10.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले मनुष्यबाट देवता बन्ने पढाइ पढ्नु र पढाउनु छ , सबैलाई शान्तिधाम र सुखधामको मार्ग बताउनु छ।”

प्रश्न:–
जो सतोप्रधान पुरुषार्थी छन्, उनीहरूको लक्षण के हुन्छन्?

उत्तर:–
उनीहरूले अरूलाई पनि आफू समान बनाउँछन्। उनीहरूले धेरैको कल्याण गरिरहन्छन्। ज्ञान धनबाट झोली भरेर दान गर्छन्। २१ जन्मको लागि वर्सा लिन्छन् र अरूलाई पनि वर्सा दिलाउँछन्।

गीत:–
ओम् नम: शिवाय....

ओम् शान्ति ।
भक्तहरूले जसको महिमा गर्छन्, तिमी उहाँकै सम्मुख बसेका छौ, त्यसैले कति खुसी हुनुपर्छ। उहाँलाई भनिन्छ शिवाय नम:। तिमीले त नमस्कार गर्नुपर्दैन। बाबालाई बच्चाहरूले याद गर्छन्, नमस्कार कहिल्यै गर्दैनन्। उहाँ पनि बाबा हुनुहुन्छ, उहाँद्वारा तिमीलाई वर्सा मिल्छ। तिमीले उहाँलाई नमस्कार गर्दैनौ, याद गर्छौ। जीवको आत्माले याद गर्छ। बाबाले यस तनलाई सापटी लिनुभएको छ। उहाँले हामीलाई मार्ग बताइरहनुभएको छ– बाबाद्वारा बेहदको वर्सा कसरी लिइन्छ। तिमीले पनि राम्ररी जानेका छौ। सत्ययुग हो सुखधाम जहाँ आत्माहरू रहन्छन्, त्यसलाई भनिन्छ शान्तिधाम। तिम्रो बुद्धिमा छ– हामी शान्तिधामका निवासी हौं। यस कलियुगलाई भनिन्छ दु:खधाम। तिमीले जानेका छौ– हामी आत्माहरूले अब स्वर्गमा जानको लागि तथा मनुष्यबाट देवता बन्नको लागि पढिरहेका छौं। यी लक्ष्मी-नारायण देवता हुन् नि। मनुष्यबाट देवता बन्नु छ नयाँ दुनियाँको लागि। बाबाबाट तिमीले पढ्छौ। पढाइमा कसैको पुरुषार्थ तीक्ष्ण हुन्छ, कसैको कमजोर हुन्छ। जो सतोप्रधान पुरुषार्थी हुन्छन् उनीहरूले अरूलाई पनि आफूसमान बनाउने नम्बरवार पुरुषार्थ गर्छन्, धेरैको कल्याण गर्छन्। जति धनबाट झोली भरेर दान गर्छन् त्यति फाइदा हुन्छ। मनुष्यहरूले दान गर्छन् त्यसको फल अर्को जन्ममा अल्पकालको लागि मिल्छ। त्यसमा अलिकति सुख हुन्छ, बाँकी त सबै दु:खैदु:ख हुन्छ। तिमीलाई त २१ जन्मको लागि स्वर्गको सुख मिल्छ। कहाँ स्वर्गको सुख, कहाँ यो दु:ख! बेहदका बाबाबाट तिमीलाई स्वर्गमा बेहदको सुख मिल्छ। ईश्वरको लागि दानपुण्य गर्छन् नि। त्यो हो अप्रत्यक्ष। अहिले तिमी त सम्मुख छौ नि। अहिले बाबा बसेर सम्झाउनुहुन्छ– भक्तिमार्गमा ईश्वरको लागि दानपुण्य गर्छन् अनि फल अर्को जन्ममा मिल्छ। कसैले राम्रो कर्म गर्यो भने राम्रो मिल्छ, पाप आदि नराम्रो गरेमा उसलाई त्यस्तै मिल्छ। यहाँ कलियुगमा त पापै भइरहन्छ, पुण्य हुँदैन। अल्पकालको लागि सुख मिल्छ। अब त तिमी भविष्य सत्ययुगमा २१ जन्मको लागि सदा सुखी बन्छौ। त्यसको नामै हो सुखधाम। प्रदर्शनीमा पनि तिमीले लेख्नसक्छौ– यो शान्तिधाम र सुखधामको मार्ग हो, शान्तिधाम र सुखधाममा जाने सहज मार्ग। अहिले त कलियुग हो नि। कलियुगबाट सत्ययुग, पतित दुनियाँबाट पावन दुनियाँमा जाने सहज मार्ग– सित्तैमा जसले गर्दा मनुष्यले बुझ्छन् किनकि पत्थरबुद्धि छन् नि। बाबाले बिल्कुलै सहज बनाएर भन्नुहुन्छ। यसको नामै हो सहज राजयोग, सहज ज्ञान।

बाबाले तिमी बच्चाहरूलाई कति समझदार बनाउनुहुन्छ। यी लक्ष्मी-नारायण समझदार छन् नि। हुन त श्रीकृष्णलाई के के लेखिदिएका छन्, त्यो हो झुटो कलङ्क। श्रीकृष्णले भने आमा मैले मखन खाएको होइन (मईया मै नहीं माखन खायो).... तर यसको अर्थ जानेका छैनन्। आमा मैले मखन खाएको होइन, त्यसो भए खायो कसले त? बच्चाहरूलाई दुध पिलाइन्छ, बच्चाहरूले मखन खान्छन् कि दुध पिउँछन्! यो जुन देखाएका छन् घैँटो फोरे आदि आदि, यस्तो कुनै कुरा होइन। उनी त स्वर्गका पहिला राजकुमार हुन्। महिमा त एक शिवबाबाको नै हो। दुनियाँमा अरू कसैको महिमा छैन! यतिबेला त सबै पतित छन् तर भक्तिमार्गको पनि महिमा छ, भक्तमालाको पनि गायन गरिन्छ नि। महिलामा मीराको नाम छ, पुरुषमा नारद मुख्य गायन गरिन्छ। तिमीले जानेका छौ– एक हुन्छ भक्तमाला, अर्को हुन्छ ज्ञानको माला। भक्तमालाबाट रुद्रमालाका बनेका छन् फेरि रुद्रमालाबाट विष्णुमाला बन्छ। रुद्रमाला हो सङ्गमयुगको, यो रहस्य तिमी बच्चाहरूको बुद्धिमा छ। यी कुरा बाबाले तिमीहरूलाई सम्मुख बसेर सम्झाउनुहुन्छ। जब सम्मुख बस्छौ तब तिम्रो रोमाञ्च खडा हुनुपर्छ। अहो सौभाग्य– १०० प्रतिशत दुर्भाग्यशाली बाट हामी सौभाग्यशाली बन्छौं। कुमारीहरू त काम कटारीमा गिरेका हुँदैनन्। बाबा भन्नुहुन्छ– त्यो हो काम कटारी। ज्ञानको पनि कटारी भन्छन्। बाबाले भन्नुभएको छ– ज्ञानका अस्त्र शस्त्र, अनि उनीहरूले फेरि देवीहरूलाई स्थूल अस्त्र शस्त्र देखाइदिएका छन्। ती त हुन् हिंसक चीजहरू। स्वदर्शन चक्र के हो? मनुष्यलाई यो थाहा छैन। शास्त्रहरूमा श्रीकृष्णलाई पनि स्वदर्शन चक्र दिएर हिंसा देखाइदिएका छन्। वास्तवमा हो ज्ञानको कुरा। तिमी अहिले स्वदर्शन चक्रधारी बनेका छौ। उनीहरूले फेरि हिंसाको कुरा लेखिदिएका छन्। तिमी बच्चाहरूलाई अब स्व अर्थात् चक्रको ज्ञान प्राप्त भएको छ। तिमीहरूलाई बाबा भन्नुहुन्छ– ब्रह्मा मुखवंशावली ब्राह्मण कुलभूषण, स्वदर्शन चक्रधारी। यसको अर्थ पनि अहिले तिमीले बुझ्छौ। तिमीसँग सारा ८४ जन्म र सृष्टि चक्रको ज्ञान छ। पहिला सत्ययुगमा एक सूर्यवंशी धर्म हुन्छ फेरि चन्द्रवंशी। दुवैलाई मिलाएर स्वर्ग भनिन्छ। यी कुरा तिमीहरूमा पनि नम्बरवार सबैको बुद्धिमा छ। जसरी तिमीलाई बाबाले पढाउनुभएको छ, अनि पढेर तिमी होसियार भएका छौ। अब तिमीले फेरि अरूको कल्याण गर्नु छ। स्वदर्शन चक्रधारी बन्नु छ। जबसम्म ब्रह्मामुख वंशावली बन्दैनौ तबसम्म शिवबाबाद्वारा वर्सा कसरी लिन्छौ? अहिले तिमी बनेका छौ ब्राह्मण। वर्सा शिवबाबाबाट लिइरहेका छौ। यो बिर्सिन हुँदैन। ज्ञानका प्वाइन्ट टिपोट गर्नुपर्छ। यो सिँढी हो ८४ जन्मको। सिँढी उत्रिँदा त सहज हुन्छ। सिँढी चढ्दा भने कसरी कम्मरमा हात लगाएर चढ्छन्। तर लिफ्ट पनि हुन्छ। अहिले बाबा आउनुहुन्छ नै तिमीलाई लिफ्ट दिन। सेकेण्डमा चढ्तीकला हुन्छ। अब तिमी बच्चाहरूलाई त खुसी हुनुपर्छ, हाम्रो कला वृद्धि भएको छ। परमप्रिय बाबा मिल्नुभएको छ। उहाँ जस्तो प्यारो चीज कोही छैन। साधुसन्त आदि जति पनि छन् सबैले उहाँ प्रियतमलाई याद गर्छन्, सबै उहाँका प्रियतमा हुन्। तर उहाँ को हुनुहुन्छ, यो केही पनि जान्दैनन्। केवल सर्वव्यापी भनिदिन्छन्।

तिमीले अहिले जानेका छौ– शिवबाबाले हामीलाई यीद्वारा पढाउनुहुन्छ। शिवबाबाको आफ्नो शरीर त छैन। उहाँ हुनुहुन्छ परम आत्मा। परम आत्मा अर्थात् परमात्मा। जसको नाम हो शिव। बाँकी सबै आत्माहरूका शारीरिक नाम अलग अलग राख्छन्। एउटै परम आत्मा हुनुहुन्छ, जसको नाम शिव हो। फेरि मनुष्यहरूले धेरै नाम राखिदिएका छन्। विभिन्न मन्दिर बनाएका छन्। अहिले तिमीले अर्थ बुझ्छौ। मुम्बईमा बाबुरीनाथको मन्दिर छ, यतिबेला तिमीले काँडाबाट फूल बनाउँछौ। विश्वको मालिक बन्छौ। त्यसैले पहिलो मुख्य कुरा हो– हामी आत्माहरूका पिता एक हुनुहुन्छ, उहाँबाटै सबैलाई वर्सा मिल्छ। भारतवर्षका यी लक्ष्मी-नारायण मालिक हुन् नि। चीनका त होइनन् नि। चीनका हुने भए अनुहार नै भिन्नै हुन्थ्यो। यी हुन् नै भारतवर्षका। सबैभन्दा पहिला सुन्दर फेरि श्याम बन्छन्। आत्मामा नै मैला पर्छ, श्याम बन्छन्। उदाहरण यिनैका हुन्। कुमालकोटीले किरालाई परिवर्तन गरेर आफूसमान बनाउँछ। संन्यासीले के परिवर्तन गर्छन्! सेता कपडा लगाउनेलाई गेरु कपडा लगाइदिएर कपाल मुडिदिन्छन्। तिमीले त यो ज्ञान लिन्छौ। यस्ता लक्ष्मी-नारायण जस्ता शोभायमान बन्छौ। अहिले त प्रकृति पनि तमोप्रधान छ, त्यसैले यो धरती पनि तमोप्रधान छ। हानिकारक छ। आकाशमा तुफान आउँछ, कति नोक्सान पार्छ, उपद्रव भइरहन्छ। अहिले यस दुनियाँमा छ घोर दु:ख। त्यहाँ फेरि परम सुख हुन्छ। बाबाले घोर दु:खबाट परम सुखमा लैजानुहुन्छ। यसको विनाश हुन्छ अनि सबै सतोप्रधान बन्छन्। अहिले तिमीले पुरुषार्थ गरेर जति बाबाबाट वर्सा लिने हो त्यति लेऊ। नत्र पछि पश्चाताप गर्नुपर्नेछ। बाबा आउनुभयो तर हामीले केही लिएनौं। यो लेखिएको छ– सृष्टिमा आगो लाग्छ अनि कुम्भकर्णको निद्राबाट जाग्छन्। फेरि हाय हाय भनेर मर्छन्। हाय हाय पछि फेरि जयजयकार हुन्छ। कलियुगमा हाय हाय छ नि। एक अर्काको हत्या गर्छन्। धेरै मर्नेछन्। कलियुगपछि फेरि सत्ययुग अवश्य हुन्छ। बीचमा यो हो सङ्गम। यसलाई पुरुषोत्तम सङ्गमयुग भनिन्छ। बाबाले तमोप्रधानबाट सतोप्रधान बन्ने राम्रो युक्ति बताउनुहुन्छ। केवल भन्नुहुन्छ– मलाई याद गर, अरू केही पनि गर्नुपर्दैन। अहिले तिमी बच्चाहरूले शिर आदि झुकाउनु पनि पर्दैन। बाबालाई कसैले हात जोडे भने बाबा भन्नुहुन्छ– न त तिमी आत्माको हात छ, न बाबाको, फेरि हात किन जोड्छौ? कलियुगी भक्तिमार्गको एउटा पनि चिन्ह हुनुहुँदैन। हे आत्मा, तिमीले हात किन जोड्छौ? केवल म पितालाई याद गर। यादको मतलब कुनै हात जोड्नु त होइन। मनुष्यले त सूर्यलाई पनि हात जोड्छन्, कुनै महात्मालाई पनि हात जोड्छन्। तिमीले हात जोड्नुपर्दैन, यो त मैले सापटी लिएको शरीर हो। तर कसैले हात जोडे भने त्यसको सट्टा हात जोड्नु पर्ने हुन्छ। तिमीले यो बुझ्नुपर्छ– हामी आत्मा हौं, हामी यस बन्धनबाट छुटेर अब फर्केर घर जानु छ। यस दुनियाँबाट त मानौं घृणा हुन्छ। यो पुरानो शरीरलाई छोडिदिनु छ। जसरी सर्पको उदाहरण छ। कुमालकोटीमा पनि कति अक्कल छ जसले किरालाई कुमालकोटी बनाइदिन्छ। तिमी बच्चाहरूले पनि, जो विषयसागरमा पौडिरहेका छन्, तिनीहरूलाई त्यसबाट निकालेर क्षीरसागरमा लैजान्छौ। अहिले बाबा भन्नुहुन्छ– हिँड शान्तिधाम। मनुष्यले शान्तिको लागि कति मेहनत गर्छन्। संन्यासीहरूलाई स्वर्गको जीवनमुक्ति त मिल्दैन। हो, मुक्ति मिल्छ, दु:खबाट छुटेर शान्तिधाममा बस्छन्। फेरि पनि आत्मा सबैभन्दा पहिला त जीवनमुक्तिमा आउँछ। पछि फेरि जीवन बन्धनमा आउँछ। आत्मा सतोप्रधान हुन्छ फेरि सिँढी उत्रिन्छ। पहिला सुख भोगेर फेरि उत्रिँदा उत्रिँदा तमोप्रधान बनेका हुन्। अब फेरि सबैलाई फर्काएर लैजानको लागि बाबा आउनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्छौ।

बाबाले सम्झाउनुभएको छ– जतिबेला मनुष्यले शरीर छोड्छ त्यतिबेला धेरै कठिनाई भोग्छ किनकि सजाय भोग्नुपर्छ। जसरी काशी कलवट खान्छन् किनकि शिवमाथि बलि चढेभने मुक्ति मिल्छ भन्ने सुनेका हुन्छन्। तिमी अहिले बलि चढ्छौ नि, त्यसैले भक्तिमार्गमा पनि फेरि ती कुरा चल्छन्। अनि शिवमाथि बलि चढ्छन्। अहिले बाबाले सम्झाउनुहुन्छ– फर्केर त कोही जानसक्दैन। हो, बलिहार भए भने पाप काटिन्छ अनि हिसाबकिताब फेरि सुरुहुन्छ। तिमीले यस सृष्टिचक्रलाई जानेका छौ। यतिबेला सबैको कला कम भइरहेको छ। बाबा भन्नुहुन्छ– म आएर सबैको सद्गति गर्छु। सबैलाई घर लैजान्छु। पतितलाई त साथ लैजान्न। त्यसैले अब पवित्र बन्यौ भने तिम्रो आत्माको ज्योति जाग्छ। विवाहका बेला बेहुलीका शिरमा माटाको पालामा ज्योति बाल्छन्। यो चलन पनि यहाँ भारतवर्षमा नै छ। बेहुलीका शिरमा पालामा ज्योति बाल्छन्, पतिका शिरमा बाल्दैनन् किनकि पतिलाई त ईश्वर भन्छन्। ईश्वरमाथि फेरि ज्योति कसरी बाल्नसक्छन्। त्यसैले बाबा सम्झाउनुहुन्छ– मेरो त ज्योति बलेको छ। मैले तिम्रो ज्योति बाल्छु। बाबालाई ज्योति पनि भन्छन्। ब्रह्मसमाजीहरूले ज्योतिलाई मान्छन्, सदैव ज्योति बलिरहन्छ, त्यसैको याद गर्छन्, त्यसैलाई भगवान सम्झन्छन्। कसैले फेरि सम्झन्छन् सानो ज्योति आत्मा ठुलो ज्योति परमात्मामा लीन हुन्छ। अनेक मतहरू छन्। बाबा भन्नुहुन्छ– तिम्रो धर्म त अथाह सुख दिनेवाला हो। तिमीले स्वर्गमा धेरै सुख देख्छौ। नयाँ दुनियाँमा तिमी देवता बन्छौ। तिम्रो पढाइ हो नै भविष्य नयाँ दुनियाँको लागि, अरू सबै पढाइहरू यहाँको लागि हुन्छन्। यहाँ तिमीले पढेर भविष्यमा पद पाउनु छ। गीतामा पनि अवश्य राजयोग सिकाइएको छ। फेरि पछाडि लडाइँ भयो, अनि केही पनि रहेन। पाण्डवहरूसँगै कुकुर पनि देखाउँछन्। अहिले बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई देवी-देवता बनाउँछु। यहाँ त अनेक प्रकारका दु:ख दिने मनुष्य छन्। काम कटारी चलाएर कति दु:खी बनाउँछन्। त्यसैले तिमी बच्चाहरूलाई यो खुसी हुनुपर्छ– ज्ञानका सागर बेहदका बाबाले हामीलाई पढाइरहनुभएको छ। बाबा परमप्रिय प्रियतम हुनुहुन्छ। हामी प्रियतमाले उहाँलाई आधाकल्पसम्म याद गर्छौं। तिमीले याद गर्दै आयौ, अब बाबा भन्नुहुन्छ– म आएको छु, तिमी मेरो मतमा चल। आफूलाई आत्मा सम्झेर म पितालाई याद गर। अरू कसैलाई होइन। मेरो याद सिवाय अरूबाट तिम्रो पाप भस्म हुँदैन। हरेक कुरामा सर्जन बाबासँग राय लिइराख। बाबाले राय दिनुहुन्छ– यसप्रकार तोड निभाऊ। यदि रायमा चल्यौ भने कदम कदममा पदम मिल्छ। राय लियौ भने जिम्मेवारी रहँदैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बेहदका बाबाद्वारा बेहदको सुखको वर्सा लिनको लागि डाइरेक्ट ईश्वरको लागि दान-पुण्य गर्नुपर्छ। ज्ञान धनबाट झोली भरेर सबैलाई दिनु छ।

२) यस पुरुषोत्तम सङ्गमयुगमा स्वयंलाई सर्व बन्धनहरूबाट मुक्त गरेर जीवनमुक्त बन्नु छ। कुमालकोटीले झै भुँ भुँ गरेर आफूसमान बनाउने सेवा गर्नु छ।

वरदान:–
सर्व प्राप्तिहरूको अनुभवद्वारा पावरफुल बन्ने सदा सफलतामूर्त भव

जो सर्व प्राप्तिहरूको अनुभवीमूर्त छन्, उनीहरू नै पावरफुल हुन्छन्। यस्ता पावरफुल सर्व प्राप्तिहरूका अनुभवी आत्माहरू नै सफलतामूर्त बन्न सक्छन् किनकि अब सर्व आत्माहरूले सुख-शान्तिका मास्टर दाता कहाँ छन् भनेर खोज्नेछन्। त्यसैले तिमीसँग सर्वशक्तिहरूको स्टक भएपछि मात्र तिमीले सबैलाई सन्तुष्ट पार्न सक्नेछौ। जसरी विदेशमा एउटै स्टोरबाट सबै चीजहरू मिल्छन्, तिमी पनि त्यस्तै बन्नु छ। सहनशक्ति छ तर सामना गर्ने शक्ति छैन, यस्तो होइन। सर्वशक्तिहरूको स्टक भएमा सफलतामूर्त बन्न सकिन्छ।

स्लोगन:–
मर्यादाहरू नै ब्राह्मण जीवनका पाइलाहरू हुन्, पाइलामा पाइला राख्नु भनेको गन्तव्यको नजिक पुग्नु हो।