12.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
ईश्वरीय सन्तानबाट दैवी सन्तान बन्नु छ , त्यसैले यादको यात्राद्वारा आफ्ना
विकर्महरूलाई भस्म गर।”
प्रश्न:–
कुन एक
विधिबाट तिम्रा सबै दु:ख हट्छन्?
उत्तर:–
जब तिमीले
आफ्नो नजर बाबाको नजरसँग मिलाउँछौ त्यसपछि तिम्रा सबै दु:ख हट्छन् किनकि आफूलाई
आत्मा सम्झेर बाबालाई याद गरेपछि सबै पाप काटिन्छन्। यो नै हो तिम्रो यादको यात्रा।
तिमीले देहका सबै धर्महरूलाई छोडेर बाबालाई याद गर्छौ, जसबाट आत्मा सतोप्रधान बन्छ,
तिमी सुखधामको मालिक बन्छौ।
ओम् शान्ति ।
शिव भगवानुवाच,
आफूलाई आत्मा सम्झेर बस। बाबा आज्ञा गर्नुहुन्छ– शिव भगवानुवाच अर्थात् शिवबाबा
सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर बस किनकि तिमीहरू सबै भाइ
भाइ हौ। एउटै बाबाका सन्तान हौ। एउटै बाबाबाट वर्सा लिनु छ, हुबहु जसरी ५ हजार वर्ष
पहिला बाबाबाट वर्सा लिएका थियौ। आदि सनातन देवी-देवताहरूको राजधानीमा थियौ। बाबा
बसेर सम्झाउनु हुन्छ– तिमी सूर्यवंशी अर्थात् विश्वको मालिक कसरी बन्न सक्छौ। म
तिम्रो बाबालाई याद गर। तिमी सबै आत्माहरू भाइ भाइ हौ। उच्च भन्दा उच्च भगवान एउटै
हुनुहुन्छ। तिमी सच्चा साहेबका सन्तान, ईश्वरीय सन्तान (साहेबजादा) हौ। यो कुरा बाबा
बसेर सम्झाउनु हुन्छ, उहाँको श्रीमत अनुसार बुद्धिको योग लगायौ भने तिम्रो सबै पाप
काटिन्छन्। सबै दु:ख हट्छन्। बाबासँग हाम्रो नजर मिलेपछि सबै दु:ख हट्छन्। नजर
मिलाउनुको पनि अर्थ सम्झाउनु हुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर, यो हो
यादको यात्रा। यसलाई योग अग्नि पनि भनिन्छ। यस योग अग्निले तिम्रा जति पनि जन्म
जन्मान्तरका पाप छन् ती भस्म हुन्छन्। यो हो नै दु:खधाम। सबै नर्कवासी छन्। तिमीले
धेरै पाप गरेका छौ, यसलाई भनिन्छ रावण राज्य। सत्ययुगलाई भनिन्छ रामराज्य। तिमीले
यसरी सम्झाउन सक्छौ। चाहे जतिसुकै ठुलो सभा लागेको भए पनि भाषण गर्नमा कुनै हर्जा
छैन। तिमीले त भगवानुवाच भनिरहन्छौ। शिव भगवानुवाच– हामी सबै आत्माहरू उहाँका
सन्तान हौं, भाइ भाइ हौं। तर श्रीकृष्णका कुनै सन्तान थिए, यस्तो भन्न मिल्दैन। न त
त्यति रानीहरू नै थिए। श्रीकृष्णको त स्वयंवर भएपछि नाम नै परिवर्तन हुन्छ। हो,
यस्तो भन्न मिल्छ– लक्ष्मी-नारायणका बच्चाहरू थिए। राधा-कृष्ण नै स्वयंवर पछि
लक्ष्मी-नारायण बन्छन् तब एक बच्चा हुन्छ। फेरि उनको राज्यवंश चल्छ। तिमी बच्चाहरूले
अब म एकलाई याद गर्नु छ। देहका सबै धर्म छोड, बाबालाई याद गर्यौ भने तिम्रा सबै पाप
काटिन्छन्। सतोप्रधान बनेर स्वर्गमा जान्छौ। स्वर्गमा कुनै दु:ख हुँदैन। नर्कमा
अथाह दु:ख छ। सुखको नामनिसान हुँदैन। यस्तो युक्तिले बताउनु पर्छ। शिव भगवानुवाच–
हे बच्चाहरू! यतिबेला तिमी आत्माहरू पतित छौ, अब पावन कसरी बन्छौ? हे पतित-पावन
आउनुहोस्! यसरी मलाई बोलाएका नै हौ। पावन हुन्छन् नै सत्ययुगमा, पतित हुन्छन्
कलियुगमा। कलियुग पछि फेरि सत्ययुग अवश्य बन्नु छ। नयाँ दुनियाँको स्थापना पुरानो
दुनियाँको विनाश हुन्छ। गायन पनि छ– ब्रह्माद्वारा स्थापना। हामी
ब्रह्माकुमार-कुमारीहरू एडप्टेड चिल्ड्रेन हौं। हामी हौं ब्राह्मण चोटी। विराट रूप
पनि छ नि। पहिला ब्राह्मण अवश्य बन्नुपर्छ। ब्रह्मा पनि ब्राह्मण हुन्। देवताहरू
हुन्छन् नै सत्ययुगमा। सत्ययुगमा सदा सुख हुन्छ। दु:खको नाम हुँदैन। कलियुगमा घोर
दु:ख छ, सबै दु:खी छन्। यस्तो कोही पनि छैन जसलाई दु:ख नहोस्। यो हो रावण राज्य। यो
रावण तिम्रो नम्बरवन दुस्मन हो। हरेकमा ५ विकार छन्। सत्ययुगमा कुनै विकार हुँदैन।
त्यो हो पवित्र गृहस्थ धर्म। अहिले त दु:खका पहाड छन्, अझै अरू धेरै गिर्नेछन्। यी
यतिका बम आदि बनाइरहन्छन्, राख्नको लागि कहाँ हुन् र। धेरै रिफाइन बनाइरहेका छन्,
फेरि रिहर्सल हुन्छ, फेरि फाइनल हुन्छ। अब समय धेरै कम छ, ड्रामा त आफ्नो समयमा पूरा
हुन्छ नि।
सबैभन्दा पहिला
शिवबाबाको ज्ञान हुनुपर्छ। कहीँ पनि भाषण आदि सुरु गर्दा जहिले पनि सुरुमा शिवाय नम:
भन्नुपर्छ किनकि शिवबाबाको जुन महिमा छ त्यो अरू कसैको हुन सक्दैन। शिवजयन्ती नै
हीरा तुल्य छ। श्रीकृष्णको चरित्र आदि केही छैन। सत्ययुगमा त साना बच्चाहरू पनि
सतोप्रधान नै हुन्छन्। बच्चाहरूमा कुनै चञ्चलता आदि हुँदैन। श्रीकृष्णको लागि
देखाउँछन्– मख्खन खान्थे, यो गर्थे, यो त महिमाको सट्टा उल्टै ग्लानि गर्छन्। कति
खुसी भएर भन्छन् ईश्वर सर्वव्यापी हुनुहुन्छ। तिमीभित्र पनि हुनुहुन्छ मभित्र पनि
हुनुहुन्छ। यो धेरै ठुलो ग्लानि हो तर तमोप्रधान मनुष्यले यी कुरालाई बुझ्न सक्दैनन्।
त्यसैले सबैभन्दा पहिला बाबाको परिचय दिनु छ– उहाँ निराकार हुनुहुन्छ, जसको नाम नै
छ कल्याणकारी शिव, सर्वका सद्गतिदाता। उहाँ निराकार बाबा सुखका सागर, शान्तिका सागर
हुनुहुन्छ। अहिले यति दु:ख किन भएको छ? किनकि यो रावण राज्य हो। रावण हो सबैको
दुस्मन, त्यसलाई मार्छन् तैपनि मर्दैन। यहाँ कुनै एक मात्र दु:ख छैन, घोर दु:ख छ।
सत्ययुगमा हुन्छ अपरम्पार सुख। ५ हजार वर्ष पहिला बेहदका बाबाका बच्चा बनेका थियौं
र यो वर्सा बाबाबाट लिएका थियौं। शिवबाबा अवश्य आउनु हुन्छ, आएर केही त गर्नुहुन्छ
नि। एक्युरेट गर्नुहुन्छ त्यसैले त महिमा गाइन्छ। शिवरात्रि पनि भन्छन् फेरि हुन्छ
श्रीकृष्णको रात्रि। अब शिवरात्रि र श्रीकृष्णको रात्रिलाई बुझ्नुपर्छ। शिव त आउनु
हुन्छ नै बेहदको रात्रिमा। श्रीकृष्णको जन्म अमृतबेलामा हुन्छ, नकि रात्रिमा। शिवको
रात्रि मनाउँछन् तर उहाँको कुनै तिथी मिति छैन। श्रीकृष्णको जन्म हुन्छ अमृतबेलामा।
अमृतबेला सबै भन्दा शुभ मुहुर्त मानिन्छ। उनीहरूले श्रीकृष्णको जन्म १२ बजे मनाउँछन्
तर त्यो प्रभात त भएन। प्रभात बिहान २-३ बजेलाई भनिन्छ, जतिबेला याद पनि गर्न
सकियोस्। यसरी १२ बजे विकारबाट उठेर कसैले भगवानको नाम पनि लिन्छन् होला र, बिल्कुल
होइन। अमृतबेला १२ बजेलाई भनिदैन। त्यस समयमा त मनुष्य पतित, गन्दा हुन्छन्। सारा
वायुमण्डल नै खराब हुन्छ। अढाइ बजे कोही कहाँ उठ्छन् र। ३-४ बजेको समय अमृतबेला हो।
त्यस समयमा उठेर मानिसहरूले भक्ति गर्छन्, त्यो समय त मनुष्यले बनाएका हुन्, तर त्यो
कुनै सही समय होइन। त्यसैले तिमीले कृष्णको बेला निकाल्न सक्छौ। शिवको बेला केही पनि
निकाल्न सकिँदैन। यो त स्वयं आएर सम्झाउनु हुन्छ। त्यसैले सबैभन्दा पहिला महिमा
बताउनु छ शिवबाबाको। गीत, पछि होइन पहिला बजाउनु पर्छ। शिवबाबा सबै भन्दा मीठा बाबा
हुनुहुन्छ, उहाँबाट बेहदको वर्सा मिल्छ। आज भन्दा ५ हजार वर्ष पहिला यी श्रीकृष्ण
सत्ययुगका पहिलो राजकुमार थिए। त्यहाँ अपरम्पार सुख थियो। आजसम्म पनि स्वर्गको गायन
गरिरहन्छन्। कोही मर्यो भने भन्छन् स्वर्ग जानु भयो। अरे, अहिले त नर्क हो। स्वर्ग
भए पो स्वर्गमा पुनर्जन्म लिन सक्थे।
सम्झाउनु पर्छ–
हामीसँग यति वर्षको अनुभव छ, त्यो केवल १५ मिनेटमा त सम्झाउन सकिँदैन, यसमा त समय
चाहिन्छ। पहिला सुरुमा त एक सेकेण्डको कुरा सुनाउँछौं, बेहदका बाबा जो दु:खहर्ता,
सुखकर्ता हुनुहुन्छ, उहाँको परिचय दिन्छौं। उहाँ हामी सबै आत्माहरूका पिता
हुनुहुन्छ। हामी बी.के. सबै शिवबाबाको श्रीमतमा चल्छौं। बाबा भन्नुहुन्छ– तिमीहरू
सबै भाइ भाइ हौ, म तिम्रो पिता हुँ। म ५ हजार वर्ष पहिला आएको थिएँ, त्यसैले त
शिवजयन्ती मनाउँछौ। स्वर्गमा केही मनाइँदैन। शिवजयन्ती हुन्छ, जसको फेरि
भक्तिमार्गमा यादगार मनाइन्छ। अहिले गीता अध्याय चलिरहेको छ। नयाँ दुनियाँको स्थापना
ब्रह्माद्वारा, पुरानो दुनियाँको विनाश शङ्करद्वारा। अब यस पुरानो दुनियाँको
वायुमण्डल त तिमीले देखिरहेका छौ, यस पतित दुनियाँको विनाश अवश्य हुनु छ, त्यसैले
भन्ने गर्छन्– पावन दुनियाँमा लिएर जानुहोस्। अथाह दु:ख छ– लडाइँ, मृत्यु, विधवापन,
जीवघात गर्नु...। सत्ययुगमा त अपार सुखको राज्य थियो। यो लक्ष्य-उद्देश्यको चित्र त
अवश्य त्यहाँ लिएर जानुपर्छ। यी लक्ष्मी-नारायण विश्वको मालिक थिए। ५ हजार वर्षको
कुरा सुनाउनुहुन्छ– उहाँहरूले कसरी यो जन्म पाउनु भयो? कुनचाहिँ कर्म गर्नुभयो जसले
गर्दा उहाँहरू यस्तो बन्नुभयो? कर्म-अकर्म-विकर्मको गति बाबाले नै सम्झाउनु हुन्छ।
सत्ययुगमा कर्म अकर्म बन्छन्। यहाँ त रावण राज्य भएकोले कर्म विकर्म बन्छन्, त्यसैले
यसलाई पाप आत्माहरूको दुनियाँ भनिन्छ। लेनदेन पनि पाप आत्माहरूसँग नै हुन्छ। पेटमा
बच्चा भइसकेपछि विवाहको लागि मगनी गरिदिन्छन्। कति विकारी दृष्टि हुन्छ। यहाँ छन्
नै विकारी दृष्टिका। सत्ययुगलाई भनिन्छ सदाचारी। यहाँ आँखाले धेरै पाप गर्छ। त्यहाँ
आँखाले कुनै पाप गर्दैन। सत्ययुगदेखि कलियुग अन्त्यसम्म इतिहास-भूगोल दोहोरिन्छ। यो
त जान्नुपर्छ नि। दु:खधाम सुखधाम किन भनिन्छ? सारा कुरा पतित र पावन हुनुमा आधारित
छ, त्यसैले बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, यसलाई जित्नाले तिमी जगतजित बन्छौ।
आधाकल्प पवित्र दुनियाँ थियो, जसमा श्रेष्ठ देवता थिए। अब त भ्रष्टाचारी छन्।
एकातिर भन्छन् पनि यो भ्रष्टाचारी दुनियाँ हो, फेरि सबैलाई श्री श्री भनिरहन्छन्,
जे मुखमा आउँछ त्यो बोलिदिन्छन्। यी सबै कुरा सम्झाउनु छ। अब त मृत्यु सामुन्ने खडा
छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने पाप काटिन्छ। तिमी सतोप्रधान बन्छौ।
सुखधामको मालिक बन्छौ। अहिले त छ नै दु:ख। उनीहरूले जतिसुकै सम्मेलन, सङ्गठन किन
नगरुन् त्यसबाट केही हुने छैन। सिँढी तल उत्रिँदै जान्छन्। बाबाले आफ्नो कार्य आफ्ना
बच्चाहरूद्वारा गरिरहनु भएको छ। तिमीले पुकारेका छौ– हे पतित-पावन आउनुहोस्! त्यसैले
म आफ्नो समयमा आएको छु। यदा यदा ही धर्मस्य... यसको अर्थ पनि जानेका छैनन्।
बोलाउँछन्, त्यसैले अवश्य पतित छन्। बाबा भन्नुहुन्छ– रावणले तिमीलाई पतित बनाएको
छ, अब म पावन बनाउन आएको छु। त्यो पावन दुनियाँ थियो। अहिले पतित दुनियाँ छ। ५
विकार सबैमा छन्, घोर दु:ख छ। सबैतिर अशान्ति नै अशान्ति छ। जब तिमी बिल्कुलै
तमोप्रधान, पाप आत्मा बन्छौ तब म आउँछु। जसले मलाई सर्वव्यापी भनेर मेरो अपकार
गर्छन् यस्ताको पनि म उपकार गर्न आउँछु। मलाई तिमीले यस पतित रावणको दुनियाँमा
आउनुहोस् भनेर निमन्त्रणा दिन्छौ। पतित शरीरमा आउनुहोस्। मलाई पनि रथ त चाहिन्छ नि।
पावन रथ त मिल्दैन। रावण राज्यमा छन् नै पतित। पावन कोही छैन। सबै विकारबाट नै पैदा
हुन्छन्। यो विकारी दुनियाँ हो, त्यो हो निर्विकारी दुनियाँ। फेरि तिमी
तमोप्रधानबाट सतोप्रधान कसरी बन्छौ? पतित-पावन त म नै हुँ। मसँग योग लगाऊ, यो हो
भारतखण्डको प्राचीन राजयोग। आउनु हुन्छ पनि अवश्य गृहस्थ मार्गमा नै। कस्तो अनौठो
तरिकाले आउनु हुन्छ, उहाँ पिता पनि हुनुहुन्छ भने माता पनि हुनुहुन्छ किनकि गौमुख
चाहिन्छ, जसबाट अमृत निस्किन्छ। त्यसैले उहाँ माता-पिता हुनुहुन्छ, फेरि माताहरूलाई
सम्हाल्नको लागि सरस्वतीलाई प्रमुख बनाइएको छ, उनलाई भनिन्छ जगत् अम्बा। काली माता
भनिन्छ। यस्तो कालो के कुनै शरीर हुन्छ र! श्रीकृष्णलाई कालो बनाएका छन् किनकि काम
चितामा बसेर कालो बनेका हुन्। श्रीकृष्ण नै कालो फेरि गोरो बन्छन्। यी सबै कुरालाई
बुझ्न पनि समय लाग्छ। करोडौँमा कोही, कोहीमा पनि कोहीको बुद्धिमा बस्छ किनकि सबैमा
५ विकार प्रवेश छन्। तिमीले यो कुरा सभामा पनि सम्झाउन सक्छौ किनकि जसलाई पनि बोल्ने
हक छ, यस्तो मौका लिनुपर्छ। औपचारिक सभामा कसैले बीचमा प्रश्न आदि गर्दैनन्। यदि
सुन्नु छैन भने शान्तिसँग जाऊ, हल्ला नगर। बसेर यसरी यसरी सम्झाऊ। अहिले त अपार
दु:ख छ। दु:खको पहाड गिर्नु छ। हामीले बाबालाई, रचनालाई जानेका छौं। तपाईहरूले त
कसैको पनि कर्तव्यलाई जान्नु भएको छैन, बाबाले कहिले र कसरी स्वर्ग बनाउनु भएको थियो?
यो तपाईहरूले जान्नु भएको छैन। त्यसैले आउनु भयो भने हामी सम्झाउने छौं। ८४ जन्म
कसरी लिन्छन्? तपाईहरूले ७ दिनको कोर्स गर्नु भयो भने २१ जन्मको लागि पाप आत्माबाट
पुण्य आत्मा बनाइदिन्छौं। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन कर्म-अकर्म-विकर्मको गहन गति सम्झाउनु भएको छ, त्यो बुद्धिमा राखेर
पाप आत्माहरूसँग अब लेनदेन गर्नु छैन।
२) श्रीमत अनुसार
आफ्नो बुद्धियोग एक बाबासँग लगाउनु छ। सतोप्रधान बन्ने पुरुषार्थ गर्नु छ।
दु:खधामलाई सुखधाम बनाउनको लागि पतितबाट पावन बन्ने पुरुषार्थ गर्नु छ। विकारी
दृष्टिलाई परिवर्तन गर्नु छ।
वरदान:–
ज्ञानस्वरूप
बनेर सबै व्यर्थका प्रश्नहरूलाई यज्ञमा स्वाहा गर्ने निर्विघ्न भव
जब कुनै विघ्न आउँछ
अनि “के, किन” का अनेक प्रश्नमा जान्छौ, प्रश्नचित्त बन्नु अर्थात् परेसान हुनु।
ज्ञान स्वरूप बनेर यज्ञमा सवै व्यर्थ प्रश्नहरूलाई स्वाहा गरिदियौ भने आफ्नो समय
बच्छ र अरूको पनि समय बच्छ। यसबाट सहजै निर्विघ्न बन्छौ। निश्चय र विजय जन्मसिद्ध
अधिकार हो– यो शानमा रह्यौ भने कहिल्यै दु:खी हुनेछैनौ।
स्लोगन:–
सदा उत्साहमा
रहनु र अरूलाई उत्साह दिलाउनु– यही तिम्रो कर्तव्य हो।