12.01.25    Avyakt Bapdada     Nepali Murli    15.11.2003     Om Shanti     Madhuban


मनलाई एकाग्र गरेर एकाग्रताको शक्तिद्वारा फरिश्ता स्थितिको अनुभव गर


आज सर्व खजानाका मालिकले आफ्ना चारैतिरका सम्पन्न बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चालाई सर्व खजानाको मालिक बनाउनुभएको छ। यस्तो खजाना मिलेको छ, जुन अरू कसैले दिन सक्दैन। त्यसोभए हरेकले आफूलाई खजानाले सम्पन्न अनुभव गर्छौ? सबैभन्दा श्रेष्ठ खजाना हुन् ज्ञानका खजाना, शक्तिहरूका खजाना, गुणहरूका खजाना साथसाथै बाबा र सर्व ब्राह्मण आत्माहरूका आशीर्वादका खजाना। अब जाँच गर, यी सर्व खजाना प्राप्त छन् त? सर्व खजानाले सम्पन्न भएको आत्माको निसानी सदा नयनहरूबाट, चेहराबाट, चालचलनबाट अरूलाई पनि खुसी अनुभव हुनेछ। जुनसुकै पनि आत्मा सम्पर्कमा आउँछ, उसले अनुभव गर्नेछ– यो आत्मा अलौकिक खुसीले, अलौकिक न्यारा देखिन्छ। तिमीहरूको खुसी देखेर अन्य आत्माहरूले पनि केही समयका लागि खुसी अनुभव गर्नेछन्। जसरी तिमी ब्राह्मण आत्माहरूको सेतो ड्रेस सबैलाई कति न्यारा र प्यारा लाग्छ। स्वच्छता, सादगी र पवित्रता अनुभव हुन्छ। टाढैबाट जान्दछन्, यो ब्रह्माकुमार कुमारी हो। त्यसैगरी तिमी ब्राह्मण आत्माहरूको चालचलन र चेहराबाट सदा खुसीको झलक, सौभाग्यको फलक (नसा) देखियोस्। आज सर्व आत्माहरू घोर दुःखी छन्, यस्ता आत्माहरूले तिमीहरूको खुशनुमा (प्रसन्न) चेहरा देखेर, चालचलन देखेर एक घडीको मात्रै भएपनि खुसीको अनुभूति गरून्, जसरी तिर्खाएको आत्मालाई यदि एक थोपा पानी मिल्यो भने कति खुसी हुन्छ, त्यसैगरी आत्माहरूका लागि खुसीको अञ्जली धेरै आवश्यक छ। यस्ता सर्व खजानाले सदा सम्पन्न बन। हरेक ब्राह्मण आत्माले आफूलाई सर्व खजानाले सदा भरिपूर्ण अनुभव गर्छौ वा कहिलेकाहीँ? खजाना अविनाशी छन्, दिने दाता पनि अविनाशी हुनुहुन्छ त्यसोभए रहनु पनि अविनाशी पर्छ किनकि तिमीहरूलाई जस्तो अलौकिक खुसी सारा कल्पमा तिमी ब्राह्मणहरूबाहेक अरू कसैलाई पनि प्राप्त हुँदैन। यो अहिलेको अलौकिक खुसी आधाकल्प प्रारब्धको रूपमा चल्छ, त्यसोभए सबै खुसी छौ! यसमा त सबैले हात उठाए, अच्छा, सदा खुसी छौ? कहिल्यै खुसी त जाँदैन? कहिलेकाहीँ त जान्छ! खुसी रहन्छौ तर सदा एकरस, त्यसमा अन्तर आउँछ। खुसी रहन्छौ तर प्रतिशतमा अन्तर आउँछ।

बापदादाले अटोमेटिक टि.भी.बाट सबै बच्चाहरूको चेहरा हेरिरहनुहुन्छ। त्यसमा के देखिन्छ? एक दिन तिमीहरूले पनि आफ्नो खुसीको चार्ट जाँच गर– अमृतवेलादेखि लिएर रातसम्म के खुसीको प्रतिशत एकैनासको रहन्छ? वा परिवर्तन हुन्छ? जाँच गर्न त आउँछ नि, आजकाल हेर, साइन्सले पनि जाँच गर्ने मेसिनरी धेरै तीक्ष्ण बनाएको छ। तिमीहरूले पनि जाँच गर र अविनाशी बनाऊ। बापदादाले पनि सबै बच्चाहरूको वर्तमान पुरुषार्थ जाँच गर्नुभयो। पुरुषार्थ सबैले गरिरहेका छन्– कसैले यथाशक्ति, कसैले शक्तिशाली। आज बापदादाले सबै बच्चाहरूको मनको स्थिति जाँच गर्नुभयो किनकि मूल नै मनमनाभव हो। सेवामा पनि हेर त मनसा सेवा श्रेष्ठ सेवा हो। भन्छन् पनि, मन जिते जगत् जित, त्यसैले मनको गति जाँच गर्नुभयो। के देख्नुभयो? मनको मालिक बनेर मनलाई चलाउँछौ तर कहिलेकाहीँ मनले तिमीहरूलाई पनि चलाउँछ। मनले परवश पनि पारिदिन्छ। बापदादाले देख्नुभयो, मनबाट लगन लगाउँछौ तर मनको स्थिति एकाग्र हुँदैन।

वर्तमान समयमा मनको एकाग्रताले एकरस स्थितिको अनुभव गराउनेछ। अहिले परिणाममा देखियो– मनलाई एकाग्र पार्न चाहन्छौ तर बीचबीचमा भटकिन्छ। एकाग्रताको शक्तिले अव्यक्त फरिश्ता स्थितिको सहज अनुभव गराउनेछ। मन भटकन्छ, चाहे व्यर्थ कुराहरूमा, चाहे व्यर्थ सङ्कल्पहरूमा, चाहे व्यर्थ व्यवहारमा। जसरी कसै कसैलाई शरीरबाट पनि एकाग्र भएर बस्ने बानी हुँदैन, कसैलाई हुन्छ। मन जहाँ चाहन्छौ, जस्तो चाहन्छौ, जति समय चाहन्छौ त्यति र त्यस्तो एकाग्र हुनु– यसलाई भनिन्छ मन वशमा छ। एकाग्रताको शक्ति, मालिकपनाको शक्तिले सहजै निर्विघ्न बनाउँछ। युद्ध गर्नुपर्दैन। एकाग्रताको शक्तिले स्वतः नै एक बाबा दोस्रो न कोही– यो अनुभूति हुन्छ। स्वतः हुन्छ, मेहनत गर्नुपर्दैन। एकाग्रताको शक्तिले स्वतः नै एकरस फरिश्ता स्वरूपको अनुभूति हुन्छ। ब्रह्माबाबासँग प्यार छ नि? त्यसोभए ब्रह्माबाबा समान बन्नु अर्थात् फरिश्ता बन्नु। एकाग्रताको शक्तिले स्वतः नै सर्वप्रति स्नेह, कल्याण, सम्मानको वृत्ति रहन्छ नै किनकि एकाग्रता अर्थात् स्वमानको स्थिति। फरिश्ता स्थिति स्वमान हो। जसरी ब्रह्माबाबालाई देख्यौ, वर्णन पनि गर्छौ। जसरी सम्पन्नताको समय नजिक आउँदै गयो त्यतिबेला के देख्यौ? हिँड्ने, डुल्ने फरिश्ता रूप, देहभानरहित। देहको अनुभूति आउँथ्यो? सामुन्ने जान्थ्यौ, के देह देखिन्थ्यो वा फरिश्ता रूप अनुभव हुन्थ्यो? कर्म गर्दा पनि, बातचित गर्दा पनि, निर्देशन दिँदा पनि, उमङ्ग-उत्साह बढाउँदा पनि देहबाट न्यारा, सूक्ष्म प्रकाश रूपको अनुभूति गर्यौ। भन्छौ नि, ब्रह्माबाबाले कुरा गर्दा गर्दै यस्तो लाग्थ्यो मानौँ कुरा गरिरहनुभएको छ तर यहाँ हुनुहुन्न, हेरिरहनुभएको छ तर दृष्टि अलौकिक छ, यो स्थूल दृष्टि होइन। देहभानबाट न्यारा, अरूलाई पनि देहको भान नआओस्, न्यारा रूप देखियोस्, यसलाई भनिन्छ देहमा रहँदा फरिश्ता स्वरूप। हरेक कुरामा, वृत्तिमा, दृष्टिमा, कर्ममा न्यारापन अनुभव होस्। यो बोलिरहेको छ तर न्यारा न्यारा, प्यारा प्यारा लाग्छ। आत्मिक प्यारा। यस्तो फरिश्तापनको अनुभूति स्वयंले पनि गर र अरूलाई पनि गराऊ किनकि फरिश्ता नबनी देवता बन्न सकिँदैन। फरिश्ता सो देवता हो। नम्बरवन ब्रह्माको आत्माले प्रत्यक्ष साकार रूपमा पनि फरिश्ता जीवनको अनुभव गरायो र फरिश्ता स्वरूप बन्यो। त्यही फरिश्ता रूपसँगै तिमीहरू सबैले पनि फरिश्ता बनेर परमधाममा जानु छ। त्यसैले यसका लागि मनको एकाग्रतामा ध्यान देऊ। मनलाई अडरले चलाऊ। गर्नुपर्छ भने मनद्वारा कर्म होस्, गर्नुपर्दैन र मनले भन्छ गर, यो मालिकपना होइन। अहिले धेरै बच्चाहरूले भन्छन्, चाहँदैनौं तर भइहाल्यो। सोच्दैनौं तर भइहाल्यो, गर्नु हुँदैन तर भइहाल्छ– यो हो मनको वशीभूत अवस्था। यस्तो अवस्था राम्रो त लाग्दैन नि! ब्रह्माबाबालाई अनुसरण गर। ब्रह्माबाबालाई देख्यौ, सामुन्ने उभिरहँदा पनि के अनुभव हुन्थ्यो? फरिश्ता उभिएको छ, फरिश्ताले दृष्टि दिइरहेको छ। मनको एकाग्रताको शक्तिले सहज फरिश्ता बनाउनेछ। ब्रह्माबाबाले पनि बच्चाहरूलाई यही भन्नुहुन्छ– समान बन। शिवबाबा भन्नुहुन्छ– निराकार बन, ब्रह्माबाबा भन्नुहुन्छ– फरिश्ता बन। त्यसोभए के बुझ्यौ? परिणाममा के देख्यौ? मनको एकाग्रता कम छ। बीचबीचमा मनले धेरै चक्कर लगाउँछ, भट्कन्छ। जहाँ जानुपर्दैन त्यहाँ गयो भने त्यसलाई के भन्ने? भट्किनु भनिन्छ नि! त्यसैले एकाग्रताको शक्तिलाई बढाऊ। मालिकपनाको स्टेजको सिटमा सेट भएर बस। जब सेट हुन्छौ तब अपसेट हुँदैनौ, सेट छैनौ भने त अपसेट हुन्छौ। त्यसैले भिन्न भिन्न श्रेष्ठ स्थितिहरूको सिटमा सेट भएर बस, यसलाई भनिन्छ एकाग्रताको शक्ति। ठीक छ? ब्रह्माबाबासँग प्यार छ नि! कति प्यार छ? कति छ? धेरै प्यार छ! त्यसोभए बाबालाई प्यारको रेसपन्ड के दियौ? बाबाको पनि प्यार छ तब त तिमीहरूको पनि प्यार छ नि! त्यसोभए रिटर्न के दियौ? समान बन्नु– यही रिटर्न हो। अच्छा।

डबल विदेशीहरू पनि आएका छन्। राम्रो छ, डबल विदेशीहरूबाट पनि मधुबनको श्रृङ्गार हुन्छ। इन्टरनेसनल हुन्छ नि! हेर, मधुबनमा वर्गीकरण (विङ्ग) को सेवा हुन्छ, त्यसबाट आवाज चारैतिर फैलिन्छ। तिमीहरूले देख्नेछौ, यो वर्गीकरणको सेवा सुरु गरिएपछि, आई.पी. क्वालिटीमा आवाज धेरै फैलिएको छ। भी.भी.आई.पी.को त कुरा छोडिदेऊ, उनीहरूलाई फुर्सद कहाँ छ। ठुला ठुला प्रोग्राम गरिएका छन्, त्यसबाट पनि आवाज त फैलिन्छ। अहिले दिल्ली र कलकत्ताले गरिरहेका छन् नि! राम्रा योजना बनाइरहेका छन्। मेहनत पनि राम्रो गरिरहेका छन्। बापदादाकहाँ समाचार आइरहन्छ। दिल्लीको आवाज विदेशसम्म पुग्नुपर्छ। मिडियावालाहरू के गर्छन्? केवल भारतसम्म। विदेशबाट आवाज आओस् कि दिल्लीमा यो प्रोग्राम भयो, कलकत्तामा यो प्रोग्राम भयो। यो त्यहाँको आवाज भारतमा आओस्। भारतका कुम्भकर्ण त विदेशबाट जाग्नु छ नि! विदेशको खबरको महत्त्व हुन्छ। प्रोग्राम भारतमा होस् र समाचार विदेशको अखबारबाट पुगोस् तब फैलिनेछ। भारतको आवाज विदेशमा पुगोस् र विदेशको आवाज भारतमा पुगोस्, त्यसको प्रभाव हुन्छ। राम्रो छ। जुन प्रोग्राम बनाइरहेका छन्, राम्रो बनाइरहेका छन्। बापदादाले दिल्लीवालाहरूलाई पनि मुहब्बतको मेहनतको बधाई दिनुहुन्छ। कलकत्तावालाहरूलाई पनि इन एडभान्स (अग्रिम) बधाई छ किनकि सहयोग, स्नेह र हिम्मत जब तीनवटै कुरा मिल्छन्, तब आवाज बुलन्द हुन्छ। आवाज फैलिनेछ, किन फैलिँदैन। अब मिडियावालाहरूले यो कमाल गर्नुपर्छ, सबैले टि.भी.मा देखे, यो टि.भी.मा आयो, केवल यति होइन। त्यो त भारतमा आइरहेको छ। अब अझ विदेशसम्म पुर्याऊ। अब हेर्नेछु, यो वर्ष आवाज फैलाउने कति हिम्मत अझै जोडतोडले मनाउँछौ। बापदादालाई समाचार मिलेको छ– डबल फरेनरहरूलाई धेरै उमङ्ग छ। उमङ्ग छ नि? राम्रो छ। एक अर्कालाई देखेर अझ उमङ्ग आउँछ, जो ओटे त्यो ब्रह्मा समान। राम्रो छ। दादीलाई पनि सङ्कल्प आउँछ, व्यस्त बनाउने तरिका राम्रो आउँछ। राम्रो छ, निमित्त हुन् नि।

अच्छा– सबै उड्ने कला भएका हौ? उड्ने कला फास्ट कला हो। चल्ने कला, चढ्ने कला यी फास्ट कला होइनन्। उड्ने कला फास्ट पनि हो र फस्ट ल्याउने पनि हो। अच्छा

माताहरूले के गर्नेछौ? माताहरूले आफ्ना साथीलाई जगाऊ। कमसेकम कुनै पनि गुनासो सुनाउने माताहरू नरहुन्। माताहरूको सङ्ख्या सदा धेरै हुन्छ। बापदादालाई खुसी हुन्छ र यस ग्रुपमा सबैको सङ्ख्या राम्रो आएको छ। कुमारहरूको सङ्ख्या पनि राम्रो आएको छ। हेर, कुमारहरूले आफ्ना साथीलाई जगाऊ। राम्रो छ। कुमारहरूले यो कमाल देखाउनुछ– स्वप्नमात्रमा पनि पवित्रतामा परिपक्व छन्। बापदादाले विश्वमा चुनौती दिएर बताउनु हुनेछ– ब्रह्माकुमार युथ कुमार, डबल कुमार हौ नि। ब्रह्माकुमार पनि हौ र शरीरमा पनि कुमार हौ। त्यसोभए पवित्रताको परिभाषा व्यवहारमा होस्। त्यसोभए आदेश गरौँ, तिमीहरूलाई जाँच गरून् पवित्रताका लागि। गरौँ आदेश? यसमा हात उठाइरहेका छैनन्। मेसिन हुन्छन् जाँच गर्ने। स्वप्नसम्ममा पनि अपवित्रताले हिम्मत नगरोस्। कुमारीहरू पनि यस्तै बन्नुपर्छ, कुमारी अर्थात् पूज्य पवित्र कुमारी। कुमार र कुमारीहरूले बापदादालाई यो प्रतिज्ञा गरून्– हामी सबै यति पवित्र छौं जो स्वप्नमा पनि सङ्कल्प आउन सक्दैन, तब कुमार र कुमारीहरूको पवित्रता समारोह मनाउनेछौं। अहिले थोरै थोरै छ, बापदादालाई थाहा छ। अपवित्रताको अविद्या होस् किनकि नयाँ जन्म लिएका छौ नि। अपवित्रता तिमीहरूको विगतको जन्मको कुरा हो। यो मरजीवा जन्म, जन्म नै ब्रह्मा मुखबाट पवित्र जन्म हो। त्यसैले पवित्र जन्मको मर्यादा धेरै आवश्यक छ। कुमार कुमारीहरूले यो झण्डा फहराउनुपर्छ। पवित्र छौं, पवित्र संस्कार विश्वमा फैलाउनेछौं, यो नारा लागोस्। सुन्यौ कुमारीहरूले? हेर, कुमारीहरू कति छन्। अब हेर्नेछु, कुमारीहरूले यो आवाज फैलाउँछन् वा कुमारहरूले? ब्रह्माबाबाको अनुसरण गर। अपवित्रताको नामनिसान नहोस्, ब्राह्मण जीवन भनेको यही हो। माताहरूमा पनि मोह छ भने अपवित्रता हो। माताहरू पनि ब्राह्मण हौ नि। त्यसैले न माताहरूमा, न कुमारीहरूमा, न कुमारहरूमा, न अधर कुमार कुमारीहरूमा। ब्राह्मण भनेको नै पवित्र आत्मा हो। अपवित्रताको कुनै कार्य भयो भने पनि यो ठुलो पाप हो। यस पापको सजाय धेरै कडा छ। यस्तो नसोच्नु, यो त चलिरहन्छ। थोरै त चल्छ नै, होइन। यो फस्ट विषय हो। नवीनता नै पवित्रताको हो। ब्रह्माबाबाले गाली खाए भने त्यो पवित्रताको कारणले। भइहाल्यो भनेर यसरी छुट्ने छैनौ। यसमा। अलबेला नबन कुनै पनि ब्राह्मण चाहे समर्पित होस्, चाहे सेवाधारी होस्, चाहे प्रवृत्तिको होस्, यस कुरामा धर्मराजले पनि छोड्ने छैनन्, ब्रह्माबाबाले पनि धर्मराजलाई साथ दिनुहुनेछ। त्यसैले कुमार कुमारीहरू जहाँसुकै भए पनि होऊन्, मधुबनमा होऊन्, सेन्टरमा होऊन् तर यसको चोट, सङ्कल्पमात्रको चोट पनि धेरै ठुलो चोट हो। गीत गाउँछौ नि– पवित्र मन राख, पवित्र तन राख... गीत छ नि तिमीहरूको। मन पवित्र छ भने जीवन पवित्र छ, यसमा हल्का हुनुहुँदैन, अलिकति गरियो के भयो त! अलिकति होइन, धेरै हो। बापदादाले अफिसियल इसारा दिइरहनुभएको छ, यसमा बच्न सक्ने छैनौ। जोसुकै भए पनि यसको हिसाबकिताब राम्ररी लिनेछु, त्यसैले सावधान, अटेन्सन। सुन्यौ सबैले ध्यान दिएर? दुवै कान खोलेर सुन्नु। वृत्तिमा पनि स्पर्श नहोस्। दृष्टिमा पनि स्पर्श नहोस्। सङ्कल्पमा छैन भने वृत्ति दृष्टि के हो! किनकि बिल्कुल शुद्ध बन्ने समय सम्पन्नताको नजिक आइरहेको छ । त्यसमा यो कुरा त पूरै सेतो कागजमा कालो दाग हो। अच्छा– सबै जहाँ जहाँबाट पनि आएका छौ, सबैतिरबाट आएका बच्चाहरूलाई बधाई छ।

अच्छा– मनलाई अडरमा चलाऊ। सेकेन्डमा जहाँ चाहन्छौ त्यहाँ मन लागोस्, टिकोस्। यो अभ्यास गर। (ड्रिल) अच्छा– धेरै ठाउँमा बच्चाहरूले सुनिरहेका छन्। याद पनि गरिरहेका छन्, सुनि पनि रहेका छन्। यो सुनेर खुसी पनि भइरहेका छन् कि वास्तवमा साइन्सका साधनहरू तिमी बच्चाहरूका लागि सुखदायी छन्।

चारैतिरका सर्व खजानाले सदा सम्पन्न बच्चाहरूलाई, सदा सौभाग्यशाली, प्रसन्न चेहरा र चालचलनले खुसीको अञ्जुली दिने विश्व कल्याणकारी बच्चाहरूलाई, सदा मनको मालिक बनेर एकाग्रताको शक्तिद्वारा मनलाई नियन्त्रण गर्ने मनजित, जगतजित बच्चाहरूलाई, सदा ब्राह्मण जीवनको विशेषता पवित्रताको व्यक्तित्वमा रहने पवित्र ब्राह्मण आत्माहरूलाई, सदा डबल लाइट बनेर फरिश्ता जीवनमा ब्रह्माबाबाको अनुसरण गर्ने, यस्ता ब्रह्माबाबा समान बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। चारैतिर सुन्ने, याद गर्ने सर्व बच्चाहरूलाई पनि धेरै धेरै दिलको आशीर्वादसहित यादप्यार, सर्वलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
साकार बाबालाई अनुसरण गरेर नम्बरवन लिने सम्पूर्ण फरिश्ता भव

नम्बरवन आउने सहज साधन हो– नम्बरवन ब्रह्माबाबा जस्तो हुनुहुन्छ, त्यही नम्बरवनलाई हेर। धेरैलाई हेर्नुको सट्टा एकलाई हेर र एकलाई अनुसरण गर। हम सो फरिश्ताको मन्त्र कण्ठ गर्यौ भने अन्तर मेटिन्छ अनि साइन्सको यन्त्रले आफ्नो काम सुरु गर्नेछ र तिमीहरू सम्पूर्ण फरिश्ता देवता बनेर नयाँ दुनियाँमा अवतरित हुनेछौ। सम्पूर्ण फरिश्ता बन्नु अर्थात् साकार बाबालाई अनुसरण गर्नु।

स्लोगन:–
मानको त्यागमा सर्वको माननीय बन्ने भाग्य समाहित छ।