12.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले तिमी सङ्गमयुगमा छौ , तिमीलाई यस पुरानो कलियुगी दुनियाँको कुनै पनि विचार आउनुहुँदैन।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई श्रेष्ठ कर्म गर्ने वा कर्महरूलाई सुधार्ने कुन विधि बताउनुभएको छ?

उत्तर:–
आफ्ना कर्महरूलाई सुधार्नको लागि सच्चा बाबासँग सदा सच्चा रहने गर, कहिल्यै भुलले कुनै उल्टो कर्म भइहाल्यो भने पनि त्यो कुरा तुरुन्तै बाबालाई लेखिदेऊ। सच्चाइका साथ बाबालाई सुनायौ भने त्यसको असर कम हुन्छ। नत्र वृद्धि भइरहनेछ। बाबाको समीप समाचार आयो भने बाबाले त्यसलाई सुधार्ने श्रीमत दिनुहुनेछ।

ओम् शान्ति ।
शिवबाबाले ब्रह्माद्वारा बच्चाहरूलाई सोधिरहनुभएको छ– प्यारा बच्चाहरू! तिमी यहाँ सबेरैदेखि बसेर के गरिरहेका छौ? तिमी त विद्यार्थी हौ नै। त्यसैले अवश्य यहाँ बसेर यो विचार गर्छौ होला– मलाई शिवबाबा पढाउन आउनुभएको छ। यस पढाइबाट म सूर्यवंशी बन्नेछु किनकि तिमीले राजयोग सिकिरहेका छौ। विष्णुपुरीको मालिक बन्नको लागि यस ख्यालमा बसेका छौ वा कसैलाई जिम्मेवारी, बालबच्चा, कामधन्दा आदि याद आउँछ? बुद्धिमा यो हुनुपर्छ– यो गीता पाठशाला हो, हामीलाई भगवानले पढाउनुहुन्छ र हामी लक्ष्मीनारायण अथवा उनीहरूको कुटुम्बजस्तै (भाँती) बन्नेछौँ। यो राजयोग हो। बच्चाहरूको बुद्धिमा हुनुपर्छ– बाबाबाट प्रत्यक्ष सुनेर हामी सूर्यवंशी घरानाको जस्तै बन्नेछौँ। लक्ष्मीनारायणको चित्र सामुन्ने छ, हाम्रो राज्य हुनेछ। दुनियाँमा मानिसहरूलाई थाहा छैन, स्वर्ग केलाई भनिन्छ। तिमी बच्चाहरूले भन्छौ– हामीले अहिले बाबाबाट स्वर्गको स्वराज्य विद्या सिकिरहेका छौँ। म नै स्वर्गको मालिक बन्नेछु। यसको भित्र स्मरण गर्नु छ। जसरी स्कुलमा विद्यार्थीको बुद्धिमा हुन्छ– मैले वकिल, इन्जिनियर आदि बन्नको लागि पढिरहेको छु। तिमीलाई यति पनि याद हुन्छ वा भुल्छौ? तिमी उच्चभन्दा उच्च भगवानका विद्यार्थी हौ। तिमीलाई उच्चभन्दा उच्च देवता बनाउनको लागि बाबाले पढाइरहनुभएको छ, तिमी उहाँका बच्चा हौ। तिमी आत्माहरूले यस शरीरद्वारा आफ्नो भविष्य पदलाई याद गरिरहेका छौ वा जिस्मानी सम्बन्धी, जिस्मानी सम्पत्ति, कामधन्दा याद गर्छौ? यहाँ आउँदा यो सम्झनुपर्छ– मलाई बेहदका मालिक बनाउनका लागि पढाउन बेहदका बाबा आउनुहुन्छ। फेरि राजा-रानी बन वा प्रजा! मालिक त बन्छन् नि। नयाँ दुनियाँमा सूर्यवंशी घराना नै हुन्छ। यो त जान्दछौ नि– मैले आफूले राज्य गर्नेछु।

बाबालाई थाहा छ, बच्चाहरूलाई बाहिर बस्दा, घरबार, खेतीपातीमा हुँदा बाबाको त्यति याद हुन सक्दैन। त्यसैले यहाँ आउँदा सबै विचारहरू छोडेर आऊ, तिमी अहिले त्यस कलियुगी दुनियाँमा छँदैछैनौ, अहिले तिमी सङ्गममा छौ। कलियुगलाई छोडिदिएका छौ, बाहिर कलियुग छ। जुन खास मधुबन छ, यो सङ्गम हो त्यसैले मधुबनको गायन छ। यहाँ यस मुरलीको नै स्मरण गर्नु छ। जे सुन्छौ त्यो रिपिट गर र विचार सागर मन्थन गर। जति समय मिल्छ चित्रहरूको अगाडि आएर बस। यिनीहरूलाई हेरिरहनु र पढिरहनुछ। ब्राह्मणीहरू जसले बच्चाहरूलाई लिएर आउँछन्, उनीहरूमाथि ठुलो जिम्मेवारी छ। धेरै चिन्ता हुनुपर्छ। जसरी टिचरहरूको चिन्ता हुन्छ– मेरो स्कुलबाट कम पास भए भने इज्जत जानेछ। स्कुलबाट धेरै पास भए भने त्यो टिचर राम्रो मानिन्छ। ब्राह्मणीहरूले विद्यार्थीहरूको विषयमा चिन्ता गर्नुपर्छ। यहाँ तिमी मानौँ सङ्गममा आएका छौ, जहाँ साक्षात बाबाले सुनाउनुहुन्छ। यहाँको प्रभाव धेरै राम्रो छ। यहाँ घरबार, कामधन्दा याद आयो भने बाबाले बुझ्नुहुनेछ– यो साधारण प्रजा बन्नेछ। आएका थिए राजा बन्नको लागि तर.... नत्र बच्चाहरूलाई भित्र धेरै खुसी हुनुपर्छ। चित्रहरूले पनि तिमीलाई धेरै मदत गर्छन्। मानिसहरूले यादको लागि अष्ट देवताहरूका र गुरुहरूका चित्र घरमा राख्छन्। तर उनीहरूलाई याद गरेर मात्र केही पनि मिल्दैन। भक्तिमार्गमा जे जति गर्छौ, त्यसबाट तल नै झर्दै आएका छौ। तिमी बच्चाहरूले माथि जाने पुरुषार्थ गर्नु छ। घरमा शिवबाबाको चित्र राखिदेऊ, अनि घरी घरी याद आउँछ। पहिला तिमीले हनुमानलाई, कृष्णलाई, रामलाई याद गर्थ्यौ। अहिले शिवबाबाले सम्मुख भन्नुहुन्छ– मलाई याद गर। त्रिमूर्तिको चित्र धेरै राम्रो छ, यो चित्र सदैव खल्तीमा राखिदेऊ। घरी घरी हेरिराख, अनि याद हुन्छ। बाबा भक्त हुँदा लक्ष्मीनारायणको फोटो खल्तीमा राख्थे। गद्दी मुनि सँगसँगै राख्थे, त्यसबाट केही मिलेन। अहिले बाबाबाट धेरै प्राप्ति भइरहेको छ, उहाँलाई नै याद गर्नु छ, यसमा मायाले अवरोध गर्छ। सुन्न त ज्ञान धेरै सुन्छन्-सुनाउँछन्, यसमा तीक्ष्ण देखिन्छन्, ८४ को चक्र भुलियो भनेर भन्दैनन्। यहाँ बस्नेहरूले धेरै याद गर्छन् भन्ने पनि होइन। होइन, यहाँ बसेर पनि कैयौँ छन् जसले नाम मात्र (धुलछाई) याद गरिरहन्छन्। जुन बाबाबाट हामी गोरा बन्न आएका छौँ, उहाँलाई चिन्दै चिन्दैनन्। धेरै मायाको छायाँ पर्छ। मूल कुरा यादको हो। बाबालाई थाहा छ, धेरै असल असल बच्चाहरू पनि यादमा रहँदैनन्। योगमा रहेमा नै देह अभिमान कम हुन्छ, धेरै प्यारा हुन्छन्। देह अभिमान भएमा प्यारा बन्दैनन्, रिसाइरहन्छन्। बाबाले सबैको लागि भन्नुहुन्न। कोही सपुत पनि छन्, सपुत उनीहरूलाई मानिन्छ जो योगमा रहन्छन्। उनीहरूबाट कुनै पनि उल्टोसुल्टो कुरा हुँदैन। इष्टमित्र आदि सबैलाई भुल्छन्। म अशरीरी (नाङ्गै) आएको थिएँ, अब अशरीरी बनेर घर जानु छ। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ जसबाट तिमीले आफ्नो घरलाई जान्दछौ, राजधानीलाई पनि जान्दछौ। तिमी बच्चाहरूलाई यो पनि थाहा छ, शिवबाबा जस्तो उनीहरूले देखाउँछन् त्यस्तो कुनै कालो लिङ्ग हुनुहुन्न, उहाँ त बिन्दुसमान हुनुहुन्छ। यो पनि हामीले जान्दछौँ। अब हामी घर जानेछौँ, त्यहाँ हामी अशरीरी हुन्छौँ। अब हामी अशरीरी बन्नु छ। आफूलाई आत्मा सम्झेर पतितपावन बाबालाई याद गर्नु छ। यो त सम्झाइन्छ– आत्मा अविनाशी छ। त्यसमा ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ, त्यसको अन्त्य हुँदैन। केही समय मुक्तिधाममा गएर फेरि पार्टमा आउनु छ। तिमीले आदिदेखि अन्त्यसम्मको पार्ट खेल्छौ, यो सदैव याद रहनुपर्छ। अब हामी घर जानु छ। बाबालाई याद गरेमा हामी तमोप्रधानबाट सतोप्रधान बन्छौँ। यहाँ तिमीहरूले कुनै कामधन्दा याद गर्नुछैन।

यहाँ तिमीहरू पूरा सङ्गमयुगमा छौ। अहिले तिमीहरू डुङ्गामा बसेका छौ। कोही बीचमा नै ओर्लन्छन्, फेरि फसेर मर्छन्। यसमा पनि शास्त्रहरूमा एउटा कहानी छ। अहिले तिमीहरूलाई थाहा छ, हामी पारि गइरहेका छौँ, खिवैया शिवबाबा हुनुहुन्छ। श्रीकृष्णलाई खिवैया वा बागवान भनिँदैन। यो शिव भगवानुवाच हो। पतितपावन शिवबाबा हुनुहुन्छ। श्रीकृष्णतिर बुद्धि जान सक्दैन। मानिसहरूको बुद्धि त भट्किरहन्छ, बाबा आएर भट्किनबाट छुटाउनुहुन्छ। केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर तब नै तिमी स्वर्गको मालिक बन्नेछौ। यी कुरा भुल्नुहुँदैन। यहाँबाट तिमी धेरै रिफ्रेस भएर जान्छौ। अनुभव पनि सुनाउँछौ– बाबा, म फेरि जस्ताको त्यस्तै हुन्छु। इष्टमित्र आदिको मुख देख्छौ, लोभिन्छौ। तिमी बच्चाहरू आसिक हौ, कामकाज गर्दा मासुकलाई याद गर अनि उच्च पद पाउनेछौ। अहिले पुरुषार्थ गरेनौ भने सिङ्गल ताज पनि मिल्नेछैन। यहाँ बच्चाहरू आएर समय व्यर्थमा गुमाउनुहुँदैन। अरू त यहाँ केही छैन। केवल देलवाडा मन्दिर तिम्रो यादगार हो, त्यो तिमीले देख्न सक्छौ। माथि वैकुण्ठ देखिन्छ। तिम्रो वृक्ष पनि स्पष्ट छ। तल राजयोगमा बसेका छौ, माथि राज्य देखिन्छ। हुबहु देलवाडा मन्दिर जस्तो बनेको छ। तिमीलाई थाहा छ, शिवबाबाले हामीलाई फेरि ज्ञान दिएर स्वर्गको मालिक बनाइरहनुभएको छ। यस कलियुगको विनाश हुनु छ। यी आदिदेव, आदिनाथ को हुन्? तिमीले सबैको कर्तव्य जान्दछौ नि। यस समयको चर्चा फेरि भक्तिमार्गमा चल्छ। चाडपर्व, व्रत सबै यसै समयका हुन्। सच्चा व्रत हो मनमनाभव। बाँकी निर्जला बस्नु, खाना नखानु, यो कुनै व्रत होइन। दुनियाँमा यतिबेला मायाको धेरै तडकभडक छ। पहिला यो बिजुली, ग्याँस आदि थिएन, पछि निस्केको हो। १०० वर्ष भयो, यसमा मानिसहरू फसेर मरेका छन्। भन्छन्– हाम्रो लागि स्वर्ग यहीँ नै छ। मायाको यति जोड छ जसले गर्दा बाबालाई पटक्कै याद गर्दैनन्, भन्छन्– हेर्नुहोस् हामी कस्तो स्वर्गमा बसेका छौँ। तर स्वर्गको अगाडि त यो केही पनि होइन। कहाँ स्वर्ग, कहाँ नर्क। स्वर्गको एउटै चीज पनि यहाँ हुन सक्दैन। त्यहाँ हरेक चीज सतोप्रधान हुन्छ। गाईहरू पनि फस्टक्लास हुन्छन्। तिमी पनि फस्टक्लास बन्छौ त्यसैले तिम्रा फर्निचर, खानपिन आदि सबै फस्टक्लास हुन्छन्। सूक्ष्मवतनमा फल आदि देखेर आउँछौ नि। नाम नै अमृत (शूविरस) राख्छन्। दुनियाँका मानिसहरूलाई यो पनि थाहा छैन, स्वर्ग कहाँ छ? त्यहाँ सबैथोक सतोप्रधान हुन्छ। त्यहाँ यो धुलोमैलो आदि हुँदैन। दुःखको कुनै कुरा नै हुँदैन। तर बच्चाहरूलाई अझै यो नसा चढ्दैन– बाबाले हामीलाई स्वर्गको मालिक बनाउनको लागि यो पढाइ पढाइरहनुभएको छ। चित्रहरू कति स्पष्ट छन्। चित्र बन्नमा समय त लाग्छ। बाबाले सेवाको लागि सबैथोक बनाइ नै रहनुहुन्छ। तर कोही त आफ्नो कामधन्दामा यति फसेका छन् जसले बाबालाई पनि याद गर्दैनन्। प्रदर्शनीका चित्रहरूको पत्रिका पनि छ, त्यो पनि पढ्नुपर्छ। गीताका जो नियमी हुन्छन्, उनीहरू जहाँसुकै गए पनि गीता अवश्य पढ्छन्। अहिले तिमीलाई चित्रहरूसहित सच्चा गीता मिलेको छ। अब राम्रोसँग मेहनत गर्नुपर्छ। नत्र उच्च पद पाउन सक्नेछैनौ। फेरि साक्षात्कार भएपछि हाय हाय गर्नुपर्नेछ। परीक्षा पूरा भएपछि फेरि अर्को क्लासमा नम्बरवार बस्छन्। यहाँ पनि साक्षात्कार भएपछि नम्बरवार रुद्रमालाबाट फेरि विजयमालामा जानेछन्। स्कुलमा कुनै बच्चाहरू फेल भए भने कति दुःखी हुन्छन्। तिम्रो त कल्पकल्पान्तरको बाजी हो।

कैयौँ बच्चाहरूले पूरा पत्रिका पढ्दैनन्। बच्चाहरूले पत्रिका पढेर सेवा गर्नुपर्छ। लेख्छन्– बाबा, फलानीलाई हेरफेर गरिदिनुहोस्। राम्रो ब्राह्मणी पठाइदिनुहोस्। कसैकसैको ब्राह्मणीसँग यति स्नेह हुन्छ, ब्राह्मणी हेरफेर भएमा गिर्छन्। सेन्टरमा आउन नै छोडिदिन्छन्। कुनै उल्टो काम भयो भने सच्चाइका साथ तुरुन्तै बाबालाई लेख्नुपर्छ, अनि पापको असर कम हुन्छ। नत्र वृद्धि हुँदै जानेछ। बाबा सुधार्नको लागि भन्नुहुन्छ तर कसैलाई सुध्रिनु छैन भने पापकर्म गर्न छोड्दै छोड्दैनन्। भाग्यमा छैन भने बाबालाई सच्चा समाचार दिँदैनन्। बाबाको पासमा रिपोर्ट आयो भने सुधार्ने कोसिस गर्नुहुनेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अशरीरी बन्ने पूरा पूरा अभ्यास गर्नु छ। कुनै पनि उल्टोसुल्टो कुरा गर्नु छैन। धेरै प्यारो बन्नु छ। कुनै कुरामा पनि रिसाउनु छैन।

२) मुरलीको याद गर्नु छ। जे सुन्छौ त्यसमा विचार सागर मन्थन गर्नु छ। मनमनाभवको व्रत राख्नु छ।

वरदान:–
सदा देह अभिमान वा देहको दुर्गन्धबाट टाढा रहने इन्द्रप्रस्थ निवासी भव

भनिन्छ– इन्द्रप्रस्थमा परीहरूबाहेक अरू कुनै पनि मानिस निवास गर्न सक्दैनन्। मानिस अर्थात् जसले आफूलाई आत्मा नसम्झेर देह सम्झन्छन्। त्यसैले देह अभिमान र देहको पुरानो दुनियाँ, पुराना सम्बन्धहरूबाट सदा माथि उडिरहनुछ। रत्तिभर पनि मनुष्यपनको दुर्गन्ध हुनुहुँदैन। देहीअभिमानी स्थितिमा स्थित होऊ, ज्ञान र योगका पङ्खहरू मजबुत होऊन् तब इन्द्रप्रस्थ निवासी भनिनेछ।

स्लोगन:–
आफ्नो तन, मन, धनलाई सफल गर्ने वा सर्व खजानाहरूलाई बढाउने नै समझदार हुन्।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

सम्पूर्णता नम्बरवार हुनेछ। मालाका १०८ दाना हुन्छन्, त्यसमा नम्बर वन दाना र एक सय आठौँ दाना दुवैलाई सम्पूर्ण वा विजयी रत्न त भनिन्छ। विजयी रत्न अर्थात् आआफ्नो नम्बर प्रमाण सम्पूर्णता प्राप्त गरेका, उनीहरूको लागि सारा ड्रामाभित्र त्यही नै सम्पूर्णताको फस्ट स्टेज हो।