15.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब
फर्केर घर जानुछ त्यसैले देहसहित देहका सबै सम्बन्धलाई भुलेर एक बाबालाई याद गर ,
यही हो सच्चा गीताको सार।”
प्रश्न:–
तिमी
बच्चाहरूको सहज पुरुषार्थ के हो?
उत्तर:–
बाबा
भन्नुहुन्छ– तिमी एकदम मौनमा रहने गर। मौनमा रह्यौ भने नै बाबाको वर्सा लिन सक्छौ।
बाबालाई याद गर्नुछ, सृष्टि चक्रलाई घुमाउनुछ। बाबाको यादले तिम्रा विकर्म विनाश
हुन्छन्, आयु लामो हुन्छ र चक्रलाई जान्नाले चक्रवर्ती राजा बन्छौ– यही हो सहज
पुरुषार्थ।
ओम् शान्ति ।
मीठा प्यारा
रूहानी बच्चाहरूप्रति रूहानी बाबाले फेरि सम्झाइरहनुभएको छ। दिनहुँ ज्ञान दिनुहुन्छ।
बच्चाहरूले त सम्झन्छन्– वास्तवमा हामीले कल्प पहिला जस्तै गीताको ज्ञान पढिरहेका
छौं। तर श्रीकृष्णले पढाउँदैनन्, परमपिता परमात्माले हामीलाई पढाउनुहुन्छ। उहाँले
नै हामीलाई फेरि राजयोग सिकाइरहनुभएको छ। तिमीले अहिले डाइरेक्ट भगवानबाट ज्ञान
सुनिरहेका छौ। हिन्दुहरूका सारा कुरा गीतामा नै आधारित छन्, त्यस गीतामा पनि लेखिएको
छ रुद्र ज्ञान यज्ञ रचियो। यो यज्ञ पनि हो भने पाठशाला पनि हो। बाबाले जब सच्चा गीता
सुनाउनु हुन्छ, अनि हामीले सद्गति प्राप्त गर्छौं। मानिसहरूले यो बुझेका छैनन्– बाबा
जो सर्वका सद्गतिदाता हुनुहुन्छ, उहाँलाई नै याद गर्नु छ। गीता पढ्दै आए पनि रचयिता
र रचनालाई नजान्नाले नेति नेति भन्दै आएका छन्। सच्चा गीता त सच्चा बाबा नै आएर
सुनाउनुहुन्छ, यो हो विचारसागर मंथन गर्ने कुरा। जो सेवामा हुन्छन्, उनीहरूको
राम्रोसँग ध्यान जान्छ। बाबाले भन्नुभएको छ– हरेक चित्रमा अवश्य लेखिएको होस्–
ज्ञानसागर पतित-पावन, गीता ज्ञानदाता, परमप्रिय, परमपिता, परमशिक्षक, परम सद्गुरु
शिव भगवानुवाच। यी शब्द त अवश्य लेख, जसले गर्दा मानिसहरूले बुझ्छन्– त्रिमूति शिव
परमात्मा नै गीताका भगवान हुनुहुन्छ, न कि श्रीकृष्ण। विचार पनि यसैमा लेखाइन्छ।
हाम्रो हो मुख्य गीता। बाबाले दिनप्रतिदिन नयाँ नयाँ प्वाइन्टहरू पनि दिइरहनुहुन्छ।
यस्तो विचार आउनुहुँदैन– पहिल्यै बाबाले किन भन्नुभएन? ड्रामामा थिएन। बाबाका
मुरलीबाट नयाँ नयाँ प्वाइन्ट निकाल्नुपर्छ। लेख्छन् पनि उत्थान र पतन। भनिन्छ पनि
भारतखण्डको उत्थान र पतन। उत्थान अर्थात् दैवी राज्यको निर्माण, १०० प्रतिशत
पवित्रता, शान्ति, सम्पन्नताको स्थापना हुन्छ फेरि आधा कल्पपछि पतन हुन्छ। आसुरी
राज्यको पतन। उत्थान र निर्माण दैवी राज्यको हुन्छ। पतनको साथै विनाश लेख्नुपर्छ।
तिम्रो सारा पुरुषार्थ गीतामा आधारित छ। बाबाले नै आएर सच्चा गीता सुनाउनुहुन्छ।
बाबाले दिनहुँ यसमा नै सम्झाउनुहुन्छ। बच्चाहरू त आत्मा नै हुन्। बाबा भन्नुहुन्छ–
यस देहको सारा विस्तारलाई भुलेर आफूलाई आत्मा सम्झ। आत्मा शरीरबाट अलग भएपछि सबै
सम्बन्ध भुल्छ। त्यसैले बाबाले पनि भन्नुहुन्छ– देहका सबै सम्बन्ध छोडेर आफूलाई
आत्मा सम्झेर म बाबालाई याद गर। अब घर जानुछ नि! फर्केर जानको लागि नै आधाकल्प यति
भक्ति आदि गरेका हौ। सत्ययुगमा त कसैले फर्केर जाने पुरुषार्थ गर्दैनन्। त्यहाँ त
सुख नै सुख हुन्छ। गाउँछन् पनि, दु:ख में सिमरण सब करें, सुख में करे न कोई। तर सुख
कहिले हुन्छ, दु:ख कहिले हुन्छ– यो बुझेका छैनन्। हाम्रा सबै कुरा गुप्त छन्। हामी
पनि रूहानी मिलिटरी हौं नि। शिवबाबाका शक्तिसेना हौं। यसको अर्थ पनि कसैले बुझेका
छैनन्। देवी आदिको यति पूजा हुन्छ तर कसैको बारेमा पनि जानेका छैनन्। जसको पूजा
गर्छन्, उनको जीवनी त जान्नुपर्छ नि। उच्चभन्दा उच्च शिवको पूजा हुन्छ फेरि
ब्रह्मा-विष्णु-शङ्करको फेरि लक्ष्मी-नारायण, राधा-श्रीकृष्णका मन्दिर छन्। अरू
कसैको त पूजा हुँदैन। एउटै शिवबाबाका कति भिन्न भिन्न नाम राखेर मन्दिर बनाएका छन्।
अहिले तिम्रो बुद्धिमा सारा चक्र छ। ड्रामामा मुख्य कलाकार पनि हुन्छन् नि। त्यो हो
हदको ड्रामा। यो हो बेहदको ड्रामा। यसमा मुख्य को को छन्, यो तिमीलाई थाहा छ।
मानिसहरूले त भनिदिन्छन् रामजी संसार बनेको नै होइन। यसमा पनि एक शास्त्र बनाइएको
छ। अर्थ केही पनि बुझ्दैनन्।
बाबाले तिमी
बच्चाहरूलाई धेरै सहज पुरुषार्थ सिकाउनुभएको छ। सबैभन्दा सहज पुरुषार्थ हो– तिमी
एकदम चुप रहने गर। चुप रहनाले नै बाबाको वर्सा लिनसक्छौ। बाबालाई याद गर्नुछ।
सृष्टिचक्रलाई याद गर्नुछ। बाबाको यादले तिम्रो विकर्म विनाश हुन्छ। तिमी निरोगी
बन्छौ। आयु लामो हुन्छ। चक्रलाई जान्नाले चक्रवर्ती राजा बन्छौ। अहिले छौ नर्कको
मालिक फेरि स्वर्गको मालिक बन्छौ। स्वर्गको मालिक त सबै बन्छन् फेरि त्यसमा पद
हुन्छ। जति आफूसमान बनाउने छौ त्यति उच्च पद मिल्छ। अविनाशी ज्ञान रत्नहरूको दान नै
गर्दैनौ भने त्यसको सट्टा के मिल्छ? कोही धनवान बन्यो भने भनिन्छ उसले पूर्व जन्ममा
राम्रो दानपुण्य गरेको रहेछ। अहिले बच्चाहरूलाई थाहा छ– रावण राज्यमा त सबैले पाप
नै गर्छन्, सबैभन्दा पुण्य आत्मा हुन् श्री लक्ष्मी-नारायण। हो, ब्राह्मणहरूलाई पनि
उच्च मानिन्छ जसले सबैलाई उच्च बनाउँछन्। त्यो त प्रारब्ध हो। यी ब्रह्मा मुखवंशावली
ब्राह्मण कुलभूषणले श्रीमत अनुसार यो श्रेष्ठ कर्तव्य गर्छन्। ब्रह्माको नाम छ
मुख्य। त्रिमूर्ति ब्रह्मा भनिन्छ नि। अहिले त तिमीलाई हरेक कुरामा त्रिमूर्ति शिव
भन्नुपर्छ। ब्रह्माद्वारा स्थापना, शङ्करद्वारा विनाश– यो त गायन छ नि। विराट रूप
पनि बनाउँछन्, तर त्यसमा न शिवलाई देखाउँछन्, न ब्राह्मणहरूलाई देखाउँछन्। यो पनि
तिमी बच्चाहरूले सम्झाउनु छ। तिमीहरूमा पनि यथार्थ रीतिले मुस्किलले कसैको बुद्धिमा
बस्छ। अथाह प्वाइन्टहरू छन् नि, जसलाई टपिक पनि भनिन्छ। कति टपिक मिल्छन्। सच्चा
गीता भगवानबाट सुन्नाले मनुष्यबाट देवता, विश्वको मालिक बनिन्छ। टपिक कति राम्रो छ।
तर सम्झाउने पनि अक्कल चाहिन्छ नि। यो कुरा स्पष्ट लेख्नुपर्छ जसले गर्दा मानिसहरूले
बुझ्छन् र सोध्छन्। कति सहज छ। एक एक ज्ञानको प्वाइन्ट लाखौं करोडौं रूपैयाँको छ,
जसलेगर्दा तिमी केबाट के बन्छौ। तिम्रो कदम कदममा पदम छ। त्यसैले देवताहरूलाई पनि
पदमको फूल देखाइन्छ। तिमी ब्रह्मा मुखवंशावली ब्राह्मणहरूको नाम नै गुम बनाइदिएका
छन्। ती ब्राह्मणहरूले काखीमा कुरम (शास्त्र), गीता लिन्छन्। अहिले तिमी हौ सच्चा
ब्राह्मण, तिम्रो बुद्धिमा छ सत्यम्। उनीहरूको बुद्धिमा छ कुरम। त्यसैले तिमीलाई नसा
चढ्नुपर्छ– हामीले त श्रीमत अनुसार स्वर्ग बनाइरहेका छौं, बाबाले राजयोग
सिकाइरहनुभएको छ। तिमीसँग कुनै पुस्तक छैन। तर यो साधारण ब्याज नै तिम्रो सच्चा गीता
हो, यसमा त्रिमूर्तिको पनि चित्र छ। त्यसैले सारा गीता यसमा आउँछ। सेकेण्डमा सारा
गीता सम्झाइन्छ। यस ब्याजद्वारा तिमीले सेकेण्डमा कसैलाई पनि सम्झाउनसक्छौ। उहाँ
तिम्रो पिता हुनुहुन्छ, उहाँलाई याद गर्नाले तिम्रा पाप भस्म हुन्छन्। ट्रेनमा जाँदा,
हिँड्दा डुल्दा जो मिले पनि तिमीले उनलाई राम्रोसँग सम्झाऊ। श्रीकृष्णपुरीमा त सबै
जान चाहन्छन् नि। यस पढाइबाट यो बन्न सक्नुहुन्छ। पढाइबाट राजधानी स्थापना हुन्छ।
अरू धर्म स्थापकहरूले कुनै राजाधानी स्थापना गर्दैनन्। तिमीलाई थाहा छ– हामीले
भविष्य २१ जन्मको लागि राजयोग सिक्छौं। यो पढाइ कति राम्रो छ। केवल दिनहुँ १ घन्टा
पढ। पुग्यो। त्यो पढाइ त ४-५ घन्टाको लागि हुन्छ। यहाँ त एक घन्टा पनि पर्याप्त छ।
त्यसमा पनि सबेरैको समय यस्तो छ, जुन सबैलाई फ्री हुन्छ। बाँकी कोही बन्धनमा छन्,
सबेरै आउन सक्दैनन् भने अर्कै समय राखिएको छ। ब्याज लगाइराखिएको होस्, जहाँसुकै जाऊ,
यो सन्देश दिँदै जाऊ। अखबारमा त ब्याज राख्नसकिँदैन, एकातिरको मात्र राख्न सकिन्छ।
मानिसहरूले न सम्झाएसम्म यसरी त बुझ्नसक्दैनन्। छ धेरै सहज। यो धन्दा त जसले पनि
गर्न सक्छन्। ठीकै छ, स्वयंले याद नगरोस्, अरूलाई याद दिलाओस्। त्यो पनि राम्रो हो।
अरूलाई देहीअभिमानी बन भन्नेहरू स्वयं देहअभिमानी भयौ भने केही न केही विकर्म
भइरहन्छ। सबैभन्दा पहिला तुफान मनसामा फेरि कर्मणामा आउँछ। मनसामा धेरै आउँछ, त्यसमा
फेरि बुद्धिले काम लिनुछ, नराम्रो काम कहिल्यै गर्नुछैन। राम्रो कर्म गर्नुछ।
सङ्कल्प राम्रा पनि हुन्छन्, नराम्रा पनि आउँछन्। नराम्रा विचारलाई रोक्नुपर्छ। यो
बुद्धि बाबाले दिनुभएको छ। अरू कसैले बुझ्न सक्दैन। उनीहरूले त गलत काम नै
गरिरहन्छन्। तिमीले अहिले ठिक काम मात्रै गर्नु छ। राम्रो पुरुषार्थले ठिक काम
हुन्छ। बाबाले त हरेक कुरा धेरै राम्रोसँग सम्झाइरहनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यो एक एक अविनाशी ज्ञानको रत्न लाखौं-करोडौं रूपैयाँको छ, यिनलाई दान गरेर कदम
कदममा पदमको कमाइ जम्मा गर्नुछ। आफूसमान बनाएर उच्च पद पाउनुछ।
२) विकर्मबाट बच्नको
लागि देहीअभिमानी रहने पुरुषार्थ गर्नुछ। मनसामा कहिलेकाहीँ नराम्रो सङ्कल्प आयो भने
त्यसलाई रोक्नुपर्छ। राम्रा सङ्कल्प चलाउनुछ। कर्मेन्द्रियहरूबाट कहिल्यै कुनै उल्टो
कर्म गर्नुछैन।
वरदान:–
रुहानियतको
प्रभावद्वारा फरिस्तापनको मेकअप गर्ने सबैका स्नेही भव
जुन बच्चाहरू सदा
बापदादाको सङ्गमा रहन्छन्, उनीहरूलाई सङ्गको रङ्ग यस्तो लाग्छ– हरेकको अनुहारमा
रुहानियतको प्रभाव देखिन्छ। जुन रुहानियतमा रहँदा फरिस्तापनको मेकअप स्वतः हुन्छ।
जसरी मेकअप गरेपछि जो कोही पनि जस्तो भए पनि फेरिन्छ, मेकअप गरेपछि सुन्दर देखिन्छ।
यहाँ पनि फरिस्तापनको मेकअपले चम्कन थाल्नेछ र यो रुहानी मेकअपले सबैको स्नेही
बनाइदिन्छ।
स्लोगन:–
ब्रह्मचर्य,
योग तथा दिव्य गुणहरूको धारणा नै वास्तविक पुरुषार्थ हो।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
कर्म बन्धन तोड्ने
पुरुषार्थ
धेरै मानिसहरूले
प्रश्न सोध्छन्– हामीले के गर्नुपर्छ? कसरी आफ्नो कर्मबन्धन तोड्नसकिन्छ? बाबालाई
हरेकको जन्मपत्री थाहा छ। बच्चाहरूको काम हो एकपटक आफूले दिलैदेखि बाबामा समर्पित
हुने, आफ्नो जिम्मेवारी उहाँको हातमा दिने। फेरि के गर्नुपर्छ, हरेकलाई सुझाव
दिनुहुन्छ। सहारा पनि यथार्थमा लिनुछ, बाँकी यस्तो होइन केवल सुनिराख अनि आफ्नै मतमा
चल्दै जाऊ। बाबा साकारमा हुनुहुन्छ त्यसैले बच्चाहरूले पनि स्थूलमा पिता, गुरु,
टिचरको सहारा लिनुछ। यस्तो पनि होइन आज्ञा मिल्यो तर पालन गर्न नसकियोस्, यसरी त
अकल्याण नै हुनेछ। त्यसैले आदेश पालन गर्ने पनि हिम्मत चाहिन्छ, चलाउनेवाला त
रमजबाज (युक्तिदाता) हुनुहुन्छ, उहाँलाई थाहा छ यसको कल्याण केमा छ, त्यसैले उहाँले
यस्तो निर्देशन दिनुहुन्छ जसबाट कर्म-बन्धन तोडिन्छ। कसैको फेरि यस्तो विचार आउनु
हुँदैन– बालबच्चा आदिको के होला? यसमा कुनै घरबार छोड्ने कुरा छैन, त्यो त केही
बच्चाहरूको छोड्ने पार्ट थियो, यदि त्यो पार्ट नहुने हो भने त अहिले तिम्रो सेवा
कसले गर्ने थियो? अब त छोड्ने कुरैछैन, तर परमात्माको बन्नुपर्छ, नडराऊ, हिम्मत राख।
बाँकी जो डराउँछ, ऊ न स्वयं खुसीमा रहन्छ, न फेरि बाबाको मदतगार बन्छ। यहाँ त उहाँको
साथमा पूरा मदतगार बन्नुछ। जब जीवन छँदै मर्ने छौं, अनि मात्रै मदतगार बन्न सक्छौं।
कहीँ अल्झिएको छ भने उसले कसरी मदत दिएर पार हुन्छ। त्यसैले बाबासँग
मनसा-वाचा-कर्मणा मदतगार बन्नुछ, यसमा अलिकति पनि मोहको राग छ भने त्यसले
गिराइदिन्छ। त्यसैले हिम्मत राखेर अगाडि बढ। कहीँ हिम्मतमा कमजोर भयौ भने अलमलिन्छौ,
त्यसैले आफ्नो बुद्धिलाई एकदमै पवित्र बनाउनुपर्छ, विकारको अलिकति पनि अंश नहोस्,
लक्ष्य कहाँ टाढा छ र! चढाइ अलिकति घुमाउरो छ, तर समर्थको सहारा लियौं भने न डर
हुन्छ, न थकाइ लाग्छ। अच्छा, ओम् शान्ति।