14.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो अनुहार सदा प्रसन्न हुनुपर्छ , ‘ हामीलाई भगवानले पढाउनुहुन्छ’ यो खुसी अनुहारबाट झल्कनुपर्छ।”

प्रश्न:–
अहिले तिमी बच्चाहरूको मुख्य पुरुषार्थ के हो?

उत्तर:–
तिमीहरूले सजायबाट छुट्ने पुरुषार्थ नै गरिरहन्छौ। त्यसको लागि मुख्य हो यादको यात्रा, जसबाट नै विकर्म विनाश हुन्छ। तिमीले प्यारले याद गर्यौ भने धेरै कमाइ जम्मा हुँदै जान्छ। बिहान सबेरै उठेर यादमा बस्नाले पुरानो दुनियाँ बिर्सिदै जान्छ। ज्ञानको कुरा बुद्धिमा आइरहन्छन्। तिमी बच्चाहरूले मुखबाट कुनै व्यर्थ कुरा बोल्नु हुँदैन।

गीत:–
तुम्हें पाके हमने.......।

ओम् शान्ति ।
गीत सुन्दा त्यस समयमा कसै कसैलाई त्यसको अर्थ समझमा आउँछ र त्यो खुसी पनि चढ्छ। भगवानले हामीलाई पढाउनुहुन्छ, भगवानले हामीलाई विश्वको बादसाही दिनुहुन्छ। तर यहाँ त्यति खुसी विरलै कोहीलाई हुन्छ। त्यो याद स्थायी रहनसक्दैन। हामी बाबाका बनेका छौं, बाबाले हामीलाई पढाउनुहुन्छ। धेरै छन् जसलाई यो नसा चढ्दैन। ती सतसङ्ग आदिमा कथाहरू सुन्छन्, उनीहरूलाई पनि खुसी हुन्छ। यहाँ त बाबाले कति राम्रा कुरा सुनाउनुहुन्छ। बाबाले पढाउनुहुन्छ र विश्वको मालिक बनाउनुहुन्छ। त्यसैले विद्यार्थीलाई कति खुसी हुनुपर्छ। त्यो जिस्मानी पढाइ पढ्नेहरूलाई जति खुसी हुन्छ, यहाँकालाई त्यति खुसी हुँदैन। बुद्धिमा बस्दै बस्दैन। बाबाले सम्झाउनुभएको छ यस्ता गीत ४-५ पटक सुन। बाबालाई बिर्सिएमा फेरि पुरानो दुनियाँ र पुरानो सम्बन्ध पनि याद आउँछ। यस्तो समयमा गीत सुन्दा पनि बाबाको याद आउँछ। बाबा भन्नाले वर्सा पनि याद आउँछ। पढाइबाट वर्सा मिल्छ। तिमीले सारा विश्वको मालिक बन्नको लागि शिवबाबासँग पढ्छौ। बाँकी के चाहियो? यस्ता विद्यार्थीलाई मनमा कति खुसी हुनुपर्छ! दिनरात निद्रा पनि नलागोस्। खासगरी निद्रा मारेर भए पनि यस्ता बाबा र टिचरलाई याद गरिरहनुपर्छ। मस्तानाले जस्तै। ओहो, हामीलाई बाबाद्वारा विश्वको बादसाही मिल्छ! तर मायाले याद गर्न दिँदैन। मित्र-सम्बन्धी आदिको याद आइरहन्छ। उनीहरूको नै चिन्तन चलिरहन्छ। धेरैलाई पुरानो सडेको कुरा याद आउँछ। बाबाले जे बताउनु हुन्छ, तिमी विश्वको मालिक बन्छौ, त्यो नसा चढ्दैन। स्कुलमा पढ्नेहरूको अनुहार प्रसन्न हुन्छ। यहाँ भगवानले पढाउनुहुन्छ, त्यो खुसी कोही विरलैलाई हुन्छ। नत्र अथाह खुसीको पारा चढिरहनुपर्छ। बेहदका बाबाले हामीलाई पढाउनुहुन्छ, यो कुरा बिर्सिन्छन्। यो याद रह्यो भने पनि खुसी हुन्छ। तर विगतको कर्म भोग नै त्यस्तो रहेछ भने बाबाको याद गर्दै गर्दैनन्। मुख फेरि पनि व्यर्थ तिरै जान्छ। बाबाले सबैलाई त भन्नुहुन्न, नम्बरवार छन्। महान् सौभाग्यशाली ऊ हो जो बाबाको यादमा रहन्छ। भगवान बाबाले हामीलाई पढाउनुहुन्छ! जसरी त्यस लौकिक पढाइमा हुन्छ फलाना शिक्षकले हामीलाई वकिल बनाउनुहुन्छ, त्यसैगरी यहाँ हामीलाई भगवानले पढाउनुहुन्छ– भगवान भगवती बनाउनको लागि, त्यसैले कति नसा हुनुपर्छ। सुन्ने बेलामा कसै कसैलाई नसा चढ्छ। अरूले त केही पनि बुझ्दैनन्। गुरु बनाउँछन् र सम्झन्छन् यिनले हामीलाई साथैमा लैजान्छन्। भगवानसँग भेट गराउने छन्। यहाँ त स्वयं भगवान हुनुहुन्छ। आफैसँग भेट गराउनुहुन्छ, साथमा लैजानुहुन्छ। मानिसहरूले त्यसैले गुरु बनाउँछन् जसले ती गुरुले भगवानको पासमा लैजाउन् वा शान्तिधाम लैजाउन्। यो कुरा बाबाले सम्मुख कति सम्झाउनुहुन्छ। तिमी विद्यार्थी हौ। पढाउने शिक्षकलाई याद गर। बिलकुलै याद गर्दैनन्, कुरै नसोध। राम्रा राम्रा बच्चाहरूले पनि याद गर्दैनन्। शिवबाबाले हामीलाई पढाउनुहुन्छ, उहाँ ज्ञानको सागर हुनुहुन्छ, हामीलाई वर्सा दिनुहुन्छ, यो याद रह्यो भने पनि खुसीको पारा चढिरहन्छ। बाबाले सम्मुख बताउनुहुन्छ फेरि त्यो नसा चढ्दैन। बुद्धि अरू अरू तिर जान्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। मैले ग्यारेन्टी गर्छु– एक बाबा बाहेक अरू कसैको याद नगर। विनाश हुने चीजको के याद गर्नु छ। यहाँ त कोही मरे भने २-४ वर्षसम्म पनि उनीहरूको याद गरिरहन्छन्। उनीहरूको गायन गरिरहन्छन्। अहिले बाबाले बच्चाहरूलाई सम्मुख भन्नुहुन्छ– मलाई याद गर। जसले जति प्यारले याद गर्छ त्यति पाप काटिँदै जान्छ। धेरै कमाइ हुन्छ। सबेरै उठेर बाबालाई याद गर। मानिसहरूले भक्ति पनि सबेरै उठेर गर्छन्। तिमी त हौ ज्ञानी। तिमी पुरानो दुनियाँको दलदलमा फस्नुछैन। तर कति बच्चाहरू यसरी फस्छन्, कुरै नसोध। विकारबाट निस्कदै निस्कदैनन्। सारा दिन व्यर्थ कुरा नै गरिरहन्छन्। ज्ञानको कुरा बुद्धिमा आउँदै आउँदैन। कति बच्चाहरू त यस्ता पनि छन् जो सारा दिन सेवामा दौडिरहन्छन्। जसले बाबाको सेवा गर्छ, याद पनि उसैको आउँछ। यतिबेला सबैभन्दा धेरै सेवामा तत्पर मनोहर देखिन्छिन्। आज करनाल गइन्, भोली कहीँ गइन्, सेवामा दौडिरहन्छिन्। जो आपसमा लडिरहन्छन् उनीहरूले के सेवा गर्लान्। बाबालाई को प्यारो लाग्छ? जसले राम्रो सेवा गर्छन्। दिनरात सेवाकै चिन्ता हुन्छ। बाबाको दिलमा पनि उनै चढ्छन्। तिमीले घरीघरी यस्ता गीत सुनिरह्यौ भने पनि याद रहन्छ, केही नसा चढ्छ। बाबा भन्नुहुन्छ– कुनै समयमा कसैलाई उदासी आयो भने रिकर्ड बजाउँदा खुसी लाग्छ। ओहो! हामी विश्वको मालिक बन्छौं। बाबाले त केवल भन्नुहुन्छ– मलाई याद गर। पढाइ कति सहज छ। बाबाले राम्रा राम्रा १०-१२ रिकर्ड छानेर निकाल्नुहुन्थ्यो, हरेकसँग त्यस्तै हुनुपर्छ। तर फेरि पनि बिर्सिन्छ। कतिले त चल्दा चल्दै पढाइ नै छोडिदिन्छन्। मायाले आक्रमण गर्छ। बाबाले तमोप्रधान बुद्धिलाई सतोप्रधान बनाउन कति सहज युक्ति बताउनुहुन्छ। अहिले तिमीलाई ठिक-बेठिक जान्ने बुद्धि मिलेको छ। बोलाउँछन् पनि बाबालाई– हे पतित-पावन आउनुहोस्! अब बाबा आउनुभएको छ त्यसैले पावन बन्नुपर्छ नि। तिम्रो शिरमा जन्म जन्मको बोझ छ, त्यसको लागि जति बाबालाई याद गर्छौ, पवित्र बन्छौ, त्यति खुसी पनि हुन्छ। हुन त सेवा गरिरहन्छन् तर आफ्नो हिसाब पनि राख्नुछ। मैले बाबालाई कति समय याद गर्छु? यादको चार्ट कसैले राख्नसक्दैन। ज्ञानको प्वाइन्ट लेख्न त लेख्छन् तर याद गर्न बिर्सिन्छन्। बाबा भन्नुहुन्छ– तिमीले यादमा रहेर भाषण गर्यौ भने धेरै बल मिल्छ। बाबा भन्नुहुन्छ– नत्र मैले नै आएर धेरैलाई मदत गर्छु। कसैमा प्रवेश गरेर मैले नै सेवा गर्छु। सेवा त गर्नुपर्छ नि। हेर्छु कसको भाग्य खुल्छ, बुझाउनेमा त्यति अक्कल छैन भने म प्रवेश गरेर सेवा गर्छु। फेरि कसै कसैले लेख्छन्– बाबाले नै यो सेवा गर्नुभयो। ममा त यति तागत थिएन, बाबाले मुरली चलाउनुभयो। कसैमा फेरि आफ्नो अहङ्कार आउँछ, मैले यस्तो राम्ररी सम्झाएँ। बाबा भन्नुहुन्छ– म कल्याण गर्न प्रवेश गर्छु फेरि तिनीहरू ब्राह्मणीभन्दा पनि तीक्ष्ण हुन्छन्। कुनै बुद्धुलाई पठाउँ भने अरूले सम्झन्छन् योभन्दा त मैले राम्रो बुझाउनसक्छु। गुण पनि छैन। यसकोभन्दा त मेरो अवस्था राम्रो छ। कोही कोही प्रमुख बनेका रहेछन् भने धेरै नसा चढ्छ। धेरै तडकभडकसँग रहन्छन्। ठुलाबडालाई पनि तिमी तिमी भनेर कुरा गर्छन्। उनलाई कसैले देवी देवी भनिदिए भने त्यसैमा खुसी हुन्छन्। यस्ता पनि धेरै छन्। टिचरभन्दा पनि विद्यार्थी होसियार हुन्छन्। परीक्षा पास गरेको त एक बाबा मात्रै हुनुहुन्छ, उहाँ हुनुहुन्छ ज्ञानसागर। उहाँद्वारा तिमीले पढेर फेरि पढाउँछौ। कतिले त राम्ररी धारण गर्छन्। कतिले बिर्सिन्छन्। सबैभन्दा महान् मुख्य कुरा हो यादको यात्रा, हाम्रो विकर्म कसरी विनाश हुन सक्छ। कति बच्चाहरूले त यस्तो कर्म गर्छन् जुन यी बाबाले जान्दछन् वा उहाँ बाबाले जान्नुहुन्छ।

अहिले तिमी बच्चाहरूले सजायबाट छुट्नको लागि नै मुख्य पुरुषार्थ गर्नुपर्छ। त्यसको लागि मुख्य हो यादको यात्रा, जसबाट नै विकर्म विनाश हुन्छ। हुन त कतिले धन दिएर मदत गर्छन्, सम्झन्छन्– म धनवान बन्छु तर पुरुषार्थ त सजायबाट बच्नको लागि गर्नुपर्छ। नत्र बाबाको अगाडि सजाय खानुपर्छ। न्यायाधीशको बच्चाले कुनै यस्तो कर्म गर्यो भने न्यायाधीशलाई पनि लाज लाग्छ नि। बाबाले पनि भन्नुहुन्छ– मैले जसको पालना गर्छु उनलाई फेरि सजाय दिलाऊँ! त्यतिबेला शिर निहुराएर हाय हाय गरिरहन्छन्– बाबाले यति सम्झाउनु भयो, पढाउनु भयो, मैले ध्यान दिइनँ। बाबाको साथमा धर्मराज पनि हुन्छन् नि। उहाँलाई त जन्मपत्री (जन्मकुण्डली) थाहा हुन्छ। अब त तिमीले यथार्थमा देख्नेछौ। १० वर्ष पवित्रतामा चल्यो, अचानक मायाले यस्तो घुस्सा लगायो, कमाइ नै समाप्त गरिदियो, पतित बन्यो। यस्ता धेरै उदाहरण हुन्छन्। धेरै गिर्छन्। मायाको तुफानमा सारा दिन हैरान हुन्छन्, अनि बाबालाई नै बिर्सिन्छन्। बाबाद्वारा हामीलाई बेहदको बादसाही मिल्छ, त्यो खुसी हुँदैन। कामको साथसाथै फेरि मोह पनि छ। यसमा नष्टोमोहा बन्नुपर्छ। पतितहरूतर्फ के मन लगाउने? हो, यही ख्याल राख्नुपर्छ– यसलाई पनि मैले बाबाको परिचय दिएर उठाऊँ। यसलाई कुन रीतिले शिवालयको लायक बनाऊँ। मनमा यो युक्ति रच। मोहको कुरा छैन। जतिसुकै प्रिय सम्बन्धी हुन्, उनलाई पनि सम्झाइराख। कसैमा पनि दिलको प्यारको नसा हुनुहुँदैन। नत्र सुध्रिँदैन। दयाभाव राख्नुपर्छ। आफैलाई पनि दया गर्नुपर्छ र अरूलाई पनि दया भाव राख्नुपर्छ। बाबालाई पनि दया लाग्छ। हेर्नुपर्छ मैले कतिलाई आफूसमान बनाएको छु? बाबालाई सबुत दिनुपर्छ। मैले यतिलाई परिचय दिएँ। उनीहरूले फेरि लेख्छन्– बाबा मलाई यिनीद्वारा धेरै राम्रो परिचय मिल्यो। बाबाको पासमा सबुत आयो भने बाबाले सम्झनुहुन्छ, हो यसले राम्रो सेवा गर्छ। बाबालाई लेख, बाबा यी ब्राह्मणी त धेरै बुद्धिमान् छिन्। धेरै राम्रो सेवा गर्छिन्, हामीलाई राम्ररी पढाउँछिन्। योगमा बच्चाहरू फेल हुन्छन्। याद गर्ने अक्कल हुँदैन। बाबाले सम्झाउनुहुन्छ– भोजन खाँदा शिवबाबालाई याद गरेर खाऊ। कहीँ घुमफिर गर्न जाँदा पनि शिवबाबालाई याद गर। परचिन्तनको काम नगर। ठिक छ, कुनै कुराको ख्याल आयो, फेरि बाबालाई याद गर। मानौं, कामकाजको ख्याल आयो, गर्यो अनि बाबाको यादमा लाग्यो। बाबा भन्नुहुन्छ– कर्म त गर, सुत पनि, साथसाथै यो याद पनि गर। कम्तीमा ८ घण्टासम्म पुग्नुपर्छ, यो हुन्छ पछि अन्तिममा। बिस्तारै बिस्तारै आफ्नो चार्ट बढाउँदै लैजाऊ। कसै कसैले लेख्छन्– दुई घण्टा यादमा रहेँ तर चल्दा चल्दै चार्ट फितलो हुन्छ। त्यो पनि मायाले कमजोर बनाइदिन्छ। माया धेरै बलवान छ। जो यस सेवामा सारा दिन व्यस्त रहन्छन्, उनैले याद पनि गर्नसक्छन्। घरी घरी बाबाको परिचय दिइरहन्छन्। बाबाले यादमा नै धेरै जोड दिनुहुन्छ। स्वयंले पनि अनुभूति गर्छन्– म यादमा रहन सक्दिनँ। यादमा नै मायाले विघ्न पार्छ। पढाइ त धेरै सहज छ। बाबासँग हामीले पढ्छौं पनि। जति धन लिन्छौं त्यति धनवान बन्छौं। बाबाले त सबैलाई पढाउनुहुन्न। वाणी (मुरली) सबैको पासमा पुग्छ, केवल तिमीले मात्रै होइन, सबैले पढिरहेका छन्। वाणी गएन भने कराउँछन्। कति त फेरि यस्ता पनि छन् जसले सुन्दै सुन्दैनन्। यत्तिकै चलिरहन्छन्। मुरली सुन्ने सोख हुनुपर्छ। गीत कति फस्टक्लास छ– बाबा हामी आफ्नो वर्सा लिन आएका छौं। भन्छन् पनि– बाबा, जस्तो छु, कानो छु, जस्तोसुकै भए पनि हजुरकै हुँ। त्यो त ठिक छ तर विकारीभन्दा त राम्रो हुनुपर्यो नि। सारा कुरा योग र पढाइमा आधारित हुन्छ।

बाबाको बनेपछि हरेक बच्चामा यो विचार आउनुपर्छ– हामी बाबाको बनेपछि स्वर्गमा त जान्छौं नै तर हामी स्वर्गमा गएर के बन्ने? त्यो पनि सोच्नुपर्छ। राम्ररी पढ, दैवीगुण धारण गर। बाँदरको बाँदरै भयौ भने के पद पाउला? त्यहाँ पनि प्रजा नोकरचाकर सबै चाहिन्छ नि। पढेलेखेकाको अगाडि अनपढले भारी बोक्छन्। जति पुरुषार्थ गर्छन् त्यति राम्रो सुख पाउने छन्। राम्रा धनवान भए भने धेरै इज्जत हुन्छ। पढ्नेहरूको इज्जत राम्रो हुन्छ। बाबाले त राय दिइरहनुहुन्छ। बाबाको यादमा शान्तिमा बस। तर बाबाले जान्नुहुन्छ– सम्मुख बस्नेहरूभन्दा पनि टाढा बस्नेले धेरै याद गर्छन्, तिनले राम्रो पद पनि पाउँछन्। भक्तिमार्गमा पनि यस्तै हुन्छ। कुनै भक्त राम्रा फस्टक्लास हुन्छन् जो गुरुभन्दा पनि धेरै यादमा रहन्छन्। जसले धेरै राम्रो भक्ति गरेका हुन्छन् तिनै यहाँ आउँछन्। सबै भक्त हुन् नि। संन्यासी आदि आउँदैनन्, सबै भक्तहरू भक्ति गर्दागर्दै आउँछन्। बाबाले कति स्पष्ट पारेर बताउनुहुन्छ। तिमीले ज्ञान लिइरहेका छौ, सिद्ध हुन्छ तिमीले धेरै भक्ति गरेका हौ। धेरै भक्ति गर्नेले धेरै पढ्छन्। थोरै भक्ति गर्नेले थोरै पढ्छन्। मुख्य मेहनत छ यादमा। यादबाटै विकर्म विनाश हुन्छ, त्यस्तै धेरै मीठो पनि बन्नु छ। अच्छा!

मीठे-मीठे सिकीलधे सेवाधारी, वफादार, आज्ञाकारी बच्चाहरूप्रति बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जतिसुकै कुनै प्रिय सम्बन्धी होस्, उससँग मोहको धागो हुनुहुँदैन। नष्टोमोहा बन्नु छ। युक्तिले सम्झाउनुछ। आफैमाथि र अरूमाथि दया गर्नुछ।

२) बाबा र टिचरलाई धेरै प्यारसँग याद गर्नुछ। नसा रहनुपर्छ– भगवानले हामीलाई पढाउनुहुन्छ, विश्वको बादसाही दिनुहुन्छ। घुमफिर गर्दा पनि यादमा रहनुछ, परचिन्तन गर्नुछैन।

वरदान:–
अविनाशी रुहानी रङ्गको सच्चा होलीद्वारा बाबासमान स्थितिको अनुभवी भव

तिमी परमात्म रङ्गमा रङ्गिएका होली आत्माहरू हौ। सङ्गमयुग होली जीवनको युग हो। जब अविनाशी रुहानी रङ्ग लाग्छ तब सदाकालका लागि बाबासमान बन्छौ। त्यसैले तिम्रो होली हो सङ्गको रङ्गद्वारा बाबासमान बन्नु। यस्तो पक्का रङ्ग होस्, जसले अरूलाई पनि समान बनाइदेओस्। हर आत्मामाथि अविनाशी ज्ञानको रङ्ग, यादको रङ्ग, अनेक शक्तिहरूको रङ्ग, गुणहरूको रङ्ग, श्रेष्ठ वृत्ति, दृष्टि, शुभभावना, शुभकामनाको रुहानी रङ्ग चढाऊ।

स्लोगन:–
दृष्टिलाई अलौकिक, मनलाई शीतल, बुद्धिलाई रहमदिल र मुखलाई मधुर बनाऊ।