10.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबैभन्दा ठुलो बिमारी हो देह अभिमान , यसबाट नै डाउनफल भएको छ , त्यसैले अब देहीअभिमानी बन।”

प्रश्न:–
तिमी बच्चाहरूको कर्मातीत अवस्था कहिले हुनेछ?

उत्तर:–
जब योगबलले कर्मभोगमाथि विजय प्राप्त गर्नेछौ। पूरा पूरा देहीअभिमानी बन्नेछौ। यो देह अभिमान नै रोग सबैभन्दा ठुलो रोग हो, यसैबाट दुनियाँ पतित भएको छ। देहीअभिमानी बन्यौ भने त्यो खुसी, त्यो नसा रहन्छ, चालचलन पनि सुध्रिन्छ।

गीत:–
रात के राही थक मत जाना...

ओम् शान्ति ।
राहीको अर्थ त बच्चाहरूले सुन्यौ। तिमी ब्रह्मामुख वंशावली ब्राह्मणहरू सिवाय अरू कसैले यो कुरा सम्झाउन सक्दैनन्। तिमी जो देवीदेवता थियौ, थियौ त मनुष्य तर तिम्रो चालचलन धेरै राम्रो थियो। तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। तिमी विश्वका मालिक थियौ। हीरासमानबाट कौडीसमान कसरी बन्यौ, यो कुनै मानिसले जान्दैनन्। तिमी पनि नम्बरवार पुरुषार्थ अनुसार परिवर्तन भएका छौ। अहिले तिमी देवता बनेका छैनौ। पुनर्निमाण भइरहेका छौ। कोही थोरै परिवर्तन भएका छन्, कसैको ५ प्रतिशत, कसैको १० प्रतिशत... आचरण परिवर्तन हुँदैजान्छ। दुनियाँलाई यो थाहा छैन– भारतवर्ष नै स्वर्ग थियो, भन्छन् पनि– क्राइस्टभन्दा ३ हजार वर्ष पहिला भारतवर्षमा देवीदेवता थिए, उनीहरूमा यस्ता गुण थिए, जसकारण उनीहरूलाई भगवान भगवती भन्थे। अहिले त ती गुण छैनन्। मानिसको समझमा आउँदैन, भारतवर्ष जुन यति धनवान थियो, फेरि त्यसको पतन (डाउनफल) कसरी भयो। त्यो पनि बाबा नै बसेर सम्झाउनुहुन्छ। जसको आचरण सुध्रिएको छ, तिमीहरूले पनि सम्झाउन सक्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी देवीदेवता हुँदा आत्म अभिमानी थियौ, फेरि रावण राज्य सुरु भएपछि देह अभिमानी बन्यौ। तिमीलाई यो देह अभिमानको सबैभन्दा ठुलो बिमारी लागेको छ। सत्ययुगमा तिमी आत्म अभिमानी थियौ, धेरै सुखी थियौ, कसले तिमीलाई यस्तो बनायो? यो कसैले पनि जान्दैनन्। बाबा बसेर सम्झाउनुहुन्छ– तिम्रो पतन किन भयो। आफ्नो धर्मलाई बिर्सियौ। भारतवर्ष कौडी बराबरको पनि रहेन। त्यसको मूल कारण के हो? देह अभिमान। ड्रामा यस्तो पनि बनेको छ। मानिसले यो जान्दैनन्– भारतवर्ष यति धनवान थियो, फेरि गरिब कसरी बन्यो, हामी आदि सनातन देवीदेवता धर्मका थियौँ, फेरि हामी कसरी धर्म भ्रष्ट, कर्म भ्रष्ट बन्यौँ। बाबा सम्झाउनुहुन्छ, रावण राज्य आएपछि तिमी देह अभिमानी बन्यौ, त्यसैले तिम्रो यो हाल हुन लाग्यो। सिँढीमा पनि देखाइएको छ– कसरी पतन भयो, कौडी बराबर पनि नहुनुको मुख्य कारण देह अभिमान हो। यो कुरा पनि बाबा बसेर सम्झाउनुहुन्छ। शास्त्रहरूमा कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन्। आजकाल समझदार छन् क्रिस्चियनहरू। उनीहरूले पनि भन्छन्– क्राइस्टभन्दा ३ हजार वर्ष पहिला प्याराडाइज, स्वर्ग थियो, मानिसहरूले यो बुझ्न सक्दैनन्– प्राचीन भारतवर्ष नै थियो जसलाई स्वर्ग, हेभेन भनिन्थ्यो। आजकाल त विश्वको सम्पूर्ण इतिहास भूगोललाई जान्दै जान्दैनन्, थोरै बच्चाहरूमा अलिकति ज्ञान भयो भने देह अभिमान आउँछ। सम्झन्छन्– हामीजस्तो कोही छैन। बाबा सम्झाउनुहुन्छ– भारतवर्षको यस्तो दुर्दशा किन भयो? बापु गान्धीले पनि भन्थे– पतितपावन आउनुहोस्, आएर रामराज्य स्थापना गर्नुहोस्! आत्मालाई अवश्य कुनैबेला बाबाबाट सुख मिलेको थियो, त्यसैले पतितपावनलाई याद गर्छन्।

बाबा सम्झाउनुहुन्छ– मेरा बच्चाहरू जो शूद्रबाट परिवर्तन भएर ब्राह्मण बन्छन्, उनीहरू पनि पूरा देहीअभिमानी बन्दैनन्। घरी घरी देह अभिमानमा आउँछन्। यो हो सबैभन्दा पुरानो रोग, जसबाट यो हाल भएको छ। देहीअभिमानी बन्नमा धेरै मेहनत छ। जति देहीअभिमानी बन्नेछौ, त्यति बाबालाई याद गर्नेछौ। फेरि अथाह खुसी रहनुपर्छ। गाइन्छ– परवाह थियो पारब्रह्ममा रहने परमेश्वरको, उहाँ मिल्नुभयो, उहाँबाट २१ जन्मको वर्सा मिल्छ। बाँकी के चाहियो। तिमी केवल देहीअभिमानी बन, मामेकम् याद गर। चाहे गृहस्थ व्यवहारमा बस। सारा दुनियाँ देह अभिमानमा छ। भारतवर्ष जुन यति उच्च थियो, त्यसको पतन भएको छ। इतिहास भूगोल के हो, यो कसैले बताउन सक्दैन। यी कुराहरू कुनै पनि शास्त्रमा छैनन्। देवताहरू आत्म अभिमानी थिए। उनीहरूले जान्दथे– एक देहलाई छोडेर अर्को लिनुछ। परमात्म अभिमानी थिएनन्। तिमीले जति बाबालाई याद गर्छौ, देहीअभिमानी रहन्छौ, त्यति धेरै मीठो बन्छौ। देह अभिमानमा आएपछि नै लडाइँ झगडा, बाँदरपना आउँछ, यो कुरा बाबाले सम्झाउनुहुन्छ। यी बाबाले पनि बुझेका छन्, बच्चाहरू देह अभिमानमा आएर शिवबाबालाई बिर्सन्छन्। राम्रा राम्रा बच्चाहरू देह अभिमानमा हुन्छन्। देहीअभिमानी बन्दै बन्दैनन्। तिमीले कसैलाई पनि यो बेहदको इतिहास भूगोल सम्झाउन सक्छौ। अवश्य सूर्यवंशी चन्द्रवंशी राजधानी थियो। ड्रामाको विषयमा कसैलाई पनि थाहा छैन। भारतवर्ष जुन यति गिरेको छ, यो पतनको जड हो देह अभिमान। बच्चाहरूमा पनि देह अभिमान आउँछ। यो बुझ्दैनन्– हामीलाई कसले डाइरेक्सन दिनुहुन्छ। सदैव सम्झ– शिवबाबाले भन्नुहुन्छ। शिवबाबालाई याद नगरेपछि नै देह अभिमानमा आउँछन्। सारा दुनियाँ देह अभिमानी बनेको छ, त्यसैले बाबा भन्नुहुन्छ– मामेकम् याद गर, आफूलाई आत्मा सम्झ। आत्माले यो देहद्वारा सुन्छ, पार्ट खेल्छ। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। भाषण त धेरै राम्रो गर्छन् तर चालचलन पनि त राम्रो हुनुपर्छ नि। देह अभिमान हुनाले फेल हुन्छन्। त्यो खुसी वा नसा रहँदैन। फेरि ठुला विकर्म पनि उनीहरूबाटै हुन्छन्, जसकारण ठुलो दण्डको भागी बन्छन्। देह अभिमानी बनेपछि नै धेरै नोक्सान पार्छन्। धेरै सजाय खानुपर्छ। बाबा भन्नुहुन्छ– यो ईश्वरीय सरकार हो नि। ईश्वरीय सरकारको राइट ह्यान्ड हुन् धर्मराज। तिमीले राम्रो कर्म गरेका रहेछौ भने त्यसको फल राम्रो मिल्छ। नराम्रो कर्म गरेका रहेछौ भने त्यसको सजाय खान्छौ। सबै गर्भजेलमा पनि सजाय खान्छन्। त्यसको पनि एउटा कहानी छ। यी सबै कुरा यस समयका हुन्। महिमा एक बाबाको हुन्छ। अरू कसैको महिमा छैन, त्यसैले लेखिन्छ– हीरासमान त्रिमूर्ति शिवजयन्ती। बाँकी सबै छन् कौडी बराबर। शिवबाबा बाहेक अरू कसैले पावन बनाउन सक्दैन। पावन बन्छन् फेरि रावणले पतित बनाउँछ। जसकारण सबै देह अभिमानी बनेका छन्। अब तिमी देहीअभिमानी बन्छौ। यो देहीअभिमानी अवस्था २१ जन्म चल्छ। त्यसैले बलिहारी एकको गायन गरिन्छ। विश्वलाई स्वर्ग बनाउने शिवबाबा हुनुहुन्छ, यो कसैलाई पनि थाहा छैन– शिवबाबा कहिले आउनुभयो, उहाँको इतिहास त सबैभन्दा पहिला सुरु हुनुपर्छ। शिव भनिन्छ नै परमपिता परमात्मालाई।

तिमीलाई थाहा छ– देह अभिमानको कारण पतन हुन्छ। यस्तो भएपछि मात्र त बाबा आउनुहुन्छ उत्थान गर्न। उत्थान र पतन, दिन र रात, ज्ञान सूर्य प्रकट भयो, अज्ञान अन्धकार विनाश। सबैभन्दा ज्यादा अज्ञान हो यो देह अभिमान। आत्माको विषयमा त कसैलाई पनि थाहा छैन। आत्मा नै परमात्मा भनिदिन्छन्, त्यसैले कति पाप आत्मा भएका छन्, त्यसैले पतन भएको छ। ८४ जन्म लिएका छन्, सिँढी तल ओर्लिँदै आएका छन्। यो खेल बनेको छ। यो विश्वको इतिहास भूगोल तिमी बच्चाहरूलाई थाहा छ, अरू कसैलाई थाहा छैन। विश्वको पतन कसरी भयो। उनीहरूले त सम्झन्छन्– विज्ञानले धेरै तरक्की गरेको छ। यो बुझ्दैनन्– दुनियाँ झन् पतित नर्क बनेको छ। देह अभिमान धेरै छ। बाबा भन्नुहुन्छ– अब तिमी देहीअभिमानी बन्नुछ। राम्रा राम्रा महारथी धेरै छन्। ज्ञान धेरै राम्रो सुनाउँछन् तर देह अभिमान पूरा हटेको हुँदैन। देह अभिमानको कारण कसैमा क्रोधको अंश, कसैमा मोहको अंश, केही न केही छ। चालचलन सुध्रिनुपर्छ नि। धेरै धेरै मीठो बन्नुपर्छ। त्यसैले उदाहरण दिन्छन्– बाघ र बाख्रा सँगसँगै पानी पिउँछन्। त्यहाँ कुनै यस्ता दुःख दिने जनावर पनि हुँदैनन्। यी कुराहरू पनि मुस्किलले कसैले जान्दछन्। नम्बरवार सम्झन्छन्। कर्मभोग निस्किन, कर्मातीत अवस्था हुन, यो मुस्किल हुन्छ। धेरै देह अभिमानमा आउँछन्। थाहा हुँदैन– हामीलाई यो मत कसले दिनुहुन्छ। श्रीमत, श्रीकृष्णद्वारा कसरी मिल्छ। शिवबाबा भन्नुहुन्छ– यिनी बिना मैले श्रीमत कसरी दिन्छु। यिनी मेरो स्थायी रथ हुन्। देह अभिमानमा आएर उल्टोसुल्टो कार्य गरेर सित्तैमा आफ्नो बर्बादी नगर। नत्र नतिजा के होला! धेरै सानो पद पाउनेछौ। पढेकाको अगाडि नपढेकाले भारी बोक्नेछन्। धेरैले भन्छन्– विश्वको इतिहास भूगोल जुन भरिपूर्ण हुनुपर्ने हो, त्यो छैन। त्यसैले उनीहरूलाई सम्झाउनुपर्छ। तिमी बाहेक अरू कसैले त सम्झाउन सक्दैन। तर यसमा देहीअभिमानी स्थिति हुनुपर्छ, उनीहरूले नै उच्च पद पाउन सक्छन्।

अहिले त कर्मातीत अवस्था कसैको भएको छैन। यिनी (बाबा) माथि त धेरै झन्झट छन्। कति फिक्र हुन्छ। हुन त बुझेका छन्– सबै ड्रामा अनुसार हुन्छ। फेरि पनि सम्झाउनको लागि युक्तिहरू त रच्नुपर्छ नि, त्यसैले बाबा भन्नुहुन्छ– तिमी धेरै देहीअभिमानी बन्न सक्छौ। तिमीमाथि कुनै बोझ छैन, बाबामाथि त बोझ छ। हेड त यिनी हुन् नि– प्रजापिता ब्रह्मा। तर यो कसैलाई थाहा छैन– यिनमा शिवबाबा बस्नुभएको छ। तिमीहरूमध्ये पनि कोही मुस्किलले यो निश्चयमा रहन्छन्। त्यसैले यो विश्वको इतिहास भूगोल जान्नुपर्छ नि। भारतवर्षमा स्वर्ग कहिले थियो, फेरि त्यो स्वर्ग कहाँ गयो? कसरी पतन भयो? यो कसैलाई थाहा छैन। तिमीले नसम्झाएसम्म कसैले बुझ्न सक्दैन, त्यसैले बाबाले डाइरेक्सन दिनुहुन्छ। लेखापढी गरे भने स्कुलहरूमा विश्वको इतिहास भूगोल बताउनुपर्छ। पतनको विषयमा भाषण गर्नुपर्छ। भारतवर्ष हीरासमान थियो, त्यो फेरि कौडीसमान कसरी बन्यो? यसको लागि कति वर्ष लाग्यो? हामीले सम्झाउँछौँ। यस्ता पर्चाहरू एरोप्लेनद्वारा खसाल्न सकिन्छ। सम्झाउने धेरै होसियार हुनुपर्छ। सरकारले चाह्यो भने सरकारकै हल विज्ञान भवन, जुन दिल्लीमा छ, त्यहाँ सबैलाई बोलाउनुपर्छ। अखबारमा पनि छाप्नुपर्छ। कार्ड पनि सबैलाई पठाइदिनुपर्छ। हामीले तपाईंलाई सारा विश्वको इतिहास भूगोल आदिदेखि अन्त्यसम्म सम्झाउँछौँ। आफै आउनेछन्, जानेछन्। पैसाको त कुरा नै छैन। मानौं, मसँग कोही भेट भयो, केही उपहार दिन खोज्यो भने मैले लिन सक्दिन। सेवा गर्नको लागि काममा लगाइदिन्छु, बाँकी मैले लिन सक्दिन। बाबा भन्नुहुन्छ– मैले तिमीसँग दान लिएर के गर्छु, जुन फेरि भरेर दिनुपर्छ। म पक्का सर्राफ हुँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) देह अभिमानमा आएर कुनै पनि उल्टोसुल्टो कार्य गर्नुछैन। देहीअभिमानी बन्ने पूरा पूरा पुरुषार्थ गर्नुछ। आफ्नो चालचलन सुधारिरहनुछ।

२) धेरै धेरै मीठो, शीतल बन्नुछ। भित्र क्रोध, मोहको जुन भूत छ, त्यसलाई निकालिदिनुछ।

वरदान:–
रिगार्ड दिने रेकर्ड ठीक राखेर , खुसीको महादान गर्ने पुण्य आत्मा भव

वर्तमान समय चारैतिर रिगार्ड दिने रेकर्ड ठीक पार्न आवश्यक छ। यही रेकर्ड फेरि चारैतिर बज्छ। रिगार्ड दिनुछ र रिगार्ड लिनुछ, सानालाई पनि रिगार्ड देऊ, ठुलालाई पनि रिगार्ड देऊ। यो रिगार्डको रेकर्ड अहिल्यै निस्कनुपर्छ, त्यसपछि खुसीको दान गर्ने महादानी पुण्य आत्मा बन्नेछौ। कसैलाई रिगार्ड दिएर खुसी बनाइदिनु– यो ठुलोभन्दा ठुलो पुण्यको काम हो, सेवा हो।

स्लोगन:–
हर पललाई अन्तिम पल सम्झेर चल्यौ भने एभररेडी रहनेछौ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

१) “तमोगुणी मायाको विस्तार”

सतोगुणी, रजोगुणी, तमोगुणी यी तीन शब्द भनिन्छ, यसलाई यथार्थ रूपमा बुझ्न जरुरी छ। मानिसहरूले सम्झन्छन्– यी तीनै गुण सँगसँगै चलिरहन्छन्, तर विवेकले के भन्छ– के यी तीनै गुण सँगसँगै चल्दै आएका छन् वा तीनै गुणको पार्ट अलग अलग युगमा हुन्छ? विवेकले त यस्तै भन्छ– यी तीनै गुण सँगसँगै चल्दैनन्, सत्ययुग हुँदा सतोगुण हुन्छ, द्वापरयुग हुँदा रजोगुण हुन्छ र कलियुग हुँदा तमोगुण हुन्छ। सतो हुँदा तमो, रजो हुँदैन, रजो हुँदा फेरि सतोगुण हुँदैन। मानिसहरूले त यस्तै सम्झेर बसेका छन्– यी तीनै गुण सँगसँगै चल्दै आउँछन्। यो कुरा भन्नु सरासर भुल हो, उनीहरूले सम्झन्छन्– मानिसले सत्य बोल्छन्, पाप कर्म गर्दैनन् त्यसैले उनीहरू सतोगुणी हुन्छन् तर विवेकले भन्छ– हामीले सतोगुण भन्छौँ भने यो सतोगुणको मतलब हो सम्पूर्ण सुख अर्थात् सारा सृष्टि सतोगुणी छ। बाँकी यस्तो भन्दैनौँ– जसले सत्य बोल्छ ऊ सतोगुणी हो र जसले झुटो बोल्छ ऊ कलियुगी तमोगुणी हो, यसरी नै दुनियाँ चल्दै आएको छ। अब हामीले सत्ययुग भन्छौँ भने यसको मतलब हो सारा सृष्टि सतोगुणी, सतोप्रधान हुनुपर्छ। हो, कुनै समयमा यस्तो सत्ययुग थियो जहाँ सारा संसार सतोगुणी थियो। अब त्यो सत्ययुग छैन, अहिले त हो कलियुगी दुनियाँ अर्थात् सारा सृष्टिमा तमोप्रधानताको राज्य छ। यो तमोगुणी समयमा फेरि सतोगुण कहाँबाट आयो! अहिले छ घोर अन्धकार जसलाई ब्रह्माको रात भनिन्छ। ब्रह्माको दिन हो सत्ययुग र ब्रह्माको रात हो कलियुग, त्यसैले हामीले दुवैलाई मिसाउन सक्दैनौँ।

२) “कलियुगी असार संसारबाट सत्ययुगी सार भएको दुनियाँमा लैजान े, एक परमात्माको नै काम हो”

यो कलियुगी संसारलाई असार संसार किन भनिन्छ? किनकि यो दुनियाँमा कुनै सार छैन अर्थात् कुनै पनि वस्तुमा त्यो तागत रहेन अर्थात् सुख शान्ति पवित्रता छैन, जुन यो सृष्टिमा कुनै समयमा सुख, शान्ति, पवित्रता थियो। अब त्यो तागत छैन किनकि यो सृष्टिमा ५ भूतहरू प्रवेश भएका छन्, यसैकारण यो सृष्टिलाई भयको सागर अथवा कर्मबन्धनको सागर भनिन्छ, त्यसैले त मानिसहरू दुःखी भएर परमात्मालाई पुकारिरहेका छन्– परमात्मा हामीलाई भव सागरबाट पार गर्नुहोस्! यसबाट सिद्ध हुन्छ– अवश्य कुनै अभय अर्थात् निर्भयताको संसार पनि छ जहाँ जान चाहन्छन्, त्यसैले यो संसारलाई पापको सागर भनिन्छ, जसबाट पार गरेर पुण्य आत्मा भएको दुनियाँमा जान चाहन्छन्। दुनियाँ दुई छन्, एक सत्ययुगी सार भएको दुनियाँ, अर्को हो कलियुगी असार दुनियाँ। दुवै दुनियाँ यो सृष्टिमा हुन्छन्। अहिले परमात्माले त्यो सार भएको दुनियाँ स्थापना गरिरहनुभएको छ। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त बन ”

जसरी ज्ञानको सब्जेक्ट छ, त्यसरी नै सेवाको पनि सब्जेक्ट छ, जो यसमा विश्वासी, निश्चयबुद्धि छ, उसैले धेरै नम्बर ल्याउन सक्छ। बिहानदेखि रातिसम्म आफ्नो निश्चित प्रोग्राम, डेली डायरी बनाऊ, किनकि तिमी जिम्मेवार आत्माहरू हौ, साधारण आत्माहरू होइनौ, विश्वकल्याणकारी आत्माहरू हौ। त्यसैले जो जति ठुलो मानिस हुन्छ, त्यति उसको दिनचर्या सेट हुन्छ।