11.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी बाबाको पासमा आएका छौ आफ्नो चरित्र सुधार्न , तिमीले अब दैवी चरित्र बनाउनु छ।”

प्रश्न:–
तिमी बच्चाहरूलाई आँखा बन्द गरेर बस्न मनाही किन गरिन्छ?

उत्तर:–
किनकि नजरबाट निहाल (सन्तुष्ट) गर्ने बाबा तिम्रो सम्मुख हुनुहुन्छ। यदि आँखा बन्द भएमा निहाल कसरी हुन्छौ? स्कुलमा आँखा बन्द गरेर बसिँदैन। आँखा बन्द भएमा सुस्ती आउँछ। तिमी बच्चाहरू त स्कुलमा पढाइ पढिरहेका छौ, यो कमाइको स्रोत हो। लाखौं पदमौंको कमाइ भइरहेको छ, कमाइमा सुस्ती वा उदासी आउन सक्दैन।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई बाबा सम्झाउनु हुन्छ। रुहानी पिता परमधामबाट आएर हामीलाई पढाइरहनु भएको छ, यो त बच्चाहरूले जानेका छन्। के पढाइरहनु भएको छ? बाबाको साथमा आत्माको योग लगाउन सिकाउनु हुन्छ जसलाई यादको यात्रा भनिन्छ। यो पनि बताउनु भएको छ– प्यारा रुहानी बच्चाहरू! बाबालाई याद गर्दागर्दै तिमी पवित्र बनेर आफ्नो पवित्र शान्तिधाममा पुग्छौ। यो ज्ञान कति सहज छ। आफूलाई आत्मा सम्झ अनि आफ्नो प्रियतम बेहदका बाबालाई याद गर, तब जुन तिम्रो जन्म-जन्मान्तरको पाप छ, त्यो भस्म हुँदै जान्छ। यसलाई नै योग अग्नि भनिन्छ। यो भारतवर्षको प्राचीन राजयोग हो, जुन बाबाले नै ५ हजार वर्षपछि आएर सिकाउँदै हुनुहुन्छ। बेहदका पिताले नै भारतवर्षमा, यस साधारण तनमा आएर तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ। यस यादबाटै तिम्रो जन्मजन्मान्तरको पाप काटिन्छ किनकि बाबा पतित-पावन हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ। तिम्रो आत्माको ब्याट्री अहिले तमोप्रधान बनेको छ। जुन सतोप्रधान थियो अब फेरि त्यसलाई सतोप्रधान कसरी बनाउने, जसले गर्दा तिमी सतोप्रधान दुनियाँमा जान सक्छौ वा शान्तिधाम घरमा जान सक्छौ। बच्चाहरूले यो धेरै राम्रोसँग याद राख्नुपर्छ। बाबाले बच्चाहरूलाई यो खुराक दिनुहुन्छ। यो यादको यात्रा उठ्दा-बस्दा, हिँड्दा-डुल्दा तिमीले गर्न सक्छौ। जति हुन सक्छ गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र रहनु छ। बाबालाई याद गर्नु छ, साथसाथै दैवी गुण पनि धारण गर्नु छ किनकि मानिसहरूको त आसुरी चरित्र छ। तिमी बच्चाहरू यहाँ आएका हौ दैवी चरित्र बनाउन। यी लक्ष्मी-नारायणको चरित्र धेरै मीठो थियो। भक्तिमार्गमा उनको नै महिमा भएको छ। भक्तिमार्ग कहिलेदेखि सुरु हुन्छ, यो पनि कसैलाई थाहा छैन। अहिले तिमीले बुझेका छौ– रावण राज्य कहिलेबाट सुरु भयो, यो पनि अब बुझेका छौ। तिमी बच्चाहरूले यो सारा ज्ञान बुद्धिमा राख्नु छ। जबकि जानेका छौ– हामी ज्ञानसागर रुहानी बाबाका बच्चा हौं। अहिले रुहानी बाबाले हामीलाई पढाउन आउनु हुन्छ। यो पनि जानेका छौ– बाबा कुनै साधारण पिता हुनुहुन्न। उहाँ हुनुहुन्छ रुहानी बाबा, जसले हामीलाई पढाउन आउनु भएको छ। उहाँको निवास स्थान सदैव ब्रह्मलोक हो। सबैका लौकिक पिता त यहाँ छन्। हामी आत्माहरूलाई पढाउनेवाला परमपिता परमात्मा हुनुहुन्छ, जो बेहदका पिता हुनुहुन्छ, यसमा बच्चाहरूले राम्रोसँग निश्चय राख्नु छ। भक्तिमार्गमा लौकिक पिता हुँदाहुँदै पनि परमपिता परमात्मालाई बोलाउँछन्। उहाँको एउटै यथार्थ नाम शिव हो। बाबा स्वयं सम्झाउनु हुन्छ– मीठा-प्यारा बच्चाहरू! मेरो नाम एउटै शिव हो। बनाउन त अनेक मन्दिर बनाएका छन्, तर ती सबै हुन् भक्तिमार्गका सामग्री। यथार्थ नाम एउटै शिव हो। तिमी बच्चाहरूलाई आत्मा नै भनिन्छ, शालिग्राम भने पनि हर्जा छैन। अनेकानेक शालिग्राम छन्। शिव एउटै हुनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदका पिता, बाँकी सबै हुन् बच्चाहरू। यस भन्दा पहिला तिमीहरू हदका बच्चा, हदको पिताको साथमा रहन्थ्यौ। ज्ञान त थिएन। बाँकी अनेक प्रकारको भक्ति गरिरहन्थ्यौ। आधाकल्प भक्ति गर्यौ, द्वापरदेखि लिएर भक्ति सुरु हुन्छ। रावण राज्य पनि सुरु भएको छ। यो त धेरै सहज कुरा छ। तर यति सहज कुरा पनि कसैले मुस्किलले बुझ्छन्। रावण राज्य कहिलेदेखि सुरु हुन्छ, यो पनि कसैले जानेका छैनन्। तिमी मीठे बच्चेले जानेका छौ– बाबा नै ज्ञानका सागर हुनुहुन्छ। जो उहाँसँग छ आएर त्यो बच्चाहरूलाई दिनुहुन्छ। शास्त्र त हुन् भक्तिमार्गका।

अब तिमीले बुझिसकेका छौ– ज्ञान, भक्ति र फेरि हुन्छ वैराग्य। यी ३ मुख्य छन्। संन्यासीहरूले पनि जानेका छन्– ज्ञान, भक्ति र वैराग्य। तर संन्यासीहरूको हो उनीहरूको हदको वैराग्य। उनीहरूले बेहदको वैराग्य सिकाउन सक्दैनन्। दुई प्रकारका वैराग्य छन्– एउटा छ हदको, अर्को छ बेहदको। त्यो हो हठयोगी संन्यासीहरूको वैराग्य। यो हो बेहदको। तिम्रो हो राजयोग, उनले घरबार छोडेर जङ्गलमा गएपछि उनीहरूको नाम नै रहन्छ संन्यासी। हठयोगीले घरबार छोड्छन् पवित्र रहनको लागि। यो पनि राम्रो हो। बाबा भन्नुहुन्छ– भारतखण्ड त धेरै पवित्र थियो। यति पवित्र खण्ड अरू कुनै हुँदैन। भारतखण्डको त धेरै उच्च महिमा छ, जुन स्वयंले जानेका छैनन्। बाबालाई बिर्सिनाले सबैथोक बिर्सिन्छन् अर्थात् नास्तिक अनाथ बन्न पुग्छन्। सत्ययुगमा कति सुख-शान्ति थियो। अहिले कति दु:ख-अशान्ति छ! मूलवतन त हो नै शान्तिधाम, जहाँ हामी आत्माहरू रहन्छौं। आत्माहरू आफ्नो घरबाट यहाँ आउँछन् बेहदको अभिनय गर्न। अहिले यो हो पुरुषोत्तम सङ्गमयुग, जुन समयमा बेहदका बाबा आउनु हुन्छ नयाँ दुनियाँमा लिएर जान। बाबा आएर उत्तम भन्दा उत्तम बनाउनु हुन्छ। उच्च भन्दा उच्च भगवानलाई भनिन्छ। तर उहाँ को हुनुहुन्छ, कसलाई भनिन्छ, यो केही पनि बुझ्दैनन्। एउटा ठुलो लिङ्ग राखिदिएका छन्। सम्झन्छन्– उहाँ निराकार परमात्मा हुनुहुन्छ। हामी आत्माहरूका उहाँ पिता हुनुहुन्छ– यो पनि बुझ्दैनन्, केवल पूजा गर्छन्। सदैव शिवबाबा भन्छन्, रुद्रबाबा वा बबुलनाथ बाबा भन्दैनन्। तिमीले लेख्छौ पनि, शिवबाबाको याद छ? वर्साको याद छ? यो स्लोगन घर घरमा राख्नु पर्छ– शिवबाबालाई याद गरेमा पाप भस्म हुन्छ किनकि पतित-पावन एउटै बाबा हुनुहुन्छ। यस पतित दुनियाँमा त एकजना पनि पावन हुन सक्दैन। पावन दुनियाँमा फेरि एकजना पनि पतित हुन सक्दैन। शास्त्रहरूमा त सबै ठाउँ पतित लेखिदिएका छन्। त्रेतामा पनि भन्छन् रावण थियो, सीताको अपहरण गर्यो। श्रीकृष्णको साथ कंस, जरासन्धी, हिरण्यकश्यप आदि देखाएका छन्। श्रीकृष्णलाई कलङ्क लगाइदिएका छन्। अब सत्ययुगमा यो सबै हुन सक्दैन। कति झुटा कलङ्क लगाएका छन्। बाबामाथि पनि कलङ्क लगाएका छन् भने देवताहरूमाथि पनि कलङ्क लगाएका छन्। सबैको ग्लानि गरिरहन्छन्। अब बाबा भन्नुहुन्छ– यो यादको यात्रा हो, आत्मालाई पवित्र बनाउनको लागि। पावन बनेर फेरि पावन दुनियाँमा जानु छ। बाबाले ८४ को चक्र पनि सम्झाउनु भएको छ। अहिले तिम्रो यो अन्तिम जन्म हो, फेरि घर जानु छ। घरमा शरीर त जाने छैन। सबै आत्माहरू जान्छन्, त्यसैले मीठा-प्यारा रुहानी बच्चाहरू! आफूलाई आत्मा सम्झेर बस, देह नसम्झ। अरू सत्सङ्गहरूमा त तिमी देहअभिमानी भएर बस्छौ। यहाँ बाबा भन्नुहुन्छ– देहीअभिमानी भएर बस। जसरी ममा यो संस्कार छ, म ज्ञानको सागर हुँ... तिमी बच्चाहरू पनि यस्तै बन्नु छ। बेहदका पिता र हदका पितामा भिन्नता पनि बताउनु हुन्छ। बेहदका बाबा बसेर तिमीलाई सारा ज्ञान सम्झाउनु हुन्छ। पहिला जान्दैनथ्यौ। अहिले सृष्टिको चक्र कसरी फिर्छ, यसको आदि-मध्य-अन्त्य र चक्रको अवधि कति छ, सबै बताउनु हुन्छ। भक्तिमार्गमा त कल्पको अवधि लाखौं वर्ष भनी सुनाएर घोर अन्धकारमा पुर्याइदिएका छन्। तलतिरै झर्दै आएका छन्। भन्ने पनि गर्छन् नि– जति हामीले भक्ति गर्छौं त्यति भगवानलाई तल तान्छौं। उहाँ आएर हामीलाई पावन बनाउनु हुन्छ। बाबालाई तान्छन् किनकि पतित छन्, धेरै दु:खी बन्छन्। फेरि भन्छन्– हामीले बाबालाई बोलाउँछौं। बाबाले पनि देख्नुहुन्छ– बिल्कुल दु:खी तमोप्रधान बनेका छन्, ५ हजार वर्ष पूरा हुन्छ अनि फेरि आउनु हुन्छ। यो पढाइ कुनै यस दुनियाँको लागि होइन। तिम्रो आत्माले धारण गरेर साथमा लिएर जान्छ। जसरी म ज्ञानको सागर हुँ त्यसैगरी तिमी पनि ज्ञानका नदीहरू हौ। यो ज्ञान कुनै यस दुनियाँको लागि होइन। यो त फोहोरी दुनियाँ, फोहोरी शरीर हो, यसलाई छोड्नु छ। शरीर त यहाँ पवित्र हुन सक्दैन। म आत्माहरूको पिता हुँ। आत्माहरूलाई नै पवित्र बनाउन आएको हुँ। यी कुरा मानिसहरूले त केही पनि बुझ्न सक्दैनन्। बिल्कुलै पत्थरबुद्धि, पतित छन् त्यसैले गाउँछन्– पतित-पावन...। आत्मा नै पतित बनेको छ। आत्माले नै सबैथोक गर्छ। भक्ति पनि आत्माले गर्छ, शरीर पनि आत्माले लिन्छ।

अब बाबा भन्नुहुन्छ– म तिमी आत्माहरूलाई लिनको लागि आएको हुँ। म बेहदको पिता तिमी आत्माहरूको निमन्त्रणमा आएको हुँ। तिमीले कति पुकार्यौ। अहिलेसम्म पनि बोलाइरहन्छन्– हे पतित-पावन, हे भगवान! आएर यस पुरानो दुनियाँको दु:खबाट, रावणबाट मुक्त गर्नुहोस्, अनि हामी सबै घरमा जान सकौं। अरू त कसैलाई थाहै छैन– हाम्रो घर कहाँ हो, घरमा कसरी, कहिले जान्छौं। मुक्तिको लागि कति कोसिस गर्छन्, कति गुरु बनाउँछन्। जन्मजन्मान्तर मेहनत गर्दै आएका छन्। ती गुरुहरूले जीवनमुक्तिको सुखलाई त जानेकै छैनन्। उनीहरूले मुक्ति चाहन्छन्। भन्ने पनि गर्छन्– विश्वमा शान्ति कसरी हुन सक्छ? संन्यासीहरूले पनि मुक्तिलाई नै जानेका छन् जीवनमुक्तिलाई त जानेका छैनन्। तर मुक्ति-जीवनमुक्ति दुवै वर्सा बाबाले नै दिनुहुन्छ। तिमी जब जीवनमुक्तिमा हुन्छौ त्यतिबेला बाँकी सबै मुक्तिमा जान्छन्। अहिले तिमी बच्चाहरूले ज्ञान लिइरहेका छौ, यस्तो बन्नको लागि। तिमीले नै सबैभन्दा धेरै सुख देखेका छौ, फेरि सबैभन्दा धेरै दु:ख पनि तिमीले देखेका छौ। तिमी आदि सनातन देवी-देवता धर्मका नै फेरि धर्मभ्रष्ट, कर्मभ्रष्ट बनेका छौ। तिमी पवित्र प्रवृत्ति मार्गवाला थियौ, यी लक्ष्मी-नारायण पवित्र प्रवृत्ति मार्गका हुन्। घरबार छोड्नु, यो संन्यासीहरूको धर्म हो। संन्यासी पनि पहिला असल थिए। तिमी पनि पहिला धेरै असल थियौ, अहिले तमोप्रधान बनेका छौ। बाबा भन्नुहुन्छ– यो ड्रामाको खेल हो। बाबा सम्झाउनु हुन्छ– यो पढाइ हो नै नयाँ दुनियाँको लागि। पतित शरीर, पतित दुनियाँमा ड्रामा अनुसार मलाई फेरि ५ हजार वर्षपछि आउनु पर्छ। न कल्प लाखौं वर्षको छ, न म सर्वव्यापी हुँ। यो त तिमी मेरो ग्लानि गर्दै आयौ। मैले फेरि पनि तिमीमाथि कति उपकार गर्छु। जति शिवबाबाको ग्लानि गरेका छन्, त्यति अरू कसैको गरेका छैनन्। जो बाबाले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ, तिमीले भनिरहन्छौ– उहाँ सर्वव्यापी हुनुहुन्छ। जब ग्लानिको पनि हद हुन्छ, तब फेरि म आएर उपकार गर्छु। यो हो पुरुषोत्तम सङ्गमयुग, कल्याणकारी युग। जबकि तिमीलाई पवित्र बनाउन आउँछु। पावन बनाउने कति सहज युक्ति बताउनु हुन्छ। तिमीले भक्तिमार्गमा धेरै धक्का खायौ, तलाउमा पनि स्नान गर्न जान्छन्, सम्झन्छन्– यसबाट पावन बनिन्छ। अब कहाँ त्यो पानी र कहाँ पतित-पावन बाबा। ती सबै हुन् भक्तिमार्ग, यो हो ज्ञानमार्ग। मानिसहरू कति घोर अन्धकारमा छन्। कुम्भकर्णको निद्रामा सुतेका छन्। यो त तिमीलाई थाहा छ– गायन पनि छ, विनाशकाले विपरीत बुद्धि विनश्यन्ति। अहिले तिम्रो नम्बरवार पुरुषार्थ अनुसार प्रीत बुद्धि छ। पूरा छैन किनकि मायाले घरी घरी भुलाइदिन्छ। यो हो ५ विकारहरूको लडाइँ। ५ विकारहरूलाई रावण भनिन्छ। रावणमाथि गधाको टाउको देखाउँछन्।

बाबाले यो पनि सम्झाउनु भएको छ– स्कुलमा कहिल्यै आँखा चिम्लेर बस्दैनन्। त्यो त भक्तिमार्गमा भगवानलाई याद गर्दा आँखा चिम्लेर बस्ने शिक्षा दिन्छन्। यहाँ त बाबा भन्नुहुन्छ– यो स्कुल हो। सुनेका पनि छन्– नजरबाट निहाल....। भन्छन्– यी जादूगर हुन्। अरे, त्यो त गायन पनि छ। देवताहरू पनि नजरबाट निहाल हुन्छन्। नजरबाट मनुष्यलाई देवता बनाउनेवाला जादूगर त भए नि। बाबा बसेर ब्याट्री चार्ज गर्नुहुन्छ, तर बच्चाहरू आँखा बन्द गरेर बस्छन् भने के भन्ने! स्कुलमा आँखा चिम्लेर बस्दैनन्। नत्र त आलस्य आउँछ। पढाइ त हो कमाइको स्रोत। लाखौं पदमौंको कमाइ हुन्छ। कमाइमा कहिल्यै हाई गर्दैनन्। यहाँ आत्माहरूलाई सुधार्नु छ। यो लक्ष्य-उद्देश्य खडा छ। यिनीहरूको राजधानी देख्नु छ भने देलवाडा जाऊ। त्यो हो जड, यो हो चैतन्य देलवाडा मन्दिर। देवताहरू पनि छन्, स्वर्ग पनि छ। सर्वका सद्गतिदाता आबूमा नै आउनु हुन्छ, त्यसैले सबैभन्दा महान् तीर्थ आबू हो। जति पनि धर्म स्थापक अथवा गुरुहरू छन्, सबैको सद्गति बाबाले यहाँ आएर गर्नुहुन्छ। यो सबैभन्दा ठुलो तीर्थ हो, तर गुप्त छ। यसलाई कसैले जानेका छैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जो संस्कार बाबामा छ, त्यही संस्कार धारण गर्नु छ। बाबा समान ज्ञानको सागर बन्नु छ। देहीअभिमानी भएर रहने अभ्यास गर्नु छ।

२) आत्मा रूपी ब्याट्रीलाई सतोप्रधान बनाउनको लागि हिँड्दा-डुल्दा यादको यात्रामा रहनु छ। दैवी चरित्र धारण गर्नु छ। अति मीठो बन्नु छ।

वरदान:–
त्रिकालदर्शी बनेर दिव्य बुद्धिको वरदानलाई कार्यमा लगाउने सफलता सम्पन्न भव

बापदादाले हरेक बच्चालाई दिव्य बुद्धिको वरदान दिनु भएको छ। दिव्य बुद्धिद्वारा नै बाबालाई, आफैलाई र तीनै काललाई स्पष्ट जान्न सक्छौ। सर्व शक्तिहरूलाई धारण गर्न सक्छौ। दिव्य बुद्धि भएको आत्माले कुनै पनि सङ्कल्पलाई कर्म वा वाणीमा ल्याउनुभन्दा पहिला हरेक बोली वा कर्मको तीनै काललाई जानेर व्यवहारमा आउँछ। उसको अगाडि भूत र भविष्य पनि यस्तो स्पष्ट हुन्छ, जति वर्तमान स्पष्ट छ। यस्तो दिव्य बुद्धिवाला त्रिकालदर्शी हुनुको कारण सदा सफलता सम्पन्न बन्छ।

स्लोगन:–
सम्पूर्ण पवित्रतालाई धारण गर्नेले नै परमानन्दको अनुभव गर्न सक्छ।