14.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– देवता ब न्नुछ भने अमृत पिऊ र पिलाऊ , अमृत पिउनेहरू नै श्रेष्ठाचारी बन्छन्।”

प्रश्न:–
यस समयमा सत्ययुगी प्रजा कुन आधारमा तयार भइरहेका छन्?

उत्तर:–
जो यस ज्ञानबाट प्रभावित हुन्छन्, धेरै राम्रो, धेरै राम्रो भन्छन् तर पढाइ पढ्दैनन्, मेहनत गर्न सक्दैनन्, उनीहरू प्रजा बन्छन्। प्रभावित हुनु अर्थात् प्रजा बन्नु। सूर्यवंशी राजारानी बन्नको लागि त मेहनत गर्नुपर्छ। पढाइमा पूरा अटेन्सन दिनुपर्छ। याद गर्दै गराउँदै रह्यौ भने उच्च पद मिल्न सक्छ।

गीत:–
तूने रात गँवाई सो के...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ– हाम्रो जीवन हीराजस्तो थियो। अहिले कौडीजस्तो भएको छ। यो त साधारण कुरा हो। बाबा धेरै सहज तरिकाले सम्झाउनुहुन्छ, जुन कुनै सानो बच्चाले पनि बुझ्न सक्छ। सत्यनारायणको कथा सुनाउँदा साना साना बच्चाहरू पनि बस्छन्। तर ती सत्सङ्ग आदिमा जे सुनाउँछन् ती सबै कथाहरू हुन्। कथा कुनै ज्ञान होइन, बनिबनाउ कथाहरू हुन्। गीताको कथा, रामायणको कथा भिन्न भिन्न शास्त्र छन्, जसका बसेर कथाहरू सुनाउँछन्। ती सबै कथाहरू हुन्। कथाबाट कुनै फाइदा हुन्छ र! यो सत्यनारायणको अर्थात् नरबाट नारायण बन्ने सच्चा कथा हो। यो कुरा सुनेमा तिमी नरबाट नारायण बन्छौ। यो अमरकथा पनि भयो। आऊ, तिमीलाई अमरकथा सुनाउँछु त्यसबाट तिमी अमरलोकमा जानेछौ भनेर तिमीले निमन्त्रणा दिन्छौ। तापनि कसैले बुझ्दैनन्। शास्त्रहरूका कथा सुन्दै आएका छन्। मिल्न केही पनि मिल्दैन। लक्ष्मीनारायणको दर्शन गरेर आऊँ, महात्माको दर्शन गरेर आऊँ भनेर लक्ष्मीनारायणको मन्दिरमा जान्छन्। यो एउटा रीतिरिवाज चल्दै आएको छ। ऋषिमुनि आदि जो पहिला थिए उनीहरूलाई ढोग्दै आएका छन्। सोध, रचयिता र रचनाको कथाको विषयमा तपाईंलाई थाहा छ? तर भन्छन्– थाहा छैन। अहिले तिमी बच्चाहरूले बुझेका छौ– यो रचयिता र रचनाको कथा त धेरै सहज छ। यो अल्फ र बे को कथा हो। हुन त प्रदर्शनीमा जति पनि आउँछन् उनीहरूले कथा त ठीक सुन्छन् तर पवित्र बन्दैनन्। सम्झन्छन्– यो विकारहरूमा जाने रीतिरिवाज पनि अनादि हो। मन्दिरमा देवताहरूको अगाडि गएर गाउँछन्– हजुर सम्पूर्ण निर्विकारी हुनुहुन्छ... फेरि बाहिर आएर भन्छन्– विकारमा जाने कुरा त अनादि हो। यो विकार बिना दुनियाँ कसरी चल्छ? लक्ष्मीनारायण आदिका पनि त बच्चा थिए नि, यस्तो भनिदिन्छन् भने यस्तालाई के भन्ने! यस्तालाई मनुष्यको पदवी त दिन सकिँदैन। देवताहरू पनि मनुष्य थिए, लक्ष्मीनारायणको राज्यमा कति सुखी थिए। तिमी बच्चाहरूलाई बाबाले धेरै सहज कुरा बताउनुहुन्छ, अवश्य यहाँ भारतवर्षमा नै स्वर्ग थियो। लक्ष्मीनारायणको राज्य थियो। चित्र पनि छन्, सत्ययुगमा उनीहरूको राज्य थियो भन्ने कुरा त सबैले मान्छन्। त्यहाँ कोही दुःखी थिएनन्, सम्पूर्ण निर्विकारी थिए, उनीहरूका मन्दिर पनि ठुला ठुला बनेका थिए। उनीहरू यहाँ भएको ५ हजार वर्ष भयो। अहिले उनीहरू छैनन्। अहिले त कलियुगको अन्त्य हो। मानिसहरू आपसमा लडाइँ झगडा गर्छन्। भगवान त माथि निर्वाणधाममा नै निवास गर्नुहुन्छ। वास्तवमा हामी आत्माहरू पनि त्यहीँ रहन्छौँ, यहाँ पार्ट खेल्न आउँछौँ। पहिला हामी लक्ष्मीनारायणको राज्यमा थियौँ। त्यहाँ धेरै सुख आनन्द थियो फेरि हामीले ८४ जन्म लियौँ। गायन पनि गरिन्छ ८४ को चक्र। हामीले सूर्यवंशीमा १२५० वर्ष राज्य गरेका हौँ। त्यहाँ अथाह सुख थियो, सम्पूर्ण निर्विकारी थियौँ, हीरा जुहारतका महल थिए। हामीले राज्य गरेपछि फेरि ८४ जन्ममा आयौँ। यो विश्वको इतिहास भूगोलको चक्र घुमिरहन्छ। आधाकल्प सुख थियो। रामराज्यमा थियौँ फेरि मानिसहरूको वृद्धि हुँदै गयो। सत्ययुगमा ९ लाख देवीदेवता थिए। सत्ययुग अन्त्यमा वृद्धि भएर ९ लाखबाट दुई करोड भए, फेरि पनि १२ जन्म त्रेतामा धेरै सुख चैनमा थियौँ। एउटै धर्म थियो। फेरि के भयो? फेरि रावण राज्य सुरु भयो। रामराज्य र रावण राज्य हेर धेरै सहज तरिकाले सम्झाउँछु। साना साना बच्चाहरूलाई पनि यस्तै बताउनुपर्छ अनि के भयो? ठुला ठुला सुन हीरा जुहारतका महल भूकम्पमा भासिए। सबै विकारी बनेकाले नै भूकम्प भयो, फेरि रावण राज्य सुरुभयो। पवित्रबाट अपवित्र भए। भन्छन् पनि सुनको लङ्का भासियो। केही त बचेको होला नि, जसबाट फेरि मन्दिर आदि बनाए होलान्। भक्तिमार्ग सुरु भयो– मानिसहरू विकारी हुन थाले। फेरि रावण राज्य चल्यो त्यसपछि आयु पनि कम भयो। हामी निर्विकारी योगीबाट विकारी भोगी बन्यौँ, यथा राजा रानी तथा प्रजा सबै विकारी बने। यो कथा कति सहज छ। साना साना बच्चीहरूले पनि यो कथा सुनाए भने ठुला ठुला मानिसहरूको अनुहार निहुरिन्छ। अहिले बाबा बसेर सुनाउनुहुन्छ, उहाँ नै ज्ञानको सागर पतितपावन हुनुहुन्छ। अच्छा द्वापरमा भोगी पतित बने फेरि अरू धर्म पनि सुरुहुँदै गए। अमृतको जुन नसा थियो त्यो समाप्त भयो। लडाइँ झगडा हुन थाल्यो। द्वापरदेखि लिएर हामी गिर्दै गयौँ, कलियुगमा हामी अझै विकारी बन्यौँ। पत्थरका मूर्तिहरू बनाइरह्यौँ। हनुमान, गणेशका...। पत्थरबुद्धि हुन थालेपछि पत्थरको पूजा गर्न थाले। भगवान ढुङ्गा माटोमा हुनुहुन्छ भन्ने सम्झन्थे। यस्तै गर्दागर्दै भारतवर्षको यो हालत भयो अब फेरि बाबा भन्नुहुन्छ– विष छोडेर अमृत पिएर पवित्र बन र फेरि राज्य भाग्य लेऊ। विष छोड्यौ भने फेरि तिमी मनुष्यबाट देवता बन्नेछौ। तर विष छोड्दैनन्। विषको लागि कति कुट्छन्, हैरान पार्छन् त्यसैले त द्रौपदीले पुकारिन् नि। अमृत नपिइकन हामी देवता कसरी बन्छौँ भन्ने कुरा तिमीले बुझेका छौ। सत्ययुगमा त रावण हुँदैहुँदैन। बाबा भन्नुहुन्छ– श्रेष्ठाचारी नबनेसम्म स्वर्गमा आउन सक्दैनौ। जो श्रेष्ठाचारी थिए, उनीहरू अब भ्रष्टाचारी बनेका छन्। फेरि अब अमृत पिएर श्रेष्ठाचारी बन्नुछ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। के गीता बिर्सियौ? गीता मैले रचना गरेको हुँ, नाम राखिदिएका छन् श्रीकृष्णको। यी लक्ष्मीनारायणलाई यो राज्य भाग्य कसले दियो? अवश्य भगवानले दिनुभयो होला। अघिल्लो जन्ममा भगवानले राजयोग सिकाउनुभयो, नाम फेरि राखिदिएका छन् श्रीकृष्णको। त्यसैले सम्झाउने प्राक्टिस गर्नुपर्छ। यो धेरै सहज कथा हो। बाबालाई कति समय लाग्यो? आधा घण्टामा यति सहज कुरा पनि बुझ्न सक्दैनन् त्यसैले बाबा भन्नुहुन्छ– केवल बसेर एउटा सानो कथा कसैलाई सम्झाऊ। हातमा चित्र लेऊ। सत्ययुगमा लक्ष्मीनारायणको राज्य, फेरि त्रेतामा रामसीताको राज्य... फेरि द्वापरमा रावणको राज्य भयो। यो कथा कति सहज छ। अवश्य हामी देवता थियौँ फेरि क्षत्रिय, वैश्य, शूद्र बन्यौँ। अहिले आफूलाई देवता नसम्झेका हुनाले हिन्दु भनिदिन्छन्। धर्मश्रेष्ठ, कर्मश्रेष्ठबाट धर्मभ्रष्ट, कर्मभ्रष्ट बनेका छन्। यस्ता साना साना बच्चीहरूले बसेर भाषण गरे भने सारा सभामा वाह वाह! (हियर हियर) हुनेछ।

बाबाले सबै सेन्टरवालाहरूलाई सुनाइरहनुभएको छ। अब यी ठुला ठुलाले सिक्दैनन् भने साना साना कुमारीहरूलाई सिकाऊ। कुमारीहरूको नाम पनि छ। दिल्ली, मुम्बईमा धेरै राम्रा राम्रा कुमारीहरू छन्। पढेलेखेका छन्। उनीहरू त सेवामा अघि सर्नुपर्छ। कति काम गर्न सक्छन्। कुमारीहरू अघि सरे भने नाम प्रसिद्ध हुन्छ। जुन धनी परिवार छन् उनीहरूले मुस्किलले हिम्मत राख्छन्। सम्पत्तिको नसा हुन्छ। दाइजो आदि मिल्यो भने पुग्यो। कुमारीहरूले विवाह गरेर कालो मुख पार्छन् त्यसपछि सबैको अगाडि झुक्नुपर्छ। त्यसैले बाबाले कति सहजै सम्झाउनुहुन्छ। तर तिनीहरूलाई पारसबुद्धि बन्ने ख्यालै आउँदैन। हेर नपढेका पनि आजकाल सङ्घीय साँसद, प्रदेश साँसद आदि बनेका छन्। पढाइबाट त के के बन्छन्। यो पढाइ त धेरै सहज छ। गएर अरूलाई पनि सिकाउनुपर्छ। तर श्रीमतमा चल्दैनन् भने पढ्दैनन् पनि। धेरै राम्रा राम्रा कुमारीहरू छन् तर उनीहरूलाई आफ्नै नसा चढेको हुन्छ। थोरै काम गरे भने सम्झन्छन्– हामीले धेरै काम गरेका छौँ। अब त धेरै काम गर्नुछ। आजकाल कुमारीहरू फेसनमा नै रमाउँछन्। त्यहाँ त स्वाभाविक शृङ्गार हुन्छ। यहाँ त कति बनावटी शृङ्गार गर्छन्। केवल कपाल बनाउन नै कति पैसा खर्च गर्छन्। यो हो मायाको तडकभडक। फल अफ (पतन) माया रावण राज्य, फेरि राइज अफ (उत्थान) रामराज्य। अब रामराज्य स्थापना हुन्छ। तर तिमीले मेहनत त गर्नुपर्छ नि। तिमी के बन्नेछौ! यदि पढ्दैनौ भने त्यहाँ गएर पाई-पैसाको (सामान्य) प्रजा बन्नेछौ। आजकालका ठुलाबडा मानिसहरू सबै त्यहाँका प्रजामा आउनेछन्। धनवान मानिसहरू केवल राम्रो राम्रो भनेर आफ्नो कामधन्दामा लाग्छन्। धेरै राम्रोसँग प्रभावित हुन्छन् फेरि के भयो त! आखिरमा के हुन्छ? त्यहाँ गएर प्रजा बन्नेछन्। प्रभावित अर्थात् प्रजा। जसले मेहनत गर्छन् उनीहरू रामराज्यमा आउनेछन्। ज्ञान त धेरै सहज छ। यो कथाको नसामा कोही रह्यो भने बेडा पार हुनेछ। हामी शान्तिधाममा जानेछौँ फेरि सुखधाममा आउनेछौँ, बस याद गर्दै गराउँदै जानुछ, अनि मात्रै उच्च पद पाउनेछौ। पढाइमा अटेन्सन दिनुछ। चित्र हातमा होस्। जस्तै बाबाले लक्ष्मीनारायणको पूजा गर्दा चित्र खल्तीमा हुन्थ्यो। चित्र साना पनि छन्, लकेटमा पनि छन्। तिनमा सम्झाउनुछ। उहाँ हामी आत्माहरूका बाबा हुनुहुन्छ, उहाँद्वारा हामीलाई वर्सा मिलिरहेको छ। अब पवित्र बन, बाबालाई याद गर। यी ब्याजमा कति ज्ञान छ। यसमा सारा ज्ञान छ। यसमा सम्झाउन धेरै सहज छ। सेकेन्डमा बाबाबाट स्वर्गको जीवनमुक्तिको वर्सा। कसैले पनि सम्झायो भने जीवनमुक्ति पदको अधिकारी बन्छ। बाँकी पढाइ अनुसार उच्च पद पाउँछन्। स्वर्गमा त आउँछन् नि। अन्त्यमा आउन त आउँछन् नि। वृद्धि त हुनुछ। देवीदेवता धर्म उच्च छ, तिनीहरू पनि देवता त बन्छन् नि! प्रजा त लाखौँ बन्नेछन्। सूर्यवंशी बन्नमा मेहनत छ। सेवा गर्नेहरूले नै राम्रो पद पाउनेछन्। उनीहरूको नाम पनि प्रसिद्ध छ– दादी कुमारका छन्, दादी जनक छन्, यिनीहरूले राम्रोसँग सेन्टर सम्हालिरहेका छन्। कुनै खटपट छैन।

बाबा भन्नुहुन्छ– नराम्रो नदेख, नराम्रो कुरा नगर तैपनि त्यस्ता त्यस्ता कुरा गरिरहन्छन्। यस्ता आत्माहरू गएर के बन्लान्। यति सहज सेवा गर्न पनि सक्दैनन्। साना साना बच्चीहरूले पनि यो कुरा सम्झाउन सक्छन्। सुनाउन सक्छन्। बाँदर सेना पनि धेरै प्रख्यात छ। सीताहरू जो रावणको जेलमा फसेका छन् उनीहरूलाई छुटाउनुछ। के के कथाहहरू बनाइदिएका छन्। कसैले यस्ता विषयमा भाषण गर्नुपर्छ। केवल भन्छन् फलाना धेरै प्रभावित भयो। सोध, तिमी के बन्न चाहन्छौ? केवल अरूलाई भन्नेछन् यिनलाई धेरै राम्रो ज्ञान छ। स्वयंले भने केही बुझेका हुँदैनन्, यसबाट के फाइदा। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पारसबुद्धि बन्नको लागि पढाइमा पूरा पूरा ध्यान दिनुछ। श्रीमतमा पढ्नु र पढाउनुछ। हदको धन-सम्पत्तिको नसा, फेसन आदि छोडेर यो बेहद सेवामा लाग्नुछ।

२) नराम्रो नसुन, नराम्रो नहेर... कुनै पनि व्यर्थ कुरा गर्नुछैन। कसैबाट प्रभावित हुनुछैन। सबैलाई सत्य-नारायणको छोटो कथा सुनाउनुछ।

वरदान:–
नयाँ जीवनको स्मृतिद्वारा कर्मेन्द्रियहरूमाथि विजय प्राप्त गर्ने मरजीवा भव

जुन बच्चाहरू पूरा मरजीवा बने उनीहरूलाई कर्मेन्द्रियहरूको आकर्षण हुनुहुँदैन। मरजीवा बने अर्थात् सबैतिरबाट मरिसके, पुरानो जीवन समाप्त भयो। नयाँ जन्म भयो भने नयाँ जन्म, नयाँ जीवनमा कर्मेन्द्रियहरूको वश कसरी हुनहुन्छ। ब्रह्माकुमार-कुमारीको नव जीवनमा कर्मेन्द्रियहरूको संयम हुनु भनेको के चीज हो– यो ज्ञानबाट पनि परको कुरा हो। शूद्रपनको पुरानो संस्कारको अलिकति श्वास पनि अर्थात् संस्कारको अंश पनि कतै बाँकी हुनुहुँदैन।

स्लोगन:–
अमृतवेला दिलमा परमात्म स्नेहलाई समाहित गरेमा अरू कुनै स्नेहले आकर्षित गर्न सक्दैन।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

सङ्गठनमा सफलता प्राप्त गर्नका लागि सदा नम्रचित्तको तख्तमा विराजमान होऊ। यही तख्तमा बसेर, जिम्मेवारीको ताज धारण गरेर भविष्यको पदवी बनाऊ। तख्तबाट ओर्लनुछैन, यसैमा बसेर कार्य गरेमा सफलता मिल्दै जानेछ। यसको लागि ‘पहिला हजुर’ को पाठ पक्का गर, यसबाट तिम्रो संस्कार सबैसँग सहजै मिल्नेछ।