09.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– वृक्षपति बाबाले तिमी बच्चाहरूमाथि बृहस्पतिको दशा बसाउनुभएको छ, अहिले तिमी अविनाशी सुखको दुनियाँमा गइरहेका छौ।”

प्रश्न:–
अविनाशी बृहस्पतिको दशा कुन बच्चाहरूमाथि बस्छ, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
जो बच्चाहरूले जीवनछँदै देहका सबै सम्बन्धहरूलाई त्याग गरेर आफूलाई आत्मा निश्चय गर्छन्, यस्ता निश्चय आत्मिक बुद्धि भएका बच्चाहरूमाथि बृहस्पतिको दशा बस्छ। उनीहरूकै सुखको गायन छ– अतीन्द्रिय सुख गोप-गोपीनीहरूलाई सोध। उनीहरूको खुसी कहिल्यै पनि गुम हुन सक्दैन।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
प्यारा बच्चाहरूले बाबाको महिमा सुन्यौ। आजको दिनलाई भनिन्छ नै वृक्षपति डे, जसलाई मिसाएर भनिएको छ बृहस्पति। यसलाई नै बिहीबार पनि भनिन्छ। केवल बिहीबार होइन तर सदगुरुबार। सदगुरुवार बङ्गालमा धेरै मान्छन्। बाबाको गायन गरिन्छ मनुष्य सृष्टिको बीजरूप, त्यसैले वृक्षपति भन्छन्। बीज हुनुभयो, त्यसैले पति पनि हुनुभयो। वृक्षको बीजलाई पिता पनि भनिन्छ। उहाँबाट वृक्ष उत्पन्न हुन्छ। यो मनुष्य सृष्टिरूपी वृक्ष हो। यसको बीज माथि हुन्छ। तिमीलाई थाहा छ, हामी बच्चाहरूमाथि अब अविनाशी वृक्षपतिको दशा बसेको छ किनकि हामीहरूलाई अविनाशी स्वराज्य मिलिरहेको छ। सत्ययुगलाई भनिन्छ नै अविनाशी सुखधाम। कलियुगलाई भनिन्छ विनाशी दुःखधाम। अब दुःखधामको विनाश हुनुछ। सुखधाम अविनाशी हुन्छ, आधाकल्प चल्छ जुन अविनाशी वृक्षपतिले स्थापना गरिरहनुभएको छ। बच्चाहरूले सेवाका लागि प्वइन्टहरू नोट गर्नुपर्छ। प्रदर्शनीमा यी यी प्वइन्टहरू मुख्य रूपमा सम्झाउनुपर्ने हुन्छ किनकि मानिसहरूले त केही पनि जान्दैनन्। अवश्य यो हो ज्ञान। अब बाबाले यो ज्ञान दिनुहुन्छ नै– नयाँ र पुरानो दुनियाँको बीचमा, फेरि यो ज्ञान प्रायः लोप हुन्छ। देवताहरूमा यो ज्ञान हुँदैन। यो चक्रको ज्ञान भयो भने फेरि राजधानीमा मजा नै आउँदैन। अहिले पनि तिमीलाई ख्याल हुन्छ नि! के राज्य लिएर फेरि हाम्रो यस्तो हालत हुन्छ! तर ड्रामा यस्तै नै बनेको छ। चक्र घुम्नु नै छ। विश्वको इतिहासभूगोल दोहोरिइरहेको छ। कसरी दोहोरिइरहेको छ– यो कुरा तिमी बच्चाहरूलाई थाहा छ। यो मनुष्य सृष्टि हो। तिम्रो बुद्धिमा मूलवतनको वृक्ष पनि छ। विभाग सबैको अलग अलग छ। यी कुराहरू कहिल्यै कसैको बुद्धिमा हुँदैनन्। कुनै शास्त्रमा पनि यी कुराहरू लेखिएका छैनन्। हामी आत्मा वास्तवमा शान्तिधाम निवासी हौँ, हामी आत्मा अविनाशी छौँ। कहिल्यै विनाश हुँदैनौँ। उनीहरूले सम्झन्छन्, पानीबाट बुँद बुँद निस्कन्छ फेरि त्यसमै मिल्छ। तिम्रो बुद्धिमा सारा रहस्य छ। आत्मा अविनाशी छ, जसमा सारा पार्ट पहिल्यै निश्चित छ। यो चक्रको ज्ञान कुनै शास्त्रमा छैन। देखाउन त कहीँ कहीँ स्वस्तिक पनि देखाउँछन्। त्यसमा चक्रको केवल यस्तो यस्तो रेखा तानिदिन्छन्, जसबाट सिद्ध हुन्छ त्यतिबेला अनेक धर्म थिए। बाबाले सम्झाउनुभएको छ, मुख्य धर्म र शास्त्र ४ वटा छन्, सत्ययुग त्रेतामा त कुनै धर्म स्थापना हुँदैन, न त्यहाँ कुनै धर्मशास्त्र हुन्छ। यी सबै धर्महरू द्वापरबाट सुरु हुन्छन्। फेरि हेर कति वृद्धि हुन्छ। अच्छा, बाबाले गीता कहिले सुनाउनुभयो? बाबा भन्नुहुन्छ– म कल्पको सङ्गमयुगमा नै आउँछु। उनीहरूले फेरि कल्प शब्द निकालेर केवल सङ्गमयुगे युगे लेखिदिएका छन्। वास्तवमा सङ्गमयुगमा अरू कुनै धर्म स्थापना गरिँदैन। यस्तो होइन, त्रेताको अन्त्य, द्वापरको सुरुको सङ्गममा इस्लामी धर्म स्थापना भयो। होइन, भनिन्छ इस्लाम धर्म द्वापरमा स्थापना भयो। यो सङ्गमको मनोहर समय हो, जसलाई कुम्भ भनिन्छ। कुम्भ सङ्गमलाई भनिन्छ। यो आत्माहरू र परमात्माको मिलनको सङ्गम हो। यो रुहानी मेला सङ्गममा मात्रै हुन्छ। उनीहरूले पानीको गङ्गाको नाम प्रसिद्ध बनाइदिएका छन्। ज्ञान सागर, पतितपावनलाई चिन्दै चिन्दैनन्। उहाँले कसरी पतित दुनियाँलाई पावन बनाउनुभयो, यो कुरा कुनै शास्त्रमा छैन। बाबा अब तिमी बच्चाहरूलाई भन्नुहुन्छ– म एकलाई याद गर। देहका सबै धर्म त्याग। बाबाले कसलाई भन्नुहुन्छ? तिमी आत्माहरूलाई। यसलाई भनिन्छ जीवनछँदै मर्नु। मानिसको आत्माले शरीर छोडेपछि देहका सबै सम्बन्ध छुट्छन्।

बाबा भन्नुहुन्छ– जति पनि देहका सम्बन्ध छन्, ती सबै छोडेर आफूलाई आत्मा निश्चय गर। आत्मिक निश्चय बुद्धि बन। जति धेरै याद गर्छौ, त्यति बृहस्पतिको दशा हुन्छ। आफैले जाँच गर, हामीले शिवबाबालाई कति याद गर्छौँ! यादबाट नै खिया निस्कँदै जान्छ अनि तिमीलाई खुसी हुन्छ। तिमीले महसुस गर्न सक्छौ, हामी आत्माले बाबालाई कति याद गर्छौँ। यदि थोरै याद गरेकाछौ भने खिया पनि कम निस्कन्छ। खुसी पनि थोरै हुन्छ। पद पनि सानो पाउँछौ। आत्मा नै सतो, रजो, तमो बन्छ। यस समयको गायन नै हो गोप-गोपीनीहरूको अतीन्द्रिय सुखको गायन। बाबाबाहेक अरू केही पनि याद आउँदैन, अनि मात्र खुसीको पारा चढ्छ। हामीमाथि बृहस्पतिको दशा अथवा सदगुरुको दशा बसेको छ। फेरि कहिल्यै खुसी गुम भयो भने भन्छन् बृहस्पतिको दशा परिवर्तन भएर राहुको दशा बसेको रहेछ। कोही धेरै धनवान् छ, कुनै कारणले टाट पल्टिन सक्छ। भारतवर्षमा नै ग्रहण लागेपछि भन्छन् दान देऊ अनि ग्रहण छुट्छ। तिम्रो देवीदेवता धर्म पनि १६ कला सम्पूर्ण थियो, त्यसलाई पनि ग्रहण लागेको छ। राहुको दशा बस्छ अनि देवताहरूको अगाडि गएर गाउँछन्– हजुर सर्वगुण सम्पन्न... हामी पापी, कपटी छौँ। अहिले तिमीले बुझेका छौ, राहुको ग्रहदशा लागेपछि सबै काला बनेका छन्। अन्त्यमा गएर चन्द्रमाको एउटा रेखा मात्र रहन्छ। बाबाले पनि सम्झाउनुहुन्छ, तिमी देवीदेवताहरूका पनि चित्र छन्। गीता नै आदि सनातन देवीदेवता धर्मको शास्त्र हो। तर यही आफ्नो स्वधर्मलाई जान्दैनन्। धार्मिक गुरूहरूको धर्म सम्मेलन गर्छन्। तिमीले त्यहाँ पनि सम्झाउन सक्छौ– ईश्वर त सर्वव्यापी हुनुहुन्न। उहाँ त बेहदको पिता हुनुहुन्छ। परमधामबाट आएर बच्चाहरूलाई वर्सा दिनुहुन्छ। साधुसन्त आदिलाई त वर्सा मिल्दैन त्यसैले उनीहरूले मान्छन् कसरी! तिमी बच्चाहरूलाई नै वर्सा मिल्छ। मुख्य रूपमा यही कुरा नै सिद्ध गर्नु छ– ईश्वर सर्वव्यापी हुनुहुन्न। शिवजयन्ती हुन्छ। शिवजयन्ती भन अथवा रुद्रजयन्ती भन– रुद्रले यो ज्ञान यज्ञ रच्नुहुन्छ। हुन त शिव हुनुहुन्छ। त्यही गीता ज्ञान यज्ञ हो, जसबाट विनाश ज्वाला प्रज्वलित भएको छ। यथार्थमा तिमीले देख्छौ, कसरी निराकार बाबाले रुद्र ज्ञान यज्ञ रच्नुभएको छ। साकारले त केही गर्न सक्दैनन्। यो बेहदको यज्ञ हो, यसमा सारा पुरानो दुनियाँ स्वाहा हुनुछ। बाँकी त ती सबै जिस्मानी यज्ञ हुन्। कति रातदिनको फरक छ। बाबा भन्नुहुन्छ– यो रुद्र ज्ञान यज्ञ हो, विनाश पनि हुनुछ। तिमी पास भएर पूरा योगी र ज्ञानी बनेपछि फेरि तिम्रो लागि नयाँ दुनियाँ स्वर्ग हुनुपर्छ। नर्कको अवश्य विनाश हुनुपर्छ। राजस्व अश्वमेध शब्द पनि ठिक छ। यस यज्ञमा घोडालाई समर्पण (स्वाहा) गर्छन्। वास्तवमा यो देह तिम्रो रथ हो। एउटा दक्ष प्रजापतिको पनि यज्ञ रच्छन्, त्यसको पनि कथा छ।

अब तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ– हामीलाई वृक्षपति बाबाले पढाइरहनुभएको छ। हामीमाथि अहिले बृहस्पतिको दशा छ, हाम्रो अवस्था धेरै राम्रो छ। फेरि ज्ञानमा चल्दाचल्दै लेख्छन्, बाबा हामी त अलमलियौँ। पहिला हामी धेरै खुसी थियौँ, अहिले थाहा छैन के भयो? यहाँ आएर बाबाको बन्नु ठुलो यात्रा हो। त्यहाँ तीर्थ यात्राहरूमा जान्छन् अनि कति पैसा खर्च गर्छन्। तर यहाँ त दान गर्ने कुरा छैन। यसमा केही पनि पैसा खर्च गर्नुछैन। ती जिस्मानी यात्राहरू हुन्, तिम्रो रुहानी यात्रा हो। जिस्मानी यात्राबाट केही पनि फाइदा छैन। गीतमा पनि छ नि– चारैतिर फन्को लगायौँ तैपनि जन्मजन्मान्तर टाढै रह्यौँ। अहिले तिमीले बुझेका छौ, तिमीले कति धेरै यात्राहरू गरेका हौला। मानिसहरू कहीँ न कहीँ अवश्य जान्छन्। हरिद्वारमा, गङ्गाजीमा अवश्य जान्छन्। गङ्गालाई पतितपावनी सम्झन्छन् नि! तर वास्तवमा तिमी हौ सच्चा सच्चा ज्ञान गङ्गाहरू। तिम्रो नजिक पनि धेरै आएर ज्ञानस्नान गर्छन्। बाबाले सम्झाउनुभएको छ– सदगुरु एक मात्र हुनुहुन्छ। सबैको सद्गतिदाता एक सदगुरु बाहेक अरू कुनै गुरु छैनन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कल्प कल्प सङ्गमयुगमा आएर सद्गति दिएर पुजारीबाट पूज्य बनाउँछु। फेरि तिमी पुजारी बनेर दुःखी बन्छौ। यो कुरा पनि तिमीलाई अहिले थाहा भएको छ। आधाकल्प अवश्य हाम्रो राज्य चल्छ, फेरि द्वापरमा हामी सो देवीदेवता वाममार्गमा जान्छौँ। रावण राज्य सुरु भएपछि मात्रै वाममार्ग सुरु हुन्छ। त्यसका पनि निसानीहरू छन्। जगन्नाथको मन्दिरमा गयौ भने भित्र कालो मूर्ति छ। बाहिर देवताहरूका विकारी चित्र छन्। त्यतिबेला यो के हो भन्ने आफ्नै समझमा पनि कहाँ आउँथ्यो र! विकारी मानिसले विकारी दृष्टिले हेर्छन्। त्यसैले सम्झन्थे, देवताहरू पनि विकारी थिए। यो लेखिएको छ, देवताहरू वाममार्गमा जान्छन्। पोशाक पनि देवताहरूका लगाइदिएका छन्। यहाँ पनि देलवाडा मन्दिरमा गयौ भने माथि स्वर्ग देखाइएको छ। तल तपस्यामा बसेका छन्। यी सबै रहस्यहरूलाई अरू कसैले जान्दैनन्। यो त बाबाको अनुभवी रथ हो नि!

तिमी बच्चाहरूले अहिले बुझिरहेका छौ– आत्माहरू र परमात्मा अलग रहे बहुकाल... तिमी जो बाबाबाट पहिला छुट्टिएका हौ, फेरि तिमीले नै आएर पहिला मिल्छौ। सत्ययुगको पहिलो राजकुमार श्रीकृष्ण हुन्। श्रीकृष्णको पिता पनि त होलान् नि। श्रीकृष्णका आमाबुबाको विषयमा त्यति केही देखाउँदैनन्। केवल देखाउँछन्, शिरमा राखेर नदीबाट पारि लगे। राजधानी आदि केही देखाएका छैनन्। उनको पिताको महिमा किन हुँदैन! अहिले तिमीलाई थाहा छ, यतिबेला श्रीकृष्णको आत्माले राम्रोसँग पढाइ पढेको छ। जसकारण त्यस आत्माले आमाबुबाभन्दा पनि उच्च पद पाउँछ। तिमीले बुझेका छौ, हामी श्रीकृष्णको राजधानीमा थियौँ, स्वर्गमा त थियौँ नि! फेरि हामी चन्द्रवंशी बन्यौँ। अब फेरि सूर्यवंशी बन्नको लागि श्रीमतमा चल्छौँ र पावन बनेर पावन दुनियाँको मालिक बन्छौँ। हरेकले आफ्नो अवस्थालाई हेर्न सक्छौ। हामीले यसै समयमा शरीर छोड्यौँ भने कुन गति पाउँछौँ। हरेकले बुझ्न सक्छौ। जति बाबालाई याद गर्छौ, त्यति विकर्म विनाश हुन्छन्। मानिसमाथि कुनै विपत्ति आयो वा दुःख भयो वा टाट पल्टिए भने गएर साधुहरूको सङ्गत गर्छन्। फेरि मानिसहरूले सम्झन्छन्, यिनी त भक्त मानिस हुन्। कहाँ ठगी गर्छन् होला र! यस्ता यस्ता पनि दुईचार वर्षमा धेरै धनवान् बन्छन्। उनीहरूसँग धेरै गुप्त धन हुन्छ। हरेकले आफ्नो बुद्धिले बुझ्न सक्छौ। तिमीहरूमा पनि धेरै छौ जसले धेरै कम याद गर्छन्, त्यसैले बाबा भन्नुहुन्छ, आफ्नो कल्याण चाहन्छौ भने आफूसँग नोटबुक राख। चार्ट नोट गर। म दिनभरिमा कति समय यादमा रहेँ। मानिसहरूले त सारा जीवनको इतिहास पनि लेख्छन्। तिमीले त केवल यादको चार्ट लेख्नुछ, यसबाट आफ्नै उन्नति हुन्छ। बाबालाई याद गरेनौ भने उच्च पद पाउन सक्दैनौ। विकर्म नै विनाश भएनन् भने उच्च पद कसरी पाउँछौ! फेरि सजाय खानुपर्छ। जसले सजाय खाँदैनन्, उनीहरूले पद राम्रो पाउँछन्। सजाय खाएर फेरि कुनै धेरै सानो पद पाउनु त्यो के कामको भयो! धर्मराजको सजाय खानु नपरोस्, बेइज्जती नहोस्– यसको लागि पुरुषार्थ गर्नुछ। तिमीले देख्छौ, शिवबाबा बसिरहनुहुन्छ, फेरि धर्मराज पनि हुनुहुन्छ। तिमीलाई सबै साक्षात्कार गराउनुहुन्छ। तिमीले यो यो गरेका थियौ, याद छ? अब खाऊ सजाय। फेरि त्यसै समयमा सजाय त्यति नै खान्छन्, जति जन्मजन्मान्तर खान्छन्। अन्त्यमा रोटीको टुक्रा मिल्यो, त्यसबाट के फाइदा भयो। सजाय त खानुहुँदैन। आफ्नो अवस्थाको जाँच गर्नुछ। जसरी चार्ट निकाल्छन्, कसैले ६ महिनाको, कसैले १२ महिनाको। कसैले त दिनहुँको पनि निकाल्छन्। बाबा भन्नुहुन्छ– तिमी पनि व्यापारी हौ। कुनै विरलै व्यापारीले बेहदको बाबासँग व्यापार गर्छन्। धन छैन भने तन-मन त छ नि। उहाँ बाबालाई सराफी पनि भनिन्छ। साटासाट गर्छन् नि। तिमीले तन-मन-धन दिन्छौ, त्यसको प्रतिफलमा २१ जन्मको लागि कति वर्सा पाउँछौ। बाबा, म हजुरको हुँ। यस्तो युक्ति बताउनुहोस्, जसबाट मेरो आत्मा र शरीर यी लक्ष्मीनारायणजस्तै बनोस्! बाबा भन्नुहुन्छ, म तिमीलाई कति गोरो बनाउँछु। एकदम रूप नै परिवर्तन गरिदिन्छु। अर्को जन्ममा तिमीलाई फस्टक्लास शरीर मिल्छ। तिमीले वैकुण्ठमा पनि देख्छौ। तिमीलाई थाहा छ, यी मम्मा बाबा फेरि लक्ष्मीनारायण बन्छन्। लक्ष्य उद्देश्य पनि देखाउँछन्। अब जसले जति पुरुषार्थ गर्छ। यदि पुरुषार्थ पूरा गरेनौ, रडाको मच्चायौ भने आफ्नो पद नै भ्रष्ट गर्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो अवस्थाको जाँच स्वयंले नै गर्नुछ। आफ्नो कल्याणको लागि दैनिक डायरी राख्नुछ, जसमा यादको चार्ट नोट गर्नुछ।

२) बेहदको बाबासँग सच्चा सच्चा व्यापार गर्नुछ। आफ्नो तन-मन-धन बाबाको जिम्मा लगाएर २१ जन्मको लागि प्रतिफल लिनुछ। निश्चयबुद्धि बनेर आफ्नो कल्याण गर्नुछ।

वरदान:–
खुसीको साथसाथै शक्तिलाई धारण गरेर विघ्नहरूलाई पार गर्ने विघ्नजित भव

जुन बच्चाहरूले जम्मा गर्न जान्दछन्, उनीहरू शक्तिशाली बन्छन्। यदि भर्खरै कमायौ, भर्खरै बाँड्यौ, स्वयंमा समाहित गरेनौ भने शक्ति रहँदैन। केवल बाँड्ने वा दान गरेकोमा खुसी हुन्छ। खुसीको साथसाथै शक्ति भयो भने सहजै विघ्नहरूलाई पार गरेर विघ्नजित बन्नेछौ। फेरि कुनै पनि विघ्नले लगनलाई डिस्टर्ब गर्नेछैन। त्यसैले जसरी अनुहारबाट खुसीको झलक देखिन्छ, त्यसरी नै शक्तिको झलक पनि देखियोस्।

स्लोगन:–
परिस्थितिहरूमा आत्तिनुको सट्टा तिनलाई शिक्षक सम्झेर पाठ सिक।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

लास्ट सो फास्ट पुरुषार्थ ज्वालारूपको नै हुन्छ। पाण्डवहरूको कारण यादवहरू रोकिएका छन्। पाण्डवहरूको श्रेष्ठ सान, रुहानी सानको स्थितिले यादवहरूको परेसानीयुक्त परिस्थितिलाई समाप्त गर्नेछ। त्यसैले आफ्नो सानबाट परेसान आत्माहरूलाई शान्ति र चैनको वरदान देऊ। ज्वालास्वरूप अर्थात् लाइट हाउस र माइट हाउस स्थितिलाई बुझेर यही पुरुषार्थमा रहनुछ।