15.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आत्मा र शरीर जुन पतित र काला बनेका छन् , बाबाको यादबाट यिनलाई पावन बनाऊ किनकि अब पावन दुनियाँमा जानु छ।”

प्रश्न:–
भगवान कुन बच्चाहरूसँग मिल्नुहुन्छ, बाबाले कुन हिसाब बताउनुभएको छ?

उत्तर:–
जसले सुरुदेखि भक्ति गरेका छन्, उनीहरूसँग नै भगवान मिल्नुहुन्छ। बाबाले यो हिसाब बताउनुभएको छ– सबैभन्दा पहिला तिमीले भक्ति गर्छौ, त्यसैले तिमीलाई नै सुरु सुरुमा भगवानद्वारा ज्ञान मिल्छ, जसबाट फेरि तिमीले नयाँ दुनियाँमा राज्य गर्छौ। बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प मलाई याद गरेका छौ, अब म आएको छु, तिमीलाई भक्तिको फल दिन।

गीत:–
मरना तेरी गली में...

ओम् शान्ति ।
तिमी बच्चाहरूले गीत सुन्यौ। कोही मरेछन् भने पिताको साथमा अर्को जन्म लिन्छन्। तिमीलाई थाहा छ, हामी आत्मा हौँ। त्यो भयो शरीरको कुरा। एक शरीर छोडेर फेरि अर्को पिताको साथमा जान्छौ। तिमीले कति साकारी पिता बनाएका छौ। वास्तवमा तिमी निराकारी बाबाका बच्चाहरू हौ। तिमी आत्मा परमपिता परमात्माका बच्चाहरू हौ, निवासी पनि त्यहीँका हौ, जसलाई निर्वाणधाम वा शान्तिधाम भनिन्छ। बाबा पनि त्यहीँ निवास गर्नुहुन्छ। यहाँ आएर तिमी लौकिक पिताका बच्चा बन्छौ, त्यसपछि उहाँ बाबालाई भुल्छौ। सत्ययुगमा तिमी सुखी बन्छौ, त्यसपछि उहाँ पारलौकिक बाबालाई भुल्छौ। सुखमा उहाँ बाबाको स्मरण गर्दैनौ। दुःखमा याद गर्छौ र त्यो याद आत्माले गर्छ। लौकिक पितालाई याद गर्दा बुद्धि शरीरतिर जान्छ। उहाँ बाबालाई याद गर्दा हे बाबा भन्छौ, हुनुहुन्छ दुवै बाबा। सही शब्द बाबा नै हो। उहाँ पनि पिता, यिनी पनि पिता। आत्माले रुहानी बाबालाई याद गर्दा बुद्धि त्यहाँ जान्छ। उहाँ बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। अहिले तिमीलाई थाहा छ, बाबा आउनुभएको छ, हामीलाई आफ्नो बनाउनुभएको छ। बाबा भन्नुहुन्छ– सुरु सुरुमा मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ। तिमी धेरै धनवान् थियौ, फेरि ८४ जन्म लिएर ड्रामा योजनाअनुसार अहिले तिमी दुःखी भएका छौ। ड्रामाअनुसार यो पुरानो दुनियाँ समाप्त हुनु छ। तिम्रो आत्मा र यो शरीररूपी वस्त्र सतोप्रधान थिए, फेरि सत्ययुगबाट आत्मा त्रेतायुगमा आयो, अनि शरीर पनि त्रेतामा आयो, फेरि द्वापरयुगमा आयौ। अहिले त तिम्रो आत्मा बिल्कुलै पतित भएको छ, अनि शरीर पनि पतित छ। जसरी १४ क्यारेटको सुन कसैले मन पराउँदैनन्, कालो हुन्छ। तिमी पनि अहिले काला कलियुगी बनेका छौ। आत्मा र शरीर जुन यस्ता काला बनेका छन्, अब फेरि पवित्र कसरी बन्छन्। आत्मा पवित्र बन्यो भने शरीर पनि पवित्र मिल्छ। त्यो कसरी हुन्छ? के गङ्गास्नान गर्नाले? होइन, पुकार्छन् नै– हे पतितपावन आउनुहोस्! यो कुरा आत्माले भन्छ अनि बुद्धि पारलौकिक बाबातिर जान्छ। हे बाबा! हेर बाबा शब्द नै कति मीठो छ। भारतवर्षमा नै बाबा बाबा भन्छन्। अहिले तिमी आत्म अभिमानी बनेर बाबाका बनेका छौ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ, नयाँ शरीर धारण गरेका थियौ। अहिले तिमी के बनेका छौ। यी कुराहरू सदैव मनभित्र हुनुपर्छ। बाबालाई नै याद गर्नुपर्छ। याद सबैले गर्छन् र भन्छन् नि– हे बाबा, हामी आत्माहरू पतित बनेका छौँ, अब आउनुहोस्, आएर पावन बनाउनुहोस्! ड्रामामा यो पार्ट पनि छ, त्यसैले त बोलाउँछन्। ड्रामा योजनाअनुसार आउनुहुन्छ पनि त्यतिबेला जुनबेला पुरानो दुनियाँबाट नयाँ दुनियाँ बन्नुपर्ने हुन्छ। त्यसैले अवश्य सङ्गममा नै आउनुहुन्छ। तिमी बच्चाहरूलाई निश्चय छ– बाबा परमप्रिय हुनुहुन्छ। भन्छन् पनि– स्विट, स्विटेस्ट... अब मीठो प्यारो को हुनुहुन्छ? लौकिक सम्बन्धमा पहिला पिता हुन्छन्, जसले जन्म दिन्छन्। फेरि हुन्छन् टिचर। टिचरबाट पढेर तिमीले पद पाउँछौ। ज्ञान आम्दानीको श्रोत हो भनिन्छ। ज्ञान हो नलेज, योग हो याद। यो बेहदको कुरा कसैलाई थाहा छैन। चित्रहरूमा स्पष्ट देखाइएको पनि छ, ब्रह्माद्वारा शिवबाबाले स्थापना गराउनुहुन्छ। श्रीकृष्णले कसरी राजयोग सिकाउँछन्। राजयोग सिकाउने नै सत्ययुगको लागि हो। त्यसैले अवश्य सङ्गममा बाबाले सिकाउनुभएको होला। सत्ययुगको स्थापना गर्ने स्वर्ग स्थापक हुनुहुन्छ बाबा। ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ, बाबा करनकरावनहार हुनुहुन्छ नि! उनीहरूले त त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। तर सर्वोच्च त शिव हुनुहुन्छ नि! यिनी साकार हुन्, उहाँ निराकार हुनुहुन्छ। सृष्टि पनि यही हो। यो सृष्टिको चक्र नै घुम्छ, रिपिट भइरहन्छ। सूक्ष्मवतनको सृष्टिको चक्र भनिँदैन। विश्वको इतिहास भूगोल रिपिट हुन्छ। भन्छन् पनि– सत्ययुग, त्रेता, द्वापर, कलियुग। बीचमा अवश्य सङ्गमयुग हुनुपर्छ। नत्र कलियुगलाई सत्ययुग कसले बनाउनुहुन्छ! नर्कवासीहरूलाई स्वर्गवासी बनाउन बाबा सङ्गममा नै आउनुहुन्छ। जति पुरानो दुनियाँ, त्यति दुःख बढी। आत्मा जति तमोप्रधान बन्दै जान्छ, त्यति दुःखी हुन्छ। देवताहरू सतोप्रधान हुन्छन्। यो त सर्वोच्च अधिकारी परमपिता परमात्माको सरकार हो। उहाँको साथमा धर्मराज पनि हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी शिवालयमा रहन्थ्यौ, अहिले यो वेश्यालय हो। तिमी पावन थियौ, अहिले पतित बनेका छौ, त्यसैले भन्छौ हामी त पापी हौँ। आत्माले भन्छ– म निर्गुणहारीमा कुनै गुण छैन। कुनै पनि देवताको मन्दिरमा गए भने उनीहरूको अगाडि यस्तो भन्छन्। भन्नुपर्छ बाबाको अगाडि। उहाँलाई छोडेर भाइहरूलाई भन्न थाल्छन्, यी देवताहरू भाइहरू भए नि। भाइलाई भाइबाट त केही मिल्दैन। भाइहरूको पूजा गर्दागर्दै तल गिर्दै आएका छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ, उहाँबाट हामीलाई वर्सा मिल्छ। बाँकी मानिसहरूले त बाबालाई चिन्दैनन्। सर्वव्यापी भनिदिन्छन्। कसैले फेरि भन्छन् बाबा अखण्ड ज्योति तत्त्व हुनुहुन्छ। कसैले भन्छन् उहाँ नाम-रूपबाट न्यारा हुनुहुन्छ। अरे, तिमीले भन्छौ अखण्ड ज्योतिस्वरूप हुनुहुन्छ, फेरि नाम-रूपबाट न्यारा हुनुहुन्छ कसरी भन्छौ। बाबालाई नचिनेका हुनाले नै पतित बन्न पुगेका छन्। तमोप्रधान पनि बन्नु नै छ। फेरि बाबा आएपछि मात्र सबैलाई पावन बनाउनुहुन्छ। सबै आत्माहरू बाबाको साथमा निराकारी दुनियाँमा रहन्छन्। फेरि यहाँ आएर सतो, रजो, तमोको पार्ट खेल्छन्। आत्माले नै बाबालाई याद गर्छ। बाबा आउनु पनि हुन्छ र भन्नुहुन्छ– ब्रह्मा तनको आधार लिन्छु, यो भाग्यशाली रथ हो। आत्माबिना रथ कहाँ हुन्छ र! भन्छन्– भागीरथले गङ्गा ल्याए। अब यो कुरा त हुन सक्दैन। तर हामीले के भन्छौँ भन्ने केही पनि बुझ्दैनन्! अहिले तिमी बच्चाहरूलाई सम्झाइएको छ– यो ज्ञान वर्षा हो। यसबाट के हुन्छ? पतितबाट पावन बन्छौ। गङ्गा, यमुना त सत्ययुगमा पनि हुन्छन्। भन्छन्– श्रीकृष्ण यमुनाको किनारमा क्रीडा गर्छन्। यस्ता कुनै कुराहरू हुँदैनन्। उनी त सत्ययुगका राजकुमार हुन्, उनको धेरै सम्हाल गरेर पालना हुन्छ किनकि फूल हुन् नि! फूल कति राम्रा, सुन्दर हुन्छन्। सबै आएर फूलबाट सुगन्ध लिन्छन्। काँडाहरूबाट कहाँ सुगन्ध लिन्छन् र! अहिले त यो काँडाहरूको दुनियाँ नै हो। जङ्गललाई बाबाले आएर फूलहरूको बगैँचा बनाउनुहुन्छ, त्यसैले उहाँको नाम बबुलनाथ पनि राखिदिएका छन्। काँडाहरूबाट फूल बनाउनुहुन्छ, त्यसैले महिमा गाउँछन्– काँडाहरूलाई फूल बनाउने बाबा। अब तिमी बच्चाहरूको बाबासँग कति प्यार हुनुपर्छ। अहिले तिमीलाई थाहा छ, हामी बेहदको बाबाका बनेका छौँ। अहिले तिम्रो सम्बन्ध उहाँसँग पनि छ भने लौकिकसँग पनि छ। पारलौकिक बाबालाई याद गरेमा तिमी पावन बन्नेछौ। आत्मालाई थाहा छ, उनी हाम्रो लौकिक पिता हुन् र उहाँ पारलौकिक बाबा हुनुहुन्छ। भक्तिमार्गमा पनि आत्मालाई थाहा हुन्छ, उनी हाम्रो लौकिक पिता हुन् र उहाँ परमपिता परमात्मा हुनुहुन्छ। अविनाशी बाबालाई याद गर्छन्। उहाँ बाबा कहिले आएर स्वर्ग स्थापना गर्नुहुन्छ, यो कसैलाई थाहा छैन। बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। त्यसैले अवश्य सङ्गममा आउनुहुन्छ। शास्त्रहरूमा त कल्पको अवधि लाखौँ वर्ष लेखेर मानिसहरूलाई बिल्कुलै घोर अन्धकारमा पारिदिएका छन्। भन्छन्– जसले धेरै भक्ति गर्छन्, उनीहरूलाई भगवान मिल्नुहुन्छ। त्यसैले सबैभन्दा बढी भक्ति गर्नेलाई अवश्य पहिला मिल्नुपर्छ। बाबाले हिसाब पनि बताउनुभएको छ। सबैभन्दा पहिला भक्ति तिमीले गर्छौ, तिमीलाई नै सुरु सुरुमा भगवानद्वारा ज्ञान मिल्नुपर्छ, जसबाट फेरि तिमीले नै नयाँ दुनियाँमा राज्य गर्छौ। बेहदको बाबाले तिमी बच्चाहरूलाई ज्ञान दिइरहनुभएको छ, यसमा तकलिफको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प याद गरेका छौ। सुखमा त कसैले याद गर्दैनन्। अन्त्यमा दुःखी बनेपछि म आएर सुखी बनाउँछु। अहिले तिमी धेरै ठुला मानिस बन्छौ। प्रधानमन्त्री, मुख्य मन्त्री आदिका बङ्गलाहरू कति फस्टक्लास हुन्छन्। सारा फर्निचर त्यस्तै फस्टक्लास हुन्छन् होला। तिमी त कति ठुला मानिस (देवता) बन्छौ। दैवीगुण भएका देवता स्वर्गका मालिक बन्छौ। त्यहाँ तिम्रो लागि महल पनि हीरा जुहारातका हुन्छन्। त्यहाँ तिम्रा फर्निचर सुन जडित फस्टक्लास हुन्छन्।

यो रुद्र ज्ञान यज्ञ हो। शिवलाई रुद्र पनि भनिन्छ। भक्ति पूरा भइसकेपछि भगवानले रुद्र यज्ञ रच्नुहुन्छ। सत्ययुगमा यज्ञ अथवा भक्तिको कुरा नै हुँदैन। यतिबेला नै बाबाले यो अविनाशी रुद्र ज्ञान यज्ञ रच्नुहुन्छ, जसको फेरि पछि गायन चल्छ। भक्ति त सदा चलिरहँदैन। भक्ति र ज्ञान, भक्ति रात हो, ज्ञान दिन हो। बाबा आएर दिन बनाउनुहुन्छ, त्यसैले बच्चाहरूको पनि बाबासँग कति प्यार हुनुपर्छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। बाबा परमप्रिय हुनुहुन्छ नि! उहाँभन्दा बढी प्यारो वस्तु कुनै हुन सक्दैन। आधाकल्पदेखि याद गर्दै आएका छौ। बाबा आएर हाम्रो दुःख हर्नुहोस्! अब बाबा आउनुभएको छ, बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी आफ्नो गृहस्थ व्यवहारमा नै रहनु छ। यहाँ बाबाको समीपमा कहाँसम्म बस्छौ। साथमा त परमधाममा नै रहन सक्छौ। यहाँ त रहन सक्दैनौ। यहाँ त पढाइ पढ्ने कुरा हो। यो पढाइ पढ्नेहरू थोरै हुन्छन्। लाउड स्पिकरबाट कहिल्यै पढाइ हुन्छ र? टिचरले प्रश्न कसरी सोध्छन्? लाउड स्पिकरमा जवाफ कसरी दिन सक्छन्? त्यसैले थोरै थोरै विद्यार्थीहरूलाई पढाउनुहुन्छ। कलेज त धेरै हुन्छन्, फेरि सबैको परीक्षा हुन्छ। रिजल्ट निस्कन्छ। यहाँ त एक बाबाले नै पढाउनुहुन्छ। यो पनि सम्झाउनुपर्छ, दुई पिता हुनुहुन्छ– लौकिक र पारलौकिक। दुःखमा स्मरण उहाँ पारलौकिक बाबालाई गर्छन्। अब उहाँ बाबा आउनुभएको छ। महाभारत लडाइँ पनि सामुन्ने छ। उनीहरूले सम्झन्छन्, महाभारत लडाइँमा श्रीकृष्ण आए, यो त हुन सक्दैन। तर उहाँ निराकार हुनुहुन्छ, उनी साकार हुन्। निराकार बाबा सबै आत्माहरूका पिता हुनुहुन्छ। हुन् दुवै परमप्रिय। श्रीकृष्ण पनि विश्वका मालिक हुन् नि! अहिले तिमीले जज गर्न सक्छौ, को बढी प्यारो हुनुहुन्छ? शिवबाबाले नै यस्तो लायक बनाउनुहुन्छ नि! श्रीकृष्णले के गर्छन् र? बाबाले नै त उनलाई यस्तो बनाउनुहुन्छ नि! त्यसैले गायन पनि उहाँ बाबाको बढी हुनुपर्छ नि! बाबाले सम्झाउनुभएको छ– तिमी सबै पार्वतीहरू हौ। उहाँ शिव अमरनाथले तिमीलाई कथा सुनाइरहनुभएको छ। तिमीहरू सबै नै अर्जुन हौ, तिमीहरू सबै नै द्रौपदीहरू हौ। यो विकारी दुनियाँलाई रावण राज्य भनिन्छ। त्यो निर्विकारी दुनिया हो। त्यहाँ विकारको कुरा हुँदैन। निराकार बाबाले विकारी दुनियाँ रच्नुहुन्छ र? विकारमा नै दुःख हुन्छ। संन्यासीहरूको त हो नै हठयोग, निवृत्तिमार्ग। कर्मसंन्यास त कहिल्यै हुँदैन। आत्मा शरीरबाट अलग भएपछि मात्रै कर्मसंन्यास हुन्छ। गर्भजेलमा फेरि कर्महरूको हिसाब सुरु हुन्छ। बाँकी कर्मसंन्यास भन्नु गलत हो, हठयोग आदि धेरै सिक्छन्, गुफाहरूमा गएर बस्छन्। आगोबाट पनि हिँड्छन्। ऋद्धिसिद्धि पनि धेरै छ। जादुगरीबाट धेरै कुराहरू पनि निकाल्छन्। भगवानलाई पनि जादुगर, रत्नागर, सौदागर भन्छन्। तर उनीहरूबाट कसैलाई पनि गति सद्गति त मिल्न सक्दैन। त्यो गति सद्गति त एउटै सच्चा सद्गुरु आएर सबैको गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) काँडाहरूबाट फूल बनाउने एक परमप्रिय बाबा हुनुहुन्छ, उहाँलाई धेरै प्यारसँग याद गर्नु छ। सुगन्धित पावन फूल बनेर सबैलाई सुख दिनु छ।

२) यो नलेज (पढाइ) आम्दानीको श्रोत हो, यसबाट २१ जन्मको लागि तिमी धेरै ठुला मानिस बन्छौ, त्यसैले यसलाई राम्रोसँग पढ्नु र पढाउनु छ। आत्म अभिमानी बन्नु छ।

वरदान:–
जिम्मेवारी सम्हाल्दै आकारी र निराकारी स्थितिको अभ्यासद्वारा साक्षात्कारमूर्त भव

जसरी साकार रूपमा यति ठुलो जिम्मेवारी हुँदाहुँदै पनि आकारी र निराकारी स्थितिको अनुभव गराइरहनुभयो, त्यसैगरी बाबालाई अनुसरण गर। साकार रूपमा फरिस्तापनको अनुभूति गराऊ। कोही जतिसुकै अशान्त वा बेचैन, आत्तिएको आत्मा तिम्रो सामुन्ने आउन् तर तिम्रो एक दृष्टि, वृत्ति र स्मृतिको शक्तिले उनीहरूलाई बिल्कुलै शान्त पारिदेओस्। व्यक्त भावमा आऊन् र अव्यक्त स्थितिको अनुभव गरून्, अनि भनिन्छ साक्षात्कारमूर्त।

स्लोगन:–
जो सच्चा रहमदिल छन्, उनीहरूलाई देह वा देह अभिमानको आकर्षण हुन सक्दैन।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

ज्ञानी आत्मा सदैव हरेक आत्माप्रति मास्टर स्नेहको सागर हुन्छन्। स्नेह बाहेक उनीहरूसँग अरू केही हुँदैहुँदैन। जोसुकै आयो भने पनि उसलाई स्नेह नै दिन्छन्। आजकाल सम्पत्तिभन्दा पनि बढी स्नेहको आवश्यकता छ। स्नेहको शक्तिले दुस्मनलाई पनि मित्र बनाउन सक्छौ। अपकारीहरूमाथि पनि उपकार गर्न सक्छौ।