12.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो पढाइ जुन बाबाले पढाउनु हुन्छ , यसमा अथाह कमाइ छ , त्यसैले पढाइ राम्रोसँग पढिराख , लिङ्क कहिल्यै नटुटोस्।”

प्रश्न:–
जो विनाशकाले विपरीत बुद्धि छन्, उनलाई तिम्रो कुन कुरामा हाँसो लाग्छ?

उत्तर:–
तिमीले अब विनाशकाल नजिक छ भन्यौ भने उनीहरूलाई हाँसो लाग्छ। तिमीलाई थाहा छ– बाबा यहाँ बसिरहनुहुन्न, बाबाको ड्युटी हो पावन बनाउने। तिमीहरू पावन बनिसकेपछि यो पुरानो दुनियाँ विनाश हुन्छ, नयाँ आउँछ। यो लडाइँ हो नै विनाशको लागि। तिमी देवता बनेपछि यस कलियुगी फोहोरी सृष्टिमा आउन सक्दैनौ।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूले सम्झन्छन् हामी धेरै बेसमझ बनेका थियौं। माया रावणले बेसमझ बनाइदिएको थियो। यो पनि बच्चाहरूले जान्दछन्– नयाँ दुनियाँ स्थापना हुनु छ भने बाबा अवश्य नै आउनु हुन्छ। त्रिमूर्तिका चित्र पनि छन्, ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना, शङ्करद्वारा विनाश किनकि गर्नेगराउने त बाबा हुनुहुन्छ नि। एउटै हुनुहुन्छ जसले गर्नुहुन्छ र गराउनु हुन्छ। पहिला कसको नाम आउँछ? जसले गर्नुहुन्छ वा जसद्वारा गराउनु हुन्छ। गर्नेगराउने भनिन्छ नि। ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गराउनु हुन्छ। यो पनि बच्चाहरूले जानेका छौ–हाम्रो जुन नयाँ दुनियाँ हुन्छ, जसलाई हामीले स्थापना गरिरहेका छौं, त्यसको नामै हो देवी-देवताको दुनियाँ। सत्ययुगमा नै देवी-देवता हुन्छन्। अरू कसैलाई देवी-देवता भनिदैन। त्यहाँ मनुष्य हुँदैनन्। एउटै देवी-देवता धर्म हुन्छ, अरू कुनै धर्म नै हुँदैन। अहिले तिमी बच्चाहरूलाई स्मृतिमा आएको छ– वास्तवमा हामी देवी-देवता थियौं, निसानीहरू पनि छन्। इस्लामी, बौद्धी, क्रिस्चियन आदि सबैको आ-आफ्नो निसानी छ। हाम्रो राज्य भएको बेलामा अरू कोही थिएनन्। अहिले अरू सबै धर्म छन्, हाम्रो देवता धर्म छैन। गीतामा शब्द धेरै राम्रा राम्रा छन् तर कसैले बुझ्न सक्दैन। बाबा भन्नुहुन्छ– विनाशकाले विपरीत बुद्धि र विनाशकाले प्रीत बुद्धि। विनाश त यस समयमा नै हुनु छ। बाबा आउनु हुन्छ पनि सङ्गमयुगमा, जबकि परिवर्तन हुनु छ। बाबाले तिमी बच्चाहरूलाई त्यसको सट्टामा सबै कुरा नयाँ दिनुहुन्छ। उहाँ सुनार पनि हुनुहुन्छ, धोबी पनि हुनुहुन्छ, ठुलो व्यापारी पनि हुनुहुन्छ। बिरलै कसैले बाबासँग व्यापार गर्छन्। यस व्यापारमा त अथाह फाइदा छ। पढाइमा फाइदा धेरै हुन्छ। महिमा पनि गरिन्छ– पढाइ कमाइ हो, त्यो पनि जन्मजन्मान्तरको लागि कमाइ हो। त्यसैले यस्तो पढाइ राम्ररी पढ्नुपर्छ र पढाउन पनि धेरै सहज पढाउँछु। केवल एक हप्ता बुझेर फेरि जहाँ गए पनि, तिम्रो पासमा पढाइ आइरहन्छ अर्थात् मुरली मिलिरहन्छ अनि फेरि कहिल्यै लिङ्क टुट्दैन। यो हो आत्माहरूको परमात्माको साथ लिङ्क। गीतामा पनि यी शब्द छन्– विनाश काले विपरीत बुद्धि विनश्यन्ती, प्रीत बुद्धि विजयन्ती। तिमीलाई थाहा छ– यस समयमा मनुष्यले एक अर्कालाई मारपिट गरिरहन्छन्। यिनीहरूमा जस्तो क्रोध वा विकार अरू कसैमा हुँदैन। यो पनि गायन छ– द्रौपदीले पुकारिन्। बाबाले सम्झाउनु भएको छ, तिमीहरू सबै द्रौपदी हौ। भगवानुवाच, बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब विकारमा नजाऊ। मैले तिमीलाई स्वर्गमा लिएर जान्छु, तिमीले केवल म बाबालाई याद गर। अहिले विनाशकाल हो नि, कसैको कुरा पनि सुन्दैनन्, लडि नै रहन्छन्। उनीहरूलाई कति भनिन्छ– शान्त रहनु, तर शान्त बस्दैनन्। आफ्ना बच्चा आदिबाट बिछोडिएर लडाइँको मैदानमा जान्छन्। कति मनुष्य मरिरहन्छन्। मनुष्यको कुनै महत्त्व छैन। यदि महत्त्व छ, महिमा छ भने देवी-देवताहरूको। अहिले तिमीले त्यस्तै बन्ने पुरुषार्थ गरिरहेका छौ। तिम्रो महिमा वास्तवमा यी देवताहरूको भन्दा पनि बढी छ। तिमीलाई अहिले बाबाले पढाइरहनु भएको छ। पढाइ कति उच्च छ। पढ्नेवाला धेरै जन्मको अन्त्यमा बिलकुलै तमोप्रधान छन्। म त सदैव सतोप्रधान नै छु।

बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको आज्ञाकारी सेवक बनेर आएको छु। विचार गर– हामी कति फोहोरी बनेका छौं। बाबाले नै हामीलाई वाह वाह बनाउनु हुन्छ। भगवान बसेर मनुष्यलाई पढाएर कति उच्च बनाउनु हुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म धेरै जन्मको अन्त्यमा तिमीहरू सबैलाई तमोप्रधानबाट सतोप्रधान बनाउन आएको छु। अहिले तिमीलाई पढाइरहेको छु। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गवासी बनाएँ फेरि तिमी नर्कवासी कसरी बन्यौ, कसले बनायो? गायन पनि छ– विनाश काले विपरीत बुद्धि विनश्यन्ती। प्रीत बुद्धि विजयन्ती। फेरि जति जति प्रीत बुद्धि हुन्छौ अर्थात् धेरै याद गर्नेछौ, त्यति नै तिम्रै फाइदा हुन्छ। लडाइँको मैदान हो नि। यो कसैले पनि जान्दैन– गीतामा कुनचाहिँ युद्ध बताइएको छ। उनीहरूले त फेरि कौरव र पाण्डवको युद्ध देखाएका छन्। कौरव सम्प्रदाय, पाण्डव सम्प्रदाय पनि छन् तर कुनै युद्ध त होइन। पाण्डव उनलाई भनिन्छ जसले बाबालाई चिनेका छन्। बाबासँग प्रीत बुद्धि छन्। कौरव उनलाई भनिन्छ जो बाबासँग विपरीत बुद्धि छन्। शब्द त धेरै राम्रा राम्रा बुझ्न लायक छन्।

अहिले हो सङ्गमयुग। तिमी बच्चाहरूलाई थाहा छ, नयाँ दुनियाँको स्थापना भइरहेको छ। बुद्धिले काम लिनु छ। अहिले दुनियाँ कति ठुलो छ। सत्ययुगमा कति थोरै मनुष्य हुन्छन्। सानो वृक्ष हुन्छ नि। त्यो वृक्ष फेरि ठुलो हुन्छ। मनुष्य सृष्टिरूपी यो उल्टो वृक्ष कस्तो छ, यो पनि कसैले जान्दैन। यसलाई कल्प वृक्ष भनिन्छ। वृक्षको ज्ञान पनि चाहिन्छ नि। अरू वृक्षहरूको ज्ञान त धेरै सजिलो छ, तुरुन्तै बताइदिन्छन्। यस कल्पवृक्षको ज्ञान पनि त्यस्तै सजिलो छ तर यो हो मनुष्य वृक्ष। मनुष्यलाई आफ्नो वृक्षको बारेमा थाहै हुँदैन। भन्ने पनि गर्छन्– परमात्मा रचयिता हुनुहुन्छ, त्यसैले अवश्य चैतन्य हुनुपर्छ। बाबा सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ। उहाँमा कुनचाहिँ ज्ञान छ, यो पनि कसैले बुझ्दैनन्। बाबा नै बीज रूप, चैतन्य हुनुहुन्छ। सारा रचना उहाँबाट नै हुन्छ। त्यसैले बाबा बसेर सम्झाउनु हुन्छ, मनुष्यलाई आफ्नो वृक्षको बारेमा थाहै छैन, अरू वृक्षलाई त राम्ररी जानेका छन्। वृक्षको बीज यदि चैतन्य हुने हो भने बताउने थियो तर त्यो त जड हुन्छ। अब तिमी बच्चाहरूले नै रचयिता र रचनाको रहस्यलाई जानेका छौ। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ। चैतन्यसँग त बातचित गर्न सक्नुहुन्छ नि। मनुष्यको तन सबैभन्दा श्रेष्ठ अमूल्य भनेर गायन गरिएको छ। यसको मूल्य तोक्न सकिँदैन। बाबा आएर आत्माहरूलाई सम्झाउनु हुन्छ।

तिमी रूप पनि हौ, बसन्त पनि हौ। बाबा ज्ञानका सागर हुनुहुन्छ। उहाँबाट तिमीलाई रत्न मिल्छन्। यो ज्ञान रत्न हो, जुन रत्नबाट ती रत्न पनि तिमीलाई धेरै मिल्छन्। लक्ष्मी-नारायणसँग हेर कति रत्न छन्। हीरा-जुहारतका महलमा बस्छन्। नाम नै छ स्वर्ग, जसको तिमी मालिक बन्ने छौ। कुनै गरिबलाई अचानक ठुलो चिठ्ठा मिल्यो भने पागल हुन्छ नि। बाबा पनि भन्नुहुन्छ– तिमीलाई विश्वको बादसाही मिल्यो भने मायाले पनि कति अवरोध गर्छ। तिमीलाई पछि गएर थाहा हुन्छ– मायाले कति राम्रा राम्रा बच्चाहरूलाई पनि निलिदिन्छ। एकदम खाइदिन्छ। तिमीले सर्पलाई देखेका छौ– भ्यागुतोलाई कसरी समात्छ, जसरी हात्तीलाई गोहीले खान्छ। सर्पले भ्यागुतोलाई एकदम साराका सारा निलिदिन्छ। माया पनि यस्तै छ, बच्चाहरूलाई जिउँदै पक्रिएर एकदम खतम गरिदिन्छ जसकारण फेरि कहिल्यै बाबाको नाम पनि लिँदैनन्। तिमीमा योगबलको तागत धेरै कम छ। सारा योगमा आधारित छ। जसरी सर्पले भ्यागुतोलाई निलिदिन्छ, तिमी बच्चाहरूले पनि सारा बादसाहीलाई निल्छौ। सारा विश्वको बादसाही तिमीले सेकेण्डमा लिन्छौ। बाबाले कति सहज युक्ति बताउनु हुन्छ। कुनै हतियार आदि छैन। बाबाले ज्ञान-योगको अस्त्र-शस्त्र दिनुहुन्छ। उनीहरूले फेरि स्थूल हतियार आदि देखाइदिएका छन्।

तिमी बच्चाहरूले यस समयमा भन्छौ– हामी केबाट के बनेका थियौं! जे चाह्यो त्यही भन, हामी यस्ता अवश्य थियौं। हुन त हामी मनुष्य नै थियौं तर गुण र अवगुण त हुन्छन् नि। देवतामा दैवी गुण हुन्छन्, त्यसैले उनीहरूको महिमा गाउँछन्– आप सर्वगुण सम्पन्न... हम निर्गुण हारे में कोई गुण नाही। यस समयमा सारा दुनियाँ नै निर्गुण छ अर्थात् एउटामा पनि दैवी गुण छैन। बाबा जसले गुण सिकाउनु हुन्छ, उहाँलाई नै चिनेका छैनन्, त्यसैले भनिन्छ विनाश काले विपरीत बुद्धि। अब सङ्गमयुगमा विनाश त हुनु नै छ। जबकि पुरानो दुनियाँ विनाश हुन्छ र नयाँ दुनियाँ स्थापना हुन्छ। यसलाई विनाश काल भनिन्छ। यो हो अन्तिम विनाश फेरि आधाकल्प कुनै लडाइँ आदि हुँदैन। मनुष्यलाई केही पनि थाहा छैन। विनाश कालमा विपरीत बुद्धि छन्, त्यसैले अवश्य पुरानो दुनियाँको विनाश होला नि। यस पुरानो दुनियाँमा कति आपत्तिहरू आउँछन्। मरिरहन्छन्। बाबाले यस समयको हालत बताउनु हुन्छ। फरक त धेरै छ नि। आज भारतखण्डको यो हाल छ, भोलि के बन्छ? आज यहाँ छौ, भोलि तिमी कहाँ हुन्छौ? तिमीलाई थाहा छ– पहिला नयाँ दुनियाँ कति सानो थियो। त्यहाँ त महलमा पनि कति हीरा-जुहारत आदि हुन्छन्। भक्तिमार्गमा पनि तिम्रो मन्दिर कुनै कम कहाँ हुन्छ र! केवल एउटा सोमनाथको कहाँ हुन्छ र! कसैले एउटा बनायो भने त्यसलाई देखेर अरूले पनि बनाउँछन्। एउटा सोमनाथ मन्दिरबाट नै कति लुटे। फेरि आफ्नै अर्को यादगार बनाएका छन्। भित्तामा पत्थर आदि लगाउँछन्। यी पत्थरको के महत्त्व छ? यति सानो हीराको पनि कति दाम पर्छ। बाबा जौहरी थिए, एक रतिको हीरा हुन्थ्यो, ९० रूपयाँ रति। अहिले त त्यसको महत्त्व हजारौं रूपयाँ छ। भेटिँदैन पनि। मूल्य धेरै बढेको छ। अहिले बेलायत आदितिर धन धेरै छ, तर सत्ययुगको अगाडि यो केही पनि होइन।

अहिले बाबा भन्नुहुन्छ– विनाश काले विपरीत बुद्धि छन्। तिमीले विनाश समीप छ भन्यौ भने मानिसहरू हाँस्छन्। बाबा भन्नुहुन्छ– म कति समय बसिरहन्छु र, मलाई कुनै आनन्द आउँछ र? म त न सुखी, न दु:खी हुन्छु। मेरो ड्युटी हो पावन बनाउने। तिमीहरू यस्ता थियौ, अहिले यस्ता बनेका छौ, फेरि तिमीलाई यस्ता उच्च बनाउँछु। तिमीलाई थाहा छ– हामी फेरि त्यस्ता बन्ने छौं। अब तिमीलाई यो समझ आएको छ, हामी यो दैवी घरानाका थियौं। रजाइँ थियो। फेरि यसरी आफ्नो रजाइँ गुमायौं। फेरि अरू अरू आउन थाले। अब यो चक्र पूरा हुन्छ। अहिले तिमीले जान्दछौ– लाखौं वर्षको त कुरा नै होइन। यो लडाइँ हो नै विनाशको, त्यसतर्फ त धेरै आरामसँग मर्नेछन्। कुनै कष्ट हुँदैन। हस्पिटल आदि नै हुँदैनन्। को बसेर सेवा गर्छ र रून्छ। त्यहाँ त यो रसम नै हुँदैन। उनीहरूको मृत्यु सजिलै हुन्छ। यहाँ त दु:खी भएर मर्छन् किनकि तिमीहरूले धेरै सुख पाएका छौ त्यसैले दु:ख पनि तिमीले नै देख्नु छ। रगतको नदी यहाँ नै बग्छ। उनीहरूले सम्झन्छन्– यो लडाइँ फेरि शान्त हुन्छ तर शान्त त हुने छैन। मिरुआ मौत मलुका शिकार। तिमी देवता बन्छौ, फेरि कलियुगी फोहोरी सृष्टिमा त तिमी आउन सक्दैनौ। गीतामा पनि छ भगवानुवाच। विनाश पनि हेर, स्थापना हेर। साक्षात्कार भयो नि! यो साक्षात्कार सबै अन्त्यमा हुन्छ– फलाना फलाना यस्ता बन्छन् फेरि त्यस समयमा रुन्छन्, धेरै पछुताउने छन्, सजाय खान्छन्, भाग्यलाई दोष दिन्छन्। तर के गर्न सक्छन् र? यो त २१ जन्मको चिट्ठा हो। स्मृति त आउँछ नि। साक्षात्कार विना कसैलाई सजाय मिल्न सक्दैन। ट्रिब्युनल बस्छ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स्वयंमा ज्ञान रत्न धारण गरेर रूप-बसन्त बन्नु छ। ज्ञान रत्नबाट विश्वको बादसाहीको चिट्ठा लिनु छ।

२) यस विनाशकालमा बाबासँग प्रीत राखेर एकको यादमा मात्रै रहनु छ। यस्तो कुनै कर्म गर्नु छैन, जसकारण अन्त्य समयमा पछुताउनु परोस्।

वरदान:–
सदा स्नेही बनेर उड्ती कलाको वरदान प्राप्त गर्ने निश्चित विजयी , निश्चिन्त भव

स्नेही बच्चाहरूलाई बापदादाद्वारा उड्ती कलाको वरदान मिल्छ। उड्ती कलाद्वारा सेकेन्डमा बापदादाको पासमा पुग्यौ भने जस्तोसुकै स्वरुपमा आएको मायाले पनि तिमीलाई छुन सक्दैन। परमात्मा छत्रछायाभित्र मायाको छाया पनि आउन सक्दैन। स्नेहले मेहनतलाई मनोरञ्जनमा परिवर्तन गरिदिन्छ। स्नेहले हर कर्ममा निश्चित विजयी स्थितिको अनुभव गराउँछ, स्नेही बच्चाहरू हर समय निश्चिन्त रहन्छन्।

स्लोगन:–
कुनै नयाँ कुरा होइन (नथिङ्ग न्यु) को स्मृतिद्वारा सदा अचल रह्यौ भने खुसीमा नाचिरहनेछौ।