11.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ प्यारा अन्त र्मुखी बच्चाहरू ! तिमीहरू ज्ञानरूप अवस्थामा रहेर यी महावाक्यहरू धारण गर त ्यसपछि आफ्नो र अन्य आत्माहरूको कल्याण गर्न सक्नेछौ। ”

(दादीजीहरूका डायरीबाट)

ओम् शान्ति ।
हरेक पुरुषार्थी बच्चाले पहिला अन्तर्मुखी अवस्था अवश्य धारण गर्नुछ। अन्तर्मुखतामा धेरै नै कल्याण समाहित भएको छ, यस अवस्थाबाट नै अचल, स्थिर, धैर्यता, निर्मानचित्त इत्यादि दैवीगुणहरूको धारणा हुन सक्छ तथा सम्पूर्ण ज्ञानमय अवस्था प्राप्त हुनसक्छ। अन्तर्मुखी नभएका कारण त्यो सम्पूर्ण ज्ञानरूप अवस्था प्राप्त हुँदैन किनकि जे जति “महावाक्य” सम्मुख सुनिन्छन्, यदि त्यसलाई गहिराइमा गएर ग्रहण गर्दैनन्, केवल ती महावाक्यहरूलाई सुनेर रिपिट गरिदिन्छन् भने ती महावाक्य, वाक्य हुन्छन्। जो ज्ञानरूप अवस्थामा रहेर महावाक्य सुन्दैनन्, ती महावाक्यहरूमा मायाको छाया पर्छ। अब यस्तो मायाको अशुद्ध भाइब्रेसनले भरिएका महावाक्य सुनेर केवल रिपिट गरेमा आफूसहित अरूको कल्याण हुनुको सट्टा अकल्याण हुन्छ त्यसैले हे प्यारा बच्चाहरू! एकदम अन्तर्मुखी बन।

तिम्रो यो मन मन्दिर सदृश्य छ। जसरी मन्दिरबाट सदैव सुगन्ध आउँछ त्यसैगरी मन मन्दिर पवित्र बनिसकेपछि मात्र पवित्र सङ्कल्प पनि इमर्ज हुन्छन्। जसरी मन्दिरमा केवल पवित्र देवीदेवताहरूका चित्र मात्रै राखिन्छन्, न कि दैत्यहरूका। त्यसैगरी तिमी बच्चाहरूले आफ्नो मन र दिलरूपी मन्दिरलाई सर्व ईश्वरीय गुणहरूका मूर्तिहरूले सजाइदेऊ, ती गुण हुन्– निर्मोही, निर्लोभी, निर्भयता, धैर्यता, निरहङ्कारीता इत्यादि किनकि यी सबै तिम्रै दिव्य लक्षण हुन्। तिमी बच्चाहरूले आफ्नो मन मन्दिरलाई उज्यालो अर्थात् सम्पूर्ण शुद्ध बनाउनुछ। मन मन्दिर उज्यालो बनिसकेपछि मात्रै आफ्नो उज्यालो प्यारो वैकुण्ठ देशमा जान सक्नेछौ। त्यसैले अब आफ्नो मनलाई उज्ज्वल बनाउने प्रयत्न गर्नुछ तथा मनसहित विकारी कर्मेन्द्रियहरूलाई वश पार्नुछ। तर केवल आफ्नो मात्र होइन अन्यप्रति पनि यही दिव्य सेवा गर्नुछ।

वास्तवमा सेवाको अर्थ अति सूक्ष्म र महिन छ। यस्तो होइन– कसैको भूलमा केवल सावधान गराउनु यतिसम्म सेवा हो। तर होइन, उनीहरूसम्म सूक्ष्म रीतिले आफ्नो योगको शक्ति लगाएर उनीहरूको अशुद्ध सङ्कल्पलाई भस्म गरिदिनु, यही सर्वोत्तम सत्य सेवा हो र साथसाथै यसमा आफैमाथि पनि अटेन्सन राख्नुछ। न केवल वाचा अथवा कर्मणासम्म तर मनसामा पनि कुनै अशुद्ध सङ्कल्प उत्पन्न भयो भने त्यसको भाइब्रेसन अरूकहाँ गएर सूक्ष्म रीतिले अकल्याण गर्छ, जसको बोझ आफैमाथि आउँछ र त्यही बोझ बन्धन बन्छ त्यसैले हे प्यारा बच्चाहरू! स्वयं सावधान रहनुछ अनि अन्यप्रति त्यही दिव्य सेवा गर्नुछ, यही तिमी सेवाधारी बच्चाहरूको अलौकिक कर्तव्य हो। यस्तो सेवा गर्नेहरूले फेरि आफूप्रति कुनै पनि सेवा लिनुहुँदैन। चाहे कहिल्यै कुनै अनायास भूल भइहाले पनि त्यसलाई आफ्नो बुद्धियोग बलद्वारा सदैवको लागि सुधार गरिदिनुछ। यस्तो तीव्र पुरुषार्थीले अलिकति पनि इसारा मिल्नासाथ शीघ्र महसुस गरेर परिवर्तन गरिहाल्छन् र भविष्यको लागि राम्रोसँग अटेन्सन राखेर चल्छन्, यही विशाल बुद्धि बच्चाहरूको कर्तव्य हो।

हे मेरा प्यारा प्राणहरू! परमात्माद्वारा रचिएको यस अविनाशी राजस्व ज्ञान यज्ञप्रति तन, मन, धन सम्पूर्ण रीतिले स्वाहा गर्ने राज धेरै महिन छ। जुन घडी तिमीले भन्छौ, म तन, मन, धनसहित यज्ञमा स्वाहा अर्थात् अर्पण भएर मरिसकेँ, त्यस घडीदेखि लिएर आफ्नो केही पनि हुँदैन। त्यसमा पनि पहिला तन, मनलाई सम्पूर्ण रीतिले सेवामा लगाउनुछ। सबै थोक यज्ञ अथवा परमात्मा प्रति समर्पित छ भने फेरि आफ्नो लागि केही बाँकी हुन सक्दैन, धन पनि व्यर्थ गुमाउन सक्दैनौ। मन पनि अशुद्ध सङ्कल्प विकल्पतर्फ दौडन सक्दैन किनकि परमात्मालाई अर्पण गरिदियौ। तर परमात्मा त हुनुहुन्छ नै शुद्ध शान्तस्वरूप। यसकारण अशुद्ध सङ्कल्प स्वतः शान्त हुन्छन्। यदि मन मायाको हातमा दियौ भने विविध रूप भएको कारण मायाले अनेक प्रकारका विकल्प उत्पन्न गरेर मनरूपी घोडामा सवारी हुन्छ। कुनै बच्चालाई अहिलेसम्म पनि सङ्कल्प विकल्प आउँछन् भने सम्झनुपर्छ, अहिलेसम्म मन पूर्णरीतिले स्वाहा भएको छैन अर्थात् ईश्वरीय मन बनेको छैन त्यसैले हे सर्व त्यागी बच्चाहरू! यी गुह्य राजहरूलाई बुझेर कर्म गर्दा साक्षी भएर आफूलाई हेरेर धेरै खबरदारीले चल्नुछ।

स्वयं गोपीवल्लभले तिमी आफ्ना प्रिय गोपगोपीहरूलाई सम्झाइरहनुभएको छ, तिमी हरेकको वास्तविक सत्य प्रेम कुन हो! हे प्राणहरू! तिमीले एकअर्काको प्रेम भरिएको सावधानीलाई स्वीकार गर्नुछ किनकि जति प्रिय फूल त्यति नै श्रेष्ठ पालना। फूललाई मूल्यवान बनाउनको लागि मालीले काँडाहरूबाट फूललाई निकाल्नु नै पर्छ। त्यसैगरी तिमीलाई पनि कसैले सावधानी दिन्छन् भने सम्झनुपर्छ– उनले मेरो पालना गरे अर्थात् मेरो सेवा गरे। त्यस सेवा अथवा पालनालाई आदर गर्नुछ, यही सम्पूर्ण बन्ने युक्ति हो। यही ज्ञानसहित आन्तरिक सत्य प्रेम हो। यस दिव्य प्रेममा एकअर्काको लागि धेरै आदर हुनुपर्छ। हरेक कुरामा पहिला आफैलाई नै सावधान गर्नुछ, यही निर्मानचित्त अति मधुर अवस्था हो। यसरी प्रेमपूर्वक चलेमा तिमीलाई यहाँ नै ती सत्ययुगका सुन्दर दिन जस्तै आन्तरिक रूपमा महसुस हुनेछन्। त्यहाँ त यो प्रेम स्वाभाविक हुन्छ तर यस सङ्गमको अति प्रिय समयमा एकअर्काको लागि सेवा गर्ने यो अति मीठो रमणीक प्रेम हो, यही कुरा शुद्ध प्रेम जगतमा गायन गरिएको छ।

तिमी हरेक चैतन्य फूलहरू हर्दम हर्षित मुख भएर रहनुछ किनकि निश्चय बुद्धि भएको कारण तिम्रो नसा नसामा सम्पूर्ण ईश्वरीय तागत समाहित भएको छ। यस्तो आकर्षण शक्तिले आफ्नो दिव्य चमत्कार अवश्य निकाल्छ। जसरी साना निर्दोष बच्चाहरू शुद्ध पवित्र भएको कारण सदैव हाँसिरहन्छन् र आफ्नो रमणीक चरित्रले सबैलाई धेरै आकर्षित गर्छन्। त्यसैगरी तिमी हरेकको यस्तो ईश्वरीय रमणीक जीवन हुनुपर्छ, यसको लागि तिमीले कुनै पनि युक्तिद्वारा आफ्ना आसुरी स्वभावहरूमाथि विजय प्राप्त गर्नुछ। कसैलाई क्रोध विकारको वश भएर आफ्नो अगाडि आएको देख्यौ भने उनीहरूको अगाडि ज्ञानरूप भएर बचपनको मीठो रीतिले मुस्कुराइराख्यौ भने उनी स्वयं शान्तचित्त हुनेछन् अर्थात् विस्मृतिस्वरूपबाट स्मृतिमा आउनेछन्। उनीहरूलाई थाहा नदिइकन सूक्ष्म रीतिले उनीहरूमाथि विजय पाएर मालिक बन्नु, यही मालिक र बालकपनको सर्वोच्च शिरोमणि विधि हो।

ईश्वर जसरी सम्पूर्ण ज्ञानरूप त्यसैगरी फेरि सम्पूर्ण प्रेमरूप पनि हुनुहुन्छ। ईश्वरमा दुवै गुणहरू समाहित भएका हुन्छन् तर पहिला ज्ञान, अनि प्रेम। यदि कोही पहिला ज्ञानरूप नबनी केवल प्रेमरूप बन्छ भने त्यो प्रेमले अशुद्ध खातामा लैजान्छ त्यसैले प्रेमलाई मर्ज गरेर पहिला ज्ञानरूप बनेर भिन्न भिन्न रूपमा आएको मायामाथि विजय पाएर पछि प्रेमरूप बन्नुछ। ज्ञानबिना प्रेममा आयौ भने कहीँ पनि विचलित हुनेछौ। जसरी कोही ज्ञानरूप नबनी ध्यानमा गए भने कैयौँ पटक मायामा फस्छन्, त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो ध्यान पनि एउटा डोरीको जञ्जिर हो तर ज्ञानरूप बनेर पछि ध्यानमा गएमा अति मोजको अनुभव हुनेछ। त्यसैले पहिला हुन्छ ज्ञान पछि हुन्छ ध्यान। ध्याननिष्ठ (ध्यानी) अवस्थाभन्दा ज्ञाननिष्ठ (ज्ञानी) अवस्था श्रेष्ठ हुन्छ त्यसैले हे प्यारा बच्चाहरू! पहिला ज्ञानरूप बनेर अनि प्रेम इमर्ज गर्नुछ। ज्ञानबिना केवल प्रेमले यस पुरुषार्थी जीवनमा विघ्न पार्छ।

साक्षीपनको अवस्था अति मीठो, रमणीक र सुन्दर छ। यस अवस्थामाथि नै आगामी जीवन सारा आधारित हुन्छ। जसरी कसैलाई कुनै शारीरिक भोगना आउँछ। त्यस समयमा उनी साक्षी, सुखरूप अवस्थामा उपस्थित भएर त्यसलाई भोग्छन् भने विगतका कर्महरूलाई भोगेर चुक्ता पनि गर्छन् र साथसाथै भविष्यको लागि सुखको हिसाब पनि बनाउँछन्। त्यसैले यो साक्षीपनको सुखरूप अवस्थाले भूत र भविष्य दुवैसँग सम्बन्ध राख्छ। यस राजलाई बुझेमा कसैले पनि यसरी भन्दैन, मेरो यो सुन्दर समय केवल चुक्ता गर्नमा गयो। होइन, यही सुन्दर पुरुषार्थको समय हो जुन समयमा दुवै कार्य सम्पूर्ण रीतिले सिद्ध हुन्छन्। यस्तो दुवै कार्यलाई सिद्ध गर्ने तीव्र पुरुषार्थी नै अतीन्द्रिय सुख वा आनन्दको अनुभवमा रहन्छ।

यस विविध विराट ड्रामाको हरेक कुरामा तिमी बच्चाहरूलाई सम्पूर्ण निश्चय हुनुपर्छ किनकि यो बनिबनाउ ड्रामा बाबाप्रति बिल्कुल वफादार छ। हेर न, यो ड्रामाले हरेक जीव प्राणीबाट उनीहरूको पार्ट पूर्ण रीतिले खेल्न लगाउँछ। चाहे कोही गलत छ भने त्यो गलत पार्ट पनि पूर्ण रीतिले खेल्न लगाउँछ। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। गलत र सही दुवै प्लानमा तोकिएका हुन्छन् भने फेरि कुनै कुरामा संशय उठाउनु, यो ज्ञान होइन किनकि हरेक एक्टरले आआफ्नो पार्ट खेलिरहेको छ। जसरी चलचित्रमा अनेक भिन्न भिन्न नाम रूपधारी कलाकारहरूले आआफ्नो अभिनय गर्छन्, उनीहरूलाई देखेर, कसैसँग घृणा आउने र कसैसँग खुशी हुने, यस्तो हुँदैन। यो त सबैलाई थाहा छ, यो एउटा खेल हो, जसमा हरेकलाई आआफ्नो श्रेष्ठ वा कनिष्ठ पार्ट मिलेको छ। त्यसैगरी यस अनादि बनेको चलचित्रलाई पनि साक्षी भएर एकरस अवस्थाबाट हर्षितमुख भएर हेरिरहनुछ। सङ्गठनमा यो प्वइन्ट धेरै राम्रोसँग धारण गर्नुछ। एकअर्कालाई ईश्वरीय सन्तानको रूपले हेर्नुछ, महसुसताको ज्ञान लिएर सर्व ईश्वरीय गुणहरूको धारणा गर्नुछ। आफ्नो लक्ष्यस्वरूपको स्मृतिद्वारा शान्तचित्त, निर्मानचित्त, धैर्यवान्, मिठास, शीतलता इत्यादि सर्व दैवीगुण इमर्ज गर्नुछ।

धैर्यवान् अवस्था धारण गर्ने मुख्य फाउन्डेसन हो– वेट एन्ड सी। हे मेरा प्रिय बच्चाहरू! वेट अर्थात् धैर्य गर्नु, सी अर्थात् हेर्नु। आफ्नो दिलभित्र पहिला धैर्यताको गुण धारण गरेर त्यसपछि फेरि बाहिर विराट ड्रामालाई साक्षी भएर हेर्नुछ। कुनै पनि राज सुन्ने समय समीप नआउँदासम्म धैर्यताको गुणको धारणा गर्नुछ। समय आएपछि त्यस धैर्यताको गुणले कुनै पनि राज सुन्दा कहिल्यै पनि विचलित हुनेछैनौ त्यसैले हे प्यारा पुरुषार्थी प्राणहरू! अलिकति पर्ख र अगाडि बढेर राज बुझ्दै जाऊ। यही धैर्यवान् अवस्थाबाट सारा कर्तव्य सम्पूर्ण रीतिले सिद्ध हुन्छ। यो गुण निश्चयसँग बाँधिएको छ। यस्ता निश्चयबुद्धिले साक्षी दृष्टा भएर हरेक खेललाई हर्षित मुहारले हेर्दै आन्तरिक रूपमा धैर्यवान् र अडोलचित्त रहन्छन्, यही ज्ञानको परिपक्व अवस्था हो जुन अन्त्यमा सम्पूर्णताको समयमा प्राक्टिकल हुन्छ त्यसैले धेरै समयदेखि लिएर यस साक्षीपनको अवस्थामा स्थित रहने परिश्रम गर्नुछ। जसरी नाटकमा कलाकारले आफूलाई मिलेको पार्ट पूर्ण रूपमा खेल्नको लागि पहिलादेखि नै रिहर्सल गर्नुपर्छ, त्यसैगरी तिमी प्रिय फूलहरूले पनि आउने भारी परीक्षाहरूमा योग बलद्वारा पास हुनको लागि पहिलादेखि नै रिहर्सल अवश्य गर्नुछ। तर धेरै समयदेखि यो पुरुषार्थ गरेको छैन भने त्यस समयमा दुविधामा परेर फेल हुनेछौ, त्यसैले पहिला आफ्नो ईश्वरीय फाउन्डेसन बलियो बनाएर दैवीगुणधारी बन्नुछ।

ज्ञानस्वरूप स्थितिमा स्थित रहेमा स्वतः शान्तरूप अवस्था हुन्छ। ज्ञानी आत्मा बच्चाहरूले सँगै बसेर मुरली सुने भने चारैतर्फ शान्तिको वायुमण्डल बन्छ किनकि उनीहरूले जुनसुकै पनि महावाक्य सुने भने पनि आन्तरिक रूपमा गहिराइमा जान्छन्। गहिराइमा गएको कारण आन्तरिक रूपमा उनीहरूलाई शान्तिको मीठो महसुसता हुन्छ। अब यसको लागि बसेर कुनै खास मेहनत गर्नुपर्दैन तर ज्ञानको अवस्थामा स्थित रहेमा यो गुण अनायास आउँछ। तिमी बच्चाहरू सबेरै सबेरै उठेर एकान्तमा बस्यौ भने शुद्ध विचारहरूरूपी लहरहरू उत्पन्न हुन्छन्, त्यस समयमा धेरै उपराम अवस्था हुनुपर्छ। अनि आफ्नो निज शुद्ध सङ्कल्पमा स्थित भएमा अन्य सबै सङ्कल्प आफै शान्त हुनेछन् र मन अमन (शान्त) हुनेछ किनकि मनलाई वश पार्नको लागि पनि कुनै तागत त अवश्य चाहिन्छ त्यसैले पहिला आफ्नो लक्ष्यस्वरूपका शुद्ध सङ्कल्पलाई धारण गर। आन्तरिक बुद्धियोग काइदा प्रमाण भयो भने तिम्रो यो अवस्था स्वतः निरसङ्कल्प अवस्था हुनेछ। अच्छा!

मीठे-मीठे ज्ञान गुल्जारी, ज्ञान सिताराहरूप्रति याद-प्यार, गुडमर्निङ एवं नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो लक्ष्यस्वरूपको स्मृतिद्वारा शान्तचित्त, निर्मानचित्त, धैर्यवान्, मिठास, शीतलता आदि सर्व दैवीगुण धारण गर्नुछ।

२) निश्चयबुद्धि साक्षीदृष्टा भएर यस खेललाई हर्षित अनुहारले हेर्दै आन्तरिक धैर्यवान् र अडोलचित्त रहनुछ। धेरै समयदेखि यस साक्षीपनको अवस्थामा स्थित रहने पुरुषार्थ गर्नुछ।

वरदान:–
ए उटै बाटो र एकसँग नाता राख्ने सम्पूर्ण फरिस्ता भव

निराकार वा साकाररूपले बुद्धिको सङ्ग वा नाता एक बाबासँग मजबुत छ भने फरिस्ता बन्नेछौ। जसको सर्व सम्बन्ध वा सर्व नाता एकसँग छ उनीहरू नै सदा फरिस्ता हुन्छन्। जसरी सरकारले बाटोमा बोर्ड लगाइदिन्छ, यो बाटो ब्लक (बन्द) छ, त्यसैगरी सबै बाटो ब्लक गरिदियौ भने बुद्धिको भट्काइ छुट्नेछ। बापदादाको यही फरमान छ- पहिला सबै बाटा बन्द गर। यसबाट सहजै फरिस्ता बन्नेछौ।

स्लोगन:–
सदा सेवाको उमङ्ग-उत्साहमा रहनु– यही मायाबाट सुरक्षाको साधन हो।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर।

तिम्रो बोली र स्वरूप दुवै साथसाथै हुन्– बोली स्पष्ट पनि होस्, त्यसमा स्नेह पनि होस्, नम्रता र मधुरता पनि होस्। सत्यता पनि होस् तर स्वरूपमा नम्रता पनि होस्, यही रूपले बाबालाई प्रत्यक्ष गर्न सक्नेछौ। निर्भय होऊ तर बोली मर्यादा भित्र होस्– यी दुवै कुराको ब्यालेन्स भयो भने कमाल देखिनेछ। अनि तिम्रा शब्द कडा होइन, मीठा लाग्नेछन्।