10.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो तकदिर उच्च बनाउनु छ भने रुहानी सेवाको सोख राख , सबैलाई ज्ञान धनको दान गरिराख।”

प्रश्न:–
रुहानी बाबाले यस्तो कुनचाहिँ श्रीमत दिनुहुन्छ जुन आजसम्म कुनै मानिसले दिएका छैनन्?

उत्तर:–
हे रुहानी बच्चाहरू! तिमीहरूले रुहानी सेवामा दधीचि ऋषिले जस्तै हड्डी देऊ। बाबाबाट जुन अविनाशी ज्ञान रत्न मिलेका छन्, तिनको दान गर। यही सच्चा सेवा हो। यस्तो सेवा गर्ने मत कुनै पनि मानिसले दिन सक्दैन। रुहानी सेवा गर्नेहरू खुसीमा नाचिरहनेछन्। तकदिर उच्च बन्दै जानेछ।

गीत:–
बदल जाए दुनिया.....

ओम् शान्ति ।
बच्चाहरूले गीतका दुई लाइन सुन्यौ। उनीहरूले त गीत लेखिदिएका छन्। जसरी कसैको मगनी भयो भने यो पक्कै नै हुन्छ– स्त्रीपुरुषले कहिल्यै एकअर्कालाई छोड्दैनन्। कोही बिरलै यस्ता पनि हुन्छन् जसले आपसमा मिलेनन् भने छोडिदिन्छन्। यहाँ तिमी बच्चाहरूले कोसँग प्रतिज्ञा गर्छौ? ईश्वरसँग। जोसँग तिमी बच्चाहरूको वा सजनीहरूको मगनी भएको छ। तर यस्ता विश्वको मालिक बनाउने बाबालाई पनि छोडिदिन्छन्। यहाँ तिमी बच्चाहरू बसेका छौ। तिमीलाई थाहा छ, अब बेहदका बापदादा अवश्य आउनु हुन्छ। जुन तिम्रो यो अवस्था यहाँ हुन्छ, बाहिर सेन्टरमा हुन सक्दैन। यहाँ तिमीले सम्झन्छौ– बापदादा अवश्य आउनुहुन्छ। बाहिर सेन्टरमा सम्झन्छन्– बाबाले बजाउनुभएको मुरली अवश्य आउँछ। यहाँ र त्यहाँमा धेरै फरक हुन्छ किनकि यहाँ तिमी बेहदका बापदादाको सम्मुख बसेका छौ। त्यहाँ तिमी सम्मुख हुँदैनौ। सम्मुख गएर मुरली सुनौँ भन्ने चाहन्छौ। यहाँ बच्चाहरूको बुद्धिमा आउँछ– बाबा अवश्य आउनुहुन्छ। जस्तै अरू सतसङ्गहरू हुन्छन्। त्यहाँ सम्झन्छन्– फलाना स्वामी आउनेछन्। तर यो विचार पनि सबैको समान हुँदैन। कसैलाई इष्टमित्र याद आउँछ। बुद्धि एक गुरुसँग पनि अडिँदैन। कोही बिरलै हुन्छ जो स्वामीको यादमा बसेको हुन्छ। यहाँ पनि यस्तै छ। यस्तो होइन, सबै शिवबाबाको यादमा रहन्छन्। बुद्धि दौडिरहन्छ। इष्टमित्रहरू याद आउँछन्। हर पल एउटै शिवबाबाको सम्मुख रहनु त अहो सौभाग्य हो। स्थायी यादमा कोही बिरलै रहन्छन्। यहाँ शिवबाबाको सम्मुख रहँदा त धेरै खुसी हुनुपर्छ। अतीन्द्रिय सुख गोपीवल्लभका गोपगोपीहरूलाई सोध, यो यहाँको कुरा भनिएको हो। यहाँ तिमी बाबाको यादमा बसेका छौ। तिमीहरूलाई थाहा छ, अहिले हामी ईश्वरका बनेको छौँ, फेरि दैवी गोदमा हुनेछौँ। हुन त कसैको बुद्धिमा सेवाका विचारहरू चल्छन्। यस चित्रमा यो सुधार गरूँ, यो लेखुँ। तर असल बच्चाहरू रहेछन् भने सम्झन्छन्– अहिले त बाबाबाट नै सुन्नु छ, अरू कुनै सङ्कल्प आउन दिँदैनन्। बाबा ज्ञान रत्नले झोली भर्न आउनुभएको छ। त्यसैले बाबासँग नै बुद्धियोग लगाउनु छ। नम्बरवार धारणा गर्नेहरू त हुन्छन् नै। कसैले राम्रोसँग धारण गर्छन्, कसैले कम धारण गर्छन्। बुद्धियोग अन्ततिर दौडिरह्यो भने धारणा हुँदैन। अपरिपक्व हुनेछन्। एकदुई पटक मुरली सुने, धारणा भएन भने त्यही बानी बस्छ। फेरि जतिसुकै सुनिरहे पनि धारणा हुँदैन। कसैलाई सुनाउन सक्दैनन्। जसलाई धारणा हुन्छ उसलाई सेवाको सोख हुन्छ, उमङ्गले गदगद भइहन्छ, यही धुन हुन्छ गएर ज्ञान धन दान गरूँ किनकि यो धन एक बाबाबाहेक अरू कसैसँग छैन। बाबालाई यो पनि थाहा छ, सबैलाई धारणा हुन सक्दैन। सबैले समान उच्च पद पाउन सक्दैनन्, त्यसैले बुद्धि अन्ततिर भट्किरहन्छ। भविष्य तकदिर त्यति श्रेष्ठ बन्न सक्दैन। फेरि कसैले स्थूल सेवामा खुब मेहनत (हड्डी सेवा) गर्छन्, सबैलाई सहमत बनाउँछन्। जसरी भोजन पकाउँछन्, खुवाउँछन्, यो पनि एउटा विषय हो नि। जसलाई सेवाको सोख हुन्छ, उसले मुखले नभनी रहँदैन। फेरि बाबाले हेर्नु पनि हुन्छ– कतै देहअभिमान त छैन। ठुलाबडाको आदर गर्छन् वा गर्दैनन्। ठुला महारथीहरूको त आदर गर्नुपर्छ। हो, कोही साना पनि होसियार हुन्छन्, त्यसैले हुन सक्छ ठुलाबडाले पनि उनीहरूको आदर गर्नु पर्छ किनकि उनीहरूको बुद्धिले तीव्र रूपमा फड्को मार्छ। सेवाको सोख देखेर बाबा त खुसी हुनुहुन्छ नि। यिनीहरूले राम्रो सेवा गर्छन्। सारा दिन प्रदर्शनीमा सम्झाउने अभ्यास पनि गर्नुपर्छ। प्रजा पनि त प्रशस्त बन्नु छ नि। लाखौँ प्रजा चाहिन्छन्। अरू त कुनै उपाय छैन। सूर्यवंशी, चन्द्रवंशी राजारानी, प्रजा सबै यहीँ बन्नु छ। कति सेवा गर्नुपर्छ। बच्चाहरूको बुद्धिमा छ– अहिले हामी ब्राह्मण बनेका छौँ। घरगृहस्थमा रहँदा हरेकको अवस्था आ-आफ्नो रहन्छ नि। घरबार त छोड्नु छैन। बाबा भन्नुहुन्छ– घरमा भलै बस तर बुद्धिमा यो निश्चय गर्नु छ– यो पुरानो दुनियाँ खतम भइसकेको छ। अब मेरो बाबासँग काम छ। यो पनि थाहा छ, कल्पपहिला जसले यो ज्ञान लिएका थिए, उनीहरूले नै लिनेछन्। सेकेन्ड सेकेन्ड हुबहु रिपिट भइरहेको छ। आत्मामा ज्ञान हुन्छ नि। बाबासँग पनि ज्ञान छ। तिमी बच्चाहरू पनि बाबाजस्तै बन्नु छ, पोइन्ट धारण गर्नु छ। सबै पोइन्टहरू एकैपटक सम्झाइँदैन। लक्ष्य दृढतापूर्बक निर्धारण गरिन्छ। विनाश पनि सामुन्ने छ। यो उही विनाश हो। सत्ययुग, त्रेतामा कुनै लडाइँ आदि हुँदैन। त्यो लडाइँ त पछि धेरै धर्महरू हुन्छन्, सेना ठुलो हुन्छ अनि सुरु हुन्छ। पहिला सुरुमा आत्माहरू सतोप्रधानबाट झर्छन्, फेरि सतो, रजो, तमोमा आउँछन्। यी सबै कुरा बुद्धिमा राख्नु छ। कसरी राजधानी स्थापना भइरहेको छ। यहाँ बसेका छौ भने यो बुद्धिमा राख्नु छ। शिवबाबा आएर मलाई खजाना दिनुहुन्छ, जुन खजानालाई बुद्धिमा धारण गर्नु छ। असल असल बच्चाहरूले टिपोट गर्छन्, टिपोट गर्नु राम्रो हो, अनि बुद्धिमा विभिन्न टपिक, विषयहरू आउँछन्। आज यस विषयमा सम्झाउनेछु।

बाबा भन्नुहुन्छ– मैले तिमीहरूलाई कति खजाना दिएको थिएँ। सत्ययुग, त्रेतामा तिमीहरूसँग अथाह धन थियो, फेरि वाममार्गमा गएपछि घट्दै गयो। खुसी पनि घट्दै गयो। केही न केही विकर्म हुनथाले। झर्दा झर्दा कलाहरू घट्दै जान्छन्। सतोप्रधान, सतो, रजो, तमोका स्टेजहरू हुन्छन् नि। सतोबाट रजोमा आउँदा यस्तो होइन– तुरून्तै आउँछन्। तमोप्रधानमा पनि बिस्तारै बिस्तारै झर्छन्, त्यसमा पनि सतो, रजो, तमो अवस्थाहरू आउँछन्। तुरून्तै तमोप्रधान हुँदैनन्। बिस्तारै बिस्तारै सिँढी झर्दै जान्छन्। कला कम हुन्छन्। अब फड्को मार्नु छ। तमोप्रधानबाट सतोप्रधान बन्नु छ, यसको लागि थोरै टाइम बाँकी छ। भनिएको पनि छ– चढे तो चाखे वैकुण्ठ रस। कामको थप्पड लाग्यो भने एकदम चकनाचुर हुन्छन्। हाडखोड भाँचिन्छन्, जसरी कुनै मानिसले आफ्नो जीवघात गर्छन्। आत्मघात होइन, जीवघात भनिन्छ। त्यसरी यो पनि आत्माको घात हुन्छ। गरेको कमाइ सबै खतम हुन्छ। यहाँ त बाबाबाट वर्सा पाउनु छ, बाबालाई याद गर्नु छ किनकि बाबाबाट बादसाही मिल्छ। आफैलाई सोध्नु छ– मैले बाबालाई याद गरेर भविष्यको लागि कति कमाइ गरेँ? अन्धाहरूको लट्ठी कति बनेँ? घरघरमा सन्देश दिनु छ– यो पुरानो दुनियाँ परिवर्तन हुँदैछ। बाबाले नयाँ दुनियाँको लागि राजयोग सिकाइरहनुभएको छ। सिँढीमा देखाइएको छ, यो सिँढी बनाउन मेहनत लाग्छ। सारा दिन विचार चलिरहन्छ– यस्तो सहजै बनाऊँ जुन जोसुकैले पनि बुझ्छन्। सारा दुनियाँ त आउनेछैन। देवीदेवता धर्मका नै आउनेछन्। तिम्रो सेवा त धेरै चल्नेछ। तिमीलाई थाहा छ, मेरो क्लास कहिलेसम्म चल्नेछ! उनीहरूले त कल्पको अवधि लाखौँ वर्ष भन्ने सम्झन्छन्। त्यसैले शास्त्र आदि सुनाई नै रहन्छन्। सम्झन्छन्– अन्तिम अवस्था भएपछि सबैका सद्गतिदाता आउनुहुनेछ। फेरि जुन मेरा चेलाहरू छन्, उनीहरूको सदगति हुनेछ। फेरि म पनि गएर ज्योतिमा लीन हुनेछु तर यस्तो त होइन। तिमीलाई थाहा छ– हामीले अमर बाबाद्वारा सच्चा सच्चा अमरकथा सुनिरहेका छौँ। त्यसैले अमर बाबाले जे भन्नुहुन्छ त्यो पनि मान्नु पर्छ। केवल भन्नुहुन्छ– मलाई याद गर र पवित्र बन। नत्र धेरै सजाय खानुपर्नेछ, पद पनि सानो मिल्नेछ। सेवामा मेहनत गर्नु छ। जसरी दधीचि ऋषिको उदाहरण छ, हड्डीहरू पनि सेवामा दिए। आफ्नो शरीरको पनि ख्याल नगरी सेवामा रहनु छ, यसलाई हड्डी सेवा भनिन्छ र अर्को हो रुहानी हड्डी सेवा। रुहानी सेवा गर्नेहरूले रुहानी ज्ञान नै सुनाइरहनेछन्। ज्ञान धन दान गर्दै खुसीमा नाचिरहनेछन्। दुनियाँमा मानिसहरूले जुन सेवा गर्छन् त्यो जिस्मानी सेवा हो। बसेर शास्त्र सुनाउँछन्, त्यो कुनै रुहानी सेवा होइन। रुहानी सेवा केवल बाबाले मात्रै सिकाउनुहुन्छ। रुहानी पिता नै आएर रुहानी बच्चाहरू (आत्माहरू) लाई पढाउनुहुन्छ। तिमीले अहिले तयारी गरिरहेका छौ– सत्ययुग नयाँ दुनियाँमा जानको लागि। त्यहाँ तिमीबाट कुनै विकर्म हुँदैन। त्यो रामराज्य हो। त्यहाँ थोरै मानिसहरू मात्रै हुन्छन्। ती थोरै मानिसहरू आएर पढ्छन्। अहिले त रावणराज्यमा सबै दुःखी छन् नि। यो सारा ज्ञान तिम्रो बुद्धिमा छ, नम्बरवार पुरुषार्थ अनुसार। यस सिँढीको चित्रमा नै सारा ज्ञान आउँछ। यो चित्र बनाउनको लागि मेसिनरी चाहिन्छ। त्यस सरकारका दिनहुँ कति अखबारहरू छापिन्छन्। कति कारोबार चल्छ। यहाँ त सबै हातले बनाउनुपर्छ।

बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन्यौ भने पवित्र दुनियाँका मालिक बन्नेछौ। यो ज्ञान कसैसँग पनि छैन। भन्छन्– यस सिँढीमा अरू धर्महरूको वृत्तान्त कहाँ छ? त्यो पनि यस गोलामा देखाइएको छ। उनीहरू नयाँ दुनियाँमा त आउँदै आउँदैनन्। उनीहरूलाई शान्ति मिल्छ। भारतवर्ष निवासीहरू नै स्वर्गमा थिए नि। भारतभूमिमा नै बाबा राजयोग सिकाउन आउनुहुन्छ, त्यसैले भारतवर्षको प्राचीन राजयोग सबैले मन पराउँछन्। यस चित्रबाट उनीहरूले स्वयं नै बुझ्नेछन्– अवश्य नयाँ दुनियाँमा केवल भारतवर्ष नै थियो। आफ्नो धर्मलाई पनि बुझ्नेछन्। जसरी क्राइस्ट धर्म स्थापना गर्न आए। यतिबेला उनी पनि भिखारी रूपमा छन्, सबै तमोप्रधान छन्। यो रचयिता र रचनाको कति ठुलो ज्ञान हो। तिमीले भन्न सक्छौ– हामीलाई कसैको पैसाको आवश्यकता छैन। पैसा हामीले के गर्ने! तपाईंले यो सुन्नुहोस् र अरूलाई सुनाउनको लागि यी चित्र आदि छपाउनुहोस्। यी चित्रहरूबाट काम लिनु छ। हल बनाउनुहोस्, जहाँ यो ज्ञान सुनाउन सकिन्छ। बाँकी हामीले पैसा लिएर के गर्ने। तपाईंकै घरको कल्याण हुनु छ। तपाईंले केवल प्रबन्ध गर्नुहोस्, धेरैले आएर सुन्नेछन्। रचना र रचयिताको ज्ञान त धेरै राम्रो छ। यो कुरा त मानिसहरूले नै बुझ्नु छ, वेलायतका मानिसहरूले यो ज्ञान सुने भने धेरै मन पराउनेछन्। धेरै खुसी हुनेछन्। बुझ्नेछन्– मैले पनि बाबाको साथमा योग लगाएँ भने विकर्म विनाश हुन्छ। सबैलाई बाबाको परिचय दिनु छ। उनीहरूले बुझ्नेछन्– यो ज्ञान स्वर्गका रचयीता परमपिता बाहेक कसैले दिन सक्दैन। भन्छन्– खुदाले बहिश्त, स्वर्ग स्थापना गर्नुभयो। तर उहाँ कसरी आउनुहुन्छ, यो कसैलाई थाहा छैन। तिम्रा कुरा सुनेर धेरै खुसी हुनेछन्। फेरि पुरुषार्थ गरेर योग सिक्नेछन्। तमोप्रधानबाट सतोप्रधान बन्नको लागि पनि पुरुषार्थ गर्नेछन्। सेवाको लागि त धेरै विचार गर्नुपर्छ। भारतवर्षमा सिप देखाएपछि बाहिर पठाइनेछ। यी मानिसहरूले जान्नेछन्, नयाँ दुनियाँ बन्नमा कुनै बेर कहाँ लाग्छ र? कतै भूकम्प आदि आउँदा पनि २-३ वर्षमा एकदम नयाँ घरहरू बन्छन्। जति धेरै कालिगडहरू हुन्छन् त्यति छिटो घरहरू बन्छन्। एक महिनामा पनि घर बनाउन सक्छन्। कालिगड, सामान आदि सबै तयार भएपछि फेरि बन्नमा कहाँ बेर लाग्छ र? वेलायतमा घरहरू कसरी बन्छन्, मिनेट मोटर। त्यसो भए स्वर्गमा कति छिटो बन्छन् होला। तिमीहरूलाई सुन, चाँदी धेरै मिल्छ। खानीहरूबाट सुन, चाँदी, हीरा आदि ल्याउँछन्। सिप त सबैले सिकिरहेका छन्। साइन्सको कति घमण्ड छ। यही साइन्स फेरि त्यहाँ पनि काममा आउनेछ। यहाँ काम गर्न सिकेका आत्माहरू त्यहाँ अर्को जन्म लिएर काममा आउनेछन्। त्यतिबेला त सारा नयाँ दुनियाँ हुन्छ, रावणराज्य नै खतम हुन्छ। ५ तत्त्वहरू पनि काइदा अनुसार सेवामा रहन्छन्। स्वर्ग बन्छ। त्यहाँ कुनै उपद्रव हुँदैन। रावणराज्य नै हुँदैन, सबै सतोप्रधान हुन्छन्। सबैभन्दा राम्रो कुरा हो– बाबासँग धेरै प्यार हुनुपर्छ। बाबाले जुन विचार दिनुहुन्छ त्यसलाई धारण गर्नु र अरूलाई दान दिनु छ। जति दान दिन्छौ त्यति जम्मा हुन्छ। सेवा नै गरेनौ भने धारणा कसरी हुन्छ? सेवामा बुद्धि चल्नुपर्छ। सेवा त प्रशस्त हुन सक्छ। कसै न कसैले सेवा गरिराख्छन्। यसमा दिनप्रतिदिन उन्नति गर्नु छ। आफ्नो पनि उन्नति गर्नु छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आपसमा एकअर्काको आदर गर्नु छ। सेवाको धेरै सोख राख्नु छ। ज्ञान रत्नहरूले आफ्नो झोली भरेर फेरि त्यसको दान गर्नु छ।

२) एक बाबाबाट नै ज्ञान सुन्ने सङ्कल्प राख्नु छ। अन्य विचारहरूमा बुद्धिलाई भट्काउनु छैन।

वरदान:–
सोच्ने र गर्ने अन्तरलाई मेटाउने स्वपरिवर्तक सो विश्वपरिवर्तक भव

कुनै पनि संस्कार, स्वभाव, बोली वा सम्पर्क जुन यथार्थ छैन व्यर्थ छ, त्यस व्यर्थलाई परिवर्तन गर्ने मेसिनरी तीब्र बनाऊ। सोच्यौ र गरिदियौ .. भने विश्व परिवर्तनको मेसिनरी तीव्र हुनेछ। अहिले स्थापनाको निमित्त बनेका आत्माहरूको सोचाइ र गराइमा अन्तर देखिन्छ, यस अन्तरलाई मेटाऊ। अनि स्वपरिवर्तक सो विश्वपरिवर्तक बन्न सक्नेछौ।

स्लोगन:–
सबैभन्दा भाग्यमानी ऊ हो जसले आफ्नो जीवनमा अनुभूतिको उपहार प्राप्त गरेको छ।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

सङ्गमयुगको सम्पूर्ण स्थितिको चित्र हो फरिस्ता। फरिस्ता एकदम हलुका हुन्छ र जसमा हलुकापन छ उसले हरेक परिस्थितिमा आफ्नो श्रेष्ठ स्थिति बनाउँछ। फरिस्ताहरू सङ्कल्पमा पनि हलुका, वाणीमा पनि हलुका, कर्म गर्नमा पनि हलुका र सम्बन्धमा पनि हलुका हुन्छन् र जो हलुका हुन्छन् उनीहरूले एक सेकेन्डमा कुनै पनि आत्माको संस्कारलाई परख गर्न सक्नेछन्। यी सबै गुण हर कर्ममा प्रत्यक्ष देखिए भने बुझ– अब सम्पूर्ण स्थिति नजिक छ।