11.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– योग
अग्नि समान हो , जसमा तिम्रो पाप जल्छ , आत्मा सतोप्रधान बन्छ। त्यसैले एक बाबाको
यादमा योगमा रहने गर।”
प्रश्न:–
पुण्य आत्मा
बन्ने बच्चाहरूले कुन कुराको धेरै ध्यान राख्नुपर्छ?
उत्तर:–
पैसा कसलाई
दान दिने हो, यस कुरामा पूरा ध्यान राख्नु पर्छ। यदि कसैलाई पैसा दियौ र उसले गएर
मदिरा आदि पियो, नराम्रो कर्म गर्यो भने त्यसको पाप तिमीमाथि चढ्छ। तिमीले अब पाप
आत्माहरूसँग लेनदेन गर्नु छैन। यहाँ त तिमी पुण्य आत्मा बन्नु छ।
गीत:–
न वह हमसे जुदा
होंगे......।
ओम् शान्ति ।
यसलाई भनिन्छ
यादको आगो। योग अग्नि अर्थात् यादको आगो। आगो शब्द किन भनिएको हो? किनकि यसमा पाप
जल्छ। यो कुरा केवल तिमी बच्चाहरूले मात्र जानेका छौ– कसरी हामी तमोप्रधानबाट
सतोप्रधान बन्छौं। सतोप्रधानको अर्थ हो नै पुण्य आत्मा र तमोप्रधानको अर्थ हो नै
पाप आत्मा। भन्ने पनि गरिन्छ– यो धेरै पुण्य आत्मा हो, यो पाप आत्मा हो। यसबाट
सिद्ध हुन्छ आत्मा नै सतोप्रधान बन्छ अनि पुनर्जन्म लिँदै लिँदै तमोप्रधान बन्छ।
त्यसैले तिनलाई पाप आत्मा भनिन्छ। त्यसैले आएर पावन बनाउनुहोस् भनेर पतित-पावन
बाबालाई नै याद गर्छन्। पतित आत्मा कसले बनायो? यो कसैलाई पनि थाहा छैन। तिमीले
जानेका छौ– जब पावन आत्मा थिए तब त्यसलाई रामराज्य भनिन्थ्यो। अहिले पतित आत्माहरू
छन् त्यसैले यसलाई रावण राज्य भनिन्छ। भारतखण्ड नै पावन, भारतखण्ड नै पतित बन्छ।
बाबाले नै आएर विश्वलाई पावन बनाउनु हुन्छ। अरू सबै आत्माहरू पावन बनेर शान्तिधाममा
जान्छन्। अहिले हो दु:खधाम। यति सहज कुरा पनि बुद्धिमा बस्दैन। दिलैदेखि बुझे भने
मात्र सच्चा ब्राह्मण बन्छन्। ब्राह्मण नबनी बाबाबाट वर्सा मिल्न सक्दैन।
अहिले यो हो
सङ्गमयुगको यज्ञ। यज्ञको लागि त ब्राह्मण अवश्य चाहिन्छ। अहिले तिमी ब्राह्मण बनेका
छौ। जानेका छौ– मृत्युलोकको यो अन्तिम यज्ञ हो। मृत्युलोकमा नै यज्ञ हुन्छन्।
अमरलोकमा यज्ञ हुँदैनन्। भक्तहरूको बुद्धिमा यी कुरा बस्न सक्दैनन्। भक्ति बिल्कुलै
अलग हो, ज्ञान अलग हो। मनुष्यले फेरि वेद-शास्त्रलाई नै ज्ञान सम्झन्छन्। त्यसमा
ज्ञान हुने भए त मनुष्य फर्केर जाने थिए। तर ड्रामा अनुसार फर्केर कोही पनि जाँदैन।
बाबाले सम्झाउनु भएको छ– पहिलो नम्बरकालाई नै सतो, रजो, तमोमा आउनु छ भने अरूले फेरि
केवल सतोको पार्ट खेलेर फर्केर कसरी जान सक्छन्? उनीहरूलाई त फेरि तमोप्रधानमा आउनु
नै छ, पार्ट खेल्नु नै छ। हरेक कलाकारको तागत आआफ्नो हुन्छ नि। नाम चलेका कति ठुला
ठुला कलाकारहरू हुन्छन्। सबैभन्दा मुख्य रचयिता, निर्देशक र मुख्य कलाकार को
हुनुहुन्छ? अहिले तिमीले जानेका छौ– परमपिता परमात्मा हुनुहुन्छ मुख्य, अनि त्यसपछि
जगत अम्बा, जगतपिता। जगतको मालिक, विश्वको मालिक बन्छन्, यिनको पार्ट अवश्य पनि
उच्च छ। त्यसैले उनीहरूको तलब पनि धेरै छ। तलब दिनुहुन्छ बाबाले, जो सबैभन्दा उच्च
हुनुहुन्छ। भन्नुहुन्छ– तिमीले मलाई यति मदत गर्यौ भने तिमीलाई अवश्य पनि त्यति नै
तलब मिल्छ। कसैले कानुन पढाए भने भन्छन् नि, यति उच्च पद प्राप्त गराउँछु। त्यसैले
यस पढाइमा बच्चाहरूले कति ध्यान दिनुपर्ला। गृहस्थमा पनि रहनु छ, कर्मयोग संन्यास
हो नि। गृहस्थ व्यवहारमा रहेर, सबै कुरा गर्दागर्दै बाबाद्वारा वर्सा पाउने
पुरुषार्थ गर्न सक्छौ, यसमा कुनै कष्ट छैन। कामकाज गर्दागर्दै शिवबाबाको यादमा रहनु
छ। ज्ञान त धेरै सहज छ। गायन पनि गर्छन्– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन
बनाउनुहोस्। पावन दुनियाँमा त राजधानी हुन्छ। त्यसैले बाबाले त्यस राजधानीको पनि
लायक बनाउनु हुन्छ।
यस ज्ञानका मुख्य दुई
विषय छन्– अल्फ र बे। स्वदर्शन चक्रधारी बनेर बाबालाई याद गर्यौ भने तिमी सदा
स्वस्थ र सम्पन्न बन्छौ। बाबा भन्नुहुन्छ– मलाई त्यहाँ परमधाममा याद गर। घरलाई पनि
याद गर, मलाई याद गर्नाले तिमी घर जान्छौ। स्वदर्शन चक्रधारी बन्नाले तिमी चक्रवर्ती
राजा बन्छौ। यो कुरा बुद्धिमा राम्रोसँग रहनुपर्छ। यस समयमा त सबै तमोप्रधान छन्।
सुखधाममा सुख, शान्ति, सम्पत्ति सबै मिल्छ। त्यहाँ एक धर्म हुन्छ। अहिले त हेर घर
घरमा अशान्ति छ। हेर विद्यार्थीहरूले कति हङ्गामा गर्छन्। आफ्नो तातो रगत देखाउँछन्।
यो हो तमोप्रधान दुनियाँ, सत्ययुग हो नयाँ दुनियाँ। बाबा सङ्गममा आउनु भएको छ।
महाभारत लडाइँ पनि सङ्गमकै हो। अब यो दुनियाँ परिवर्तन हुन्छ। बाबाले पनि
भन्नुहुन्छ– म नयाँ दुनियाँको स्थापना गर्न सङ्गममा आउँछु, यसैलाई पुरुषोत्तम
सङ्गमयुग भनिन्छ। पुरुषोत्तम महिना, पुरुषोत्तम संवत् पनि मनाउँछन्। तर यो
पुरुषोत्तम सङ्गमयुगको विषयमा कसैलाई थाहा छैन। सङ्गममा नै बाबा आएर तिमीलाई हीरा
जस्तो बनाउनु हुन्छ। फेरि त्यसमा पनि नम्बरवार त हुन्छन् नै। हीरा जस्ता राजा बन्छन्,
बाँकी सुन जस्ता प्रजा बन्छन्। बच्चाले जन्म लियो अनि वर्साको हकदार बन्यो। अहिले
तिमी पावन दुनियाँको हकदार बन्छौ। फेरि त्यसमा उच्च पद पाउनको लागि पुरुषार्थ
गर्नुपर्छ। यस समयको तिम्रो पुरुषार्थ कल्प कल्पको पुरुषार्थ हुन्छ। यसले कल्प कल्प
यस्तो पुरुषार्थ गर्नेछ भन्ने बुझिन्छ। त्यो भन्दा बढी पुरुषार्थ हुँदैन।
जन्मजन्मान्तर, कल्पकल्पान्तर ऊ प्रजामा नै आउने छ। यो धनवान प्रजाको दास-दासी बन्छ।
नम्बरवार त हुन्छन् नै। पढाइका आधारमा सबै थाहा हुन्छ। बाबाले तुरुन्तै बताउन
सक्नुहुन्छ यस अवस्थामा भोलि तिम्रो शरीर छुट्यो भने के बन्छौ? दिनप्रतिदिन समय कम
हुँदै जान्छ। यदि कसैले शरीर छोड्यो भने फेरि पढ्न सक्दैन। हो, केवल अलिकति बुद्धिमा
आउने छ। शिवबाबालाई याद गर्नेछन्। जसरी सानो बच्चालाई पनि तिमीले याद गरायौ भने
शिवबाबा शिवबाबा भनिरहन्छ। अनि उसलाई पनि केही मिल्न सक्छ। सानो बच्चा त महात्मा
जस्तै हो, विकार के हो थाहै हुँदैन। जति बढ्दै जान्छ, त्यति विकारहरूको असर पर्दै
जान्छ, क्रोध हुन्छ, मोह हुन्छ.....। अहिले त तिमीलाई सम्झाइन्छ– यस दुनियाँमा यी
आँखाबाट जुनसुकै पनि कुरा देख्छौ त्यसबाट ममत्व मेटाइदिनु छ। आत्माले जान्दछ– यो त
सबै विनाश (कब्रदाखिल) हुन्छ। तमोप्रधान चिज छन्। मनुष्य मरेभने पुरानो चिज
करनीघोरलाई दिन्छन्। बाबा त फेरि बेहदका करनीघोर हुनुहुन्छ, धोबी पनि हुनुहुन्छ।
तिमीसँग के लिनुहुन्छ र के दिनुहुन्छ? तिमीले पनि जे जति थोरै धन दिन्छौ त्यो त
समाप्त हुनु नै छ। फेरि पनि बाबा भन्नुहुन्छ– त्यो धन आफैसँग राख। केवल यसबाट ममत्व
मेटाइदेऊ। हिसाबकिताब बाबालाई दिइराख। अनि निर्देशन मिलिरहन्छ। तिम्रो जुन यो कखपन
छ, युनिभर्सिटीमा र हस्पिटलमा स्वास्थ्य र सम्पत्तिको लागि लगाइदिनुहुन्छ। हस्पिटल
हुन्छ बिमारीको लागि, युनिभर्सिटी हुन्छ पढाउनको लागि। यो त कलेज र हस्पिटल दुवै
सँगै छ। यसको लागि त केवल तीन पाइला पृथ्वी चाहिन्छ। ठिक छ, जोसँग अरू केही छैन उसले
केवल तीन पाइला जमिन देओस्। त्यसमा क्लास सञ्चालन होस्। तीन पाइला पृथ्वी, त्यो त
केवल बस्ने ठाउँ भयो नि। आसन तीन पाइलाको नै हुन्छ। तीन पाइला पृथ्वीमा जो आए पनि
राम्ररी बुझेर जान्छन्। कोही आयो, आसनमा बसायो अनि बाबाको परिचय दियो। सेवाको लागि
ब्याजहरू पनि धेरै बनाइएका छन्, यो छ धेरै साधारण। चित्र पनि राम्रो छ, लिखत पनि
पूरा छ। यसबाट तिमीले धेरै सेवा गर्छौ। दिनप्रतिदिन जति आपत आइरहन्छन् मनुष्यलाई पनि
त्यत्ति वैराग्य आउने छ र म आत्मा अविनाशी हुँ, आफ्नो अविनाशी बाबालाई याद गरौं यसरी
बाबालाई याद गर्न लाग्नेछन्। बाबा स्वयं भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो
जन्मजन्मान्तरको पाप उत्रिन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई पूरा प्यार गर्नुपर्छ।
देह अभिमानमा नआऊ। हो, बाहिरको प्यार बच्चा आदिमा राख। तर आत्माको सच्चा प्यार
रुहानी बाबासँग होस्। उहाँको यादबाटै विकर्म विनाश हुन्छ। मित्र-सम्बन्धीहरू, बच्चा
आदिलाई देखेर पनि बुद्धि बाबाको यादमा लट्किरहोस्। तिमी बच्चाहरू मानौं यादको
फाँसीमा लट्किन्छौ। आत्माले आफ्नो पिता परमात्मालाई याद गर्नु छ। बुद्धि माथि लागि
लट्किरहोस्। बाबाको घर पनि माथि हो नि। मूलवतन, सूक्ष्मवतन र यो हो स्थूलवतन। अब
फेरि फर्केर जानु छ।
अब तिम्रो यात्रा पूरा
भयो। तिमी अब यात्राबाट फर्किरहेका छौ। त्यसैले आफ्नो घर कति प्यारो लाग्छ। त्यो हो
बेहदको घर। फर्केर आफ्नो घर जानु छ। मनुष्यले भक्ति गर्छन्– घर जानको लागि, तर पूरा
ज्ञान छैन भने घर जान सक्दैनन्। भगवानका पासमा जानको लागि अथवा निर्वाणधाममा जानको
लागि कति तीर्थ यात्रा आदि गर्छन्, मिहिनेत गर्छन्। संन्यासीहरूले केवल शान्तिको
मार्ग मात्र बताउँछन्। सुखधामलाई त जान्दै जानेका छैनन्। सुखधामको मार्ग केवल बाबाले
मात्र बताउनु हुन्छ। पहिला अवश्य पनि निर्वाणधाम, वानप्रस्थमा जानुपर्छ जसलाई
ब्रह्माण्ड पनि भन्छन्। उनीहरूले फेरि ब्रह्मलाई ईश्वर सम्झेर बसेका छन्। हामी आत्मा
बिन्दु हौं। हाम्रो निवास स्थान हो ब्रह्माण्ड। तिम्रो पनि पूजा हुन्छ नि। तर
बिन्दुको के पूजा गर्ने? पूजा गर्नेबेलामा शालिग्राम बनाएर एक एक आत्मालाई पुज्छन्।
बिन्दुको पूजा कसरी हुन सक्छ– त्यसैले ठुला ठुला बनाउँछन्। बाबाको पनि त आफ्नो शरीर
छैन। यी कुरा अहिले तिमीले जानेका छौ। चित्रमा पनि कति ठुलो रूप देखाउनु पर्छ।
बिन्दुलाई कसरी बुझ्न सक्छन्? बनाउन त बनाउनु पर्छ तारा। धेरै माताहरूले यस्तो तिलक
पनि लगाउँछन्, सेतो तयारी पनि पाइन्छ। आत्मा पनि सेतो हुन्छ नि, तारा जस्तै। यो पनि
एक निसानी हो। आत्मा भृकुटीको बीचमा रहन्छ। तर अर्थ त कसैलाई पनि थाहा छैन। यो कुरा
बाबाले सम्झाउनु हुन्छ, यति सानो आत्मामा कति ज्ञान हुन्छ। यति बम आदि बनाइरहन्छन्।
अचम्म छ, आत्मामा यति पार्ट भरिएको छ। यी अत्यन्तै गुप्त कुरा हुन्। यति सानो
आत्माले शरीरबाट कति काम गर्छ। आत्मा अविनाशी छ, त्यसको पार्ट कहिल्यै विनाश हुँदैन,
न कर्म परिवर्तन हुन्छ। अहिले वृक्ष धेरै ठुलो भएको छ। सत्ययुगमा वृक्ष कति सानो
हुन्छ। पुरानो त हुँदैन। अहिले मीठो सानो वृक्षको कलमी लागिरहेको छ। तिमी पतित बनेका
थियौ फेरि पावन बनिरहेका छौ। सानो आत्मामा कति पार्ट छ। यो प्रकृतिको लीला हो,
अविनाशी पार्ट चलिरहन्छ। यो कहिल्यै बन्द हुँदैन, अविनाशी चिज हो, त्यसमा अविनाशी
पार्ट भरिएको हुन्छ। यो आश्चर्य छ नि। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू!
देहीअभिमानी बन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यसमा मेहनत छ, तिम्रो पार्ट
धेरै छ। बाबाको त्यति पार्ट छैन, जति तिम्रो। बाबा भन्नुहुन्छ– तिमी स्वर्गमा सुखी
बन्छौ अनि म विश्राममा बस्छु। मेरो कुनै पार्ट हुँदैन। यस समयमा यति सेवा गर्छु नि।
यो ज्ञान यति अद्भुत छ, तिमी सिवाय अरू कसैले अलिकति पनि जानेका छैनन्। बाबाको यादमा
नरही धारणा पनि हुँदैन। खानपिन आदिमा फरक पर्नाले पनि धारणामा फरक पर्छ, यसमा
पवित्रता धेरै राम्रो हुनुपर्छ। बाबालाई याद गर्न धेरै सहज छ। बाबाको याद गर्नु छ र
वर्सा प्राप्त गर्नु छ। त्यसैले बाबाले भन्नुभएको छ– तिमीले आफूसँग पनि चित्र राख।
योगको र वर्साको चित्र बनायौ भने नसा हुन्छ। हामी ब्राह्मण नै देवता बनिरहेका छौं।
फेरि हामी देवता नै क्षत्रिय बन्छौं। ब्राह्मण हुन् पुरुषोत्तम सङ्गमयुगी। तिमी
पुरुषोत्तम बन्छौ नि। मनुष्यलाई यो कुरा बुद्धिमा राख्नको लागि कति मेहनत गर्नुपर्छ।
दिनप्रतिदिन जति ज्ञान बुझ्दै जान्छौ त्यति खुसी पनि बढ्दै जान्छ।
तिमी बच्चाहरूलाई थाहा
छ– बाबाले हाम्रो धेरै कल्याण गर्नुहुन्छ। कल्प -कल्प हाम्रो कला वृद्धि हुन्छ। यहाँ
बस्दा पनि शरीर निर्वाहको लागि सबै कुरा गर्नुपर्छ। बुद्धिमा रहोस् हामीले शिवबाबाको
भण्डाराबाट खान्छौं, शिवबाबाको याद गरिरह्यौं भने काल कण्टक सबै हट्छ। फेरि यो
पुरानो शरीर छोडेर जान्छौं। बच्चाहरूले जान्दछौ– बाबाले केही पनि लिनुहुन्न। उहाँ त
दाता हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो श्रीमतमा चल। तिमीले पैसाको दान कसलाई
गर्नुपर्छ, यस कुरामा पूरा ध्यान दिनु छ। यदि कसैलाई पैसा दियौ र उसले गएर मदिरा
पियो, नराम्रो कर्म गर्यो भने त्यसको पाप तिमी माथि पनि चढ्छ। पाप आत्माहरूसँग
लेनदेन गर्नाले पाप आत्मा बनिन्छ। कति फरक छ। पाप आत्माले, पाप आत्मासँग लेनदेन
गरेर पाप आत्मा बन्छन्। यहाँ त तिमी पुण्य आत्मा बन्नु छ। त्यसैले पाप आत्माहरूसँग
लेनदेन गर्नु छैन। बाबा भन्नुहुन्छ– कसैलाई पनि दु:ख दिनु छैन, कसैमा मोह राख्नु
छैन। बाबा पनि सेक्रिन बनेर आउनु हुन्छ। पुरानो कखपन लिनुहुन्छ, हेर कति ब्याज
दिनुहुन्छ। धेरै बढी ब्याज मिल्छ। कति भोला हुनुहुन्छ, दुई मुठ्ठीको सट्टा महल
दिनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अब यात्रा पूरा भयो, फर्केर घर जानु छ त्यसैले यो पुरानो दुनियाँबाट वेहदको
वैराग्य राखेर बुद्धियोग बाबाको यादमा माथितिर लट्काउनु छ।
२) सङ्गमयुगमा बाबाले
जुन यज्ञ रचना गर्नु भएको छ, यस यज्ञलाई सम्हाल गर्नको लागि सच्चा सच्चा पवित्र
ब्राह्मण बन्नु छ। कामकाज गर्दा बाबाको यादमा रहनु छ।
वरदान:–
आदि रत्नको
स्मृति द्वारा आफ्नो जीवनको मूल्य जान्ने सदा समर्थ भव
जसरी ब्रह्मा आदिदेव
हुन्, त्यसैगरी ब्रह्माकुमार, कुमारीहरू पनि आदिरत्न हुन्। आदि देवका बच्चा मास्टर
आदिदेव हुन्। आफूलाई आदिरत्न सम्झिनाले नै आफ्नो जीवनको मूल्यलाई जान्न सक्छौ किनकि
आदिरत्न अर्थात् प्रभुको रत्न, ईश्वरीय रत्न। तिमी कति मूल्यवान छौ, त्यसैले सदा
आफूलाई आदि देवको सन्तान मास्टर आदिदेव, आदिरत्न सम्झेर हरेक कार्य गर्यौ भने समर्थ
भवको वरदान मिल्छ। केही पनि व्यर्थ जान सक्दैन।
स्लोगन:–
ज्ञानवान त्यो
हो, जसले धोका खानुभन्दा पहिला परख गरेर स्वयंलाई बचाउँछ।