10.05.26    Avyakt Bapdada     Nepali Murli    30.01.2010     Om Shanti     Madhuban


चारै विषय मा स्वमानको अनुभवी स्वरूप बनेर अनुभवको अथोरिटीलाई कार्यमा लगाऊ


आज ब्राह्मण संसारका रचयिता बापदादाले आफ्नो चारैतिरको ब्राह्मण संसारलाई देखिरहनुभएको छ। सारा संसारमा हरेक ब्राह्मण विशेष आत्मा हो। तिमी ब्राह्मण आत्माहरू करोडौँमा कोही हौ किनकि तिमीहरूले साधारण तनमा आउनुभएको बाबाको पहिचान गरेका छौ। बापदादाले पनि तिमी दिलमा समाहित भएका बच्चाहरूलाई दिलैदेखि दिलको प्यार दिइरहनुभएको छ। हरेक बच्चाले आफूलाई यस्ता बाबाका प्यारा, दिलमा बाबालाई समाहित गरेका बच्चा अनुभव गर्छौ! बाबाको लागि हरेक बच्चा अति प्यारा सबैका प्यारा छौ। तिमी सबै बच्चाहरूको सर्व आत्माहरूप्रति चुनौती छ– हामी योगी जीवनवाला आत्मा हौँ। केवल योग लगाएर मात्र होइन बरु योगी जीवनवाला आत्मा हौँ। जीवन दुई चार घण्टाको हुँदैन। जीवन सदाकालको लागि हुन्छ। त्यसैले हिँड्दाडुल्दा कर्म गर्दा योगी जीवनयुक्त निरन्तर योगी हौ। चाहे योगमा बस, चाहे कुनै पनि कर्म गर तर कर्मयोगी हौ। जीवनको लक्ष्य नै हो सदा योगी। यसरी आफ्नो जीवन योगी जीवन, नेचुरल जीवन अनुभव गर्छौ? बापदादाले हरेक बच्चाको मस्तकमा चम्किरहेको भाग्य देख्नुहुन्छ। के देख्नुहुन्छ? मेरो हरेक बच्चा स्वमानधारी, स्वराज्य अधिकारी छ। किन? जहाँ स्वमान छ त्यहाँ देहभान आउन सक्दैन। आदिदेखि अन्त्यसम्म, अहिलेसम्म बापदादाले हरेक बच्चालाई भिन्न भिन्न स्वमान दिनुभएको छ। अहिले पनि स्वमानहरूलाई याद गर्छौ र एक एक स्वमानको माला जप्दै गयौ भने तिमी अनेक आत्माहरू स्वमानस्वरूप बनेर, स्वमानमा लवलीन बन्छौ। तर बापदादालाई बच्चाहरूको एउटा कुरा अहिलेसम्म पनि राम्रो लाग्दैन, जान्दछौ त्यो कुन हो? कुनै पनि बच्चाले हामीलाई स्वमानमा स्थित हुन कहिलेकाहीँ मेहनत लाग्छ, चाहन्छौँ तर कहिलेकाहीँ मेहनत लाग्छ भन्छ भने सर्वशक्तिमान् बाबाले बच्चाहरूको यो मेहनत देख्न सक्नुहुन्न किनकि जहाँ मोहब्बत हुन्छ त्यहाँ मेहनत हुँदैन। जहाँ मेहनत छ त्यहाँ मोहब्बतमा कमी छ।

आज अमृतवेला बापदादाले चारैतिरका ब्राह्मणहरूकहाँ चाहे देश चाहे विदेशमा चक्कर लगाउँदा के देख्नुभयो? कुनै कुनै बच्चाहरू स्वमानमा बसेका हुन्छन्, सोचिरहेका हुन्छन्– म बापदादाको दिलतख्तनसिन हुँ, सोचिरहेका पनि हुन्छन्, स्वमानमा स्थित हुने पुरुषार्थ पनि गरिरहेका हुन्छन् तर के कमी देख्नुभयो? स्वमान याद हुन्छ, सोचिरहेका हुन्छन्, तर स्वमानस्वरूप बनेर, अनुभवीमूर्त बनेर अनुभवको अथोरिटीस्वरूप बन्नमा कमी देखियो किनकि अथोरिटी त धेरै छ तर सबैभन्दा ठुलो अथोरिटी अनुभवको अथोरिटी हो र यो स्वमानको अनुभूति अलमाइटी अथोरिटीले दिनुभएको छ। त्यसैले मेहनत गरिरहेका हुन्छन् तर अनुभवस्वरूप बनेका हुँदैनन्। त्यसैले बापदादाले यो देख्नुभयो– बस्छन्, सोच्छन् पनि तर अनुभवस्वरूप कोही कोही मात्रै छन्। अनुभवमा कुनै पनि प्रकारको देह अभिमानले अलिकति पनि आफूतिर तान्न सक्दैन। त्यसैले अनुभवस्वरूप बन्नु, कर्म गर्दा पनि कर्मयोगीको अनुभवस्वरूपमा डुब्नु, यसको अहिले अझै आवश्यकता छ। स्वरूपमा स्थित हुनु, हरेक कुरामा, हरेक विषयमा अनुभवीस्वरूप बन्नु, चाहे ज्ञान, योग, धारणा र सेवा, चारै विषयमा अनुभव स्वरूप बन्नु। अनुभवीलाई मायाले पनि हल्लाउन सक्दैन त्यसैले बापदादा आज सबै बच्चाहरूलाई अनुभवीस्वरूपमा देख्न चाहनुहुन्छ। सुन्नु र सोच्नुमा फरक छ तर अनुभवीस्वरूप बन्नु, जे सोच्यौ, जुन स्वमानमा स्थित रहन चाह्यौ त्यसको अनुभवस्वरूपमा स्थित होऊ। अनुभवीलाई कसैले पनि विचलित गराउन सक्दैन किनकि स्वमान र देहभानमा, जहाँ स्वमानस्वरूप छ, स्वमानको अनुभवमा स्थित छ त्यहाँ देहभान आउन सक्दैन। जसरी हेर अन्धकार छ तर तिमीले बत्तीको स्विच अन गरेमा अन्धकार स्वतः गायब हुन्छ। अन्धकारलाई मेटाउन, अन्धकारलाई भगाउन मेहनत गर्नुपर्दैन। त्यसैगरी स्वमानको सिटमा अनुभवको स्विच अन भयो भने कुनै पनि प्रकारको देहभान आउँदैन, भिन्न भिन्न प्रकारका देहभान पनि हुन्छन् र बाबाले भिन्न भिन्न प्रकारका स्वमान पनि दिनुभएको छ। स्वमानलाई जान्दछन्, पुरुषार्थ पनि गर्छन् तर अनुभवले पुरुषार्थ गर्नु र अनुभवीस्वरूप बन्नु त्यसमा अन्तर छ त्यसैले मेहनत गर्नुपर्छ। त्यसैले बापदादालाई अब समय अनुसार बाबासमान बन्ने लक्ष्य सम्पन्न गर्ने समयमा यो मेहनत गरेको राम्रो लाग्दैन। हरेकले आफूलाई चेक गर– म कर्मयोगी जीवनयुक्त आत्मा हुँ? यस्तो कर्मयोगी जीवन नेचुरल र सदाकालको हुन्छ, कहिलेकाहीँको होइन। यस्तो अनुभवीस्वरूप बन, जुन योगी जीवनको लक्ष्य छ, जुन अनुभवीमूर्त बन्ने लक्ष्य छ त्यो लक्ष्य सम्पन्न छौ? आफूलाई पनि सदा मस्तकबाट चम्किरहेको लाइट अनुभव होस्, आफू पनि त्यस स्वरूपमा स्थित होऊ, स्मृतिस्वरूप होऊ, स्मृति गर्नेवाला होइन, स्मृतिस्वरूप होऊ र स्मृतिस्वरूप छौ वा छैनौ, त्यसको प्रमाण यो हो– जहाँ स्मृतिको अनुभवीस्वरूप हुन्छ त्यहाँ हरेक कार्य गर्दा पनि आफूमा सामर्थ्य अनुभव हुन्छ। कार्य भिन्न भिन्न हुन्छन् तर अनुभवस्वरूपको स्थिति भिन्न भिन्न हुनुहुँदैन।

आज बापदादाले देख्नुभयो– किन मेहनत गर्नुपर्छ? अनुभवस्वरूप बन्नमा नम्बरवार पुरुषार्थ अनुसार देख्नुभयो। बापदादाको हरेक बच्चासँग दिलदेखिको प्यार छ त्यसैले प्यार हुनेको मेहनत देख्न सकिँदैन। कुनै पनि विषयमा मेहनत गर्नुपर्छ, कहिलेकाहीँ शब्द प्रयोग गर्नुपर्छ भने यसको कारण हो अनुभवीस्वरूप बन्नमा कमी। पुरुषार्थी छन् तर स्वरूप बनेका छैनन्। एक सेकेन्डमा चारै विषयमा आफ्नो स्वमानको अनुभवीस्वरूपको अनुभूति हुनुपर्छ, जसले गर्दा देह अभिमान नजिक आउन सक्दैन। जसरी उज्यालोको अगाडि अन्धकार टिक्न सक्दैन। अन्धकारलाई निकाल्नु पर्दैन, स्वाभाविक रूपमा उज्यालो हुन्छ। त्यसैले सबैभन्दा ठुलोभन्दा ठुलो अथोरिटी अनुभव गायन गरिएको छ। अनुभवलाई हजारौँ मानिसले परिवर्तन गर्न चाहे पनि परिवर्तन गर्न सक्दैनन्। जस्तै तिमी सबैले चिनीको स्वाद अनुभव गरेका छौ– त्यो गुलियो हुन्छ, हजारौँ मानिसले तिम्रो अनुभवलाई परिवर्तन गर्न चाहे पनि तिमीले परिवर्तन गर्न सक्छौ? त्यसैले जे जति विषय छन्, चाहे ज्ञानको, चाहे योगको, चाहे धारणाको, चाहे सेवाको, कुनैमा पनि चार मध्ये एउटामा पनि मेहनत लाग्छ भने अवश्य पनि अनुभवको कमी छ। सेवाको सफलतामा, धारणामा स्वभाव-संस्कार परिवर्तनमा, योगमा पनि अचल रहने, योगी जीवनको अनुभूति गर्ने कहीँ मेहनत छ वा कहिलेकाहीँ भन्छौ भने यसको अर्थ हो त्यस विषयमा तिमी अनुभवीमूर्त बनेका छैनौ। अनुभव कहिलेकाहीँ हुँदैन, स्वाभाविक स्वभाव हुन्छ। त्यसैले अब सुन्यौ मेहनत गर्नाको कारण के हो? तिमीलाई अनुभव होला– जुन समयमा अनुभवको सिटमा सेट हुन्छौ, कुनै पनि वरदानको स्वरूपमा अनुभवी बनेर अनुभव गर्छौ, त्यस समयमा मेहनत गर्नुपर्दैन, स्वाभाविक अनुभूति हुन्छ, त्यसैले अब समय अनुसार सबै अचानक हुनेछ। बताएर हुनेछैन। जसरी अहिले प्रकृतिका कुराहरूमा अचानकको खेल चलिरहेको छ, आरम्भ भएको छ अहिले। नयाँ नयाँ कुराहरू अचानक भइरहेका छन्, जस्तै अर्थक्वेक भयो, छोटो समयमा लाखौँ आत्माहरू गए, के उनीहरूलाई थाहा थियो– भोलि हामी हुन्छौँ वा हुँदैनौँ? यस्ता कैयौँ दुर्घटना, भिन्न भिन्न स्थानमा अचानक हुन सुरुभएको छ। सँगसँगै एउटै समयमा अनेकौँ आत्माहरूको शरीर छोड्ने समय आएको (टिकट काटिइरहेको) छ भने यस्तो समयमा तिमी एभररेडी छौ? यो त भन्दैनौ– पुरुषार्थ गरिरहेको छु? एभररेडी अर्थात् कुनै पनि वरदान वा स्वमानको सङ्कल्प गर्छौ र स्वरूप बन्छौ, त्यसैले बापदादा आज यस कुरामा अटेन्सन दिलाइरहनुभएको छ– कुनै पनि वरदानलाई फलीभूत गरेर वरदान वा स्वमानको स्वरूपको अनुभवी बन्न सक्छौ? बन्नु नै पर्छ। कोसिस गरिरहेको छु, यदि कोसिस पनि गर्नुछ भने अहिलेदेखि नै कोसिस गर किनकि धेरै समयको अभ्यासले समयमा मदत दिन्छ। पुरुषार्थी होइन, अनुभवी बन किनकि तिमी सबैलाई अलमाइटी अथोरिटीले अनुभवको अथोरिटी दिनुभएको छ। जसरी तिमी देहभानको अनुभवी छौ, के तिमीले देहभानलाई याद गर्नुपर्छ– म फलानो हुँ! मानौँ तिम्रो देहको नाम राखियो, देहभान भयो नि, म फलानो हुँ, यदि हजारौँ मानिसले पनि तिमीलाई भन्छन्– तिमी फलानो होइनौ, तिमी यो हौ, नाम परिवर्तन गरेर भन्छन् भने तिमीले मान्छौ? भुल्छौ आफ्नो नाम! जन्म लिँदा जुन नाम राखियो त्यो देहभान कति पक्का र स्वाभाविक हुन्छ। अरू कसैलाई पनि तिम्रो नामले बोलाउँदा, तिमीलाई बोलाउन होइन, तर तिम्रो नामधारीलाई बोलाइरहेका हुन्छन्, त्यो नाम तिम्रो कानले सुन्नासाथ मलाई बोलाइरहेका छन् भनेर तिम्रो अटेन्सन जान्छ। त्यसैले देहभान यति पक्का भएको छ। त्यसैगरी देहीअभिमानी, स्वमानधारी, स्वराज्य अधिकारी स्थिति पनि त्यत्ति पक्का होस्। तिमीले भन्छौ नि, हाम्रो जीवनमा परिवर्तन भएको छ त्यसोभए के परिवर्तन गरेका छौ? देहभानबाट स्वमान, स्वराज्य अधिकारी बन्यौ। त्यसैले आफैले चेक गर ज्ञानस्वरूप बनेको छु? वा ज्ञान सुन्ने र सुनाउने मात्र बनेको छु? ज्ञान अर्थात् ज्ञान, ज्ञानको प्राक्टिकल रूप हो, ज्ञानलाई भनिन्छ, नलेज इज लाइट, नलेज इज माइट (ज्ञान प्रकाश हो, ज्ञान शक्ति हो), त्यसैले ज्ञानस्वरूप बन्नु अर्थात् जति पनि कर्म गर्छौ त्यो लाइट र माइटयुक्त हुन्छ। यथार्थ हुन्छ। यसलाई भनिन्छ ज्ञानस्वरूप बन्नु। ज्ञान सुनाउने मात्र होइन, ज्ञानस्वरूप बन्नु। योगस्वरूपको अर्थ हो कर्मेन्द्रियजित बन्नु। हरेक कर्मेन्द्रियमा स्वराज्यधारी। यसलाई भनिन्छ योगी अर्थात् युक्तियुक्त जीवन। यसरी ज्ञान, योगको स्वरूप छ भने हरेक गुणको धारणा स्वतः हुन्छ। जहाँ ज्ञान, योग छ, योगयुक्त छ त्यहाँ गुणहरूको धारणा स्वतः हुन्छ। हर पल स्वतः सेवा हुन्छ। समय अनुसार चाहे मनसा सेवा गर, चाहे वाचा सेवा गर, चाहे कर्मणा सेवा गर, चाहे स्नेह सम्बन्धमा सेवा गर, सेवा पनि हर पल अखण्ड चलिरहन्छ। सम्बन्ध सम्पर्कमा पनि सेवा हुन्छ। मानौँ कुनै तिम्रो भाइ वा बहिनी ब्राह्मण परिवारमा अलिकति निराश छन्, अलिकति पुरुषार्थमा मन्द छन्, कुनै संस्कारको वश छन्, यस्तो सम्पर्क भएको आत्मालाई तिमीले उमङ्ग उत्साह दिलायौ, सहयोग दियौ, स्नेह दियौ, यसमा पनि तिम्रो सेवाको पुण्य जम्मा हुन्छ। गिरेकोलाई उठाउनु यसलाई पुण्य भनिन्छ। त्यसैले सम्बन्ध र सम्पर्कमा पनि सेवा गर्नु यो सच्चा सेवाधारीको कर्तव्य हो। सेवा मिलेपछि वा सेवा दिइयो भने मात्र सेवा गर्ने हो, त्यो होइन। स्वयं मनसा, वाचा, कर्मणा, सम्पर्क सम्बन्धमा स्वतः सेवा भइरहोस्। कैयौँपटक बापदादाले देख्नुभएको छ– सम्पर्कमा कुनै कुनै बच्चाहरू देखिन्छन् पनि– भन्छन् यिनको स्वभाव संस्कार अलिकति जे हुनुपर्ने हो त्यो छैन, तर यो त यस्तै हो, यो परिवर्तन हुनेवाला छैन, यसको सेवा गर्नु समय गुमाउनु हो, यस्तो सङ्कल्प गर्नु के यथार्थ हो? तिमीले मान्छौ– हामी प्रकृतिलाई पनि सतोप्रधान बनाउनेहरू हौँ, प्रकृतिलाई सतोप्रधान बनाउँछौ र ऊ त मानवात्मा हो, ब्राह्मण कहलाउँछ तर संस्कार वश छ, तिमीले प्रकृतिको संस्कार परिवर्तन गर्ने चुनौती दिएका छौ भने ऊ त प्रकृतिभन्दा पनि पुरुष हो, आत्मा हो। ऊ तिम्रो सम्बन्धमा छ। त्यसैले सच्चा सेवाधारीले आफ्नो सेवाको पुण्य कमाउनको लागि अवश्य शुभभावना राख्छ। यो त यस्तै हो, यो परिवर्तन हुनै सक्दैन, यो शुभभावना होइन, यो सूक्ष्म घृणा भावना हो। तैपनि आफ्नै भाइबहिनी हुन्, तैपनि मेरो बाबा त भन्छ नि! त्यसैले सच्चा सेवाधारीले शुभभावना दिने सेवामा पनि पुण्य कमाउँछ। गिरेकोलाई गिराउने होइन, उठाउनु छ। सहयोग दिनु, यसलाई भनिन्छ सच्चा सेवाधारी, पुण्य आत्मा। त्यसैले आफूलाई यसरी चेक गर तिमीमा त्यति सेवाको उमङ्ग उत्साह छ? यसलाई भनिन्छ अनुभवको अथोरिटीवाला। अहिले बापदादा यही चाहनुहुन्छ, अनुभवीमूर्त बन, अनुभवको अथोरिटीलाई कार्यमा लगाऊ।

चारै विषयमा जसले आफूलाई अनुभवीस्वरूप बनेर अनुभवको अथोरिटीलाई कार्यमा लगाउँछन्, जुन कमी छ त्यसलाई हटाएर सम्पन्न बन्छन्, जसले आफूमाथि यति अटेन्सन दिन्छौ तिमीहरूले हात उठाऊ। मनको हात उठाइरहेका छौ नि! शरीरको हात होइन, मनको हात उठाऊ। मनको हात उठाऊ किनकि बापदादाले शिवरात्रिमा रिजल्ट लिनुहुनेछ। कसैको पनि कमीको संस्कारले मनमा आफ्नो शुभभावनालाई नघटाओस्। उसको अल्छी संस्कार छ तर ऊ यति त पावरफुल छ जसले तिम्रो शुभभावनालाई घटाइदिन्छ त्यसैले जसरी ब्रह्माबाबाले के देख्नुभएन, के गर्नुभएन, जिम्मेवार हुँदाहुँदै पनि अन्त्यमा शुभभावना, शुभकामनाका तीन शब्द सबैलाई शिक्षा दिएर जानुभयो। याद छ नि! तीन शब्द याद छन् नि! स्वयं पनि निराकारी, निरहङ्कारी, निर्विकारी यही स्थितिमा अव्यक्त बन्नुभयो, कसैलाई पनि कर्मभोगको फिलिङ गराउनुभएन, कसैले सम्झ्यो– कर्मभोग समाप्त भइरहेको छ! के भयो? अव्यक्त हुनुभयो। त्यसैगरी ब्रह्माबाबासमान फरिस्ता भवको जुन वरदान बाबाले गरेर देखाउनुभयो, फलो ब्रह्माबाबा। जस्तै तिमीले भन्छौ मेरो बाबा, अनि बाबाले के भन्नुहुन्छ? यी सबै मेरा बच्चाहरू हुन्। आपसमा परिवारको पनि यस्तो शुभभावना हुन आवश्यक छ। स्वभाव नहेर, बाबा जान्नुहुन्छ, भाव स्वभाव छ, तर भाव स्वभावले, प्यारलाई समाप्त गर्नुहँदैन, सम्बन्धलाई समाप्त गर्नु हुँदैन, कार्यलाई कम सफल गर्नु, यो सही होइन। यो तिम्रो परिवार हो। कुन परिवार हो? प्रभु परिवार, परमात्म परिवार। यसमा कुनै पनि कारणले प्यारको कमी हुनुहुँदैन। प्यार अर्थात् शुभभावना अवश्य होस्। जस्तो भए पनि, परमात्म परिवार हो। जसले मान्यो– म प्रभु परिवारको हुँ, त्यसैले परिवार अर्थात् प्यार। यदि परिवारमा प्यार छैन भने परिवार होइन। यो परमात्म परिवार एकको एक समयमा नै हुन्छ, यति ठुलो परिवार परमात्मा बाहेक अरू कसैको हुनै सक्दैन। त्यसैले चेक गर्नुछ किनकि यसले पनि पुरुषार्थमा विघ्न पर्छ। त्यसैले विघ्नमुक्त भएपछि मात्रै अनुभवी बनेर अनुभवको अथोरिटीद्वारा सबैलाई अनुभवी बनाउँछौ। अच्छा।

चारैतिरका बच्चाहरूलाई हेरीहेरी बापदादा खुसी भएर गीत गाउनुहुन्छ वाह बच्चाहरू वाह! हरेक बच्चाको दिलमा बाबा हुनुहुन्छ र बाबाको दिलमा हरेक बच्चा छन्। अनि यहाँ यति मधुबन निवासी परिवार देखेर यो पनि खुसी हुन्छ वाह मधुबन वाह! सबैको शरणस्थल (एसलम) मधुबन हुँदै हो त्यसैले मधुबनमा दौडेर आउँछन्। अब बाबाको जुन आशा छ त्यो छिटोभन्दा छिटो पूर्ण गर्नुछ। चारै विषयमा अनुभवीस्वरूप बन्नु नै छ। बापदादाले देश विदेश चारैतिरका बच्चाहरू जहाँसुकै पनि बसेका छन् तिनीहरू सबैलाई देखिरहनुभएको छ। सबै बच्चाहरू कसरी बाबालाई हेरी हेरी हर्षित भइरहेका छन्। यी साधन, यो साइन्सले यसै समयमा उन्नति गरिरहेको छ, यी नयाँ नयाँ आविष्कारहरू दुनियाँका हुन् तर तिम्रो फाइदाका लागि यी राम्रा राम्रा साधन निकालिरहेका छन्। टाढा भएर पनि साथैमा छौ। त्यसैले साइन्सवालाहरूलाई पनि बधाई छ जसले साधन त बनाएका छन्। अच्छा। देश विदेशका सबै बच्चाहरूलाई धेरै धेरै दिलको प्यार र याद स्वीकार होस् अनि विशेष यस्ता विशेष बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
ज्ञान को लाइटद्वारा पुरुषार्थको मार्ग लाई सहज र स्पष्ट बनाउने फरिस्ता स्वरूप भव

फरिस्तापनको जीवनमा लाइट र माइट दुवै स्पष्ट देखिन्छन्। तर लाइट र माइटरूप बन्नको लागि मनन गर्ने र सहन गर्ने शक्ति चाहिन्छ। मनसाको लागि मनन शक्ति र वाचा, कर्मणाको लागि सहन शक्ति धारण गर फेरि जुन पनि शब्द बोल्छौ, कर्म गर्छौ त्यो त्यसैको प्रमाण हुन्छ। यी दुवै शक्तिहरू छन् भने हरेकको लागि पुरुषार्थको मार्ग सहज र स्पष्ट हुन्छ।

स्लोगन:–
व्यर्थ बोल्नु अर्थात् अनेकौँलाई डिस्टर्ब गर्नु।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

तिमी बच्चाहरू मास्टर प्रकृतिपति हौ त्यसैले यस प्रकृतिको खेललाई देखेर हर्षित भइराख। चाहे प्रकृतिले हलचल गर्छ, चाहे प्रकृतिले सुन्दर खेल देखाउँछ, दुवैमा प्रकृतिपति आत्माहरू साक्षी भएर खेल हेर्छन् र खेलमा मजा लिन्छन्, विचलित हुँदैनन् त्यसैले बापदादाले तपस्याद्वारा साक्षीपनको स्थितिको आसनमा अचल अडोल स्थिर रहने विशेष अभ्यास गराइरहनुभएको छ।