13.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– पतितबाट पावन बनाउने बाबासँग तिम्रो धेरै धेरै प्यार हुनुपर्छ , सबेरै सबेरै उठेर सबैभन्दा पहिला भन शिवबाबा गुडमर्निङ्ग।”

प्रश्न:–
एक्युरेट यादको लागि कुनचाहिँ धारणा हुनुपर्छ? एक्युरेट याद गर्नेहरूको निसानी के हुन्छ?

उत्तर:–
एक्युरेट यादको लागि धैर्य, गम्भीरता र समझ चाहिन्छ। यस धारणाको आधारबाट जसले याद गर्छन् उनीहरूको याद, यादसँग मिल्छ र बाबाको करेन्ट आउन थाल्छ। त्यस करेन्टले आयु बढ्छ, स्वस्थ बन्दै जान्छौ। दिल एकदम शीतल हुन्छ, आत्मा सतोप्रधान बन्दै जान्छ।

ओम् शान्ति ।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तत् त्वम् अर्थात् तिमी आत्माहरू पनि शान्त स्वरूप हौ। तिमीहरू सबै आत्माहरूको स्वधर्म हो नै शान्ति। शान्तिधामबाट फेरि यहाँ आवाजमा आउँछौ। यी कर्मेन्द्रियहरू तिमीलाई पार्ट खेल्नको लागि मिल्छन्। आत्मा सानो-ठुलो हुँदैन। शरीर सानो-ठुलो हुन्छ। बाबा भन्नुहुन्छ– म त शरीरधारी होइन। मलाई बच्चाहरूसँग सम्मुख मिल्नको लागि आउनु पर्छ। सम्झ, जसरी एक पिताका बच्चा पैदा हुन्छन्। त्यस बच्चाले यस्तो भन्दैन– म परमधामबाट जन्म लिएर माता-पितासँग मिल्नको लागि आएको हुँ। यदि कसैको शरीरमा कुनै नयाँ आत्मा वा पुरानो आत्मा प्रवेश गर्यो भने यस्तो भन्दैन– म माता-पितासँग मिल्न आएको हुँ। उसलाई स्वत: माता-पिता मिल्छन्। यहाँ यो नयाँ कुरा हो। बाबा भन्नुहुन्छ– म परमधामदेखि आएर तिमी बच्चाहरूको सम्मुख उपस्थित भएको छु। बच्चाहरूलाई फेरि ज्ञान दिन्छु किनकि म हुँ नलेजफुल, ज्ञानको सागर...। म आउँछु तिमी बच्चाहरूलाई पढाउन, राजयोग सिकाउन। राजयोग सिकाउने भगवान नै हुनुहुन्छ। श्रीकृष्णको आत्माको यो ईश्वरीय पार्ट छैन। हरेकको पार्ट आआफ्नो छ। ईश्वरको पार्ट आफ्नो छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। यसरी आफूलाई आत्मा सम्झनु कति मीठो लाग्छ। हामी के थियौं! अहिले के बनिरहेका छौं!

यो ड्रामा कस्तो अद्भुत बनेको छ, यो पनि तिमीले अहिले सम्झाउँछौ। यो पुरुषोत्तम सङ्गमयुग हो, यति मात्रै याद रह्यो भने पनि पक्का छ हामी सत्ययुगमा जानेछौं। अहिले सङ्गमयुगमा छौं फेरि जानु छ आफ्नो घर। त्यसैले पावन त अवश्य बन्नु छ। भित्र धेरै खुसी हुनुपर्छ। ओहो! बेहदका बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ। विश्वको मालिक बन्छौ। बाबाले बच्चाहरूलाई कति प्यार गर्नुहुन्छ। यस्तो होइन, केवल टिचरको रूपमा पढाएर घरमा जानुहुन्छ । उहाँ त पिता पनि टिचर पनि हुनुहुन्छ। तिमीलाई पढाउनु पनि हुन्छ। यादको यात्रा पनि सिकाउनु हुन्छ।

यस्तो विश्वको मालिक बनाउने, पतितबाट पावन बनाउने बाबासँग धेरै प्यार हुनुपर्छ। बिहान सबेरै उठ्ने बित्तिकै सबैभन्दा पहिला शिवबाबालाई गुड मर्निङ्ग भन्नुपर्छ। गुड मर्निङ्ग अर्थात् याद गर्यौ भने धेरै खुसीमा रहन्छौ। बच्चाहरूले आफ्नो दिलसँग सोध्नु पर्छ– मैले सबेरै उठेर बेहदका बाबालाई कति याद गर्छु? मनुष्यहरूले भक्ति पनि सबेरै गर्छन् नि! भक्ति कति प्यारले गर्छन्। तर बाबाले जान्नुहुन्छ– कति बच्चाहरूले दिलोज्यान र प्रेमले याद गर्दैनन्। बिहानै उठेर बाबालाई गुड मर्निङ्ग भन्यौ, ज्ञानको चिन्तनमा रह्यौ भने खुसीको पारा चढ्छ। बाबालाई गुडमर्निङ्ग भनेनौ भने पापको बोझ कसरी उत्रिन्छ? मुख्य हो नै याद, यसबाट भविष्यको लागि तिम्रो धेरै कमाइ हुन्छ। कल्पकल्पान्तर यो कमाइ काममा आउने छ। धेरै धैर्य, गम्भीरता, समझले याद गर्नु पर्ने हुन्छ। मोटो हिसाबमा त भनिदिन्छन्– हामीले बाबालाई धेरै याद गर्छौं तर एक्युरेट याद गर्नमा मेहनत छ। जसले बाबालाई बढी याद गर्छन् उनीहरूलाई धेरै करेन्ट मिल्छ किनकि यादबाट नै याद मिल्छ। योग र ज्ञान दुई चीज छन्। योगको विषय अलग हो, यो धेरै ठुलो विषय हो। योगले नै आत्मा सतोप्रधान बन्छ। याद बिना सतोप्रधान हुन असम्भव छ। बाबालाई राम्रोसँग प्यारले याद गर्यौ भने स्वत: करेन्ट मिल्छ, स्वस्थ बन्छौ। करेन्टले आयु पनि बढ्छ। बच्चाहरूले याद गरे भने बाबाले पनि सर्चलाइट दिनुहुन्छ। बाबाले तिमी बच्चाहरूलाई कति गहन खजाना दिनुहुन्छ।

बच्चाहरूले यो पक्का याद राख्नु छ– शिवबाबाले हामीलाई पढाउनु हुन्छ। शिवबाबा पतित-पावन पनि हुनुहुन्छ। सद्गतिदाता पनि हुनुहुन्छ। सद्गतिदाता अर्थात् स्वर्गको राज्यभाग्य दिनुहुन्छ। बाबा कति प्यारा हुनुहुन्छ। कति प्यारले बच्चाहरूलाई बसेर पढाउनु हुन्छ। बाबाले दादाद्वारा हामीलाई पढाउनु हुन्छ। बाबा कति मीठो हुनुहुन्छ। कति प्यार गर्नुहुन्छ। कुनै मेहनत दिनुहुन्न। केवल भन्नुहुन्छ– मलाई याद गर अनि चक्रलाई याद गर। बाबाको यादमा दिल एकदम शीतल हुनुपर्छ। एक बाबाको यादले नै सताउनुपर्छ किनकि बाबाबाट कति भारी वर्सा मिल्छ। आफूलाई हेर्नुपर्छ मेरो बाबासँग कति प्यार छ? ममा दैवी गुण कहाँसम्म छन्! किनकि तिमी बच्चाहरू अब काँडाबाट फूल बनिरहेका छौ। जति जति योगमा रहन्छौ त्यति काँडाबाट फूल, सतोप्रधान बन्दै जान्छौ। फूल बनेपछि फेरि यहाँ रहन सक्दैनौ। फूलहरूको बगैँचा हो नै स्वर्ग। जसले धेरै काँडाहरूलाई फूल बनाउँछन् उनीहरूलाई नै सच्चा सुगन्धित फूल भनिन्छ। कहिल्यै कसैलाई काँडा लगाउँदैनन्। क्रोध पनि ठुलो काँडा हो, धेरैलाई दु:ख दिन्छन्। अहिले तिमी बच्चाहरू काँडाको दुनियाँबाट किनारामा आएका छौ, तिमी छौ सङ्गममा। जसरी मालीले फूलहरूलाई अलग्गै बर्तनमा निकालेर राख्छन्, त्यसैगरी तिमी फूलहरूलाई पनि अब सङ्गमयुगी बर्तनमा अलग्गै राखिएको छ। फेरि तिमी फूलहरू स्वर्गमा जान्छौ, कलियुगी काँडा भस्म हुन्छन्।

बच्चाहरूले जानेका छौ पारलौकिक बाबाबाट हामीलाई अविनाशी वर्सा मिल्छ। जो सच्चा सच्चा बच्चा छन्, जसको बापदादासँग पूरा पूरा प्यार छ उनीहरूलाई धेरै खुसी हुन्छ। हामी विश्वको मालिक बन्छौं। हो, पुरुषार्थले नै विश्वको मालिक बनिन्छ, भनेर मात्र हुँदैन। जो अनन्य बच्चाहरू छन् उनीहरूलाई सदैव यो याद रहन्छ– हामीले आफ्नो लागि फेरि उही सूर्यवंशी, चन्द्रवंशी राजधानी स्थापना गरिरहेका छौं। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जति तिमीले धेरैको कल्याण गर्छौ त्यति नै तिमीलाई प्रतिफल मिल्छ। धेरैलाई मार्ग बतायौ भने धेरैको आशीर्वाद मिल्छ। ज्ञान रत्नहरूबाट झोली भरेर फेरि दान गर्नु छ। ज्ञानसागरले तिमीलाई रत्नहरूको थाली भरी भरी दिनुहुन्छ। जसले फेरि दान गर्छन् उनीहरू नै सबैलाई प्रिय लाग्छन्। बच्चाहरूलाई भित्र कति खुसी हुनुपर्छ। जो समझदार बच्चा हुन्छन् उनीहरूले भन्छन्– हामीले त बाबाबाट पूरै वर्सा लिन्छौं, एकदम नजकि हुन्छौं। बाबासँग धेरै प्यार हुन्छ किनकि जानेका छौ– प्राण दिनेवाला बाबा मिल्नुभएको छ। ज्ञानको वरदान यस्तो दिनुहुन्छ जसबाट हामी केबाट के बन्छौं। विपन्नबाट सम्पन्न बन्छौं, यति भण्डारा भरपुर गर्नुहुन्छ। जति बाबालाई याद गर्छौ, त्यति प्यार हुन्छ, आकर्षण हुन्छ। सियो सफा भयो भने चुम्बकतर्फ तानिन्छ नि। बाबाको यादले खिया निस्किँदै जान्छ। एक बाबा बाहेक अरू कोही याद नआओस्। जसरी स्त्रीको पतिसँग कति प्यार हुन्छ। तिम्रो पनि मगनी भएको छ नि। मगनी हुँदा के कम खुसी हुन्छ र? शिवबाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो मेरो साथमा मगनी भएको छ, ब्रह्माको साथमा मगनी होइन। मगनी पक्का भएपछि त उनकै यादले सताउनु पर्छ।

बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! लापरवाही नगर। स्वदर्शन चक्रधारी बन, लाइट हाउस बन। स्वदर्शन चक्रधारी बन्ने अभ्यास राम्रो भयो भने तिमी ज्ञानका सागर समान हुन्छौ। जसरी विद्यार्थीले पढेर टिचर बन्छन् नि। तिम्रो धन्दा नै यो हो। सबैलाई स्वदर्शन चक्रधारी बनाऊ, तब मात्रै चक्रवर्ती राजा-रानी बन्छौ। त्यसैले बाबा सदैव बच्चाहरूसँग सोध्नुहुन्छ– प्यारा बच्चाहरू! स्वदर्शन चक्रधारी भएर बसेका छौ? बाबा पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ नि। बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई फर्काएर लैजान। तिमी बच्चाहरू विना मलाई पनि बेचैनी हुन्छ। जब समय हुन्छ अनि बेचैनी हुन्छ। अब जाऊँ किनकि बच्चाहरूले पुकार्छन्, हामी धेरै दु:खी छौं। दया आउँछ। अब तिमी बच्चाहरू घर जानु छ। फेरि त्यहाँबाट तिमी आफै सुखधाम जान्छौ । त्यहाँ म तिम्रो साथी बन्दिन। आफ्नो अवस्था अनुसार तिम्रो आत्मा जान्छ।

तिमी बच्चाहरूलाई यो नसा हुनु पर्छ– हामीले रुहानी युनिभर्सिटीमा पढिरहेका छौं। हामी ईश्वरीय विद्यार्थी हौं। हामीले मनुष्यबाट देवता अथवा विश्वको मालिक बन्नको लागि पढिरहेका छौं। यसबाट हामीले सारा मन्त्रालय पास गर्छौं। स्वास्थ्य शिक्षा पनि पढ्छौं, चरित्र सुधार्ने ज्ञान पनि पढ्छौं। स्वास्थ्य मन्त्रालय, खाद्य मन्त्रालय, भूमि सुधार मन्त्रालय, भवन मन्त्रालय सबै यसमा आउँछन्।

बच्चाहरूलाई बाबा बसेर सम्झाउनु हुन्छ। कुनै सभामा भाषण गर्दा वा कसैलाई सम्झाउँदा घरी घरी भन आफूलाई आत्मा सम्झेर परमपिता परमात्मालाई याद गरौं। यस यादले नै तिम्रा विकर्महरू विनाश हुन्छन्। हामी पावन बन्छौं। घरी घरी यो याद गर्नु छ। तर यो पनि तिमीले तब मात्र भन्न सक्छौ जब स्वयं यादमा हुन्छौ। यस कुरामा बच्चाहरूको धेरै कमजोरी छ। मनमनै तिमी बच्चाहरूलाई खुसी हुन्छ, यादमा रहनाले नै अरूलाई सम्झाउँदा असर पर्छ। तिमी बढी बोल्नु हुँदैन। आत्म अभिमानी भएर थोरै बोल्यौ भने पनि तीर लाग्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जे बित्यो सो बित्यो। अब पहिला आफूलाई सुधार। स्वयंले याद गरेनौ, अरूलाई मात्र भनिरह्यौ, यो ठगी अब चल्न सक्दैन। भित्र दिल अवश्य खान्छ होला। बाबासँग पूरा प्यार छैन भने श्रीमतमा चल्दैनन्। बेहदका बाबाले जस्तो शिक्षा त अरू कसैले दिन सक्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब यस पुरानो दुनियाँलाई भुल। पछि गएर त यो सबै भुल्नु नै छ। बुद्धि लाग्छ आफ्नो शान्तिधाम र सुखधाममा। बाबालाई याद गर्दै गर्दै बाबाको नजिक जानु छ। पतित आत्मा त जान सक्दैन। त्यो हो नै पावन आत्माहरूको घर। यो शरीर ५ तत्त्वहरूले बनेको छ। त्यसैले ५ तत्त्वहरूले यहाँ रहनको लागि आकर्षण गर्छन् किनकि आत्माले मानौं यो सम्पत्ति लिएको छ, त्यसैले शरीरमा ममत्व भएको छ। अब यसबाट ममत्व निकालेर जानु छ आफ्नो घर। त्यहाँ त यी ५ तत्त्व हुँदैनन्। सतयुगमा पनि शरीर योगबलद्वारा बन्छ। सतोप्रधान प्रकृति हुन्छ त्यसैले आकर्षित गर्दैन। दु:ख हुँदैन। बुझ्नको लागि यी कुरा धेरै महीन छन्। यहाँ ५ तत्त्वहरूको बलले आत्मालाई आकर्षित गर्छ, त्यसैले शरीर छोड्ने दिल हुँदैन। नत्र त यसमा झन् खुसी हुनु पर्ने हो। पावन बनेर शरीर यसरी छोड्छौं जसरी मख्खनबाट रौं। त्यसैले शरीरबाट, सबै कुराबाट ममत्व एकदम मेटाइदिनु छ, यससँग हाम्रो केही सम्बन्ध छैन। अब हामी बाबाको पासमा जाँदैछौं। यस दुनियाँमा आफ्नो सबैथोक तयार गरेर पहिलादेखि नै पठाइसकेका छौं। साथमा लिएर त जान सकिँदैन। बाँकी आत्माहरूलाई जानु छ। शरीरलाई पनि यहाँ छोडिदिएका छौं। बाबाले नयाँ शरीरको साक्षात्कार गराउनु भएको छ। हीरा-जुहारतका महल मिल्छन्। यस्तो सुखधाममा जानको लागि कति मेहनत गर्नुपर्छ। थाक्नु छैन। दिनरात धेरै कमाइ गर्नु छ, त्यसैले बाबा भन्नुहुन्छ– निद्रालाई जित्ने बच्चाहरू! म एकलाई याद गर, विचार सागर मन्थन गर। ड्रामाको रहस्यलाई बुद्धिमा राख्नाले बुद्धि एकदम शीतल हुन्छ। जो महारथी बच्चाहरू छन् उनीहरू कहिल्यै डगमग हुने छैनन्। शिवबाबालाई याद गर्यौ भने उहाँले सम्हाल पनि गर्नुहुन्छ।

बाबाले तिमी बच्चाहरूलाई दु:खबाट छुटाएर शान्तिको दान दिनुहुन्छ। तिमीले पनि शान्तिको दान दिनु छ। तिम्रो यो बेहदको शान्ति अर्थात् योगबलले अरूलाई पनि एकदम शान्त पार्नेछ। तुरुन्तै थाहा हुन्छ, यो हाम्रो घरको हो वा होइन। आत्मालाई तुरुन्त आकर्षण हुन्छ, उहाँ हाम्रो बाबा हुनुहुन्छ। नाडी पनि हेर्नुपर्ने हुन्छ। बाबाको यादमा बस अनि हेर यो आत्मा हाम्रो कुलको हो कि होइन। यदि हो भने एकदम शान्त हुन्छ। जो यस कुलका हुन्छन् उनीहरूलाई नै यी कुरामा रस बस्छ। बच्चाहरूले याद गरे भने बाबाले पनि प्यार गर्नुहुन्छ। आत्मालाई प्यार गरिन्छ। यो पनि जान्नुहुन्छ– जसले धेरै भक्ति गरेका छन् उनीहरूले नै बढी पढ्छन्। उनीहरूको चेहराबाट थाहा हुन्छ बाबामा कति प्यार छ। आत्माले बाबालाई देख्छ। बाबाले हामी आत्माहरूलाई पढाइरहनु भएको छ। बाबालाई थाहा छ– म यति सानो बिन्दुले आत्मालाई पढाउँछु। पछि गएर तिम्रो पनि यो अवस्था हुन्छ। सम्झन्छौ– मैले आत्मा भाइलाई पढाउँदै छु। अनुहार बहिनीको भए पनि दृष्टि आत्मातर्फ जाओस्। शरीरमा दृष्टि बिल्कुलै नजाओस्, यसमा धेरै मेहनत छ। यी कुरा धेरै महीन छन्। यो पढाइ धेरै उच्च छ। जोख्यौ भने यस पढाइको पल्ला धेरै गह्रौं हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुड मर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो झोली ज्ञान रत्नले भरेर फेरि दान पनि गर्नु छ। जसले दान गर्छ ऊ सबैको प्यारो बन्छ, उसलाई अपार खुसी हुन्छ।

२) प्राणदान दिने बाबालाई धेरै प्यारले याद गरेर सबैलाई शान्तिको दान दिनु छ। स्वदर्शन चक्र घुमाउँदै ज्ञानको सागर बन्नु छ।

वरदान:–
अन्त:वाहक शरीरद्वारा सेवा गर्ने कर्मबन्धनमुक्त डबल लाइट भव

जसरी स्थूल शरीरद्वारा साकारी ईश्वरीय सेवामा व्यस्त रहन्छौ, त्यसैगरी आफ्नो आकारी शरीरद्वारा अन्त:वाहक (सूक्ष्म) सेवा पनि साथसाथै गर्नुछ। जसरी ब्रह्माद्वारा स्थापनाको वृद्धि भयो, त्यसैगरी अब तिमीहरूको सूक्ष्म शरीरहरूद्वारा, शिवशक्ति रूपको साक्षात्कारद्वारा साक्षात्कार र सन्देश मिल्ने कार्य हुनुछ। तर यस सेवाको निम्ति कर्म गर्दा पनि कुनै पनि कर्मबन्धनबाट मुक्त सदा डबल लाइट रूपमा रहनु छ।

स्लोगन:–
मनन गर्नाले जुन खुसी रूपी मखन निस्कन्छ, त्यसले जीवनलाई शक्तिशाली बनाउँछ।