15.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाले तिमीलाई दैवी धर्म र श्रेष्ठ कर्म सिकाउनु हुन्छ , त्यसैले तिमीबाट कुनै पनि आसुरी विकर्म हुनुहुँदैन , बुद्धि एकदम शुद्ध हुनुपर्छ।”

प्रश्न:–
देह अभिमानमा आएपछि पहिलो पाप कुनचाहिँ हुन्छ?

उत्तर:–
यदि देह अभिमान छ भने बाबाको यादको सट्टा देहधारीको याद आउँछ, कुदृष्टि गइरहन्छ, खराब ख्याल आउँछन्। यो धेरै ठुलो पाप हो। सम्झनुपर्छ, मायाले आक्रमण गरिरहेको छ। तुरुन्तै सावधान भइहाल्नु पर्छ।

ओम् शान्ति ।
रूहानी बाबाले रूहानी बच्चाहरूलाई सम्झाइरहनु भएको छ। रूहानी बाबा आउनुहुन्छ कहाँबाट? रूहानी दुनियाँबाट। जसलाई निर्वाणधाम अथवा शान्तिधाम पनि भनिन्छ। यो त हो गीताको कुरा। तिमीसँग सोध्छन्– यो ज्ञान कहाँबाट आयो? भन, यो त उही गीताको ज्ञान हो। गीताको पार्ट चलिरहेको छ, बाबाले पढाउनु हुन्छ। भगवानुवाच छ नि, भगवान त एउटै हुनुहुन्छ। उहाँ हुनुहुन्छ शान्तिका सागर। रहनुहुन्छ पनि शान्तिधाममा, जहाँ हामी पनि रहन्छौं। बाबा सम्झाउनु हुन्छ– यो हो पतित दुनियाँ, पाप आत्माहरूको तमोप्रधान दुनियाँ। तिमीले पनि जानेका छौ– वास्तवमा हामी आत्माहरू यस समयमा तमोप्रधान छौं। ८४ को चक्र लगाएर सतोप्रधानबाट अहिले तमोप्रधानतामा आइपुगेका छौं। यो पुरानो अथवा कलियुगी दुनियाँ हो नि। यी नाम सबै यसै समयका हुन्। पुरानो दुनियाँ पछि फेरि नयाँ दुनियाँ हुन्छ। यो पनि जानेका छौ– महाभारत लडाइँ पनि तब लागेको थियो जबकि दुनियाँ परिवर्तन हुनुपर्ने थियो। तब नै बाबाले आएर राजयोग सिकाउनुभएको थियो। केवल गल्ती के भयो? एक त कल्पको अवधि बिर्सिए अनि गीताका भगवानलाई पनि बिर्सेका छन्। श्रीकृष्णलाई त परमपिता भन्न सकिँदैन। आत्माले भन्छ– परमपिता, त्यसैले उहाँ निराकार हुनुभयो। निराकार बाबाले आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर। म नै पतित-पावन हुँ, मलाई बोलाउँछन् पनि– हे पतित-पावन भनेर। श्रीकृष्ण त देहधारी हुन् नि। मेरो त कुनै शरीर छैन। म निराकार हुँ, मानिसहरूको पिता होइन, आत्माहरूको पिता हुँ। यो त पक्का गर्नुपर्छ। घरी घरी हामी आत्माहरूले उहाँ बाबासँग वर्सा लिन्छौं। अब ८४ जन्म पूरा भए, बाबा आउनुभएको छ। बाबा बाबा नै भनिरहनु छ। बाबालाई धेरै याद गर्नु छ। सारा कल्प जिस्मानी पितालाई याद गर्यौ। अहिले बाबा आउनुभएको छ, मनुष्य सृष्टिबाट सबै आत्माहरूलाई फर्काएर लिएर जानुहुन्छ किनकि रावण राज्यमा मानिसहरूको दुर्गति भएको छ, त्यसैले अब बाबालाई याद गर्नु छ। अहिले रावण राज्य हो, यो पनि मनुष्य कसैले बुझ्दैनन्। रावणको अर्थ पनि बुझ्दैनन्। दशैं मनाउने एक रीतिरिवाज बनेको छ । तिमीले पनि कहाँ अर्थ बुझ्दथ्यौ र। अहिले समझ मिलेको छ अरूलाई समझ दिनको लागि। यदि अरूलाई बुझाउन सक्दैनौ भने मानौं स्वयंले पनि बुझेका छैनौ। बाबामा सृष्टि चक्रको ज्ञान छ। हामी उहाँका बच्चाहरू हौं, त्यसैले बच्चाहरूमा पनि यो ज्ञान हुनुपर्छ।

तिम्रो यो हो गीता पाठशाला। उद्देश्य के हो? यस्ता लक्ष्मी-नारायण बन्ने। यो राजयोग हो नि। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नको लागि यो ज्ञान हो। उनीहरूले बसेर कथा सुनाउँछन्। यहाँ त हामीले पढ्छौं, बाबाले हामीलाई राजयोग सिकाउनु हुन्छ। यो राजयोग सिकाउनु हुन्छ नै कल्पको सङ्गमयुगमा। बाबा भन्नुहुन्छ– म पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ बनाउन आएको हुँ। नयाँ दुनियाँमा यिनीहरूको राज्य थियो, पुरानोमा छैन, फेरि अवश्य हुनुपर्छ। चक्रको विषयमा त बुझिसकेका छौ। मुख्य धर्म छन् चार। अहिले दैवी धर्म छँदैछैन। दैवी धर्म भ्रष्ट र दैवी कर्म भ्रष्ट बन्न पुगेका छन्। अहिले फेरि तिमीलाई श्रेष्ठ दैवी धर्म र श्रेष्ठ कर्म सिकाइरहेको छु। त्यसैले आफूमाथि ध्यान राख्नु छ, मबाट कुनै आसुरी कर्म त हुँदैन? मायाको कारण कुनै खराब ख्याल त बुद्धिमा आउँदैन? कुदृष्टि त जाँदैन? हेर, यदि कसैको कुदृष्टि जान्छ अथवा खराब ख्याल आयो भने उसबाट तुरुन्त सावधान रहनुपर्छ। उसँग सङ्गत गर्नुहुँदैन। उसलाई सावधान गर्नुपर्छ– तपाईँमा मायाको प्रवेशताको कारण यो खराब ख्याल आएको हो। योगमा बसेर बाबाको यादको सट्टा कसैको देहतर्फ ख्याल गयो भने सम्झनुपर्छ– यो मायाको आक्रमण भइरहेको छ, मैले पाप गरिरहेको छु। यसमा त बुद्धि धेरै शुद्ध हुनुपर्छ। ख्यालठट्टाले पनि धेरै नोक्सान हुन्छ, त्यसैले तिम्रो मुखबाट सदैव शुद्ध वचन निस्किनुपर्छ, कुवचन होइन। ख्यालठट्टा आदि पनि होइन। यस्तो होइन, मैले त हाँसो मात्र गरेको हुँ... त्यो पनि नोक्सानकारक हुनपुग्छ। हाँसो पनि यस्तो हुनुहुँदैन, जसमा विकारको वायु होस्। धेरै खबरदार रहनु छ। तिमीलाई थाहा छ– नाङ्गा मानिस पनि हुन्छन्। उनको ख्याल विकारतर्फ जाँदैन। रहन्छन् पनि अलग्गै। तर कर्मेन्द्रियहरूको चञ्चलता योग विना निस्किँदैन। काम शत्रु यस्तो छ जसले कसैलाई पनि देख्दा, योगमा पूरा छैनन् भने चञ्चल अवश्य पार्नेछ। आफ्नो परीक्षा लिनुपर्ने हुन्छ। बाबाको यादमा नै रहने गर। यो कुनै पनि प्रकारको बिमारी नरहोस्। योगमा रहेमा यो चञ्चलता हुँदैन। सत्ययुगमा त कुनै पनि प्रकारको अपवित्रता हुँदैन। त्यहाँ रावणको चञ्चलता नै हुँदैन जसले चञ्चल बनाओस्। त्यहाँ त योगी जीवन हुन्छ। यहाँ पनि अवस्था धेरै पक्का हुनुपर्छ। योगबलबाट यी सबै बिमारीहरू बन्द हुन्छन्। यसमा धेरै मेहनत छ। राज्य लिनु कुनै सानिमाको घर होइन। पुरुषार्थ त गर्नु छ नि। यस्तो होइन, जे भाग्यमा छ, त्यो मिल्छ। धारणा नै गर्दैनन् भने पाई पैसाको पद पाउन लायक हुन्छन्। विषय त धेरै हुन्छन् नि। कसैले चित्रमा, कसैले खेलमा नम्बर लिन्छन्। ती हुन् साधारण विषय। त्यस्तै यहाँ पनि विषयहरू छन्। केही न केही मिल्छ। बाँकी बादसाही मिल्न सक्दैन। त्यसो त सेवा गर्यो भने बादसाही मिल्छ। त्यसको लागि धेरै मेहनत चाहिन्छ। धेरैको बुद्धिमा बस्दै बस्दैन। मानौं खाएको पच्दैन। उच्च पद पाउने हिम्मत हुँदैन, यसलाई पनि बिमारी भनिन्छ नि। तिमीले कुनै पनि कुरा देखेर पनि नहेर। रूहानी बाबाको यादमा रहेर अरूलाई मार्ग बताउनु छ, अन्धाहरूको लट्ठी बन्नु छ। तिमीले त मार्ग जानेका छौ। जो जो महारथी छन्, उनको बुद्धिमा रचयिता र रचनाको ज्ञान, मुक्ति र जीवनमुक्तिको ज्ञान घुमिरहन्छ। बच्चाहरूको अवस्थामा पनि रातदिनको फरक हुन्छ। कहीँ धेरै धनवान बन्छन्, कहीँ बिल्कुल गरिब। राजाइँमा पदमा त फरक हुन्छन् नि। त्यहाँ रावण नहुनाको कारण दु:ख हुँदैन। बाँकी सम्पत्तिमा त फरक पर्छ। सम्पत्तिबाट सुख हुन्छ।

जति योगमा रहन्छौ, त्यति स्वास्थ्य पनि धेरै राम्रो हुन्छ। मेहनत गर्नुपर्छ। धेरैको त चालचलन यस्तो हुन्छ, जस्तो अज्ञानी मानिसहरूको हुन्छ। उनले कसैको कल्याण गर्न सक्दैनन्। जब परीक्षा हुन्छ, अनि थाहा हुन्छ– कसले कति अङ्क ल्याएर पास हुन्छन्, फेरि त्यस समयमा रुनुपर्छ। बापदादा दुवैले कति सम्झाइरहनु हुन्छ। बाबा आउनुभएको छ नै कल्याण गर्न। आफ्नो पनि कल्याण गर्नु छ, अरूको पनि कल्याण गर्नु छ। बाबालाई बोलाएका पनि हौ– आएर हामी पतितहरूलाई पावन हुने मार्ग बताउनुहोस् भनेर। त्यसैले बाबाले श्रीमत दिनुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर देह अभिमान छोडेर मलाई याद गर। कति सहज दबाई दिनुहुन्छ। भन, हामीले केवल एक भगवान बाबालाई मान्छौं। उहाँले भन्नुहुन्छ– मलाई बोलाउँछौ, आएर पतितहरूलाई पावन बनाउनुहोस्, त्यसैले मलाई आउनुपर्छ। ब्रह्मासँग तिमीलाई केही पनि मिल्नेछैन। उनी त दादा हुन्, बाबा होइनन्। बाबाबाट त वर्सा मिल्छ। ब्रह्मासँग कहाँ वर्सा मिल्छ र। निराकार बाबाले यिनीद्वारा एडप्ट गरे। पढाउनु हुन्छ। यिनलाई पनि पढाउनु हुन्छ। ब्रह्माबाट त केही पनि मिल्दैन। वर्सा बाबासँग नै मिल्छ, यिनीद्वारा। दिनेवाला एक हुनुहुन्छ। उहाँको नै महिमा हो। उहाँ नै सर्वका सद्गतिदाता हुनुहुन्छ। यी त पूज्यबाट फेरि पुजारी बन्छन्। सत्ययुगमा थिए, फेरि ८४ जन्म भोगेर अब पतित बनेका छन्, फेरि पूज्य पावन बनिरहेका छन्। हामीले बाबाद्वारा सुन्छौं। कोही मनुष्यबाट सुन्दैनौं। मनुष्यहरूको हो नै भक्तिमार्ग। यो हो रूहानी ज्ञानमार्ग। ज्ञान केवल एक ज्ञान सागरसँग मात्रै छ। बाँकी यी शास्त्र आदि सबै भक्तिमार्गका हुन्। शास्त्र आदि पढ्नु– यो सबै हो भक्तिमार्ग। ज्ञान सागर त एउटै बाबा हुनुहुन्छ, हामी ज्ञान नदीहरू ज्ञान सागरबाट निस्केका हौं। बाँकी ती हुन् पानीका सागर र नदीहरू। बच्चाहरूको ध्यानमा यी सबै कुरा रहनुपर्छ। अन्तर्मुखी भएर बुद्धि चलाउनुपर्छ। आफूले आफैलाई सुधार्नको लागि अन्तर्मुखी भएर आफ्नो जाँच गर। यदि मुखबाट कुनै कुवचन निस्क्यो या कुदृष्टि गयो भने आफूलाई चिमोट्नु पर्छ– मेरो मुखबाट कुवचन किन निस्क्यो? मेरो कुदृष्टि किन गयो? आफूलाई थप्पड पनि मार्नुपर्छ। घरी घरी सावधान गराउनुपर्छ, तब नै उच्च पद पाउन सक्छौ। मुखबाट कटुवचन ननिस्कियोस्। बाबालाई त सबै प्रकारको शिक्षा दिनुपर्ने हुन्छ। कसैलाई पागल भन्नु– यो पनि कुवचन हो।

मानिसहरूले त जसलाई जे आयो त्यो भनिरहन्छन्। हामीले कसको महिमा गाउँछौं, यो केही पनि जानेका छैनन्। महिमा त गर्नुपर्छ एउटै पतित-पावन बाबाको। अरू त कोही हुँदै होइनन्। ब्रह्मा, विष्णु, शङ्करलाई पनि पतित-पावन भनिँदैन। यिनले त कसैलाई पावन बनाउँदैनन्। पतितबाट पावन बनाउनेवाला एउटै बाबा हुनुहुन्छ। पावन सृष्टि हो नै नयाँ दुनियाँ। त्यो त अहिले छैन। पवित्रता हुन्छ नै स्वर्गमा। बाबा पवित्रताका सागर पनि हुनुहुन्छ। यो त हो नै रावण राज्य। बच्चाहरूले अब आत्म अभिमानी बन्ने धेरै मेहनत गर्नुपर्छ। मुखबाट कुनै पनि पत्थर वा कुवचन निस्किनु हुँदैन। धेरै प्यारले चल्नु छ। कुदृष्टिले पनि धेरै नोक्सान पारिदिन्छ। धेरै मेहनत गर्नुपर्छ। आत्म अभिमान हो अविनाशी अभिमान। देह त विनाशी हो। आत्मालाई त कसैले पनि जानेका छैनन्। आत्माको पनि कोही पिता अवश्य हुनुपर्छ नि। भन्ने पनि गर्छन्– सबै भाइ भाइ हौं। फेरि सबैमा परमात्मा बाबा विराजमान कसरी हुन सक्नुहुन्छ? सबै बाबा कसरी हुनसक्छन्? यति पनि अक्कल छैन! सबैका बाबा त एउटै हुनुहुन्छ, उहाँसँग नै वर्सा मिल्छ। उहाँको नाम हो शिव। शिवरात्रि पनि मनाउँछन्। रुद्र रात्रि वा श्रीकृष्ण रात्रि भनिदैन। मनुष्यले त केही पनि बुझ्दैनन्, भन्छन्– यी सबै उहाँका रूप हुन्, यो उहाँकै लीला हो।

तिमीले अहिले जानेका छौ– बेहदका बाबासँग त बेहदको वर्सा मिल्छ, त्यसैले उहाँ बाबाको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। लेबरहरूलाई पनि शिक्षा दिनुपर्छ, तब उनको पनि केही कल्याण हुनसक्छ। तर स्वयंले नै याद गर्न सक्दैनन् भने अरूलाई के याद दिलाउँछन्? रावणले एकदम पतित बनाइदिन्छ, फेरि बाबा आएर परिस्तानी बनाउनुहुन्छ। आश्चर्य छ नि। कसैको पनि बुद्धिमा यो कुरा छैन। यी लक्ष्मी-नारायण कति उच्च परिस्तानीबाट फेरि कति पतित बन्न पुग्छन्, त्यसैले ब्रह्माको दिन, ब्रह्माको रात गायन गरिएको छ। शिवको मन्दिरमा तिमीले धेरै सेवा गर्नसक्छौ। बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गर। द्वार द्वार भट्किन छोड। यो ज्ञान हो नै शान्तिको। बाबालाई याद गर्नाले तिमी सतोप्रधान बन्छौ। केवल यही मन्त्र दिइराख। जबसम्म पक्का हुँदैनन्, कसैसँग पनि पैसा लिनुहुँदैन, । भन– प्रतिज्ञा गर्नुहोस्, म पवित्र रहन्छु, अनि मात्रै हामी तपाईँको हातले बनाएको खान सक्छौं, जे पनि लिन सक्छौं। यहाँ मन्दिरहरू त धेरै छन्। विदेशी आदि जति पनि आउँछन्, उनलाई यो सन्देश तिमीले दिन सक्छौ– बाबालाई याद गर्नुहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि यस्तो ख्यालठट्टा गर्नु हुँदैन, जसमा विकारको वायु होस्। आफूलाई धेरै सावधान राख्नु छ। मुखबाट कटुवचन निकाल्नु हुँदैन।

२) आत्म अभिमानी बन्ने धेरै अभ्यास गर्नु छ। सबैसँग प्यारसँग चल्नु छ। कुदृष्टि राख्नु छैन। कुदृष्टि गयो भने आफूले आफैलाई सजाय दिनु पर्छ।

वरदान:–
निरन्तर याद र सेवाको ब्यालेन्सबाट बचपनको नाज नखरा समाप्त गर्ने वानप्रस्थी भव

साना-साना कुराहरूमा सङ्गमको अमूल्य समयलाई गुमाउनु बचपनको नाज नखरा हो। अब यो नाज नखरा सुहाउँदैन। वानप्रस्थमा केवल एउटै कार्य रहन्छ– बाबाको याद र सेवा। यसको अतिरिक्त अरू कुनै पनि याद नआओस्। उठ्दा पनि याद र सेवा, सुत्दा पनि याद र सेवा– निरन्तर यो ब्यालेन्स बनिरहोस्। त्रिकालदर्शी बनेर बचपनका कुरा वा बचपनका संस्कारहरूको समाप्ति समारोह मनाऊ, तब भनिन्छ वानप्रस्थी।

स्लोगन:–
सर्व प्राप्तिहरूबाट सम्पन्न आत्माको निशानी हो सन्तुष्टता। सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु छ।