11.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीलाई
भगवानले पढाउनुहुन्छ , तिमीसँग ज्ञान रत्नहरू छन् , तिमीले यिनै रत्नहरूको धन्दा
गर्नु छ , तिमीले यहाँ ज्ञान सिक्छौ , भक्ति होइन।”
प्रश्न:–
मनुष्यहरूले
ड्रामाको कुन अनौठो भावीलाई भगवानको लीला सम्झिएर उहाँको महिमा (बडाइ) गर्छन्?
उत्तर:–
जसले जेमा
भावना राख्छ, उसलाई त्यसको साक्षात्कार हुन्छ, त्यसैले सम्झन्छन्– यो भगवानले
साक्षात्कार गराउनु भएको हो तर हुन्छ त सबै ड्रामा अनुसार नै। एकातिर भगवानको महिमा
गर्छन्, अर्कोतिर सर्वव्यापी भनेर ग्लानि गरिदिन्छन्।
ओम् शान्ति ।
भगवानुवाच–
बच्चाहरूलाई यो त सम्झाइएको छ– मनुष्यलाई वा देवतालाई भगवान भनिँदैन। गायन पनि
गर्छन्– ब्रह्मा देवताय नम:, विष्णु देवताय नम:, शङ्कर देवताय नम: फेरि भन्छन्, शिव
परमात्माय नम:। यो पनि तिमीलाई थाहा छ– शिवको आफ्नो शरीर छैन। मूलवतनमा शिवबाबा र
शालिग्राम रहन्छन्। बच्चाहरूले जानेका छौ– अहिले हामी आत्माहरूलाई बाबाले पढाइरहनु
भएको छ र जति पनि सतसङ्ग छन् वास्तवमा ती कुनै सतका सङ्ग होइनन्। बाबा भन्नुहुन्छ–
तिनीहरू त मायाका सङ्ग हुन्। त्यहाँ यस्तो कसैले जान्दैदैनन्– हामीलाई भगवानले
पढाउनुहुन्छ। गीता सुन्दा पनि श्रीकृष्ण भगवानुवाच सम्झन्छन्। दिनप्रतिदिन गीताको
अभ्यास कम हुँदै जान्छ किनकि आफ्नो धर्मलाई नै चिनेका छैनन्। श्रीकृष्णसँग त सबैको
प्यार छ नि, श्रीकृष्णलाई नै झुलाउँछन्। अब तिमीहरूलाई थाहा छ– हामीले कसलाई
झुलाउँथ्यौं? बच्चालाई झुलाइन्छ, बाबालाई त झुलाउन सकिँदैन। तिमीले शिवबाबालाई
झुलाउँछौ र? उहाँ त बालक बन्नुहुन्न, पुनर्जन्ममा आउनुहुन्न। उहाँ त बिन्दु
हुनुहुन्छ, उहाँलाई कसरी झुलाउने? धेरैलाई श्रीकृष्णको साक्षात्कार हुन्छ।
श्रीकृष्णको मुखमा त सारा विश्व हुन्छ किनकि विश्वका मालिक बन्छन्। त्यसैले
विश्वरूपी मखन छ। जसले आपसमा लडाइँ गर्छन् तिनीहरूले पनि सृष्टिरूपी मखनको लागि
लडाइँ गर्छन्। सम्झन्छन् हामीले विजय प्राप्त गरौं। श्रीकृष्णको मुखमा मखनको गोला
देखाउँछन्, यस्ता अनेक प्रकारका साक्षात्कार पनि हुन्छन्। तर अर्थ केही पनि
बुझ्दैनन्। यहाँ तिमीलाई साक्षात्कारको अर्थ सम्झाइन्छ। मनुष्यहरूले सम्झन्छन्–
हामीलाई भगवानले साक्षात्कार गराउनुहुन्छ। यो पनि बाबाले सम्झाउनुहुन्छ– जसलाई याद
गर्छन्, मानौं कसैले श्रीकृष्णको नवधा भक्ति गर्छ भने अल्पकालको लागि उसको मनोकामना
पूरा हुन्छ। यो पनि ड्रामामा निश्चित छ। यस्तो भनिँदैन– भगवानले साक्षात्कार गराउनु
भयो। जसले जुन भावनाले जसको पूजा गर्छ उसलाई त्यो साक्षात्कार हुन्छ। यो ड्रामामा
निश्चित छ। यो त भगवानको महिमा गाइएको छ– उहाँले साक्षात्कार गराउनु हुन्छ। एकातिर
यति धेरै महिमा पनि गर्छन्, अर्कोतिर फेरि भनिदिन्छन्, पत्थरमा भगवान हुनुहुन्छ। कति
अन्धश्रद्धाको भक्ति गर्छन्। सम्झन्छन्– पुग्यो, श्रीकृष्णको साक्षात्कार भयो, हामी
अवश्य श्रीकृष्णपुरीमा जान्छौं। तर श्रीकृष्णपुरीमा कहाँबाट आउँछन्? यो सबै रहस्य
बाबाले तिमी बच्चाहरूलाई अहिले सम्झाउनु हुन्छ। श्रीकृष्णपुरीको स्थापना भइरहेको छ।
यो हो कंसपुरी। कंस, अकासुर, बकासुर, कुम्भकर्ण, रावण– यी सबै असुरका नाम हुन्।
शास्त्रमा के के लेखेका छन्।
यो पनि सम्झाउनु छ–
गुरु दुई प्रकारका हुन्छन्। भक्ति मार्गका गुरु, तिनीहरूले भक्ति नै सिकाउँछन्। उहाँ
बाबा हुनुहुन्छ ज्ञानका सागर, उहाँलाई सद्गुरु भनिन्छ। उहाँले कहिल्यै भक्ति
सिकाउनुहुन्न, ज्ञान मात्रै सिकाउनु हुन्छ। मनुष्य त भक्तिमा कति खुसी हुन्छन्, बाजा
बजाइरहन्छन्, वनासरमा तिमीले देख्नसक्छौ– सबै देवताहरूका मन्दिर बनाइदिएका छन्। यो
सबै हो भक्ति मार्गको दोकानदारी, भक्तिको धन्दा। तिमी बच्चाहरूको हो ज्ञान रत्नको
धन्दा, यसलाई पनि व्यापार भनिन्छ। बाबा पनि रत्नहरूका व्यापारी हुनुहुन्छ। तिमीले
जान्दछौ– यी रत्न के हुन्! यी कुरालाई उनीहरूले नै बुझ्छन् जसले कल्प पहिला बुझेका
छन्, अरूले बुझ्दै बुझ्दैनन्। जति पनि ठुलाबडा व्यक्तिहरू छन् उनीहरूले अन्त्यमा
आएर बुझ्छन्। परिवर्तन पनि भएका छन् नि। राजा जनकको कथा सुनाउँछन्। जनक फेरि अनु
जनक बने। जस्तै कसैको नाम श्रीकृष्ण छ भने भन्छन् तिमी अनु दैवी श्रीकृष्ण बन्छौ।
कहाँ उनी सर्वगुण सम्पन्न श्रीकृष्ण, कहाँ यी! कसैको नाम लक्ष्मी छ भने पनि यी
लक्ष्मी-नारायणका अगाडि गएर महिमा गाउँछिन्। उनले कहाँ जान्दछिन् र– यिनमा र ममा
किन फरक छ? अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ– यो सृष्टि चक्र कसरी घुम्छ?
तिमीले नै ८४ जन्म लिन्छौ। यो चक्र अनेक पटक घुम्दै आइएको छ। कहिल्यै बन्द
हुनसक्दैन। तिमी यस नाटकका पात्रहरू हौ। मनुष्यले यति अवश्य सम्झन्छन्– हामी यस
नाटकमा पार्ट खेल्न आएका हौं। बाँकी ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेका छैनन्।
तिमी बच्चाहरूलाई थाहा
छ– हामी आत्माहरूको निवासस्थान पर भन्दा पर छ। त्यहाँ सूर्य चन्द्रमाको प्रकाश पनि
पुग्दैन। यो सबैलाई जान्ने बच्चाहरू पनि धेरैजसो साधारण गरिब नै बन्छन् किनकि
भारतवर्ष नै सबैभन्दा धनवान थियो, अहिले भारतवर्ष नै सबैभन्दा गरिब बनेको छ। सारा
खेल यहाँ नै छ। यो जस्तो पावन खण्ड अरू कुनै हुँदैन। पावन दुनियाँमा पावन खण्ड
हुन्छ, अरू कुनै खण्ड त्यहाँ हुँदैन। बाबाले सम्झाउनु भएको छ– यो सारा दुनियाँ एउटा
बेहदको टापु हो। जसरी लङ्का टापु हो। देखाउँछन्, रावण लङ्कामा रहन्थ्यो। अहिले
तिमीले जान्दछौ– रावणको राज्य त सारा बेहदको लङ्कामा छ। यो सारा सृष्टि समुद्रमा खडा
छ। यो टापु हो। यसमा रावणको राज्य छ। यी सबै सीताहरू रावणको जेलमा छन्। उनीहरूले त
हदका कथाहरू बनाइदिएका छन्। यो हो सारा बेहदको कुरा। बेहदको नाटक हो, त्यसमा नै फेरि
साना साना नाटक बनाएका छन्। यी फिल्म आदि पनि अहिले बनेका हुन्, त्यसैले बाबालाई पनि
सम्झाउन सहज हुन्छ। बेहदको सारा ड्रामा तिमी बच्चाहरूको बुद्धिमा छ। मूलवतन,
सूक्ष्मवतन अरू कसैको बुद्धिमा हुनसक्दैन। तिमीलाई थाहा छ– हामी आत्माहरू मूलवतनका
निवासी हौं। देवताहरू हुन् सूक्ष्म वतनवासी, तिनलाई फरिस्ता पनि भन्छन्। त्यहाँ हाड
मासुको पिञ्जडा हुँदैन। यो सूक्ष्मवतनको पार्ट पनि थोरै समयको लागि हो। अहिले तिमी
आउँछौ-जान्छौ फेरि कहिल्यै जाँदैनौ। तिमी आत्माहरू मूलवतनबाट आउँदा सूक्ष्मवतन भएर
आउँदैनौ, सीधै आउँछौ। अहिले सूक्ष्मवतन भएर जान्छौ। अहिले सूक्ष्मवतनको पार्ट छ। यो
सबै रहस्य बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबालाई थाहा छ, हामी आत्माहरूलाई
सम्झाइरहनु भएको छ। साधुसन्त आदि कसैले पनि यी कुरालाई जानेका छैनन्। उनीहरूले
कहिल्यै यस्तो कुरा गर्न सक्दैनन्। बाबाले नै बच्चाहरूसँग कुरा गर्नुहुन्छ। अङ्ग
विना त कुरा गर्न सक्नुहुन्न। भन्नुहुन्छ– मैले यस शरीरको आधार लिएर तिमी
बच्चाहरूलाई पढाउँछु। तिमी आत्माहरूको दृष्टि पनि बाबातर्फ जान्छ। यी हुन् सबै नयाँ
कुरा। निराकार बाबा, उहाँको नाम हो शिवबाबा। तिमी आत्माहरूको नाम त आत्मा नै हो।
तिमीहरूका शरीरका नाम परिवर्तन हुन्छन्। मानिसहरूले भन्छन्– परमात्मा नाम रूप भन्दा
अलग हुनुहुन्छ, तर नाम त शिव भन्छन् नि। शिवको पूजा पनि गर्छन्। सम्झन्छन् एउटा,
गर्छन् अर्कै। अहिले तिमीले बाबाको नाम, रूप, देश काललाई पनि जानेका छौ। तिमीलाई
थाहा छ– कुनै पनि चीज विना नाम, रूपको हुन सक्दैन। यो पनि धेरै सूक्ष्ममा
बुझ्नुपर्ने कुरा छ। बाबा सम्झाउनु हुन्छ– गायन पनि छ सेकेण्डमा जीवनमुक्ति अर्थात्
मनुष्य नरबाट नारायण बन्नसक्छ। जब बाबा स्वर्ग स्थापना गर्ने पिता हुनुहुन्छ, हामी
उहाँका बच्चा बनेका छौं भने स्वर्गको मालिक ठहरियौं। तर यो पनि बुझ्दैनन्। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो लक्ष्य र उद्देश्य नै यही हो, नरबाट नारायण
बन्नु। राजयोग हो नि। धेरैलाई चतुर्भुजको साक्षात्कार हुन्छ, यसबाट सिद्ध हुन्छ–
हामी विष्णुपुरीको मालिक बन्नेवाला हौं। तिमीलाई थाहा छ– स्वर्गमा पनि
लक्ष्मी-नारायणको तख्तको पछाडि विष्णुको चित्र राख्छन् अर्थात् विष्णुपुरीमा
यिनीहरूको राज्य हुन्छ। यी लक्ष्मी-नारायण विष्णुपुरीका मालिक हुन्। त्यो हो
श्रीकृष्णपुरी, यो हो कंसपुरी। ड्रामानुसार यो नाम पनि राखिएको छ। बाबा सम्झाउनु
हुन्छ– मेरो रूप धेरै सूक्ष्म छ। कसैले पनि जान्न सक्दैन। भन्छन्– आत्मा एक तारा हो
तर फेरि लिङ्ग बनाइदिन्छन्। नत्र पूजा कसरी गर्न सकिन्छ? रुद्र यज्ञ रच्दाखेरि बुढी
अउँला समान शालिग्राम बनाउँछन्। अर्कातिर उहाँलाई अजब सितारा भन्छन्। आत्मालाई
देख्ने धेरै कोसिस गर्छन् तर कसैले पनि देख्न सक्दैन। रामकृष्ण, विवेकानन्दलाई पनि
देखाउँछन् नि, विवेकानन्दले देखे– आत्मा उहाँबाट निस्किएर मेरोमा समाहित भयो। अब
उनलाई कसको साक्षात्कार भएको हुनसक्छ? आत्मा र परमात्माको रूप त एउटै हुन्छ। बिन्दु
देखे, केही बुझ्दैनन्। आत्माको साक्षात्कार त कसैले चाहँदैन। चाहना राख्छन्–
परमात्माको साक्षात्कार गरौं। भनिदिए, ज्योति थियो ममा समाहित भयो। यसमा नै उनीहरू
धेरै खुसी हुन्छन्। सम्झिए यही परमात्माको रूप हो। गुरुमा भावना हुन्छ, भगवानको
साक्षात्कार गरे। केही बुझ्दैनन्। हुन त भक्तिमार्गमा कसले सम्झाउँछ? अहिले बाबा
बसेर सम्झाउनु हुन्छ– जुन जुन रूपमा जस्तो भावना राख्छन्, जुन अनुहार देख्छन्, त्यो
साक्षात्कार हुन्छ। जस्तै गणेशको धेरै पूजा गरेका छन् भने चैतन्य रूपमा उनलाई
साक्षात्कार हुन्छ। नत्र उनीहरूलाई कसरी निश्चय हुन्छ? तेजोमय रूप देखेर सम्झन्छन्,
हामीले भगवानको साक्षात्कार गर्यौं। त्यसैमा खुसी हुन्छन्। यो सबै हो भक्तिमार्ग
गिरती कला। पहिलो जन्म राम्रो हुन्छ फेरि कम हुँदै हुँदै अन्त्य आउँछ। बच्चाहरूले
नै यी कुरालाई बुझ्छन्, जसलाई कल्प पहिला ज्ञान सम्झाइएको छ उनीहरूलाई नै अहिले
सम्झाइरहनु भएको छ। कल्प पहिलाका नै आउने छन्, बाँकी अरूको त धर्म नै अलग छ। बाबा
सम्झाउनु हुन्छ– एक एक चित्रमा भगवानुवाच लेखिदेऊ। धेरै युक्तिले सम्झाउनुपर्छ।
भगवानुवाच हो नि– यादव, कौरव र पाण्डवले के गर्छन्, त्यसको यो चित्र हो। सोध–
तपाईँले बताउनुहोस्, आफ्नो पितालाई चिन्नु भएको छ? चिन्नुहुन्न मतलब बाबासँग प्रीत
छैन नि, त्यसैले बिपरित बुद्धि ठहरिनु भयो। बाबासँग प्रीत छैन भने विनाश हुन्छन्।
प्रीत बुद्धि विजयन्ती, सत्यमेव जयते– यसको अर्थ पनि ठीक छ। बाबाको याद नै छैन भने
विजयी हुन सक्दैनन्।
अहिले तिमीले सिद्ध
गरेर बताउँछौ– गीता शिव भगवानले सुनाउनु भएको हो। उहाँले नै राजयोग सिकाउनु भएको
हो, ब्रह्माद्वारा। उनीहरूले त श्रीकृष्ण भगवानुवाच सम्झिएर सपथ खान्छन्। उनीहरूसँग
सोध्नुपर्छ– श्रीकृष्णलाई जहाँतहीँ उपस्थित (हाजिर-नाजिर) मान्नुपर्छ वा भगवानलाई?
भन्छन्, ईश्वरको उपस्थिति मानेर सत्य बोल। यो त अलमल भयो नि। त्यसैले सपथ पनि झुटो
हुनजान्छ। सेवाधारी बच्चाहरूलाई गुप्त नशा रहनु पर्छ। नसाले सम्झायौ भने सफलता
मिल्छ। तिम्रो यो पढाइ पनि गुप्त छ, पढाउने पनि गुप्त हुनुहुन्छ। तिमीलाई थाहा छ–
हामी गएर नयाँ दुनियाँमा यस्ता बन्छौं। नयाँ दुनियाँ स्थापना हुन्छ महाभारत लडाइँपछि।
बच्चाहरूलाई अहिले ज्ञान मिलेको छ। त्यसलाई पनि नम्बरवार धारणा गर्छौ। योगमा पनि
नम्बरवार रहन्छन्। यो पनि जाँच गर्नुपर्छ– हामी कति यादमा रहन्छौं? बाबा भन्नुहुन्छ–
अहिलेको यो तिम्रो पुरुषार्थ भविष्य २१ जन्मको लागि हुन्छ। अहिले फेल भयौ भने
कल्पकल्पान्तर फेल भइरहन्छौ, उच्च पद पाउन सक्दैनौ। उच्च पद पाउन पुरुषार्थ
गर्नुपर्छ । यस्ता पनि कति सेन्टरमा आउँछन् जो विकारमा गइरहन्छन् र फेरि सेन्टरमा
पनि आइरहन्छन्। सम्झन्छन् ईश्वरले सबै देख्नुहुन्छ, जान्नुहुन्छ। बाबालाई के परेको
छ जसकारण बसेर उसलाई हेर्नुहुन्छ। तिमीले झुटो बोल्छौ, विकर्म गर्छौ भने आफ्नै
नोक्सान पार्छौ। यो त तिमीले पनि जान्दछौ, कालो मुख पारेँ भने उच्च पद पाउन सक्दिनँ।
यो कुरा बाबाले जान्नुभयो भने पनि कुरा त एउटै भयो। उहाँलाई के आवश्यकता परेको छ।
आफ्नो मन खानुपर्छ– मैले यस्तो कर्म गरें भने दुर्गति पाउँछु। बाबाले किन बताउने?
हो, ड्रामामा छ भने बताउनु पनि हुन्छ। बाबासँग लुकाउनु भनेको आफ्नो सत्यानाश गर्नु
हो। पावन बन्नको लागि बाबालाई याद गर्नुछ, तिमीलाई यही चिन्ता रहनुपर्छ– मैले
राम्रोसँग पढेर उच्च पद पाऊँ। कोही मर्यो वा बाँच्यो, त्यसको चिन्ता छैन। फिक्र
राख्नु छ– बाबाबाट वर्सा कसरी लिने? कसैलाई पनि थोरैमा सम्झाउनु छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) गुप्त नसामा रहेर सेवा गर्नु छ। यस्तो कुनै कर्म गर्नु छैन जसले दिल खाइरहोस्।
आफ्नो जाँच गर्नु छ– म कति यादमा रहन्छु?
२) सदा यही फिक्र
रहोस्– मैले राम्रोसँग पढेर उच्च पद पाऊँ। कुनै पनि विकर्म गरेर, झुटो बोलेर आफ्नो
नोक्सान गर्नु छैन।
वरदान:–
मनमनाभवको
महामन्त्रद्वारा सर्व दुःखहरूबाट पर रहने सदा सुखस्वरूप भव
जब कुनै पनि प्रकारको
दुःख आउँछ तब मन्त्र लिऊ, जसबाट दुःख भाग्नेछ। सपनामा पनि अलिकति पनि दुःखको अनुभव
नहोस्। शरीर बिरामी होस्, धन तलमाथि होस्, जेसुकै होस् तर दुःखको लहर भित्र आउनु
हुँदैन। जसरी सागरमा लहरहरू आउँछन् र जान्छन् तर जसलाई ती लहरहरूमा लहराउन आउँछ, ऊ
त्यसैमा सुखको अनुभव गर्छ, लहरलाई जम्प गरेर यसरी पार गर्छ, मानौँ खेल खेलिरहेको छ।
त्यसैले सागरका बच्चा सुखस्वरूप हौ, दुःखको लहर पनि नआओस्।
स्लोगन:–
हरेक सङ्कल्पमा
दृढताको विशेषतालाई यथार्थमा ल्याऊ तब प्रत्यक्षता हुनेछ।