13.07.25    Avyakt Bapdada     Nepali Murli    03.02.2006     Om Shanti     Madhuban


“ परमात्म प्यारमा सम्पूर्ण पवित्रताको यस्तो स्थिति बनाऊ जसमा व्यर्थको नामनिसान नहोस्”


आज बापदादाले चारैतिरका आफ्ना प्रभु प्यारा बच्चाहरूलाई देखिरहनुभएको छ। सारा विश्वका छानिएका करोडौं आत्माहरूमध्ये कोही यस परमात्म प्यारका अधिकारी बन्छन्। परमात्म प्यारले नै तिमी बच्चाहरूलाई यहाँ ल्याएको हो। यो परमात्म प्यार सारा कल्पमा यस समयमा मात्र अनुभव गर्छौ। अरू सबै समयमा आत्माहरूको प्यार, महान् आत्माहरूको, धर्म आत्माहरूको प्यार अनुभव गर्यौ तर अहिले परमात्म प्यारको पात्र बनेका छौ। कसैले तिमीलाई सोध्यो– परमात्मा कहाँ हुनुहुन्छ? तिमीले के भन्छौ? परमात्म बाबा त हाम्रो साथमा नै हुनुहुन्छ। हामी उहाँको साथमा रहन्छौँ। परमात्मा पनि हामी बिना रहन सक्नुहुन्न र हामी पनि परमात्मा बिना रहन सक्दैनौँ। यति धेरै प्यार अनुभव गरिरहेका छौ। गर्वले भन्छौ– उहाँ हाम्रो दिलमा हुनुहुन्छ र हामी उहाँको दिलमा रहन्छौँ। यस्ता अनुभवी छौ नि! छौ अनुभवी? दिलमा के आउँछ? यदि म अनुभवी भइनँ भने को होला! बाबा पनि यस्ता प्यारका अधिकारी बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ।

परमात्म प्यारको निसानी हो जोसँग प्यार हुन्छ उसको पछाडि सबै कुर्बान गर्नको लागि सहजै तयार भइन्छ। तिमीहरू सबै, जे बाबा चाहनुहुन्छ– हरेक बच्चा बाबासमान बनुन्, हरेकको चेहराबाट बाबालाई प्रत्यक्ष देखियोस्, यस्ता बनेका छौ नि? बापदादालाई मनपर्ने स्थिति थाहा छ नि! बाबालाई मनपर्ने स्थिति नै सम्पूर्ण पवित्रता हो। यस ब्राह्मण जन्मको जग पनि सम्पूर्ण पवित्रता हो। सम्पूर्ण पवित्रताको गुह्यता थाहा छ? सङ्कल्प र स्वप्नमा अलिकति मात्र पनि अपवित्रताको नामनिसान नहोस्। बापदादा वर्तमानको समयको समीपता अनुसार बारम्बार ध्यान खिचाइरहनुभएको छ– सम्पूर्ण पवित्रताको हिसाबले व्यर्थ सङ्कल्प, यो पनि सम्पूर्णता होइन। त्यसैले जाँच गर– व्यर्थ सङ्कल्प चल्छ? कुनै पनि प्रकारको व्यर्थ सङ्कल्पले सम्पूर्णताबाट टाढा त लगिरहेको छैन? जति जति पुरुषार्थमा अगाडि बढ्दै जान्छौ, त्यति रोयल रूपका व्यर्थ सङ्कल्पले व्यर्थ समय त समाप्त गरिरहेको छैन? रोयल रूपमा अभिमान र अपमानले व्यर्थ सङ्कल्पको रूपमा वार त गर्दैन? यदि अभिमान रूपले कुनै पनि परमात्म देनलाई आफ्नो विशेषता सम्झन्छौ भने त्यो विशेषतालाई पनि अभिमानले तल झारिदिन्छ। विघ्नरूप बनिदिन्छ र अभिमान पनि सूक्ष्मरूपमा यही आउँछ, जुन थाहा पनि छ– मेरोपन आयो, मेरो नाम, मान, शान हुनुपर्छ, यो मेरोपनले अभिमानको रूप लिन्छ। यो व्यर्थ सङ्कल्पले पनि सम्पूर्णताबाट टाढा बनाइदिन्छ किनकि बापदादा यही चाहनुहुन्छ– स्वमान, न अभिमान, न अपमान। यिनै कारण बन्छन् व्यर्थ सङ्कल्प आउने।

बापदादा हरेक बच्चालाई डबल मालिकपनको निश्चय र नशामा हेर्न चाहनुहुन्छ। डबल मालिकपन के हो? एक त बाबाको खजानाको मालिक र अर्को स्वराज्यको मालिक। दुवै मालिकपनमा रहनुछ किनकि सबै बालक पनि हौ र मालिक पनि हौ। तर बापदादाले देख्नुभयो– बालक त सबै छँदैछौ किनकि सबैले भन्छौ– मेरो बाबा। मेरो बाबा अर्थात् बालक छँदैछौ। तर बालकको साथै दुवै प्रकारका मालिक। त्यसैले मालिकपनमा नम्बरवार हुन्छौ। म बालक सो मालिक पनि हुँ। वर्साको खजाना प्राप्त भएको छ त्यसैले बालकपनको निश्चय र नशा हुन्छ तर मालिकपनको यथार्थमा निश्चयको नशा, त्यसमा नम्बरवार हुन्छौ। स्वराज्य अधिकारी मालिक, यसमा विशेष विघ्न पार्छ मनले। मनको मालिक बनेर कहिल्यै पनि मनको परवश नहोऊ। भन्छौ– स्वराज्य अधिकारी हौँ, तब स्वराज्य अधिकारी अर्थात् राजा हौँ, जसरी ब्रह्माबाबाले दिनहुँ जाँच गरेर मनको मालिक बनी विश्वको मालिकको अधिकार प्राप्त गर्नुभयो। त्यसैगरी यी मन बुद्धि राजाको हिसाबले त मन्त्री हुन्, यी व्यर्थ सङ्कल्प पनि मनमा उत्पन्न हुन्छन्, अनि मनले व्यर्थ सङ्कल्पको वशमा पारिदिन्छ। यदि अडर अनुसार चलाएनौ भने मन चञ्चल बन्नाले परवश पारिदिन्छ। त्यसैले जाँच गर। हुन त मनलाई घोडा भनिन्छ, किनकि चञ्चल छ नि! र तिमीसँग श्रीमतको लगाम छ। यदि श्रीमतको लगाम अलिकति पनि खुकुलो भयो भने मन चञ्चल बनिदिन्छ। किन लगाम खुकुलो हुन्छ? किनकि कतै न कतै बाहिरी दृश्य हेर्नमा लागिहाल्छन्। र लगाम खुकुलो भयो भने मनले मौका पाउँछ। त्यसैले म बालक सो मालिक हुँ, यस स्मृतिमा सदैव रहने गर। जाँच गर– खजानाको पनि मालिक र स्वराज्यको पनि मालिक, डबल मालिक हुँ? यदि मालिकपन कम भयो भने कमजोर संस्कार इमर्ज हुन्छन्। र संस्कारलाई के भन्छौ? मेरो संस्कार यस्तो छ, मेरो स्वभाव यस्तो छ, तर के यो मेरो हो? भन्न त यस्तै भन्छौ, मेरो संस्कार। यो मेरो हो? मेरो संस्कार भन्नु सही हो? सही हो? मेरो हो वा रावणको जायजात हो? कमजोर संस्कार रावणको जायजात हो, त्यसलाई मेरो कसरी भन्न सकिन्छ। मेरो संस्कार कुन हो? जुन बाबाको संस्कार त्यो मेरो संस्कार। त्यसोभए बाबाको संस्कार कुन हो? विश्वकल्याण। शुभभावना, शुभकामना। त्यसैले कुनै पनि कमजोर संस्कारलाई मेरो संस्कार भन्नु नै गलत हो। र मेरो संस्कार यदि मानौँ दिलमा बसायौ भने, अशुद्ध चीज दिलमा बसायौ। मेरो चीजसँग त प्यार हुन्छ नि! त्यसैले मेरो सम्झनाले आफ्नो दिलमा ठाउँ दियौ। त्यसैले कयौँ पटक बच्चाहरूले धेरै युद्ध गर्नुपर्छ किनकि अशुभ र शुभ दुवैलाई दिलमा बसायौ भने दुवैले के गर्छन्? युद्ध नै त गर्छन्! जब यो सङ्कल्पमा आउँछ, वाणीमा पनि आउँछ– मेरो संस्कार। त्यसपछि जाँच गर– यो अशुभ संस्कार मेरो संस्कार होइन। त्यसैले संस्कार परिवर्तन गर्नुपर्छ।

बापदादा हरेक बच्चालाई चालचलन र चेहरामा पदम पदमगुणा भाग्यवान् देख्न चाहनुहुन्छ। कयौँ बच्चाहरूले भन्छन्– भाग्यवान् त बनेका छौँ तर चल्दाचल्दै भाग्य इमर्ज हुनुको सट्टा मर्ज हुन्छ तर बापदादा हरेक समय, हरेक बच्चाको मस्तकमा भाग्यको सितारा चम्किरहेको हेर्न चाहनुहुन्छ। कसैले पनि तिमीलाई देख्यो भने चेहराबाट, चालचलनबाट भाग्यवान् देखियोस् अनि मात्रै तिमी बच्चाहरूद्वारा बाबाको प्रत्यक्षता हुनेछ किनकि वर्तमान समयमा धेरैजसोले अनुभव गर्न चाहन्छन्, जसरी आजकालको साइन्सले प्रत्यक्ष रूपमा देखाउँछ नि! अनुभव गराउँछ नि! गर्मीको पनि अनुभव गराउँछ, चिसोको पनि अनुभव गराउँछ, त्यसो हो भने साइलेन्सको शक्तिबाट पनि अनुभव गर्न चाहन्छन्। जति जति स्वयं अनुभवमा रहन्छौ त्यति अरूलाई पनि अनुभव गराउन सक्छौ। बापदादाले इसारा दिनुभएकै छ– अहिले कम्बाइन्ड सेवा गर। केवल आवाजबाट होइन, तर आवाजको साथमा अनुभवीमूर्त बनेर अनुभव गराउने पनि सेवा गर। कुनै न कुनै शान्तिको अनुभव, खुसीको अनुभव, आत्मिक प्यारको अनुभव..., अनुभव यस्तो चीज हो जुन एक पटक पनि अनुभव भयो भने छोड्न सक्दैनौन्। सुनेको कुरा भुल्न सकिन्छ तर अनुभवको चीज भुलिँदैन। त्यसले अनुभव गराउनेको समीप ल्याउँछ।

सबैले सोध्छन्– अब आउँदा दिनको लागि के नवीनता गर्ने? तब बापदादाले देख्नुभयो– सेवा त सबैले उमङ्ग-उत्साहले गरिरहेका छौ, हरेक वर्गले पनि गरिरहेको छ। आज पनि धेरै वर्गहरू जम्मा भएका छन् नि! मेगा कार्यक्रम पनि गर्यौ, सन्देश त दियौ, आफ्नो गुनासो हटायौ, यसको बधाई छ। तर अहिलेसम्म यो आवाज फैलिएको छैन– यो परमात्म ज्ञान हो। ब्रह्माकुमारीहरूले कार्य राम्रो गरिरहेका छन्, ब्रह्माकुमारीहरूको ज्ञान धेरै राम्रो छ तर यही परमात्म ज्ञान हो, परमात्म कार्य चलिरहेको छ, यो आवाज फैलिओस्। मेडिटेसनको कोर्स पनि गराउँछौ, आत्माको परमात्मासँग कनेक्सन पनि जोड्छौ तर अब परमात्म कार्य स्वयं परमात्माले गराइरहनुभएको छ, यो धेरै कमले अनुभव गर्छन्। आत्मा र धारणाहरू प्रत्यक्ष भइरहेका छन्, राम्रो कार्य गरिरहेका छन्, राम्रो बोल्छन्, राम्रो सिकाउँछन्, यहाँसम्म ठीक छ। ज्ञान राम्रो छ, यति पनि भन्छन् तर परमात्म ज्ञान हो... यो आवाजले बाबाको नजिक ल्याउनेछ र जति बाबाको नजिक आउँछन् त्यति अनुभव स्वतः नै गर्दै जानेछन्। त्यसैले यस्तो योजना बनाऊ र भाषणहरूमा यस्तो केही जौहर भर, जसबाट परमात्माको नजिक आऊन्। दिव्यगुणहरूको धारणा, यसमा ध्यान गएको छ, आत्माको ज्ञान दिन्छन्, परमात्माको ज्ञान दिन्छन्, यो भन्छन् तर परमात्मा आउनुभएको छ, परमात्म कार्य स्वयं परमात्माले चलाइरहनुभएको छ, यो प्रत्यक्षताले त चुम्बकले जस्तै समीप ल्याउनेछ। तिमीहरू पनि समीप तब आयौ जब बुझ्यौ– बाबा मिल्नुभएको छ, बाबासँग मिल्नुछ। स्नेही धेरैजसो बन्छन्, उनीहरूले के सम्झेर स्नेही बने? कार्य धेरै राम्रो छ। भन्छन् जुन कार्य ब्रह्माकुमारीहरूले गरिरहेका छन्, त्यो कार्य कसैले गर्न सक्दैन, परिवर्तन गराउँछन्। तर परमात्मा बोलिरहनुभएको छ, परमात्माबाट वर्सा लिनुछ, यति नजिक आउँदैनन् किनकि अहिले जसले पहिला बुझ्दैनथे– ब्रह्माकुमारीहरूले के गर्छन्, यिनीहरूको ज्ञान के हो, उनीहरूले बुझ्न थालेका छन्। तर परमात्म प्रत्यक्षता, यदि– परमात्माको ज्ञान हो भन्ने बुझे भने रोकिन सक्छन् र! जसरी तिमीहरू दौडेर आयौ नि, त्यसरी नै दौडनेछन्। त्यसैले अहिले यस्तो योजना बनाऊ, यस्ता भाषण तयार गर, यस्ता परमात्म अनुभूतिका यथार्थ प्रमाण बन तब बाबाको प्रत्यक्षता यथार्थमा देखिनेछ। अहिले ‘राम्रो छ’– यहाँसम्म पुगेका छन्, ‘राम्रो बन्नुछ’, त्यो लहर परमात्म प्यारको अनुभूतिबाट हुनेछ। त्यसैले अनुभवीमूर्त बनेर अनुभव गराऊ। अहिले डबल मालिकपनको स्मृतिबाट समर्थ बनेर समर्थ बनाऊ। अच्छा।

सेवाको पालो पञ्जाब जोनको हो:– (पञ्जाबबाट आएकाले) हात हल्लाऊ। राम्रो छ, जुनसुकै पनि जोनलाई पालो मिल्छ उनीहरू खुला दिलले आइहाल्छन्। (पञ्जाब जोनबाट ४००० आएका छन्) बापदादालाई पनि खुसी लाग्छ– हरेक जोनले सेवाको मौका राम्ररी लिन्छन्। पञ्जाबलाई सबैले सामान्य रीतिले शेर (सिंह) भन्छन्, पञ्जाब शेर हो र बापदादा भन्नुहुन्छ– शेर अर्थात् विजयी। त्यसैले सदैव पञ्जाबवासीहरूले आफ्नो मस्तकको बीचमा विजयको तिलक अनुभव गर्नुछ। पञ्जावलाई विजयको तिलक मिलेको छ। यो सदैव स्मृति रहोस्– हामी नै कल्प कल्पका विजयी हौँ। थियौँ, छौँ र कल्प कल्प बन्नेछौँ। राम्रो छ। पञ्जाबले पनि वारिस क्वालिटीकालाई बाबाको अगाडि ल्याउने कार्यक्रम बनाइरहेको छ नि! अहिलेसम्म पञ्जाबले बापदादाको अगाडि वारिस क्वालिटीकालाई ल्याएको छैन। स्नेही क्वालिटीका ल्याएको छ, सबै जोनले स्नेही सहयोगी क्वालिटीका ल्याएका छन् तर वारिस क्वालिटीका ल्याएका छैनन्। तयारी गरिरहेका छन् नि! सबै प्रकारका चाहिन्छन् नि! वारिस पनि चाहिन्छन्, स्नेही पनि चाहिन्छन्, सहयोगी पनि चाहिन्छन्, माइक पनि चाहिन्छन्, माइट पनि चाहिन्छन्। सबै प्रकारका चाहिन्छन्। राम्रो छ, सेवाकेन्द्रहरूमा त वृद्धि भइरहेको छ। हरेकले उमङ्ग-उत्साहले सेवामा वृद्धि गरिरहेका पनि छन्, अब हेरिनेछ– कुन जोनमा यो प्रत्यक्ष हुन्छ– परमात्मा आइसक्कनुभएको छ। बाबालाई कुन जोनले प्रत्यक्ष गर्छ, त्यो बापदादाले हेरिरहनुभएको छ। फरेन (विदेश) ले गर्छ? फरेनले पनि गर्न सक्छ। पञ्जाबले नम्बर लेऊ। लेऊ, राम्रो छ। सबैले तिमीलाई सहयोग दिनेछन्। धेरै समयदेखि प्रयत्न गरिरहेका छौ– ‘यही हो, यही हो, यही हो’... यो आवाज फैलाउने। अहिले छ– ‘यो पनि हो’, यही हो भन्ने छैन। त्यसोभए पञ्जाबले के गर्छौ? यो आवाज आओस्– यही हो, यही हो...। टिचरहरू ठीक छ? कहिलेसम्म गर्छौ? यो वर्षमा गर्छौ? नयाँ वर्ष सुरु भएको छ नि! त्यसैले नयाँ वर्षमा केही नवीनता हुनुपर्छ नि! ‘यो पनि हो’– यो त धेरै सुनियो। जसरी तिम्रो मनमा बस्- बाबा, बाबा, बाबा स्वतः याद हुन्छ, त्यसैगरी उनीहरूको मुखबाट निस्कियोस्– ‘हाम्रो बाबा आउनुभयो।’ उनीहरूले पनि भनुन्– ‘मेरो बाबा’, ‘मेरो बाबा’– यो आवाज चारै कुनाबाट निस्कियोस्, तर सुरुवात त एक कुनाबाट हुन्छ नि। त्यसोभए पञ्जाबले कमाल गर्छ ? किन नगर्ने! गर्नु नै छ। धेरै राम्रो। अग्रिम बधाई छ। अच्छा!

सबैतिरका सर्व रुहानी गुलाब बच्चाहरूलाई, सदैव बाबाका अति प्यारा र देहभानबाट अति न्यारा, बापदादाका दिलका दुलारा (प्यारा) बच्चाहरूलाई, सदैव एक बाबा, एकाग्र मन र एकरस स्थितिमा स्थित रहने बच्चाहरूलाई, चारैतिरका भिन्न भिन्न समयमा भिन्न भिन्न स्थानमा रहँदा पनि विज्ञानका साधनहरूबाट मधुबनसम्म पुग्ने, सम्मुख देख्ने, सबै लाडला, सिकिलधे, कल्प कल्पका परमात्म प्यारका पात्र अधिकारी बच्चाहरूलाई बापदादाको यादप्यार र दिलको आशीर्वाद, पदम पदम गुणा स्वीकार होस् र साथमा डबल मालिक बच्चाहरूलाई बापदादाको नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

दादीजीसँग:– मधुबनको हिरो एक्टर हौ, तिमीलाई सदा जिरो (बिन्दु) याद हुन्छ। शरीर राम्ररी नचले पनि केही बिस्तारै बिस्तारै चलिरहेको छ र सबैको प्यार र आशीर्वादले चलाइरहेको छ। बाबाको आशीर्वाद त छँदैछ तर सबैको पनि छ। सबैले दादीलाई धेरै प्यार गर्छौ नि! हेर, सबैले यही भन्छन्– दादीहरू हुनुपर्छ, दादीहरू हुनुपर्छ, दादीहरू हुनुपर्छ...। त्यसोभए दादीहरूको विशेषता के हो? दादीहरूको विशेषता हो– बाबाको श्रीमतमा हर कदम उठाउनु। मनलाई पनि बाबाको याद र सेवामा समर्पण गर्नु। तिमीहरू सबैले पनि यस्तै गरिरहेका छौ नि! मनलाई समर्पण गर। बापदादाले देख्नुभएको छ, मनले ठुलो कमाल गरेर देखाउँछ। के कमाल गर्छ? मनले चञ्चलता गर्छ। मन एकाग्र होस्,जसरी झण्डा माथि लहराउँछौ नि, त्यसैगरी मनको झण्डा शिवबाबा, शिवबाबामा मात्र एकाग्र होस्। त्यो समय आइरहेको छ, त्यो समय समीप आइरहेको छ। कहिलेकाहीँ बापदादाले बच्चाहरूका धेरै राम्रा राम्रा सङ्कल्प सुन्नुहुन्छ। सबैको लक्ष्य धेरै राम्रो छ। हेर, हलको शोभा कति राम्रो छ। माला जस्तो लाग्छ नि! मालाको बीचमा दाना पनि बसेका छन्। अच्छा। ओम् शान्ति।

वरदान:–
मौनताको शक्तिद्वारा सेकेन्डमा मुक्ति र जीवनमुक्तिको अनुभव गराउने विशेष आत्मा भव

विशेष आत्माहरूको अन्तिम विशेषता हो– सेकेन्डमा कुनै पनि आत्मालाई उनीहरूले मुक्ति र जीवनमुक्तिको अनुभवी बनाइदिनेछन्। केवल मार्ग बताउने छैनन् तर एक सेकेन्डमा शान्तिको वा अतीन्द्रिय सुखको अनुभव गराउनेछन्। जीवनमुक्तिको अनुभव हो सुख र मुक्तिको अनुभव हो शान्ति। त्यसैले जोसुकै पनि अगाडि आओस्, उसले सेकेन्डमा यसको अनुभव गरोस्– जब यस्तो गति हुनेछ तब साइन्समाथि साइलेन्सको विजय देखेर सबैको मुखबाट वाहवाहको आवाज निस्कनेछ र प्रत्यक्षताको दृश्य अगाडि आउनेछ।

स्लोगन:–
बाबाको हरेक आदेशमा स्वयंलाई कुर्बान गर्ने सच्चा परवाना (पुतली) बन।