16.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– ड्रामाको यथार्थ ज्ञानद्वारा नै तिमी अचल , अडोल र एकरस रहन सक्छौ , मायाको तुफानले तिमीलाई हल्लाउन सक्दैन।”

प्रश्न:–
देवताहरूको कुनचाहिँ एउटा मुख्य गुण तिमी बच्चाहरूमा सदा देखिनुपर्छ?

उत्तर:–
हर्षित रहने। देवताहरूलाई सदा मुस्कुराइरहेको हर्षित देखाउँछन्। त्यस्तै तिमी बच्चाहरू पनि सदा हर्षित रहनु छ, जुनसुकै कुरा होस्, तर मुस्कुइराख। कहिल्यै पनि उदासी वा क्रोध आउनु हुँदैन। जसरी बाबाले तिमीहरूलाई सही र गलतको ज्ञान दिनु हुन्छ, उहाँले कहिल्यै क्रोध गर्नुहुन्न, उदास हुनुहुन्न। त्यसैगरी तिमी बच्चाहरू पनि उदास हुनु हुँदैन।

ओम् शान्ति ।
बेहदका बच्चाहरूलाई बेहदका बाबाले सम्झाउनु हुन्छ। लौकिक बाबाले त यस्तो भन्दैनन्। उनीहरूका बढीमा ५-७ बच्चाहरू होलान्। यहाँ त जति पनि यी सबै आत्माहरू छन्, आपसमा भाइ भाइ हुन्। ती सबैको पिता अवश्य हुनुपर्छ। भन्छन् पनि, हामी सबै भाइ भाइ हौं। सबैको लागि भन्छन्। जति पनि आउँछन्, उनीहरूको लागि भनिन्छ– हामी भाइ भाइ हौं। ड्रामामा त सबै बाँधिएका छन्, जसलाई कसैले जानेका छैनन्। यो नजान्नु पनि ड्रामामा निश्चित छ। जसलाई बाबा नै आएर सुनाउनु हुन्छ, कथा आदि बसेर सुनाउँदा भन्छन्– परमपिता परमात्माय नम:। अब उहाँ को हुनुहुन्छ– यो जानेका छैनन्। भन्छन्– ब्रह्मा देवता, विष्णु देवता, शङ्कर देवता तर बुझेर भन्दैनन्। ब्रह्मालाई वास्तवमा देवता भनिँदैन। देवता विष्णुलाई भनिन्छ। ब्रह्माको बारेमा कसैलाई थाहा छैन। विष्णु देवता ठीक छ, शङ्करको त केही पनि पार्ट छैन। उनको जीवनी छैन, शिवबाबाको त जीवनी छ। उहाँ आउनु हुन्छ नै पतितलाई पावन बनाउन, नयाँ दुनियाँ स्थापना गर्न। अहिले एक आदि सनातन देवी-देवता धर्मको स्थापना, अरू सबै धर्मको विनाश हुन्छ। सबै कहाँ जान्छन्? शान्तिधाम। शरीर त सबैको विनाश हुनु छ। नयाँ दुनियाँमा केवल तिमीहरू हुन्छौ। जति पनि मुख्य धर्म छन्, तिनलाई तिमीले जानेका छौ। सबैको त नाम लिन सकिँदैन। साना साना हाँगाबिँगाहरू त धेरै छन्। सबैभन्दा पहिला दैवी धर्म फेरि इस्लामी। यी कुरा तिमी बच्चाहरू सिवाय अरू कसैको बुद्धिमा छैन। अहिले त्यो आदि सनातन देवी-देवता धर्म प्राय: लोप भएको छ, त्यसैले बरको वृक्षको उदाहरण दिन्छन्। पूरै वृक्ष खडा छ, मूल जरा चाहिँ छैन। सबै भन्दा लामो आयु यो बरको वृक्षको हुन्छ। त्यसैगरी यसमा सबै भन्दा लामो अवधि आदि सनातन देवी-देवता धर्मको हुन्छ। त्यो जब प्राय: लोप हुन्छ, तब त बाबा आएर भन्नुहुन्छ– अब एक धर्मको स्थापना र अनेक अधर्मको विनाश हुनु छ, त्यसैले त्रिमूर्ति पनि बनाइएको छ। तर अर्थ बुझ्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– उच्च भन्दा उच्च भगवान हुनुहुन्छ फेरि ब्रह्मा-विष्णु-शङ्कर, फेरि सृष्टिमा आएपछि देवी-देवता भन्दा अरू कुनै धर्म हुँदैन। भक्तिमार्ग पनि ड्रामामा निश्चित छ। पहिला शिवको भक्ति गर्छन् फेरि देवताहरूको। यहाँको नै त कुरा हो। अरूले त जान्दछन्– हाम्रो धर्म, मठ, पन्थ कहिले स्थापना हुन्छ। जसरी आर्यहरूले भन्छन्– हामी धेरै पुराना हौं। वास्तवमा सबै भन्दा पुरानो त हो नै आदि सनातन देवी-देवता धर्म। तिमीले जब कल्पवृक्षमा सम्झाउँछौ अनि स्वयंले पनि बुझ्छन्– हाम्रो धर्म फलानो समयमा आउने छ। सबैलाई जुन अनादि अविनाशी पार्ट मिलेको छ, त्यो खेल्नु छ, यसमा कसैको दोष वा भुल भन्न सकिँदैन। यहाँ त केवल सम्झाइन्छ– पाप आत्मा किन बन्छन्। मनुष्यहरूले भन्छन्– हामी सबै बेहदका बाबाका सन्तान हौं, फेरि सबै भाइहरू सत्ययुगमा किन हुँदैनौं? तर ड्रामामा पार्ट नै हुँदैन। यो ड्रामा अनादि बनेको छ, यसमा निश्चय राख, अरू कुनै कुरा नबोल। चक्र पनि देखाइएको छ– कसरी यो घुम्छ। कल्पवृक्षको पनि चित्र छ। तर यो कसैले जानेका छैनन्, यसको अवधि कति छ। बाबाले कसैको निन्दा गर्नुहुन्न। यो त सम्झाइन्छ, तिमीहरूलाई पनि सम्झाउनु हुन्छ– तिमी कति पावन थियौ, अहिले पतित बनेका छौ, त्यसैले पुकार्छौ– हे पतित-पावन आउनुहोस्! पहिला त तिमीहरू सबै पावन बन्नु छ। फेरि नम्बरवार पार्ट खेल्न आउनु छ। आत्माहरू सबै माथि रहन्छन्। बाबा पनि माथि रहनु हुन्छ, फेरि उहाँलाई बोलाउँछौं– आउनुहोस् भनेर। यसरी बोलाउँदैमा उहाँ आउनुहुन्न। बाबा भन्नुहुन्छ– मेरो पार्ट पनि ड्रामामा निश्चित छ। जसरी हदको ड्रामामा पनि मुख्य पात्रहरूको पार्ट हुन्छ, यो फेरि हो बेहदको ड्रामा। सबै ड्रामाको बन्धनमा बाँधिएका छन्, यसको मतलब यो होइन– धागोमा बाँधिएका छन्। यो बाबाले सम्झाउनु हुन्छ। त्यो हो जड वृक्ष। यदि बीज चैतन्य हुने हो भने उसलाई यो थाहा हुने थियो– कसरी वृक्ष ठुलो भएर फेरि फल दिन्छ। उहाँ त यस मनुष्य सृष्टिरूपी वृक्षको चैतन्य बीज हुनुहुन्छ, यसलाई उल्टो वृक्ष भनिन्छ। बाबा त ज्ञानको सागर हुनुहुन्छ, उहाँलाई सारा वृक्षको ज्ञान छ। यो त्यही गीताको ज्ञान हो। कुनै नयाँ कुरा होइन। यहाँ बाबाले कुनै श्लोक आदि उच्चारण गर्नुहुन्न। उनीहरूले ग्रन्थ पढेर फेरि बसेर अर्थ बुझाउँछन्। बाबा सम्झाउनु हुन्छ– यो हो पढाइ, यसमा श्लोक आदिको आवश्यकता छैन। ती शास्त्रहरूको पढाइमा कुनै लक्ष्य उद्देश्य हुँदैन। भनिन्छ– ज्ञान, भक्ति, वैराग्य। यो पुरानो दुनियाँ विनाश हुन्छ। संन्यासीहरूको हो हदको वैराग्य, तिम्रो हो बेहदको वैराग्य। शङ्कराचार्य आउँछन् त्यसपछि उनीहरू बसेर घरबारबाट वैराग्य दिलाउँछन्। उनीहरूले पनि सुरुमा शास्त्र आदि सिकाउँदैनन्। धेरै वृद्धि भएपछि मात्र शास्त्र बनाउन सुरु गर्छन्। सुरुमा त धर्म स्थापन गर्ने एउटै हुन्छ फेरि बिस्तारै-बिस्तारै वृद्धि हुन्छ। यो पनि बुझ्नुपर्छ। सृष्टिमा सबैभन्दा पहिला कुनचाहिँ धर्म थियो। अहिले त अनेक धर्म छन्। आदि सनातन देवी-देवता धर्म थियो, जसलाई स्वर्ग हेविन भनिन्छ। तिमी बच्चाहरूले रचयिता र रचनालाई जानेर आस्तिक बन्छौ। नास्तिकपनबाट कति दु:ख हुन्छ, अनाथ बन्छन्, आपसमा लडाइँ झगडा गरिरहन्छन्। भनिन्छ नि– तिमीहरू आपसमा लडाइँ गरिरहन्छौ, तिम्रो कोही मालिक छैन कि के हो? अहिले सबै अनाथ बन्छन्। नयाँ दुनियाँमा पवित्रता, सुख, शान्ति सबै थियो, अपार सुख थियो। यहाँ घोर दु:ख छ। तिनीहरू हुन् सत्ययुगका, यिनीहरू हुन् कलियुगका, अहिले तिम्रो हो पुरुषोत्तम सङ्गमयुग। यो पुरुषोत्तम सङ्गमयुग एउटै छ। सत्ययुग-त्रेताको सङ्गमलाई पुरुषोत्तम भनिँदैन। यहाँ छन् असुर, त्यहाँ हुन्छन् देवताहरू। तिमीलाई थाहा छ– यो रावण राज्य हो। रावणमाथि गधाको शिर देखाउँछन्। गधालाई जति सफा गरेर कपडा ओढाए पनि, माटोमा लडेर कपडा मैलो बनाइदिन्छ। बाबाले तिम्रो कपडा सफा फूल बनाउनु हुन्छ, फेरि रावण राज्यमा अपवित्र बन्छौ। आत्मा र शरीर दुवै अपवित्र बन्छन्। बाबा भन्नुहुन्छ– तिमीले सारा शृङ्गार गुमाइदिएका छौ। बाबालाई पतित-पावन भनिन्छ, तिमीले पूरै सभामा भन्न सक्छौ– हामी सत्ययुगमा कति शृङ्गारिएका थियौं, कति फस्टक्लास राज्य-भाग्य थियो। फेरि मायारूपी धुलोमा लडेर मैला भएका छौं।

बाबा भन्नुहुन्छ– यो हो अन्धेर नगरी। भगवानलाई सर्वव्यापी भनिदिएका छन्, जे जति भएको छ त्यो हुबहु रिपिट हुन्छ, यसमा अलमलिने आवश्यकता छैन। ५ हजार वर्षमा कति घण्टा, मिनेट, सेकेण्ड हुन्छन्, एउटा बच्चाले सबै धर्मावलम्बीहरूको हिसाब निकालेर पठाएको थियो, यसमा पनि बुद्धि व्यर्थमा गयो। बाबाले त यसरी नै सम्झाउनु हुन्छ– दुनियाँ कसरी चल्छ?

प्रजापिता ब्रह्मा हुन् ग्रेट-ग्रेट ग्र्याण्ड फादर। उनको कर्तव्यको बारेमा कसैले जानेका छैनन्। विराट् रूप बनाएका छन्। त्यहाँ प्रजापिता ब्रह्मालाई उडाइदिएका छन्। बाबा र ब्राह्मणहरूलाई यथार्थसँग चिनेका छैनन्। उनलाई भनिन्छ नै आदि देव। बाबा सम्झाउनु हुन्छ– म यस वृक्षको चैतन्य बीजरूप हुँ। यो उल्टो वृक्ष हो। बाबा जो सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ, उहाँको नै महिमा गरिन्छ। आत्मा नहुने हो भने घुम्नफिर्न पनि सक्दैन। गर्भमा पनि ५-६ महिनापछि आत्माले प्रवेश गर्छ। यो पनि ड्रामा बनेको छ। फेरि आत्मा निस्किएर गएपछि त समाप्त। आत्मा अविनाशी छ, त्यसले पार्ट खेल्छ, यो कुरा बाबा आएर अनुभूति गराउनु हुन्छ। आत्मा यति सानो बिन्दी छ, त्यसमा अविनाशी पार्ट भरिएको छ। परमपिता पनि आत्मा हुनुहुन्छ, उहाँलाई ज्ञानका सागर भनिन्छ। उहाँले नै आत्माको अनुभूति गराउनु हुन्छ। उनीहरूले केवल भनिदिन्छन्– परमात्मा सर्व शक्तिमान, हजारौं सूर्य भन्दा तेजोमय हुनुहुन्छ। तर केही बुझ्दैनन्। बाबा भन्नुहुन्छ– यो सबै भक्तिमार्गमा वर्णन गरिएको छ र शास्त्रमा लेखिदिएका छन्। अर्जुनलाई साक्षात्कार भयो, अनि भने– मैले यति धेरै तेजलाई सहन गर्न सक्दिन, त्यसैले त्यही कुरा मनुष्यको बुद्धिमा बसेको छ। यति तेजोमय कसैभित्र प्रवेश गर्ने हो भने फाट्छ। ज्ञान त छैन नि। त्यसैले सम्झन्छन्– परमात्मा त हजारौं सूर्य भन्दा तेजोमय हुनुहुन्छ, हामीलाई उहाँको साक्षात्कार हुनुपर्यो। भक्तिको भावना बसेको छ, त्यसैले उनीहरूलाई त्यो साक्षात्कार पनि हुन्छ। सुरु सुरुमा तिम्रो पासमा पनि यस्तो धेरैले साक्षात्कार गर्थे, आँखा राता हुन्थे। साक्षात्कार गरे फेरि आज उनीहरू कहाँ छन् र। ती सबै हुन् भक्तिमार्गका कुरा। त्यसैले यो सबै बाबाले सम्झाउनु हुन्छ, यसमा ग्लानिको कुनै कुरा छैन। बच्चाहरू सदैव हर्षित रहनु छ। यो त ड्रामा बनेको छ। मलाई यति गाली गर्छन्, फेरि मैले के गर्छु? रिसाउँछु र! सम्झन्छु– ड्रामा अनुसार यी सबै भक्तिमार्गमा फसेका छन्। असन्तुष्ट हुने कुरै छैन। ड्रामा यस्तो बनेको छ। प्यारसँग ज्ञान दिनुपर्छ। विचरा अज्ञान अन्धकारमा छन्, बुझेनन् भने दया पनि लाग्छ। सदैव मुस्कुराइरहनु पर्छ। यी विचरा स्वर्गको द्वारमा आउन सक्दैनन्, यी सबै शान्तिधाममा जानेवाला हुन्। सबैले शान्ति नै चाहन्छन्। त्यसैले बाबाले नै यथार्थ सम्झाउनु हुन्छ। अहिले तिमीलाई थाहा छ– यो खेल बनेको छ। ड्रामामा हरेकलाई पार्ट मिलेको छ, यसमा धेरै अचल, स्थिर बुद्धि चाहिन्छ। जबसम्म अचल, अडोल एकरस अवस्था हुँदैन, तबसम्म पुरुषार्थ कसरी गर्नेछौ? जेसुकै होस्, तुफान आओस् तर स्थिर रहनु छ। मायाका तुफान त धेरै आउने छन् र अन्त्यसम्म आउने छन्। अवस्था मजबुत चाहिन्छ। यो हो गुप्त मेहनत। कति बच्चाहरूले पुरुषार्थ गरेर तुफानलाई उडाइदिन्छन्। जति जो पास हुन्छ त्यति उच्च पद पाउँछ। राजधानीमा पद त धेरै हुन्छन् नि।

सबै भन्दा राम्रा चित्र हुन् त्रिमूर्ति, गोला र कल्पवृक्षका। यी सुरुमा बनेका हुन्। बेलायतमा सेवाको लागि पनि यी दुई चित्र लिएर जानु छ। यिनीहरूमा नै राम्ररी बुझ्न सक्छन्। बिस्तारै बिस्तारै बाबा जे चाहनु हुन्छ– यी चित्र कपडामा बनुन्, ती पनि बन्दै जान्छन्। तिमीहरूले सम्झाउने छौ– यो कसरी स्थापना भइरहेको छ। तपाईँहरूले पनि यसलाई बुझ्नुभयो भने आफ्नो धर्ममा उच्च पद पाउनु हुन्छ। क्रिस्चियन धर्ममा तपाईँहरूले उच्च पद पाउन चाहनु हुन्छ त्यसैले यसलाई राम्रोसँग बुझ्नुहोस्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पुरुषोत्तम सङ्गमयुगमा पवित्र बनेर स्वयंको शृङ्गार गर्नु छ। कहिल्यै पनि मायाको धुलोमा लडेर शृङ्गार बिगार्नु हुँदैन।

२) यस ड्रामालाई यथार्थसँग बुझेर आफ्नो अवस्था अचल, अडोल, स्थिर बनाउनु छ। कहिल्यै पनि अलमलिनु छैन, सदैव हर्षित रहनु छ।

वरदान:–
सोचेर , बुझेर हर कर्म गर्ने पश्चात्तापबाट मुक्त ज्ञानी आत्मा भव

दुनियाँमा पनि भन्ने गर्छन्– पहिला सोच अनि गर। जसले सोचेर गर्दैन, गरेर पछि सोच्छ भने पश्चात्तापको रूप हुन जान्छ। पछि सोच्नु, यो पश्चात्तापको रूप हो र पहिला सोच्नु, यो ज्ञानी आत्माको गुण हो। द्वापर-कलियुगमा त अनेक प्रकारका पश्चात्ताप नै गरिरह्यौ तर अब सङ्गममा यस्तो सोचेर बुझेर सङ्कल्प वा कर्म गर जसकारण कहिल्यै मनमा पनि, एक सेकेन्ड पनि पश्चात्ताप नहोस्, तब भनिनेछ ज्ञानी आत्मा।

स्लोगन:–
दयावान् बनेर सबै गुण र शक्तिहरूको दान दिनेवाला नै मास्टर दाता हो।