11.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ , तिमी बच्चाहरूलाई आफूसमान महिमा योग्य बनाउन , बाबाको ज े महिमा छ त्यो अहिले तिमीले धारण गर्छौ।”

प्रश्न:–
भक्तिमार्गमा परमात्मा मासुकलाई पूरा नचिनेका भए पनि उहाँलाई कुन शब्दले धेरै प्यारसँग बोलाउँछन् र याद गर्छन्?

उत्तर:–
धेरै प्यारले भन्छन् र याद गर्छन्– हे मासुक! हजुर आएपछि हामीले केवल हजुरलाई नै याद गर्नेछौँ र सबैसँग बुद्धियोग तोडेर हजुरसँग जोड्नेछौँ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएको छु त्यसैले देहीअभिमानी बन। तिम्रो पहिलो कर्तव्य हो– प्यारले बाबालाई याद गर्नु।

ओम् शान्ति ।
मीठा-प्यारा जीव आत्माहरूलाई, परमपिता परमात्मा (जसले अहिले शरीर लोन लिनुभएको छ) बसेर सम्झाउनुहुन्छ– म साधारण वृद्ध तनमा आउँछु। आएर धेरै बच्चाहरूलाई पढाउँछु। ब्रह्मा मुखवंशावली ब्राह्मण बच्चाहरूलाई नै सम्झाउनुहुन्छ। अवश्य मुखद्वारा नै सम्झाउनुहुन्छ। कसलाई सम्झाउनुहुन्छ? भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मलाई भक्तिमार्गमा बोलाउँदै आएका छौ– हे पतित-पावन! सबैले बोलाउँछन्। भारतवर्ष नै पावन थियो, बाँकी सबै शान्तिधाममा थिए। बच्चाहरूले यो स्मृतिमा राख्नुपर्छ, सत्ययुग-त्रेता केलाई भनिन्छ, द्वापर-कलियुग केलाई भनिन्छ। त्यसमा कस कसले राज्य गर्थे, तिम्रो बुद्धिमा यसको पूरा ज्ञान छ। जसरी बाबालाई रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ, त्यसरी नै तिम्रो बुद्धिमा पनि यो ज्ञान छ। बाबाले जुन ज्ञान दिनुहुन्छ त्यो ज्ञान बच्चाहरूमा पनि अवश्य हुनुपर्छ। बाबा आएर बच्चाहरूलाई आफूसमान बनाउनुहुन्छ। जति बाबाको महिमा छ त्यति बच्चाहरूको पनि छ। बाबाले बच्चाहरूलाई धेरै महिमाशाली बनाउनुभएको छ। सदैव सम्झ– शिवबाबाले यिनीद्वारा सिकाउनुहुन्छ। आत्माले नै एकअर्कासँग कुरा गर्छ। तर मानिसहरू देह अभिमानी भएका हुनाले फलानाले पढाउँछन् भन्ने सम्झन्छन्। वास्तवमा सबै कुरा आत्माले गर्छ। आत्माले नै पार्ट खेल्छ। देहीअभिमानी बन्नुछ। घरी घरी आफूलाई आत्मा सम्झनुछ। आफूलाई आत्मा नसम्झिएसम्म बाबालाई पनि याद गर्न सक्दैनौ। भुलिहाल्छौ। तिमीलाई सोधिन्छ– तिमी कसका बच्चा हौ? अनि भन्छौ– हामी शिवबाबाका बच्चा हौँ। आगन्तुक पुस्तिका (भिजिटर बुक) मा पनि लेखिएको छ– तिम्रा पिता को हुन्? तुरुन्त देहको पिताको नाम बताउँछन्। ठीक छ अब देहीको पिताको नाम बताऊ भनेर फेरि सोधियो भने कसैले श्रीकृष्णको, कसैले हनुमानको नाम लेख्छन् अथवा लेख्छन्– हामीलाई थाहा छैन। अरे, तिमीले लौकिक पितालाई चिन्छौ र पारलौकिक बाबा जसलाई तिमीले सदा दुःखमा याद गर्छौ, उहाँलाई चिन्दैनौ! भन्छन् पनि– हे भगवान्, दया गर्नुहोस्! हे भगवान्, एउटा बच्चा दिनुहोस! यसैगरी माग्छौ नि। अब बाबाले बिल्कुल सहज कुरा बताउनुहुन्छ। तिमी धेरै नै देह अभिमानमा रहन्छौ त्यसैले बाबाको वर्साको नसा चढ्दैन। तिमीलाई त धेरै नसा चढ्नुपर्छ। भक्ति गर्छन् नै– भगवानसँग मिल्नको लागि। यज्ञ, तप, दानपुण्य आदि गर्नु यो सबै भक्ति हो। सबैले एक भगवानलाई याद गर्छन्। बाबा भन्नुहुन्छ– म तिम्रो पतिहरूको पति हुँ, पिताहरूको पिता हुँ। सबैले अवश्य पिता भगवानलाई याद गर्छन्। आत्माहरूले नै याद गर्छन्। भन्न त भन्छन् पनि– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा... तर यो नबुझिकनै यत्तिकै भनिदिन्छन्। यसको रहस्य केही पनि थाहा छैन। तिमीले आत्मालाई नै जानेका छैनौ भने आत्माको पितालाई कसरी जान्न सक्छौ? साक्षात्कार त भक्तिमार्गको हुन्छ। भक्तिमार्गमा पूजाका लागि ठुला ठुला लिङ्ग राखिदिन्छन् किनकि बिन्दीको रूप देखाए भने कसैले बुझ्न सक्दैन। यो महिन कुरा हो। परमात्मा जसलाई अखण्ड ज्योतिस्वरूप भन्छन्, मानिसहरूले भन्छन्– उहाँको कुनै धेरै ठुलो रूप छ। ब्रह्मसमाजी मठकाले ज्योतिलाई परमात्मा भन्छन्। दुनियाँमा यो कुरा कसैलाई थाहा छैन, परमपिता परमात्मा बिन्दी हुनुहुन्छ, त्यसैले अलमलिएका छन्। बच्चाहरूले पनि भन्छन्– बाबा, कसलाई याद गरौँ? हामीले त सुनेका थियौँ, उहाँ ठुलो लिङ्ग हुनुहुन्छ, उहाँलाई याद गरिन्छ। अब बिन्दीलाई कसरी याद गरौँ? अरे, तिमी आत्मा पनि बिन्दी हौ, बाबा पनि बिन्दी हुनुहुन्छ। आत्मालाई बोलाउँछन्, उहाँ अवश्य यहाँ नै आएर बस्नुहुन्छ। भक्तिमार्गमा जुन साक्षात्कार आदि हुन्छ, त्यो सबै भक्ति हो। भक्ति पनि एकको गर्दैनन्, धेरैलाई भगवान् बनाइदिएका छन्। भक्त जसले भक्ति गरिरहन्छन्, तिनीहरूलाई भगवान् कसरी भन्न सकिन्छ? परमात्मा सर्वव्यापी हुनुहुन्छ भन्छन् भने फेरि भक्ति कसको गर्छन्? त्यो भक्ति पनि भिन्न प्रकारको गर्छन्।

बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यस्तो नसम्झ, हामी धेरै वर्ष बाँच्नुछ। अब समय धेरै नजिक हुँदै गइरहेको छ। निश्चय राख्नुछ– बाबाले ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। बाबा स्वयम् भन्नुहुन्छ– मैले यिनीद्वारा तिमीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य बताउँछु। भन्छन् पनि– ब्रह्माद्वारा स्थापना। यो कुरा जान्दैनन्, नयाँ दुनियाँलाई विष्णुपुरी भनिन्छ अर्थात् त्यहाँ विष्णुका दुई रूपले राज्य गर्थे। यो कुरा कसैलाई थाहा छैन, विष्णु को हुन्। तिमीलाई थाहा छ, यी ब्रह्मा-सरस्वती नै फेरि विष्णुका दुई रूप लक्ष्मीनारायण बनेर पालना गर्छन्। ब्रह्माद्वारा स्थापना, विष्णुपुरी अर्थात् फेरि स्वर्गको पालना गर्छन्। तिम्रो बुद्धिमा आउनुपर्छ– बाबा ज्ञानको सागर हुनुहुन्छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। उहाँलाई यस ड्रामाको आदि-मध्य-अन्त्यको विषयमा थाहा छ। उहाँ नै पतित-पावन हुनुहुन्छ, जुन बाबाको धन्दा हो, तिम्रो पनि त्यही धन्दा हो। तिमीले पनि पतितबाट पावन बनाउँछौ। दुनियाँमा एक पिताका ३-४ वटा बच्चा हुन्छन्, कुनै बच्चाले धेरै उन्नति गरेको हुन्छ, कुनै बिल्कुल सामान्य हुन्छ। यहाँ तिमीलाई बाबाले एउटै धन्दा सिकाउनुहुन्छ– तिमीले पतितहरूलाई पावन बनाउनुछ। सबैलाई यही लक्ष्य बताऊ– शिवबाबा भन्नुहुन्छ, मलाई याद गर। गीतामा श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्। तिमीले सम्झाउनुछ– भगवान् त निराकार, पुनर्जन्मरहित हुनुहुन्छ। बस्, श्रीकृष्ण भगवानुवाच भन्नु यही भूल हो। अहिले तिमी बच्चाहरू श्रीकृष्णपुरीको मालिक बनिरहेका छौ। कोही राजधानीमा आउँछन्, कोही प्रजामा। श्रीकृष्णपुरी भनिन्छ किनकि श्रीकृष्ण सबैलाई धेरै नै प्यारा छन्। बच्चाहरू प्यारा लाग्छन् नि। बच्चाहरूको पनि आमाबाबुसँग प्यार हुन्छ। प्यार सबैतिर फैलिन्छ। अब बाबा सम्झाउनुहुन्छ– तिमीले आफूलाई शरीर नसम्झ। घरी घरी आफूलाई आत्मा निश्चय गर्नुछ। आत्म अभिमानी बन्नुछ। बाबा पनि निराकार हुनुहुन्छ। यहाँ पनि शरीर लिनुपर्छ– सम्झाउनको लागि। शरीर बिना त सम्झाउन सक्नुहुन्न। तिम्रो त आफ्नो शरीर छ, बाबाले फेरि लोन लिनुहुन्छ। बाँकी यसमा प्रेरणा आदिको कुरै छैन। बाबा स्वयम् भन्नुहुन्छ– मैले यो शरीर धारण गरेर बच्चाहरूलाई पढाउँछु किनकि तिम्रो आत्मा जुन अहिले तमोप्रधान बनेको छ, त्यसलाई सतोप्रधान बनाउनुछ। गाउँछन् पनि– पतित-पावन आउनुहोस्! तर अर्थ बुझ्दैनन्। अहिले तिमीले बुझेका छौ– बाबा आएर कसरी पावन बनाउनुहुन्छ। यो पनि तिमीलाई थाहा छ। सत्ययुगमा केवल हाम्रो सानो वृक्ष हुन्छ, तिमी स्वर्गमा जानेछौ। बाँकी जुन यति खण्डहरू छन् तिनीहरूको नामनिसान हुँदैन। भारतवर्ष नै स्वर्ग हुन्छ। परमपिता परमात्माले नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ। अहिले नर्क छ। प्राचीन भारतवर्ष नै हो जहाँ देवताहरूको राज्य थियो, अहिले छैन। यहाँ उनीहरूका मन्दिर छन्, चित्र छन्। त्यसैले भारतवर्षकै कुरा भयो। यो कुनै पनि कुरा कसैको बुद्धिमा आउँदैन, भारतवर्ष स्वर्ग थियो, यी लक्ष्मीनारायण मालिक थिए र कुनै खण्ड थिएन। अब त अनेक धर्म आएका छन्। यहाँका मानिसहरू धर्मभ्रष्ट, कर्मभ्रष्ट बनेका छन्। श्रीकृष्णलाई श्यामसुन्दर भनिदिन्छन् तर अर्थ बुझ्दैनन्। अवश्य यिनी काला थिए नि। भन्छन्– श्रीकृष्णलाई सर्पले डस्यो अनि काला भए। तर उनी त सत्ययुगका राजकुमार थिए, उनी कसरी काला भए? अहिले तिमीले यी कुरा बुझेका छौ। श्रीकृष्णका आमाबाबुले पनि अहिले पढिरहेका छन्। आमाबाबुभन्दा उत्तम श्रीकृष्णलाई भनिएको छ। उनका आमाबाबुको कुनै नाम छैन। नत्र जुन आमाबाबुबाट यस्तो बच्चा पैदा भयो ती आमाबाबु पनि प्यारा हुनुपर्छ। तर होइन, महिमा सबै राधाकृष्णको छ। मातापिताको केही महिमा छैन। तिम्रो बुद्धिमा ज्ञान छ। ज्ञान दिन हो, भक्ति रात हो। अन्धकार रातमा मानिसहरूले ठक्कर खाइरहन्छन्।

अहिले तिमी बच्चाहरूलाई सम्झाइन्छ– घरमा बसेर यो सेवा पनि गरिराख। जसलाई पनि सम्झाउनुछ– तिमीहरू आधाकल्पका लागि एक मासुकका आसिक हौ। भक्तिमार्गमा सबैले उहाँलाई याद गर्छन् त्यसैले आसिक ठहरिए नि। तर मासुकलाई पूरा चिन्दैनन्। याद धेरै प्यारले गर्छन्– हे मासुक, हजुर जब आउनुहुन्छ तब हामी केवल हजुरलाई नै याद गर्नेछौँ र सबैसँग बुद्धियोग तोडेर हजुरसँग जोड्नेछौँ! यसरी नै त गाउँथे नि, तर बाबाबाट हामीलाई के वर्सा मिल्छ, यो कसैलाई पनि थाहा छैन। अब बाबा सम्झाउनुहुन्छ– तिमी देहीअभिमानी बन। बाबालाई याद गर्नु तिमी बच्चाहरूको पहिलो कर्तव्य हो। बच्चाले सदैव बाबुलाई, बच्चीले आमालाई याद गर्छन्। समान प्रकृतिका (हमजिन्स) हुन् नि। बच्चाले सम्झन्छ– म पिताको वारिस बन्नेछु। बच्चीले कहाँ भन्छिन र, उनले त सम्झन्छिन् म माइतीघरबाट पराईघर जानुछ। अब तिम्रो निराकार र साकार माइतीघर हो। बोलाउँछन् पनि– हे परमपिता परमात्मा, दया गर्नुहोस्, दुःख हरण गरेर सुख दिनुहोस्, हामीलाई मुक्त गर्नुहोस्, हाम्रो गाइड बन्नुहोस्! तर त्यसको अर्थ ठुला ठुला विद्वान् आचार्यले पनि जान्दैनन्। बाबा त सबैको मुक्तिदाता हुनुहुन्छ, उहाँ नै सबैको कल्याणकारी हुनुहुन्छ। बाँकी उनीहरूले आफ्नै कल्याण गर्न सक्दैनन् भने अरूको कल्याण कसरी गर्लान्? उहाँ बाबा भन्नुहुन्छ– म गुप्त रूपमा आउँछु, खुदा दोस्तको कहानी सुनेका छौ नि। अब यो सङ्गमयुग पुल हो कलियुग र सत्ययुगका बीचको, त्यसबाट पार जानुछ। अब खुदा त बाबा हुनुहुन्छ, दोस्त पनि हुनुहुन्छ। माता, पिता, शिक्षकको पार्ट पनि खेल्नुहुन्छ। यहाँ तिमीलाई साक्षात्कार भयो भने जादु जादु भनिदिन्छन्। साक्षात्कार त नवधा भक्ति गर्नेहरूलाई पनि हुन्छ, भक्त धेरै तीक्ष्ण हुन्छन्। भन्छन् दर्शन दिनुहोस्, नत्र हामीले घाँटी काट्छौँ, त्यसपछि साक्षात्कार हुन्छ, त्यसलाई नवधा भक्ति भनिन्छ। यहाँ नवधा भक्तिको कुरा छैन। घरमा बस्दाबस्दै पनि धेरैलाई साक्षात्कार भइरहन्छ। दिव्य दृष्टिको चाबी मसँग छ। अर्जुनलाई पनि मैले दिव्य दृष्टि दिएँ नि। यो विनाश हेर, आफ्नो राज्यलाई हेर। अब म एकलाई याद गरेमा यस्तो बन्नेछौ। अहिले तिमीले बुझेका छौ– विष्णु को हुन्? मन्दिर बनाउनेहरूले स्वयम् जान्दैनन्। विष्णुद्वारा पालना, ४ भुजाको अर्थ नै हो– २ भुजा पुरुषका, २ महिलाका। विष्णुका दुई रूप लक्ष्मीनारायण हुन्। तर केही पनि बुझ्दैनन्। कसैलाई पनि यो ज्ञान छैन। न शिवबाबाको, न विष्णुको। पहिला सुरुमा बाबाको आकर्षण थियो, धेरै आउँथे। सुरुवातमा सारा आँगन भरिन्थ्यो। न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (मजिस्ट्रेट) सबै आउँथे। फेरि विकारको झगडा सुरु भयो, भन्न थाले– बच्चा पैदा भएनन् भने सृष्टि कसरी चल्छ? यो त सृष्टि बढ्ने नियम हो। गीताको कुरा नै भुलिदिए। भगवानुवाच– काम महाशत्रु हो, त्यसमाथि विजय पाउनुछ। उनीहरूले भन्न थाले– स्त्रीपुरुष दुवै सँगसँगै आए भने उनीहरूलाई ज्ञान देऊ। एक्लैलाई नदेऊ। भन अब दुवै आए भने दिन्छौँ नि। हेर, दुवैलाई सँगसँगै पनि दिन्छौँ, तापनि कसैले ज्ञान लिन्छन्, कसैले लिँदैनन्। तकदिरमा छैन भने के गर्न सक्छौ? एक हाँस, एक बकुल्ला बन्न पुग्छन्। यहाँका तिमी ब्राह्मणहरू देवताहरूभन्दा पनि उत्तम छौ। तिमीलाई थाहा छ– हामी ईश्वरीय सन्तान हौँ, शिवबाबाका बच्चा हौँ। त्यहाँ स्वर्गमा तिमीलाई यो ज्ञान हुँदैन, न तिमी आत्माहरू निराकारी दुनियाँ मुक्तिधाममा हुँदा त्यहाँ यो ज्ञान हुन्छ। यो ज्ञान शरीरको साथै समाप्त हुन्छ। अहिले तिमीलाई ज्ञान छ, एक बाबाले पढाइरहनुभएको छ। अब यो खेल पूरा हुन्छ, सबै कलाकारहरू यहीँ हाजिर छन्। बाबा पनि आउनुभएको छ। बाँकी रहेका आत्माहरू पनि आइरहन्छन्। सबै आइसकेपछि मात्र विनाश हुनेछ, फेरि सबैलाई बाबाले साथै लैजानुहुनेछ। सबै जानुछ, यस पतित दुनियाँको विनाश हुनुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पतितबाट पावन बनाउने जुन धन्दा बाबाको हो, तिमीले त्यही धन्दा गर्नुछ। सबैलाई लक्ष्य दिनुछ– बाबालाई याद गर्नुछ र पावन बन्नुछ।

२) यो ब्राह्मण जीवन देवताहरूको भन्दा पनि उत्तम जीवन हो, यस नसामा रहनुछ। बुद्धिको योग अरू सबैबाट तोडेर एक मासुकलाई याद गर्नुछ।

वरदान:–
त्याग र स्नेहको शक्तिद्वारा सेवामा सफलता प्राप्त गर्ने स्नेही सहयोगी भव

जसरी सुरुमा ज्ञानको शक्ति थोरै थियो तर त्याग र स्नेहको आधारमा सफलता मिल्यो। बुद्धिमा दिनरात बाबा र यज्ञतर्फ लगन रह्यो, हृदयबाट निस्कन्थ्यो– बाबा र यज्ञ। यही स्नेहले सबैलाई सहयोगमा ल्यायो। यही शक्तिले सेवाकेन्द्र बने। साकार स्नेहले नै मनमनाभव बने, साकार स्नेहले नै सहयोगी बनायो। अहिले पनि त्याग र स्नेहको शक्तिले घेरा हाल्यौ भने सफलता मिल्नेछ।

स्लोगन:–
फरिस्ता बन्नको लागि व्यर्थ वचन वा डिस्टर्ब गर्ने वचनबाट मुक्त बन।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

कुनै पनि कुरा होस् चाहे प्रकृतिको, चाहे व्यक्तिको, दुवैले अचल स्थितिको आसनलाई अलिकति पनि हल्लाउन नसकुन्। यति पक्का छौ नि! जसरी हेर, शरीर आसनमा टिक्न सक्दैन भने हलचल गर्छ नि! त्यसैगरी मनले हलचल त गर्दैन? सदा अचल, अडोल, अलिकति पनि हलचल नहोस्। यदि कहिले हलचल र कहिले अचल छ भने सिंहासन पनि कहिले मिल्छ, कहिले मिल्दैन।