित्तिकै मायाले भुलाइदिन्छ। जसरी गर्भमा पश्चात्ताप गर्छन्– मैले यस्तो गर्दिन, बाहिर आउने बित्तिकै भुलिहाल्छन्। यहाँ पनि यस्तै छ, बाहिर जानेबित्तिकै भुल्छन्। यो भुल र अभूलको खेल हो। अहिले तिमी बाबाका एडप्टेड बच्चा बनेका छौ। शिवबाबा हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ सबै आत्माहरूका बेहदका बाबा। बाबा कति टाढाबाट आउनु हुन्छ। उहाँको घर हो परमधाम। परमधामबाट आउँदा अवश्य बच्चाहरूलाई सौगात लिएर आउनु हुन्छ। हातमा सौगातको रूपमा स्वर्ग लिएर आउनु हुन्छ। बाबा भन्नुहुन्छ– सेकेण्डमा स्वर्गको बादसाही लेऊ। केवल बाबालाई चिन। सबै आत्माहरूको बाबा त हुनुहुन्छ नि। भन्नुहुन्छ– म तिम्रो पिता हुँ, म कसरी आउँछु– त्यो पनि तिमीलाई सम्झाउँछु। मलाई रथ त अवश्य चाहिन्छ। कुनचाहिँ रथ? कुनै महात्माको त लिन सक्नुहुन्न। मनुष्यहरूले भन्छन्– तपाईहरूले ब्रह्मालाई भगवान, ब्रह्मालाई देवता भन्नुहुन्छ। अरे, हामीले कहाँ भन्छौं र! वृक्षमाथि एकदम अन्त्यमा खडा छन्, जबकि वृक्ष सारा तमोप्रधान हुन्छ। ब्रह्मा पनि त्यहाँ खडा छन्, त्यसैले धेरै जन्मको अन्त्यको जन्म भयो नि। बाबा स्वयं भन्छन्– मेरो धेरै जन्मको अन्त्यको जन्ममा जब वानप्रस्थ अवस्था हुन्छ तब बाबा आउनु भएको छ। जसले आएर धन्दा आदि छुटाउनु भयो। साठी वर्षपछि मनुष्यले भक्ति गर्छन् भगवानसँग मिल्नको लागि।

बाबा भन्नुहुन्छ– तिमीहरू सबै मनुष्य मतमा थियौ, अहिले बाबाले तिमीहरूलाई श्रीमत दिइरहनु भएको छ। शास्त्र लेख्नेहरू पनि मनुष्य हुन्। देवताहरूले त लेख्दैनन्, न त पढ्छन्। सत्ययुगमा शास्त्र हुँदैन। भक्ति नै हुँदैन। शास्त्रमा सबै कर्मकाण्ड लेखिएका छन्। यहाँ त्यो कुरै छैन। तिमीले देख्छौ– बाबाले ज्ञान दिनु हुन्छ। भक्तिमार्गमा त हामीले शास्त्र धेरै पढेका छौं। कसैले तिमीहरू वेद शास्त्र आदिलाई मान्दैनौ भनेर सोधे भने भन– जति पनि मनुष्य छन् तिनीहरूले भन्दा बढी हामीले मान्छौं। सुरुदेखि लिएर अव्यभिचारी भक्ति हामीले सुरु गरेका हौं। अहिले हामीलाई ज्ञान मिलेको छ। ज्ञानबाट सद्गति हुन्छ फेरि हामीले भक्ति किन गर्ने? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! नराम्रो नसुन, नराम्रो नहेर... बाबा कति साधारण तरिकाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा निश्चय गर। म आत्मा हुँ, उनीहरूले फेरि भनिदिन्छन् अल्लाह हुँ। तिमीहरूलाई शिक्षा मिल्छ– म आत्मा हुँ, बाबाको बच्चा हुँ। यही कुरा मायाले घरी घरी भुलाइदिन्छ। देह अभिमानी हुनाले नै उल्टो काम हुन्छ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बाबालाई नभुल। समय खेर नफाल। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रचयिता र रचनाको रहस्यलाई यथार्थ रूपमा बुझेर आस्तिक बन्नु छ। ड्रामाको ज्ञानमा अलमलिनु छैन। आफ्नो बुद्धिलाई हदबाट निकालेर बेहदमा लैजानु छ।

२) सूक्ष्मवतनवासी फरिस्ता बन्नको लागि सम्पूर्ण पवित्र बन्नु छ। आत्मामा जुन कचरा भरिएको छ, त्यसलाई यादको बलले निकालेर सफा गर्नु छ।

वरदान:–
ईश्वरीय रसको अनुभव गरेर एकरस स्थितिमा स्थित रहने श्रेष्ठ आत्मा भव

जुन बच्चाहरूले ईश्वरीय रसको अनुभव गर्छन् उनीहरूलाई दुनियाँका सबै रस फिका लाग्छन्। जब एउटै रस मीठो छ भने एकैतर्फ अटेन्सन जान्छ नि। सहजै एकतर्फ मन लाग्छ, मेहनत लाग्दैन। बाबाको स्नेह, बाबाको मदत, बाबाको साथ, बाबाद्वारा हुने सबै प्राप्तिहरूले सहजै एकरस स्थिति बनाइदिन्छ। यस्तो एकरस स्थितिमा स्थित रहने आत्माहरू नै श्रेष्ठ हुन्।

स्लोगन:–
किचडा लिएर रत्न दिनु नै मास्टर सागर बन्नु हो।